इजरायली हवाई आक्रमणमा यमनका हुथी प्रधानमन्त्रीको मृत्यु

सना, यमन – ३० अगस्ट ।
इजरायलले यमनको राजधानी सनामा गरेको हवाई आक्रमणमा हुथी सरकारका प्रधानमन्त्री अहमद अल रहावी मारिएका छन्।

आक्रमणको समयमा सरकारको समीक्षा बैठक चलिरहेको थियो। आक्रमणमा अन्य मन्त्रीहरू पनि घाइते वा मारिएको बताइएको छ।

इजरायली सेनाले सेना शहरमा “हुथी आतंककारी शासनको सैन्य लक्ष्य” मा आक्रमण गरिएको जनाएको छ ।

ईजरायली सेनाको आक्रमण सटीक गुप्तचर सूचनामा आधारित थियो। यो आक्रमण हुथी नेतृत्व विरुद्धको सबैभन्दा ठुलो कारवाही मानिएको छ।

हुथी समूहले हालका महिनाहरूमा रेड सागर र इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको थियो, जसको जवाफस्वरूप इजरायलले आक्रमण तीव्र बनाएको छ।

प्रधानमन्त्री रहावीको मृत्यु हुथीहरूको उच्च नेतृत्वमा सबैभन्दा ठूलो क्षति मानिएको छ। ईजरायली आक्रमणमा प्रधानमन्त्री रहावीको मृत्यु भएको हुथीले पुष्टि गरेको छ ।

उनको मृत्युपछि उपप्रधानमन्त्री मोहमद मोफ्ताह लाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ।

गायिका चाँदनी मल्लको “खोली रैशले” देउडा गीत सार्वजनिक

मेरिल्याण्ड, ३० अगष्ट
गायिका चाँदनी मल्लले “खोली रैशले” बोलको देउडा गीत सार्वजनिक गरेकी छन् ।

अमेरिकाको भर्जिनिया निवासी चर्चित देउडा गायिका मल्लले गौरा पर्वको अवसर पारेर आफ्नो अफिसियल युट्युब च्यानलमार्फत नयाँ देउडा सार्वजनिक गरेकी हुन् ।

अमेरिकाको भर्जिनिया निवासी कलाकार तथा चर्चित डेउडा गायिका चाँदनी मल्लले गौरा पर्वको अवसर पारेर “खोली रैशले” बोलको डेउडा गीत बजारमा ल्याएकी हुन् ।

गीतमा गायक तथा सर्जक महेन्द्र शाही रास्कोटी, शंकर सिंह बिष्ट, चाँदनी मल्ल र आशा शाहीको स्वर रहेको छ। गीतका शब्दहरू महेन्द्र शाही र शंकर सिंह बिष्टले लेखेका हुन्।

“खोली रैशले” अमेरिकामा रेकर्ड गरिएको पहिलो देउडा गीत भएको दावी गरिएको छ । मल्लले देउडा गायनसंगै दर्जनौ म्युजिक भिडिओमा अभिनय गरेकी छन् । उनले “खोली रैशले” देउडाको म्युजिक भिडिओ पनि चाँडै बजारमा ल्याउने योजना रहेको सुनाईन् ।

अष्टे«लियाको ब्रिसबेनमा गौरा पर्व मनाईदै, चक्र बम र टंक तिमिल्सेनाको प्रस्तुति रहने

ब्रिसबेन ३० अगष्ट ।
सुदूर पश्चिमको मौलिक पर्व गौरा अष्टे«लियाको ब्रिसबेनको क्विन्सल्याण्डमा धुमधामसंग मनाईने भएको छ ।

सुदूरपश्चिमेली नेपाली समाज क्विन्सल्याण्डको आयोजनामा सेप्टेम्बर ९ तारेखमा गौरा पर्व मनाईने भएको हो ।

गौरा पर्वका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा सुदूर पश्चिमका चर्चित गायक चक्र बम र टंक तिमिल्सेनाको विशेष सांगितिक प्रस्तुति रहने छ ।

गौरा पर्वका अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा प्रवेश निशुल्क रहेको सुदूर पश्चिम समाज क्विन्सल्याण्डले जनाएको छ ।

समाजले गौरा पर्वमा सहभागी हुन सुदूरपश्चिमेलीसंगै नेपाली समुदायलाई आग्रह गरेको छ ।

