विज्ञको डरलाग्दो चेतावनी : कन्टेन्ट क्रिएटर भविष्यमा यस्तो कुरुप बन्नेछन्

सोसल मिडियामा सक्रिय रहने इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरु अहिले निकै ग्लामरस लाग्दछन् । तर, भविष्यमा सोसल मिडियाका कन्टेन्ट क्रिएटरहरुले आफ्नो यस्तो प्रभावशाली व्यक्तित्व गुमाउनेछन्।

हातमा मोबाइल फोन लिएर लगातार विभिन्न खालका सिर्जनात्मक सामग्रीहरू तयार पार्ने यस्ता कन्टेन्ट क्रिएटरहरुहरुको भविष्यको रुपरंग तथा सरीरलाई लिएर डरलाग्दो खालको एक प्रारुप तयार पारिएको छ । यसका माध्यमबाट विज्ञहरुले ग्याजेटको अत्यधिक प्रयोगले कन्टेन्ट क्रिएटरहरु भविष्यमा कस्ता बन्नेछन् भन्ने देखाउने कोसिस गरेका छन् ।

फोनमा सोसल मिडियाका लागि विविध सामाग्री तयार पार्ने मानिसहरु भलै अहिले ग्लामरस तथा आकर्षक देखिन्छन्, तर उनीहरुको त्यो जाज्वल्य धेरै नटिक्ने देखिन्छ ।

न्युयोर्क पोस्टको रिपोर्ट अनुसार अनलाइन जुवा साइट क्यासिनो डट ओआरगीका विज्ञहरुले एउटा अनौठो खालको एआई मोडल तयार पारेका छन् । यसले सन् २०५० मा कन्टेन्ट क्रिएटरहरु कस्ता देखिनेछन् भन्ने देखाएको छ । यसमा उनीहरुको छालामा धब्बा, कुप्रो ढाड तथा गर्धनमा लगातार दुखाईको संकेत दर्शाईएको छ ।

जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सक्छ कन्टेन्ट क्रियसन

विज्ञहरुका अनुसार सोसल मिडियामा सामाग्री सिर्जना गर्ने करिअर आकर्षक देखिएता पनि यसले हाम्रो जीवनशैलीले गम्भीर असर ल्याउन सक्दछ । लाखौं करोडौं फलोअर्स भएका सोसल मिडिया सेलिब्रेटीको ट्रेण्डिङ पेशाले उनीहरुको शरीरको रुपरंगलाई प्रभावित गर्दछ ।

विज्ञहरुका अनुसार एल्गोरिदमको पछि लाग्नु, सौन्दर्य मानकको दबाब तथा निरन्तर कन्टेन्ट सिर्जनाले शरीर र मन दुवैमा नकारात्मक प्रभाव पार्नसक्छ ।

यो कुरालाई प्रष्ट पार्नका लागि क्यासिनो डट ओआरजीले एवा नामको भविष्यको एउटा काल्पनिक कन्टेन्ट क्रिएटरको प्रारुप तयार पारेको छ । यो वर्षौंसम्मको कन्टेन्ट क्रियसनबाट सिर्जित जटिलताहरुको डिजिटल प्रतिनिधि हो ।

जसरी सन् १८९० मा ओस्कार वाइल्डले लेखेको प्रसिद्ध थ्रिलर उपन्यास द पिक्चर अफ डोरियन ग्रे ले सोसल मिडिया युगका डरलाग्दो वास्तविकतालाई प्रतिनिधित्व गर्दछ, त्यसैगरी एवाले कन्टेन्ट क्रियसनमा लिप्त सर्जकहरुको भविष्यको शारीरिक विकारलाई देखाउँदछ ।

विज्ञ भन्छन् : लस भेगासको अन्तहीन ब्राण्ड यात्रादेखि फिल्टर र फोटोशूटको दैनिक भागदौडसम्मले उनीहरुको जीवनशैलीमा गहिरो छाप छाडेको छ ।

चिकित्सा अनुसन्धान अनुसार एवाको रुपरंग प्रभावशाली मानिसहरुका आनीबानीको परिणाम हो ।

काल्पनिक पात्र एवाको भयावह रुप

यस एआई सेलिब्रेटीको गतिहीन, स्क्रिन संतृप्त जीवनशैली वास्तवमा उसैमाथि भारी पर्नेछ । उदाहरणका लागि लामो समयसम्म सोसल मिडिया तथा स्मार्टफोनको प्रयोगका साथै रिंग लाइटको तल घण्टौँसम्म पोज दिँदा एवाको काँध गोलो भएको छ । त्यसैगरी टाउको अगाडितर्फ झुकेको छ र गर्धनमा सधै पीडा महसुस हुन्छ । यस्तो अवस्थालाई टेकनेक भन्दछन् ।

इन्टरडिसिप्लिनरी न्यूरोसर्जरी पत्रिकामा शोधकर्ताहरुले लेखेको रिपोर्ट अनुसार पटक पटक स्मार्टफोनको प्रयोगले गर्धनको पोस्चर असन्तुलित हुनसक्छ वा मांशपेशी तथा हड्डी (मस्कुलोस्केलेटल) विकार विकसित हुनसक्छ ।

गर्धनको अगाडितर्फ झुकेको अवस्थाले गर्दा गर्धन र मेरुदण्डको दुखाइ सिर्जना गर्दछ । साथै यसले मेरुदण्ड आसपासका क्षेत्रहरुमा मांशपेशीमा दबाब पैदा गर्न सक्दछ । यो वास्तवमा चिन्ताजनक अवस्था हो ।

बीबीसीका अनुसार सोसल मिडिया इन्फ्लुएन्सरहरुले हप्तामै ९० घण्टासम्म काम गर्दछन् र त्यसको अधिकांस समय आफ्नो फोनमै बिताउँछन् ।

भविष्यको अविश्वसनीय विज्ञान प्रविधिको विकाससँग सम्बन्धित कथानक भएको थ्रिलर फिल्म द सब्सेन्टजस्तै सोसल मिडिया सेलिब्रेटीहरुको सौन्दर्यको खोजीले उनीहरुलाई उल्टै कुरुपतामा धकेलिरहेको छ ।

