स्वास्थ्य बीमा नवीकरण समयमा नगरे थप शुल्क लाग्ने : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले बीमित परिवारलाई तोकिएको समयमा बीमा नवीकरण नगरे थप शुल्क लाग्ने भएकोले असोज मसान्तभित्रै नवीकरण गर्न आग्रह गरेको छ।

बोर्डका अनुसार विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ।

तर उक्त म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। बोर्डले तोकेको विवरण यस्तो छ :

तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप

छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप

एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप

एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप

दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा

तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा

बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।

भिजिट भिसा प्रकरण: छानबिन समितिले रास्वपा सचिवालयमा बुझायो प्रतिवेदन

‘भिजिट भिसा प्रकरणमा पीडितहरूलाई सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको’ भन्ने विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकमा सांसद प्राध्यापक डाक्टर चन्दा कार्कीको नेतृत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई बुझाएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि भिजिट भिसा प्रकरणमा अनियमितता र अवाञ्छित संलग्नताको आरोप लागेपछि रास्वपाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन डा. कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले यस प्रकरणका विभिन्न पक्षमा गहन अध्ययन तथा अनुसन्धान गरी आज आफ्नो प्रतिवेदन पेश गरेको हो।

प्रवक्ता झाका अनुसार, प्रतिवेदनमा भिजिट भिसामा देखिएका समस्याहरू, त्यसमा पार्टीका कुनै नेता वा सदस्यको संलग्नताको अवस्था र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक सुझावहरू समेटिएको छ।

सचिवालयले अब प्रतिवेदनमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिनेछ।

भिजिट भिसा मार्फत मानव तस्करी गर्ने काममा सरकारका गृहमन्त्री रमेश लेखक समेत मुछिएको आरोप लगाउँदै  रास्वपाले राजीनामा माग राखी संसद् अवरोध जारी राखेको छ।

तर, कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल नै भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लगाएपछि कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल माग गर्ने आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल माग गर्ने आदेश दिएको छ।

बुधवार न्यायाधीश सागर विष्टको एकल इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको तर्फबाट दायर निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलनपछि आफूले जिम्मेवार भागको बिगो दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेको भन्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। सोही निवेदनमा बुधवार बहस भएको हो।

यसअघि लामिछानेले जिल्ला अदालतमा निवेदन दिँदै आफूले जिम्मेवारीमा पर्ने बिगो रकम बुझाइसकेको भन्दै रिहाइको माग गरेका थिए। अभियोग पत्रअनुसार सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाउने प्रस्ताव राखेका थिए। तर, अदालतले हालसम्म रिहाइको अनुमति दिएको छैन।

फोहोर व्यवस्थापन एप सार्वजनिक

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ । यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ ।

नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार, यो प्रणालीलाई प्रयोगकर्ता–मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ ।

यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ । प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।

यो एप फोहोर व्यवस्थापनमा काम गर्ने हुने संस्थाहरू, फोहोर उत्पादन गर्ने घरायसी बासीहरू, व्यवसायहरू जस्तै हस्पिटल, होटल, स्कुल, सरकारी संस्थाहरू आदि हुन् ।

यसमा फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथ–साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ ।

नगरपालिकाका यूजरबाट आफ्नो नगर/वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ ।

नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यसमा एआईको प्रयोग गरिएको जानकारी दिए ।

निजामती विधेयक : प्रतिनिधिसभाले रोकेको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले १० प्रतिशत राख्यो

काठमाडौँ । निजामती सेवामा सहसचिव पदपूर्तिका लागि १० प्रतिशत संख्या खुला प्रतिस्पर्धाबाट गराउने व्यवस्था संघीय निजामती विधेयकमा राखिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान निजामती विधेयकमा राखेको हो ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान सर्वसम्मतिले पारित गरेको हो ।समितिको बुधबारको समितिले उक्त सहमति जुटाएको हो ।

प्रतिनिधिसभाबाट पारित विधेयकमा भने सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नहुने व्यवस्था पारित गरेको थियो । प्रतिनिधिसभाले सहसचिवमा १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था राखेको थियो । त्यसलाई उल्ट्याएर राष्ट्रिय सभाले १० प्रतिशत खुला, २० प्रतिशत अन्तरतह र ७० प्रतिशत बढुवाबाट सहसचिवको पदपूर्ति हुने व्यवस्था गरेको हो ।

