खर्च नियन्त्रण गर्ने सरकारको योजना : सांसदका स्वकीय सचिव खारेजदेखि विदेश भ्रमणमा कडाइसम्म

काठमाडौं । सरकारले अनावश्यक खर्च नियन्त्रण गर्न १२ बुँदे योजना सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको छ ।

अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख र संघ–प्रदेशका मन्त्रीबाहेक अन्य पदाधिकारीले स्वकीय सचिव राख्न पाउने छैनन् । यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्षबाहेक संघीय, प्रदेश तथा स्थानीय तहका पदाधिकारीले सल्लाहकार नियुक्ति गर्न पनि पाउने छैनन् ।

मन्त्री र प्रदेश प्रमुखले समेत बढीमा तीन जनामात्र स्वकीय सचिव राख्न पाउने छन् । स्वकीय सचिवालयलाई छुट्टै कार्यकक्ष, सवारी साधन र वैदेशिक भ्रमण सुविधा पनि बन्द गरिएको छ ।

अनावश्यक संरचना खारेजी र दरबन्दी रोकिने
सरकारले प्राविधिक जनशक्तिबाहेक नयाँ दरबन्दी सिर्जना नगर्ने र संघ, प्रदेश तथा स्थानीय तहमा हुने दोहोरो/तेहेरो संरचना खारेज गर्ने निर्णय गरेको छ । अब अस्थायी तथा करारमा कर्मचारी राख्न पाइने छैन । भूमि समस्या समाधान आयोग खारेजी गर्ने र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउने सरकारको तयारी छ ।

राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहतमा ल्याई पुनर्संरचना गर्ने जनाइएको छ ।

भत्ता र सुविधा कटौती
अबदेखि सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीले नियमित कामका लागि बैठक भत्ता पाउने छैनन् । तर, कार्यालय समयबाहेक कानुनबमोजिम गठन भएको समितिको बैठकमा मात्र भत्ता लिन सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, आफ्नै वा परिवारको स्वामित्वमा रहेको आवास प्रयोग गर्ने पदाधिकारीलाई आवास सुविधाबापत रकम नदिने निर्णय पनि भएको छ ।

परामर्श खर्च र विलासी सामानमा रोक
सरकारी काम आफ्नै जनशक्तिबाट गर्ने र बाह्य परामर्श सेवामा खर्च नगर्ने अर्थ मन्त्रालयले निर्णय गरेको छ । विधेयक, नियम वा कार्यविधि बनाउन पनि बाह्य परामर्श लिन पाइने छैन । अनावश्यक महँगा इलेक्ट्रोनिक्स वा वितरणमुखी कार्यक्रम (जस्तै, ग्यास, साडी वितरण) बन्द गरिनेछ ।

विदेश भ्रमण र गोष्ठीमा कडाइ
अत्यावश्यकबाहेक सरकारी खर्चमा विदेश भ्रमण गर्न पाइने छैन । अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्र वा सरकार प्रमुख नेतृत्व गर्ने प्रतिनिधिमण्डल बढीमा १० जनासम्म र अन्य सरकारी प्रतिनिधिमण्डलमा बढीमा तीन जनामात्र सहभागी हुने व्यवस्था मिलाइएको छ । तालिम तथा गोष्ठीहरू सम्भव भएसम्म अनलाइन वा सरकारी हलमै गर्ने व्यवस्था गरिएको छ ।

कार्यालय सञ्चालनमा मितव्ययिता
सरकारी कार्यालयहरूले व्यापारिक क्षेत्र वा प्रमुख मार्गमा महँगो घर भाडामा लिन नपाउने व्यवस्था गरिएको छ । विदेशस्थित नियोगका कर्मचारीलाई समेत व्यावसायिक क्षेत्रबाहिर आवास भाडामा लिन निर्देशन दिइएको छ । विद्युत्, पानी र सञ्चारमा मितव्ययिता गर्न कर्मचारी स्वयं जिम्मेवार हुने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, पदाधिकारी र कर्मचारीले सवारीसाधन, मोबाइल, कम्प्युटर, फर्निचरलगायत पुराना सामान प्रयोग गर्नुपर्नेछ । काम नलाग्ने सामान नजिकको कार्यालयलाई हस्तान्तरण गर्ने वा लिलाममार्फत व्यवस्थापन गर्ने प्रावधानसमेत गरिएको छ । साथै, सरकारी भौतिक संरचनाको बिमा गर्ने कार्य सुरु गरिने जनाइएको छ ।

‘मन बिनाको धन’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रको मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ । पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरोदेखि हिरोसम्मको भनेर लेखिएको छ । पोस्टरबाट सजिलै बुझ्न सकिन अशोक दर्जीको हिजोदेखि आजसम्मको कथा चलचित्रले बोल्नेछ ।

चलचित्र ‘मन बिनाको धन’ आउँदो कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्र अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन् ।

फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ ।

जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित चारजना पक्राउ

धनगढी । जेनजी आन्दोलनको क्रममा काठमाडौंमा लुटिएको हतियारसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले दुईवटा पेस्तोल र त्यसको गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका –१ का २२ वर्षीय हिमाल आचार्य, वडा नम्बर ३ का १९ वर्षीय आभाष चन्द, १९ वर्षीय समीर खड्का र २२ वर्षीय जिवेश सापकोटा रहेका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए ।