क्यासिनो डट ओआरजीका अनुसार एआई पात्र एवालाई छालाको जलन, सुन्निने तथा छालामा दागधब्बा निस्कने  जस्ता समस्या देखिएका छन् । दैनिक रुपमा पटक-पटक अनेक खालका मेकअप लगाउने, बारम्बार छाला सुन्दर बनाउने भन्दै ब्यूटी प्रडक्टहरु लगाउने र लगातार कस्मेटिकको प्रयोग गर्दा यस्ता समस्या उत्पन्न हुन्छ ।

आँखामा पनि असर

सोसल मिडियामा पोस्ट गर्नका लागि तयार पारेका सामग्रीहरु सम्पादन तथा लाइभ प्रशारण गर्ने सिलसिलामा व्यतित गरिएको लम्बेतान समयले आँखामा पनि ठूलो असर पार्नसक्छ । मेडिकल जगतमा यसलाई डिजिटल आई स्ट्रेन वा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ ।

यो समस्याका लक्षणहरुमा आँखा रातो हुनु, सुख्खा हुनु तथा दृष्टि धमिलो हुनुदेखि आँखाको मुनि सुन्निएको जस्तो वा डार्क सर्कल बस्नु लगायतका हुन्छन् ।

अत्यधिक स्क्रिन टाइमका कारण आँखामा उत्पन्न हुने यस्ता दुष्प्रभावलाई कम गर्नका लागि स्क्रिनमा काम गर्नेहरुले २०-२०-२० को नियम पालना गर्नुपर्छ । यसमा हरेक २० मिनेट कम्प्युटर वा फोनको स्क्रिनमा आँखाले हेरेर बिताएसँगै २० सेकेण्डका लागि २० फिटको दूरीमा रहेको कुनै पनि चिजलाई हेर्नुपर्छ र आँखालाई केही बेरका लागि स्क्रिनबाट बाहिर निकाल्नुपर्छ ।

लगातार सोसल मिडिया फीड स्क्रोल गर्ने तथा फ्यानहरुसँग दिनरात कुराकानी गरिरहने बानीले निद्रामा असर गर्नसक्छ । किनकि स्क्रिनबाट निस्कने निलो प्रकाशले सरीरमा एड्रेनलाइन हर्मोनको उत्सजर्नमा प्रभाव पार्ने र जैविक घडीमा असर पार्ने हुन्छ ।

फिलरका कारण विकृत हुँदै अनुहार

सोसल मिडिया इन्फ्लुएन्सरले राम्रो अनुहार देखाउनका लागि अनुहारमा वर्षौँसम्म फिलर लगाउँदा त्यसले अनुहार असमान तथा विकृत बन्दछ । स्नापच्याट डिस्मर्फिया तथा पिलो फेस सिन्ड्रोम जस्ता ट्रेण्डबाट प्रेरित भएर यस्ता कस्मेटिक प्रयोग गर्नाले गाला सुन्निने, चुच्चो परेको चिउँडो तथा ओँठ बन्ने र अनुहारको कृत्रिम र कुरुप स्वरुप सिर्जना हुने जोखिम रहन्छ ।

साथै स्टाइलिस बन्नका लागि कपालमा अत्यधिक बाह्य सामग्री तथा रसायनको प्रयोगले कपाल झर्ने, तालु खुइलिने वा कपाल पातलो बन्ने जस्ता समस्या निम्तिने गरेका छन् ।

छाला विज्ञ तथा कपाल झर्ने समस्या सम्बन्धी विज्ञ आमना एडेलका अनुसार कपालको जरा अर्थात् फोलिकलहरु लगातार तान्नाले ट्रयाक्सन एलोपेसिया नामक समस्या उत्पन्न गर्दछ । यस्तो समस्या समयक्रम सँगै असाध्य बन्दछ र स्थायी रुपमै कपाल झर्नसक्छ ।

क्यासिनो डट ओआरजीका अनुसार उसले तयार पारेको कन्टेन्ट क्रिएटरको एआई प्रतिरुप एवा केवल एक काल्पनिक तथा अवधारणागत चित्र मात्र होइन । यो हाम्रो यस्तो डिजिटल लतले पार्ने दीर्घकालीन प्रभावहरुको प्रतिबिम्ब पनि हो ।

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन्।

साँझ ६ बजे प्रधानमन्त्री कार्यालयबाट उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसअघि आजै दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्।

बाजुराका स्याउ धनगढीमा, उचित मूल्य पाएपछि किसान हर्षित

कैलाली । मुक्तिनाथ कृषि कम्पनी लिमिडेडले बाजुराका स्याउ ब्राण्डिङ गर्न थालेको छ । सुदूरपश्चिम प्रदेश राजधानी धनगढी सँगै देशभरका मुख्य सहरमा ब्राण्डिङ गर्न थालेको हो ।
दुर्गम जिल्ला बाजुराका स्याउ सिधै धनगढी ढुवानी हुनथाले पछि किसान हर्षित भएका छन । मुक्तिनाथ कृषि कम्पनि सुदूरपश्चिम, स्थानिय पालिका र कृषि ज्ञान केन्द्रको समुन्वयमा बजार नपाएका स्याउले मुख्य बजार पाएपछि किसानको मनोवल पनि बढेको छ ।
बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ जोरुका दन्त रावलले यो वर्ष २५ लाखभन्दा बढीको स्याउ बिक्री गरेको बताए । पहिलोपटक गाउँबाटै ठूलो मूल्यका स्याउ बिक्री भएपछि उनी मख्ख छन् । अघिल्लो वर्षसम्म उत्पादन भएका स्याउ कसरी बिक्री गर्ने भन्ने चिन्ताले किसानलाई सताउँथ्यो । तर यो वर्ष बिक्री त के सदरमुकामसम्म पुर्‍याउने झन्झट पनि उनीहरूलाई भएन ।

‘गाडीमा ५ घण्टा, हिँडेर डेढ दिन लाग्छ सदरमुकाम पुग्न । त्यति दुःख गरेर स्याउ पुर्‍याइहाल्यौं भने पनि बिक्री हुने हो कि होइन भन्ने चिन्ता हुन्थ्यो । सस्तोमै बेच्नु पर्थ्यो । तर यो वर्ष राम्रो मूल्यमा गाउँबाटै सबै स्याउ बेच्यौं,’ रावलले भने ।

