जेन-जीका जायज माग पूरा गर्नैपर्छ : देउवा

द एभरेष्ट पोष्ट
२८ असोज २०८२ १५:२५
जेन-जीका जायज माग पूरा गर्नैपर्छ : देउवा

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले जेन-जीले उठाएका जायज माग पूरा हुनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै देउवाले जेनजीका मागबारे केन्द्रीय समिति बैठकमा छलफल हुने बताए ।

‘जेनजीले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ। उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ,’ उनले भनेका छन् ।

उनले भदौ २३ र २४ को घटना सुनियोजित र योजनाबद्ध रहेको बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेको दाबी गरेका छन् । साथै उनले यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गर्न पनि माग गरेका छन् । ‘यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था छ। यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नुपर्दछ।

देउवाले २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएर निर्दोष नवयुवकहरुको ज्यान गएको पनि उल्लेख गरेका छन् । ‘भाद्र २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन मातहतका अदालत, मालपोत कार्यालय, प्रदेश सरकारका कार्यालयहरु, प्रहरी कार्यालयहरु, स्थानीय पालिका भवनहरु, वडा कार्यालय, जस्ता जनतालाई दैनिक अति आवश्यक सेवा र सुरक्षा प्रदान गर्ने प्रशासनिक, भौतिक तथा ऐतिहासिक संरचनाहरु र राजनैतिक दलका विभिन्न कार्यालयहरु, नेताहरुको नीजि घर डेरा, संचार गृह लगायत व्यवसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरियो,’ उनले भनेका छन्, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो। सम्भवत: यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रुपमा लिपिबद्ध हुनेछ।’

उनले नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको भन्दै यी दुवै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस