अन्तरिम सरकार शीघ्र गठन गर्न आग्रह

काठमाडौँ। मानव अधिकार तथा शान्ति समाजले देशमा विद्यमान तरल राजनीतिक अवस्थालाई चिर्दै अन्तरिम सरकार चाँडै गठन गर्न आग्रह गरेको छ।

समाजकी सभापति रेनुका पौडेलद्वारा बिहीबार जारी विज्ञप्तिमा जेनजी पुस्ताले आह्वान गरेको भ्रष्टाचार विरोधी आन्दोलन नेपालको इतिहासमै अभूतपूर्व भएको उल्लेख छ। आन्दोलन सफल भए पनि आन्दोलनका क्रममा भदौ २३ गते १९ जना युवाको गोली प्रहारबाट भएको हत्या अत्यन्तै दुखद भएको समाजले स्मरण गराएको छ। त्यस्तै आन्दोलनपश्चात सार्वजनिक सम्पत्ति क्षति, निजी सम्पत्ति लुटपाट, प्रेस संस्थामा तोडफोड र आगजनी जस्ता गतिविधिप्रति समाजले चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा आन्दोलनको सफलतापछि देशमा राजनीतिक रिक्तता सिर्जना भएको भन्दै प्रशासनिक र सुरक्षात्मक संरचना कमजोर बनेको अवस्था खतरनाक हुने चेतावनी दिइएको छ। यस्तो परिस्थितिमा नेपाली सेनाले लिएको पहल सराहनीय भए पनि दीर्घकालीन समाधान अन्तरिम सरकार गठन नै भएको समाजको निष्कर्ष छ।

समाजले राष्ट्रपतिबाट चाँडै अन्तरिम सरकार गठन हुनेमा आशा व्यक्त गर्दै भ्रष्टाचारमा संलग्न शीर्ष नेताहरूमाथि कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।

लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि आघात पुर्याउने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिँदै समाजले अन्तरिम सरकारको प्रमुख दायित्व नागरिकको सुरक्षा, कानुनको पुनःस्थापना, अहिंसा र सहिष्णुताको प्रवर्द्धन, पुनर्निर्माण तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने हुनुपर्ने जनाएको छ।

संविधान लागु भएको एक दशक पुगेको सन्दर्भमा समाजले संविधान संशोधन निरन्तर जारी रहने प्रक्रियाको स्मरण पनि गराएको छ। तर संशोधन गर्ने दायित्व निर्वाचन पश्चात गठन हुने नयाँ संसद्को हुने भएकाले यो विषयलाई अन्तरिम सरकारले एजेन्डा बनाउन नहुने धारणा पनि समाजले प्रष्ट पारेको छ।

संविधानको मर्म अनुसार संवाद सुरु गर्न राष्ट्रपतिलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद सुरु गर्न पनि राष्ट्रलाई आग्रह गरेको छ ।

‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।’

जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको एमालेले दाबी गरेको छ ।

यस्तो घटनाक्रममा संलग्नबारे यथार्थ छाबिन हुनुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने एमालेले बताएको छ ।

‘यस विध्वंशका योजनाकार र दोषीहरूलाई कानुनी दायरामा ल्याइनु पर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ,’ एमालेले भनेको छ, ‘यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा पनि पनि समीक्षा हुनुपर्छ ।’

स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्ने पनि एमालेले बताएको छ ।

जेनजीको एउटा समूहले भन्यो- कुलमान घिसिङलाई सरकार प्रमुख बनाऊँ

काठ्माडौँ- जेनजी आन्दोलनभित्र फरक-फरक धार देखिन थालेका छन्।

केही समयअघि सार्वजनिक गरिएको विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको अध्यक्षका रूपमा अघि सारिएको थियो।

तर, जेनजीकै नाममा आज सार्वजनिक अर्को विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई नयाँ सरकार प्रमुख बनाउन माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान बमोजिम पूर्व प्रधानन्यायाधीश तथा न्यायाधीशहरु यो पदमा नियुक्त हुन योग्य मानिँदैनन्। साथै, सुशीला कार्की ७० वर्ष उमेर नाघि सक्नुभएको छ। जसकारण उहाँले जेनजी पुस्ताको प्रतिनिधित्व पनि गर्नसक्ने अवस्था छैन। त्यसैले उहाँको नाम अस्वीकृत गरिएको छ।’

त्यसैगरी विज्ञप्तिमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङको नामबारे पनि स्पष्टिकरण दिइएको छ।

‘बालेन्द्र साहले अब बन्ने सरकारको प्रमुखमा रुची नदेखाएको र हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्त, इमानदार र सबैले रुचाउने इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि मंगलबार जेनजीको एउटा समूहले भने सुशीला कार्कीको नाममा सहमति भएको जनाएको थियो।

