आइफोन–१७ सिरिज सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं । अमेरिकी कम्पनी एप्पलको पछिल्लो उत्पादन आइफोन–१७ नेपाली बजारमा आएको छ। नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेन–नेक्स्ट प्रालिले आइफोन–१७ सिरिज आधिकारिक रूपमा बजारमा ल्याएको हो।

आइफोन–१७ सिरिज अन्तर्गत आइफोन–१७, आइफोन–एयर, आइफोन–१७ प्रो र आइफोन–१७ प्रो म्याक्स छन्। यी सिरिजमा ठूलो डिस्प्ले जडान गरिएको छ। कम्पनीका अनुसार आइफोन–१७ सिरिज बिहीबारदेखि नै खरिद गर्न सकिने छ।

फोन खरिदमा कम्पनीले निशुल्क दुई पटकसम्म स्क्रिन, फोनको पछाडिको कभरमा भएको सिसा फेरि दिने र २० वाटको ओरिजिनल एडेप्टर निशुल्क दिने बताएको छ।

पहिलो दस दिनभित्र फोन खरिद गर्ने ग्राहकमध्ये १७ जनाले लक्की ड्र मार्फत एप्पल वाच सिरिज ११ र सय जनाले एयरपड–४ जित्न सक्नेछन्।

यी फोनकाे मूल्य न्युनतम एक लाख ५७ हजार दुई सय ९९ देखि तीन लाख ९७ हजार ९ सय ९९ रुपैयाँसम्म छ।

राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन् : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’

उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन ।’

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताए ।

‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिमको निर्देशनहरु दिएको छु’ उनले भने ।

चाडपर्वमा विशेष सुरक्षा योजना लागू गर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दसैँ, तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै शान्ति सुरक्षाको तयारीमा जुट्न उनले सुरक्षा निकायलाई आग्रह गरे ।

समाजमा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलाप नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ सजग रहन उनले सुरक्षा निकायलाई निर्देशन दिए ।बैठकमा हालै देशका विभिन्न ठाउँमा भएका घटनाहरूले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षामा पारेको प्रभाव र विद्यमान अवस्थाबारे पनि छलफल भएको थियो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिलाई सामान्य बनाउँदै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नेपाल प्रहरी र अन्य सरकारी निकायहरूले नागरिक समाज र पेसागत समूहहरूसँग मिलेर संवाद र सद्भावका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्री शाहले चाडपर्वको समयमा हुन सक्ने विभिन्न समस्यालाई रोक्न ठोस कदम चाल्न निर्देशन दिएका छन् । उनका निर्देशनहरूमा बजारमा खाद्यान्नको सहज आपूर्ति गर्ने, कालोबजारी नियन्त्रण गर्ने तथा चोरी, डकैती र लुटपाटका घटनाहरूलाई रोक्न प्रभावकारी सुरक्षा योजना बनाउने रहेका छन् ।

यस्तै, बजारमा मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र म्याद नाघेका खाद्यवस्तुको बिक्री जस्ता अस्वाभाविक गतिविधि नियमन गर्न अनुगमनलाई प्रभावकारी बनाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

सुदूरपश्चिमबाट भारत जाने मुख्य नाकाहरूमा चाडपर्वको बेला हुन सक्ने लुटपाटका घटनालाई नियन्त्रण गर्न र भारत आउने(जाने नागरिकलाई सहज बनाउन आवश्यक सहकार्य गर्न पनि मुख्यमन्त्रीले जोड दिएका छन् । उनले सुरक्षा निकायहरूलाई यात्रुमैत्री एकीकृत जाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

जेनजी आन्दोलन : अदालतलाई प्राथमिकता दिएर पुनर्निर्माण

काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका अदालतलाई प्राथमिकता दिएर सरकारी संरचनाको पुनर्निर्माण थाल्ने सरकारले योजना बनाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनको क्रममा सर्वोच्च अदालतसहित उच्च, जिल्ला र विशेष अदालतमा समेत आगजनी भएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा पनि क्षति पुर्‍याइएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रहरी, स्थानीय तह र प्रदेशअन्तर्गतका बाहेक संघअन्तर्गत ४३५ सरकारी संरचनामा क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । यसमा अदालत, मन्त्रालय, संसद भवन, मन्त्री निवास, प्रधानमन्त्री निवास र राष्ट्रपति निवास समेत छन् ।

क्षतिको अवस्था बुझ्न शहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा नेपाल इन्जिनियर्स एसोसिएसन सहितका प्रतिनिधिहरुले अध्ययन अवलोकन गरेका थिए ।

सो टोलीले २५ वटा कार्यालयका ६२ वटा भवन अवलोकन गर्दा २४ वटा तत्काल प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको छ । प्रयोग गर्नै नमिल्ने भवनहरुमा रातो स्टिकर टाँसिएको छ ।

रातो स्टिकर टाँसिएका भवनहरुमा प्रधानमन्त्री निवास परिसरका दुई, प्रधानन्यायाधीश आवासको एउटा सहायक भवन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पश्चिम भाग, सर्वोच्च अदालत,  काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, नेपाल बार एसोसिएसन, यातायात व्यवस्था विभाग र नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत छन् ।