उनका अनुसार प्रहरी प्रधान कार्यालय अपराध महाशाखाबाट आएको सूचनाको आधारमा खटेको प्रहरी टोलीले समीरको घरबाट एक थान पेस्तोल, म्यागजिन एक थान र २८ राउण्ड गोली बरामद गरेको छ ।

त्यस्तै, आभाषको साथबाट एकथान रिभल्वर पेस्तोल बरामद गरेको जनाइएको छ । जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट हतियार लुटेकोे खुलेको चन्दले बताए ।

एशिया कप टी–२० क्रिकेटको सुपर–४ मा आज भारत र बङ्गलादेश खेल्दै

काठमाण्डौ – एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा आज भारत र बङ्गलादेशले खेल्दैछन् । यो खेल दुबईमा नेपाली समयअनुसार राति सवा आठ बजे शुरू हुनेछ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पाँच विकेटले हराएको छ । सुपर–४ को तालिकामा भारत शीर्ष स्थानमा र बङ्गलादेश तेश्रो स्थानमा छ । भारत र बङ्गलादेशले समान एक खेल जितेका छन् ।

यस्तै पाकिस्तान दोश्रो स्थानमा रहँदा श्रीलङ्गा तालिकाको पुछारमा छ । सुपर–४ मा समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् । यी सबै टोलीले एकआपसमा खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल सेप्टेम्बर २८ तारिख अर्थात असोज १२ गते हुनेछ ।

 

नारायणगढ–मुग्लिन सडक भोलि दिउँसोसम्म खुल्न सक्ने

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । तर सुक्खा पहिरो निकै ठूलो भएका कारण सडक आज नखुल्ने भएको छ । निरन्तर काम गर्न सकेमा भोलि दिउँसोसम्म सक्ने र सडक खुल्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुर चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले झन्डै १२ देखि १४ हजार घन मिटर ढुङ्गामाटो सडकमा थुप्रिएको जानकारी दिनुभयो । माथिबाट तत्कालै ठूलो पहिरो झर्ने सम्भावना कम रहेपनि बेला बेला ढुङ्गा खस्ने गरेका कारण सफा गर्ने काम पनि जोखिमपूर्ण छ । प्राकृतिक विपद्को यो अवस्थामा सम्पूर्णलाई धैर्यता कायम गर्न कार्यालयले आग्रह गरेको छ ।

पहिरोले सडक बन्द हुँदा यात्रु र चालकलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले अनुरोध गरेको छ । मुग्लिन बजारबाट झन्डै दुई किलोमिटरमा रहेको इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुल नजिकै हिजो बेलुका ठुलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको हो ।

लोपोन्मुख राउटेको जीवनशैली फेरियो

कञ्चनपुर।  कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरु समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रुपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उनले भने ।

जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उनको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उहाँको गुनासो छ ।

“हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपथ्र्यो”, राउटेले भने, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।”

समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उनले भने, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।”

उनले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताए । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उनले भने, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।”

करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरु परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् ।

“हाम्रो पूर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भने, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।”

जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ । रासस

चाडपर्वमा सुदूरपश्चिममा ५ हजार ७७ प्रहरी परिचालन

धनगढी । चाडपर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा शान्ति–सुरक्षाका लागि ५ हजार ७७ प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयले हालैको जेनजी आन्दोलनको क्रममा कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएको घटनालाई ध्यानमा राखी फरक रणनीति सहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा प्रदेशस्तरमा, र जिल्लास्तरमा प्रहरी उपरीक्षक तथा नायब उपरीक्षकको कमाण्डमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक तथा सूचना अधिकारी प्रकाश रानाभाटका अनुसार चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे चेकजाँच कडाइका साथ संचालन गरिनेछ । साथै, कैदी फरारसँगै उत्पन्न सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरी विशेष निगरानी राखिएको छ ।

फरार कैदी पक्राउका लागि प्रत्येक जिल्लाका प्रहरी कार्यालयलाई सर्कुलर पठाइएको छ । त्यस्तै, यात्रु सहजताका लागि प्रदेशभर ६५ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ, जसमा २०९ जना प्रहरी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं ८ असोज । शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् ।

शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ ।  चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ ।

चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पक्वान्न एवं रातो रङका पुष्पहरू प्रिय मानिन्छन् । देवी चन्द्रघण्टालाई विशेष गरी दूधको परिकार चढाउनु पर्छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गरिन्छ ।

धर्मशास्त्रमा वर्णन गरिए अनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उनको शारीरिक वर्ण स्वर्णको जस्तै छ । दश बाहुले युक्त देवी चन्द्रघण्टाले त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षर माला धारण गरेकी छिन् । वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन सिंह हो ।

देवी चन्द्रघण्टाको कृपाले साधकलाई अलौकिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । देवीको यो स्वरूप परम शान्ति प्रदायक साथै कल्याणकारी छ । यिनको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा राक्षसहरू डराउँछन् । चन्द्रघण्टाको आराधनाले साधकमा वीरता, निर्भयता, सौम्यता तथा विनम्रताको विकास हुने शास्त्रमा वर्णन गरिएको छ । त्यसैले मन, वचन, कर्मले विधिविधानपूर्वक शुद्ध भई चन्द्रघण्टा देवीको आराधना गर्नुपर्छ ।

 