६५ संस्था तथा अभियानीको संयुक्त विज्ञप्ति- संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्नुपर्छ

काठ्माडौँ- ६५ संस्था तथा अभियानीले संयुक्त विज्ञप्तिमार्फत् संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपिल गरेका छन्।

बिहीबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन गरी सरकार गठन र विधिको शासन लागू गर्न उनीहरूले अपिल गरेका हुन्।

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सम्मान गर्दै अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्न विद्यमान हाम्रो देशको संवैधानिक व्यवस्थाभित्र रहेर र जेनजी पुस्ताका भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

अहिलेको अवस्थामा वार्ता संवाद र छलफल गर्न नागरिक समाजले सहजीकरण गर्ने पनि अनुरोध गरिएको छ।

त्यसैगरी राजनीतिक संकट र आन्तरिक द्वन्द्वतर्फ बढ्ने र अन्तर्राष्ट्रिय हस्तक्षेप हुनेमा सचेत रहन पनि ध्यानाकर्षण गरिएको छ।

 

मैत्रीपूर्ण खेल खेल्न आएको बङ्गलादेशी फुटबल टोली विशेष बिमान बोलाएर स्वदेश फर्कियो

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाल आएको बङ्गलादेशी फुटबल टोली आज  स्वदेश फर्किएको छ।

बङलादेशबाट विशेष बिमान बोलाएर बंगलादेशी टोली ढाकाका लागि उडेको अखिल नेपाल फुटबल सङघ (एन्फा)का प्रवक्ता सुरेश साहले जानकारी दिए। मङ्गलबारनै स्वदेश फर्किने तयारीमा रहेको टोली जेनजी आन्दोलनका कारण   रोकिएको थियो।

यही भदौ २४ गते तय भएको नेपाल र बङ्लादेशबीचको खेल जेनजी आन्दोलका कारण रद्द हुनपुगेको थियो। त्यसअघि शनिबार भएको नेपाल र बङ्गलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो ।

मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।

झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रममा घाइते भएकालाई प्रदर्शनकारीहरूले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

संविधान रक्षाको माग गर्दै कमर्स क्याम्पमा पनि विद्यार्थीको प्रदर्शन

काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् ।

काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनिति हो’, अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेपाल प्रहरीलाई टोपबहादुर भने- म कारागार फर्किन्छु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार गर्न तयार रहेको बताएका छन् ।

कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको कुरा बताएका हुन् । रायमाझीले ने आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।

‘ठीक छ हाम्रै सम्पर्कमा रहनु होला । परिस्थिती सबै मिलेपछि खबर गर्छौं भनेर भनेका छौं’ कारागार प्रशासन स्रोतले भन्यो ।

रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । ३८ सय कैदीबन्दी रहेको यो कारागारबाट ३३ सय जति फरार भएका थिए । सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए ।

सिंहदरबार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आह्वान

काठमाडौं । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् ।

उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।

निजामती कर्मचारीहरूको बाहुल्य रहेको ‘सार्वजनिक नीति संवाद’ मा कर्मचारीहरूले सरसफाइका लागि आह्वान गरेका हुन् ।

उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरबार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ-आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौं ।’

उनीहरूले परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ-आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरेका हुन् ।

निर्वाचित सरकार निष्क्रिय भए पनि स्थायी सरकारका प्रतिनिधि भनेर चिनिने कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने भन्दै उनीहरूले ग्रुपमा लेखेका छन्, ‘अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारु गर्ने गराउने पहल गरौं ।’

आगजनीबाट ध्वस्त भएको सर्वोच्च अदालतका कर्मचारीहरूले बुधबारदेखि नै सरसफाइ अभियान थालेका थिए ।

सर्वोच्च अदालतमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा उनीहरूले करिब ३ हजार फाइल संकलन गरेका थिए, जसमा कतिपयमा आंशिक र कतिपयमा आधाजसो क्षति पुगेको छ ।

तर, सिंहदरबारमा भने त्यसको कुनै प्रयास नभएपछि कर्मचारीहरूले आफैंले सरसफाए अभियान सुरु गरेका हुन् । नेपाली सेनाले सिंहदरबारमा त्यहाँभित्र कार्यरत कार्यालयका कर्मचारी बाहेक अरूलाई प्रवेश दिएको छैन ।

अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ ।’

थापाले सामाजिक सञ्जाल बन्द हुना साथ आफुले पार्टीमा, सरकारलाई यसो नगर्न र तुरुन्त सामाजिक सञ्जाल खोल्न आग्रह गरेपनि आफ्नो कुरा कसैले नमानेको बताएका छन् ।