यसैगरी १४ वटा भवनमा मर्मत गर्न मिल्ने संकेत अनुसार पहेंलो स्टिकर छ भने २२ वटा भवनमा सामान्य मर्मत गरेर पनि प्रयोग गर्न मिल्ने भनेर हरियो स्टिकर टाँसिएको छ ।

आन्दोलनका क्रममा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूको आवास (राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री निवास), सिंहदरबार, संसद् भवनसहित ५५ वटामा क्षति पुगेको तथ्यांक छ ।

यसमध्ये तीन वटा भवन प्रयोग गर्न नमिल्ने भनेर रातो स्टिकर टाँसिएको छ । ९ वटा भवनमा पहेंलो स्टिकर टाँसिएको छ । ३ वटामा हरियो स्टिकर टाँसिएको छ । क्षतिग्रस्त थप करिब ४० वटा भवनको अध्ययन अवलोकन गर्न भने बाँकी छ ।

जेनजी युवा आन्दोलनको क्रममा भएको क्षतिको आकलन र पुनर्निर्माण गर्ने उद्देश्यले यही असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । यो समितिको अध्यक्षता अर्थमन्त्रीले गर्दछन् । समितिमा गृहमन्त्री, सहरी विकास मन्त्री र मुख्य सचिव सदस्य छन् । सहरी विकास मन्त्रालयका सचिव सदस्य सचिव छन् ।

समितिले क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणको क्रममा अदालतलाई पहिलो प्राथमिकता दिने निष्कर्ष निकालिएको एक सदस्यले बताए । सर्वोच्च अदालतका कागजपत्र र पुराना सबै रेकर्ड जलेर खरानी भएका छन् । भवन पनि पूरै क्षतिग्रस्त भएकाले पाल मुनिबाट सेवा सञ्चालन गरिएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा निजी र सरकारी गरी एक खर्ब भन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

आठ हजारभन्दा बढी कैदी फर्किए, साढे छ हजार अझै फरार

काठमाडौं : देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन्। फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैं आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। उनको अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन्। फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनको खोजी जारी रहेको न्यौपानेले बताए।

जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ। कुल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन्। रासस

एशिया कपमा आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एशिया कप टी–२० अन्तर्गत सुपर ४ मा आज भारत र श्रीलङ्का खेल्दैछन । यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ । एशिया कपअन्तर्गत सुपर ४ को १८औँ खेलमा भारत र श्रीलङ्काबीच आज खेल हुन लागेको हो ।

हिजो पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । एशिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कप उपाधि जितेको छ । दुबई क्रिकेट रङ्गशालामा पर्सि फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा ‘फेक’ अकाउन्ट

काठमाडौँ-  अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा छद्म सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन भएको पाइएको छ । सामाजिक सञ्जाल एक्समा ‘सुशीला कार्की अफिसियल’ नामको एकाउन्ट छद्म रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट नभएको प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले बताए ।

उनले भने-‘प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट खुलेका छैनन् । जति सञ्चालनमा आएका छन् ती सबै छद्म हुन् । त्यो बन्द गर्नका लागि हामीले सीआईबीमा पत्राचार गरिसकेका छौँ ।’

A 'fake' account on social media in the name of the Prime Minister

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल हुने

काठ्माण्डौ- अर्थ मन्त्रालयले डिजिटल टिप्पणी सुरू गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले आजदेखि डिजिटल टिप्पणी सुरू भएको जानकारी गराएका हुन्।

डिजिटल टिप्पणी सुरू हुनुको अर्थ मन्त्रालयले गर्ने कामलाई कागजबिहीन गराउन लागेको हो।

यसले मुख्यतः तीन वटा प्रभाव पर्नेछन्।

पहिलो, पटक-पटक कागज प्रिन्ट गर्ने काम गर्नुपरेन।

दोस्रो, टिप्पणी उठाएर सम्बन्धित अधिकारीको कोठा-कोठा चाहार्नुपर्ने छैन। डिजिटल सिस्टमबाट नै काम हुनेछ।

तेस्रो, प्रक्रिया घटाउनेछ। कुनै पनि निर्णय वा काम गर्ने टिप्पणी कुन समयमा उठेको हो, सदर कहिले भएको हो, सबै प्रणालीमा बस्नेछ।

पहिलेदेखि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गरेर काम गर्ने भनिए पनि कार्यान्वयन हुन ढिलाइ भएको थियो।

अर्थमन्त्री रामेश्वर खनालले तत्काल यो प्रणाली लागू गर्न भनेपछि शुक्रबारबाट सुरू गरिएको हो।

दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौं ९ असोज। चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो ।

यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।

पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो ।

यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ ।

काठमाडाैं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहाेरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।

तर, अब पुन: पहिरो नखसे आवागमन सहज हुनेछ । तुइन खोला नजिक यसअघि पनि पटकपटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।