निजी क्षेत्रले चाहे अनुसारकै राहत प्याकेज ल्याइसक्यौं : अर्थमन्त्री

काठमाडौं ८ असोज । दुई साताअघिको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट निजी क्षेत्रमा मात्रै ८० अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा क्षति पुग्दा १५ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको प्रारम्भिक अध्ययन छ ।

निजी क्षेत्रले भनेअनुसारकै राहत प्याकेज ल्याएर राहत दिने सरकारको तयारी छ।

सहिद परिवार र घाइतेका लागि राहत दिने निर्णय यसअघि नै भइसकेको छ । निजी क्षेत्रको भौतिक संरचनामा भएको क्षतिका लागि राहत दिन सोमबार मन्त्रिपरिषद्ले ‘आर्थिक पुनरुत्थान बिजिनेस रिकभरी योजना’ स्वीकृत गरेको छ । त्यसमा पुनर्निर्माणका लागि आवश्यक सामग्री आयात गर्दा भन्सार तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने, पुनर्निर्माण कोषमा दिएको रकम करयोग्य आय गणना गर्दा घटाउन पाइने, कर्जाको सावाँ तथा ब्याज भुक्तानीका लागि म्याद थप, सवारी कर्जामा हालको सीमा बढाएर ८० प्रतिशत पुर्‍याउनेलगायत धेरै सुविधा दिइएको छ । निजी क्षेत्रको मागबमोजिम नै सुविधा दिने निर्णय गरेका हौं ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकले संयुक्त रूपमै यी सुविधा ल्याएका हौं, जसमा अर्थमन्त्रीका रूपमा मैले र गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर छ ।

शेखर–गगन पक्षले थाल्यो हस्ताक्षर अभियान

काठमाडौं ८ असोज । कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ । पार्टी विधानअनुसार नियमित महाधिवेशन मंसिरमा गर्नुपर्छ । तर, जेन–जी आन्दोलनमा पार्टी कार्यालय ध्वस्त भएको, अभिलेख जलेर नष्ट भएको र सदस्यताको विषय नटुंगिएको कारण देखाउँदै संस्थापन म्याद थप्ने दाउमा रहँदा इतर समूहले तत्काल विशेष महाधिवेशनका लागि दबाब बढाएको छ ।

संस्थापनइतर पक्षले हस्ताक्षर अभियान चलाएर संस्थापनमाथि दबाब बढाएको छ । काठमाडौंमा उपलब्ध १०९ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइसकेको छ । बाँकीलाई पनि हस्ताक्षर गराउन फम्र्याट तयार हुँदै गरेको युवानेता गुरुराज घिमिरेले बताए । दसैँभर आवश्यक संख्या पुर्‍याएर विशेष महाधिवेशनका लागि लिखित आग्रह गर्ने उनको भनाइ छ ।

कांग्रेसको विधानअनुसार सभापति शेरबहादुर देउवा अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्न पाउँदैनन् । तर, विधानअनुसार नै म्याद थपेर थप एक वर्ष नेतृत्वमा रहन सक्छन् । कांग्रेस विधानले नै केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने अधिकार दिएको छ । यही व्यवस्थामा टेकेर संस्थापन पक्ष एक वर्ष म्याद थप्ने रणनीतिमा देखिँदा इतर समूहले विशेष महाधिवेशनमा जोड दिँदै हस्ताक्षर अभियानसमेत सुरु गरेको हो ।

कांग्रेस विधानमा केन्द्रीय सदस्यले नै विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । तर, अहिले केन्द्रीय सदस्यहरूको हस्ताक्षर गराइएको छैन । कांग्रेस विधानको धारा १७ को उपधारा २ मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था छ । केन्द्रीय समिति वा महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले कारण खुलाएर विशेष महाधिवेशन बोलाउन सक्ने वैधानिक व्यवस्था छ । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्र्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानमा छ ।

४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित लिखित अनुरोध गरे केन्द्रीय समितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । ०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा चार हजार ७४३ जना प्रतिनिधि थिए । त्यसको ४० प्रतिशत अर्थात् एक हजार ८९८ जनाले हस्ताक्षर गर्नुपर्छ । जेन–जी आन्दोलनपछि गत शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले विकसित परिस्थितिमा विशेष महाधिवेशन गरेर जानुपर्ने प्रस्ताव राखेका थिए ।
संस्थापन पक्ष भने परिस्थिति सम्हालिएपछि नियमित महाधिवेशन गर्ने पक्षमा छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत कार्यसम्पादन समितिको निर्णयभन्दा बाहिरबाट थालिएको छलफलले राम्रो नगर्ने बताए ।

एनएमबी बैंक अत्तरिया शाखाद्वारा गेटा आँखा अस्पताललाई स्मार्ट डिजिटल बोर्ड सहयोग

धनगढी ७ असोज । एनएमबी बैंक अत्तरिया शाखाद्वारा गेटा आँखा अस्पताललाई स्मार्ट डिजिटल बोर्ड सहयोग गरेको छ ।
एनएमबी बैंकका क्षेत्रीय प्रबन्धक सुशील बहादुर सिंहले अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा. सुरेश राज पन्तलाई मंगलबार उक्त स्मार्ट डिजिटल बोड हस्तान्तरण गरे ।
बैंकको अत्तरिया शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गेटा आँखा अस्पताललाई डिजिटल बोड सहयोग गरेको शाखा प्रबन्धक गणेश जोशीले जानकारी दिए ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष चक्र बहादुर सिंह, सुदूरपश्चिम प्रदेश सचिव भपेन्द्र थापा, कैलाली शाखाका सभापति लोक राज जोशी, उपाध्यक्ष यज्ञ राज चौधरी, एनएमबी बैंकका व्यवसाय विकास अधिकृत झरना निदालको उपस्थित रहेको थियो ।
एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम, र ९ विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।

