नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं १४ असोज। नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठहरुमा आज पनि भक्तजनको घुइँचो छ ।

नवरात्रको सातौं दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि सुरु हुने भएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादशैंको विशेष रौनक पनि सुरु भएको छ ।

 

गाजामा युद्धविराम गर्न सहमत

काठमाडौं १४ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् ।

दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन् ।

ट्रम्पले भने, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।’

लगत्तै नेतान्याहूले थपे, ‘गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ। सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो कार्य सम्पन्न हुनेछ, हमासले मानेन भने इजरायल आफैं पूरा गर्नेछ।’

उता, हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारेको छ । प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनाको स्वागत गरेको छ ।

ट्रम्पको गाजा युद्धविराम योजनामा के छ?

पत्रकार सम्मेलनमा ट्रम्पले दिएको जानकारीअनुसार, योजनामा गाजामा युद्ध रोक्ने, सबै बन्दीलाई छोड्ने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव छ ।

यस बोर्डको अध्यक्षता ट्रम्प स्वयं गर्नेछन्, जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहित अन्य देशका प्रतिनिधि रहनेछन् ।

वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालले यूएईस्थित शारजाह क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पहिलो खेलमा जित हासिल गरेको नेपालले आजको खेल जिते सिरिज हात पार्नेछ ।

आज दशैंको फूलपाती भित्राइँदै

काठमाडौं १३ असोज ।  बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।

‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने ।

फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

हनुमानढोकामा यस वर्षको फूलपाती अपराह्न भित्राइने कार्यक्रम छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरिन्छ । स्वयम्भूबाट जमलको दशैंघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्राइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

दल दर्ताका लागि १३ नयाँ पार्टीले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं १३ असोज । २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि नयाँ–नयाँ पार्टी खोल्ने क्रम सुरु भएको छ । जेन–जी आन्दोलनअघि उपनिर्वाचनको मिति घोषणा भएयता १३ नयाँ पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसमध्ये धरानका मेयर हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (श्रसंपा) एउटा हो ।

आफ्नै नेतृत्वमा श्रसंपा खोलेका साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले १६ भदौमै पार्टी गठन गरेका थिए । ३१ भदौमा पार्टीको केन्द्रीय समितिबाट निर्णय गराएर दल दर्ताका लागि ७ असोजमा निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनले पार्टीको केन्द्रीय समिति २३ सदस्यीय बनाएका छन् । केन्द्रीय कार्यालय काठमाडौंको सुकेधारामा तोकिएकामा सात प्रदेश कार्यालय विराटनगर, जनकपुर, हेटौँडा, कास्की, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा तोकिएको छ ।

केन्द्रीय समितिले दल दर्ताका लागि गरेको निर्णयको प्रतिलिपि, दलको विधान, घोषणापत्र, झन्डा, चिह्न (लोगो)को नमुना, कम्तीमा पाँच सय नेपाली मतदाताले दलको सदस्यता प्राप्त गरेको प्रतिबद्धतासहित निजहरूले अर्काे दलको सदस्य नभएको भनी गरेको उद्घोषणपत्र, दलको सदस्यता प्राप्त गर्न प्रतिबद्धता व्यक्त गर्ने नेपाली मतदाताको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि बुझाएका छन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन आएको पुष्टि गरे । ‘हर्कराज राई साम्पाङ अध्यक्ष रहने गरी दल दर्ताका लागि निवेदन आएको छ । हामी अध्ययन गर्दै छौँ । कानुनअनुसार दल दर्ताका लागि सबै रित पु¥याएको अवस्थामा दल दर्ता हुन्छ,’ उनले भने ।

टिकटकर आँचलले आत्मदाह गरेको प्रहरीको निष्कर्ष, दुरुत्साहनमा एक युवक पक्राउ

काठमाडौं । टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी भनिएका युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार जलेको अवस्थामा भेटिएकी आँचलको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।

जडिबुटीस्थित एक गाडी मर्मत गर्ने ग्यारेजमा अपराह्न ४ बजेको समयमा आँचलको शरीरमा आगो लागेको थियो । प्रहरीले उनले आत्मदाह गरेको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनले आत्मदाह गरेको भन्ने ठहरमा पुग्ने भिडियो फुटेज सुरक्षित छ । तर, उनलाई सो ग्यारेजसम्म पुर्याउने काम कसले र कुन उद्देश्यले गर्यो भन्ने कुराको अनुसन्धान हुने भट्टराईले बताए ।

अनुसन्धानकै क्रममा उनको प्रेमी भनी प्रचारित एक युवकलाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले बताए । ती युवकविरुद्ध आँचलका परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् ।

शरीरमा आगो लगाएलगत्तै प्रत्यक्षदर्शीले उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेका थिए । आँचल पुरानो सिनामंगल (पेप्सीकोला) मा डेरा गरी बस्थिन् । उनको परिवारका एक सदस्यका अनुसार डेरासँगै बस्ने एक छिमेकी महिलासँग पछिल्ला केही दिनमा भनाभन चलिरहेको थियो । उनै महिला सञ्चालक रहेको ग्यारेजमा आगलागीमा परेका कारण आफन्तले उनीमाथि शंका गरेका छन् । सोही शंकाका आधारमा प्रहरीले केही महिलालाई नियन्त्रणमा लिएको थियो । तर, पुरुषका नाममा परिवारको सदस्यले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएपछि प्रेमी भनिएका युवकलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

केही समयदेखि आँचलले आफ्नो टिकटकमा निराशाजनक पोस्ट गरिरहेकी थिइन् । उनले चार दिनअघि मात्र लेखेकी थिइन्, ‘मेरो त हरेक चिजदेखि मन मरिसक्यो । थाहा छैन अब कुन दिन यो शरीर पनि मर्छ ।’

कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका–२ की स्थायी बासिन्दा आँचलको उमेर २२ वर्ष पुगेको थियो । वैदेशिक अध्ययनका क्रममा युरोप जाने तयारीमा रहेकी उनको भिसा लागिसकेको पारिवारिक स्रोतले जनाएको छ । आँचलको वैवाहिक स्थितिका बारेमा विभिन्न टिकाटिप्पणीहरु भइरहे पनि प्रहरीले भने उनी अविवाहित रहेको बताएको छ ।

एउटा महोत्सवमा सांगीतिक प्रस्तुतिका क्रममा दर्शक दिर्घामा रहेकी आँचल ग्वाँग्वाँ रोएको भिडिओ/फोटो भाइरुल भएको थियो । टिकटकमा उनका १ लाख २० हजार फलोअर्स छन् ।

जेनजीको नाममा भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमा मागेपछि निजी क्षेत्रले गुहार्‍यो सरकार

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै  गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ ।

आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा  सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।

उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।

विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा भोटेकोशी गाउँपालिका जेनजी समूहका नाममा १० प्रतिशत शेयर निःशुल्क लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत् गृह बन्द छ भने यही कारण दैनिक करिब रु ९८ लाखसहित हालम्म रु १६ करोडभन्दा बढी गुमाउनु परेको उल्लेख छ ।

विद्युत् गृह बन्द गरेपछि पनि दैनिक रुपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनका लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत् आयोजनासँग निःशुल्क सेयर मागेर सम्बन्धित आयोजनाहरुमा पत्र पठाइएको तथा अन्य अन्य क्षेत्रहरुमा समेत विभिन्न माग राखेर आयोजनाहरुमा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनाहरुमा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।

आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित पनि बनाउने उल्लेख गरिएको छ ।

हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्।

‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै भने, ‘दर्ता चाहिँ भइसकेको छैन। आयोग जाँचबुझ प्रक्रियामै छ।’

साम्पाङ आफैले दल खोलेर जाने यसअघि नै सार्वजनिक गर्दै आएका छन्। तर, निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको कुरा भने खुलाएका छैनन्। निर्वाचन आयोगका अनुसार असोज ७ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको छ।

‘रित पुगेर आएको दल दर्ता गर्नै पर्छ। अहिले दसैं बिदा सुरु हुन लाग्यो। रित पुगेर आएको भए दसैंलगत्तै दर्ता हुनसक्छ,’ आयोगका सूचना अधिकारी घिमिरेले भने।

दसैँ बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

काठमाडौँ, १२ असोजः दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् । दसैँका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ ।

गण्डकीका मुख्यमन्त्रीको निवासमा फेरि आगजनी

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ । गए राति करिब साढे २ बजेको समयमा अज्ञात व्यक्तिहरूले पहिले नै आगजनीमा परेको निवासमा आगो लगाएका हुन् ।

०७४ मा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनपछि निर्वाचित मुख्यमन्त्रीका लागि भनेर प्रयोगमा ल्याइएको निवास प्रमुख जिल्ला अधिकारीका लागि भनेर बनाइएको थियो । प्रदेश सरकार बनेपछि उक्त भवनलाई नै मुख्यमन्त्री निवास बनाइएको थियो ।

सहिदचोकमा रहेको यो भवन भदौ २४ गते पनि जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीमा परेको थियो । प्रदेश सरकारले भवन प्रयोग गर्न मिल्नेरनमिल्ने भनेर प्राविधिक समिति गठन गरेको थियो ।

उक्त समितिले यो भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भन्ने प्रतिवेदन बुझाएको थियो । प्रयोग गर्न मिल्ने प्रतिवेदन आएपछि भवनलाई मर्मत गर्ने तयारीमा सरकार थियो । तर, भवनमा पुनः आगजनी भएको छ । पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी भएका सामानहरू राखिएको थियो ।

“त्यो निवासमा एउटामात्र कोठा बाँकी थियो । त्यही सग्लो कोठामा खाट, कार्पेट र जल्न बाँकी सामानहरू राखिएको थियो । त्यही आन्दोलन सम्बद्ध समूहले नै जलाएको हो कि भन्ने आशंका छ,” मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकृतले जानकारी दिए । आगजनीपछि मुख्यमन्त्री पाण्डे प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

जेनजी प्रदर्शनको आगजनीमा परेका गण्डकी प्रदेशमा १२ वटा कार्यालय प्रयोग गर्नै नमिल्ने गरी ध्वस्त बनेका छन् । ४८ भवनमा क्षति पुगेको छ ।

सरकारले उक्त आन्दोलनका कारण प्रदेशका संरचनामा मात्रै दुई अर्बको क्षति पुगेको निष्कर्ष निकालेको छ ।

प्रदेश प्रमुखको निवासमा सबैभन्दा बढी क्षति पुगेको प्राविधिक समूहको निष्कर्ष छ । प्रदेशसभा परिसरभित्रको संसदीय दलका कार्यालयहरू, कर्मचारी निवास र सोही परिसरमा रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन पूर्णरूपमा ध्वस्त भएको छ ।

सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालयको मुख्य भवन र शिक्षा विकास महाशाखालाई पनि पुनः प्रयोग गर्न नमिल्ने भनिएको छ । मुख्यमन्त्री निवासको हल, नीति तथा योजना आयोगको मुख्य भवन, योजना आयोग उपाध्यक्षको क्वाटर, यातायात व्यवस्था कार्यालय ९सवारी०, यातायात व्यवस्था कार्यालय ९लाइसेन्स०, आर्थिक मामिलामन्त्रीको क्वाटरलाई पनि पुनः प्रयोग नगर्न वा तत्काल भत्काउन भनिएको छ । प्रतिवेदनअनुसार, ‘रातो’ सूचीमा परेका भवनहरू अत्यन्तै जोखिमपूर्ण र तत्काल प्रयोगका लागि पूर्ण रूपमा असुरक्षित छन् ।

