कांग्रेसको नियमित महाधिवेशन माग गर्दै बुझाइयो ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराईलगायतले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितको अगुवाइमा विशेष महाधिवेशन माग गर्दै ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेको बेला सभापति शेरबहादुर देउवा समूहका नेताहरूले नियमित महाधिवेशनको माग गरेका हुन्।

 

समयमै भए कांग्रेसको नियमित महाधिवेशनको आगामी मंसिरमा हुनुपर्छ।

यस्तो छ ध्यानाकर्षण पत्र

सभापतिज्यू,

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति
विषय: ध्यानाकर्षण सम्बन्धमा।

२०८२ साल असोज २४ गते शुक्रबार नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेस सम्बद्ध युवा, विधार्थी तथा तरुण भेलामा, देशको विषम अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गर्नुपर्ने कार्यक्रम र कार्यदिशाको सम्बन्धमा भेलामा सहभागीहरूको तर्फबाट अभिव्यक्त विचार र अवधारणाको आधारमा तपसिल बमोजिमको विषयमा ध्यानाकर्षण तथा सुझावको रूपमा नेपाली कांग्रेस केन्द्रिय कार्य समितिमा पेश गरेको जानकारी गराउँदछौं।

१) राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक प्रणालीप्रति देशी, विदेशी षड्यन्त्रको वादल मडारिइरहेको वर्तमान संकटको अवस्थामा यही भाद्र २३ गते जेनजी युवाहरूको सहभागीतामा भएको सुशासन र भष्ट्राचार विरोधी कार्यक्रमले दिएको राजनीतिक सन्देश र युवाहरुले उठाएका विषयवस्तुहरू तथा भाद्र २३ गते भएको विधार्थी हत्या, भाद्र २४ गते शान्तिपूर्ण आन्दोलनको आवरणमा भएको हिंसा, अराजकता, विध्वंस र राज्य उपद्रवको कारण भएको भौतिक तथा मानवीय क्षति, शान्ति सुव्यवस्था कायम गर्न राज्य असफल भएको घटना, सूचना प्रवाहमा भएको कमी कमजोरीको समीक्षा र विश्लेषण गरी आवश्यक निर्णय लिन नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।

२) जेन्जी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संबैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसदको सवैभन्दा ठूलो दल तथा संविधान र लोकतन्त्रको पहेदार पार्टीको हैसियत कायम गरी संसदवादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई हार्दिक आग्रह गर्दछौं।

त्यसै गरी यही २०८२ फाल्गुण २१ गतेको लागि घोषणा भएको निर्वाचनमा पार्टीको सक्रिय सहभागीता तथा प्रतिनिधिसभाको पुनर्स्थापनाको सम्बन्धमा राजनीतिक र एजेन्डागत छलफल गरी पार्टीको आधिकारिक धारणा निर्माण गर्न र नेपाली कांग्रेसको सो साझा अवधारणा कार्यकर्ता पंक्ति र जन समुदायमा सम्प्रेषण गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण गर्न चाहन्छौं।

३) नेपाली कांग्रेसको १५ औं महाधिवेशनका सम्बन्धमा विधिवत र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागीताको माध्यम हो।पार्टीको पुनर्गठन,पुस्तान्तरण र रुपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत नियमित महाधिवेशन मात्रै हो भन्ने हाम्रो निष्कर्ष हो।

तसर्थ १५ औं महाधिवेशनको सुनिश्चितताको लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र महाधिवेशन हुन सक्ने आधार र कार्ययोजना ल्याउन कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौं।

अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग समेत गर्दछौं।

४) यही भाद्र २३ र २४ गते जेन्जी विद्रोहको नाममा भएको जनधनको क्षति, तोडफोड, आगजनी र विध्वंसको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कार्वाही गर्न हामी जोडदार माग गर्दछौ।

आन्दोलनको नाममा नेपालको महत्वपूर्ण राजनीतिक र न्यायीक संस्थाहरु, सास्कृतिक सम्पदा र पुरातात्त्विक महत्वका धरोहरहरुमा भएको यस्तो विध्वंसात्मक गतिविधि, आगजनी र लुटपाटको घटनाले सम्पूर्ण नेपालीको शीर निउराएको छ।

यसक्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, नेपाली कांग्रेसका संस्थापक बी पी कोइरालाको निवास विराटनगर, सर्वोच्च नेता गणेशमान सिंह स्मृति भवन चाक्सिबारी, सन्तनेता किसुन जी आश्रम बाडेगाउँ जस्ता राजनीति धरोहरहरू तथा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्षस्थ नेताको निवासमा भएको आक्रमण, तोडफोड, आगजनी र लुटपाटको घटनालाई हामीले षड्यन्त्रको रुपमा लिएका छौं। सो अपराधिक कार्यको घोर निन्दा गर्दछौं।

यसै गरी भाद्र २४ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य आरजु देउवामाथी भएको बर्बरता पूर्ण आक्रमण र साङ्घातिक हमलाको घोर भत्सर्ना गर्दछौं। घाइते देउवा दम्पतीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो हत्या गर्ने मनसायले गरिएको सो अमानवीय घटनामा सम्लग्न अपराधीक गिरोहलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछौं।

५) जेन्जी युवाहरूको भावना अनुरूप सुशासन, पारदर्शीता र भष्ट्राचारमा शुन्य सहनशीलताको मुद्दालाई भने पार्टीले गम्भीरतापूर्वक लिन आवश्यक छ,भन्ने हाम्रो ठम्याइँ हो।

यसका लागि पार्टीबाट सिफारिस भै राज्यका विभिन्न ओहदामा पुगेका, लाभको पदमा बसेका व्यक्तिको आर्थिक अनुशासनलाई पारदर्शी बनाउन केन्द्रीय समितिले “आन्तरिक अनियमितता छानबिन आयोग” गठन गरी २०४६ साल पछिका केन्द्रदेखि स्थानीय तहको नेतृत्वमा पुगेको व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न र भविष्यमा पार्टीभित्र कुनै पनि जिम्मेवारी प्राप्त गर्न तथा सार्वजनिक पदको लागि पार्टीबाट सिफारिस गर्दा पारदर्शीताको क्लिन चिट प्राप्त व्यक्ति हुनु पर्ने व्यवस्था गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं।

लोकतन्त्र भन्ने विधिको शासन मात्र होइन यसले नेता कार्यकर्तामा सोही अनुरूप लोकतान्त्रिक व्यवहार जीवन पद्धतिको अपेक्षा राख्दछ। लोकतान्त्रिक शैली,भष्ट्राचारमुक्त आचारण, पारदर्शी जीवन पद्धतिको लागि केन्द्रदेखि स्थानीय तहसम्म लागू हुने गरी आचारण संहिता जारी गर्न समेतआग्रह गर्दछौं।

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्ले जानकारी दिए ।

सीआईबीको टोलीले उनलाई हिजो काठमाडौंबाट पक्राउ गरेको थियो ।

२०७९ पुस १० गते गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी LI HANSONG ले २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धान हुँदै जाँदा महरा तानिएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आपराधिक लाभ लिएको देखिएको सीआईबीले जनाएको छ ।

हमासले छोड्यो २० इजरायली बन्दी, विपीनको न सास भेटियो न लास

काठमाडौं । दुई वर्ष लामो इजरायल-हमास द्वन्द्वको पीडादायी अध्यायमा आज एउटा उज्यालो किरण देखा परेको छ । गाजामा बन्दी बनाइएका २० जना इजरायली नागरिकहरू हमासको कब्जाबाट मुक्त भएका छन् ।

यो घटना इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा आएको हो, जसअन्तर्गत इजरायलले करिब २,००० फलस्तीनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ ।

आज पहिलाे चरणमा सात जना र दाेस्राे चरणमा १३ जना मुक्त भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई रेडक्रसमार्फत परिवारकाे जिम्ममा लगाइएकाे छ ।

मुक्त भएका बन्दीहरूमा दुईजना युवा सैनिकहरू (२२ वर्षीय मातन एंग्रेस्ट र २० वर्षीय निम्रोड कोहेन) सामेल छन्, जसलाई २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरण गरिएको थियो । बाँकी पाँच जनामा भाइबहिनी जोडी गाली र जिभ बर्मन (२८ वर्षीय), गुय गिल्बोआ दालाल (२६ वर्षीय), एइतान मोर (२५ वर्षीय) र अन्य युवाहरू छन् । यीमध्ये धेरैजसो नोभा संगीत महोत्सवमा सहभागी थिए, जहाँ हमासको आक्रमणमा सयौं मानिसहरू मारिएका थिए ।
इजरायली सरकारले सोमबार बिहान जारी गरेका तस्बिरहरूमा मुक्त बन्दीहरू खुशीसाथ परिवारजनसँग पुनर्मिलन हुँदै गरेको देख्न सकिन्छ । बन्दी हस्ताक्षरणको प्रत्यक्ष प्रशारण समेत गरिएको थियो, जुन हेर्न इजरायलभर लाखौं नागरिकहरु भेला भए ।

इजरायली सेनाका अधिकारीहरूले उनीहरूलाई प्रारम्भिक स्वास्थ्य जाँचपछि अस्पतालमा लगिएको बताएका छन् ।

‘यो दिन आनन्द, राहत र खुशीको दिन हो,’ इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुका प्रवक्ताले भनेका छन् ।

यो सम्झौता इजरायलको सैन्य अभियान र हमासको प्रतिरोधबीचको लामो वार्तापछि भएको हो । अक्टोबर ७, २०२३ मा हमासको आक्रमणमा १,२०० भन्दा बढी इजरायलीहरू मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो । यसको जवाफमा इजरायलको कारबाहीमा गाजामा ६७,००० भन्दा बढी फलस्तीनीहरू मारिएका छन् ।

सम्झौताअन्तर्गत कुल २० जना जीवित बन्दीहरू र २८ जनाको शव फिर्ता हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अवसरमा इजरायलको संसद् केनेसेतमा सम्बोधन गर्ने कार्यक्रम छ, जसलाई ‘गाजा युद्ध समाप्तिको संकेत’ भनिएको छ ।

फलस्तीनी पक्षबाट पनि खुशीको लहर छ । गाजाको नासिर अस्पतालमा १,७०० फलस्तीनी कैदीहरूको स्वागातको तयारी भइरहेको छ, जसमध्ये धेरैलाई अक्टोबर ७ पछि बिनामुद्दा थुनामा राखिएको थियो ।

यद्यपि, यो युद्धविरामले स्थायी शान्ति कायम गर्छ कि गर्दैन भन्ने प्रश्न अझै कायमै छ । मध्यस्थकर्ताहरूले मंगलबार इजिप्टको शर्म एल-शेखमा शान्ति सम्मेलन आयोजना गर्दैछन्, जसमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन् । इजरायली तथा फलस्तीनी परिवारहरूले यो घटनालाई ‘नयाँ सुरुवात’ को रूपमा हेरेका छन्, तर बाँकी बन्दीहरूको रिहाइ र द्वन्द्वको अन्त्यका लागि थप प्रयास आवश्यक रहेको बताएका छन् ।

नेपालका युवा विपीन जोशीको अवस्था भने अहिलेसम्म पनि स्पष्ट छैन । उनको न सास भेटिएको छ न लास । इजरायलको सेनाले उनी जीवित नरहेको संकेत गरेको छ । हमासले छोड्ने २० जनाको सूचीमा विपीनको नाम छैन । मृतकको सूचीमा पनि अहिलेसम्म उनको नाम आएको छैन । परिवारजन भने अझै पनि फर्किने आशामा छन् ।

हमासले छोडेका ७ बन्धक इजरायल पुगे, आजै १३ बन्धक रिहा हुने

एजेन्सी । युद्धविराम सम्झौताका क्रममा हमासले गाजामा अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई बुझाएका सात जना बन्धकहरू इजरायल पुगेका छन् । यसरी रिहा हुने सबै इजरायली नागरिक हुन् । आजै थप १३ जना जीवित बन्धकहरूलाई मुक्त गरिने तय गरिएको छ ।
अल जजिराका अनुसार, गाजा र कब्जामा रहेका पश्चिमी तटका प्यालेस्टिनीहरूले सम्झौताको भागको रूपमा करिब २,००० जनालाई इजरायली जेलबाट रिहा गरिने क्षणको प्रतिक्षा गरिरहेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगिसकेका छन् । त्यहाँ उनले इजरायली संसदलाई सम्बोधन गर्नेछन् । सम्झौतासम्बन्धी सम्मेलनमा इजिप्टमा सहअध्यक्षको रूपमा भाग पनि लिनेछन् ।

प्यालेस्टिनीहरू उत्तरी गाजामा आफ्नो घरतिर फर्कन सुरु गरेका छन् ।

इजरायलको गाजामाथि युद्धले अक्टोबर २०२३ देखि कम्तीमा ६७ हजार ८ सय ६ जनाको मृत्यु र १ लाख ७० हजार ६६ जना घाइते भएका छन् । अल जजिराको रिपोर्टअनुसार, ७ अक्टोबर २०२३ का आक्रमणहरूमा इजरायलमा कुल १ हजार १ सय ३९ जनाको मृत्यु भयो भने करिब २०० जना बन्धक बनाइएका थिए ।