पोर्चुगलको दूतावासलाई जेनजीको अल्टिमेटम

लिस्वन । पोर्चुगलमा रहेका नेपाली जेनजीले विभिन्न माग राख्दै सोमबार लिस्वनस्थित नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन् । राजदूतावासको सेवाशुल्क चर्को भएकोले घटाउनुपर्नेदेखि दूतावासका हरेक गतिविधि पारदर्शी हुनेपर्ने माग युवाले गरेका छन् ।

विवेक श्रेष्ठको नेतृत्वमा पुगेका युवाहरूले राजदूतावास कार्यालयमा पुगेर आफ्ना माग तत्कालै पूरा गर्न अल्टिमेटम दिएका छन् । ‘नागरिक सर्तकता केन्द्र पोर्चुगल’को नाममा तयार गरिएको ज्ञापनपत्र दूतावासका तृतीय सचिव अनिल रानासमक्ष बुझाइएको छ । ज्ञापनपत्रमा ६ बुँदे माग राखिएको छ । ‘यी मागहरू पूरा नभएमा चरणबद्ध आन्दोलन गर्नेछौं र हाम्रा मागको सन्दर्भमा दुई हप्तापछि फेरि राजदूतावासमा जानेछौं,’ संयोजक श्रेष्ठले भने, ‘जेनजीको भावनाअनुसार देश नै फरक कोणबाट अगाडि बढिरहेको सन्दर्भमा हामी आफ्ना माग लिएर दूतावास पुगेका हौं ।’

पोर्चुगलमा राजदूतावास स्थापना भएको ६ महिना बितिसक्दा पनि नेपाली समुदायसँगको समन्वयमा काम नभइरहेको र चर्को सेवाशुल्क असुलिरहेको उनले बताएका छन् ।युवाहरूले सोमबार बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘नियोगबाट सेवा प्रवाह तथा कार्य सम्पादन भइरहँदा आमनेपाली समुदाय नियोगद्वारा असुल गरिएका सेवाशुल्क लगायत नियोगका व्यवहारबाट प्रभावित भइरहेका छन् ।’

ज्ञापनपत्र बुझाउन पुगेका अर्का युवा भविन पुन मगर राजदूतावासले नागरिक समुदायको आपसी सम्बन्ध र दूरीलाई थप प्रगाढ र बलियो बनाउन अग्रसर हुनुपर्ने बताउँछन् । उनीहरूले पोर्चुगलमा रहेका नेपालीको आम्दानीका आधारमा सेवाशुल्क लिन आग्रह गरेका छन् ।

दूतावासले विभिन्न सेवाहरूमा ७ वटा शुल्क निर्धारण गरेको छ । प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणित गरेको १०० यूरो, पारिवारिक प्रमाणपत्र वा अन्य प्रमाणपत्रहरू प्रमाणित गरेको प्रतिपाना ५० यूरो र शैक्षिक प्रमाणपत्र प्रमाणित गरेको प्रतिपाना १५ यूरो शुल्क रहेको छ ।

त्यस्तै ३४ पेजको राहदानी नवीकरणको १२० यूरो, हराएको वा ‘ड्यामेज’ भएको राहदानी ३४ पेजको राहदानीको १८० यूरो, १० वर्षमुनिको नाबालकको ३४ पेजको राहदानीको ६० यूरो, १० वर्ष मुनिको नाबालकको ३४ पेजको हराएको वा ‘ड्यामेज’ भएको राहदानीको ९० यूरो शुल्क छ ।

‘यो शुल्क पोर्चुगलको हकमा असाध्यै धेरै हो । अन्य युरोपेली देशहरुको तुलनमा शुल्क निर्धारण भएको देखिएको छ,’ पुन मगर भन्छन्, ‘बेसिक तलब नै ८७० यूरो भएको यो देशमा एक पाना प्रहरी रिपोर्टमा छाप लगाएको १०० युरो शुल्क लिनु कत्तिको न्याय हो ?’

यस विषयमा अनलाइनखबरलाई प्रतिक्रिया दिँदै राजदूत प्रकाशमणि पौडेलले शुल्क निर्धारणको विषय राजदूतावासको नभएकोले तत्कालै केही गर्न नसकिएको बताए । तर उनीहरूको मागलाई नेपाल सरकारसमक्ष सोमबार नै पठाइएको उनले जानकारी दिए ।

यस विषयमा पहिला पनि आवाज उठेकोले शुल्क कम गर्न नेपाल सरकारसँग आग्रह भइसकेको राजदूत पौडेलले बताए । ‘नेपालीलाई सहज सेवा प्रदान गर्नका लागि राजदूतावास स्थापना भएदेखि नै हामी लागिपरेका छौं । हाम्रो स्तरबाट गर्न सकिने र दिनुपर्ने काम र सेवामा लागिरहेका छौं,’ राजदूत पौडेलले भने ।