नवरात्रको पाँचौ दिन स्कन्दमातालाई पुजिँदै

काठमाडौं १० असोज । आज बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।

त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ ।

चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाएको देखिन्छ ।

भ्रष्टाचारको छानबिन हुन्छ, संविधान संशोधन यो सरकारको म्यान्डेट होइन

काठमाडौं १० असोज ।  प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारले भ्रष्टाचारको छानबिन गर्ने स्पष्ट पारेकी छिन् । २३ र २४ भदौको जेन–जी आन्दोलनको जगमा २७ भदौमा प्रधानमन्त्री नियुक्त कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भ्रष्टाचारको जाँचबुझ र छानबिन सरकारको प्राथमिकतामा रहेको बताएकी हुन् ।

विगतमा भएका भ्रष्टाचारको सन्दर्भमा सरकारले छोटो समयमै स्पष्ट जानकारी पाइसकेको पनि उनको दाबी छ । अब आवश्यक छानबिन गरेर दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाइन् । ‘प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् ।

सरकारले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट, बलप्रयोगलगायतका घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीनसदस्यीय जाँचबुझ आयोग गठन गरिसकेको छ । उक्त आयोगले काम थालिसकेको प्रधानमन्त्री कार्कीले बताइन् ।

शासकीय प्रणालीमा परिवर्तन, भ्रष्टाचारको अन्त्य, सुशासन, चुस्त र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह, विकास र समृद्धिको आकांक्षा राखेर गरेको अभूतपूर्व प्रदर्शन र आन्दोलनपछिको जटिल परिस्थितिमा निर्वाचन गराउने गरी आफू प्रधानमन्त्री भएको उनले बताइन् । आन्दोलनका मृतकलाई सहिद, परिवारलाई आर्थिक राहतको व्यवस्था, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिको प्रबन्ध गरिएको भन्दै कार्कीले आन्दोलनका क्रममा जेन–जी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकोमा यो सरकारसम्बद्ध दोषउपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइन् ।

संविधान संशोधन भने यो सरकारको म्यान्डेट नभएको पनि प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन् । निर्वाचनबाट आउने सरकारले संविधान संशोधन गर्न सक्ने उनको भनाइ छ । ‘नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेन–जी पुस्ताले आन्दोलनको क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवापुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु,’ उनले भनिन् ।

तुईन खोलाको पहिरो पन्छाउने कार्य जारी, रातिसम्म सडक खुल्ने सम्भावना

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ । विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको पहिरो पन्छाउने कार्य अहिले पनि जारी रहेको छ ।

हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनकार्यालय भरतपुरले जनाएको छ ।  सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ ।

सडक डिभिजनले आज रातिसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।

अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् सङ्गठनात्मक प्रस्ताव राखेका छन् ।

प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका हुन् । उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने विषयमा जोड दिएका छन् ।  उनले अहिलेको अवस्था देश सङ्कटमा रहेको बताउँदै आफूले नेतृत्वबाट टाढिन नपर्ने बताएका छन् ।

जेनजी आन्दोलन र उत्पन्न भएको अवस्थाबारे पार्टीको धारणा बनाउन सुरु भएको बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट नभाग्ने भने पनि अध्यक्ष पदमा टाँस्सिरहन नचाहेको बताएका छन् ।

‘जिम्मेवारीबाट पन्छिने, पलायन हुने र अब पुग्यो भन्ने पक्षमा छैन, तर मलाई पदमा बसिरहनुपर्छ भन्ने लाग्दैन’, उनले भने, ’एउटा निश्चित विधि र प्रक्रियाबाट नयाँ नेतृत्वमा जानु पर्छ । कसैलाई टीको लगाएर हुँदैन । अहिले जसरी कुरा उठेको छ, यो विषय संवेदनशील हो, यसबारे सोच्नै पर्छ । मैले अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन । अहिले देश जुन बिन्दुमा आइपुगेको छ, पहिले कहिल्यै थिएन । नेतृत्वबारे प्रश्न उठेको छ। हामी यसबारे कुरा गर्छौँ  ।‘

प्रचण्डले राखेको राजनीतिक एवम् सङ्गठनात्मकमाथि प्रदेशअनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक, लगत्तै प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारमा केही बेरअघि बैठक बसिरहेको छ। बैठकमा विकसित घटनाक्रमको समीक्षा गर्दै केही महत्त्वपूर्ण निर्णय गर्नसक्ने जनाइएको छ।

यो बैठक लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ। जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

देउवा दम्पतिको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको हो ।

‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दिपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको थियो,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतले भन्यो, ‘ती प्रमाणको वस्तुपरकता, यथार्थ परीक्षण गर्न नेपाल प्रहरीको डिएफएलमा आफैं प्रमाण सहितको पत्र पठाइएको हो ।’

कुनै विषयमा उजुरी परेर त्यसका थप प्रमाण संकलनका प्रक्रियाहरू बढेपछि अनुसन्धान शुरु हुन्छ । विभागले देउवा दम्पत्ती र मन्त्री खड्काको घर आगजनीपछि स्थलगत रुपमा त्यहाँ पुगेर केही प्रमाणहरू संकलन गरेको थियो । त्यसपछि अरु प्रमाण पनि संकलन गरेर पत्र पठाइएको स्रोतले बतायो ।

विभागसम्बद्ध स्रोतका अनुसार, पैसाका टुक्राहरू, खरानीका साथै देउवा र खड्का निवासको भिडियो संकलन भएको थियो । त्यसक्रममा पैसा छरेको र उडाएको भेटिएको थियो । तीमध्ये केही मानिसहरूसँग विभागका अधिकारीहरूले अनौपचारिक कुराकानीपछि थप प्रक्रिया अघि बढाएका हुन् ।

के छन् आरोप ?

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला समानान्तर रुपमा भूमिगत गिरोह परिचालन गरेको आरोप खेप्ने आरजुमाथि सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय कामकारवाहीमा सार्वजनिक पदको दुरुपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ ।

नक्कली शरणार्थी प्रकरणमा समेत नाम मुछिएकी आरजुमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ । उर्जामन्त्री खड्का मन्त्री हुँदा पदको दुरुपयोग गरेको र स्वार्थ जोडिएको काम गरेको आरोप लाग्ने गरेको छ । उनको घरमा भेटिएको प्रमाण पनि परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्रोतले बतायो ।

देउवा परिवार श्रृङखलाबद्ध अनियमितताको घटनामा मुछिँदै आएको छ । केही वर्षयताका घटनाक्रम हेर्दा एकपछि अर्को अनियमितताका घटनाहरू उनीहरूसँग जोडिएको हुन्थ्यो ।

मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर अवकाशमा जान लागेका डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन देउवा परिवारको पनि भूमिका थियो ।

अर्याललाई मुख्यसचिव बनाउन सक्रिय रहेका सुनिल पौडेल र विकल पौडेल भ्रष्टाचारको आरोपमा थुनामा छन् । उनीहरू आबद्ध करिब एक दर्जन भ्रष्टाचारमुद्दा सर्वोच्चदेखि विशेष अदालतमा विचाराधिन छ ।

देउवा दम्पत्तिका छोरा जयवीरमाथि समेत राज्यशक्तिको दुरुपयोग गरी कतिपय सरकारी निर्णयहरूलाई प्रभावित पारेको आरोप छ ।

सुरक्षण मुद्रण केन्द्रदेखि पेमेन्ट गेट–वे र नेपाल टेलिकमको बिलीङ प्रणालिमा त्यो समूहको नाम जोडिन्थ्यो । तर, राजनीतिक संरक्षणका कारण प्रमाणको अभाव भन्दै अख्तियारले त्यस्ता निर्णयमा संलग्न राजनीतिज्ञहरूमाथि अनुसन्धान गर्न सकेको थिएन ।

कसरी हुन्छ अनुसन्धान ?

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून अनुसार, केही निश्चित संलग्न भएको प्रमाण नभेटिदासम्म सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा चलाउन मिल्दैन । तर गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा भने स्वत: भ्रष्टाचारको आरोप आकर्षित हुन्छ ।

विभागले अरु प्रमाण भेटेन भने पनि गैरकानूनी रुपमा सम्पत्ति कमाएको आरोपको अनुसन्धानको फाइल अख्तियार पठाउन सक्छ ।

२०४८ सालपछिका एकाध वर्ष बाहेक सधैजसो सार्वजनिक पदमा बसेका देउवा दम्पत्तिले सम्पत्तिको बैध स्रोत पुष्टि गर्न नसके भ्रष्टाचारको आरोप सामना गर्नुपर्ने हुनसक्छ ।

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

काठ्माण्डौ – सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

जेन–जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यसप्रकारको ‘एक्सन’ बारे छलफल भएको हो ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।

‘जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने माग चर्को छ । तत्कालका लागि पासपोर्ट रोक्काकै निर्णय हुनेछ’ मन्त्रिपरिषद्सम्बद्ध स्रोतले भन्यो, ‘त्यसपछि थप कारबाही अघि बढ्ला ।’

स्रोतका अनुसार, पासपोर्ट रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकको नाम किटेरै आएको छ ।

पासपोर्ट रोक्का गर्ने वाचलिस्टमा देउवा र पत्नी आरजु राणा देउवाको नामसमेत राख्ने गृहकार्य भएको उच्च अधिकारीहरूले जानकारी दिए । तिनका अनुसार यसबारे ठोस निर्णय भने हुन बाँकी छ ।

ती बाहेक अरूको हकमा सम्बन्धित फौजदारी उजुरी र अनुसन्धानको प्रारम्भिक नतिजा हेर्ने भनिएको उनले बताए ।

यसक्रममा शपथ लगत्तै काम सुरु गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरूसँग पनि परामर्श गर्ने सरकारको तयारी छ ।

प्रधानमन्त्री कार्यालयले राहदानी रोक्काबारे परामर्श गरेर प्रक्रिया समेत अघि बढाएको उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

‘राहदानी रोक्काबारे केही परामर्श भइसकेको छ । त्यसपछि प्रक्रिया अघि बढाएका छौं । अहिले काम हुँदैछ,’ उच्च स्रोतले भन्यो ।

सरकारले केही शीर्ष नेताका राहदानी रोक्काबारे गत मंगलबार मात्रै अध्यागमन विभाग, राहदानी विभागसँग छलफल गरेको थियो । छलफलका क्रममा विभागले राहदानी रोक्काका प्रक्रिया र कानुनबारे ब्रिफिङ गरेको थियो ।

सो क्रममा विभागले कस्तो अवस्थामा राहदानी रोक्का हुने, त्यसका लागि के–के चाहिने जस्ता विषयहरूबारे जानकारी गराएको थियो ।

कुनै आधार प्रमाण बिना कसैको पनि राहदानी रोक्का गर्न नमिल्ने, यदि रोक्का गर्नुपरेमा त्यसको कारण खुल्ने किसिमको पत्र चाहिने कानुनी व्यवस्थाबारे छलफल भएको थियो ।

अहिलेसम्म कुनै पनि शीर्ष नेताको राहदानी रोक्का नभए पनि यसको अहिले तयारी भने अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ ।

उच्च स्रोतका अनुसार तीन मुख्य दलका शीर्ष नेताहरूको राहदानी रोक्ने प्रक्रिया अघि बढाइएको हो ।

राहदानी रोक्का गनुपर्ने कारणसहितको पत्र अध्यागमन विभागमा पुगेपछि राहदानी रोक्का हुने बताइएको छ ।

अहिले केही नेताहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको प्रक्रिया समेत अघि बढाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्काको घरमा गत आइतबार मात्रै विभागको टोली पुगेर अनुसन्धान अघि बढाएको थियो ।

हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा पुगेर मुचुल्का उठाएको थियो ।

जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेपछि उनीहरूको घर जलेको थियो । जलेको उक्त घरमा डढेको अवस्थामा पैसा भेटिएको थियो ।

यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो ।

देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो । पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिएको थियो ।

यता खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए ।

जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का विभागले गरिसकेको छ ।

यता देउवाको सचिवालयले विज्ञप्ति जारी गर्दै रकम राख्ने सुरुङ र पैसा नभएको दाबी गरेको थियो । उक्त सुरुङ नभई पानी ट्यांकी रहेको दाबी देउवाको सचिवालयको थियो ।

विभागले बुधबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को खुमलटार निवासमा पुगेर मुचुल्का गरेको छ । प्रचण्डको घरमा पनि जलेको रकमका केही टुक्राहरू भेटिएको भन्दै तस्वीरहरू बाहिरिएका थिए ।

स्रोतकाअनुसार विभागको टोली एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुगेर पनि मुचुल्का गरिसकेको छ । ओली र प्रचण्ड निवास दुवै जेनजी आन्दोलनको क्रममा जलाइएको थियो ।

२३ भदौमा सुरक्षाकर्मीको गोली लागेर २१ जनाको मृत्यु हुँदा ओलीले नै सरकारको नेतृत्व गरेका थिए । गृहमन्त्री भने कांग्रेस नेता रमेश लेखक थिए ।

विभागले मुचुल्का उठाएकाले उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेको प्रष्ट हुन्छ । अब उनीहरूका रकमको स्रोतबारे अनुसन्धान हुनुका साथैे सरकारमा रहेकाहरूमाथि गोली चलाइएको प्रकरणमा पनि आयोगले छुट्टै अनुसन्धान गर्ने छ ।

अनुसन्धानमा रहेका व्यक्तिको हकमा भने राहदानी रोक्का गर्न सकिने सकिने व्यवस्था छ ।

नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ ।

ऐनको दफा १२ को ९क० अनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, हाततियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी कसुरको अभियोगमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का गर्न पत्राचार गर्नसक्ने व्यवस्था छ ।

९ख० अनुसार यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्न सक्ने ऐनमा व्यवस्था छ ।

अहिले केही नेताहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ भने केही नेताहरूमाथि जेनजी प्रदर्शनमा दमन गरेको घटनामा छानबिनको दायरामा ल्याउने तयारी छ ।

यही अवस्थामा अनुसन्धान गरिरहेका निकायहरूले आवश्यक कारणसहित पत्रकार गरेको अवस्थामा उनीहरूको राहदानी रोक्का हुनसक्ने देखिन्छ । तर अहिलेसम्म भने कसैको पनि राहदानी रोक्का गर्नुपर्ने भन्दै पत्राचार आएको छैन भने कसैको पनि रोकिएको छैन ।

नेपालमा भेटियो छेपारोका दुई नयाँ प्रजाति

नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन्। संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन्।

वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरिएको जनाइएको छ।

उक्त प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’ मा प्रकाशितसमेत भइसकेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए। भट्टराई फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियामा छेपारोकै विषय विद्यावारिधि गरिरहेका छन्।

उनका अनुसार ती दुई प्रजाति चुरे (सिवालिक) पर्वतश्रृंखलाबाट भेटिएका हुन्। चुरे (सिवालिक) क्षेत्र जैविक विविधतामा समृद्ध भए पनि कम अध्ययन गरिएको क्षेत्रमा पर्छ।