कैलालीको गोदावरीमा हाेटलमा खाना खाइरहेका युवकमाथि चक्कु प्रहार

धनगढीः कैलालीको गोदावरी नगरपालिकाको अतरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्।

आइतवार राति गाेदावरी नगरपालिका-४ मा रहेकाे शुभम हाेटलमा खाना खाइरहेका बेला डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गाैरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलका अनुसार गौरवले हाेटलमा खाना खाइरहेका बेला ४/५ जनाकाे समूहमा प्रवेश गरेकाे एक समूहले उनीमाथि चक्कु प्रहार गरेकाे बताए।

कैलाली प्रहरी प्रवक्ता सिंहका अनुसार घाइते अवस्थाका ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ।

चक्कु प्रहार गर्नेहरूको पहिचान खुलिसकेकाले खाेजी भइरहेको प्रहरीले जनाएकाे छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ।

हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ।

बन्धकहरू मुक्त हुन थाले, विपिन जोशी ‘जीवित रहेको कुनै प्रमाण फेला परेन’

काठमाडौं । दुई वर्षअघि हमासले इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको” औपचारिक जानकारी इजरेली सेनाले गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

बन्धक बनाइएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको हमासले जनाएको छ। इजरेल र हमासबीच सङ्घर्षविराम भएपछि सोमवारदेखि बन्धकहरू मुक्त गर्न थालिएको छ। हमासले पहिलो खेपमा सात इजरेली नागरिक आफूलाई हस्तान्तरण गरेको इजरेली सेनाले पुष्टि गरेको छ।

तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए। “केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन्,” उनले भने।

हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए।

आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरेलमा राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरेली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन्। स्थानीय समयानुसार सोमवार बिहान साढे ७ बजेतिर उक्त जानकारी गराइएको हो।

किशोरले पनि सामूहिक कलमा आफू सहभागी भएको र जीवित २० जनाको सूचीमा आफ्ना भाइ विपिन नरहेको जानकारी पाएको बीबीसीसँग पुष्टि गरे।

हमासको नियन्त्रणमा भएका विदेशी र इजरेली बन्धकहरू

सन् २०२३ मा हमासको नेतृत्वमा इजरेलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनाजतिलाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए। इजरेलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो।

उक्त घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए।

जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए। कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।

हमासले बन्धक बनाएकामध्ये ४८ जना अझै गाजामा भएका र तीमध्ये केवल २० जना जीवित भएको ठानिएको छ।

केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो।

हमासले खिचेको र आईडीएफले फेला पारेर भिडिओको स्क्रीनशटमा विपिन जोशी

तस्बिर स्रोत,The Hostages Families Forum/Handout via REUTERS

तस्बिरको क्याप्शन,हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको भिडिओमा जोशीले आफ्नो परिचय दिएको देखिन्छ

गत वर्ष इजरेली सेनाले फेला पारेको एउटा भिडिओ फूटेजमा जोशीलाई गाजास्थित एउटा अस्पतालभित्र लग्दै गरिएको देखिएको थियो। उक्त भिडिओ नोभेम्बर २०२३ को थियो।

हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको अर्को भिडिओमा जोशीले आफ्नो परिचय दिएका छन्।

हमास र इजरेलले सङ्घर्षविराम गर्ने तयारी गरेपछि जोशी परिवारले उनी “जीवित रहेको” प्रमाण भन्दै उक्त भिडिओ सार्वजनिक गरेको थियो।

पहल

नेपाली विद्यार्थी विपिन जोशीका आमाबुवा पद्मा र महानन्द (फाइल तस्बिर)

तस्बिरको क्याप्शन,नेपाली विद्यार्थी विपिन जोशीका आमाबुवा पद्मा र महानन्द (फाइल तस्बिर)

गत साता उनको नेपालस्थित परिवारले विपिन जोशी छिट्टै रिहामुक्त भई आफ्नो सम्पर्कमा आउने आशा व्यक्त गरेको थियो।

उनका बुवा महानन्द जोशीले हमासलाई युद्धविरामका लागि सहमत गराउने प्रयास सुरु भएसँगै विपिन सकुशल घर फर्किने आशा बढेको बताएका थिए।

”युद्धविरामको कुरा आएको छ फेरि। पहिलाझैँ हुने हो कि के हुने हो थाहा छैन। भगवान्‌ले कति पीडा दिएका हुन्?”

जोशीको रिहाइका लागि पहल गर्न अन्तर्राष्ट्रिय जगत्‌सँग आह्वान गर्न भन्दै झन्डै एक महिनाअघि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरेल गएका थिए। त्यसपछि नेपाल फर्किएर उनीहरू संयुक्त राष्ट्रसङ्घको महासभामा जोशीको मुक्तिको पहल गर्न अमेरिका गए। -बीबीसी नेपालीबाट


९३ पटक सगरमाथा आरोहण गर्ने शेर्पा परिवारको कथा

सगरमाथा नजिकैको सुन्दर गाउँ फोर्चे ‘हिमाल आरोहीहरूको गाउँ’ भनेर चिनिन्छ। यहाँका अधिकांश परिवारका सदस्यले सगरमाथाको चुचुरोमा पाइला टेकिसकेका छन्। तर, प्रायः अन्तर्राष्ट्रिय आरोहीहरूले ख्याति पाउँछन् भने ती शेर्पा पथप्रदर्शकहरू, जो उनीहरूलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याउँछन्, उनीहरु भने प्रायः गुमनाम हुन्छन् ।

उच्च जोखिमपूर्ण पेशा भएकाले फोर्चेका लगभग हरेक परिवारले कुनै न कुनै सदस्य गुमाइसकेका छन्। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ३०० भन्दा बढी आरोहीमध्ये करिब एक तिहाइ नेपाली मार्गदर्शक वा भरियाहरू हुन्। सन् २०१४ मा आइसफल दुर्घटनामा १६ जना गाइडले ज्यान गुमाए भने २०१५ को भूकम्पले बेसक्याम्पमा २२ जनाको जीवन लियो। यी दुबै घटनामा मृत्यु हुने अधिकांश फोर्चेका शेर्पा थिए।

तीमध्ये एक थिए दिवंगत निमा छिरिङ शेर्पा, जसले सन् १९५३ मा सर जॉन हन्टको नेतृत्वमा भएको ऐतिहासिक अभियानमा भरिया र मार्गदर्शकको भूमिका निर्वाह गरेका थिए। सोही अभियानमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएका थिए। निमा छिरिङका जेठा छोरा पासाङ ग्याल्जेन पनि सो अभियानका सदस्य थिए।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित फोर्चे गाउँ सगरमाथा आधार शिविर जाने बाटोमै पर्दछ। आरोहीहरूका लागि बास, साहस र मार्गदर्शन दिने यही गाउँमा जन्मिएका थिए निमा छिरिङ।