गौरा पर्वको मुख्य प्रायोजकका रुपमा अम्पायर ईन्टरनेशनल ब्रिसबेन रहेको छ ।

लिपुलेकमा भारतसँगको सहमतिबारे चिनियाँ राष्ट्रपति सीसँग ओलीले राखे आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाएका छन् ।

‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने निधो गरेको पनि राईले जानकारी गराएका छन् । प्रधानमन्त्री ओली आजै चीनको औपचारिक भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।

एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ । त्यसअघि उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने तय भएको छ ।

आसामले टस जितेर नेपाललाई दियो बलिङको निम्तो

कामठाडौं : आसामले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।  भारतको गुहाटीमा जारी पाँच खेल सम्मिलित टी–२० सिरिजको तेस्रो खेलमा आसामले टस जितेर नेपाल ‘ए’लाई बलिङको निम्तो दिएको हो।

नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो। यस्तै दोस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई ९६ रनले हराएको थियो।

ट्राफिक प्रहरीलाई ३० लाख बराबरको सामाग्री सहयोग

धनगढीः सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामान वितरण गरेको छ।

शनिवार कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रेम शाहीलाई एक कार्यक्रमका बीच सामान हस्तान्तरण गरेका हुन्। जसअन्तरगत डकिङ स्टेशन र भण्डार प्रणाली, प्रिन्टरको साथ ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, २ टन एसी जडान सहित, वौडी वर्न क्यामेरा, म्याजिक लाइट लगायतका सामाग्री सहयोग गरिएको मन्त्री सार्कीले बताए।

उनले भने, ‘हामीले उपलब्ध गराएको सामग्रीलाई ट्राफिक प्रहरीले सही सदुपयोग गर्नुहुनेछ भन्ने आशा लिएका छौ। आगामी दिनमा पनि आवश्यक सामग्री लगायत भौतिक पूर्वाधारहरूको निर्माणका लागि पनि सुदूरपश्चिम सरकार सँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रतिबद्ध छ।’ उक्त सामग्रीलाई ट्राफिक प्रहरीको आवश्यकता अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित ठाउँमा उपलब्ध गराउने छ।

बाजुराको तलगाउँ पहिरोको जोखिममा

बाजुराः लगातारको अविरल वर्षाका कारण पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको छ।

पहिरोका कारण बडीमालिका नगरपालिका–७ जिल्लीको तलगाउँ उच्च जोखिममा रहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए। यही भदौ ६ गते आएको वर्षाका कारण तलगाउँको तलपट्टीबाट पहिरो गएपछि गाउँका २० घर उच्च जोखिममा परेको उनको भनाइ छ। “पहिरोका कारण २० घरमध्ये आठ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उनले भने ।

शुक्रबार वडाध्यक्ष पाध्यायको नेतृत्वमा गएको अनुगमन टोलीले २० परिवार जोखिममा रहेको र आठ परिवार स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको अनुगमन टोली सदस्य तथा वडा सदस्य पार्वती जोशीले बताए। जिल्ला विपद् व्यवस्थापन समिति बाजुराका अनुसार जिल्लामा ५३ बढी बस्ती पहिराको उच्च जोखिममा छन् ।

 

महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायीलगायत सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिने धारणा व्यक्त गरेकी छन् । उनले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य र राजनीतिमा महिलालाई अवसर प्रदान नगरेसम्म समृद्ध नेपालको सपना साकार हुनै नसक्ने विचार व्यक्त गरेकी हुन् ।

‘नारी : शक्ति, समर्पण र सम्मान’ भन्ने मुख्य नारासहित वीरगन्ज उद्योग वाणिज्य संघले शनिबार वीरगन्जमा आयोजना गरेको ‘वृहत् महिला सम्मेलन २०८२’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले अवसरबाट वञ्चित पारिएका महिलालाई निर्णय तहसम्म पुग्ने वातावरण बनाएपछि मात्र मुलुक दिगो समृद्धितर्फ उन्मुख हुने धारणा व्यक्त गरिन् ।

उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन् । साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । वीरगन्ज उद्योग वाणिज्य संघकी महिला उद्यमशीलता समितिकी अध्यक्ष एवं कार्यक्रम संयोजक डा.लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले चुरे क्षेत्रको अत्यधिक दोहनका कारण अहिले तराई–मधेसका जिल्लामा जलसंकट देखा परेको ठोकुवा गरिन् ।

लामो समयदेखि चुरे क्षेत्रका प्राकृतिक स्रोतको दोहनका कारण तराइका जिल्ला मरुभूमिमा रुपान्तरण हुँदै गएको र सर्वसाधारणलाई खानेपानी तथा किसानलाई कृषि प्रयोजनका लागि पानी अभाव भएको उनले स्पष्ट पारिन् । तराईमा देखिएको जलसंकटलाई सरकारले गम्भीरतापूर्वक लिएर चुरेको संरक्षणमा लाग्नुपर्ने सुझाव पनि पूर्वराष्ट्रपति भण्डारीले दिइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष जोस्ना श्रेष्ठले राज्यको नीति नियमदेखि कार्यान्वयन तहसम्म महिलाको सहभागिता भए मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरिन् । उनले महिला उद्यमी भए परनिर्भरता घट्दै जाने भएकाले उद्यममा लागेका महिलालाई सरकारले आफ्ना नीति तथा कार्यक्रममा प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन् ।

जम्मु–कश्मीरमा आकस्मिक बाढी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मु–कश्मीर क्षेत्रमा अत्यधिक वर्षापछि आएको बाढीले कम्तीमा ११ जनाको ज्यान लिइसकेको छ । पछिल्ला दिनहरूमा परेको भारी वर्षाले रामबन र रियासी जिल्लामा बाढीको स्थिति सिर्जना गरेको हो, जसमा ५ वर्षका एक बालक अझै बेपत्ता छन् । स्थानीय आपतकालीन अधिकारीका अनुसार शुक्रबार राति बाढी र पहिरोले ती क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

भारतको मौसम विभागका अनुसार जम्मु र उधमपुरमा २४ घण्टामा २९६ मिलिमिटर र ६२९ मिलिमिटर वर्षा भएको छ, जुन विगतका रेकर्डभन्दा धेरै बढी हो ।

बाढी र पहिरोजस्ताघटनाहरू सामान्यतः जुनदेखि सेप्टेम्बरसम्मको वर्षा याममा हुन्छन्, तर विशेषज्ञहरूले जलवायु परिवर्तन र अत्यधिक निर्माण कार्यका कारण यस किसिमका घटनाहरूको जोखिम बढेको चेतावनी दिएका छन् । हिमालय क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्रका जलवायु विशेषज्ञहरूका अनुसार, अत्यधिक वर्षा र हिमालयका ढल्किएका पहाडहरूमा निर्माण कार्यले बाढीको जोखिमलाई थप बढाएको छ ।

अघिल्लो महिना, १४ अगस्तमा चिसोटी गाउँमा बाढीका कारण कम्तीमा ६५ जनाको ज्यान गएको थियो भने ३३ जना अझै बेपत्ता छन् । ५ अगस्तमा उत्तराखण्ड राज्यको धाराली नगरमा पनि बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको थियो, जसका कारण ७० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।

साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा नेपाल विजयी

काठमाडौँ । कप्तान रोहित पौडेलले अविजित सतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा दुई विकेटले विजयी भएको छ ।

शनिबार भएको अन्तिम अभ्यास खेलमा जितका लागि दुई सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ४४।१ बलमा आड विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितले अविजित एक सय एक रन बनाए ।

उनले एक सय दुई बलमा नौ चौकाको सहयोगमा सतक प्रहार गरेका हुन  । यस्तै सोमपाल कामीले अविजित ३८ रन बनाए  । बलिङमा साउथ अस्ट्रेलियाका लागि मेन्जिजले चार विकेट लिए । म्यानेन्टीले तीन विकेट झारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको थियो । गुलसन झाले ३६ र कुशल भुर्तेलले २८ रन बनाए ।

साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए। यस्तै  दुवित हुगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन जोडे ।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले तीन तीन विकेट लिनुभयो । यस्तै सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले एक एक विकेट झारे ।

नेपाल यसअघि नेपालले साउथ अस्ट्रेलियासँगको दुई वटा टी–२० अभ्यास खेलमा हार खेपेको थियो । नेपाल पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा तीन रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्थानीय क्यापिटल टेरिटोरी ९एसिटी० विरुद्ध दुईै वटा टी–२० अभ्यास खेलमा दुवै जित हात पारेको थियो ।