प्रतिवेदनअनुसार, १६ वटा भवनहरू पहेँलो सूचीमा छन् । अर्थात्, मध्यमस्तरको क्षति भए पनि तत्काल प्रयोगका लागि यी भवन पनि असुरक्षित मानिएका छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको मन्त्री निवास, प्रदेश सभाको ‘लाइब्रेरी तथा गार्ड रुम’, ‘सुरक्षा क्वाटर’ र प्रदेश योजना आयोगका भवन परेका छन् ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, यातायात कार्यालय ९सवारीका दुई भवन०, यातायात कार्यालय ९लाइसेन्सको एउटा भवन०, वन तथा वातावरण मन्त्रालय र क्वाटर, प्रदेश प्रमुख कार्यालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र कृषि, सहकारी तथा भूमी व्यवस्था मन्त्रालयका भवन पहेँलो सूचीमा छन् ।

बाँकी २० भवनहरू हरियो सूचीमा छन् ।

थारु समुदायको मादल बनाउने सीप ओझेलमा

कञ्चनपुरः दसैं लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुञ्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता बढ्दै गएको छ। थारु समुदायको सांस्कृतिक पहिचानसँग गाँसिएको मादल बनाउने सीप पुस्तान्तरण नहुनु, सामग्री नपाइनु जस्ता कारणले यो मौलिक परम्परा हराउने अवस्थामा पुगेको छ।

पहिले दसैं आउनु केही महिना अघि नै गाउँका सीपालुले नयाँ मादल बनाउँथे। पुराना मादल मर्मत गर्थे। विजयसालको काठमा बाख्राको छाला राखेर मादल बनाइन्थ्यो।“जति बुढो बाख्राको छाला हुन्छ, मादल त्यति राम्ररी बज्दछ”,युवा समाजसेवी नरेन्द्रप्रसाद चौधरीले भने,“छालालाई विजयसालको काठको ढुङग्रोको दुवै पट्टि मोरेर कसेपछि दुवै तर्फको भागमा भातको माडको गम बनाएर बाबियो पोलेर बनाइएको खरानी र खरी मसाला(लोरसिंगा) मिलाएर लगाउने कार्य हुन्थ्यो, त्यसपछि खरी लगाएको भागमा चिप्लो सहत भएको ढुङ्गा वा सिसाको बोतलले घोटेर चम्काइन्थ्यो, यसरी बनेको मादल सखिया नाचमा टाढैबाट बजाएको सुनिन्थ्योे।”

उनका अनुसार अहिले विजयसालको काठ पाउनै मुस्किल छ। “वन क्षेत्र प्रवेशमा प्रतिबन्ध भएपछि खरी (लोरसिंगा) पाउन सकिँदैन, सनपाट खेती छाडदै जाँदा डोरी जुटाउन गाह्रो छ, सामग्री नै नपाएपछि मादलनै नबन्ने भयो”, उनले भने। चौधरीका अनुसार मादल बनाउन जान्ने थारु गाउँमा केही बुढापाकाहरु मात्रै बाँकी रहेका छन्।

“हामीलाई सिकाउने बुढापाकाले चासो दिएनन्, युवाले पनि सिक्न खोजेनन”, थारु अगुवा विनोद चौधरी भनछन्“पुस्तान्तरण नहुँदा सीप हराउँदै छ र योसँगै संस्कृति पनि संकटमा छ।”सखिया नाचका लागि अहिले थारु समुदाय बाहिरबाट मादल खरिद गर्न बाध्य छन्। “पुरानो मादल मर्मत गर्न पनि पैसा तिर्नुपर्छ, यस वर्षको सखियामा मादल अपुग हुने भएपछि पुराना मादल दोधारा–चाँदनी पुगेर बादी समुदायसँग मर्मत गराउनु परेको छ”, पिपलाडीका बरघर राजु चौधरी भने।

उनका अनुसार पहिले गाउँमा मादल बनाउन नजान्नेले जान्ने सीपालुलाई अन्न तिरेर बनाइन्थ्यो। पहिले ढकेर समुदाय गाउँमै आएर फलामको काम गर्थे। उनीहरुले छाडेको डढेको फलामबाट खरी पनि बनाउन सकिन्थ्यो। ती चलन अब इतिहास बनेका छन्। “ढकेरले आउन छाडेको वर्षौ बितिसक्यो लोरसिंगा(खरी) पाउनै छाड्यो, वन क्षेत्रमा पाइन्थ्यो त्यहाँ अनुमतीले मात्रै जान पाइन्छ, तर लोरसिंगा ल्याउनै पाइँदैन”, उनले भने। गाउँमै आफना लागि आफैं बनाइने मादल टिकाउ मात्र नभई बज्नमा पनि उत्कृष्ट हुन्थ्यो । तर, अहिले बाहिरबाट ल्याइने मादल महँगो छ। “एउटा मादल किन्न तीन हजारदेखि छ हजारसम्म तिर्नुपर्छ”, अगुवा गहनु चौधरी बताए “महँगो मात्र होइन, गाउँमा बनेको जस्तो मीठो ताल पनि आउँदैन।”

मादल बनाउन मात्र होइन, बजाउन जान्ने युवाको सङ्ख्या पनि घट्दै गएको छ। यसले दसैँमा देखाइने सामूहिक सखिया नाचको आकर्षण घटाएको छ। “मादलकै अभावमा सखिया ओझेलमा पर्ला कि भन्ने पिरलो छ”, स्थानीय श्यामलाल डगौरा भन्नुहुन्छ, “पहिला घर घरमै मादल बन्ने हुँदा अगुवा र पछुवा मदारीको सङ्ख्या नै अधिक हुन्थ्यो, एकै नाचमा १० देखि १५ सम्म मदारी हुन्थ्ये, अहिले घटेर चार पाँच जनामै सीमित हुन पुगेका छन्।

” उनका अनुसार मादल बनाउन आवश्यक काठ, छाला र अन्य सामग्री उपलब्ध गराउने नीति बनाउनुपर्ने आवश्यकता छ। “मादल बनाउने सीप पुनःस्थापना गर्न स्थानीय तहले पहल नगरे परम्परा लोप हुने पक्का छ”, उनी भन्छन।थारु संस्कृतिको जीवन्तता कायम राख्न मादल निर्माणलाई संरक्षण गर्ने मात्र विकल्प देखिएको उनको धारणा छ। उनी भन्छन, “मादलबिना न त दसैँमा सखिया नृत्यमा चमक आउँछ, न त थारु समुदायको मौलिकतालाई जीवन्त राख्न सकिन्छ, त्यसैले थारु संस्कृतिको अभिन्न अङ्गका रुपमा रहेको मादल संरक्षण गर्ने कार्यसँगै निर्माण गर्ने कार्यलाई जीविन्त राख्न राज्य र समाज दुवैले उत्तिकै ध्यान दिनु जरुरी छ।”

युक्रेनसँग वार्ता गर्न तयार छौं -रूसी विदेशमन्त्री

न्यूयोर्क । रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

लाभ्रोभले रूसको सुरक्षा गर्न र युक्रेनमा रहेका रूसी जनता तथा रूसी भाषीहरुको अधिकार पुनः स्थापनाको महत्वलाई जोड दिँदै यस्तो बताएका हुन् । यूएनजीएको ८०औँ सत्रमा आफ्नो देशको तर्फबाट बोल्दै उनले मस्कोको अधिकार र चासोको विश्वसनीय सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टी बारे छलफल गर्न तयार रहेको बताए ।

द्धन्द्धले राष्ट्रहरू बिचको सार्वभौमसत्तामा समानताको सिद्धान्तको गम्भीर उल्लङ्घन गर्नुका साथै न्याय र विश्वासलाई कमजोर पारी सङ्कट र द्वन्द्व उत्पन्न गर्ने लाभ्रोभले उल्लेख गरेका छन् ।

उनले सम्बन्धित राष्ट्रहरूको सैन्य शक्ति, जनसङ्ख्याको आकार वा आर्थिक स्थितिको परवाह नगरी अन्तर्राष्ट्रिय प्रणालीमा सबै राष्ट्रहरूको उचित स्थिति सुनिश्चित गर्न पनि आह्वान गरेका छन् ।

लाभ्रोभले पश्चिममको बल प्रयोग वा धम्कीबाट टाढा रहने सिद्धान्तलाई धेरै पटक उल्लङ्घन गरेको उल्लेख गर्दै यसले मध्य पूर्वको स्थिरतालाई झनै कमजोर पारेको बताए । द्धन्द्धको समयमा, प्यालेस्टिनीहरू विरुद्ध इजरायलद्वारा गैरकानुनी बलको प्रयोग, साथै इरान, कतार, यमन, लेबनान, सिरिया र इराकलाई लक्षित गर्ने आक्रामक उपायहरूले सम्पूर्ण क्षेत्रलाई भड्काउने खतरा खडा गरेको उनले जनाए ।

रूस–अमेरिका सम्बन्धको सन्दर्भमा, ल्याभरोभले युक्रेनी सङ्कटको व्यावहारिक समाधानका लागि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको अलास्का शिखर सम्मेलन पछि रूसको आशा मस्को र वासिङ्टन बिचको वार्ताको निरन्तरतामा निहित रहेको बताएका छन् ।

रूस र अमेरिकाले विश्वव्यापी अवस्थाप्रति विशेष जिम्मेवारी बोकेका बताउदै उनले नयाँ युद्ध निम्त्याउन सक्ने जोखिमहरूबाट बच्न आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घको सुधारको विषमा, लाभ्रोभले आजको विश्वव्यापी शक्तिको सन्तुलन ८० वर्ष अघिको भन्दा मौलिक रूपमा भिन्न रहेको कुरामा जोड दिए । उनले सुरक्षा परिषद्मा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व विस्तार गरी सबै सदस्य राष्ट्रको हितको रक्षा गर्दै पूर्ण पारदर्शिताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

 

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३९ को मृत्यु, ८५ घाइते

काठमाडौँ- भारतको तमिलनाडु राज्यस्थित करूरमा अभिनेता हुँदै नेता बनेका विजयको र्‍यालीमा मच्चिएको भगदडमा कम्तीमा ३९ जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा ९५ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

तमिलनाडुका स्वास्थ्य सचिव पी.सेन्थिल कुमारले यो जानकारी दिएका हुन्।

दुर्घटनापछि तमिलनाडुको मुख्यमन्त्री एम.के.स्टालिनले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणा गरेका छन्।

यसैबीच अभिनेता विजयले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख प्रकट गर्दै आफू गहिरो पीडामा भएको बताएका छन्।

तमिलगा वेट्री कड्गम (टीवीके) का अध्यक्षसमेत रहेका अभिनेता विजयले मृतक परिवार र घाइतेहरूका लागि सहयोग राशिको घोषणा गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समार्फत मृतकका परिवारलाई २० लाख र उपचार भइरहेका घाइतेहरूलाई २ लाख नगद सहयोग गर्ने घोषणा गरेका हुन्।
‘यति ठूलो क्षतिको तुलनामा यो राशिको कुनै अर्थ छैन। तथापि, तपाईँको परिवारको सदस्य भएको नाताले तपाईँसँग उभिनु मेरो कर्तव्य हो,’ विजयले लेखेका छन्।

तमिलनाडुका स्वास्थ्यमन्त्री सेन्थिलका अनुसार भागदौडमा १७ महिला, १३ पुरुष, ४ बालका र ५ बालिकाको ज्यान गएको छ।

घटनाको छानबिनका लागि सेवानिवृत्त उच्च अदालतकी न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा एक सदस्यीय छानबिन आयोग पनि गठन गरिएको छ।

यो घटना शनिबार साँझ विजयले करूरमा ‘तमिलगा वेत्री कडगम’ पार्टीको र्‍यालीलाई सम्बोधन गरिरहेको बेला भएको हो।

दुर्घटनापछि मुख्यमन्त्री स्टालिनले जिल्लामा ‘इमर्जेन्सी प्रोटोकल’ लागू गर्ने आदेश दिएका छन्। मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ।
घटनाप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले पीडित परिवारप्रति आफ्नो गम्भीर संवेदना रहेको बताएकी छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना प्रियजन गुमाएका परिवराहरूसँग आफ्नो समवेदना रहेको उल्लेख गरेका छन्।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सबै कांग्रेस कार्यकर्तालाई पीडित परिवारलाई सक्दो सहयोग गर्न र उपचारमा अधिकारीहरूसँग मिलेर काम गर्न अपील गरेका छन्।

कसरी भयो दुर्घटना?

समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विजयले भाषण गरिरहँदा भीड बढ्दै गएको र नियन्त्रण बाहिर पुगेको थियो। यस क्रममा धेरै जना बेहोस भई ढलेका थिए र त्यसपछि भागदौड मच्चिएको थियो।

विजयले आफ्नो भाषण रोक्दै प्रचार बसको छतबाट मानिसतर्फ पानीका बोतलहरू फ्यालेर सहयोग गर्ने प्रयास गरेका थिए। अत्यधिक भीडका कारण एम्बुलेन्सलाईलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भएको थियो।

अझै अकासियाे सुनचाँदीको मूल्य

काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ। गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा ७०० र त्यति नै तौलको चाँदी ७० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य दुई हजार ८१० रूपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बक्यौता नतिर्ने उद्योगीलाई प्राधिकरणको १७ कात्तिकसम्मको अल्टिमेटम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेर लामो समयदेखि महसुल नतिरेका उद्योगीहरूलाई आगामी १७ कात्तिकसम्म बक्यौता तिर्न अल्टिमेटम दिएको छ ।

प्राधिकरणका अनुसार ०७२ माघदेखि ०७५ वैशाखसम्म २४ सै घण्टा विद्युत उपयोगबापत ४९ उद्योगीले करिब आठ अर्ब २६ करोड रुपैयाँ तिरेका छैनन् । प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले २१ कार्य दिनभित्र बक्यौता भुक्तानी प्रक्रियामा आउनुपर्ने निर्णय गरेको हो । यस अवधिमा मासिक २८ किस्तामा तिर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तोकिएको समयमा उद्योगीहरू बक्यौता नतिरे विद्युत आपूर्ति काट्ने चेतावनी दिएका छन् । उनले यसअघि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले सुरु गरेको बक्यौता घटाउने प्रशासकीय पुनरावलोकन प्रक्रिया खारेज गरिएको समेत जानकारी दिए ।

ऊर्जामन्त्री कुलमान घिसिङले ३० भदौमा पदभार ग्रहण गर्दै डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिएका थिए । सरकारले ५ असोजमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरी सो कार्यलाई अघि बढाएको हो ।

यससँगै प्राधिकरणले अड्किएका सौर्य आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) प्रक्रियासमेत अघि बढाएको छ । हालसम्म ३५५ मेगावाट क्षमताका २४ सोलार आयोजनाको पीपीए अनुमोदनका लागि विद्युत नियमन आयोगमा पठाउने तयारी भएको छ ।

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

कञ्चनपुर: जैविक विविधता, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।

नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ, मृग र दुर्लभ वन्यजन्तुदेखि वनस्पतिसम्म पाइन्छ। प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको क्षेत्रबारे पर्याप्त जानकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक यहाँ पुग्न सकेका छैनन्।

शुक्लाफाँटा निकुञ्ज कार्यालयको तथ्याङ्कानुसार निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून छन्। कार्यालयका अनुसार आर्थिक वर्ष २०७५–७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा तीन सय आठ जना विदेशी पर्यटक र तीन सय ५० जना सार्क मुलुकका पर्यटकले भ्रमण गरेका थिए भने ११ हजार ४८० जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले कोरोना महामारीअघिसम्म शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उलेख्य रहे पनि महामारीपछि यहाँ पर्यटक आउन छाडेको बताए। ‘कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्षसम्म आन्तरिक तथा विदेशी पर्यटकले यहाँ भ्रमण गरेको पाइन्छ’, उनले भने, ‘महामारीपछि विदेशी पर्यटक त शून्यजस्तै त आन्तरिक पर्यटकको सङ्ख्यासमेत न्यून रहेको छ।’ उनले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा समेत कमी आएको बताए।

कार्यालयको तथ्याङ्कानुसार आर्व २०७६–७७ मा एक हजार ६०३ जनाले निकुञ्ज भ्रमण गरेका छन्। आव २०७७–७८ मा दुई हजार ९२७ जनाले निकुञ्ज भ्रमण गरेको देखिन्छ । त्यसैगरी, आव २०७८–७९ मा दुई हजार ५७९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। जसमा सार्क मुलुकका ४५ जना र एक सय पाँच जना विदेशीले निकुञ्ज भ्रमण गरेका छन् । आव २०७९–८० मा तीन हजार २७८ जनाले निकुञ्ज भ्रमण गरेका छन्। जसमा एक सय ५८ जना विदेशी र एक सय २१ जना सार्क मुलुकका छन्।

त्यसैगरी, आव २०८०–८१ मा तीन हजार ७६२ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका छन्। जसमा एक सय ३२ विदेशी र एक सय १२  सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेका छन्। आव २०८१/८२ मा तीन हजार ३७१ जनाले निकुञ्ज भ्रमण गरेका छन्। जसमा एक सय ९९ विदेशी र एक सय ५२ सार्क मुलुकका पर्यटक छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण रहे पनि विभिन्न समस्याका कारण यहाँ उलेख्य रूपमा पर्यटक आउन नसकेको वाग्लेको भनाइ छ। ‘पर्यटकीय पूर्वाधारमा कमी, नेपाल–भारत सीमामा पर्यटकका लागि असहजता र प्रचारप्रसारको अभावले यहाँ पर्यटक बढ्न सकेका छैनन्’, उनी भन्छन्, ‘यहाँ पर्यटकका लागि सुविधा पनि सीमित मात्रामा छन्, जङ्गल सफारीबाहेक अन्य गतिविधि नहुँदा पनि यहाँ पर्यटकको सङ्ख्यामा कमी आएको हो।’ उनले यहाँ निजी क्षेत्रबाट समेत लगानी हुन नसकेको बताए।

नजिकै रहेको गड्डाचौकी नाकाबाट नेपाल आएका विदेशी पर्यटकसमेत यहाँ बस्दैनन्। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढे पनि यो नाकाबाट आउने पर्यटक पनि अन्यत्र जाने गरेका छन्। अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले गड्डाचौकी नाकाबाट आउने ८० प्रतिशत विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने गरेको बताए। ‘यो नाका भएर आएका विदेशी पर्यटक पनि बर्दिया, चितवनका पर्यटकीय गन्तव्यमा जाने गरेका छन्’, उनले भने, ‘यहाँको शुक्लाफाँटा वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध भए पनि प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।’

अध्यागमन कार्यालयका अनुसार २०२३ मा गड्डाचौकी नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन्। सन् २०२५ को हालसम्म एक हजार १४८ विदेशी पर्यटक नेपाल आएका छन्। सरकारको प्राथमिकतामा नपर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार हुन नसकेको यहाँका स्थानीय व्यवसायी बताउँछन्।

‘यहाँ पर्यटनका थुप्रै सम्भावना भए पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन’, स्थानीय जगदीश भट्टले भने, ‘शुक्लाफाँटा पर्यटकका लागि उत्तम गन्तव्य हो, यसको प्रचारप्रसार र पर्यटनका पूर्वाधार विकास गर्नु जरुरी छ।’ शान्त वातावरण, ठूलो घाँसेमैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने भए पनि यहाँ पर्यटकका लागि पूर्वाधार निमार्ण नहुँदा यहाँसम्म पर्यटक पुग्न नसकेको पर्यटन व्यवसायीहरू बताउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ। वन्यजन्तुमात्र नभई दुर्लभ वनस्पतिको लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ। निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, एक सय ११ प्रजातिका पुतली, चार सय ६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन्। जसमा पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन्। तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ। निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन्।

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

कञ्चनपुरः दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।

योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ। दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ। बेदकोट नगरपालिका–९ लालपुरमा थारू समुदायका सबैजसो साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन्। त्यहाँ प्रत्येक साँझ सखिया नाचिन्छ। साँझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्ने गरिएको स्थानीय सीता चौधरीले बताइन्।

‘सुरुको दिन सबै देवीदेवताको नाम लिएर सखिया नाच सुरु हुन्छ’, चौधरीले भनिन्, ‘हाम्रो समुदायमा दसैँको बेला हरेक वर्ष सखिया नाचिन्छ। सखिया नाचमा महाभारतको इतिहास हुन्छ। यसले हाम्रो मौलिकता र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ।’ यो नाचमा परिवारका एक जना पुरुष र महिला अनिवार्य उपस्थिति हुनुपर्ने बताउँदै उनले हरेरी पूजादेखि गाउँमा सखिया नाच सुरु हुने जानकारी दिइन्।

पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया नाच्ने गरे पनि यो नाच छोट्टिँदै जाँदा लोप हुने जोखिम बढेको स्थानीय बुद्धिनी डगौराले बताए। ‘अहिले दश दिन मात्रै सखिया नाचिन्छ, पहिलेका पुस्ताले एक महिनाअघिदेखि सखिया नाच्न सुरु गर्थे’, उनले भने, ‘अहिले अधिकांश मानिस व्यापार, व्यवसाय, रोजगारीमा व्यस्त हुन थालेका छन्। रोजगारी र शिक्षाका लागि बाहिर जाने गरेकाले संस्कृति पुस्तान्तरण हुन सकेको छैन।’ थारू समुदायमा दसैँमा सखिया नाचको विशेष महत्त्व हुने उनको भनाइ छ।

सखिया नाच सुरु भएपछि मात्रै थारू बस्तीमा दसैँ आएको आभास हुन्छ। थारू भाषामा सखीको अर्थ साथीसँगी हुन्छ,  गाउँका सबै साथीसँगी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको संस्कृतिका जानकार धिरेन्द्र चौधरीले बताए। ‘सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइन्छ’, उनले भने, ‘यसले समुदायको पहिचान र मौलिकता जोगाएको छ।’ सखियाले थारू समुदायलाई एकताबद्ध गर्न सहयोग पु¥याएको उनले बताए।

चौधरीका अनुसार नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङ्गको धोती र रुचिअनुसारको कमिज लगाउने गर्छन्। ‘गीत नसकिएसम्म नाच सकिँदैन, यो धेरै लामो हुन्छ’, उनले भने, ‘गीत गाउने चलन पछि छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन।’

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको संस्कृतिका जानकार चौधरीले जानकारी दिए। आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी हुनुपर्नेमा उनले जोड दिए। ‘आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ’, उनले भने, ‘अन्य समुदायको भन्दा हाम्रो समुदायमा दसैँ पृथक रूपमा मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारू समुदायले नवमीदेखि जमरा लगाउने गर्दछन्।’

थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने स्थानीय निशा चौधरीले बताइन्। सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि नाच्ने प्रचलन रहेको उनको भनाइ छ। दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ।

के अव देश बन्छ ?

जेन जी आन्दोलनपछि आम नेपालीको मनमा एउटै जिज्ञासा छ, के अव देश बन्छ ?