उनका आठ छोरा र एक छोरी थिए, जसमध्ये अधिकांशले सगरमाथा आरोहण गरेका छन्। निमा छिरिङका नाति पुस्ता समेत अहिले सगरमाथा आरोहणमा सक्रिय छन्। उनका परिवारका सदस्यहरूले हालसम्म ९३ पटक सगरमाथा आरोहण गरेका छन्— सम्भवतः यो एकै परिवारले कायम गरेको पहिलो र अद्वितीय कीर्तिमान हो।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गेलाई इतिहास रच्न सहयोग गर्ने निमा छिरिङ र उनका छोरा पासाङ ग्याल्जेन जीवनभर आरोहण दलका पथप्रदर्शकका रूपमा सक्रिय रहे। जीवनको उत्तरार्धमा उनी हिमाल आरोहणबाट विश्राम लिएर फोर्चेमा आफैंले बनाएको गुम्बामा बस्दै आएका थिए। सन् २०१५ मा क्यान्सरका कारण उनको निधन भयो।

निमा छिरिङले सगरमाथाको शिखरमा पाइला टेक्न नपाए पनि उनका सन्तानहरूले उनको अधुरो सपना मात्र पूरा गरेनन्,  कीर्तिमान पनि कायम गरे।

उनका माहिला छोरा ङवाङले ११ पटक सगरमाथा आरोहण गरे। साहिला छोरा आङछिरिङ शेर्पा मृत्युअघिसम्म सगरमाथा आरोहण दलका पथप्रदर्शकका रूपमा सक्रिय रहे। १४ पटक सगरमाथा आरोहण गरेका अर्का छोरा मिङमा दोर्जे यतिबेला १५ औं पटक आरोहणका लागि सगरमाथामा छन् ।

मिङमापछि जन्मिएका ङती शेर्पाले ७ पटक सगरमाथा आरोहण गरे र तिब्बती मोहडाबाट सगरमाथा चढेर नेपाली मोहडाबाट तल झर्ने पहिलो आरोही बने। सन् १९९३ मा अन्नपूर्ण आरोहणका क्रममा हिमपहिरोमा परी उनको निधन भयो।

मिङमापछि जन्मिएका पानरु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन्। उनको नेतृत्वमा सन् २००४ मा खुम्बु आरोहण केन्द्र स्थापना भएको थियो। अहिले पनि उनी नयाँ पुस्तालाई प्रशिक्षण दिँदै हिमाल आरोहणमा प्रेरित गरिरहेका छन्।

दाजुहरूलाई पछ्याउँदै मिङमा छिरिङले पनि १६ पटक सगरमाथा आरोहण गरे र अहिले अमेरिकाको कोलोराडोको क्रिस्टेड व्यूटमा बस्दै आएका छन्।

एक्ली छोरी मिङ्मा याङ्जीले चोयो, आमादाब्लमलगायतका हिमालहरू आरोहण गरेकी छिन्। उनका पति लाक्पा छिरी शेर्पाले ११ पटक सगरमाथा आरोहण गरेका छन्। यदि ज्वाईको योगदान पनि जोडिने हो भने यो परिवारका सदस्यहरूले जम्मा ९३ पटक सगरमाथा आरोहण गरेका छन्।

सबैभन्दा कान्छा छोरा दानरुले पनि १६ पटक सगरमाथा आरोहण गरिसकेका छन्। अहिले उनी अमेरिकाको कोलोराडोस्थित गोल्डेनमा छन् र आगामी वर्ष पुनः सगरमाथा आरोहणको तयारीमा छन्।

तेस्रो पुस्ताका लाक्पा ग्याल्जेन (पानरुका छोरा) ले दुई पटक सगरमाथा आरोहण गरिसकेका छन्। तिब्बत र नेपाल दुबै मोहडाबाट सफल आरोहण गरिसकेका उनले आफ्नो जीवनको लक्ष्य सगरमाथामाथिका सबै रेकर्ड तोड्नु रहेको बताएका छन्।

‘फोर्चेमा जन्मिएका हामी सगरमाथा हेर्दै हुर्कियौं,’ पानरु भन्छन्, ‘त्यसैमा हाम्रो जीवन बित्यो। हाम्रो परिवारका लागि सगरमाथा नै सबैथोक हो—लाग्छ, हामी सगरमाथा चढ्नकै लागि जन्मिएका हौं।’

दानरुका अनुसार फोर्चे गाउँमा ९५ घरधुरी छन्, जहाँ करिब ३५० जनसंख्या छ। तीमध्ये ७५ भन्दा बढी परिवारका सदस्यले कम्तीमा एकपटक सगरमाथा आरोहण गरेका छन्।

विश्वकप छनोट : यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएइलाई पराजित गरेको छ।

एशोसियट राष्ट्रको एल क्लासिको मानिएको यो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।

नेपालले दिएको १४१ रनको विजयी लक्ष्य प्रस्तुत पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

पहिलो विकेट सस्तैमा गुमाएको यूएईले दोस्रो विकेटको लागि गरेको ८१ रनको साझेदारीले यूएईलाई खेलमा फर्काएको हो। कप्तान मोहम्मद वासिम १ रनमा क्याच हुँदै पेभेलियन फर्किदा दोस्रो विकेटका लागि अलिशान सराफूले जोनाथन फिगिले ८१ रनको साझेदारी गर्दै यूएईलाई सहज अवस्थामा ल्याएका थिए।

तेस्रो विकेटको रुपमा अलिशान सराफूको विकेट गएपछि भने यूएईको ब्याटिङ आक्रमण घट्यो। त्यसपछि भने अन्तिम ओभरमा ३ बलमा ३ रन चाहिएको अवस्थामा आक्रमक खेलिरहेका ध्रुव परासर १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै १९.४ मा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराको हातमा क्याच भए। १९.५ मा हैदर अलि रन आउट भए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए। कप्तान रोहित पौडेलले २० रन, गुल्सन झाले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले १० रन बनाए।

 

सन्दीप जोरा र सोमपाल कामी क्रमशः ४ र ६ रनमा अविजित रहे।

 

यूएईका लागि बलिङमा मोहम्मद रोहिद, हैदर अलि, जाहिद अलि, हैदर अलि, हर्सिक कौशिक र ध्रुव परासरले १–१ विकेट लिए।

 