किसानले स्याउ बिग्रिन नदिन गोदाममा राख्नु पर्ने हुन्छ । एक दिनको गोदाम शुल्क मात्रै ५ देखि ७ हजार लाग्छ । मार्तडीमा बिक्री नभएका स्याउ सुर्खेत लगेर बेच्नु पर्ने बाध्यता किसानलाई थियो । पोहर साल जोरुबाट २ दिन लगाएर मार्तडी हुँदै सुर्खेत स्याउ पुर्‍याएका रावलले त्यहाँ उचित मूल्य नपाएको सुनाए । ‘गोदामको, खानबस्नको पैसा लाग्ने । सुर्खेत पुर्‍याएर पनि सस्तोमा बेच्नु पर्ने । आधा स्याउ सडेर जाने । फाइदा भन्दा घाटा बढी हुथ्यो,’ उनी भन्छन्, ‘अहिले केही चिन्ता छैन । हाम्रो स्याउ सिधै धनगढी पुग्छ ।’

मार्तडी र सुर्खेतमा ३० देखि ४० रुपैयाँ प्रतिकेजीमा बेच्ने उनले मुक्तिनाथसँग गाउँबाटै ६० रुपैयाँ केजीमा स्याउ बिक्री गरेका छन् । रावलजस्तै अर्का किसान प्रेम कटेलले गाउँभरिका किसानको स्याउ जम्मा गरेर ६० क्विन्टल बिक्री गरेका छन् । करिब १५०० बोटमा स्याउ उत्पादन गरिरहेका उनले बजार सुनिश्चित भएपछि थप व्यावसायिक तरिकाले खेती गर्ने बताए । पहाडमा स्याउको बजार खासै छैन । त्यसकारण गाउँपालिका, कृषि ज्ञान केन्द्र र कृषि कम्पनीको सहयोगमा स्थानीय कृषक समूहले तराईमा स्याउ पुर्‍याएर बिक्री गर्न थालेका हुन् ।

यससँगै बाजुराका किसानलाई डोकोमा स्याउ बोकेर सदरमुकाम मार्तडी र कोल्टी पुर्‍याउनु पर्ने बाध्यता हटेको छ । गत असोज ५ गते कम्पनीले किसानहरूबाट ६० क्विन्टल स्याउ धनगढी ल्याएको थियो । जसमध्ये ३५ क्विन्टल बिक्री भएको र बाँकीको अर्डर पनि आइसकेको मुक्तिनाथ कृषि कम्पनीले जनाएको छ ।

बाजुराबाट कर्णाली प्रदेशको दैलेख, सुर्खेत र लुम्बिनी प्रदेशको बाँके, बर्दिया हुँदै धनगढीसम्म अर्गानिक स्याउ पुग्न थालेको छ । स्थानीय बजारमा ४० रुपैयाँमा पनि बिक्री नहुने स्याउ तराईमा प्रतिकेजी १ सय ३० रुपियाँका दरले बिक्री हुने गरेको किसानहरू बताउँछन् ।

स्याउ खरिददेखि बिक्रीसम्म मुक्तिनाथ कृषि कम्पनीले किसानलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ । कम्पनीका सुदूपश्चिम प्रदेश क्षेत्रीय प्रबन्धक हिक्मतराज उपाध्याय दुर्गमका उत्पादनलाई बजारीकरण, ब्रान्डिङ, किसानको आम्दानी वृद्धि र बजारको सुनिश्चितता कायम गर्न काम गरिरहेको बताउँछन् ।

‘दुर्गमका किसान धेरै कुरा उत्पादन गर्नु हुन्छ । तर, त्यो उत्पादनले न बजार पाउँछ, न त उचित मूल्य । यी सबै समस्यालाई मध्यनजर गर्दै हामी बाजुरासम्म पुगेका हौं ।’ उपाध्यायका अनुसार मुक्तिनाथले स्याउ मात्रै होइन, सिजनअनुसार त्यहाँ उत्पादन हुने मकै, कोदो, भटमास लगायतका बस्तु बिक्री ग्यारेन्टीको सम्झौता गरेको छ । यससँगै किसानलाई आवश्यक कृषि विशेषज्ञ, प्राविधिक सहयोग पनि उपलब्ध गराउने योजना कम्पनीको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष बाजुरामा ५ सय २४ हेक्टरमा स्याउ खेती गरिएको छ । यसमध्ये १ सय २ हेक्टरमा मात्रै ६० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । उत्पादित स्याउ मुक्तिनाथ कृषि कम्पनीमार्फत देशभरका मुख्य बजारमा बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । ‘पहिला सबैभन्दा बढी समस्या ढुवानीको थियो । अर्को ब्रान्डिङ नहुँदा किसानले बजार पाए पनि गुणस्तर कायम गर्दैन थिए । मुक्तिनाथले गर्दा स्याउले बजार र गुणस्तर दुवै पाउने आशा छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख साहनीले भने ।

उनका अनुसार पहिला जगनाथ, बूढीनन्दा र स्वामिकार्तिकमा मात्र उत्पादन हुने स्याउ अहिले हिमाली, गौमूल र खप्तड छेडेदह गाउँपालिकामा समेत उत्पादन हुने गरेको छ । यहाँ फुजी, गाला र गोल्डेन जातका स्थानीय स्याउ उत्पादन हुने गरेको हुन्छन् ।

स्याउ धेरै उत्पादन हुने पालिकामध्ये एक स्वामिकार्तिक गाउँपालिका पनि एक हो । पालिकाका अध्यक्ष भरत रोकायाका अनुसार उत्पादन बढी भए पनि बिक्री नहुँदा स्याउ सडेर खेर जान्थ्यो । यो वर्ष कृषि ज्ञान केन्द्र र पालिकासँग समन्वय गरेर मुक्तिनाथले स्याउ किनेपछि किसानको मनोबल बढेको उनले बताए ।

उनका अनुसार मुक्तिनाथ कृषिले किसानबाटै स्याउ खरिद गर्ने गरेको छ । खरिद गर्दा ७० प्रतिशत अग्रिम र ३० प्रतिशत रकम बिक्री भएपछि किसानलाई बुझाउने सम्झौता पालिकासँग भएको छ । ‘बजार नपाएका किसानले राम्रो मूल्य पाएका छन् । ढुवानी खर्च पनि मुक्तिनाथले नै व्यहोर्ने हुँदा ठूलो राहत भयो,’ उनले भने, ‘कम्पनीसँग आधिकारिक रूपमा सम्झौता भइसक्यो । किसान ठगिने डरबाट पनि ढुक्क भएँ ।’