निराशावादी मान्छेहरु भन्छन्, देश सकियो । बर्बाद भयो । अव देश बन्दैन ।

आशावादीहरु भन्छन्, अव देश बन्छ ।

देश बन्छ, बन्दैन ? यो मूल प्रश्न होईन् । देश बन्नु पर्छ । बरु बनाउने चाही कसरी ? यो मूल प्रश्न हो ।
चर्चा गरौ जेन जी आन्दोलनबाट,

बहुमतका नाममा देश र जनतालाई बन्धक बनाएका दलहरुप्रतिको आक्रोश जेन जीमार्फत सडकमा मुखरित भयो । त्यसपछि के भयो भनि  रहनु परेन ।

सपना जस्ता लाग्ने ती दुई दिन । यो के भयो ? पत्यार लाग्नै कठिन । नेताहरु राजनैतिक परिदृष्यबाट एकाएक गायव भए । तिलिस्मी कथा झै । न कोही रह्यो । न केही रह्यो ।

शासकहरुले युवाको भावना बुझ्नै सकेनन् । सामाजिक सञ्जालका प्लेट फर्महरुमाथि रोक लगाउनु सरकारको ठूलो गल्ती थियो । सरकारको त्यही गल्तीमा जेन जीभित्रको उकुस मुकुस विष्फोट भएको हो । सरकारमा बस्नेहरुले न यसको अनुमान गर्न सके । न त यति भयानक परिणाम आउला भनेर सोच्नै सके । बेथिति, भ्रष्टाचार, कुशासनबाट आजित भएका जेन जी पुस्तासंग दुई वटा बिकल्प थिए । पहिलो चुपचाप देशबाट पलायन हुने । दोस्रो, विद्रोह गर्ने । उनीहरुले दोस्रो बिकल्प रोजे । त्यसैको परिणाम अहिलेको अवस्था ।

हो, जेन–जी आँधीले २४ घण्टाभित्र धेरै चिज नामेट गरिदियो । त्यो आँधीले ढलाएका नेता र ऐतिहासिक धरोहर अव सायदै उठ्ने छन् ।

नेताहरु उठ्ने छैनन, यो पक्का हो । तर ऐतिहासिक धरोहरसंगै देश उठाउनै पर्ने दायित्व छ, जेन जी पुस्तामा ।

यो हुनै पर्ने थियो, पुराना नेताहरु सत्ता आफै छोड्ने पक्षमा थिएनन् । यो आन्दोलनले हिजोको बिकृत राजनीतिलाई पखालिदिएको छ । भोलिलाई आशावादी बनाएको छ । यद्यपि आन्दोलनका क्रममा भएका व्यक्तिगत र सरकारी सम्पत्तीमाथिको लुटपाट र आगजनीका घट्नाले निजी क्षेत्रको आत्मविश्वास भने डगमगाएको छ । त्यो आत्मविश्वासलाई पुनर्जीवित गर्ने दायित्व सरकारको हो । जेन जीको हो ।

७४ जनाको ज्यान लिएको जेन जीको यस्तो आन्दोलन न हिजो भयो, न भोलि हुनेछ । घाईतेहरुको हिसावै छैन् । कतिको अंगभग भयो ? कति अझै मृत्यु शैयामा छन् । प्रियजनको मृत्यु कति पीडादायी हुन्छ । त्यो भोग्नेलाई थाह हुन्छ । शहीद भन्ने र बनाउने कुरा सुन्दा प्रियकर लाग्न सक्छ । तर त्यही उपमाले मृतकका परिवारजनका पीडा कम हुने अवस्था छैन् ।

निहत्था जेन–जीमाथि गोली हान्नेहरु सजायको भागीदार छन् । उनीहरु उम्किन पाउनु हुदैन् । तर जेन जीको आन्दोलनमा घुसपैठ गरेर आफ्नो राजनैतिक र व्यक्तिगत प्रतिशोध साध्दै व्यक्तिको निजी सम्पत्ती र व्यवसायीक प्रतिष्ठानमा लुटपाट र आगजनी गर्नेहरुमाथि कारवाही गर्न सरकार हिच्किच्यायो भने व्यवसायीसंगै पूँजी पलायनले भयावह रुप लिनेछ ।

यस्तो नहोस कि, जेन–जी देशबाटै पलायन हुन् । र, यी पुराना नेताहरु सत्ताको बागडोर सम्हाली राखुन ।

जेन जीको आँधीले सत्ता, शक्ति र बैभव गुमाएका दल र तिनका नेताहरु सच्चिन तयार देखिदैनन् । केहीदिन रक्षात्मक भएका उनीहरु फेरि सल्बलाएका छन् । सुध्रिन, सच्चिन र बिगतमा भएका कमीकमजोरीको आत्मालोचना गर्न उनीहरु अझै तयार देखिदैनन् । जेन–जीको आन्दोलनमा अझै विदेशी शक्तिको षडयन्त्र देखिरहेका उनीहरु सत्ता किन गुमाउनु प¥यो, त्यसको समीक्षा गर्न तयार छैनन् ।

सत्तारुढ काँग्रेस र एमाले प्रति जेन जीको आक्रोश जायज थियो । तर जेन जीको आन्दोलनमा घुसेर देशका महत्वपूर्ण संरचना र व्यक्तिका निजी सम्पत्ती ध्वंस गर्ने कार्यमा कहाँ कुन दलको संलग्नता थियो प्रष्ट भईसकेको छ ।

भैसीलाई तह लगाउन खोज्दा घोडा तवेलामा बाँधिनु परेको कथा नेपालका दलहरुसंग मेल खान्छ । काँग्रेस र एमालेलाई सक्न जेन जीको आन्दोलनमा घुसेर बितण्डा मच्चाएका दलहरु पनि सकिएका छन् ।

जेन जीको आन्दोलनको बलमा गठित सरकारको असफलता कुरेर बसेका दलहरुलाई लाग्छ, यिनीहरु असफल भए, पालो हाम्रै आउने हो । समय कति निर्मम छ, त्यही आन्दोलन हेरे पुग्थ्यो । हेर्दैनन् ।

एउटा कुरा पक्का छ, कथम कदाचित यो सरकार असफल भएको खण्डमा पुराना दलहरुको यही नीति र बेहोराले सत्तामा पुनरागमन संभव छैन् । बरु अरु नयाँ दलहरुको उदय हुनेछ ।

नेताहरुको रवैयाले अझै भनिरहेको छ, हम तो सुध्रेंगे नही । केही समय त चुप लाग्नु नि । भर्खरै बनेको सरकारका विषयमा टिकाटिप्पणी गर्नुभन्दा केही समय पर्खेर हेर्नु नि ।

हिन्दीमा यस्तैलाई भन्छन्, आदत से मजबुर ।

दलहरुले जेन जीको आन्दोलनको बलमा निर्मित सरकारलाई निर्वाध रुपमा काम गर्न दिनु बुद्धिमानी हुनेछ ।

दलहरुलाई जेन जी आन्दोलनको सन्देश हो, कि सुध्रिन तयार होउ । अन्यथा सकिन तयार होउ । बचेखुचेको जीवन, बैभव र शक्ति देशहीतमा सदुपयोग गर । त्यसको दुरुपयोग नगर ।

सुनिश्चित गर उद्योगी व्यवसायीको सुरक्षा र सम्मान

मीन बहादुर गुरुङ, बिनोद चौधरी, चन्द्र ढकाल, शेखर गोल्छा, पशुपती मुरारका, सुरज बैद्यहरु समृद्धिका संवाहक हुन् । उनीहरु यो देशको विकासको बाधक होईनन् । उनीहरुको सम्पत्ती लुटपाट र आगजनी गरेर देश समृद्ध हुदैन । उनीहरुको अवसानमा आफ्नो उत्थान देख्नेहरुले बुझुन, पालो सबैको आउछ ।

देशको मुख्य समस्या बेरोजगारी हो । गरीवी हो । अभाव हो । ठूला उद्योगपतिलाई लखेटेर यी समस्या समाधान हुदैनन् । रोजगारी सृजना गर्ने उद्योग र व्यवसायीक प्रतिष्ठान जलाएर देशको गरीवी अन्त्य हुदैन् ।

राजनीतिसंग कुनै साईनो नभएका आफ्नै बलबुतामा उठेका र उठ्ने कोसिस गरिरहेका तमाम स्वरोजगार र उद्यमशील युवाहरुको जायजेथा र वर्षौको लगानी निमेषमै नष्ट पारियो ।

प्रदर्शनकारीहरुले सुर्खेतमा डाक्टर डम्बर खड्काको घर जलाए । बत्तिसपुतलीमा उद्घाटन हुन नपाउदै एक करोड ६० लाखको लगानीमा खुलेको ग्यालरी कफि शप आगजनीको शिकार भयो । अनाहक र अकारण त्यस्ता दर्जनौ साना व्यवसायीहरु फेरि उठ्नै नसक्ने गरी आन्दोलनको शिकार भए । विदेशबाट फर्केर आफ्नै देशमा उद्यम गरिरहेकाहरु हताश र निराश भएका छन् ।

व्यवसायी उपेन्द्र महतोको घरमा लुटपाट र आगजनी गरियो । प्रचार गरियो, नेता उपेन्द्र यादवको घर जलाईयो । सन्तान सहित विदेशबाट फर्किएका महतोले स्वदेशमा लगानी गरे । यतिबेला उनको मनोदशा कस्तो होला ? हामी अनुमान पनि गर्न सक्दैनौ ।

अर्थमन्त्री बिष्णु पौडेलका नाममा ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन कुटिए । उनी भाग्यले बाँचे ।

जे सुकै नाममा आन्दोलन होस । भाटभटेनी पहिलो शिकार हुन्छ । यसपटक अरु पनि शिकार   भए ।

आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा तोडफोड, आगजनी र लुटपाट भयो । चन्द्रागिरी केबलकार, भाटभटेनी सुपरमार्केट स्टोर, आधा दर्जन बढि गाडीका केही शोरुम, बैंकका शाखा कार्यालय, मौलाकालिका केबलकार, सीजी डिजिटल, होटल हिल्टन, एनसेल, हयात रिजेन्सी होटल लगायत दर्जनौ व्यवसायीक प्रतिष्ठानमा आगजनी र लुटपाट भएको छ । जसका कारण १५ हजारभन्दा बढिको रोजगारी प्रभावित भएको छ ।

देशले व्यहोरेको आर्थिक क्षति

सिंह दरवार, सर्वोच्च अदालत, संसद भवन, मन्त्रालयहरु सांसद आवास लगायतका देशका ऐतिहासिक संरचनाहरु खरानी भएका छन् । प्रदेश सरकारका संरचनाहरु पनि नष्ट भएका छन् । झण्डै तीन सय पालिकामा तोडफोड र आगजनी भएको छ । सरकारी संरचनामा लगाईएको आगोले खर्बौ रुपैयाको क्षति भएको छ । यो क्षतिको भर्पाई तत्काल संभव छैन् । न त पुनःनिर्माण संभव छ ।

हजारौको संख्या सरकारी र व्यक्तिगत सवारी साधनहरु जलाईएका छन् । देशभरी पार्टीका नेता र सर्वसाधारणका घर र व्यवसाय जलाएर नष्ट गरिएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनका कारण निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी करिब ३० अर्ब पुगेकोे छ । यो रकम ४० अर्व पुग्ने अनुमान गरिएको छ । खर्बौको क्षति भएको सरकारी सम्पत्तीको बीमा छैन ।

