खुटिया खोलामा एकैसाथ अस्ताए जुम्ल्याहा दाजुभाइ

कैलाली १२ भदौ ।
कैलालीको गोदावरी नगरपालिका–९, सेहरी झोलुंगे पुल नजिक खुटिया खोलामा बिहीबार दिउँसो जुम्ल्याहा दाजुभाइको ज्यान गएको खुलेको छ । साथीको जन्मदिन मनाउन गएका सात किशोरमध्ये चार जनाले खुटिया खोलामा डुबेर ज्यान गुमाएका थिए ।

मृतकमध्ये धनगढी उपमहानगरपालिका–४ का १६ वर्षीय जेफ भण्डारी र जाबेज भण्डारी जुम्ल्याहा हुन् । जोयल भण्डारी र क्रान्ति भण्डारीका जुम्ल्याहा दुई सन्तान थिए । दुबै जनाको जीवन पनि एकैसाथ खुटिया खोलामा अस्तायो । यो असह्य पीडाले भण्डारी परिवारमात्र होइन, पूरै धनगढी शोकमा डुबेको छ ।

प्रहरीको विवरण अनुसार भण्डारीसँगै मृत्यु हुनेमा धनगढी–४ तारानगरका डिल्लीराज जोशी र हरिप्रिया जोशीका १७ वर्षीय छोरा सक्षम जोशी, धनगढी–५ जाइका बलिराम चौधरी र सोनदेवी चौधरीका १५ वर्षीय छोरा प्रतीक चौधरी रहेका छन् ।

मृत्यु भएकाहरु मध्ये प्रतिक, सक्षम जोशी र जावेज वाल्मीकि इन्टरनेसनल धनगढीमा र जेफ ग्यालेक्सी उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए । जेफ र जाबेज जुम्ल्याहा दाजुभाई हुन् ।

घटनास्थलमै पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार दिउँसो साढे १२ बजेतिर किशोरहरू नदीमा पसेका थिए । खोलाको बेगसँगै विपत्तिमा परेका उनीहरूको शव स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा करिब चार घण्टापछि, अपराह्न ४ बजे फेला परेको थियो ।

डीएसपी चन्दले भने, ‘सातै जना साथीले जन्मदिनको रमाइलो गर्दै खाना खाएपछि वारिपट्टी फर्कने क्रममा डुबेका हुन् । एक जना डुबेपछि बचाउन खोज्दा अन्य तीन जनाको पनि ज्यान गएको देखिन्छ । बाँकी तीन जना भने पारिपट्टी नै रोकिएका कारण सकुशल रहे ।ु

समूहमा सहभागी सात जनामध्ये नवीन डडाल, युवराज कुँवर र आकाश मल्ल भने सकुशल रहेका छन् । उनीहरूलाई घटनास्थल नजिकै अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव अहिले सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परीक्षणपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

आशिका तामाङलाई पाँच दिनको जेल सजाय

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिनको कैद सजाय तथा पाँच सय रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको छ । तामाङसंगै प्रतिवादी बनाइएका शरण तिरुवालाई पनि जिल्ला अदालत भक्तपुरले सोही सजाय सुनाएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश विश्वनाथ भट्टराईको इजलाशले विहिवार साँझ उक्त सजाय सुनाएको हो । अदालत स्रोतले दिएको जानकारी अनुसार साँगास्थित सूर्य विनायक नगरपालिका–९ र १० जोड्ने झोलुङ्गे पुल तर्दा लाग्ने २० रुपैयाँ शुल्कको विरोध गर्दै रसिद बुक च्यातिदिएको घटनामा उनीविरुद्ध मुद्धा परेको थियो । उनीविरुद्ध प्रहरी वृत्त जगातीमार्फत ‘आपराधिक उपद्रव’ गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।

आशिकाले पुल शुल्कप्रति आपत्ति जनाउँदै २०८१ असोज ४ गते सामाजिक सञ्जालमार्फत विरोध गर्दै भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनले उक्त शुल्क असुलीप्रति आक्रोश व्यक्त गर्दै रसिद बुक समेत जलाएको आरोप लाग्यो । यिनै घटनाक्रमको आधारमा सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको थियो । घटनापछि पक्राउ परेकी आशिकालाई जिल्ला अदालत भक्तपुरले २०८१ माघ १८ गते प्रारम्भिक सुनुवाइपछि २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

त्यसयता चलिरहेको मुद्दामा बिहीवा जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले अन्तिम फैसला सुनाउँदै उनलाई उक्त सजाय सुनाएको हो । यसअघि उनी काठमाडौं प्रहरी परिसरमा पनि अभद्र व्यवहारसम्बन्धी अभियोगमा थुनिएकी थिइन् । त्यहाँबाट १० हजार धरौटीमा छुटेपछि भक्तपुरमा मुद्दा अघि बढाइएको थियो ।