सांसद झक्कुप्रसाद सुवेदीले नायब सुब्बा र सहसचिवमा पदपूर्ति खुला प्रतिस्पर्धाबाट पनि गर्नुपर्ने कानुनी प्रावधान राख्नुपर्ने बताएका थिए । सांसद बेदुराम भुसालले सहसचिवमा खुलाबाट पदपूर्तिको प्रावधान राख्नुपर्ने बताए । थोरै प्रतिशतमा भएपनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने व्यवस्था राखेर जानुपर्ने उनको भनाइ थियो ।

सांसद अञ्जान शाक्यले भने सहसचिवमा खुला प्रतिस्पर्धाको प्रावधान राख्न नहुने बताएकी थिइन् । उनले भनिन्, ‘सहसचिव खुला गर्नु हुदैँन, पढाइ र कामको प्रतिस्पर्धा हुनसक्छ, तर अनुभवको प्रतिस्पर्धा हुन सक्दैन । अनुभवका आधारमा दृष्टिकोण नै फरक हुन सक्छ । सहसचिवमा खुला प्रतिस्पर्धा राख्नु हुदैँन, बढुवाबाटै गर्ने व्यवस्था गर्नुपर्छ, प्रतिनिधिसभाले पारित गरेको व्यवस्था नै कायम गर्न उचित हुन्छ ।’

यो छलफलपछि समितिले विधेयकको दफा १०को (ज)मा सहसचिवको पदपूर्ति खुला, अन्तरतह प्रतिस्पर्धा र बढुवाद्वारा हुने प्रावधानमा सहमति जुटाएको हो ।

रवि लामिछानेको मुद्दा सागर विष्टको इजलासमा

रुपन्देही । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको बताए । बुधबार लामिछानेको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गर्नेछन् ।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् । आज निवेदामाथिको प्रारम्भिक सुनुवाइ हुनेछ ।

पहिलो एक घण्टामा पौने २ अर्बको सेयर कारोबार

काठमाडौं । बुधबार पहिलो एक घण्टामा १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पहिलो एक घण्टाको यो कारोबार रकम अघिल्ला दिनको तुलनामा उल्लेख्य हो । १२ बजेसम्म नेप्से परिसूचक २० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा छ । १६४ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ४ को स्थिर छ । विकास बैंक, फाइनान्स, अन्य र व्यापार समूह १ प्रतिशतभन्दा धेरै बढेका छन् । बैंकिङ ०.५२ प्रतिशत बढेको छ । विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

ग्रिन भेन्चर्स तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ४ प्रतिशत बढेको छ । सीवाईसी लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको ३ प्रतिशतभन्दा धेरै मूल्य घटेको छ । पहिलो एक घण्टामा धेरै कारोबार भएका कम्पनीमा ग्रिन भेन्चर्स, हिमालयन रि, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा र लुम्बिनी विकास बैंक छन् ।

फेसबुक भिडिओ मार्फत रुबि साहको ह’त्या कबुल गरेका लक्ष्मण पासवानले आफ्नै शरीरमा लगाए आगो

काठमाडौँ । रौतहटकी रुबि साहको हत्या गरी सुटकेसमा प्याक गरेर फरार आरोपी लक्ष्मण पासवानले फेसबुक भिडिओ मार्फत हत्या आफैले गरेको स्वीकार गरेका छन् । मङ्गलबार बिहान करिब ५ बजेतेर ‘कुमारी ज्योति’ नामक फेसबुक आईडीमार्फत ९ मिनेट ३६ सेकेन्ड लामो भिडिओ सार्वजनिक गर्दै उनले हत्या कबुल गरेका हुन् ।

उनले भिडिओमा हत्या गर्ने आफ्नो चाहना नभएको, दुवै जना प्रेममा रहेको, रुबिकी आमाले दुःख दिएको र अन्य व्यक्तिहरूले समेत हैरानी दिएको आदि दाबी गरेका छन् । प्रहरीले पक्राउ गरेर आफूलाई जेल हाल्ने र १०/१५ वर्ष जेल हाल्ने कुरा स्वीकार गर्न नसक्ने र आफूले आफैँलाई सजाय दिन शरीरमा आफैँ आगो लगाएर आत्महत्या गर्ने कुरा समेत उनले भिडिओमा बोलेका छन् ।