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।

जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।

त्यसैगरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् ।

जंगीअड्डा अगाडि तनाव : सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन नहुने भन्दै विरोध

काठमाडौं । अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन खोजिएको भन्दै केही युवाहरु विरोधमा उत्रिएका छन् ।

नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि पुगेका युवाहरुले कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने बताएका हुन् ।

समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय मिडियाहरुविरुद्ध पनि युवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् ।

सेनाले युवाहरुलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।

त्रिविका क्याम्पस छठपछि मात्रै खुल्‍ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ ।

असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ । कात्तिक १० गते छठपर्व परेको छ ।

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।’ सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिमा उल्ल्लेख छ ।

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।

बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले विहिबार नेपाली सेनाको बुधबारको विज्ञप्ति अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरि यसको जानकारी गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले भनेको छ- नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेभसाइतवा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ । साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्नुहुन समेत अनुरोध छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । ‘विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ’, उनले भने ।

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ ।

नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पु¥याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानुपर्नेछ ।

‘जेनजी पुस्ता’का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तराष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक तीनसयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ ।

विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

निषेधाज्ञाकै बीच ४ घण्टाका लागि खुले बैंक

काठ्माडौँ- निषेधाज्ञाकै बीच काठमाडाैँ उपत्यकामा बैंकहरू खुल्न थालेका छन्।

गएकाे सोमबार जेनजी आन्दोलले उग्र रुप लिए सँगै बन्द भएका बैंकहरू बिहीबारदेखि पुन: सञ्चालनमा आएका हुन्।

आन्दोलका क्रममा विभिन्न स्थानका बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो।

नगन्य क्षतिकैबीच बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निणर्य गरेको हो। बिहीबार बिहान १० बजेदेखि सञ्चलनमा आएका बैंक दिउँसाे २ बजेसम्म खुला रहनेछन्। संघले अधिकतम तीनवटा शाखासम्म खाेल्न भनेकाे छ।

संघको निर्णय पालाना गर्दै अहिले काठमाडाैँका बाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यलयहरूबाट सेवा दिइरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रुपमा सेवा दिन थालेका छन्।

यो सँगै अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आजबाट आंशिक रूपमा सेवा सुचारु गरेका छन्।

सीके राउतले भने– जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडि प्रयास भइरहेको छ

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्। सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी अबको बाटो तय गरिनुपर्ने उनको भनाइ छ।

राज्यका महत्वपूर्ण अंगहरू जलाउनु, जनताले वर्षौं लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा निर्वाचित जनप्रतिनिधिमूलक थलो संसद भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देशका लागि दुर्भाग्य हुने राउतले बताएका छन्।

त्यस्तो अवस्था आए देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएको राउतको भनाइ छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने र देश नै नरहरने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका हुन् ।

‘राज्यका महत्वपूर्ण सबै अंगहरू जलेर खरानी हुनु र अब देशकै सम्पूर्ण जनताले ८ वर्ष लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा जनताले एक–एक मत हालेर निर्वाचित गरेको जनप्रतिनिधिको थलो संसद् पनि भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएका छौं,’

उनले अहिलेको संक्रमणकालीन स्थितिमा संविधान संशोधनको आवश्यकता रहे पनि संविधानलाई अहिले चलाउने नभई अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद् कायम राख्नुपर्ने भन्दै अन्यथा देशमा रिक्तता निम्तिने बताएका छन्।

उनले ठूलो बलिदानपछि प्राप्त गणतन्त्र जस्तो सुकै परिस्थितिमा रक्षा गर्न तयार रहन अपिल गरेका छन्।

‘दशकौंको आन्दोलन र बलिदानीपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जस्तो सुकै परिस्थितिमा हामी रक्षा गर्न तैयार रहनुपर्छ। केही पात्रहरूले जतिसुकै दुश्प्रचार गरे पनि यो देशको अस्तित्वको रक्षाको लागि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नै पर्छ,’ जेनजी पुस्तालाई सम्बोधन गर्दै उनले अगाडि भनेका छन्, ‘यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद् भंग गर्नु भयो भने अर्को १० वर्ष तपाईंहरू संविधान बनाउन अल्झिनु हुनेछ, काम गर्ने वातावरण बन्ने छैन। त्यो ‘प्यानडोराज बक्स’ हो। त्यसैले अहिले अन्तरिम सरकार बनाएर वर्तमान संसद्लाई नै कायम रहन दिई निर्वाचन गराउनेतिर लाग्नु पर्दछ।

उनले आफूहरूले संसद्बाट राजीनाको घोषणा गरिसकेको भए पनि संसद्लाई जीवित राख्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारेका छन्।