टप एन्ड टी–२० सिरिज खेल्ने अस्ट्रेलिया पुगेको नेपालले सिरिजपछि अभ्यास खेल खेलेको हो । ११ टोली सहभागी सिरिजका नेपाल समूहचरणबाटै बाहिरिएको थियो ।

नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता

चीन : प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहरमा पुगेका छन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरे।

 

सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउने मुख्यमन्त्रीसमक्ष हिन्दू इकोनोमी फोरमको प्रतिबद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसहितको टोलीलाई हिन्दू इकोनोमी फोरमका प्रतिनिधिहरूले सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउन भूमिका खेल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा हिन्दू इकोनोमी फोरमका प्रतिनिधिहरूले विश्व हिन्दू इकोनोमिक्समार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक पर्यटन क्षेत्रमा लगानी ल्याउन पहल गर्ने बताएका हुन् ।

‘हामी विश्वभर रहेका हिन्दूहरूमार्फत नेपालमा लगानी ल्याउने विषयमा छलफल गरिरहेका छौँ’, नेपाल संयोजक सुरज बैद्यले भने, ‘सुदूरपश्चिम प्रदेशमा पनि धेरै धार्मिक स्थल छन्। त्यहाँ लगानी भित्र्याउने विषयमा पनि हामी छलफल गर्छौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका वैद्यले सुदूरपश्चिम प्रदेशमा यसअघि पनि सम्भावनाबारे गरिएको अध्ययनका निष्कर्ष प्रस्तुत गरेका थिए । उनले नीतिगत कारण लगानी भित्र्याउन समस्या भएको भन्दै लगानीमैत्री नीति बनाउन मुख्यमन्त्री शाहलाई सुझाव दिएका थिए ।

लगानी सम्मेलनमा प्रतिबद्धता अनुसारको लगानी नआएको भन्दै उनले विशेष क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीकर्ताहरूलाई आह्वान गर्नुपर्ने बताएका थिए ।

पूर्व राजदूत समेत रहेका हिन्दु इकोनोमिक्स फोरमका महासचिव महेश दाहालले विश्वका हिन्दूहरूको चासो नेपालतर्फ रहेको भन्दै उनीहरू मार्फत लगानी ल्याउन सकिने बताए । सुदूरपश्चिममा हिन्दूहरूको ठूलो आस्था र केन्द्र रहेको भन्दै धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिन सकिने उनको भनाइ थियो ।

‘सुदूरपश्चिममा लगानी गर्न सहज छ भन्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘मुख्यमन्त्रीज्यू आफैं लगानीका लागि लागिरहनुभएको छ, हामी उहाँलाई साथ दिन तयार छौँ ।’

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले पनि सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको भन्दै नीति क्षेत्र त्यहाँ लगानी गर्न उत्साहित भएको बताए । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीसँग विभिन्न नाकाहरूलाई व्यावसायिक नाका बनाउनुपर्ने विषयमा कुरा गर्नुपर्ने सुझावसमेत उनले दिए ।

सुदूरपश्चिममा पर्यटनको ठूलो सम्भावना रहेको भन्दै प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । कर्णाली संसारको पाँचौं उत्कृष्ट ¥याप्टिङ गर्ने नदी भएको भन्दै अन्तर्राष्ट्रिय र्‍याप्टिङ फेस्टिवल गर्न मुख्यमन्त्रीलाई सुझाव दिए ।

पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिमको विकास र लगानीका विषयमा आफूहरू गम्भीर रहेको भन्दै संसारभरिका हिन्दूहरूलाई सुदूरपश्चिमको सम्भावनामा लगानी गर्न आग्रह गर्ने बताए ।

उनले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरूसम्म मात्र पुग्दा पनि सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन सफल हुने दाबी गरे ।

‘भारत र चीनलाई ट्रान्जिट बनाउनुपर्छ, हामीले दुवै देशलाई लगानी गर्न आग्रह गर्नुपर्छ’, उनले भने, ‘अहिले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरुलाई ल्याउन पहल गर्नुपर्छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लगानीकर्ताहरूको सुझावअनुसार लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनले स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गर्न आफूहरू आतुर रहेको बताए ।

‘सुदूरपश्चिममा लगानीकर्तालाई स्वागत गर्न हामी आतुर छौँ’, मुख्यमन्त्री शाहले भने, ‘हामी लगानीमैत्री वातावरण बनाउँछौँ, तपाईंहरू निर्धक्क भएर लगानी गर्नुहोस् ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न पनि आग्रह गरे । उनले सुदूरपश्चिममा समस्या मात्रै रहेको भनाइलाई खण्डन गर्दै त्यहाँ समस्याभन्दा कैयौँ गुणा बढी सम्भावना रहेको बताए ।