 

भूमि विधेयकको विरोधमा जसपाको प्रदर्शन

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि विधेयकको विरोधमा बिहीबार रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ।

जसपा नेपालले भूमिसम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भई तराई-मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताएको छ ।

पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।

सिद्धार्थनगर नगरपालिका-४ स्थित रामजानकी हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी हुँदै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भएको पार्टीको रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले बताए ।

विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए । उनले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रूपमा अगाडि बढ्ने बताए । उनले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप लगाए ।

त्यस्तै, पार्टीको केन्द्रीय सदस्य निलम यादवले भूमि विधेयक जनताको पक्षमा नरहेको दाबी गरे । उनले जसपा नेपालले भूमि विधेयक पारित हुन नदिएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको बताए।

पार्टीको केन्द्रीय सदस्य रीता यादवले वर्तमान सरकारले वनजंगल विनाश गरेर मधेशलाई मरुभूमि बनाउन खोजेको आरोप लगाए । जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष रामअवतार यादवले जनताको विपक्षमा हुने कुनै पनि कदम चालिए पार्टीलाई स्वीकार्य नहुने बताए। पार्टीको लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले देश र जनताको हितमा नै जसपा नेपाल अगाडि बढेको बताए।

साथीको जन्मदिन मनाउन गएका थिए खुटियामा मृत फेला परेका चार किशोर

धनगढी  । कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खुटिया खोलामा डुबेर मृत्यु भएको छ। गोदावरी नगरपालिका–९, शहरी झुलोंगे पुल नजिक बिहीबार दिउँसो नुहाउने क्रममा उनीहरूको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी रहेका छन्।

“साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो। खोलामा नुहाउने क्रममा उनीहरू हात समातेर तर्न खोज्दा ४ जना गहिरो भागमा फसे। हात छुटेपछि अन्य तीन जना बचे,” डिएसपी चन्दले भने। उनका अनुसार किशोरहरू दिउँसो साढे १२ बजे वेपत्ता भएका थिए भने स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा खोजी गर्दा उनीहरूको शव अपराह्न साढे ४ बजे फेला परेको हो।

उनीहरू सँगै गएका १७ वर्षीय नबिन डडाल, १७ वर्षीय युवराज कुवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल रहेका छन्। मृतकहरूमध्ये तीन जना बाल्मिकी इन्टरनेशनल स्कुल र एक जना ग्यालेक्सी स्कुलमा कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय शोकमा डुबेका छन ।

खुटिया खोलामा वेपत्ता ४ किशोर मृत अवस्थामा फेला

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खुटिया खोलामा वेपत्ता युवा मृत अवस्थामा फेला परेका छन् । नुहाउन गएका सात जना किशोरमध्ये चार जना वेपत्ता भएका थिए।

धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेका हुन् । उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिएका छन्।

 

अमेरिकी चर्चमा बन्दुकधारीको आक्रमणबाट २ विद्यार्थीको मृत्य, १७ जना घाइते

अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

शहरका प्रहरी प्रमुख ब्रायन ओहाराले पत्रकार सम्मेलनमा आक्रमणकारीले चर्चमा गोली प्रहार गरेको पुष्टि गरेका छन् । मिडवेस्टर्न राज्य मिनेसोटाको सबैभन्दा ठूलो शहर मिनियापोलिसको एक सम्बद्ध क्याथोलिक विद्यालयको छेउमा उक्त चर्च अवस्थित छ ।

‘८ र १० वर्षका दुई साना बालबालिकाको बेञ्चमा बसिरहेको अवस्थामा मृत्यु भएको थियो’, ओहाराले भने, ‘१४ बालबालिकासहित १७ जना घाइते भएका छन् ।’ दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

बन्दुकधारीले राइफल र पेस्तोल प्रहार गरेपछि पार्किङस्थलमा आत्महत्या गरेको प्रहरी प्रमुखले बताएका छन् । गोली हान्ने व्यक्तिको लामो आपराधिक इतिहास नभएको र उनले एक्लैले काम गरेको अनुमान गरिएको छ । आक्रमणकारी अन्दाजी २३ वर्षको भएको बताइएको छ ।

अनुसन्धानका लागि संघीय विभागका निर्देशक काश पटेलले आक्रमणकारी ‘रोबर्ट वेस्टम्यान’ रहेको बताए ।