नेपालले यूएईलाई हराउँदा विश्वकप खेल्ने सम्भावना बढेको छ। नेपालले समूह ‘बी’अन्तर्गत जापान र कुवेतलाई हराउँदै अविजित सुपर सिक्समा प्रवेश गरेको थियो।

 

समूह ‘ए’ बाट यूएईपनि अविजित रुपमा सुपर सिक्स आएको हो। यूएईले समूह चरणमा। कतार र मलेसियालाई हराएको थियो। नेपालले सोमबार कतारसँग खेल्नेछ। बुधबार सामोआ र शुक्रबार नेपालले ओमानसँग खेल्नेछ।

यूएईलाई नेपालले दियो १ सय ४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको जारी खेलमा नेपालले जितका लागि १ सय ४१  रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रनको योगफल खडा गरेको हो ।

नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो । यूएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो । समूह चरणको छनोट खेलमा नेपाल र युएई अपराजित छन् । दुवै टोलीसँग समान दुई–दुई अङ्क छन् । विश्वकप छनोटमा सहभगिता जनाउनको लागि पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिदाइ गर्न भनेका हुन्।

उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन्।   उनले ‘इफ, बट’ केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन्। सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ।

नेपाली सेनालाई बेलायतमा चौथो पटक स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

यही असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका एक सय १७ टोलीको सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।

तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ५० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर संकलन, घाइते-बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्यांकन र परीक्षण गरिने निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी(२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

ओमानको अल अमारेत ग्राण्डमा हुने प्रतिस्पर्धामा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन् । पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो प्रहरीमा उजुरी

काठमाडौँ। नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरूमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरमा उजुरी दिएको हो ।

विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरूमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग छ ।

उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उनीहरूले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् ।

यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए । त्यसलगै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित

धनगढी, २७ असोज ।

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्कर ओझा निर्वाचित भएका छन् ।

कुल खसेका १९४० मतमध्ये ९५० पाएर ओझा बिजयी भएका हुन् । ६१ मतको अन्तरले निकटतम प्रतिद्धन्द्धी रुपेश स्वाँरलाई पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । शुरुदेखि नै झिनो मतले पछि परेका स्वाँरले ८८९ मत पाए । ओझा र स्वाँरबीचको प्रतिस्पर्धा अत्यन्त रोचक रह्यो ।

ओझा र स्वाँर दुबै जनाको प्यानल चुनावी मैदानमा होमिएको थियो । निवर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका ओझाको नेतृत्वमा चुनावी मैदानमा होमिएको प्यानलका अधिकांश उम्मेदवार बिजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशी बिजयी भएका छन् । जोशीले ९५७ मत प्राप्त गरे । जोशी स्वाँर प्यानलका उम्मेदवार हुन । उनका निकटतम प्रतिद्धन्द्धी ओम बहादुर बिष्टले ५५५ मत पाए । अर्का उम्मेदवार सुरेन्द्र राठीले २७२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा लक्ष्मणराज पन्त बिजयी भए । पन्त ९७६ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी बासुदेव भट्टले ७३५ मत प्राप्त गरे ।

एशोसियट उपाध्यक्षमा मनोज अग्रवाल बिजयी भए । अग्रवाल ६०२ मत सहित बिजयी भएका हुन् । अर्का उम्मेदवार कविन्द्र पन्तले ५७२ मत र अनिल कुमार भोजानियाले ५१५ मत पाए ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले १००१ मत प्राप्त गरेर बिजयी भए । उनकी निकटतम प्रतिद्धन्द्धी राधिका कुमारी चौधरीले ७०९ मत ल्याईन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले ९०८ मत ल्याएर बिजयी भए सोही पदका अर्का उम्मेदवार सिद्धराज पनेरुले ८२८ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित जोशी र पन्त सहित दुई जना स्वाँर प्यानलका उम्मेदवार हुन् भने अग्रवाल र केसी र ओझा सहित तीन जना ओझा प्यानलका उम्मेदवार हुन् ।

त्यस्तै महासचिवमा दिनेश लम्साल ९१२ मत ल्याएर बिजयी भए । उनी ओझा प्यानलबाट निर्बाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी सुरेश राज पाण्डेयले ८३४ मत पाए ।

त्यसैगरी कोषाध्यक्षमा  तिलक सिंह बोहरा ११०९ मत ल्याएर बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र बहादुर कडायतले ६०२ मत पाए । बोहरा सर्बाधिक बढि मत र सबैभन्दा बढि फराकिलो अन्तर सहित बिजयी भएका हुन् ।

त्यस्तै सचिव पदमा स्वाँर प्यानलका उम्मेदवार प्रकाश बहादुर चन्द ९२६ मत सहित बिजय भए । ओझा प्यानलकी कृष्णा कुमारी बिष्टले ५१४ र स्वतन्त्र उम्मेदवार कोपिला कुँवर चौलागाईले ३३३ मत ल्याईन् ।

सदस्यमा शुभ ठाकुर सर्बाधिक (१०६६) मत ल्याएर बिजयी भए । सदस्यमा बिजयी हुने अन्यमा तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, ध्रुवराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मञ्जु भट्ट, बम बहादुर कुँवर, कमला भट्टराई, प्रेम बहादुर धामी, देवराज जोशी र प्रमिला पाठक रहेकी छन् ।
सदस्य पदमा २९ जनाबीच प्रतिस्पर्धा भएकोमा १३ जना निर्वाचित भएका हुन् ।

संघका २३५५ मतदातामध्ये निर्वाचनमा १९४० जनाले मतदान गरेका थिए ।

बिजयी पदाधिकारी र सदस्यहरुको सूचि :

बन्धकहरू रिहाइका लागि थप समय हमासको माग

काठमाडौँ, २६ असोजः हमासले बन्धकहरू रिहाइका लागि थप समय मागेको छ।

इजरायल र हमासबीच भएको सम्झौताअनुसार स्थानीय समय शुक्रबार दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ भने त्यसको ७२ घण्टाभित्र हमासले सबै ४८ बन्धक रिहा गर्नुपर्नेछ।

स्थानीय समयअनुसार युद्धविराम लागु भएको ७२ घण्टा भनेको सोमबार स्थानीय समय दिउँसो १२ बजे (नेपाली समय दिउँसो २:४५ ) सम्म जीवित र मृत सबै ४८ बन्धक रिहा गरिसक्नुपर्ने हुन्छ।

तर यस अवधिमा सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै हमासले थप समय मागेको हो। योसँगै बन्धक रिहा गर्ने समय अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