नेप्सेका कर्मचारीले मागे अध्यक्ष र सीईओको राजीनामा

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राजनीतिक प्रभाव र भागबन्डाका आधारमा अध्यक्षमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चूडामणि चापागाईं नियुक्त भएको भन्दै नेप्से कर्मचारी संघले कडा आपत्ति जनाएको छ।

कर्मचारीहरूले बस्याललाई नेप्सेसँगै उनको निजी कन्सल्टेन्सीबीचको पुरानो भुक्तानी विवादकै बीच अध्यक्षमा नियुक्त गर्नु स्वार्थ बाझिने विषय भएको आरोप लगाएका छन्। केही वर्षअघि उनले देखावटी परियोजना शीर्षकमा २५ लाख रुपैयाँको भुक्तानी माग गर्दा अस्वीकार भएपछि तत्कालीन व्यवस्थापनमाथि अनर्गल आरोप लगाउँदै संस्थाको छवि धुमिल पारेको प्रसंग पनि कर्मचारीहरूले स्मरण गराएका छन्।

बस्यालले कर्मचारीबीच फुट ल्याउने, धम्क्याउने, प्रलोभन दिने र कार्य वातावरण बिगार्ने काम थालेको विज्ञप्तिमा उल्लेख छ।

उनी २०८० मंसिरमा अर्थ मन्त्रालयमा पेस भएको पुनर्संरचना प्रस्तावलाई असफल बनाउन सक्रिय रहेको आरोप पनि लगाइएको छ। ठूला खरिद प्रक्रियामा हस्तक्षेप गरी स्वार्थसिद्ध गर्ने र तत्कालीन अर्थमन्त्रीसँग मिलेमतो गरेको आशंका समेत कर्मचारीहरूले व्यक्त गरेका छन्। त्यस्तै, छ महिनाअघि नियुक्त सीईओ चूडामणि चापागाईंबारे पनि पुनर्संरचना, प्रविधि विकास र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न असफल भई बिचौलियाको दबाबमा काम गरेको आरोप लगाइएको छ। कर्मचारीहरूको भनाइमा, दुवै पदाधिकारीले तत्काल राजीनामा नदिएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिइने छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरूले आफ्ना माग फेर्दै अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँको राजीनामा माग गरेका छन्।

मंगलबार बोनसको माग गर्दै उनीहरूलाई राति १२ बजेसम्म कोठामा थुनेका कर्मचारीले बुधबार प्रेस विज्ञप्ति जारी गरी दुवैको तत्काल राजीनामा माग गरेका हुन्। उनीहरूले हातमा कालो पट्टी बाँध्ने, धर्ना बस्ने र कार्यकक्षमा तालाबन्दी गर्नेजस्ता संघर्ष कार्यक्रम पनि घोषणा गरेका छन्। गत भदौ २७ गते पदभार ग्रहण गरेका अध्यक्ष बस्याल १० दिन पनि काम गर्न नपाउँदै विवादमा परेका छन्। कर्मचारीहरूले उनलाई कर्मचारीबीच फुट ल्याउने, धम्की दिने र स्वार्थसहित नेप्सेमा प्रवेश गरेको आरोप लगाएका छन्।

यता सीईओ चूडामणि चापागाईँमाथि पनि पुनर्संरचना, प्रविधि विकास र लगानीकर्ताको विश्वास बढाउन असफल भई बिचौलियाको दबाबमा काम गरेको आरोप लगाइएको छ। दुवै पदाधिकारीले राजीनामा नदिएसम्म आन्दोलनलाई निरन्तरता दिने नेप्से कर्मचारी संघको चेतावनी छ।

नेपाल टेलिकमको बिलिङमा समस्या, कयौं फोन वान–वे

काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र  प्रिपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ ।

करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।

नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रव्निद्र मानन्धरले बताए । उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो । अहिले समस्या समाधान भइसकेको छ । थप काम भइरहेको छ ।’

मध्यरातदेखि टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा समस्या आएको थियो । यो भनेको रियल टाइम चार्जिङ सिष्टम हो।

दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित

काठमाडौं । दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी “रगासा” ले व्यापक असर पु-याएको छ । बुधबार दिउँसो दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा आएको यस आँधीबेहरीले भीषण हावा र मुसलधारे वर्षा गराएको छ ।

यो वर्षको १८औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।

ग्वाङ्डोङ प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले आँधी आउनुअघि नै पूर्वतयारी स्वरूप करीब १० लाखभन्दा बढी जनतालाई सुरक्षित स्थानमा सारेको छ । साथै, तटीय क्षेत्रमा नियन्त्रणात्मक उपायहरू लागू गर्दै बन्दरगाह सञ्चालन स्थगित गरिएको छ । करिब ८० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाहमा बाँधिएका छन् भने १२ हजार २ सयभन्दा बढी समुद्री कामदारहरूलाई किनारमा सुरक्षित स्थानमा राखिएको छ । यसबीच, केन्द्रीय सरकारले पनि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।

अन्य प्रभावित क्षेत्रहरूमा पनि स्थानीय निकायहरूले पूर्वसावधानी अपनाएका छन ्। हाइनान प्रान्तमा द्रुतगति रेल सेवा र केही हवाई उडानहरू रोकिएका छन् भने एकहजार भन्दा बढी यार्डहरू बन्दरगाहमा राखिएका छन् । ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा पर्यटकलाई वेइझोउ टापुदेखि सारिएको छ र तटीय मार्गहरू बन्द गरिएका छन् ।

यसैगरी, हङकङ विशेष प्रशासनिक क्षेत्रमा विद्यालयहरू बन्द गरिनुका साथै यातायात सेवा स्थगित गरिएको छ भने मकाउ विशेष प्रशासनिक क्षेत्रमा तल्लो भू–भागमा डुबान भएर स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

चीनको केन्द्रीय मौसम विज्ञान वेधशालाले बिहीबारबाट ग्वाङ्डोङ तटमा हावा र वर्षाको तीव्रता क्रमशः घट्ने र वर्षा पश्चिमतर्फ सर्ने अनुमान गरेको छ । जसले ग्वाङ्सी क्षेत्रमा ठूलो असर पार्ने सम्भावना छ । साथै, सर्वसाधारणलाइ अनावश्यक यात्रा नगर्न, शहरी क्षेत्रमा सम्भावित बाढी र ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिमबाट सावधान रहन आग्रह गरिएको छ । प्रभावित हुन सक्ने अन्य प्रान्तहरूमा युनान, गुइझोउ, जियाङसु, फुजियान र झेजियाङ पनि रहेका छन् ।