नेपाल साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि पराजित

काठमाडौं : नेपाल साउथ अस्ट्रेलियासँग दोस्रो खेलमा पनि पराजित भएको छ। अष्ट्रेलियामा आज भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल साउथ अष्ट्रेलियासँग ३ रनले पराजित भएको हो।

पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले १६० रन बनाएको थियो। १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १५७ रन बनायो।

रुपेश सिंहले ३७ रन र लोकेश बमले ३२ रन बनाए पनि नेपालले खेल जित्न सकेन।

पहिला ब्याटिङ गरेको साउथ अस्ट्रेलियाका रायन किङले ३९ रन, डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले समान २९ रन बनाएका थिए।

नेपालका लागि करण केसी, शाहब आलम र रुपेश सिंहले २–२ विकेट लिए भने कुशल भुर्तेल र करण केसीले १–१ विकेट लिए।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली आजै भएको आफ्नो पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो।

यसअघि नेपालले मंगलबार भएका दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो।

३ महिनामा २४ लाख इम्बोस्ड नम्बर प्लेट जोड्ने सरकारको लक्ष्य

काठमाडौं : मंसिर ११ भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको लक्ष्य हो । साना तथा ठूला गरी करिब ४० लाख सवारीसाधन छन् । पहिलो चरणमा २५ लाखमा इम्बोस्ड जडान गर्ने सरकारले जनाएको छ ।

०७३ जेठमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी डेकाटुर टाइगर आईटी कम्पनीबीच ५ वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको ९ वर्षमा करिब १ लाख सवारीमा मात्रै इम्बोस्ड जडान भएको छ । अझै २४ लाखमा इम्बोस्ड जडान हुन बाँकी छ । सरकारले थपेको म्याद २०८२ मंसिर ११ सम्म हो । अब बाँकी करिब ३ महिनामा २४ लाख इम्बोस्ड जडान गरिसक्नुपर्ने विभागसँग बाध्यता छ ।

समय कम भएकोले भौतिक मन्त्रालयले असोज १ गतेबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने आशयको सूचना गत साउन ४ सम्म जारी गर्‍यो । असोज १ देखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकोले सबै सवारीधनीहरूले यथाशीघ्र इम्बोस्ड जडान गर्न भनिएको छ । सरकारले इम्बोस्ड नम्बर अनिवार्य गर्न लागेको भन्दै अहिले यसको विरोध भइरहेको छ । कुनै पूर्वाधारबिना नै सरकारकाले इम्बोस्ड लागू गर्न लागेकोमा सर्वसाधरणको गुनासो हो ।

सार्वजनिक यातायातसँग सम्बद्ध संघ तथा महासंघले पनि इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक रूपमा आह्वान गरेका छन् । सरकारले अव्यावहारिक विषयहरू संशोधन नगरेसम्म इम्बोस्ड नम्बर जडान नगर्न आह्वान गरेको हो । जबरजस्ती प्लेट जडान गर्न खोजिए हुने विरोध र दबाबका गतिविधिप्रति स्वयं यातायात मन्त्रालय मातहतका निकाय नै जवाफदेही हुने चेतावनी दिएको छ ।

सर्वत्र विरोधसँगै सरकारले यही भदौ १० गते अर्को सूचना जारी गर्‍यो । सरकारले डिजिटल नेपालको अवधारणालाई आत्मासात गर्दै यातायात क्षेत्रलाई क्रमशः डिजिटालाइज गर्दै जान इम्बोस्ड नम्बर लागू गर्न लागेको सूचनामा भनिएको छ । ‘सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि जिल्ला, प्रदेश तथा मुलुकमा रहेका सवारीसाधनको एकिन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक तथा सडक व्यवस्थापनमा सहयोग पुग्ने, सडक इजाजत सम्बन्धमा पारदर्शी विवरण प्राप्त हुने, सवारी तथा यातायातको आवागमनसमेतलाई थप व्यवस्थित बनाउन योगदान पुग्ने अपेक्षा छ ।’ यातायात व्यवस्था विभागद्वारा जारी विज्ञप्तिमा भनेको छ । इम्बोस्ड नम्बर जडान गर्न अनुरोध गरेको हो, तर असोज १ बाट जडान नगरे जरिवाना गर्ने नभनिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । ‘हामीले अनिवार्य लागू भनेका छैनौं । असोज १ बाट यातायातसम्बन्धी कुनै सेवा लिन जानुपर्‍यो भने यातायात कार्यालयबाट इम्बोसड नम्बर प्लेट लिनु होला भनेका हौं । असोज १ बाट नहाले जरिवाना लाग्छ भनेका छैनौं,’ उनले अन्नपूर्णसँग भने । इम्बोस्ड नम्बर प्लेट लिन झन्झट पनि नभएको र प्रक्रिया पुगे एकै दिनमा नम्बर पाउन सकिने पोखरेलले भने । सवारीको सम्पूर्ण राजस्व तिरेको, बिमा गरेको भौचरलगायत कागजातपछि इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिन सकिन्छ ।
विभागका अनुसार ७ लाख छपाइ गरेर विभिन्न प्रदेशमा पठाइएको छ भने ५ लाख छपाइ भइरहेको छ । इम्बोस्ड नम्बर प्लेटसँगै यसलाई आवश्यक पर्ने पूर्वाधार तयारीको काममा पनि विभाग लागेको महानिर्देशक पोखरेल बताउँछन् ।