यसैबीच वासिङ्टन पोस्टको पछिल्लो रिपोर्टमा नेपालका विपिन जोशी पनि जीवित बन्धकको सूचीमा राखिएको छ।  गाजामा युद्धविराम र बन्धक रिहा हुने खबरले नेपाल पनि उत्साहित छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसी निवासी महानन्द जोशीको परिवारमा विपिन फर्किने आशा जागेको छ।

बाढीपहिरोपीडितको चाडपर्व त्रिपालमै

बाजुरा । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका बिच्छ्या रुगिनका बाढीपहिरोपीडितको यस पालिको दसैँतिहार त्रिपालमै हुने भएको छ ।

दसैँ उनीहरूले त्रिपालमै मनाएका छन् भने आउँदो तिहार पनि त्रिपालमै मनाउने भएका छन् । गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले यहाँका झन्डै ४१ घरपरिवार विस्थापित भएका छन् ।

गत वर्ष यहाँका स्थानीयले आफ्नो घरमा खुसी र हर्षका साथ दसैँतिहार मनाए पनि यो वर्ष बाढीपहिरोले घर पुरिदिएपछि उनीहरूले यस पालिकाको दसैँ खुला आकाशमुनि त्रिपालमा मनाएका हुन् । बर्सौं दिन कमाइ गरेको लाखौँ कराडौँको सम्पत्ति एक दिनमै आएको बाढीपहिरोले सबै नष्ट पारिदिएपछि यसपालिकाको दसैँ त्रिपालमै भएको हिमाली गाउँपालिका–१, बिच्छ्याका सब्बले थापाले बताए । उनले भने, “यो बर्खामा गर्मीयाम भएका कारण केही भएन तर हिउँदमा यहाँ बस्न निकै गाह्रो हुन्छ । चिसोमा त्रिपालमा कसरी रात काट्ने चिन्ता छ ।”

यहाँको स्थानीय सरकारले खाद्यान्न लुगाफाटालगायतका राहत सामग्री सहयोग गरेको छ । त्यसै गरी प्रदेश र सङ्घीय सरकारले पनि घरबासको व्यवस्था गरिदिए चिसोको बेलामा बास बस्न सहज हुने थापाले बताए । बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा पारेका छन् भने यहाँको वडा नं। ५ कबाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन् । यहाँका सबै २४ घर विस्थापित र ४१ घर पूर्ण रूपमा क्षति गरेको थियो ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले भए, “हामीले सक्दो सहयोग गरेका छौँ, अहिले उनीहरूलाई घरबासको समस्या छ, त्यसका लागि ठुलो रकम चाहिन्छ जुन हामीसँग छैन ।”

आज सुनको मूल्य बढ्यो, चाँदीमा रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेर प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेर ३ हजार १२५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

कैलाली उद्योग वाणिज्य संघ : १६०० मत गणना हुदा ओझा ७६ मतले अगाडी

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष पदमा पुष्कर ओझाले अग्रता कायमै राखेका छन् ।

१६०० मत गणना हुदा ओझाले ७९६ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले ७२० मत प्राप्त गरेका छन् । दुबै जनाबीच ७६ मतको अन्तर छ ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले ७७९ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले ४६१ मत ल्याएका छन् । अर्का उम्मेदवार सुरेन्द्र राठीले २२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा लक्ष्मणराज पन्तले समेत मतान्तर बढाएका छन् । पन्तले ८१३ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले ६०२ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्ष पदका उम्मेदवारहरुमा कडा देखिएको छ । मनोज अग्रवालले ४८६, कविन्द्र पन्तले ४५२ मत र अनिल कुमार भोजानियाले ४४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले ८२९ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले ५७६ मत ल्याएकी छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले ७६७ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले ६६१ मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा दिनेश लम्सालले ७५२ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले ६९० मत पाएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा  तिलक सिंह बोहराले दोब्बर मतले अग्रता कायम गरेका छन् । बोहराले ९१५ मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले ४९२ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा स्वाँर प्यानलका उम्मेदवार प्रकाश बहादुर चन्दले ७५७मत सहित अग्रता कायम गरेका छन् । ओझा प्यानलकी कृष्णा कुमारी बिष्टले ४४४ र स्वतन्त्र उम्मेदवार कोपिला कुँवर चौलागाईले २५६ मत ल्याएकी छन् ।

२३५५ मतदातामध्ये निर्वाचनमा १९४० मत खसेको थियो । अव ३४० मत गणना हुन बाँकी छ ।

 

हमासको नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित रहेको पुष्टि

काठमाडौँ, २७ असोज ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गाजामा हमासद्वारा अपहृत नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि गरेका छन्।

हमास र इजरायलबीच प्रस्तावित युद्धविरामको पहिलो चरण अघि सार्वजनिक गरिएको जीवित बन्धकहरूको सूचिमा बिपिन जोशीको नाम पनि समावेश गरिएको छ।
उक्त चरण अन्तर्गत केही बन्धकहरूलाई सोमबार मुक्त गर्ने तयारी गरिएको छ।

द वासिङटन पोस्टका अनुसार जोशीको नाम जीवित बन्धकहरूको सूचीमा उल्लेख गरिएको छ। द वासिङटन पोस्ट, टाइम्स अफ इजरायल र एसोसिएटेड प्रेस द्वारा सार्वजनिक विवरणहरूमा बिपिन जोशी जीवित रहेको पुष्टि गरिएको छ।

कञ्चनपुरका बिपिन जोशीलाई ७ अक्टोबर २०२३ मा इजरायलको किबुच अलुमिमस्थित एउटा कृषि सहायता परियोजनाबाट हमासको समूहले अपहरण गरेको हो।

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : स्वाँरले घटाए मतान्तर, ओझाको अग्रता कायमै

ओझा ४६ मतले अगाडि

धनगढी, २७ असोज ।
५४० मत गणना हुन बाँकी रहदा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार पुष्कर ओझाले ४६ मतले अग्रता कायम गरेका छन् ।

१४०० मत गणनाको परिणाम अनुसार ओझाले ६८५ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले ६३९ मत पाएका छन् ।

यसअघि ६० मतले अग्रता कायम गरेका ओझालाई पछ्याईरहेका स्वाँरले पछिल्लो चार सय मतको गणनामा मतान्तर घटाएका हुन् ।

२३५५ मतदातामध्ये निर्वाचनमा १९४० मत खसेको थियो । अव ३४० मत गणना हुन बाँकी छ ।

कैलाली उद्योग वाणिज्य संघमा ओझाको अग्रता कायमै

धनगढी, २७ असोज ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्ष पदमा पुष्कर ओझाले अग्रता कायमै राखेका छन् ।