भट्टराईको टोलीले गत जुन/जुलाई २०२४ मा उक्त प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि हालै जर्नलमा प्रकाशित गरिएको हो।

मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको हरिहरपुरको चुरे पर्वतश्रृंखलामा भेटिएको छेपारोको नाम ‘चुरे वेन्ट–टोड गेक्को’ राखिएको छ।

मुख्य शोधकर्ता सन्तोष भट्टराईको टोलीले विद्यावारिधि अध्ययनका क्रममा सन् २०२४ को जुन–जुलाई महिनामा नयाँ प्रजाति फेला पारेका थिए। उक्त टोलीले गत वर्ष पनि वेन्ट–टोड गेक्को प्रजातिअन्तर्गत नेपालबाट तीन वटा प्रजाति फेला पारी नामकरण गरेका थिए।

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारा संसारभरी ३८० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका दुई सहित जम्मा सात प्रजाति फेला परेको छ। जसमध्ये पाँच वटा प्रजाति भट्टराईकै नेतृत्वको समूहले फेला पारी नामकरण गरेका हुन्।

सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिहरुको रेकर्ड हुन बाँकी नै रहेको जनाइएको छ।

सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन अनुसन्धान तथा संरक्षणमा प्रथामिकीकरण गर्नुपर्ने देखिएको संरक्षणकर्मीहरुले बताएका छन्।

अध्ययनका लागि नेपालका संरक्षणकर्मी सन्तोष भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अष्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी छन्।

वरिष्ठ संरक्षणकर्मी करण शाहले भने, ‘उक्त टोलीले हालै फेला पारेको यो माउसुली परिवारको किरा फट्याङ्ग्रे खाने छेपारो हो। बालीनाली नोक्सान, लुगाफाटो नोक्सान गर्ने चिजलाई खाएर यसले जोगाउने काम गर्छ र यो छेपारो धेरै जीवनजन्तुको आहारा पनि हो। त्यसैले यसले समग्र प्रणालीलाई सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ र यसको प्रयोग औषधिका रुपमा पनि गरिन्छ।’

गएको वर्ष फेला पारिएको तीन प्रजातिमध्ये एउटाको नाम वरिष्ठ वन्यजन्तु विज्ञ प्रोफेसर करणबहादुर शाहले नेपालको वन्यजन्तु (खासगरी उभयचर–सरीसृप) संरक्षणमा गरेको योगदानस्वरूप उनकै नाममा ‘करण वेन्ट–टोड गेक्को’ राखिएको थियो।

नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षकमा न्यौपाने नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवीन न्यौपानेलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । बिहीबार (असोज ९) एन्फाले न्यौपानेलाई प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाले न्यौपानेको कार्यकाल आगामी साफ वुमन्स च्याम्पियनसिपसम्म रहने पनि जनाएको छ । उनीसँगै एन्फाले टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ । विन्दा देवान टिम व्यवस्थापक हुँदा शिला गिरी फिजियो थेरापिस्ट नियुक्त भएकी छन् ।

यसअघि प्रशिक्षक न्यौपानेले ताजकिस्तानमा एएफसी एसियन यू–२३ एसियन कप खेलेको नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए ।

च्याम्पियनसिप आगामी मंसिर २९ देखि सुरु हुनेछ । प्रतियोगितामा पाँच दक्षिण एसियाली मुलुकको सहभागिता रहने जनाइएको छ । १६ दिनसम्म चल्ने यो प्रतियोगिताका सम्पूर्ण खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका छ ।

च्याम्पियनसिपमा नेपालले सात पटकसम्म उपस्थिति जनाइसकेको छ । भारत हालसम्मको सर्वाधिक विजेता हो । भारतले सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा उपाधि उचालेको थियो । बंगलादेशले भने सन् २०२२ मा पहिलो पटक उपाधि जितेको थियो ।

मुख्यमन्त्रीको आह्वानमा सुदूरपश्चिम सर्वदलीय बैठक सुरु

धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आह्वान गरेको सर्वदलीय बैठक मुख्यमन्त्री निवासमा सुरु भएको छ।बैठकमा सभामुख भीमबहादुर भण्डारी, भूमि,व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा,पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल,एमाले प्रमुख सचेतक चक्र मल्ल, कांग्रेस प्रमुख सचेतक विक्रम धामी,

माओवादी केन्द्र उपनेता अक्कलबहादुर रावल र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी उपस्थित छन्। बैठकमा प्रदेशका समसामयिक विषयहरूमा छलफल भइरहेको जनाइएको छ।

दसैँमा पर्यटक भिसा खुला रहने

काठमाडौँ। अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो ।

असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।

जेनजी आन्दोलनमा भएका क्षतिप्रति माफी माग्दै योगेशले भने: एमाले पुनर्गठन गर्नुपर्छ

काठ्माण्डौ- नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी आन्दोलन हुनुमा आफ्नो पार्टीको गल्ती स्वीकार गर्दै माफी मागेका छन्। साथै उनले पार्टी पुनर्गठनको माग पनि गरेका छन्।