उनले आन्दोलनपछिको अवस्थामा एउटा निश्चित वर्ग, जाति, समूहको मात्र नभई हरेक निर्णय मेचीदेखि महाकाली, हिमाल पहाडदेखि तराई–मधेशसम्म, कर्णाली र सुदूरपश्चिमदेखि मधेश र लुम्बिनीसम्म, खसआर्यदेखि मधेशी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, महिला, पिछडावर्ग सहित सीमान्तकृत वर्गसम्म सबैले अपनत्व लिने गरी हुनु पर्ने जनाएका छन्।

संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘हाम्रो ठहर छ, कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्तत: प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ ।’

प्रचण्डले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समीक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै समुन्नत लोकतन्त्रको विकास गर्न सकिने उल्लेख गरेका छन् । ‘यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं’ प्रचण्डले भनेका छन् ।

अज्ञातस्थलबाट प्रचण्डले जारी गरेको विज्ञप्तिको पूर्णपाठ हेर्नुहोस्–

सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दु:खद् रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रुप लियो ।

जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चायो । सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सही थियोे तर त्यसमाथि सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो ।

आन्दोलनको दोश्रो दिन व्यवस्थापिका संसद भवन, राष्ट्रपति निवास, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, सुरक्षा निकायका कार्यालयलगायत दर्जनौं सार्वजनिक संरचना, राजनीतिक दलका कार्यालय, निजी आवास, होटल, बैंक, व्यावसायिक भवनहरुमा जे जसरी तोडफोड, लुटपाट र आगजनी गरियो, जसरी राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण भयो, त्यो जेन–जी आन्दोलनकारीले गर्न सक्दैनन्, उनीहरुबाट भएका होइनन् र भएका घटनाहरु उनीहरुको आदर्श अनुरुप पनि छैनन् भन्ने हाम्रो ठहर छ ।

हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लूटपाट र आगजनीका घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन गर्न माग गर्दछौं ।

केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा मैले संसदको रोष्टमबाट गठबन्धनको सरकार जुन उद्देश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको थिएँ । त्यसपछि पनि हाम्रो पार्टीले सरकार गलत बाटोमा हिँडिरहेपछि सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरुमा लगातार कठोर आत्मसमीक्षासहित सच्चिन बारम्बार आग्रह गरेको र कुशासनका शृंखला जारी नै रहेमा जनताको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्ने भन्दै सचेत गराउँदै आएको थियो ।

हजारौं सहिद, वेपत्ता नागरिक तथा घाइते अपांग जनताको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा हामीबाट भए, गरेका कमीकमजोरीको निर्मम आत्मसमीक्षा गर्दै सुशासनमुखी उन्नत लोकतन्त्रका पक्षमा अघि बढ्न निरन्तर खबरदारी  गर्यौँ । तर, दुई तिहाई संख्याको दम्भमा सरकार संवेदनहीन बनिरह्यो । सरकार भने अहंकारकै बाटोमा लागि रह्यो । अझ सामाजिक संजालमा प्रतिबन्ध लगाउने तथा दमनको निरंकुश बाटोमै अघि बढिरह्यो । यसले सिर्जना गरेको परिस्थितिका कारण जेन जी पुस्ताका युवाहरूसहित जनताको आक्रोश विष्फोट हुन पुग्यो । युवाहरुको आवाज सुन्नुको साटो सरकारले गरेको नरसंहारका कारण ठूलो मानवीय क्षति भयो ।

हामीले भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाउँदै आयौं । पछिल्लोपटक सरकारको नेतृत्व गर्दा समेत सुशासनको विषयमा निर्णायक पहलकदमी लिएको विदितै छ । प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि सांसदहरु मन्त्री बन्न नपाउने र उच्चपदस्थ कर्मचारी तथा नेताहरुको सम्पत्ति छानबिनका लागि अधिकारसम्पन आयोगका पक्षमा हामीले आवाज उठायौं । आज जेनजी पुस्ताले समेत यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो ।

जेन जी पुस्ताले आन्दोलनको घोषणा गरेपछि हामीले त्यसको समर्थन गर्दै आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई खबरदारी गरेको कुरा स्मरण गराउन चाहन्छु ।

आन्दोलनको दोश्रो दिन आयोजकको पूर्ववत घोषणाविपरीत अवाञ्छित तत्वहरूको घुसपैठ देखा पर्न थाल्यो । त्यस्ता तत्वहरुबाट नेपालको ऐतिहासिक धरोहर र गौरवका रुपमा रहेका सिंहदरबार सहितका संरचनामा जे जसरी लुटपाट र आगगजनीका घटना भए, ती इतिहासमै सर्वाधिक नकारात्मक घटना बन्न पुगे ।