मुख्यमन्त्री शाहले केही समयअघि भारत भ्रमणमा भारतीय मुख्यमन्त्रीहरूसँग सुदूरपश्चिममा लगानी ल्याउनेबारे छलफल भएको उल्लेख गर्दै यसपटकको लगानी सम्मेलनमा भारततर्फबाट लगानी आउने अपेक्षा व्यक्त गरे । तीनै तहको सरकार सुदूरपश्चिममा लगानी भित्र्याउन सकारात्मक रहेको उनको भनाइ थियो ।

छलफलमा सुदूरपश्चिम प्रदेशको सम्भावना र अवस्थाबारे नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा परियोजना विज्ञ दिलीप भट्टले मंसिर १ र २ गते हुने लगानी तथा विकास सम्मेलनको तयारी र प्राविधिक पक्षबारे जानकारी दिएका थिए । सरकारले नितिगत सुधार गर्ने बताएपछि लगानीकर्ता उत्साहित भएको लगानी तथा विकास सम्मेलन प्रचार समिति संयोजक शिवसिंह ओलीले जानकारी दिए ।

अमेरिकाद्वारा प्यालेस्टीनी नेताको भिसा रद्दको अर्थ के हो

प्यालेस्टीनी राष्ट्रपति महमुद अब्बासलाई आगामी महिना न्यूयोर्कमा बस्ने संयुक्त राष्ट्रसंङ्घको महासभा बैठकमा सहभागी हुनबाट रोक लगाइएको छ।

उनी र ८० अन्य प्यालेस्टीनी अधिकारीहरूको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले पुष्टि गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनीहरूलाई ‘अनुमानित प्यालेस्टीनी राज्यको एकपक्षीय मान्यता’का निम्ति प्रयास गरेको र शान्तिका यत्नलाई बेवास्ता गरेको दोष लगाएका छन्।

किन यो निर्णय अस्वाभाविक?

अमेरिकाको यस निर्णयलाई इजरेलले स्वागत गरेको छ। तर यसलाई अस्वाभाविक मानिएको छ किनभने संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भ्रमण गर्न चाहने सबै देशका अधिकारीहरूको यात्रालाई अमेरिकाले सहजीकरण गर्ने अपेक्षा गरिन्छ।

महासभा बैठकमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने अन्तर्राष्ट्रिय पहलहरूको फ्रान्सले अगुवाइ गरिरहँदा अमेरिकाले पछिल्लो निर्णय लिएको हो। राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले फ्रान्सको कदमको विरोध गरेको छ।

यसअघि राष्ट्रसङ्घका निम्ति प्यालेस्टीनी राजदूत रियाद मन्सूरले टोली नेताको रूपमा अब्बासले न्यूयोर्कमा विभिन्न राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूसँग बैठक गर्न लागेको बताएका थिए।

तर अमेरिकी विदेश मन्त्रालयका अधिकारीले प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (पीएलओ) र प्यालेस्टीनी अथरीटी (पीए)का सदस्यहरूको भिसा अस्वीकार तथा रद्द गर्ने निर्णयले अब्बास तथा ८० अन्य अधिकारीहरू प्रभावित हुने बताएका छन्।

विदेशमन्त्री रुबियोले न्यूयोर्क स्थित राष्ट्रसङ्घीय नियोगमा रहेका प्यालेस्टीनी प्रतिनिधिहरूले राष्ट्रसङ्घ मुख्यालय सम्झौता बमोजिम त्यस्ता बैठकमा भाग लिन सक्ने बताए। उक्त सम्झौताले अमेरिकामा राष्ट्रसङ्घको कार्यसञ्चालनका विषय नियमन गर्छ।

अमेरिकी निर्णय सम्झौता अनुकूल कि प्रतिकूल?