पासवानले सार्वजनिक गरेको भिडिओ र उनीले आफ्नो शरीरमा आगो लगाइसकेपछि घाइते अवस्थामा प्रहरीले पक्राउ गरिरहेको भिडिओ दुवै यतिखेर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । रौतहटको माधव नारायण नगरपालिका-६ स्थित माधवपुरको बाटोमा पासवानले आफ्नै शरीरमा आगो लगाएको बताइएको छ । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीय रुबी कुमारी साहको गत शनिबार हत्या भएको थियो । उनको सब सुटकेसमा फेला परेको थियो ।

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

उपाधि रक्षाका लागि नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । यसअघिका तीन खेलमा नेपालले दुईमा हार र एक जित निकालेको थियो ।

पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् । नेपालले भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।

सिडेन सुदूरपश्चिमको नेतृत्वमा इन्जिनियर रोशन भट्ट

कैलाली । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्वमा इन्जिनियर रोशन भट्ट निर्विरोध निर्वाचित भएका छन् । आगामी भाद्र १४ गतेका लागि तोकिएको निर्वाचनमा अन्य प्रतिस्पर्धी उम्मेदवार नआएपछि भट्ट सहित सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन् ।

निर्वाचन समितिका संयोजक इन्जिनियर पदम बहादुर मडका अनुसार दुई वर्षे कार्यकालका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध बनेका हुन् ।

निर्वाचित पदाधिकारीहरू

सभापति : इन्जिनियर रोशन भट्ट

उप–सभापति : इन्जिनियर कृष्ण बहादुर ऐर

सचिव : इन्जिनियर दीपेन्द्र बहादुर शाही

सह–सचिव : इन्जिनियर किरण रावल

कोषाध्यक्ष : शैलेन्द्र बहादुर मल्ल

निर्वाचित सदस्यहरू

इन्जिनियर बिरेन्द्र रोकाया, शान्त कुमार साउद, मदन बहादुर कुंवर, रोशन ओझा, रोशन भाट, प्रदिप कुमार धामी, बिकास रावल, कोशराज बडु, करण सिंह ऐरी र मंगल बुढा निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक मडले भने, “दुई वर्षे कार्यकालका लागि सम्पूर्ण पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।”

सिडेन नेपाली कांग्रेस निकट इन्जिनियरहरूको छाता संगठनका रूपमा परिचित छ ।

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा तुरुन्त जरिवाना वा कारबाही हुँदैन : यातायात व्यवस्था विभाग

काठ्माण्डौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयनमा ल्याइने स्पष्ट पारेको छ । तर असोज १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो ।

साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत विभागले अनुरोध गरेको छ ।

संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको समितिको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। यसअघि विभागले भदौ ३ गते सार्वजनिक सूचना जारी गरेर असोज १ देखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको थियो।

विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट लागू भएपछि मुलुकभरका सवारी साधनको एकिन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण, राजस्व छली रोकथाम तथा विपद् व्यवस्थापनमा सहजता हुने बताइएको छ।

विभागले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति ध्यानाकर्षण गर्दै नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार रहेको र तथ्याङ्क मुलुक बाहिर नजाने गरी विभागकै सर्भरमा सुरक्षित हुने जनाएको छ।

जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’, चार जनाको मृत्यु

काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’का कारण जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको भारी वर्षाका कारण डोडा जिल्लामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । यस्तै, थुप्रै घाइते भएका छन् ।

मृतकमध्ये दुई जनाको घर भत्किएर र दुई जनाको बाढीका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीले थुप्रै घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासनले नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण जम्मू–कश्मीरका कैयौँ सडक र रेल सेवा अवरुद्ध भएका छन् । जम्मू–श्रीनगर र बटोटे–किश्तवारलगायत राजमार्ग बन्द छन् ।

सामान्यतया क्लाउडबर्स्ट भनेको अचानक छोटो समयमा अत्यधिक धेरै वर्षा हुनु हो ।

राष्ट्रपति पौडेलद्वारा विपीनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपीन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन सो आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका लागि उनका जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए।  सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

बाबुरामले तोकिदिए उखुको मूल्य

काठ्माण्डौँ । उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले उखुको मूल्य तोकिदिएका छन् । हिजोदेखि राजधानी केन्द्रित आन्दोलनमा होमिएका उखु किसानलाई समर्थन गर्न भट्टराई पार्टीका आधा दर्जन नेताहरुसहित त्यहाँ पुगेका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले उखुको मुल्य आफूखुशी निर्धारण गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । उखु किसानको बाँकी रकम भुक्तानी गर्नुपर्ने र यसअघि उपलब्ध गराउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँकै दर कायम गर्नुपर्ने उनको माग छ ।