जेनजी आन्दोलनका क्रममा त्यत्रो विनाश हुँदा पनि तत्कालीन सरकार नेतृत्वकर्ता दल एमालेले अहिलेसम्म गल्ती स्वीकार नगरेको भनेर व्यापक आलोचना भइरहेका बेला सचिव भट्टराईले बिहीबार वक्तव्य जारी गरी क्षमायाचना गरेका हुन्।

‘मैले सामाजिक सञ्जाल हेरिरहेको छु, सञ्चारमाध्यमहरू पढिरहेको छु। तपाईंहरूले हामीलाई सोधिरहनुभएको छ, ‘तिमीहरूसँग आत्मालोचना र स्वीकारोक्ति छैन?’ आफ्ना कमजोरीहरूप्रति माफी माग्दैनौँ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ। हो, असल प्रयास र प्रयत्नहरू जारी थिए। अनेक सीमा, अवरोध र अप्ठ्याराहरूको बीचमा पनि प्रयासहरू प्रयत्नहरू जारी थिए भन्ने लाग्छ। तर सब ठिकठाक थिएनन् भन्ने पुष्टि २३ भदौले गरिसकेको छ। यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ। र, हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आवश्यकता र अपेक्षाहरू पूरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौँ,’ भट्टराईले भनेका छन्।

यस क्रममा उनले अब नेकपा एमालेलाई पनि पुनर्गठन गर्न अपरिहार्य भएको उल्लेख गरेका छन्।

‘ग्राम्सीले भनेजस्तै अब नेकपा एमालेलाई, कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ’, उनले भनेका छन्, ‘फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न। पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं हामी पनि उहाँहरूसँगै थियौँ। यो जसअपजसको भागीदार हामी पनि हौँ। त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मानसहित पुनर्गठन।’

पार्टी पुनर्गठनको कुरा गर्दा अग्रज नेताहरूको अपमानको रूपमा अर्थ लगाउनु गलत हुने तर्क एमाले सचिव भट्टराईले गरेका छन्।

‘सम्झिनुहोस् त, दुनियाँको इतिहास। लेनिनका, मार्क्सका सालिकहरू ढालिएका इतिहास तपाईं हामीले पढेका छौँ। हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ। इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो’, उनले भनेका छन्, ‘पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्वथा गलत हो। वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन्।’

हुन्डाई नेपालको ‘दसैँ–तिहार अफर’मा धनगढीका अभिषेकले जिते १० लाख

काठमाडौं । हुन्डाईका सवारीसाधनका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सार्वजनिक गरेको ‘दसैँ–तिहार, १० गुणा उपहार’ योजनाअन्तर्गत धनगढीका अभिषेक चौधरीले १० लाख रुपैयाँ जित्न सफल भएका छन् । उनले हुन्डाईको क्रेटा गाडी खरिदमा स्क्र्याच कार्डमार्फत रकम प्राप्त गरेका हुन् ।

यो योजना भदौ २ गतेदेखि सञ्चालनमा आएको हो । गत भदौ २ मा सुरु भएको अभियानअन्तर्गत ग्राहकले आठ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको बोनस, एक वर्षको निःशुल्क व्यापक बिमा र सडक कर सहितका रोमाञ्चक पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ पनि उपलब्ध हुनेछ ।

‘दसैँ–तिहार, १० गुणा उपहार’ उत्सव अभियानको अनुभव लिन आफ्नो नजिकको हुन्डाई सोरुममा गएर उत्सवमा भाग लिन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ ।

बैतडीका आचार्य दमाई समावेशी शिक्षा सहजकर्ता

बैतडी । संस्कृतमा आचार्य उत्तीर्ण गरेर बेरोजगार रहनुभएका बैतडीका आचार्य कृष्ण दमाईले नोकरी पाएका छन । उनलाई धनगढी उपमहानगरपालिकाले समावेशी शिक्षा सहजकर्तामा नियुक्ति गरेको छ ।

उनका विषयमा पहिलो पटक गोरखापत्रमा समाचार प्रकाशित भएपछि नेपालभरी चर्चा भएको थियो । बैतडीको शिवनाथ गाउँपालिका –५, बकुन्नामा जन्मनुभएका कृष्ण दमाईले संस्कृत विषयमा आचार्य (स्नातकोत्तर तह) उत्तीर्ण गरेका छन ।

उनलाई यसअघि पशुपति कोटीहोममा सम्मानसहित व्यसमा बसालेर प्रवचन दिने मौकासमेत दिइएको थियो । सोही बेला धनगढी उपमहानगरपालिकाले उनको नागरिक अभिनन्दन गरेको थियो ।

आचार्य कृष्ण दमाईको घरको आर्थिक अवस्था कमजोर भएकाले नोकरी दिने नगरप्रमुख गोपी हमालले घोषणा गरेका थिए । दलितले वेदपुराण पढ्नु हुँदैन भन्ने मान्यता बोकेको समाजमा हुर्कनु भएका दमाईले नेपाल संस्कृत विश्व विद्यालय विद्यापीठ लालझुण्डी, दाङबाट २०७८ सालमा संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गर्नुभएको हो । उनले, संस्कृत विषय पढ्दा आफूले थुप्रै सङ्घर्ष गर्नुपरेको बताए।