१२०० मत गणना हुदा ओझाले ५९६ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले ५४३ मत प्राप्त गरेका छन् । दुबै जनाबीच ५३ मतको अन्तर छ । पछिल्लो दुई सय मतको गणनामा स्वाँरले सात मतले मतान्तर घटाएका हुन् ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले ५८७ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले ३५४ मत ल्याएका छन् । उनीहरुकाबीच २३३ मतको अन्तर छ । अर्का उम्मेदवार सुरेन्द्र राठीले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा लक्ष्मणराज पन्तले समेत मतान्तर बढाएका छन् । पन्तले ६३६ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले ४२६ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्ष पदका उम्मेदवारहरुमा कडा देखिएको छ । अनिल कुमार भोजानियाले ३४९ कविन्द्र पन्तले ३४६ मत र मनोज अग्रवालले ३३८ मत प्राप्त गरेका छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले ६११ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले ४४४ मत ल्याएकी छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले ५९१ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले ४८१ मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा दिनेश लम्सालले ५७७ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले ५०३ मत पाएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा  तिलक सिंह बोहराले दोब्बर मतले अग्रता कायम गरेका छन् । बोहराले ६९९ मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले ३५३ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा स्वाँर प्यानलका उम्मेदवार प्रकाश बहादुर चन्दले ५६२ मत सहित अग्रता कायम गरेका छन् । ओझा प्यानलकी कृष्णा कुमारी बिष्टले ३२८ र स्वतन्त्र उम्मेदवार कोपिला कुँवर चौलागाईले २०० मत ल्याएकी छन् । चन्दले पाएको मत बिष्ट र कोपिलाले पाएको संयुक्त मत भन्दा बढि हो ।

२३५५ मतदातामध्ये निर्वाचनमा १९४० मत खसेको थियो । अव ७४० मत गणना हुन बाँकी छ ।


कैलाली उद्योग वाणिज्य संघमा ओझाको अग्रता कायमै

धनगढी, २६ असोज ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भदेखि नै अध्यक्षमा पुष्कर ओझाले अग्रता कायम गरेका छन् ।

६०० मत गणना हुदा ओझाले २९८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले २७५ मत प्राप्त गरेका छन् । दुबै जनाबीच २३ मतको अन्तर छ । ओझाले मतान्तर झिनो मतले बढाउदै लगेका छन् ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले २९४ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले १८८ मत ल्याएका छन् । अर्का उम्मेदवार सुरेन्द्र राठीले १०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा लक्ष्मणराज पन्तले भारी मतले अग्रता कायम गरेका छन् । पन्तले ३०६ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले २२६ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कविन्द्र पन्तले १९२ मत, मनोज अग्रवालले १९० र अनिल कुमार भोजानियाले १७७ र मत ल्याएका छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले २९९ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले २३७ मत ल्याएकी छन् ।
वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले ३१४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले २४० मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा दिनेश लम्सालले ३०० मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले २५२ मत पाएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा तिलक सिंह बोहराले भारी अन्तरले अग्रता कायम गरेका छन् । बोहराले ३६१ मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले १६१ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा स्वाँर प्यानलका प्रकाश बहादुर चन्दले २९४ मत सहित अग्रता कायम गरेका छन् ।
कृष्णा कुमारी बिष्टले १५८ र अर्की उम्मेदवार कोपिला कुँवर चौलागाईले १०३ मत ल्याएकी छन् ।

२३३५ मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा १९४० (८३ प्रतिशत) मत खसेको थियो ।

 

कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कडा प्रतिस्पर्धा

धनगढी, २६ असोज ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भदेखि नै अध्यक्षमा पुष्कर ओझाले अग्रता कायम गरेका छन् ।

४०० मत गणना हुदा ओझाले १९९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले १८२मत प्राप्त गरेका छन् । ओझाले चार सय मतको गणना हुदा मतान्तर बढाएका छन् । दुबै जनाबीच १७ मतको अन्तर छ ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले १८३ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले १३० मत ल्याएका छन् । उनीहरुकाबीच ७३ मतको अन्तर छ । अर्का उम्मेदवार सुरेन्द्र राठीले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा झण्डै दोब्बर मतले लक्ष्मणराज पन्तले अग्रता कायम गरेका छन् । पन्तले २२२ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले १३१ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कविन्द्र पन्तले १२२ मत, अनिल कुमार भोजानियाले १२३ र मनोज अग्रवालले १२१ मत ल्याएका  छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले १९७ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले १५५ मत ल्याएकी छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले २१४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले १५४ मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा दिनेश लम्सालले १९९ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले १६७ मत पाएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा तिलक सिंह बोहराले भारी अन्तरले अग्रता कायम गरेका छन् । बोहराले २४० मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले ३७ मत पाएका छन् ।
त्यस्तै सचिव पदमा स्वाँर प्यानलका प्रकाश बहादुर चन्दले १९५ मत सहित अग्रता कायम गरेका छन् ।

कृष्णा कुमारी बिष्टले १०७ र अर्की उम्मेदवार कोपिला कुँवर चौलागाईले ६६ मत ल्याएकी छन् ।

२३३५ मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा १९४० (८३ प्रतिशत) मत खसेको थियो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पदमा कडा प्रतिस्पर्धा

धनगढी, २६ असोज ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनाको प्रारम्भदेखि नै अध्यक्षमा पुष्कर ओझाले अग्रता कायम गरेका छन् ।

२०० मत गणना हुदा ओझाले ९८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार रुपेश स्वाँरले ९२ मत प्राप्त गरेका छन् । दुबै जनाबीच छ मतको अन्तर छ ।

बरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार केशव राज जोशीले अग्रता कायम गरेका छन् । जोशीले ९४ मत प्राप्त गर्दा ओम बहादुर बिष्टले ७० मत ल्याएका छन् । उनीहरुकाबीच २४ मतको अन्तर छ । अर्का उम्मेदवार सुरेन्द्र राठीले २८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उद्योग तर्फको उपाध्यक्षमा झण्डै दोब्बर मतले लक्ष्मणराज पन्तले अग्रता कायम गरेका छन् । पन्तले ११३ मत प्राप्त गर्दा सोही पदका अर्का उम्मेदवार बासुदेव भट्टले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी एशोसियट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कविन्द्र पन्तले अग्रता कायम गरेका छन् । पन्तले ७२ मत ल्याएका छन् । उपाध्यक्ष पदका उम्मेदवारहरु मनोज अग्रवाल र अनिल कुमार भोजानियाले समान ५८ मत ल्याएका छन् ।