जिल्ला समन्वय समिति अछामकी उपप्रमुख बिरुद्ध अख्तियारमा उजुरी

अछाम- जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती बम शाही बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

समन्वय उप प्रमुख शाहिले प्रचलित नियम कानून र ओहदाको दुरुपयोग गरेको, पदिय दायीत्व कर्तब्य निर्वाह गर्नु पर्नेमा अधिकारको दुरुपयोग गरी जिल्ला समन्वय समितीको प्रमूखको रुपमा उप–प्रमूखले प्रमूखको किर्ते हस्ताक्षर गरी आफ्नो परिचयपत्र जारी गरेको भन्दै अख्तियारमा उजुरी परेको हो।

यस्तै समन्वय समिती उप–प्रमूख दानमती शाही बमले आफुले नियमानुसार पाउने दैनिक भ्रमण खर्च जिल्ला समन्वय समिति प्रमुखबाट स्विकृत गराउनु पर्नेमा आफै स्विकृत गर्ने गरेको र सदस्यहरुको समेत आफै स्विकृत गर्ने गरेको भन्दै मुद्दा परेको हो।

यस्तै उपप्रमुख शाहीले अछाम जिल्ला स्थित विभिन्न कार्यालय स्थानीय तहबाट अनुगमन नै नगरी फर्जि कागजात पेश गरि पदको दुरुपयोग गरि भ्रमण भत्ता लिने गरेकी भन्दै अख्तियार मुद्दा परेको हो।

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं ९ असोज। नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाइएको छ ।

ढुकुटीको दोहन रोक्न सरकारको ‘बोल्ड’ निर्णय

काठमाडौं ०९ असोज । जेन–जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले राजनीतिक नियुक्तिका नाममा कार्यकर्ता भर्ती गरेर हुँदै आएको राज्यकोषको दोहन रोक्न ‘बोल्ड’ निर्णय गरेको छ । संघ मात्रै होइन, प्रदेशदेखि स्थानीय तहसम्मै प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मले स्वकीय, सल्लाहकार र विभिन्न नियुक्ति गरेर वार्षिक अर्बौँ सकाउँदै आएकामा सरकारले एकैपटक दर्जनौँ निर्णय गरेर फजुल खर्च अन्त्य गर्ने कदम चालेको हो ।

मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णयमा अति विशिष्ट पदाधिकारी (भिभिआइपी) र मन्त्रीबाहेकको स्वकीय सुविधा खारेज गर्ने उल्लेख छ । जसअनुसार सांसद, स्थानीय तह र अन्य राजनीतिक पदाधिकारीले लिँदै आएको स्वकीय सचिवको सुविधा खारेज हुनेछ । ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने’ निर्णयमा उल्लेख छ ।

त्यस्तै, भिभिआइपीबाहेकले सल्लाहकार नियुक्ति गर्न नपाउने निर्णय पनि गरेको छ । यससम्बन्धी मन्त्रिपरिषद्को निर्णयमा ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाहेक नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका पदाधिकारीका लागि सल्लाहकार नियुक्ति नगर्ने’ उल्लेख छ ।

कार्यकारी यी निर्णयले स्वकीय सचिव र सल्लाहकारका नाममा संघदेखि स्थानीय तहसम्म झाँगिएको बेथितिलाई रोक्नेछ । सरकारको यो निर्णय कडाइका साथ कार्यान्वयनमा गए ठुलो रकम बचत हुनेछ । मन्त्रिपरिषद्का यी निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार र सबै स्थानीय तहलाई पत्राचारसमेत गरिसकेको छ । मन्त्रिपरिषद्का निर्णय अर्थ मन्त्रालयमार्फत परिपत्र गरेर कार्यान्वयन प्रक्रियामा लगिएको अर्थ प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

‘मन्त्रिपरिषद्ले गरेको निर्णय तुरुन्त कार्यान्वयनमा जान्छ । यसका लागि अर्थ मन्त्रालयले परिपत्र पनि गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि कुनै कानुन वा नियमावली बाधक हुन्छ भने पनि त्यसलाई फुकाउँदै जाने हो । निर्णय कार्यान्वयनका लागि के–के चाहिन्छ, आवश्यक निर्णय हुन्छ । भोलि कार्यान्वयनमा समस्या परे सरकारले मिलाउँछ,’ उनले भने, ‘जहाँसम्म स्वकीयहरूको विषय छ, सरकारले निर्णय गरेबमोजिम हट्नुपर्छ । निर्णय अक्षरशः कार्यान्वयन हुन्छ ।’

सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सञ्चालन, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनप्र्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा आइतबारको मन्त्रिपरिषद्ले विभिन्न निर्णय गरेको थियो ।

सार्वजनिक खर्च पुनरावलोकनका लागि ०७५ मा गठित ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग’का अध्यक्ष अर्थशास्त्री डा. डिल्लीराज खनालले सरकारको सुरुवातलाई सकारात्मक मात्रै होइन, साहसिक पनि रहेको बताए । ‘१३–१४ खर्बको बजेट हुँदा म अध्यक्ष रहेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले तीन खर्बआसपास खर्च कटौती गर्न सकिन्छ भनेर प्रतिवेदनमा लेखेको हो । हामीले खारेज गर्नुपर्ने सिफारिस गरेका विभिन्न समिति, कोष, परिषद् इत्यादिमा अहिले पनि एक खर्बभन्दा बढी बजेट छुट्याइएको छ,’ उनले भने, ‘अनुत्पादक खर्च कटौती गर्नुपर्ने र पुनर्निर्माणका लागि ठुलो स्रोत जुटाउनुपर्ने आवश्यकताबिच सरकारले गरेको सुरुवात सकारात्मक मात्रै होइन, साहसिक पनि छ ।’

डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट दिए राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।

जेनजी आन्दोलनपछि बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट भट्टराईले राजीनामा घोषणा गरेका हुन्। बैठकले केन्द्रीय समिति भंग गर्दै महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरेको छ ।

जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो ।

नख्खु कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

काठमाडौं ।  कारागार कार्यालय नख्खुबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका सञ्चालक पक्राउ परेका छन्। सहकारी सञ्चालक केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।

शर्मालाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनलाई ब्युरोको टोलीले सानेपाबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई नख्खु कारागार पठाइसकेको छ।

नेप्सेका अध्यक्ष र सीईओले राजीनामा दिनु पर्ने कर्मचारीको माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा माग गरेका छन् । कर्मचारीहरुले आज प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणि चापागाईको राजीनामा माग गरेका हुन् ।

नेप्से कर्मचारी संघले राजनीतिक दलका कार्यकर्ता, राजनीतिक प्रभाव र भागबन्डाका आधारमा नेप्सेको अध्यक्षमा बस्याल र सीईओमा चापागाईं नियुक्त भएको भन्दै राजीनामा दिनु पर्ने माग गरेको छ । बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानीसम्बन्धी विवाद रहेकै अवस्थामा उनी अध्यक्षमा नियुक्त हुनु स्वार्थ बाझिने संघले दाबी गरेको छ । ‘पुरानो हिसाब मिलाउने गलत उद्देश्यले बस्याल नेप्सेमा प्रवेश गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वार्थ बाझिने कुरा गर्ने स्वयं बस्यालले तत्काल राजीनामा दिनुपर्छ । उनलाई नियुक्त गर्ने प्रक्रियामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन आवश्यक छ ।’

यसैगरी सीईओ चापागाईंले एक्लैले गर्न नसकेको कामलाई समर्थन गर्न बस्याल ‘अतिरिक्त शक्ति’का रुपमा नेप्सेमा आएको विज्ञप्तिमा उल्लेख छ । ‘एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा सीईओका रुपमा मासिक ५ लाख रुपैयाँ तलब र अन्य सुविधा छाडेर नेप्सेमा प्रतिबैठक २ हजार ५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुले नै उनको नियतप्रति ठूलो प्रश्न खडा गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने पक्षमा उभियो सुदूरपश्चिम कांग्रेस

काठमाडौं : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेको छ। बुधबार प्रदेशस्तरीय नेताहरूको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो।

‘राष्ट्रिय राजनीतिको निकास दिनका लागि संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्नुपर्छ। त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने र पुनःस्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरेर आमनिर्वाचनमा जानुपर्छ,’ सुदूरपश्चिम कांग्रेसले भनेको छ।

सुदूरपश्चिम कांग्रेसले यस प्रक्रियामा जेनजी युवाहरूलाई समेत सहभागी गराउनुपर्ने बताएको छ।

 

बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीलगायत सहभागी थिए।

प्रचण्डले भने- महाधिवेशनअघि कसैसँग एकता भइहालेमा चिज अर्कै ढंगले जान्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पार्टी एकता भइहालेमा आगामी महाधिवेशन नहुने बताएका छन् ।

यदि एकता नभएमा आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गर्ने उनको भनाइ छ ।

आज बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टी संगठनका विषयमा जानकारी गराएका थिए ।

त्यसक्रममा विभिन्न दलहरुसँग पार्टी एकताको प्रयास पनि भइरहेको उनले बताएको स्रोत बताउँछ ।

स्रोतका अनुसार नेकपा माओवादीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पार्टी एकताको प्रयासमा छलफल चलाइरहेको स्रोत बताउँछ ।

बैठक स्रोतले भन्यो, ‘महाधिवेशनअघि कसैसँग पार्टी एकता भइहालेमा चिज अर्कै ढंगले जान्छ भनेर अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।’ प्रचण्डको यो अभिव्यक्तिले पार्टी महाधिवेशन आगामी मंसिरमै हुन्छ कि हुँदैन भन्नेमा शंका पैदा गरेको ती नेताको भनाइ छ ।

तर बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारी अनुसार आगामी मंसिरमा महाधिवेशन गर्नुअघि अध्यक्ष प्रचण्डले सबै पार्टी कमिटी भंग गर्ने बताएका छन् ।

पार्टी कमिटी भंग भएपछि प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बन्ने उनले बताए ।

त्यसका लागि माओवादी केन्द्रले असोज ९ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सो बैठकले औपचारिक रुपमा केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठनको निर्णय गर्ने नेताहरु बताउँछन् ।

हजार र पाँच सयको नोटमाथि प्रतिबन्ध लाग्दैन : अर्थमन्त्री खनाल

विराटनगर : अर्थमन्त्री रामेश्वर खनालले हाल बजारमा हल्ला चलेजस्तो एक हजार र पाँच सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने विषयमा सरकारले कुनै छलफल नगरेको स्पष्ट पारेका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नोट प्रतिबन्धको हल्लामा कुनै सत्यता नरहेको बताए। एक प्रश्नको जवाफमा मन्त्री खनालले भने, ‘अहिलेको अवस्थामा हजार र पाँच सयको नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन।’

फरक प्रसङ्गमा, मन्त्री खनालले प्रदेश संरचना खारेज हुने सम्भावनालाई पनि अस्वीकार गरे। उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश खारेजीको कुनै सोच नरहेको स्पष्ट पारे।

त्यसैगरी, भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा गरेको परिवर्तनबारे सोधिएको प्रश्नमा उनले त्यसको असरबारे अध्ययन भइरहेको बताए। मन्त्री खनालले भारतीय नीतिको कारण नेपाली उद्योग-व्यवसायमा नकारात्मक असर पर्ने देखिएमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे।

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधान अनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्ने सम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे।

एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक हजार र रु ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिए।

भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए ।

 

कारोबारसँगै २७.८९ अंकले घट्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा उतारचढाव देखिएको थियो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको भयो । बजारमा दशैं प्रभाव कारोबार रकममा देखिएको छ । अब सेयर बेच्नेले दशैंअघि रकम नपाउने भएकाले बेच्नेहरू उत्साहित छैनन् । अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ता सक्रिय देखिँदैनन् ।

जेनजी आन्दोलन प्रभावबारे नेपाली राजदूतहरूसँग सरकारको ‘भर्चुअल’ बैठक

काठमाडौं । अध्यागमन विभागले विदेशस्थित नेपाली राजदूतहरूसँग ‘भर्चुअल’ बैठक गरेको छ । पछिल्लो समय नेपालमा उत्पन्न समस्याबारे नेपाली राजदूतहरू र दूतावासका अधिकारीसँग भर्चुअल बैठक गरिएको हो ।