सुरुमा १० ठाउँमा डिजिटल सेन्सर प्रविधि (रेडियो फ्रिक्वेन्सी आइडेन्टी फिकेसन –आरएफआईडी) जडान गरिँदै छ । ‘अहिले २ ठाउँ नागढुंगा र नागार्जुन जोडिसकेको छ भने पतलैया र फर्पिङमा जोड्ने तयारी हुँदैछ । बाँकी ६ ठाउँमा विभिन्न प्रदेशहरूमा जडान गरिने छ । पूर्वाधार विकास एकैपटक सबै हुन सक्दैन । सँगसँगै गर्दै जाने हो,’ उनले बताए । आपूर्तिकर्ताले २५ लाख उत्पादन गरेपछि प्रविधि नेपाल सरकारलाई हस्तान्तरण गर्ने र सरकार आफंैले उत्पादन गर्ने योजना सरकारको छ । सुरक्षाका दृष्टिकोणले इम्बोस्ड नम्बर आवश्यक भएको पूर्वसचिव अर्जुनजंग थापा बताउँछन् ।
‘बंगालादेश, भारत, पाकिस्तान, श्रीलंकालगायत दक्षिण एसियाका धेरै देशले सवारीसाधनमा इम्बोस्ड जडान गरिसकेका छन् । चोरी–चकारीलगायतमा सहयोग पनि हुन्छ । तर, इम्बोस्ड नम्बर प्लेट राखिसकेपछिको चाहिने संरचना र पूर्वाधार भने निर्माण हुन सकेको छैन,’ उनी भन्छन् ।

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को मिति २०६७ वैशाख २७ गतेको तेस्रो संशोधनमार्फत इम्बोस्ड नम्बर जडानसम्बन्धी आवश्यक कानुनी आधार तयार भएको हो । आर्थिक वर्ष २०७२÷७३ को बजेट वक्तव्यको बुँदा नम्बर ९२ मा डिजिटल नम्बर प्लेट लागू गर्ने उल्लेख भएको छ ।

२०७२ साउन १० गतेको मन्त्रीस्तरीय निर्णयानुसार विभागलाई यससम्बन्धी खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन भयो । विभागबाट अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान भई २०७३ जेठ १७ गते डेकाटुर टाइगर आईटी कम्पनीबीच इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने सम्झौता भएको थियो ।

इम्बोस्डमा प्रयोग हुने भाषाका सम्बन्धमा २०७४ सालमा नै सर्वोच्चमा रिट परेपछि २ वर्ष अन्तरिम आदेशका कारण यसको छपाइ हुन सकेन । भाषाका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट सम्झौतामा उल्लेख भएबमोजिम अंग्रेजी लिपि प्रयोगमा कुनै संवैधानिक र कानुनी त्रुटि नदेखिएको भनी २०७६ मंसिर २७ गते फैसला भई रिटहरू बदर भयो । सर्वोच्चले फैसला गरेको पनि करिब ५ वर्षपछि २०८१ असोज ६ गते भाषाको विषयमा सम्झौतामा उल्लेख भएअनुसार नै अंग्रेजी लिपिको प्रयोग गर्ने मन्त्रीस्तरीय निर्णय भएको हो । तर, आपूर्तिकर्तालाई दिएको अवधि २०७८ मा नै सक्किएपछि कसरी अघि बढ्ने भन्नेमा नै सरकार अनिर्णीत बनेको पूर्वसचिव अर्जुनजंग थापा बताउँछन् ।

विभाग र आपूर्तिकर्तासँग भएको सम्झौताको सर्तमा खाली नै इम्बोस्ड नम्बर प्लेट छापेर पनि आपूर्तिकर्तालाई सरकारले रकम भुक्तानी गर्नुपर्ने व्यवस्था छ । सरकारको अलमलपछि आपूर्तिकर्ता कम्पनीले पनि खाली नम्बर प्लेट छाप्ने दबाबका बीच सरकारले सोही कम्पनीलाई म्याद थपेको थापाको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि २०८१ असार २४ गते विभाग र आपूर्तिकर्तालाई काम सुरु गर्न ताकेता पनि गरेको छ । यस कार्यलाई थप व्यवस्थापन गर्न विभागबाट मिति २०८१ फागुन १९ गते सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ जारी गरिएको छ ।