राजदूतावासको सेवा लिँदा नगद नै लिएर जानुपर्ने विगतको समस्यालाई भने समाधान गरिसकेको उल्लेख गर्दै उनले क्रमिक रूपमा नागरिकको माग सम्बोधन हुने बताए ।

‘दूतावासको बैंक खाता नभएकोले नागरिक राजस्व तिर्न नगदै बोकेर आउनुपर्ने अवस्था थियो । तर अहिले त्यसलाई अन्त्य गरी बैंकिङ पद्दतिबाट राजस्व लिन सुरु गरेका छौं,’ राजदूत पौडेलले भने ।

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्था, सैनिक र सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सरकार परिवर्तन भएपछि प्रधानमन्त्रीको पद सम्हालेकी हुन् ।जेनजी आन्दोलनको माग अनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । त्यसैले यस भेटवार्तालाई अर्थपूर्ण र महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबिचको यस भेटवार्ता भविष्यमा राष्ट्रको सुरक्षा र शान्ति व्यवस्थामा केन्द्रित नीतिगत निर्णयका लागि संकेतको रूपमा लिइएको छ ।

भुटानको सान्त्वना जित, नेपाल र भारतको खेल बिहीबार

काठमाडौँ । भुटानले श्रीलङ्कामा जारी यु–१७ साफ च्याम्पियनसिपमा सानत्वना जित निकालेको छ ।

कोलम्बो स्पोर्ट्स कम्प्लेक्समा सोमबार राति भएको समूह ‘बी’को अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई १–० गोलले हरायो ।

भुटानको जितमा थिन्ले डेनदुप दोर्जीले गोल गरे । दोर्जीले १०औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । भुटान र माल्दिभ्स समूहको अन्तिम खेल खेल्नुअघिनै बाहिरिएका थिए ।

यस समूहबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै समूह ‘ए’बाट बङ्गलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन् । दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ ।

 

सुदूरपश्चिमका मन्त्रालयमा लेखा सुरक्षित, पारिश्रमिक भुक्तानी सुरु

धनगढी- भदौ २४ गतेको प्रदर्शनका क्रममा धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा कार्यालयमा तोडफोड र आगजनी भए पनि सम्बन्धित मन्त्रालयका लेखा शाखाहरू सुरक्षित छन्।

प्रदेश मन्त्रालयमा कार्यरत लेखा अधिकृतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लेखा शाखामा सामान्य क्षति मात्र भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लेखा अधिकृत भोजराज जोशीका अनुसार लेखा शाखामा कम्प्युटर तोडफोडबाहेक सबै स्रेस्ता सुरक्षित छन्। यी सबै लेखा शाखा तेस्रो तलामा रहेकाले आगलागीबाट जोगिएका हुन्।

‘आन्दोलनकारीले तलबाट तोडफोड र आगजनी गर्दै माथि गएका थिए,’ जोशीले भने, ‘भुइँतलाबाट आगो लगाइएको हुँदा तेस्रो तलासम्म फैलिन पाएन।’

तर लेखा शाखामा पनि प्रदर्शनकारीले कम्प्युटर, फर्निचर र झ्याल–ढोका तोडफोड गरेका छन्। सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत यज्ञराज लेखकका अनुसार मन्त्रालयको भुइँतलामा आगजनी भएको थियो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीले लेखाका कागजात सुरक्षित राख्न भ्याएका थिए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बाहिरबाट सामान्य तोडफोड भए पनि आगजनी नभएकाले कागजात जोगिएका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत हरिप्रसाद पनेरुका अनुसार मन्त्रालयको लेखा शाखाको कम्प्युटर र दराज तोडफोड भए पनि स्रेस्ता सुरक्षित छन्।

प्रदेश सभाका कागजात खरानी

आन्दोलनकारीले सबैभन्दा बढी क्षति सुदूरपश्चिम प्रदेश सभामा पुर्‍याएका छन्। प्रदेश सभाका सचिव देबबहादुर बोगटीका अनुसार बैठक कक्ष र सचिवालयमा आगजनी गरी सबै कागजात खरानी बनाइएको छ। लेखा शाखामा रहेका आर्थिक वर्ष ०८१/८२ र चालु आर्थिक वर्ष ०८२/८३ का सम्पूर्ण कागजात जलेर नष्ट भएका छन्।

तर मन्त्रालयका लेखा शाखा सुरक्षित भएकाले पारिश्रमिक भुक्तानीलगायतका न्यूनतम सेवा सञ्चालनमा आएको छ। प्रदेश सभा सचिवालयले पनि पदाधिकारी तथा सांसदलाई पारिश्रमिक भुक्तानी गरिसकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाले कर्मचारी पारिश्रमिक भुक्तानी, पत्राचार, सिफारिस र समन्वयलगायतका काम सुरु भएको बताए। यतिबेला कार्यालयमा सरसफाइ र रंगरोगन भइरहेको छ। ‘कार्यालय मर्मतका लागि मन्त्रालयले बजेट विनियोजन गरेको हुन्छ,’ उनले भने, ‘त्यही बजेट प्रयोग गरेर मर्मत र रंगरोगन भइरहेको छ। रकम अपुग भएमा सरकारले थप निर्णय गर्न सक्छ।’

मनोज सिलवालले सम्हाले प्राधिकरणको जिम्मेवारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