जेन–जी आन्दोलनबाट पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको छ । होटलहरु गुल्जार हुने समयमा सुनसान छन् । आगजनीबाट नष्ट भएका होटलको पुननिर्माण तत्काल संभव देखिदैन् । आगजनीबाट जोगिएका होटलहरु पनि पर्यटकको अभावमा सुनसान छन् । यस्तै स्थिति रहिरहे आन्दोलनमा जोगिएका होटलहरु पनि लिलाम हुने अवस्थाले पर्यटन व्यवसायीहरु चिन्तित छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रारम्भिक अध्ययन अनुसार आगजनी र लुटपाटबाट निजी क्षेत्रले ८० अर्वको नोक्सानी बेहोरेको छ । क्षतिको यो परिणाम दुई खर्ब पुग्ने आंकलन गरिएको छ ।

सरकार सञ्चालनका लागि पूँजी आवश्यक पर्छ । निजी क्षेत्रको सम्बद्र्धन र संरक्षणले मात्र पूँजी निर्माण हुन्छ । यो सत्यलाई सरकारले नजरअन्दाज गर्ने छैन ।

साउन र भदौमा लक्ष्यभन्दा ६० अर्व राजस्व कम संकलन भएको छ । हुन त राजस्व संकलनमा भएको यो गिरावटसंग जेन जी आन्दोलनको कुनै सम्बन्ध छैन् । तर यही अनुपातमा राजस्व संकलनमा कमि हुदै जाने हो बजेट निर्माण प्रकृया प्रभावित हुनेछ ।

लुटिएका हतियार, भागेका कैदी, त्रस्त समाज

जेन–जी आन्दोलनपछि भड्किएको हिंसामा प्रहरीका ११ सय नाल हतियार लुटिए । ४ सय ५५ ब्यारेक र कार्यालयमा आगजनी भयो ।

कारागारबाट भागेका १४ हजारभन्दा बढि कैदीबन्दी भागे । फर्किएका र पक्राउ परेकाको संख्या ८ हजार मात्र छ । सुरक्षाकर्मीबाट लुटिएका ११ सयभन्दा बढि हतियार, कारागारबाट भागेका ६ हजारभन्दा बढि कैदीका कारण समाज त्रस्त छ ।

निजी क्षेत्रमाथि भएको आगजनी र लुटपाटका घट्नाले एकातिर देशभित्रै रोजगारीका अवसर गुमेका छन् । अर्कोतिर युएई, मलेशिया र साउदी अरवले श्रमिक भीसा बन्द गरेको छ । अपराधिक र हिंसात्मक गतिबिधिमा संलग्नहरु आफ्नो देश भित्रिन नपाउन भनेर ती देशहरुले भीसामा कडाई गरेको बताईन्छ ।

देशमा अवसर नभएकोमा निराश त्यही जेन जी पुस्ता हो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको बन्देजको बहानामा उसको त्यही निराशा बिष्फोट भएको हो । तर आन्दोलनपछि भविश्य अन्धकार भएको भन्दै पलायनका लागि यही पुस्ताले खुटटा उचालेको छ ।

सरकारले बेलैमा जेन जीको मुद्दा र भावनालाई सम्बोधन नगरे अर्को भयानक दुर्घटना नहोला भन्न सकिन्न ।

त्योसंगै जेन जी आन्दोलनका क्रममा मारिएका परिवारलाई क्षतिपूर्ति, सम्मान दिनु राज्यको दायित्व हो । गोली चलाउन आदेश दिनेहरुलाई दण्डित गरे मात्र उनीहरुमाथि न्याय हुनेछ ।

निजी क्षेत्र र व्यक्तिगत सम्पत्ती लुटपाट र आगजनी गर्नेहरुलाई कानुनी दायरामा ल्याउन ढिलाई गर्नु हुदैन ।

नेताहरुका घरमा रुपैयाको चाङका तस्बिरहरु सार्वजनिक भएका छन् । वास्तविकता के हो ? छानबिन गरी त्यस्ता नेतालाई कारवाहीको दायरामा ल्याउन सरकार पछि हट्नु हुदैन ।

मिसईन्फरमेशन र डिसईन्फरेशनले निम्त्याएको भयावह परिणाम

न कुनै प्रमाण । न कुनै आधार । हिजो मिडियाले कुनै अमूक संस्था र व्यक्तिका विरुद्ध गरेका रिपोर्टिङका कारण थुप्रै व्यवसायीक प्रतिष्ठान र व्यक्तिगत सम्पत्तीमा आगजनी भयो । त्यसका पछाडि उनीहरुको के स्वार्थ थियो, कसैले सोधीखोजी गरेन ।

पत्रकार र सूचना संवाहकहरुले फैलाएको मिसईन्फरमेशन र डिसईन्फरमेशनले आन्दोलनको आगोमा घ्यू थप्ने काम ग¥यो । अझै पनि उनीहरु चेताएका छैनन् ।

मन्त्रीको शयनकक्षमा घुसेर युटयुवेहरुले पलङको रिपोर्टिङ गरिरहेका छन्, भ्यूजका लागि कुदिरहेका उनीहरुलाई एजेण्डा र भिजनको चर्चा गर्ने फुर्सद कहाँ ?

देश कसरी बनाउने ? के कस्ता खाका छन् ? मूल प्रश्न यी हुनु पर्ने हो । खाना कसले पकाउछ ? युट्युबेहरुका यस्ता उदेक लाग्दा प्रश्न गरिरहेका छन् ।

नेता सुध्रिनु पर्ने । अरु कोही सुध्रिनु नपर्ने । नेता चाही ईमान्दार चाहिने । तर आफू चाही भाटभटेनी र व्यक्तिका निजी सम्पत्ती लुटपाट र आगजनी गर्ने । के नागरिकको यही बेहोराले देश बन्छ ?

विध्वंसलाई मान्यता दिने कार्यले देशको समृद्धि किमार्थ हुदैन । आफन्त, छिमेकी र समाज मर्दा पर्दा चाहिन्छ ।

सबैले आत्मसमीक्षा र आत्मालोचना गर्न जरुरी छ । सुध्रिन पर्ने नेताहरु मात्र होईन, व्यापारी पत्रकार र पेशाकर्मी पनि सुध्रिनु पर्छ । हुन त यी सबै जनता नै हुन् । अझ सर्वसाधारण जनता सुध्रिन त झनै आवश्यक छ । नेता चाही ईमान्दार चाहिने । अनि आफू चाही मौका मिले अर्काको घर र सम्पत्ती लुट्ने । अझ रक्सी र पैसामा बिकेर चुनावमा भ्रष्ट नेतालाई जिताउने ।

भाटभटेनी, हिल्टन र युलेन्स लगायतका दर्जनौ व्यापारिक प्रतिष्ठान र संस्थाहरु दुस्प्रचारको शिकार भए । भीडमा कसैले उक्साएको भरमा निमेषमै खर्वौ रुपैयाको लगानी खरानी भयो ।

न तथ्यको खोजी कसैले गरे । न त ती संस्थाहरु धराशायी हुदा कोही बोले ।

सामाजिक सञ्जालको नियमन

सामाजिक सञ्जालका प्लेटफर्ममाथि सरकारले बन्देज लगाएको बिरोधमा शुरु भएको आन्दोलनपछि ती सञ्जालमाथिको बन्देज त फुकुवा भयो । तर सत्य लेख्ने आट कसैमा छैन् । आफ्नो पहिचान खुलाएर सामाजिक सञ्जालमा गलत कुराको आलोचना गर्न सक्ने अवस्थामा कोही छैनन् ।

एकथरी प्रयोगकर्ताहरु छन्, जो सामाजिक सञ्जालमा तथानाम लेखिरहेका छन् । ठूलोसंख्यामा प्रयोगकर्ताहरु मौनता साँधेर बसेका छन् । उनीहरुले लेख्न र बोल्न डराईरहेका छन् । कही लेखेकै कारण क्षति व्यहोर्नुपर्ने त होईन भन्ने डर पैदा भएको छ ।

सामाजिक सञ्जाल प्रयोग गर्न पाउनुपर्छ भनेर लडेकाहरु नै यतिबेला त्यही प्लेटफर्ममा लेख्न र बोल्न पनि डराईरहेका छन् ।

सामाजिक सञ्जाललाई नियमन र कानुनी दायरामा ल्याउन नसके, त्यसको शिकार अहिले सरकारको नेतृत्व गर्नेहरु हुने निश्चित छ । प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र जेन जी अगुवा सुधन गुरुङका विरुद्ध भईरहेको दुस्प्रचारले त्यसको संकेत गरिसकेको छ ।

आफूलाई लखेटिरहेको सामाजिक सञ्जाललाई सरकारले अव नियमन गर्छ वा यस्तै छोडिदिन्छ । त्यो भने हेर्न बाँकी छ ।

त्यो आगो पैचो मागेर हुर्किएको समाज, यो आगो झोस्ने छिमेकी

छिमेकी किन चाहिन्छ ? आगो पैचो लिएर हुर्किएका हौ, हामी । मर्दा मलामी चाहिने भएरै समाजमा बसेका हौ । डाह बोकेर बाँचेको छिमेकी अचेल आगो पैचो माग्दैन् । मौकाको खोजीमा रहेको उ हुल बाँधेर आगो झोस्न आउछ ।

यस पटक जेन जीको आन्दोलनले छिमेकीको मनोविज्ञान छरपष्ट पारिदियो । तपाईले कसैको बिगार गर्नुहोस वा नगर्नुहोस, तपाईको प्रगती र बैभवमा छिमेकी र आफन्तहरु सन्तुष्ट छैनन् ।
समाजमा तपाईले पु¥याएको योगदान कसैले सम्झिने वाला छैनन् ।

कुनै व्यक्तिले जिन्दगीभरी मिहिनेत गरेर कमाएको पैसामा ऋण थपेर एउटा घर बनाउछ । त्यही घरमा बैरीको आँखा पर्छ । आन्दोलनसंग सम्बन्ध र साईनो नभएका व्यक्तिहरुको घर तिनै बैरीले यस्तै मौका छोपेर डढाएर खरानी बनाउछन् । यस पटक यही भयो ।

आफू प्रगती कसरी गर्ने ? त्यसमा कसैको ध्यान छैन् । प्रगती गरेका अरुलाई कसरी सिध्याउने समाजमा त्यस्तो तानाबाना बुन्नेहरुको संख्या बढ्दै गएको त होईन ?

नेपाली समाज यतिबिघ्न परपीडक कसरी हुन गयो ? सृजनशील, प्रेरक र सकारात्मक सन्देश प्रवाह हुनु पर्ने सामाजिक सञ्जाल रीस, कुण्ठा, घृणा, आक्रोश पोख्ने प्लेटफर्म किन बन्यो ? समाजका लागि यो घातक कुरा हो ।

आगो लगाउने कुरालाई हामीले धेरै ग्लोरीफाई त गरेनौ ?