इम्बोस्ड जडान गर्न कति लाग्छ खर्च ? 
२०७७ साउन १ देखि दुईपांग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौंमा रहेको ग्लोबल आईएमई बैंकको शाखामा २५ सय रुपैयाँ, अन्य सवारीका हकमा यातायात व्यवस्था कार्यालय (साना/ठूला सवारी) एकान्तकुना, ललितपुरको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तीनपांग्रे सवारीका लागि २९ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, चारपांग्रे साना तथा मझौला सवारीका लागि ३२ सय र ठूला सवारीका लागि ३६ सय इम्बोस्ड नम्बर प्लेटबापतको राजस्व जम्मा गर्नुपर्नेछ ।

युवाको उमेर अब १८ देखि ३५ वर्षसम्म कायम हुने

काठमाडौ‌ं ।  युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो । राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताए ।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ बर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उनको भनाइ छ । संयुक्त राष्ट्रय सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतमा १५ देखि २४ बर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० बर्ष हुने बताए । “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ,” उनले भने ।

प्रत्येक पाँचरपाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० बर्षपछि नीति संशोधन गरिएको हो ।

नेपाल ʻएʼलाई आसामले दियो १९१ रनको लक्ष्य

काठमाडौं : भारतको आसामको राज्य टिमले नेपाल ʻएʼलाई १९१ रनको लक्ष्य दिएको छ। आज बिहान गुवाहाटीमा भएको खेलमा २० ओभरमा ८ विकेट गुमाएर आसामले १९० रन बनाएको हो।

नेपालका लागि आकाश चन्दले ३, विवेक यादव र कमलसिंह ऐरीले २–२ विकेट लिँदा भने आदिल आलमले १ विकेट लिए।

आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाए। त्यस्तै रोहित सेनले २४, आकाश सेनगुप्ताले २४, अभिनव चौधरीले २६ रन बनाए।  नेपाल ʻएʼ टिम र आसामको राज्य टिमबीच आजदेखि पाँच खेलको टी–२० सिरिज खेल भएको हो।

विश्वकै सबैभन्दा अग्लो पुलमा ९६ ट्रक राखेर भारवहन परीक्षण

काठमाडौं- चीनको बिपान नदीमाथि बनेको विश्वको सबैभन्दा अग्लो पुलको भारवहन परीक्षण गरिएको छ । चीनको गुइझोउ प्रान्तमा बनाइएको हुआजियाङ ग्रान्ड क्यान्यन पुलको उद्घाटन अघि अन्तिम स्ट्रेस परीक्षण गरिएको हो ।

चाइना डेलीका अनुसार पुलमा ५ दिन (अगस्ट २१–२५) सम्म कडा स्थिर लोड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कुल ३ हजार ३६० मेट्रिकटन तौल भएका ९६ वटा भारी ट्रकहरू पुलमा राखिएको थियो ।

४०० भन्दा बढी सेन्सरहरूले पुलको मुख्य फैलावट टावर, केबल र सस्पेन्डरहरूमा हुने सानोभन्दा सानो हलचलको पनि निगरानी गरेका थिए ।

बिपान नदीमाथि ६२५ मिटर उचाइमा निर्माण गरिएको यो पुल विश्वको सबैभन्दा अग्लो र पहाडी क्षेत्रमा सबैभन्दा लामो दुरीमा फैलिएको यो पुलको कुल लम्बाइ २ हजार ९०० मिटर छ ।

यो पुल आगामी सेप्टेम्बरदेखि सञ्चालनमा आउनेछ । यस पुलले लिउझी र अनलोङ बीचको यात्रा समयलाई २ घण्टाबाट घटाएर २ मिनेटमा झार्नेछ ।

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा बिहीबार सूचनाका अनुसार  बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतकार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए ।

उनले भने, ‘कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारण मर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।’

विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझैसम्म पूर्णरूपमा अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ ।

पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।

तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।

‘रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,’ विभागको तथ्याङ्कमा उल्लेख छ,’दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडकखण्ड पूर्ण रूपक अवरुद्ध भएको छ ।’

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच भेटवार्ता, चीनसंगको व्यापारबारे छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । बिहीबार अर्थमन्त्री पौडेल र उपमन्त्रीबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।