जेनजी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो ? यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ । यसखालका घटना जेन जी पुस्ताको घोषित नीति र आदर्शविपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।

कुनै बेला तत्कालीन सत्ताले जनताका कुरा नसुन्दा हामीले जनयुद्ध सुरु गर्नुपरेको थियो । जनयुद्ध कुनै रहर थिएन । जनयुद्ध जनतामाथि भइरहेको चरम शोषण, दमन र हिंसाविरुद्धको प्रतिरोध थियो ।

नेपालकै इतिहासमा पहिलोपटक पीँधमा रहेका  वर्ग, जाति, क्षेत्र र समुदायले आफ्नो आवाज मुखरित गरे । हजारौं जनताको बलिदान भयो । कैयन् अझै पनि वेपत्ता छन, अंगभंग र घाइते छन् ।

शान्ति, सुशासन र समृद्धिमा जानुपर्छ भन्ने विश्वासका साथ १२ बुदे सहमति, १९ दिने जनआन्दोलन हुँदै तत्कालीन ७ दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र मैले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर देश संविधानसभामा प्रवेश गर्‍यो । राज्यको निर्मम दमनविरुद्ध जनयुद्ध, जनआन्दोलन र विभिन्न समुदायका जनताको बलिदानीपूर्ण संघर्षकै कारण हामीले लोकतान्त्रिक गणतन्त्रको संविधान कोर्न सफल भयौं ।

नेपालकै इतिहासमा पहिलोपटक दलित, महिला, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, कर्णाली, सुदूरपश्चिम लगायत उपेक्षित उत्पीडित वर्ग र समुदायको संविधानमार्फत अधिकार सुनिश्चित गरियो । सिंहदरबारमा केन्द्रित अधिकार गाउँसम्म पुग्यो । यो चानचुने उपलब्धि थिएन । आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्यायको चर्चा गर्दा हामीले इतिहासको यो बलिदानलाई स्मरण गरेर र यसकै जगमा टेकेर मात्रै अग्रगमनतर्फ बढ्ने संकल्प गर्नुपर्दछ । 

हामीले संविधान कार्यान्वयनमा पर्याप्त गम्भीरता देखाउन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ । त्यसो त संविधान जारी गर्ने बेलामा नै हामीले संविधानमा फरक मत राख्यौं । प्रत्यक्ष कार्यकारी रहने निर्वाचन प्रणालीको वकालत गरर्यौं, दलित, महिला, आदिवासी, जनजाति लगायतका समुदायका थप अधिकार सुनिश्चित गर्नुपर्ने एजेण्डाहरू फरक मतका रूपमा राख्यौं ।

२०४६ सालयताका  सार्वजनिक पद धारण गरेका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानविनका लागि अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने, सांसदहरू मन्त्री बन्न नपाइने र विज्ञहरु मन्त्री बन्नुपर्ने लगायतका हाम्रा फरक मत थिए । त्यतिखेर शक्ति सन्तुलनका हिसाबले संविधान जारी गर्नैपर्ने परिस्थितिमा लिखित फरक मत राखेर समेत हामीले संविधान जारी गर्यौं । यी फरक मतहरु हाम्रा अहिले पनि छन् ।

हामीले अघि सारेका यिनै मतहरू सुनिश्चित नहुँदा र जारी भएको संविधान कार्यान्वयनमा समेत कांग्रेस र एमाले परम्पराभन्दा माथि उठन नसक्दा जनतामा आक्रोश चुलिन पुग्यो । आज तिनै मागलाई जेन जी पुस्ताले उठाएको छ । हामीले यसलाई सकारात्मक रूपमा लिएका छौं । आन्दोलनका कैयन् पीडादायी पक्ष भएपनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ । यसका लागि जेन–जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ ।

जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ । यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले  तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन् ।

हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा  नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।

हाम्रो ठहर छ, कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो । त्यसैले अहिलेको संक्रमणकालीन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्दछ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्तत: प्रतिगमनलाई नै फाइदा पुर्‍याउने छ ।

त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं । यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं ।

नेकपा माओवादी केन्द्र नेपाली समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो । हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष गर्‍यौं ।  त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं । गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन् ।

गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो । नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो । हामी यथास्थितमा बस्न चाहन्नौं । त्यसैले परिवर्तनविरोधीहरुबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौं । अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ ।

संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध  सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपील गर्दछु । साथै, जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी लगायतका गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि जनताको साथमा रही तम्तयार रहन पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।

अन्तमा, 

जेन जी पुस्ताले उठाएका मागहरु संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्याउन सबैसँग अपील गर्दछु । साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु ।