परिवर्तनलाई संस्थागत गर्न संविधान संशोधन

अहिलेको परिवर्तनलाई संस्थागत गर्न संविधान संशोधन जरुरी छ । त्यसका लागि कि जनमत संग्रह । कि अव हुने निर्वाचनमा परिवर्तनकारी शक्तिहरुको दुई तिहाई बहुमत आवश्यक छ ।

तव मात्र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, राष्ट्रिय सभा र प्रदेश संरचनाको खारेजी, शक्तिशाली भ्रष्टाचार निवारण आयोग निर्माण गर्न सकिनेछ ।

त्यसका लागि जुन सुकै दलमा रहेका परिवर्तनकारी युवाहरु एक ठाउँमा उभिन जरुरी छ ।

संभव छ खरानीबाट पुन:निर्माण

एक गजलकारले ईराक घट्नापछि भनेका थिए,

फिरंगीले आँखाले के सन्काई दिएका थिए
आफ्नै शहर लुट्न पुरा बग्दाद निक्ल्यो

काठमाण्डौं र देशका विभिन्न शहरमा भएको लुटपाटले त्यही भन्थ्यो ।

आगजनी र लुटपाटको शिकार भएका उद्योगी,व्यवसायीहरुले हामी फेरि उठ्छौ भनेर सामाजिक सञ्जालमा भनिरहदा उनीहरुको अनुहारको भाव सहजै पढ्न सकिन्छ । भित्रबाट टुटिसकेका र आत्मविश्वास गुमाईसकेका उनीहरुले यो कुरा भन्नलाई भनेका हुन् । न त उनीहरु उठ्छन् न त यो समाजले उनीहरुलाई फेरि उठ्न दिन्छ । न उनीहरु अव व्यापार व्यवसाय फैलाउने मनिस्थितिमा देखिन्छन् ।

मीन बहादुर गुरुङहरुमाथिको पटक पटकको आक्रमणले यही संकेत गर्छ । भीडको सन्देश हो, तिमी जति पटक उठ्छौ, त्यति नै पटक हामी तिमीलाई जलाउछौ ।

आफ्नै देशमा लगानी गर्नु, रोजगारीका अवसर सृजना गर्नु व्यवसायीहरुका लागि अपराध भएको छ ।

अमेरिका, युरोप, अफ्रिका, खाडीमा श्रम गरेर नेपालमा घरसम्पत्ती ठड्याउै आएकाहरुलाई डर छ, देश जलाउने त्यो आगोले आफ्नो घर डढाउने हो ।

यति भनिरहदा, देश सक्कियो, बर्बाद भयो, अव उठ्दैन भन्न खोजेको होईन । यो सत्य हो । यो सत्यलाई स्वीकार गरेर सरकार र स्वयम जेन जी पुस्ताले आम नागरिकसंगै व्यवसायीको भौतिक र लगानीको सुरक्षाको वातावरण बनाउन ढिलाई गर्न हुदैन भन्ने आग्रह हो ।

जेन जीको आन्दोलनपछि देश बर्बाद भयो, अव बस्न लायक रहेन भन्ने भाष्य निर्माण गरिदैछ । हिजो जेन जी पुस्ता प्लस टु नसक्दै पढाईका लागि विदेशका कलेजहरुको छनौटमा जुट्थ्यो । आफ्ना सन्तान विदेश नगईदिए हुन्थ्यो भन्ने सोच्ने अभिभावकहरु नै यतिबेला चुपचाप पलायन हुने मुडमा देखिन्छन् ।

देश खरानी भयो । केही बाँकी रहेन । न उद्योगधन्दा । न व्यवसाय । न सपना । धेरैको बुझाई यही छ ।

तर बुझ्नु पर्ने के हो, खरानीबाट पुनःनिर्माण भएका संसारमा थुप्रै देशहरु छन् । बस्, नेतृत्वमा ईच्छाशक्ति र ईमान्दारिता अपरिहार्य छ ।

कतिपयले भन्छन्, रुवाण्डा उठ्यो, हामी किन उठ्न सक्दैनौ ?

तर रुवाण्डा झै उठ्न सत्तामा बस्नेहरु पाउल कागामे झै ईमान्दार र उदार हुन जरुरी छ । घृणा, बद्ला र निषेधको राजनीति त्याग्न जरुरी छ ।

सन १९९४ मा १०० दिनमा झण्डै १० लाख नागरिक मारिएको रुवाण्डालाई कागामेको शान्ति, मेलमिलाप र विकासको नीतिले अहिलेको अवस्थामा ल्याईपु¥याएको तथ्य विर्सन हुदैन् । उनले सबैभन्दा पहिले जातीय परिचय हटाए । जुन नरसंहारको मूल जड थियो ।

प्रतिशोध कि सहकार्य ? प्रतिशोध, घृणा र बदलाबाट होईन । कागामेको सहअस्तित्व र सहकार्यको नीतिबाट रुवाण्डा समृद्ध भएको हो ।

हो, खरानीबाट पुनःनिर्माण संभव छ । त्यो बाहेक अरु बिकल्प पनि त छैन् ।

सुदूरपश्चिमका भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रबद्र्धन गर्न प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध छ : उपकुलपति डा. टी एन जोशी

धनगढी १२ असोज । सुदूरपश्चिमका सबै भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला,    नाट्यकला, संगीतको संरक्षण, सम्बद्र्धन र विकास सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान प्रतिबद्ध रहेको  उपकुलपति डा. टी.एन जोशीले बताएका छन् ।

उपकुलपति डा. जोशीले पश्चिम टुडे संग कुरा गर्दै सुदूरपश्चिमका सबै भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, संगीतको संरक्षण, सम्बद्र्धन र विकास गर्नका निम्ति सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको स्थापन गरिएको कुरा बताए ।


उनले प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति दर्शन तथा सामाजिक शास्त्रको अनुसन्धान एवं मौलिका सृजनाका माध्यमद्वारा समाजोपयोगी कृतिहरु तयार गरी प्रकाशित तथा विमोचन गर्नुका साथै यस क्षेत्रका विद्वान तथा प्रतिभाहरुको कदर गर्दै सम्मान गरिएको जानकारी दिए ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा सुदूरपश्चिममा लोपोन्मुख राउटे र राजी जातिको सामाजिक र सांस्कृतिक अध्ययन गराएर प्रतिष्ठानले खोजमूलक कृति, सुदूरपश्चिममा रही छन्दमा कलम चलाउने कविहरूका उत्कृष्ट कविता छनौट गरी छन्द सागर कृति, लोकसंस्कृति र लोककथा, अनुसन्धानमूलक ग्रन्थ सगुन र सुदूरपश्चिमको संस्कृति सङ्ग्रह प्रकाशन गरेको छ ।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले चाँडै सुदूरपश्चिमका स्रष्टाहरूको परिचय कोष र डोटी राज्यको इतिहास पनि प्रकाशन गर्न लागेको उपकुलपति जोशीले बताए।
न्युन बजेट र जनशक्तिको अभाबका बिच सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक र सांस्कृतिक कर्ममा आफूलाई निरन्तर अगाडि बढाएको छ।

#कैलाली जनपुस्तकालयको दुई कार्यकालमा उत्कृष्ट नेतृत्व  
नेपालकै सबैभन्दा पुरानो वि.सं २०१४ सालमा स्थापना भएको सुदूरपश्चिमकै प्रमुख सार्वजनिक पुस्तकालय कैलाली जनपुस्तकालयमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन जोशीले आफ्नो दुई कार्यकाल ऐतिहासिक रुपमा काम गर्दै विदा भएका छन् ।

डा. जोशीको नेतृत्वमा झण्डै डेढ करोडको लागतमा तीन तले स्मार्ट लाइब्रेरी भवन निर्माण भएको छ भने झण्डै चालिस लाखको लागतमा अत्याधुनिक सभाकक्ष निर्माण भइ सञ्चालनमा रहेको छ ।
डा.जोशीको सफल नेतृत्वले पुस्तकालयलाई राष्ट्रिय उचाइमा पुर्याउन सफल भएको छ। उनको कार्यकालमा १८ ओटा राष्ट्रियस्तरका साहित्यिक/सामाजिक पुरस्कार स्थापना भएका छन् भने हाल आम्दानीको स्रोत मासिक झण्डै तीन लाख पुगेको छ । आजीवन सदस्यको संख्या आठ सय बीस पुगेको छ।

कैलाली जनपुस्तकालयको वर्तमान  स्वरूप निर्माणमा डा. जोशीको अतुलनीय योगदान रहेको साहित्यकर्मी, लेखक, संस्कृतिविद्हरु बताउँछन्। डा. जोशीले समाजका लागि गरेको प्रशंसनीय कार्यको सबैले प्रशंसा गरेका छन्।
यस अघि, कैलाली जनपुस्तकालयको ४८ औं साधारण सभा तथा चुनाबी अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्ष पदमा शिवराज ओझाले नयाँ नेतृत्व पाएका छन् ।

पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका ओलीको उस्तै दम्भ

काठमाडौं १२ असोज । जेन–जी आन्दोलनले सत्ताच्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आमयुवाले दिएको ठुलो राजनीतिक झड्कापछि पनि उस्तै दम्भ देखाएका छन् । जेन–जी आन्दोलनकै क्रममा २४ भदौमा राजीनामा दिएर सेनाको सुरक्षामा बसेका ओलीले सैनिक ब्यारेकबाट निस्किएको १० दिनपछि शनिबार दिएको सार्वजनिक अभिव्यक्तिमा पनि पुरानै दम्भ दोहो¥याएका हुन् ।

युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैँको अवसरमा खुला भेटघाट’ कार्यक्रममा ओलीले वर्तमान सरकारले राजनीतिक कनेक्सनका कारण रोकिएका भ्रष्टाचारका सबै फाइल अगाडि बढाउने घोषणा गरेकोप्रति असन्तुष्टि जनाए । नेताका पासपोर्ट रोक्ने सरकारको तयारीको पनि विरोध गर्दै छिट्टै देश आफूहरूले नै चलाउने भन्दै चेतावनीसमेत दिए ।

‘भ्रष्टाचार ग¥यो भनेर हल्ला चलाएर हुँदैन, कहाँ भ्रष्टाचार ग¥यो, केमा कमिसन खायो, केमा घुस खायो ? त्यस प्रकारका अफवाह चलाएर हुँदैन । सरकारले विभिन्न प्रकारका हल्ला चलाइरहेको मैले सुनिरहेको छु । पासपोर्ट रोक्ने ? के ठानेको छ ?’ ओलीले भने, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु । के ठानेको छ । यो हा–हुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेको ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि यो देशलाई हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ, सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था कायम गर्छौँ ।’

उनले भ्रष्टाचार छानबिन गर्न र आफू प्रधानमन्त्रीमा रहँदा दिइएका सबैखालका निर्देशन र रेकर्डेड अभिव्यक्तिहरू जनताका बिचमा सार्वजनिक गर्न चुनौती दिँदै सरकारले अफवाह फैलाएको दाबी गरे । ‘यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बिचमा ल्याओस्, अरूको पनि ल्याओस्, उहाँहरूको पनि ल्याओस्, मैले भनेका सम्पूर्ण कुराहरू हिम्मतका साथ जनताका बिचमा पु¥याओस्, प्रकाशित गरोस् । कर्मचारीहरूलाई दिएका निर्देशनहरू रेकर्डेड छ, प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र, छलछाम गर्दैनौँ, पारदर्शी ढंगले अघि बढ्छौँ, अफवाह नफैलाइयोस्,’ उनले भने ।

काम नगरी अलपत्र परेका सडक र पुलका २३४ ठेक्का तोडिँदै

काठमाडौँं । सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका तोडिने भएका छन् ।

सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आज सम्बद्ध अधिकारीसँग छलफलपछि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत ३८, काठमाडौँका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण छन् । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार कर्मचारीलाई पनि छानबिन गर्न समिति बनाइने जनाइएको छ ।

मन्त्री घिसिङले भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा सहसचिवहरू, सडक विभागका महानिर्देशक, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरू, आयोजना प्रमुखलगायतसँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताए ।

रुग्ण ठेक्का तोडिएमा कम रकम कबोल गरी ठेक्का सम्झौता गरी परिचालन पेश्की लिएर उक्त रकम अन्यत्रै लगानी गर्ने तर काम नगर्ने प्रवृत्तिको समेत अन्त्य हुने उनले उल्लेख गरे । सुरु निर्माण अवधिको तुलनामा सय प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत ५० प्रतिशतभन्दा कम प्रगति रहेको रु दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कालाई रुग्ण ठेक्का मानिएको छ ।

 