केही समयदेखि विभिन्न धार्मीक अनुष्ठानमा सहभागी हुँदै आउनुभएका आचार्य दमाई परिवारको छाक टार्न कञ्चनपुरस्थित एक निजी विद्यालयमा पढाउने काम गर्दै आउनुभएको थियो । यहीबिचमा धनगढी उपमहानगरपालिकाले आफूलाई टिकाराम पार्की छात्रवृत्ति र जुठे दमाई छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि सहजकर्तामा नियुक्ति दिएपछि जीविका चलाउन सहज हुने उनले बताए ।

नगरपालिकाले तोकेको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उनलाई नगररपलिकाले शिक्षा, युवा तथा खेलकुद महाशाखा अन्तर्गत काम गर्नेगरी छैटौं तहमा नियुक्ति दिएको छ ।

बैतडीको दुर्गम गाउँमा गरिबी र विभेद सहन नसकेर कञ्चनपुरको भीमदत्त नगरपालिका –३. तिलकपुरमा बसाइँसरेका कृष्णले सुदूरपश्चिमबाट दाङ जिल्ला पुगेर संस्कृत विषय पढ्न ठुलो संङ्घर्ष गर्नुपरेको अनुभूति सुनाए । त्यसमाथि दलितले संस्कृत पढेर के गर्छ ? भन्नेहरुबाटसमेत पीडित भएको बताए ।

सानैमा आमाबुवा गुमाउनु पर्दा परिवारको आर्थिक अवस्था कमजोर भएकाले संस्कृत भाषामा कर्मकाण्ड र ज्योतिषी विद्याको पढाइ गर्न बाँकी रहेको उनले बताए । नगरपालिकाले काम गर्ने अवसर दिएपछि थप अध्यययनका लागि टेवा पुग्ने उनले बताए ।

स्विस राजदूत र ऊर्जामन्त्री कुलमानबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्यान्डकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।

भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न सकिने क्षेत्रहरु, स्विस लगानी, द्विपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको थियो । स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउने रहेको उल्लेख गरे ।

उनले विद्युतीय सवारी साधन प्रवर्द्धन, घरयासी प्रयोजनमा विद्युत्लाई इन्धनको रुपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्यान्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन आग्रह गरे । हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिम लगायतका कार्यक्रम सञ्चालित छन् ।

राजदूत मेउलीले नेपाल ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तयार रहेको बताइन् ।

म राजनीतिबाट अलग भएको छैन, चुनावअघि भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन् ।

उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पदबाट अलग भएको बताए ।

आज पत्रकार सम्मेलन गर्दै डा. भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’ जेनजी युवा आन्दोलन जायज भएको पनि उनले बताए ।

उनले चुनाव अघि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने बताए । अन्यथा भ्रष्ट नेताहरु नै निर्वाचित भएर आउने उनको भनाइ छ ।

उनले पुरानो सरकार ढाले पनि सत्ता नढलेको भन्दै शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए । त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा स्थीरता नआउने उनले बताए । अन्यथा जेनजी युवाको बलिदान खेर जाने उनको भनाइ छ ।

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।

दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् ।

‘यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ’ उनले भनिन् ‘दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।’

विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ ।

गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ । ‘सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ’, विपिनका बुबा महानन्द जोशीले भने “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्र्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।’

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

माओवादी बैठकको उदघाटनमै होहल्ला, पत्रकारलाई बाहिर निकालियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको सुरुमै होहल्ला भएको छ ।

होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठक उदघाटन समारोहको रिपोर्टिङ गर्न पत्रकारहरु गएका थिए ।

बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङ लगायतले बैठकमा प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने माग राखेका थिए । तर पार्टीले भौगोलिक र गैरभौगोलिक समूहमा छलफल गरेर टोली नेताले बैठकमा धारणा राख्ने तयारी गरिएको थियो । त्यसको विरोध गर्दै प्रत्येक सदस्यले बोल्न पाउनुपर्ने माग उठेपछि बैठक हलमा होहल्ला भएको थियो ।

त्यसपछि महासचिव देव गुरुङले पत्रकारहरुलाई बाहिर गइदिन भनेका हुन् ।

बैठकमा महासचिव गुरुङले बैठकका एजेण्डा प्रस्तुत गरेका छन् । विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता लगायत विषय बैठकका एजेण्डा छन् ।

बालेनलक्षित हर्कको कटाक्ष : विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक काठमाडौंका मेयर बालेन शाहलक्षित कटाक्ष गरेका छन‍्।

उनले विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै भएको बताउँदै कटाक्ष गरेका हुन्। हर्कले देशको अवस्था खरानी बनाएर एम्बुलेन्स र छात्रवृत्तिका कुरा गरेर मोड्न खोजेको आरोप समेत लगाए।

‘विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नैडाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर!’

खोज्नुहोस