उखुको बक्यौता अनुदान रकम ७० कै दरले भुक्तानी गरिनुपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, अनुदान भुक्तानी र उखुमा लगाएको भ्याट खारेज गर्नुपर्नेलगायतका माग राखेर किसान उखुको बोटसहित आन्दोलरत छन् । आन्दोलनमा तराई मधेशका १३ जिल्लाका किसान सहभागी रहेको उखु किसान सङ्घर्ष समितिले जनाएको छ ।

यसैबीच नेकपा (एकीकृत समाजवादीं)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि माइतीघर मण्डला पुगेका छन् । भुइँमा थचक्क बसेर वातचित गर्दै उनले उखु किसानहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ ।

समितिका तत्कालीन सभाति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज उम्मेदवारी दर्ताको तालिका थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो ।

निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् ।

राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।

न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापति थिइन् । कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने भनेपछि न्यौपानेले सुनुवाई समितिको सभापतिबाट राजीनामा दिइन् । उनले आजै सभामुख समक्ष राजीनामा दिएकी हुन् ।

सुनुवाइ समितिबाट राजीनामा दिए लगत्तै राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिइन् । जहाँ अनय कुनै पनि उम्मेदवारी परेको छैन । यो सँगै उनी राजय व्यवस्था समितिको सभापतिमा सर्वसम्मत भएकी हुन् ।

अहिले नै मन्त्रिमण्डल हेरफेर हुने सम्भावना छैन : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नै मन्त्रिमण्डल हेरफेर हुने सम्भावना नरहेको बताएका छन्।

नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २९ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको शोभाभगवती रहेको सालिकमा माल्यार्पण गर्दै सिंहले मन्त्रिमण्डल हेरफेरका चर्चा चले पनि अहिले नै कांग्रेसका तर्फबाट मन्त्रीहरू हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका हुन्।

उनले संख्याका आधारमा समेत अहिलेको सरकार बलियो अवस्थामा रहेकाले पुरै अवधि यही सरकार चल्ने जिकिर गरे। मुलुकमा स्थायित्वका साथै संविधानमा आवश्यकता अनुसार संशोधनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनु परेको उनले बताए।

उनले सरकार गठनका समयमा भएको सहमतिलाई समेत कार्यान्वयन क्रमशः कार्यान्वयन गर्दै लैजाने जिकिर गरे। उनले मंगलादेवी लगायतका अग्रजहरूले गरेको त्यागका कारण अहिले महिला अधिकार स्थापित हुँदै गएको बताए।

तेक्वान्दो संघको आयोजनामा चौथो एनटीए लिग भदौ १२ देखि

काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एनटीए लिग (ग्यरोगी एण्ड पुम्से) यही भदौ १२ देखि १५ गतेसम्म सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना गर्ने भएको छ।

संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै यसपटक ५४५ महिला र ९५० पुरुष गरी कुल १,४९५ खेलाडीको सहभागिता रहने जनाएको छ।

प्रतियोगितामा ग्यरोगी र पुम्से गरी ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

चार दिनसम्म चल्ने प्रतियोगितामा ४० निर्णायक तथा प्राविधिक परिचालन गरिने संघले जनाएको छ।

नेपाल तेक्वान्दो संघले विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको र लिगले खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर दिलाउने उद्देश्य राखेको बताइएको छ।

राजनीतिमा फर्कने बाटोमा ओली नै बाधक बनेको पूर्वराष्ट्रपति भण्डारीको आरोप

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सक्रिय राजनीतिमा फर्कनबाट रोक्न खोजेको आरोप लगाएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झासँगको भेटमा भण्डारीले पहिले राजनीतिमा आउन बाटो खुला रहेको बताएका ओलीले अहिले आफ्नो बोली फेरेको गुनासो गरेकी हुन्।

बुधबार बिहान भण्डारी निवास भंगालमा भएको भेटवार्तापछि प्रवक्ता झाले सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीको भनाइ उद्धृत गरे, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ, अब नफर्कने। अस्तिसम्म केपी ओलीले नै पूर्वराष्ट्रपति राजनीतिमा आउन मिल्छ भनेर अन्तर्वार्ता दिनुभएको छ। अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ।’

भण्डारीले आफू एमालेबाटै राजनीतिमा अघि बढ्न चाहेको स्पष्ट पारेको पनि झाले जानकारी दिए। केही समयअघि अध्यक्ष ओलीले एक अन्तर्वार्तामा पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन कुनै बाधा नभएको र त्यो बेकारको कुरा भएको बताएका थिए, जुन भिडियो अहिले सामाजिक सञ्जालमा पुनः चर्चामा आएको छ।