दोस्रो अभ्यास खेलमा नेपाललाई १६१ रनको लक्ष्य

काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो।

साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले समान २९ रन बनाए । नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए ।

यसअघि आजै विहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाउँदै प्रधानमन्त्रीको सचिवालयले काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले भन्दै नभनेको ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषय स्वार्थबाट प्रेरित भई बाहिर ल्याइएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनमा भएको क्षति, हाल पार्टीले अङ्गीकार गरेको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गर्दै आएका कामबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।

अध्यक्ष ओलीले ‘पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान अरू नेताले नगरेका र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर ‘मिडिया’ र पार्टीका अन्य नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ । केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन,’ अध्यक्ष ओली भनाइ प्रस्तुत गर्दै प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग

काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ ।  सरकारले  राजपत्रमा सूचना प्रकाशित गर्दै  नेपाली सेनालाई भारतबाट २ करोड ४० लाख बराबरका ६ वटा लाइट स्ट्राइक भेहिकलमा सहयोग भएको उल्लेख गरेको छ ।

यसको लागि  भन्सार छुट दिन सूचना समेत निकालेको हो । यस्ता भेहिकल  पैठारी गर्दा नेपाल सरकारले पूर्ण भन्सार महसुल र अन्य शुल्कहरूमा छुट दिएको छ ।

रुबी हत्यामा संलग्न भनिएका पासवानको निधन

काठमाडौं- रुबि साहको हत्यामा साहको हत्या संलग्न रहेको आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको भदौ ११ गते मृत्यु भएको छ । जलेको अवस्थामा प्रक्राउ गरिएको उनलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको थियो । उनलाई २ ः२४ बजे अस्पताल पुर्याइएको र साझ ६ बजेर १० मिनेट जादा उनको मृत्यु भएको अस्पतालले जनााएको छ ।

रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।

सरकारले १८ भदौलाई तोक्यो सामाजिक सञ्जाल अनिवार्य सूचीकरण हुने औपचारिक म्याद, नभए प्रतिबन्ध

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्महरू अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने म्याद बिहीबारदेखि लागु हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले सात दिने म्याद सूचना निकालेको हो ।

९ भदौको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सात दिन भित्र मन्त्रालयमा अनिवार्यरूपमा सूचीकरण गर्नुपर्ने निर्णय गरेको थियो । ९ गते बसेको बैठकको निर्णय सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका थिए । उनले तोकिएको समयभित्र सूचीकरणमा नआउने वा सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः निष्क्रिय गराइने बताएका थिए ।

त्यसपछि सञ्चार मन्त्रालयले बिहीबार औपचारिक रूपमा त्यससम्बन्धी सूचना जारी गरेको हो । जसमा सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित निकायमा सूचीकरण गर्न/गराउन सरकारको नाममा निर्देशनात्मक दिएको भन्दै १८ भदौभित्र अनिवार्य सूचीकरणमा आउन आह्वान गरिएको छ ।

यस्तै, मन्त्रालयले उल्लिखित अवधिभित्र सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपाल भित्र सम्पर्क बिन्दु (Point of Contact), आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्न समेत भनेको छ ।

मन्त्रालयले तोकिएको समय भित्र सूचीकरण नगर्ने वा त्यस प्रयोजनका लागि सम्पर्कमा नआउने प्लेटफर्महरूलाई क्रमशः: नेपाल भित्र निष्क्रिय गराउने चेतावनी दिएको छ । सूचीकरण गरेमा सोही क्षणदेखि पुन: सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा तीन विकेटको हार व्यहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

साउथ  अस्ट्रेलियाका  विन्टरले ३६ रन बनाए । होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका भीम सार्कीले ३२ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए ।

साउथ अस्ट्रेलियाका थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई विकेट लिए । म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।

नेपालले आजै साउथ अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्ने तालिका छ । गएको मंगलबार नेपालले दुई अभ्यास खेलमा क्रिकेट एसीटीविरुद्ध क्रमशः ४१ र ६ विकेटको जित निकालेको थियो ।

रौतहटकी रूबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रौतहटमा २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। रौतहट प्रहरीले आरोपी पासवानलाई बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएको थियो।  उपचारका क्रममा बुधबार अपराह्न पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले सेतोपाटीलाई जानकारी दिए।

रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनाका आरोपी पासवान जलेको अवस्थामा फेला परेका थिए। हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए।

पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो। उनले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए। ‘मैले नै हत्या गरेको हुँ भनेका छन्,’ रौतहट प्रहरीले भनेको थियो। शरीरका विभिन्न भाग जले पनि पासवान बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए।