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो, २ जनाको मृत्यु

काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

जेनजी आन्दोलन : ६३३ जना घाइते, ३८७ डिस्चार्ज

काठमाडौँ : जेनजी आन्दोलनमा हालसम्म घाइते हुनेको सख्या ६३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतामा हालसम्म ६३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३८७ जना डिस्चार्ज भएका छन् ।

घाइते भएकामध्ये ५० जनालाई अन्य अस्पतालमा भर्ना गरिएको मन्त्रालयले जानकारी दिएको छ । हाल अस्पतालमा १९६ जना भर्ना भएका छन् । मन्त्रालयका अनुसार हालसम्म २५ जनाको निधन भएको छ ।

दुई दिनअघि देशव्यापी भएको प्रदर्शनमा राजधानीका बानेश्वरमा रहेको सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलगायत अस्पतालमा घाइतेको चाप बढेको थियो । जसका कारण अन्य बिरामीको स्वास्थ्य सेवा प्रभावितसमेत भएको थियो ।

यता पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले भने, ‘हिजोदेखि ओपीडीमा कम बिरामी आएका छन् । सायद अस्पतालसम्म आउन सहज नभएर होला । अस्पतालका सबै सेवाहरू सञ्चालन भइरहेका छन् ।’ पाटनमा जेनजी प्रदर्शनका क्रममा घाइते भएका ३३ जनालाई व्यवस्थापन गरिएको उनले बताए । यस अवधिमा कम्तीमा ६ देखि ७ जना बिरामीको सफल शल्यक्रिया (सर्जरी) समेत भइसकेको उनले बताए ।

उता जेनजी प्रदर्शनमा घाइते भएका ६७ जना राष्ट्रिय ट्रमा सेन्टरमा उचाररत छन् । मंगलबारको प्रदर्शनमा ४० जना घाइते उपचाररत छन् । जसमा ७ जना घाइते अवस्था गम्भीर रहेको राष्ट्रिय ट्रमा सेन्टर निर्देशक डाक्टर बद्री रिजालले बताए । स्वास्थ्य अवस्था गम्भीर भएकाहरूको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।

यस्तै सोमबार प्रदर्शनमा २७ घाइते पनि सेन्टरमा उपचाररत छन् । सोमबार ट्रमा सेन्टरमा आठ जना घाइतेको मृत्यु भएको थियो । निर्देशक रिजालले घाइतेका उपचारलाई प्राथमिकता दिई जनशक्ति दोब्बर पारेर ड्युटी गरेर व्यवस्थापन गरिएको बताए ।

उता त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ४४ जना घाइते उपचाररत छन् । जसमा एक जनाको आईसीयूमा ‍उपचार भइरहेको छ ।

सुशीला कार्कीले स्वीकार गरिन् जेनजीको प्रस्ताव

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन्। जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य राष्ट्रविमोचन तिमल्सिना (र्‍यान्डम नेपाली) ले उक्त जानकारी दिएका हुन्।

जेनजी समूहले बुधबार गरेको भर्जुअल छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली सेनाले जेनजीका प्रतिनिधिलाई वार्तामा बोलाइरहँदा उनीहरूबीच विभिन्न नेताहरूका विकल्पबारे छलफल जारी छ।

भर्चुअल बैठकमा समूहका प्रतिनिधिहरूले सर्वसम्मत मानिने व्यक्ति खोज्दा कार्की सही पात्र हुन सक्ने निष्कर्ष निकालिएको तिमल्सिनाको भनाइ छ।

विकल्पका रूपमा सागर ढकाललाई राखिएको छ। ढकालले अरू कोही अगाडि नबढेमा आफू तयार रहेको बताएका छन्।

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी

काठमाडौँ- जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको धारणा बुझ्नेबारे छलफल भएको छ।

जेन-जी समूह अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोडनजिक पुगे्का छन् । तर उनीहरूले यो निचोड निकाले पनि हालसम्म कार्कीसँग सवाद हुन सकेको छैन ।

उनले अन्तरिम सरकारको नेतृत्व लिन्छिन् या लिन्नन् भन्नेबारेमा जेन-जी समूहले धारणा बुझ्न लागेका हुन् । अहिले जेन-जी पुस्ताका केही नेता कार्कीको धारणा बुझ्न टेलिफोन संवादमा छन् ।