यद्यपि, रास्वपा प्रवक्ता झाले भेटवार्तापछि जारी गरेको औपचारिक प्रेस नोटमा भने यो विषय उल्लेख गरिएको छैन। प्रेस नोटमा भेटलाई ‘राजनीतिक शिष्टाचार’ र ‘राजनीतिक संवादको सुरुवात’ भनिएको छ।

‘आज बिहान उहाँको निवासमा १० बजेदेखि साढे ११ बजेसम्म लगभग डेढ घण्टाको कुराकानी छलफल भयो,’ प्रेस नोटमा भनिएको छ, ‘वर्तमान असाधारण राजनीतिक अवस्थाबारे उहाँको सरोकार र यसको समाधानको आवश्यक पहलबारे छलफल भयो।’

प्रेस नोटअनुसार, पूर्वराष्ट्रपति भण्डारीले सहकारी प्रकरणलाई समाधान गर्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाएकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री रवि लामिछानेप्रति सद्भाव रहेको बताएकी थिइन्।

साथै, उनले नयाँ पुस्ता राजनीतिमा आउनुलाई सकारात्मक रूपमा लिँदै आफूले अभिभावकको भूमिका निर्वाह गर्न र उनीहरूलाई सघाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

भेटघाट र संवादलाई निरन्तरता दिने आशय व्यक्त भएको प्रेस नोटमा उल्लेख भए पनि भेटपछि बाहिरिएको अध्यक्ष ओलीप्रतिको टिप्पणीले एमालेभित्रको शक्ति सन्तुलन र भण्डारीको राजनीतिक भविष्यबारे नयाँ बहस सिर्जना गरिदिएको छ।

नेपाल बारले विवादित न्यायाधीशका फैसला अध्ययन गर्ने, न्यौपानेको नेतृत्वमा समिति गठन

काठ्माण्डौँ । नेपाल बार एसोसिएसनले विवादित न्यायाधीशका फैसला अध्ययन गर्न समिति गठन गरेको छ।

बारले वरिष्ठ अधिवक्ता एवं न्याय परिषद्का पूर्वसदस्य उपेन्द्र केशरी न्यौपानेको नेतृत्वमा समिति गठन गरेको हो।

नेपाल बार एसोसिएसनको विधान, २०४८ बमोजिम केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार फैसला अध्ययन समिति गठन गरिएको महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिए।

कोइरालाका अनुसार समितिबाट अध्ययन भई सम्पादन भएका कार्यहरु सहितको प्रतिवेदन वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषद्‌को बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक जानकारीका लागि प्रकाशन पनि गरिदिनेछ।

समितिको सदस्यमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन्।

महासचिव कोइरालाले एकआपसमा बाझिएका, विधिशास्त्रीय मान्यतासँग असंगति रहेका फैसला अध्ययन गरिने र समितिको कार्यादेश खुला राखिने जानकारी दिए।

हालै मोहम्मत अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगन्जको फैसला, भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको फैसला र केही संवैधानिक इजलासबाटै भएका फैसला पनि विवादित छन्।

न्यौपानेद्वारा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

मंगलबार समिति सभापति निर्वाचनका लागि तोकिएको समयमा न्यौपानेले उम्मेदवारी दर्ता गरिएकाे सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जानकारी दिए ।

उनको उम्मेदवारीमा प्रस्तावका कांग्रेस सांसद रामहरि खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् । खतिवडा यो भन्दा अघिका समिति सभापति थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीको त्यो निर्णयपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन् ।

सुनुवाइ समितिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिएकी हुन् ।

न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् ।

राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिने समय दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म तय गरिएको थियो । निर्वाचन भने बुधबार दिउँसो ३ बजे समितिको बैठकमै हुने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सोमबार नै सार्वजनिक गरेको छ ।

आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे बाबुराम भट्टराई

काठ्माण्डौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई माइतीघरमण्डला पुगेका छन् ।

उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाउन डा. भट्टराई माइतीघर पुगेका हुन् ।

सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।

बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।

सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा उनीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई जारी राखेका हुन् ।

सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।

सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।

राज्य व्यवस्था समिति सभापति बन्न न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदका लागि मनोनयन दर्ता गराउन कांग्रेस सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी छन् । न्यौपानेले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी हुन् ।