जेन–जी आन्दोलनपछि ऊर्जामन्त्री बनेका कुलमान घिसिङले  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका हुन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए । उनी १२ औ तह (एमडी) भएपछि २०८१ माघमा प्राधिकरणबाट अवकाश भएका थिए । प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर काम गरेका सिलवाल इन्जिनियर हुन् ।

घिसिङ प्राधिकरणको प्रमुख हुँदा सिलवालले उनी निकट भएर घिसिङलाई सफल बनाउने काम गरेका थिए ।

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं– निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन्।

छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरू छन्भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताए। निर्वाचनको कार्यभार पूर्ण रुपमा सम्पन्न गर्नुपर्नेमा  सरकार र आयोग स्पष्ट रहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट पारे।

आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ । हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेका छन् ।

यसअघि यही असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा गत असार १६ गतेदेखि मतदाता नामावली संकलन स्थगन भएकाले मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन खुला गर्न कानुनी प्रबन्ध गर्नुपर्नेछ । उक्त ऐनको दफा ४ को उपदफा २ को सो व्यवस्था संशोधनका लागि अध्यादेशबाट कानुन संशोधन गर्न आयोग र सरकारबीच छलफल भएको हो ।

गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्न भनेपछि आयोगले त्यसका लागि कानुनी विज्ञसँग छलफल गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।

दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक

दसैंको आगमनसँगै नयाँ दसैं गीत ‘हाँस्दै गाउँदै रमाउँला आँगनमा’ सार्वजनिक भएको छ। यस गीतमा राम शर्माको शब्द, सुफिक्स मदनको संगीत र एरेन्ज रहेको छ। सुफिक्स मदन र कोपिला तामाङ वाइबाले यस गीतमा स्वर दिएका छन्।

गीतको भिडिओमा विक्रम बुढाथोकी, एलिना रायमाझी र मनिष स्वारको अभिनय । उमेश कार्कीको निर्देशनमा बनेको यो भिडिओलाई सञ्चारकर्मी लक्ष्मण शर्माले निर्माण गरेका हुन्। सन्तोष तिमल्सिनाले छायांकन गरेको यस भिडिओको सम्पादन रोशन धितालले गरेका छन्।

यो दसैं गीत ‘आरएल क्रियसन’ नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा पहिरोको जोखिम कायमै

काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक खसेको पहिरो पन्छाएसँगै बाटो एकतर्फी खुलेको छ । तर तुइन खोला आसपासको क्षेत्रमा पहिरोको जोखिम भने कायमै छ । माथिबाट ढुङ्गा झर्ने क्रम रोकिएको छैन । लेन अनुशासनको पालना गरी सजग भएर यात्रा गर्न यात्रु र चालकलाई सडक डिभिजन कार्यालय भरतपुर चितवनले आग्रह गरेको छ ।

यस्तै मुग्लिन–नागढुङ्गा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ । गाडी राेकिँदा यात्रु र चालकको बिचल्ली भएको छ । बेनीघाट नजिकै जवाङ खोलामा ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ ।

यो बाटोको सट्टामा विकल्प प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । बेनीघाट रोराङको विकल्पमा साना तथा मझौला गाडीले धादिङको मलेखु (फुर्के खोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ । साथै अरू ठाउँतर्फ जाने ठूला तथा साना सबै गाडीलाई सुरक्षा निकायसँग समन्वय र निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडकमा लगातारजसो पहिरो खस्ने समस्याले मुख्य चाडपर्वको यो बेला यात्रुले सास्ती पाएका छन् । दशैँ मनाउन घरतर्फ लागेका र काम विशेषले हिँडेका यात्रु बीचबाटोमै अलपत्र पर्ने गरेका छन् ।

नेपाली महिला टाेलीले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८२ सालसम्मका लागि क्यान्डेलर सार्वजनिक गर्दै नेपाल र भारतबीच आउँदो कात्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी गराएको हो ।

क्यालेन्डर अनुसार नेपाली महिला टोली त्रिदेशीय मैत्रीपूर्ण फुटबलका लागि इन्डोनेशिया पनि जानेछ । घरेलु टोली इन्डोनेशिया, नेपाल र चाइनिज ताइपेईबीच आउँदो मङ्सिर ८ देखि १६ गतेसम्म मैत्रीपूर्ण फुटबल हुनेछ ।

यस्तै काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आउँदो मङ्सिर १९ देखि पुस ५ गतेसम्म साफ महिला क्लब च्याम्पियनशिप हुनेछ ।

क्यालेन्डर अनुसार नेपाली पुरुष टोलीले एएफसी एशियन कप छनोटमा आउँदो असोज २३ र २८ गते भियतनाम, मङ्सिर २ गते मलेशिया र चैत १७ गते लाओससँग खेल्ने तालिका छ ।

यस्तै शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो पुस ९ देखि शुरू भएर असार २६ गतेसम्म सञ्चालन हुनेछ ।

आफैं कारागार फर्किए टोपबहादुर रायमाझी

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा भागेका पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनी सोमबार साँझ सुन्धारा कारागार फर्किएका हुन्। उनी स्वयं कारागार फर्किएकाे बताइएकाे छ ।

नख्खु कारागारबाट भागेका कैदीबन्दीहरूले पछि केन्द्रीय कारागार पुगेर तोडफोड गरेका थिए।