गत शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो।

नेतृत्वविहीन सेती प्रादेशिक अस्पताल, नीतिगत निर्णय प्रभावित

धनगढीः सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन हुँदा अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ। अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नभएको हो।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिमा नहुँदा अस्पतालबाट नितिगत रुपमा समस्या आएको मौखिक रुपमा पटक पटक जानकारी आएको बताए। नौ वटै जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने काम केही दिनभित्र हुने उनले बताए।

अस्पताल नेतृत्वविहीन बनेपछि प्रशासनिक सेवा भने सञ्चालनमा छ तर नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए। नीतिगत निर्णय र समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने हो, समिति नहुँदा त्यसबाट गरिनुपर्ने काम प्रभावित भएका बताए।

अध्यक्ष अभावमा नियमित बैठक, कर्मचारी भत्ता वितरण, र करार कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत चार महिनादेखि नेतृत्वविहीन अवस्थामा छन्। त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ । अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न कठिनाइ भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताए।

भारतले उपहार दिएको मुर्रा राँगो ‘रोहित’ मर्‍यो

कास्की  : भारतले २१ महिनाअघि उपहार दिएको १५ मध्ये एउटा मुर्रा राँगो मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा रहेको मुर्रा गत साउन ३० मा भ्यागुते रोगका कारण मरेको हो ।  उक्त मुर्रा साउन १७ देखि बिरामी भएको र उपचारकै क्रममा साउन ३० गते साँझ ६ बजे मरेको कार्यालयका सूचना अधिकारी डा. महेन्द्र मल्लले बताए । उनका अनुसार यो मुर्राको नाम ‘रोहित’ राखिएको थियो ।

भ्यागुते रोग पशुमा देखिने खतरनाक सरुवा रोग हो । यो रोग पास्चुरेला मल्टोसिडा नामक जीवाणुका कारण हुन्छ । आहारा, पानी, झिंगा, लामखुट्टे, किर्ना, उपिया आदिको टोकाइबाट निरोगी पशुमा यो रोग सर्छ । भ्यागुते रोग लागेका पशुमा उच्च ज्वरो आउने, घाँटी र हृयाकुला सुनिने, घाँटीबाट घ्यार–घ्यार आवाज आउने, आँखा रातो हुनेजस्ता समस्या देखिन्छन् । संक्रमण बढेर फोक्सोमा पुगेपछि त्यसको असरले बढीमा तीन दिनमा पशुको मृत्यु हुन्छ ।

लक्षण देखिएलगत्तै छुट्टै क्वारेन्टाइनमा राखिएकाले अन्य राँगा र पशुमा रोग नसरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले बताए । उनकाअनुसार यो राँगोको मृत्युले वीर्य उत्पादनमा क्षति पुग्नेछ । ‘यो ल्याइएकै वीर्य उत्पादन गर्न हो । हामीले यसबाट वीर्य संकलन गरेका थियौं,’ उनले भने, ‘३ हजार डोज वीर्य स्टक भएकाले यसको सन्तान उत्पादनमा समस्या त हुँदैन । तर नियमित वीर्य उत्पादनमा क्षति हुने भयो ।’

 

भारतले दिएका १५ मध्ये ७ वटा मुर्रा ०८० मंसिरमा पोखरा ल्याइएका थिए । ५ वटा लहान र ३ वटा बाँकेस्थित राष्ट्रिय पशु प्रजनन्, कार्यालयमा पठाइएका थिए । पोखरा ल्याइएकामध्ये दुई वटाबाट गत वर्षदेखि वीर्य संकलन सुरू गरिएको थियो । गत साउन ३० मा मरेको मुर्रा वीर्य संकलन गरिएका तिनै दुईमध्ये एक हो ।

बाँकी पाँच मुर्रा वीर्य उत्पादनका लागि तालिमकै चरणमा रहेको गौतमले बताए । मृत्यु भएको राँगोको पोस्टमार्टमपछि प्रक्रिया पुर्‍याएर अन्त्येष्टि (गाडिएको) गरिएको उनले सुनाए । राँगो मरेको विषय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हालैको मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए ।

बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि होडबाट बाहिरियो

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेको छ । योसँगै नेपाल उपाधि होडबाट पनि बाहिरिएको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल ४-१ गोलअन्तरले पराजित भएको हो । बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्‍याट्रिक गरिन् ।

पहिलो हाफको ३८औं र ४५औं मिनेटमा बंगलादेशले गोल गरेको थियो भने इन्जुरी समयमा नेपालले गोल फर्काएपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।