त्यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा गगनराज केसीले १०६ मत प्राप्त गर्दा अर्की उम्मेदवार राधिका कुमारी चौधरीले ७५ मत ल्याएकी छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा भीम राज ओझा अबुले अग्रता कायम गरेका छन् । ओझाले १११ मत प्राप्त गर्दा अर्का उम्मेदवार सिद्धराज पनेरुले ८८ मत ल्याएका छन् ।
त्यस्तै महासचिवमा दिनेश लम्सालले ९७ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका सुरेश राज पाण्डेयले ९० मत पाएका छन् । दुबैबीच ७ मतको अन्तर छ ।

त्यसैगरी कोषाध्यक्षमा चार गुणाबढि मत ल्याएर तिलक सिंह बोहराले अग्रता कायम गरेका छन् । बोहराले १२८ मत ल्याउदा उनका प्रतिस्पधर्मी सुरेन्द्र बहादुर कडायतले ३७ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा स्वाँर प्यानलका प्रकाश बहादुर चन्दले ८७ मत सहित अग्रता कायम गरेका छन् । कृष्णा कुमारी बिष्टले ५५ र अर्की उम्मेदवार कोपिला कुँवर चौलागाईले ४४ मत ल्याएकी छन् ।

हमासले बन्धक बनाएका सबैको रिहाइको अन्तिम तयारी, विपीन जोशीको अवस्था भने अज्ञात

काठमाण्डौ  : प्यालेस्टिनी विद्रोही समूह हमासले दुई वर्ष अघि इजरायलबाट अपहरण गरेर बन्धक बनाएका मध्ये बाँकी सबै बन्धक रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेको छ ।

हमास स्रोतलाई उद्धृत गर्दै बीबीसी, सीएनएन लगायतका अन्तराष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनुसार अपहरणमा परेका मध्ये विपीन जोशीसहित दुई जनाको अवस्था अज्ञात रहेको हो । बीबीसीका अनुसार हमासले इजरायलमा आक्रमण गर्दा अपरहणमा परेका मध्ये ४८ जना बन्धक रिहाइ हुन बाँकी छ । उनीहरु मध्ये २० जना जिवित रहेका छन् । २६ जनाको ज्यान गइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जिवित बन्धक र मृतकको अवशेष सोमवारसम्ममा हमासले इजरायलको जिम्मा लगाउने बताउनुभएको छ । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौता शुक्रवार बिहानदेखि लागू भएपछि इजरायली सेनाले गाजाका केही भागबाट आफ्ना सेना फिर्ता गरेको बताएको छ । अहिले हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरतिर गइरहेका बीबीसीले जनाएको छ । यस्तै संयुक्त राष्ट्रसङ्घले युद्धविरामपछि गाजाका सबै बासिन्दाका लागि तीन महिनालाई पुग्ने खाद्यन्न गाजामा पुर्‍याएकाे जनाएको छ ।

 

एनआरएनएको दाबी : गैरआवासीय नेपालीहरूको एक खर्बभन्दा बढी लगानी नेपाल भित्रियो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा करिब एक खर्ब रुपैयाँभन्दा बढी को लगानी भित्र्याएको तथ्याङ्क सार्वजनिक गरेको छ।एनआरएनएले आफ्नो २२ औँ स्थापना दिवस को अवसर पारेर शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठुलो सुधार ल्याउनका लागि आफूहरूले जोड दिएको बताए। उनले गैरआवासीय नेपालीहरूले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको जानकारी दिए। अध्यक्ष केसीले नेपालमा लगानी बढाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौँ भने नेपालको अर्थतन्त्रमा धेरै ठुलो सुधार हुन्छ भन्ने हाम्रो पहिलो एजेन्डा हो। अहिलेको अवस्थामा नेपालमा १ खर्बभन्दा बढी गैरआवासीय नेपालीहरूको शिक्षा, बैङ्किङ, कृषि, हाइड्रो लगायतका विभिन्न क्षेत्रमा लगानी छ।’

उनले उदाहरण दिँदै भने, ‘यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ। यदि कहीँ आधुनिक कृषि देख्नुहुन्छ भने गैरआवासीयहरूले विदेशमा गएर सिकेर आएर गरेको छ।’ उनले विदेशी भूमिमा भन्दा नेपालमा नै बढी लगानी गर्नुपर्छ भनेर आफूहरू लागेको बताए।

एनआरएनएले आफूहरूले विश्वभर नेपालको पहिचान दिलाउन महत्त्वपूर्ण योगदान दिएको पनि दाबी गरेको छ। अध्यक्ष केसीले राजदूतावास नभएको ठाउँमा पनि नेपालीहरूले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकिर गरे।

शाहरुख खान अरबपति क्लबमा प्रवेश

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान पहिलो पटक अरबपति क्लबमा प्रवेश गरेका छन् । आर्थिक प्रतिष्ठित सूची हुरुन रिच लिस्ट अनुसार शाहरुखको कुल सम्पत्ति हाल भारु.१२,४९० करोड (लगभग १.४ अर्ब डलर) पुगेको छ, जसले उनलाई भारतका सबैभन्दा धनी सेलिब्रिटी बनाएको छ ।

यसअघि शाहरुखको सम्पत्ति ८७० मिलियन डलरको आसपास रहेको थियो । उनका आयका प्रमुख स्रोतहरूमा बलिउड फिल्म उद्योग, रेड चिलिज इन्टरटेन्मेन्ट प्रोडक्सन हाउस र कोलकाता नाइट राइडर्स (आईपीएल क्रिकेट टिम) समावेश छन् । यसबाहेक, उनले आफ्नो छोरा आर्यन खानको निर्देशनमा बनेको फिल्म ‘बास्टर्ड अफ बलिउड’ बाट पनि आम्दानी गरेका छन् ।

विश्लेषकहरूले शाहरुखको सम्पत्ति वृद्धि फिल्म उद्योगमा मात्रै सीमित नभई, क्रिकेट र अन्य व्यावसायिक क्षेत्रहरूमा पनि उनको प्रभाव जमेको प्रमाण भएको बताएका छन्।

शाहरुख खानको सम्पत्ति अहिले धेरै अन्तर्राष्ट्रिय प्रसिद्ध व्यक्तिहरूको भन्दा बढी भएको छ । उनी टेलर स्विफ्ट (१.३ अर्ब डलर), अर्नोल्ड श्वार्जनेगर (१.२ अर्ब डलर), प्रसिद्ध हास्य कलाकार जेरी सीनफेल्ड (१.२ अर्ब डलर) र लोकप्रिय गायिका तथा अभिनेत्री सेलेना गोमेज (७२० मिलियन डलर) भन्दा धनी बनेका छन् ।

खोज्नुहोस