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खनाल लाई

काठमाडौं । अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् ।
मंगलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए । ‘कर्मचारीतन्त्रको आत्मासम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउने नै हो ।’

त्यस्तै उनले आफूहरुको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मुलन गर्ने रहेको बताउँदे सोही अनुरुप काम गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं महानगरद्वारा ३५ वटा दुर्गम स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका ३५ दुर्गम स्थानीय तहका स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको छ ।

पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ती पालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रतिनिधिलाई एम्बुलेन्स हस्तान्तरण गरियो ।

मेयर बालेन साहले केही दिनअघि एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको सामाजिक सञ्जालबाट जानकारी गराएका थिए ।

महानगरले एम्बुलेन्स वितरणमा ७ वटा मापदण्ड तय गरेको थियो ।

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिए । उनले कुलमानको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

भेटमा नेपाल-बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायका लागि आवश्यक सहयोग लगायत विषयमा छलफल भयो ।

भेटमा मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचना पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताए ।

नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सराहाना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधन प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताए ।

उनले बेलायतमा पूर्वाधार निर्माणमा सफल मानिएको सार्वजनिक-निजी साझेदारी लगानी मोडेललाई नेपालमा पनि अनुशरण गर्ने, ग्रिन हाइड्रोजन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययन लगायत क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

बेलायत-नेपालको पूरानो मित्र भएकाले नेपालको सफलता आफ्नो देशको सफलता भएको उल्लेख गर्दै राजदूत फेनले नेपालको आर्थिक रूपान्तरणमा सहयोग गर्ने बताए ।

जेनजी आन्दोलनमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

वीरगन्ज : जेनजी समूहको आन्दोलनका क्रममा गत भदौ २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा अराजक समूहले गरेको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

रुंगटाको घरमा घरेलु कामदारका रुपमा कार्यरत पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ की ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १०: २२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको रुंगटाको निवास परिसरमा रहेका ४ वटा  भवन परिसरमा रहेका ४ वटा घरमा जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र लुटपाट गर्दै आगजनी गरेका थिए। त्यसबेला घरको तेस्रो तल्लाको छतमा रहेकी हजारा र अर्का एक युवकलाई जलेर गम्भीर भएको अवस्थामा महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङको सहयताबाट उद्दार गरिएको थियो ।

गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको थियो । तर, त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । त्यही उपचारका क्रममा सोमबार हजराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

रुंगटाको घरमा गरिएको आगजनीबाट हजरासँगै जलेर गम्भीर घाइते भएका भारतको बिहार राज्यको सुगौली घर भएका १८ वर्षीय विनय यादवको कीर्तिपुर बर्न अस्पतालमै उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

सुदूरपश्चिममा १ हजार ४५८ जना कैदीबन्दी फरार भएकोमा ८४५ जनामात्रै कारागार फर्किए

धनगढी । जेनजी आन्दोलनका बेला सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारमा भएको तोडफोड र अराजकताको फाइदा उठाउँदै ठूलो संख्यामा कैदीबन्दीहरू भागेका थिए।

प्रदेश प्रहरीका अनुसार १ हजार ४ सय ५८ जना कैदीबन्दी फरार भएकोमा अहिलेसम्म ८४५ जना मात्रै कारागार फर्किएका छन्। बाँकी ६ सय १३ जना अझै सम्पर्कमा आएका छैनन्।

फरार हुनेमा लागूऔषध, हातहतियार, चोरी जस्ता गम्भीर अपराधमा सजाय काटिरहेका कैदीहरू पनि छन्। खासगरी कैलाली र कञ्चनपुरका कारागारबाट भागेका २१ जना भारतीय कैदीमध्ये २० जना अझै पक्राउ परेका छैनन्। कैलाली कारागारमा एकजना भारतीय कैदी मात्रै फर्किएका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार, फरार कैदीहरू भारततर्फ भागेको हुनसक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी बढाइएको छ।

उनीहरूको खोजीका लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको छ। प्रहरीले फरार कैदीहरूलाई देखेमा तुरुन्तै खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

सुरुमा त्रासको वातावरण भए पनि केही कैदीहरू फर्कन थालेपछि अवस्था सामान्य बन्दै गएको छ।

विद्यालय पुग्न दुई घण्टा पैदल

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन्।

यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धबैजाथ विद्यालय पुग्ने गरेका छन्। ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरिता बोहरा वर्षात्को समयमा विद्यालय आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको बताउछन्। “गाउँमा कक्षा ८ सम्मको मात्रै विद्याललय छ त्यसपछि हामीले अध्ययनका लागि दुई घण्टा पैदल हिँडेर ब्रह्मदेव पुग्नुपर्छ”, उनले भने, “वर्षात्को समयमा विद्यालय जान पाउँदैनौँ, बाढीपहिराले सडक बन्द हुन्छ।” विद्यालय टाढा भएकै कारण आफ्ना धेरै साथीहरु विद्यालय छाड्न बाध्य भएको बोहराले बताए।

उनले भने, ‘एक्लै आवतजावत गर्न सकिँदैन। धेरैपटक त बाटोमा खोला तर्न नसकेर घर फर्केका छौँ।’ महाकाली नदी किनार जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले यहाँका विद्यार्थी समूह बनाएर विद्यालय आउने जाने गर्छन्। उक्त बस्तीदेखि विद्यालयसम्म पुग्न १३ खोला तर्नुपर्छ। हिउँदमा अटोरिक्सा र मोटरसाइकल चले पनि बर्खाको समयमा बाढीपहिराले पूर्ण रूपमा सडक बन्द हुँदा यहाँका विद्यार्थी पढ्नबाट वञ्चित हुने गरेका छन्।