मंगलबार नै उनको दल नेपाली कांग्रेसले उनलाई रिक्त राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेको थियो ।

यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको दुवै समितिमा सभापति बनाउनपर्ने भएपछि बिहान पार्टी सभापति शेरबहादुर देउवाले बैठक राखेर न्यौपानेलाई अघि सारेका थिए ।

सत्ता गठबन्धनको भागबन्डा भएका कारण प्रमुख प्रतिपक्ष माओवादीले उम्मेदवारी नदिने निर्णय गरेको छ । अन्य सांसदले उम्मेदवारी दर्ता नगराए उनी सर्वसम्मत रूपमा सभापति चयन हुने छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समितिको रूपमा रहेको सुनुवाइ समितिमा भने अब नयाँ अध्यक्ष छान्नुपर्ने छ ।

एमालेले तय गर्‍यो विधान महाधिवेशनको नारा

काठ्माण्डौँ । एमालेले दोस्रो विधान महाधिवेशनका लागि नारा तय गरेको छ । निर्णयअनुसार ‘राष्ट्रिय  शक्ति निर्माण हाम्रो संकल्पः समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा तय गरेको हो ।

एमालेको विधान महाधिवेशन २० भदौदेखि सुरु हुँदै छ ।

दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध दायर मुद्दाको पेसी तोकियो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा दायर मुद्दामा पेशी तोकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बलराम लम्सालको इजलासमा मंगलबार सुनुवाइका लागि पेशी तोकिएको छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भएर बिर्तामोड भएका रामचन्द्र मैनालीलाई प्रतिवादी बनाइएको छ । रामचन्द्र मौनली फरार छन् ।

हरिचन्द्र फुयललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको आरोप छ ।

फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेको आरोप छ । प्रसाईंसहितका आरोपीहरुलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाही गर्न मागदाबी गरिएको छ ।

राज्य व्यवस्था समिति सभापतिमा कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसले न्यौपानेलाई पठाउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’का विवादमा मुछिएपछि यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिको उम्मेदवारी दर्ता मंगलबार हुने कार्यक्रम छ।

संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो।

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी

काठमाडौं। सेवाग्राहीलाई सहज ढंगले प्रशासनिक सुविधा पुर्‍याउन सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी प्रस्ताव प्रशासन समितिमा पठाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार समितिमा छलफलपछि कार्यान्वयनको चरण अघि बढाइनेछ।

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमार्फत हुने सेवा वितरणलाई सरल र प्रभावकारी बनाउन सरकार एकैपटक ठूलो संख्यामा नयाँ कार्यालय स्थापना गर्न लागेको हो।

मन्त्रालयका अनुसार सेवाग्राहीको जनसंख्या, भौगोलिक अवस्था र पहुँचमा देखिएका असमानतालाई सम्बोधन गर्न यो कदम चालिएको हो। मन्त्रालयले आगामी दिनमा थप जिल्लामा पनि यस्तै कार्यालय स्थापना गर्ने योजना बनाएको जनाएको छ।

नोटबन्दी अघिका भारतीय नोट प्रयोग नगर्न राष्ट्र बैंकले गरायो सचेत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतमा भएको नोटबन्दीभन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न सचेत गराएको छ।

मंगलबार एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सोभन्दा अगाडिका नोट राख्न, कारोबार तथा ओसारपसार गर्न प्रतिबन्धित रहेको भन्दै सचेत गराएको हो । सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दीको घोषणा गर्दै पुराना ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाइएको थियो ।

कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने र सोभन्दा धेरै ल्याउनु परेमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने अनिवार्य व्यवस्था समेत बैंकले सम्झाएको छ ।

टी-२० अभ्यास खेलमा नेपालद्वारा एसीटी ४१ रनले पराजित, सन्दीपले लिए ५ विकेट

काठ्माण्डौँ । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जीत निकालेको छ । मंगलबार बिहान लेगस्पिनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि १७८ रनको लक्ष्य पछ्याएको टेरीटरी १७ ओभर २ बलमा १३६ रनमा समेटियो ।

४ ओभर बलिङ गरेका सन्दीपले ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । करण केसीले दुई तथा रुपेश सिंह र कुशल भुर्तेलले एक/एक विकेट लिए । टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए । जाक के‌घले २५ रन बनाए । काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

नेपालले आजै दोस्रो टी-२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।

टप एन्ड टी-२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

खोज्नुहोस