दोस्रो हाफमा बंगलादेशले थप २ गोल गर्‍यो । ७३औं मिनेट र ८७औं मिनेटमा बंगलादेशले गोल गर्दै ४-१ को जित निकाल्न सफल भयो ।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराउँदा तेस्रो खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको थियो ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।

नेपालले यसपछि भारत र भुटानसँग खेल्नेछ ।

सुदूरपश्चिममा प्रदेश सभा सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

कैलाली । सुदूरपश्चिम प्रदेशमा एउटा विधेयक प्रमाणीकरण गरिएको छ। बुधवार प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका हुन्।

२०७५ सालदेखि नै प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा थियो। असार १३ गते शुक्रवार बसेको छैटौँ अधिवेशनको १३औँ बैठकले यसलाई संशोधन गरेको थियो।

असार २३ गते सभामुखले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि भदौ १० गते प्रदेश प्रमुख कार्यालय पुगेको थियो। आवश्यक अध्ययनपछि बुधवार प्रदेश प्रमुखले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।

विधेयक प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित हुने छ र ऐनको रूपमा कार्यान्वयन हुनेछ।

बैतडीमा जीप दुर्घटना, १२ जना घाइते ३ को अवस्था गम्भीर

बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाकोे दशरथचन्द नगरपालिका– ४ शाहीलेक नजिक जीप दुर्घटना भएको हो। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले बताए।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका– ११ ग्वालेकका ५० वर्षिया हरिना जोशी, दशरथचन्द नगरपालिका– ६ का २१ वर्षिय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका– ४ का ३४ वर्षिय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका– ४ का २१ वर्षिय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका– ६ का २२ वर्षिय भुपेश जोशी, पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षिया हिरा भट्ट, पुर्चाैँडी नगरपालिका – ५ का १७ वर्षिय रिकेश पार्कि रहेका छन्।

यस्तै पुर्चाैडी नगरपालिका– ५ का २८ वर्षिय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चाैडी नगरपालिका–४ का २३ वर्षि य जनक भट्ट, पाटन नगरपालिका– ९ का १८ वर्षिय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका– ९ का २१ वर्षिय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षिय डम्मर दत्त भट्ट घाइते भएको बडूले बताए।

जीपमा चालक सहित जम्मा १३ जना सवार थिए । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भिर भएपनि अरुको अवस्था भने सामान्य रहेको बडूले बताए। चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारण बुझिरहेको प्रहरी रिक्षिक बडुले बताए । दुर्घटनाको कारण भने खुलेको छैन्।

युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ऐन महर

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर एक युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेको खुलेको छ ।

प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थीका अनुसार, ५ भदौमा हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी आएको थियो । त्यसपछि सोधपुछका लागि भन्दै महरलाई बोलाइएको थियो ।

प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट ९ भदौमा पक्राउ अनुमति लिइसकेको थियो । त्यसपछि बुधबार कार्यालय पुगेका उनी पक्राउ परेका हुन् ।

एसपी अवस्थीका अनुसार, महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्नुपर्ने जाहेरीमा उल्लेख छ । यो दफामा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने भनिएको छ ।

उपदफा (१) मा भनिएको छ, ‘कम्प्युटर इन्टनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धीलाई खलल पार्नै किसिमको सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सामाजिक सञ्जालमा लाइभ बसेर पीडितको चरित्र हत्या गरेको आरोप महरमाथि छ । उनीमाथि केहीअघि एक महिलाले बलात्कारको आरोप समेत लगाएकी थिइन् । तर, प्रहरीले उजुरी लिन मानेको थिएन । पछि उच्च अदालत, पाटनले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

यद्यपि, त्यही बीचमा पीडित भनिएकी युवती समेत विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेकी थिइन् ।

गत वर्ष रोकिएको बाघ र गैँडा गणना मङ्सिरमा गरिने

चितवन : गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ। यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो।

विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार-चार वर्षमा गणना गरिँदै आएको छ। सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ। उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ। करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए। एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ। गैँडा गणना गर्न एक महिना लाग्छ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ। बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले १८ लाख रकम विनियोजन गरेको छ, यसका लागि एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्छ। कँडेलले गैँडा गणनाका लागि १८ लाख रुपैयाँ विनियोजन गरेको बताए। गैँडा गणना गर्न दुई करोड बढी खर्च लाग्ने गर्दछ। बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राख्ने गरिन्छ। त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ। बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए। हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक-फरक हुने गर्छन्।

गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ। नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो। सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए। सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिव १०० को हाराहारीमा झरेको थियो। नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ।

सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो। नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैँडा फेला परेको तथ्यांक छ।

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महरविरुद्ध विद्युतीय अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

खोज्नुहोस