नेपालबाट श्रम आप्रवासन र पर्यटकीय प्रकृतिका भिसामा अन्य देश प्रस्थान गरी श्रम/रोजगारीमा संलग्न नेपालीको पछिल्लो अवस्था लगायत विषयमा छलफल भएको हो ।

भर्चुचल बैठकमा ९ देशका लागि नेपाली राजदूत तथा दूतावासका अधिकारीहरूको सहभागिता थियो । बैठकमा वैदेशिक रोजगारीमा देखिएका विद्यमान समस्या, पछिल्लो अवस्था, प्रवृत्ति, यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम र अध्यागमन नियमन सम्बन्धमा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति लगायत विषयमा छलफल भएको अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

बैठकमा युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, ओमान, कुबेत, साउदी अरब, बहराइन लगायत खाडी मुलुक एवं मलेसिया र थाइल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रमसहचारी सहभागी थिए ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको प्रमुख आतिथ्यमा भएको बैठकमा गृह मन्त्रालय, श्रम मन्त्रालयका अधिकारीहरू पनि  उपस्थित थिए ।

जेनजी प्रदर्शनमा महाराजगञ्जका प्रहरी हत्या आरोपमा अर्का व्यक्ति पनि समातिए

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन् ।

पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

योसँगै महाराजगञ्जका प्रहरी हत्या आरोपमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ । यसअघि काभ्रे घर भएका युवराज क्याप्छाकी पनि पक्राउ परेका थिए ।

उनाीहरूले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

सोही भिडियोको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।

जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

रायको सिन्धुलीको हो भने थापाको घर दार्चुला हो । जवान थापालाई त डीएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै पौडेलले लट्ठीले हानेर हत्या गरेको भिडिओमा समेत देखिन्छ ।

त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वर कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।

राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले अध्यादेश जारी गरेका हुन्।

आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि अध्यादेश जारी भएको हो।

अब आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय तोक्नेछ।  भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि तत्कालीन सरकार ढलेर अन्तरिम सरकार बनिसकेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउनुपर्ने कार्यभार छ।

मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौं—कोदारी (अरनिको) र स्याप्रुबेंसी—रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङकी—बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिश्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरे ।

चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको,नारायणघाट—बुटवल र मुग्लिन—पोखरा सडक विस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल  गरिदिन आग्रह गरेका थिए र

राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गरे ।

भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका सहभागिता थियो ।

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा १० जनाभन्दा बढी जान नपाइने

सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा प्रधानमन्त्री तथा राष्ट्रपतिको नेतृत्वमा अधिकतम १० जनाभन्दा बढी जान नपाउने व्यवस्था गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना सदस्य रहने छन्।

त्यस्तै नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने व्यवस्था गरिएको छ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाइएको छ।

नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुन सक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

अब १० लाख भन्दा माथिका आयोजना उपभोक्ता समितीले गर्न नपाउने

काठमाडौं । अब १० लाख रुपैयाँ भन्दा बढीका आयोजनाहरू उपभोक्ता समितिबाट गर्न नपाइने भएको छ । सरकारले रु १० लाख भन्दा माथिका आयोजनाहरु उपभोक्तना समितीले गर्न नपाउने निर्णण गरेको हो । संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश वा स्थानीय तहबाट सञ्चालन हुने १० लाख रुपैयाँ माथिका सबै आयोजना ठेक्कामार्फत गर्नुपर्ने भएको हो ।

अर्थमन्त्रालयले आयोजनाको प्राथमिकीकरण र पुँजीगत खर्च व्यवस्थापन सम्बन्धमा जारी गरेको १५ बुँदे निर्देशनमा उक्त कुरा उल्लेख गरिएको छ । साथै आयोजना टुक्राएर उपभोक्ता समितिबाट काम नगराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।सरकारले तयारी बिनाका, कम प्राथमिकता र दोहोरो प्रविष्ट भएका आयोजना रोक्का गर्न निर्देशन दिएको छ । यसले विगतमा राजनीतिक प्रभाव वा स्थानीय दबाबका कारण टुक्रिएका स–साना आयोजना रोकिने भएको छ ।

तर स्रोत सहमति प्राप्त भई निर्माणाधीन आयोजनाले भने निरन्तरता पाउने भएका छन् । स्रोत सहमति लिई निर्माणाधीन रहेका आयोजनालाई बजेट कमी हुन नदिई कार्यान्वयन गर्ने अर्थ मन्त्रालयले जनाएको छ । रोक्का प्रस्ताव गरिएका आयोजनाको गत वर्षमा दायित्व सिर्जना भएको भुक्तानी भने दिईने भएको छ । अर्थ मन्त्रालयले २०८२ असोज २ भित्र खरिद सम्झौता भइसकेका वा अन्तिम चरणमा पुगेका आयोजनाहरूलाई मात्रै फुकुवा गरिने जनाएको छ ।

चालु आर्थिक वर्षमा नयाँ आयोजना वा अन्य कुनै खरिद प्रयोजनका लागि बहुवर्षीय स्रोत सहमति नदिने, निर्माण कार्यमा कन्टिन्जेन्सी रकमको सीमा घटाई १ अर्वसम्म लागत अनुमान भएका आयोजनामा ३ प्रतिशत र सोभन्दा बढीका निर्माण आयोजनामा २ प्रतिशत हुने गरी कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभुत आवश्यकताका क्षेत्रमा बजेट कटौती नहुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

भूकम्पलगायत विपद्बाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणलाई पुनर्निर्माण कोषमार्फत अघि बढाइने भएको छ । साथै, सरकारी भवन र कार्यालय संरचनालाई सेवाग्राहीमैत्री, छरितो र व्यावहारिक बनाउन लेआउट व्यवस्थापनमा जोड दिइने उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले विकास आयोजनाको पुनःप्राथमिकीकरण गर्ने र अनुत्पादक कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो । सो निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई पत्राचार गरिसकिएको अर्थ मन्त्रालयले जनाएको छ ।