सिद्धनाथ मावि ब्रह्मदेवमा १० कक्षामा अध्ययनरत सपना ठकुल्लाले विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको सुनाए। ‘आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय आवतजावत गर्नुपर्छ, घरमा पढाइ गर्न बिजुली बत्ती छैन’, उनले भने, ‘मसँगैका तीन  साथी पढ्न छाडेर मजदुरी गर्न भारत गइसकेका छन्।’ जङ्गलको बाटो बर्खाका बेला पहिरो र चट्याङको समेत डर रहन्छ।

भौगोलिक रूपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा विद्यार्थी आठ किलोमिरट टाढा पैदल विद्यालय जान बाध्य छन्। ‘चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर भए पनि अध्ययनका लागि यहाँका बालबालिका हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि पुग्ने गरेका छन्’, टुँडिखेलका लोकबहादुर थापामगरले भने, “बाटोकै समस्याले धेरैले विद्यालय छाडेका छन्।’

मौसमको अवस्था हेरेर विद्यालय जानुपर्ने बाध्यता छ। ‘मेरो नातिनि पनि कक्षा ९ मा पढ्छिन्, यहाँ विद्यालय जान धेरै समस्या भएकाले मैले लम्कीमा बस्ने भाइको घरमा अध्ययनका लागि पठाएको छु’, उनले भने, ‘यहाँबाट ४०–५० विद्यार्थी हिँडेरै ब्रह्मदेव जान्छन, यहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्छ।’

टाढाको विद्यालय जान यहाँका विद्यार्थीले दुःख झेल्नुपर्ने भएकाले गाउँमै माध्यमीक तहको पढाइ हुनुपर्ने स्थानीयको माग छ। यहाँ रहेको सरस्वती मावि टँुडिखेलमा कक्षा ४ सम्म पढाइ हुने गरेको छ भने बैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाइ हुन्छ। भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाइ हुने गरेको छ। गाउँमा आर्थिक रूपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाइ छाडेर भारत जानुपरेको हो। खल्ला मसेट्टी र टुँडिखेलमा गरी करिब पाँच सय परिवारको बसोबास छ। यहाँका बासिन्दाले महाकाली नदीको बगरमा बालुवा र गिट्टी छानेर आय आर्जन गर्छन्। यहाँका अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेका छन्।

 

नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

काठमाडौं ७ असोज ।  नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्।

पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन्। पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन्। उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरिन्। अन्ततः बेलपत्र समेत त्यागेर खुला आकाश मुनि निराहार कठोर तपस्या गरिरहेकी थिइन्। यसरी कयौँ हजार वर्षको तपस्याका कारण उनको शरीर कमजोर भए तापनि धैर्य र आत्मबलले तपस्या निरन्तर जारी राखिन्।

ब्रह्मचारिणीको कठोर तपस्या देखेर माता मेनका चिन्तित भइन् र छोरीलाई रोकिन आग्रह गरिन् तर उनले अडिग रहिन्। यस तपस्याले तीनै लोकमा हाहाकार मच्चियो र देवता, ऋषि, मुनीहरू सबैले उनको प्रशंसा गरे। अन्ततः पितामह ब्रह्मा प्रशन्न भई भने, ूहे देवी, आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन्। तिम्रो मनोकामना पूरा हुनेछ र चाँडै नै भगवान महादेव पति स्वरूप तिमीलाई प्राप्त हुनेछौ,ू भनी आशीर्वाद दिए।

ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गरिन्छ। विद्यार्थी, साधक र योगीहरूको लागि विशेष फलदायी मानिन्छ। भक्तजनहरूले उनको आराधना गरेमा आयु, शक्ति, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने विश्वास छ। श्रद्धा भक्तिले अर्पण गरिएका फलफूल, पकवान र पुष्प ब्रह्मचारिणीलाई प्रिय छन्।

शास्त्रीय मान्यता अनुसार कुनै पनि प्रकारको बन्धन वा अनिष्ट नाशका लागि आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणी माताको पूजा गरी सख्खर चढाउनुपर्छ। यस दिन गरिएको दानपुण्यले शुभफल प्राप्त हुन्छ।

ब्रह्मचारिणी देवीको पूजाविधि यसप्रकार छस् देवीलाई फूल, अक्षत, रोली र चन्दन अर्पण गर्नुपर्छ। दूध, दही, सख्खर, घृत वा मधुले स्नान गराई प्रसाद चढाउनुपर्छ। प्रसादपछि आचमन, पान र सुपारी अर्पण गरी देवीलाई प्रदक्षिणा गर्नुपर्छ। कलश देवता, नवग्रह, दशदिक्पाल, नगरदेवता र ग्रामदेवतासहित पूजा गरी अन्त्यमा हातमा फूल लिएर प्राथना गर्नुपर्छ।

भक्तिपूर्वक गरिएको ब्रह्मचारिणीको आराधनाले अनन्त शुभफल प्राप्त हुने धार्मिक विश्वास छ।

खोज्नुहोस