रवि निस्केसँगै देशभरका जेल ब्रेक, जेन–जीको आपत्ति

भिडको दबाबबाट नख्खु कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेपछि देशभरका कारागारका कैदीहरूले आफूहरूले पनि भाग्न पाउनुपर्ने भन्दै रडाको मच्याउन थालेका छन् । मंगलबार लामिछानेको रिहाइपछि नख्खु जेलमा प्रदर्शनकारीले आगो लगाए । त्यसपछि झिटीगुन्टा बोकेर कैदीहरू भागे । अहिले कारागार मात्रै बाँकी छ, कैदीबन्दी छैनन् ।

अन्य कैदीबन्दीलाई छोड्नु नपरोस् र सुरक्षा स्थिति नबिग्रियोस् भनेर कारागार प्रशासनले रविलाई परिवारको जिम्मा लगायो । पत्रमा पहिला २३ भदौको मिति लेखिए पनि पछि सच्याएर २४ भदौको बनाइएको छ । प्रशासनको सो कदम प्रत्युत्पादक बन्यो । नछोडौँ जेलमा नै जलेर मर्ने पिर, छोडौँ देशभर कैदीको आन्दोलन उठेको छ, यो अर्को चिन्ताको विषय भएको छ प्रशासनलाई ।

अहिले डिल्लीबजार कारागारका कैदीले सोही कारण देखाउँदै निहुँ खोजिरहेका छन् । उनीहरूले कारागारमा रहेका सामान बाहिर ल्याएर जलाउन थालेपछि र भाग्न खोजेपछि नेपाली सेनाले सुरक्षा घेरामा राखेको छ । कैदीहरूलाई सेनाले स्थानान्तरण गरिरहेको छ ।

नख्खुको यो घटनालगत्तै रौतहटको गौर, कपिलवस्तुको तौलिहवा र बझाङका कारागारहरूमा पनि विद्रोह भयो । रौतहटबाट २६०, कपिलवस्तुबाट ४३५ र बझाङबाट ६५ कैदीबन्दी भागे । कपिलवस्तुमा त कैदीहरूले जिल्ला अदालतमा समेत आगजनी र तोडफोड गरेका छन् । सुन्धारा कारागारबाट ३ हजार ३ सय कैदी भागेका छन् । उनीहरूलाई यो आत्मविश्वास लामिछानेको रिहाइपछि नै आएको हो ।

अहिले देशभर कर्फ्यु जारी छ र सडकमा सेना परिचालन भएको छ । हजारौँको संख्यामा भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिनु र समाजमा शान्ति सुरक्षा पुनर्स्थापना गर्नु अब सुरक्षा निकायका लागि मुख्य चुनौती भएको छ । मंगलबार रातभरजसो लुटपाट र अशान्ति मच्चिएको छ । रातको समय हुने सुरक्षा खतरा झनै बढेको छ ।

रविलाई जेलबाट निकालिएपछि देशभरका जेल ब्रेक भएका र अपराधीहरू समाजमा फर्केर आतंक सिर्जना भएको भन्दै जेन–जीले आपत्ति जनाएका छन् । ब

पोखरामा स्थानीयले समातेर बुझाए एक कैदीबन्दी, एक बालकलाई गोली लाग्यो

पोखरा । कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।

बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उनी घाइते अवस्थामा थिए । अहिले उनको उपचार भइरहेको छ ।

यस्तै पोखरामै एक जना बालकलाई गोली लागेको छ । बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ ।

उनलाई असाबधानीका कारण गोली लागेको प्रहरी स्रोतले बतायो ।

जेन–जीको मिटिङमा छलफल– भारतीय सेना आउनबाट रोक्नु छ

काठमाडौ । जेन–जीका प्रतिनिधिहरू अहिले छलफलमा छन् ।  राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको छ ।  उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् ।

‘भारतका सेना आउनबाट रोक्नुछ, कुनै पनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले वार्ताको तयारी छिटो गर्नुछ’, जेन–जी भनिरहेका छन् ।

उनीहरूले आफूहरू परिपक्व नभएको भन्दै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा सुशीला कार्कीलाई सरकार प्रमुखका रूपमा अघि सार्ने धारणा पनि राखिरहेका छन् ।

आफ्ना एजेन्डाहरू तय गरी कार्कीसँग छलफल गर्नुपर्ने उनीहरूले बताएका छन् ।

गगन र विश्वप्रकाशले भने- हामी २०७२ को संविधानभन्दा पछि फर्कन दिँदैनौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफूहरूको सम्पूर्ण प्रयास देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन केन्द्रित हुने स्पष्ट पारेका छन्।

जेनजी समूह, राष्ट्रपति र प्रधानसेनापतिबीच अबको सरकार गठन प्रक्रिया छलफल भइरहँदा कांग्रेसको यस्तो धारणा बाहिर आएको हो।