यस्तै, २०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ८० प्रतिशतभन्दा कम भएका रु दुई करोडभन्दा बढी सम्झौता अङ्क भएका, ४०० प्रतिशतभन्दा बढी समय म्याद थप भइसक्दासमेत निर्माण प्रगति ९५ प्रतिशतभन्दा कम रहेका रु दुई करोडभन्दा बढी सम्झौता अङ्क भएका ठेक्कालाई रुग्ण मानिएको छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयले गर्ने कुनै पनि कार्यमा अनियमितता, ढिलासुस्ती, घुस माग्ने, सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने प्रवृत्ति देखिए संलग्नमाथि तत्कालै कारबाही गर्ने उल्लेख गरे । उनले आफ्नो नाम बेचेर कसैले अनावश्यक दुःख दिएमा तत्कालै जानकारी गराउनसमेत कर्मचारीलाई निर्देशन दिए ।

सविन र अनुले गरे बिहे

काठमाडौं ।  अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बैवाहिक सम्बन्धमा बाँधिएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सबिन र अनुले शनिबार विवाह गरेका हुन्।

सविनले सामाजिक सन्जालमा पोस्ट गर्दै यसबारे गराएका छन् ।

कुटनीतिमा पनि कमजोर ओलीका कदम

काठमाडौं । चिकित्सकीय अभ्यासमा एउटा व्यङ्ग्यात्मक भनाइ छ- द अपरेसन वाज सक्सेसफुल, द पेसन्ट इज डेड ।

खासगरी आफ्नो प्राविधिक सफलतालाई हेर्ने तर बिरामीको जीवन नजोगिने अवस्थालाई यसले गज्जबले व्याख्या गर्छ । २०८१ असारदेखि २०८२ भदौसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कुटनीतिक तानाबानाको लेखाजोखा गर्न योभन्दा ठ्याक्कै मेल खाले अरु भनाइ के होला र !

पोहोर असारमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली भदौ ११ गते पूर्व परराष्ट्रमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाको किताब विमोचनमा पुगे । थापाले लेखेको कुटनीति र भूराजनीति नामक किताब विमोचन गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्न भारतलाई सार्वजनिक आह्वान गरे ।

कांग्रेसको समर्थनमा चलिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग नै ‘कम्फर्टेबल’ मानिरहेको निकट छिमेकी भारत नेपालका प्रधानमन्त्री ओलीले कुटनीतिक तवरबाट सल्टाउन पर्ने विषयलाई सार्वजनिक रूपमा व्यक्त गरेको भन्दै भारत सुरूमै चिढियो ।

भदौ २२ गते उनी पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुनः नेपाल भारत सहकार्यको दृष्टिकोण’ नामक पुस्तक विमोचनमा पुगे । त्यहाँ पनि ओलीले भारतले समय नदिएका कारण ईपीजी प्रतिवेदन बुझ्न नसकिएको दोहोर्‍याए । भारत झन चिढियो ।

ओली मन्त्रीपरिषद्की परराष्ट्रमन्त्री आरजु राणाले भारतसँग सम्बन्ध सुधारको यत्न गरिरहेका बेला सार्वजनिक रूपमा ओलीले दिएका अभिव्यक्तिहरूले उनले चाहेको जस्तो हुन सकिरहेको थिएन । बरू भारतले नेपाली पक्षसँग गर्नुपर्ने संवाद र सहकार्यको छलफल परराष्ट्रमन्त्री राणामार्फत् नै गरिरहेको थियो ।

२०८१ भदौ पहिलो साता भारत भ्रमणमा जाँदा राणालाई भारतीय पक्षले उच्च सम्मान गरेको थियो । उक्त भ्रमणका बेला राणाले प्रधानमन्त्रीकै हाराहारीको सम्मान पाएपछि कुटनीतिक क्षेत्रमा त्यसको चर्चा चलेको थियो ।

त्यही भ्रमणमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग प्रधानमन्त्री ओलीको भारत भ्रमणको व्यवस्था मिलाउन आग्रह गरेकी थिइन । त्यसबेला भारतीय पक्ष प्रधानमन्त्री ओलीलाई तत्काल दिल्लीमा स्वागत गर्न त तयार भएन तर, मोदी संयुक्त राष्ट्रसंघको साइडलाइन बैठकमा ओलीसँग भेट्न तयार भए ।

प्रधानमन्त्री ओली र मोदीबीच करिब ३० मिनेट भएको उक्त वार्ता सकरात्मक भने हुन सकेको थिएन । भेटपछि भारतले विदेश मन्त्रालयको वेबसाइटमार्फत विज्ञप्ति निकालेर संवाद भएका चार विषयबारे उल्लेख गरे पनि नेपालका तर्फबाट भने कुनै औपचारिक जानकारी समेत आएको थिएन ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीलाई नेपालका अधिकारीहरूले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत विषयमा नबोल्न आग्रह गरे पनि मोदी र ओलीबीचको संवाद तिक्त बन्दै जाँदा ओलीले ती विषय पनि उठाएका थिए । त्यसपछि अधिकारीहरूले हतारहतार बैठक छोट्याउनुपरेको थियो ।

‘बैठकमा ओलीले नेपाल सानो देश भए पनि महत्व ठूलो रहेको धारणा राखे । मोदीले साना देशको महत्व ठूलो हुने भए पनि कहिलेकाहीँ घातकसमेत हुने भन्दै जवाफ दिए’ स्रोतले भन्यो, ‘ओलीले लिपुलेकतिर कुरा मोडेपछि संवाद सौहार्द भएन । ३० मिनेट भनिएको छलफल २० मिनेटमै सकियो ।’

ओली र मोदीबीच व्यक्तिगतस्तरमै सम्बन्ध चिसियो । प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै चीनतिर ढल्किन थाले । राजनीतिक विश्लेषक सञ्जिव हुमागाईं कांग्रेस-एमाले गठबन्धन भएको र ओली-आरजु टिम भएकोले कुटनीतिमा उल्लेखनीय सफलता प्राप्त हुने अपेक्षा भएता पनि नतिजा भने पूरै नकरात्मक निस्किएको टिप्पणी गर्छन् ।

‘नेपालको अन्तर्राष्ट्रिय पहिचानमा नै समस्या छ । एउटा देश देखाएर अर्को तर्साउने खालको देखिन्छ । अर्को ओलीले भारत र चीनबाहेक अरू मुलुकमा कुटनीति विस्तार गर्न चाहेको पनि देखिएन,’ हुमागाईले भने, ‘सधै आफू जानेमा केन्द्रित भए । भारत र चीन बाहेकका अन्य राष्ट्र प्रमुखलाई आमन्त्रण गर्ने र कुटनीतिको दायरा फराकिलो बनाउनेमा ध्यान दिन नसक्दा नेपाललाई यो १४ महिनासम्म बिग पावर ट्रयापमा खाँद्ने काम भयो ।’

औपचारिक-अनौपचारिक संवादहरू गर्दा पनि भारतले भाउ नदिएपछि प्रधानमन्त्री बनेको ६ महिनामा ओलीको नजर चीनतिर सोझियो । उत्तरका च्यानलहरूमार्फत् ओलीले चीनतिर संवाद थाले । चीनले उनलाई भ्रमणको निम्तो पनि दिइहाल्यो । उनी मंसिर १७ गते ४ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरे ।

चीन भ्रमणका बेला बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख कार्यसूची थियो । त्यसबेला भने प्रधानमन्त्री ओलीले उच्च राजनीतिक संस्कार देखाए । सत्ता साझेदार दलहरूसँग संवाद गरे, सम्झौता गर्ने विषयहरूबारे परामर्श भयो । टिममा छलफल भयो ।

अन्ततः मंसिर १९ गते बीआरआई फ्रेमवर्कमा सम्झौता भयो । नेपाल र चीनबीच प्राविधिक कुराहरू नमिल्दा २०१७ देखि अड्किरहेको फ्रेमवर्कले ७ वर्षपछि गति लियो । तर यसपछि अन्तर्राष्ट्रिय स्तरमा भने ओलीलाई त्यति सहज भएन ।

सुरूमा प्रधानमन्त्रीकै सरोबरीमा परराष्ट्रमन्त्री राणालाई सम्मान दिएको भारत उनीसँग समेत चिढियो । भारतका पछिल्ला भ्रमणहरूमा राणाले समेत भाउ पाइनन् ।

अर्कोतर्फ, चीनबाट फर्किएलगत्तै २०८१ पुसमा एमालेले राखेको केन्द्रीय कमिटी बैठकमा ओलीले कुटनीतिक हिसाबले असन्तुलित राजनीतिक दस्तावेज प्रस्तुत गरे । उनले चीनसँगको सम्बन्धलाई जति सौहार्द तरिकाले व्याख्या गरे, अमेरिका र भारतप्रति त्यतिनै पूर्वाग्रह राखे ।

तर, त्यसअघि नै उनले गृहनगर दमकको एक कार्यक्रममा आफूले चीन भ्रमण गरिसकेको र अब छिट्टै भारतको पनि भ्रमण गर्ने बताएका थिए ।

राजनीतिक दस्तावेजमा भने ओलीले भारत छिमेकी मुलुकहरूको सार्वभौमिकता, सरोकार र संवेदनशीलतालाई भारतले आवश्यक ध्यान नदिएको उल्लेख गरे भने चीनको खुलेर प्रशंसा गरे ।

केन्द्रीय कमिटीमा पेस भएको उक्त प्रतिवेदनमार्फत् ओलीले अमेरिकालाई पनि बाँकी राखेनन् । ताइवानका विषयमा अमेरिकाको दोहोरो र उत्तेजनात्मक भूमिकाले त्यस क्षेत्रमा तनाव बढाइरहेको उल्लेख गरे ।

केन्द्रीय कमिटीमा लिखित रूपमै प्रस्तुत भएको उक्त प्रतिवदेनका कारण पनि अमेरिका र भारत, विशेषगरि भारत प्रधानमन्त्री ओलीसँग चिढिइरहेको थियो । भारत भ्रमणमा निमित्त प्रयास पनि गरिरहने, गैरकुटनीतिक अभिव्यक्तिमार्फत भारतलाई चिढ्याई पनि रहने दोहोरो प्रवृत्तिका कारण ओली र उनले नेतृत्व गरेको सरकारमाथि विश्वास गुमिरहेको थियो ।

तथापि, परराष्ट्र मन्त्रालयमार्फत ओलीलाई भारत भ्रमणको माहौल मिलाउने प्रयास भने तीब्र भइरहेको थियो । यसका लागि परराष्ट्रमन्त्री आरजु राणाले निकै कोसिस गर्नुपर्‍यो । अन्ततः ओलीले विमस्टेक सम्मेलनको साइडलाइन बैठकमा भारतका प्रधानमन्त्री मोदीसँग भेट गरे । २२ चैत २०८१ मा भएको उक्त भेटपछि भने ओली उत्साहित थिए ।

‘मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्‍यौं,’ ओलीले फेसबुकमा लेखे, ‘बिम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुनेछ ।’

भेटलगत्तै मोदीले पनि सामाजिक सञ्जाल एक्समा ओलीसँगको भेटघाट फलदायी रहेको उल्लेख गरे । दुवैले एक अर्कालाई आ-आफ्नो देशमा भ्रमणका निम्ति निम्तो दिए । तर मोदीको नेपाल आउने भन्दा पनि ओलीको भारत जाने विषयमा नै बढ्ता गृहकार्य भइरहेको थियो ।

‘बाहिर जाने विषयमै बढ्ता ध्यान भएर आन्तरिक विषयको आकलन गर्न सकिएन कि भन्ने विश्लेषण पनि छ’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘खासगरी प्रधानमन्त्रीको सचिवालयमा रहनुभएकाहरू र उहाँलाई सल्लाह दिनेहरूले उहाँलाई सी जिनपिङ र मोदीजस्तै बनाउने भनेर अन्तर्राष्ट्रिय मञ्चहरूमा उभ्याउन थाले । सानासाना कार्यक्रममा पनि उहाँ जान थाल्नुभयो ।’