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको अध्यक्षतामा समिति गठन

काठमाडौं । सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी सम्पत्ति पुनर्निर्माणका लागि समिति गठन गरेको छ ।

सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन आदेश जारी गर्दै अर्थमन्त्री अध्यक्ष रहने गरी पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिमा गृहमन्त्री र सहरी विकासमन्त्री पनि सदस्य रहनेछन् । समिति सदस्यमा मुख्यसचिव पनि रहने व्यवस्था आदेशमा छ । साथै, समिति सदस्यसचिवका रूपमा सहरी विकास मन्त्रालयका सचिवले काम गर्नेछन् ।

समितिले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कार्यान्वयन कार्ययोजना निर्माण र स्वीकृत गर्ने छ । कोषबाट खर्च हुने रकम सहित कार्यक्रम स्वीकृत गर्ने तथा आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित निकायको जिम्मेवारी तोक्ने काम समेत समितिले गर्ने छ ।

कोषमा रकम जम्मा गर्न स्रोत पहिचान र परिचालन समेतको काम पनि समितिले गर्ने आदेशमा उल्लेख छ । कोषको रकमबाट सञ्चालित कार्यक्रमको नियमित अनुगमन र सुपरीवेक्षण गर्ने, गराउने तथा कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत निर्णय गर्ने काम समितिको तोकिएको छ ।

आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यका लागि समितिले एउटा कोष बनाउने व्यवस्था आदेशमा छ ।

कोषमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले प्रदान गरेको रकम जम्मा हुनेछ । साथै, स्वदेशी वा विदेशी व्यक्तिले प्रदान गरेको रकम, गैरआवासीय नेपालीले प्रदान गरेको रकम जम्मा हुनेछ ।

त्यसैगरी विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संघसंस्था वा दातृ निकायबाट प्राप्त नगद वा वस्तुगत सहायता वा कार्यक्रम बापत प्राप्त रकम पनि सोही कोषमा जाने आदेशमा उल्लेख छ ।

विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रदान गरेको सामाजिक उत्तरदायित्व बापत रकम समेत सोही कोषमा जाने व्यवस्था आदेशले गरेको छ ।

समितिले कुनै रकम प्राप्त गर्नुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने छ । कोषको खाता सञ्चालन समिति सदस्यसचिव र सहरी विकास मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।

समिति आफूले गरेका कामको विवरण हेरेर त्रैमासमा नेपाल सरकारलाई बुझाउनुपर्ने छ । आदेश अनुसार यो समितिको अवधि एक वर्षको हुनेछ । सरकारले आवश्यक देखे उक्त समितिको अवधि ६ महिना थप गर्न सक्ने व्यवस्था आदेशमा छ ।

तर, समितिको अवधि सकिएपछि भने स्वतः विघटन हुनेछ । समिति विघटन हुँदा कोषमा कायम रहेको रकम संघीय सञ्चित कोषमा जाने आदेशमा उल्लेख छ ।

राष्ट्रपति पौडेललाई भेटेर फर्किन् प्रधानमन्त्री कार्की

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् ।

‘प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

खर्च कटौतीको विवरण तयार गर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको विवरण तयार गर्न विषयगत मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन ।

आज उनकै अध्यक्षतामा बसेको विषयत मन्त्रालयका मन्त्री र सचिव सम्मिलित बैठकमा मुख्यमन्त्रीले सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् । जेनजी आन्दोलनपछि प्रदेश संरचना अन्तर्गतका भौतिक संरचनामा ठुलो क्षति भएको छ । त्यसको समीक्षा गर्दै मुख्यमन्त्रीले खर्च कटौतीको विवरण तयार पार्न निर्देशन दिनु भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । उनका अनुसार प्रदेशका मन्त्रालयलाई मितव्ययी बनाउन प्रदेश सरकारले खर्च कटौती गर्ने निर्णय यसअघि नै गरेको थियो ।

यसैगरी, मुख्यमन्त्री शाहले क्षति भएको भौतिक संरचना मर्मत गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न पनि निर्देशन दिएका छन । जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा क्षति भएपछि अझै पनि कतिपय कार्यालयले सेवा सुचारु गर्न सकेका छैनन् । कतिपय कार्यालयहरुले मर्मत गरेर सेवा दिइरहेका जनाइएको छ ।

मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता, नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज जनकपुरमा  बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए।

कांग्रेस प्रदेश सांसद अन्जना पण्डितले कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय समेत गरेको जानकारी दिइन् ।

गत भदौ २४ गते जीनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए। तर फेरि कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा भदौ ३१ गते बुझाइसकेको छ ।

तर मुख्यमन्त्री सिंह पछि कुरा फेरेर सदन फेस गर्ने अडानमा छन् । कांग्रेसले अहिलेसम्म समर्थन कायमै राखेको थियो भने एमालेले उनलाई विश्वासको मतसम्म दिने भनिसकेको छ।

‘कांग्रेसले जनमतको नेतृत्वमा सरकारलाई समर्थन दिएको थियो । जब जनमतले नै समर्थन फिर्ता लिइसकेपछि कुनै व्यक्तिलाई समर्थन दिइरहनुको औचित्य रहेन’ दलका नेता यादवले भने ।

प्रधानमन्त्री कार्की र बालेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच करिब १ घन्टा छलफल भएको स्रोतको भनाइ छ । मेयर शाह बिहान ८:२५ बजे बालुवाटार पुगेका थिए।

जेन–जी आन्दोलन र हालको सरकार गठनमा निर्णायक भूमिका खेलेका मेयर शाह र प्रधानमन्त्री कार्कीबीच भएको यो भेटलाई महत्त्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री कार्की र बालेनबीच जेनजी आन्दोलनले उठाएका मागका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

‘जेनजी आन्दोलनका क्रममा उठेका मागहरूका विषयमा छलफल भएको हो,’ स्रोतले भन्यो, ‘यो अनौपचारिक भेटघाट हो । आन्दोलनका माग र मुद्दा छलफल भएको हो ।’

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा उठेमा मागका विषयमा आफू प्रतिबद्ध रहेको बताएकी थिइन् । उनले निर्वाचन र सुशासनलाई केन्द्रमा राखेर सरकार अघि बढेको बताएकी थिइन् ।

मेयर शाहसँगको भेटवार्तापछि प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीसँग पनि छलफल गरेकी छन् ।

खोज्नुहोस