महामन्त्रीद्वयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आमनागरिकको प्रतिनिधत्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौँ, त्यसबाट पछि फर्किनु भनेको अरु यस्तै आन्दोलन र विद्रोहहरुको शृंखलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै, यस अघिका आन्दोलनका बेला अहिले जस्तै गरी सार्वभौम नागरिकहरुले ज्यू–ज्यान दिएर हात परेका उपलब्धि नउल्टियुन भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन अब हाम्रो सम्पूर्ण प्रयास केन्द्रित गर्नेछौँ।’

उनीहरूले परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा दृढ ढंगले प्रस्ट रहेको उल्लेख गरेका छन्।

0

-आदरणीय नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू

Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरूप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ । नेपाल देशको समुन्नती र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।

१. यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दछौं । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न हामी आग्रह गर्दछौं । नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, संचार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपील गर्दछौं ।

२. हामी यो पहललाई Gen-Z पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पुर्‍याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहन्छौं । विधि विहिनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।

३. सोमवारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुराको पनि पुनः ध्यानाकर्षण गराउँदछौं ।

४. सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आंकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं ।

५. सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरुले थप पीडा थप्न पुग्यो । शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने Gen-Z पुस्ताको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा Gen-Zको थिएन, र त्यो Gen-Z को माग पनि होइन भन्ने हाम्रो विश्वास हो । कयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनि अत्यन्तै दुःखद र निन्दनीय छ । Gen-Z आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रुपमा यो सब विध्वंश गरेका हुन् भन्ने हाम्रो बुझाइ छ । जेनजी युवाहरुको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समूहहरुले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौं । अबको सरकारले देशब्यापी रुपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्नुपर्दछ ।

६. नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । यस्ता घटनाको हामी प्रष्ट शब्दमा भ्रत्सर्ना गर्दछौं ।

७. संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेका छौं । त्यस क्रममा सत्तालाई जवाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मालोचित छौं । तर, अब फेरिएको यस परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं । हामी विश्वस्त छौं– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, Gen-Z युवाहरुको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ ।

८. आम नागरिकको प्रतिनिधत्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौं, त्यसबाट पछि फर्किनु भनेको अरु यस्तै आन्दोलन र विद्रोहहरुको श्रृंखलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै, यस अघिका आन्दोलनका बेला अहिले जस्तै गरी सार्वभौम नागरिकहरुले ज्यू–ज्यान दिएर हात परेका उपलब्धि नउल्टियुन भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन अब हाम्रो सम्पूर्ण प्रयास केन्द्रित गर्नेछौं । परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रष्ट छौं ।

९. हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकुल र प्रतिकुल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ । दुबै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ । नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि वढेको हो । त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं– गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।

अन्त्यमा, अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य छ । अत्यन्तै कठिन अवस्था र प्रतिकूलताबीच पनि ‘सामाजिक एकता र सदभाव’ नेपाली समाजको विशिष्ट चरित्र हो । अहिलेको अवस्थामा यो चरित्र बलियो ढंगले प्रस्तुत गर्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली आमाबुबा, दिदिबहिनी दाजुभाइमा हार्दिक आह्वान गर्दछौं ।

मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न/नगराउन सबैमा आग्रह गरेको छ ।

बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरूमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यमा आयोग निरन्तर लागिरहेको बताएको हो ।

आयोगका प्रवक्ता डा.टीकारम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,’लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । अतः जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ।’

आयाेगले आगामी दिनमा यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन सबैमा आह्वान समेत गरेको छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्नेमा आयोग दृढ रहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्नेमा आयोगले जोड दिएको छ ।

सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले सम्बद्ध सबैलाई आग्रह समेत गरेको छ ।

जेनजी प्रतिनिधिको छलफलबाट बाहिरियो एउटा समूह

२५ भदौ, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर निस्किएकी छन् ।

उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिरिएको भनेकी छन् ।

‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनेकी छन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनभिज्ञ छु ।’

उनले प्रधानसेनापतिसमक्ष वार्ताका लागि नभइ आफ्नो मागहरु तयार गर्न समय चाहिन्छ भन्नलाई पुगेको बताएकी छन् ।

‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारी प्रतिनिधिहरु मिलेर एउटै दस्तावेजमा काम गर्नेछौं,’ उनले भनिन्, ‘हामी सबै एकैठाउँमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेनाप्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौं भन्ने सहमतिसहित मात्र बाहिरिएका थियौं ।’

जेनजीका मागहरु, राज्यको आगामी बाटो जानजीले तयार गर्नुपर्छ भन्ने आफूहरूको मुख्य अडान रहेको उनले भनेकी छन् । अहिले जंगीअड्डामा जेनजी प्रतिनिधिहरु छलफलमा छन् ।

खोज्नुहोस