१४ महिनाको अन्तरालमा ओली चीनमा दुईपटक आए भने संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका, तुर्केमिनिस्थान, थाइल्याण्ड, स्पेन लगायत देशमा गए । प्रधानमन्त्रीबाट हट्नु नपरेको भए उनी निकट भविष्यमै भारत, ब्राजिल, अजरबैजान जाने तयारीमा थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल भने ओलीका कारण अन्तराष्ट्रिय स्तरमा नेपालको छवि राम्रो भइरहेको दाबी गर्छन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि उच्च बनाउने काम गएको १४ महिनामा भयो,’ रिजालले भने ।

तर पछिल्लो सीमा प्रकरणपछि भने ओलीलाई भारतले निम्ता नदिने लगभग निश्चित भइसकेको थियो । भदौ १ गते नेपाल आएका विदेश सचिव विक्रम मिश्रीले ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो त दिए तर मिति भने तोकेनन् ।

त्यसअघि नै नेपाल पक्षबाट भारत भ्रमणको मिति भदौ ३१ का लागि तय भएको भनेर सार्वजनिक भइसकेको थियो । खासमा यसलाई पनि भारतीय पक्षले राम्रो मानेनन् । कुटनीतिमा दुवै पक्षको सहमति विना औपचारिक भ्रमणको मिति यसरी सार्वजनिक गर्नुलाई शिष्ट मानिन्न ।

सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनका प्रधानमन्त्री बेन जिया बाओको नेपाल भ्रमणको मिति सुरूमै सार्वजनिक गरेपछि उनले आफ्नो भ्रमण नै छोट्याएका थिए । उनी केवल चार घण्टाका लागि नेपाल आएका थिए ।

कच्चा कुटनीतिक खेलोमेलोका कारण ओलीले चीन र भारतका बीचमा रहेर सन्तुलित व्यवहार प्रदर्शन गर्न सकेनन् ।

भारत भ्रमणको तयारी हुँदै गर्दा भदौ २ र ३ गते चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमण भयो । उक्त भ्रमणमा भारत र चीनले लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरे । उक्त सहमति १० वर्षअघि पनि भएको थियो ।

ओली प्रधानमन्त्री हुँदा ७ जेठ २०७७ मा नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको क्षेत्र समेटेर चुच्चे नक्सा समेटिएको थियो । ओली सांघाई को-अपरेशन अर्गनाइनेशनको शिखर सम्मेलनमा चीन भ्रमणमा जाने निश्चित भयो ।

चीन र भारत भ्रमणको पूर्वसन्ध्यामा यी दुई देशबीच भएको यो सहमतिले ओलीलाई नैतिक संकट र दबाब पर्‍यो । चीन भ्रमणका बेला उनले राष्ट्रपति सी चिनफिङसँग नक्साका विषयमा कुरा उठाए । चीनले विवादित भूमिको समस्या नेपाल र भारतले नै सल्टाउनुपर्ने जवाफ दियो ।

यहीँनिर ओलीले विश्व राजनीतिमा बदलिँदो परिस्थितिको हेक्का नराखेको विज्ञहरू बताउँछन् । ‘अमेरिकामा ट्रम्पको पुनरोदय पछिको विश्वलाई ओलीजीले बुझ्न सक्नुभएन,’ विश्लेषक हुमागाईंको टिप्पणी छ, ‘हाम्रा दुई प्रमुख छिमेकी भारत र चीन नै सघन छलफमा छन् भन्ने कुरामा उहाँले ध्यान दिनुभएन ।’

भारत भ्रमणको निम्तो कुरिरहेका बेला ओलीले सांघाई कोअपरेशनको निम्तो पाए चीन भ्रमणका लागि । त्यो कार्यक्रममा प्रधानमन्त्री नै जान्छन् भन्नेमा चिनियाँ पक्षले पनि अपेक्षा गरेको थिएन । सांघाई कोअपरेशनमा मात्र सहभागी भएर फर्किने तालिका रहे पनि ओली रेड परेडमा पनि सहभागी भए । त्यहाँ उनले सी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट्ने मौका पाए ।

स्वदेश फर्किएलगत्तै ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए । संयोगवश अधिकांश सामाजिक सञ्जाल अमेरिकी थिए । त्यसले इन्टरनेटमै सक्रिय युवा पुस्तालाई थप आक्रोशित बनायो । उनीहरू आन्दोलनमा होमिए ।

मुलुकमा अहिले ओली रेड परेडमा सहभागी भएपछि भारत र पश्चिमाहरूको सक्रियतामा २४ गतेको घटना गराइएको भनेर एमालेका केही नेताहरूले अनौपचारिक रूपमा भन्दै आएका छन् । ओलीले उनलाई भेट्न गएका नेताहरूसँग पनि यही दाबी गरेका छन् ।

स्वयम् ओलीले पनि २३ गते प्रहरीले गोली नचलाएको र दुवै दिनको घटनामा षड्यन्त्र र घुसपैठ भएको सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर उनकै भनाइलाई एकछिनका लागि सत्य मान्ने हो भने पनि चीन भ्रमणमा रेड परेडमा सहभागिता र उनले उठाएको लिपुलेकको विषय पछिमात्रै यो घटना हुन संभव थिएन । ओलीको कुटनीतिक कमजोरी प्रधानमन्त्री भएकै दिनदेखि सुरू भएको थियो ।

एसिया कप छनोट खेल्ने यु-१७ महिला टिमको घोषणा

काठमाडौँ। थाइल्याण्डमा आयोजना हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नेपालको यू-१७ महिला टिमको घोषणा गरेको हो।

अक्टोबर १३ देखि १७ सम्म हुने प्रतियोगितामा नेपालले आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तानसँग खेल्नेछ।

नेपाली टिम: झरना डुम्राकोटी, लक्ष्मी ओली, भुपिका शाही, दिक्ष्या रायमाझी, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मो लो, सम्झना चन्द, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, रबिना बिक, कृतिशा तामाङ, अशिका कार्की, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सिर्जना बडुवाल, अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक र अनिता राना मगर ।

आगजनीले ध्वस्त हिल्टन होटलमा अर्थमन्त्रीले गरे निरीक्षण

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटलको निरीक्षण गरेका छन् । शनिबार मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् ।

८ अर्ब भन्दा बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको थियो ।

आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचरसहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।

 

हिल्टनलाई काठमाडौंमा शंकर ग्रुपले भित्राएको थियो । यो होटेल नेपाल प्रहरीको केन्द्रीय कार्यालय नजिकै छ ।

आफ्नै कोठामा जलेको अवस्थामा भेटिएकी टिकटकर आँचल नाथको मृत्यु

काठमाडौँ । टिकटकर तथा कलाकार आँचल नाथको मृत्यु भएको छ । बिहीबार राति आफ्नै डेराको कोठामा जलेको अवस्थामा भेटिएकी नाथलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएको थियो । शनिबार बिहान करिब ९:३५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीकी २२ वर्षीया नाथ पछिल्लो समय काठमाडौँमा डेरा बस्दै आएकी थिइन् । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले पेट्रोल छर्की जलाइएको दाबी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गराएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको परिसर प्रमुख एसएसपी रमेश थापाले टेकपानालाई जानकारी दिए ।

एसइई पूरक परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए ।

गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले नतिजा हेर्नIVR / SMS – USSD, राष्ट्रिय परीक्षा बोर्डकोwww.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।

बोर्ड केन्द्रीय कार्यालयको वेबसाइट धधध।कभभ।नयख।लउ बाट नतिजा हेर्न परीक्षार्थीको सिम्बोल नम्बर, जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड गर्न सकिने जनाएको छ ।

बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउनसक्ने व्यवस्था गरेको छ । यही २०८२ असोज १९ गतेदेखि २९ गते साँझ ५ः०० बजेभित्र परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्नसक्ने व्यवस्था गरेको उनले जानकारी दिए ।

विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था मिलाउन माग गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपाली अभियन्ताले विदेशमा रहेका नेपालीहरूलाई सजिलै मतदाता दर्ता गर्ने र अमेरिकासहित विश्वभरबाटै मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । अमेरिका निवासी नेपाली अभियन्ता रमेश भट्टले शुक्रबार गृहमन्त्री अर्याललाई भेटेका थिए ।

भेटमा अभियन्ता भट्टले ‘हाल नेपालकै नम्बरमार्फत मात्र एकपटक प्रयोग हुने पासवर्ड (ओटिपी) प्राप्त गरेर मतदाता नामावली दर्ता गर्नुपर्ने प्रणालीले लाखौँ प्रवासी नेपालीलाई निर्वाचनमा सहभागिता हुन हतोत्साहित गर्ने सम्भावना भएकाले विदेशी नम्बर वा इमेलमार्फत पनि एकपटक प्रयोग हुने पासवर्ड (ओटिपी) उपलब्ध हुने व्यवस्था मिलाइ सहज बनाउन’ अनुरोध गरेका थिए ।

साथै, अमेरिकामा रहेका नेपालीहरूले ३ वटा कन्सुलेट अफिस र १ वटा दूतावासमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने सुझाव प्रस्तुत गरिएको छ । यस अभियानलाई सफल बनाउन एनआरएनए र विभिन्न नेपाली सामुदायिक संस्थाहरूले सचेतना फैलाउने, दूतावास/कन्सुलेटसँग सहकार्य गर्ने र मतदाता नामावली दर्ता अभियानमा सहयोगी भूमिका खेल्ने ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाली अभियन्ताले गृहमन्त्रीको सकारात्मक पहललाई धन्यवाद दिँदै यो एजेन्डाबाट पछि नहट्न आग्रह गरेका थिए ।

नेपाली डायस्पोरा यस अभियानलाई सहयोग गर्न सधैं तयार रहेको स्पष्ट पारेका थिए । ‘विदेशमा रहेका लाखौँ नेपाली विद्यार्थी, श्रमिक, व्यवसायी, तथा पेशेवरहरूलाई सुरक्षित, सहज र सम्मानजनक ढंगले मतदान गर्ने अधिकार सुनिश्चित गर्नु अब ढिलो गर्न नहुने राष्ट्रिय दायित्व हो,’ अभियन्ता भट्टले भने ।

ज्ञापनपत्रमा उल्लेखित मुख्य अंशहरू:

–संविधान २०१५ ले हरेक नेपाली नागरिकलाई मतदान अधिकार दिएको भए पनि हालको कानुनले नेपालमै मात्र मतदान गर्न सकिने प्रावधान राखेको छ ।

–सर्वोच्च अदालतले २०१८ मै सरकारलाई प्रवासी नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।

–अन्तर्राष्ट्रिय अभ्यासअनुसार दूतावास वा कन्सुलेटमार्फत मतदान सम्भव छ ।

–विदेशी देशको सार्वभौमसत्तामा असर नपर्ने गरी दूतावास र कन्सुलेटभित्र मतदान गर्न सकिन्छ ।

–यो कार्य कानुनी र व्यवहारिक रूपमा सम्भव छ, यदि नेपाल सरकारले दूतावास/कन्सुलेटलाई अनुमति दियो भने ।

–लागत व्यवस्थापनका लागि प्रवासीहरूले फण्डरेजिङ (fundraising) गर्न सक्ने र विकास सहयोग निकायसँग भागिदारी गर्न सकिने प्रस्ताव गरिएको छ ।

खोज्नुहोस