तर भिसा अस्वीकार वा रद्द गर्ने अमेरिकी निर्णय उक्त सम्झौता अनुकूल छ कि छैन भनेर प्रस्ट छैन।

उक्त दस्तावेजमा अमेरिकाको कुनै देशसँगको सम्बन्धको प्रकृतिको बावजूद न्यूयोर्कमा सम्बन्धित विदेशी अधिकारीहरूको सहभागितामा उसले रोकावट नगर्ने भनिएको छ।

अब्बासको कार्यालयले भिसासम्बन्धी निर्णयले छक्क परेको प्रतिक्रिया दिएको छ। उक्त निर्णय “अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रसङ्घ मुख्यालय सम्झौताको विपरीत भएको खासगरी जब प्यालेस्टाइन राज्यलाई राष्ट्रसङ्घमा पर्यवेक्षकको हैसियत प्राप्त छ” भन्दै अब्बासको कार्यालयले अमेरिकालाई सो निर्णय फिर्ता लिन भनेको छ।

राष्ट्रसङ्घको महासभा बैठक (फाइल फोटो)

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,विदेशी अधिकारीहरूको राष्ट्रसङ्घीय बैठकमा सहभागितालाई अमेरिकाले सहजीकरण गर्ने अपेक्षा गरिन्छ

इजरेलका विदेशमन्त्री गिडियन सारले अमेरिकी निर्णयको स्वागत गरे।

वर्षौँदेखि प्यालेस्टाइनको गाजा क्षेत्रमा हमासको शासन चलिरहेको छ भने वेस्ट ब्याङ्कमा उसको प्रतिद्वन्द्वी फताहको शासन छ। तर वेस्ट ब्याङ्कमा पनि अब्बास नेतृत्वको पीएले अन्य प्रतिस्पर्धी समूहहरू तथा यहुदी बस्ती विस्तारका कारण शासनमा थुप्रै चुनौती बेहोरिरहेको छ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा प्यालेस्टीनीहरूको प्रतिनिधित्व गर्ने पीएलओको नेतृत्व पनि अब्बासले नै गर्छन्। सन् १९७४ देखि पीएलओले राष्ट्रसङ्घमा पर्यवेक्षकको हैसियत पाएको छ। उसले बैठकहरूमा भाग लिन पाउँछ तर प्रस्तावहरूमा हुने मतदानमा भाग लिन पाउँदैन।

‘दुई राज्य’ समाधानको रस्साकस्सी

इजरेली-प्यालेस्टीनी द्वन्द्वको समाधान गर्ने भनेर लामो समयदेखि अघि सारिएको ‘दुई राज्य’ भनिने अन्तर्राष्ट्रिय सूत्रलाई इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले निरन्तर खारेज गर्दै आएका छन्। यो सूत्रले इजरेलको साथमा रहने र गाजा तथा वेस्ट ब्याङ्कसहित पूर्वी जेरूसलेम राजधानी रहने प्यालेस्टाइन राज्यको कल्पना गर्दछ।

प्यालेस्टीनी राज्यलाई मान्यता दिनु भनेको ‘हमासको दानवी आतङ्क’लाई पुरस्कृत गरे सरह हुने नेतन्याहुको भनाइ छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरेलमा आक्रमण गरेर करिब १२ सय मानिसको हत्या तथा २५१ जनालाई बन्धक बनाएपछि इजरेलले गाजामा सैन्य कारबाही गरिरहेको छ।

उक्त सैन्य कारबाहीमा परेर ६३ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ।

भिसा रद्दको निर्णय घोषणा गर्दै शुक्रवार रुबियोले भने: “पीएलओ र पीएलाई शान्तिका निम्ति साझेदारका रूपमा स्वीकार गर्नु अगाडि तिनले अक्टोबर ७ को नरसंहारसहित आतङ्ककारी कार्यको निरन्तर खण्डन गर्नु पर्छ। साथै अमेरिकी कानुन बमोजिम तथा पीएलओले गरेका वाचा बमोजिम शिक्षामा आतङ्कलाई हौस्याउन बन्द गर्नु पर्छ।”

इजरेलविरुद्ध अन्तर्राष्ट्रिय अदालतहरूमा मुद्दा हालेर वार्तालाई बेवास्ता गर्ने प्रयत्न पनि उनीहरूले रोक्नु पर्ने रुबियोले बताए।

राष्ट्रसङ्घका प्रवक्ता स्टिफान डुजारिकले राष्ट्रसङ्घले भिसा रद्दको विषयमा अमेरिकी विदेश मन्त्रालयसँग कुरा गर्ने भन्दै यो समस्या समाधान हुने आशा व्यक्त गरे।

“सबै सदस्य राष्ट्र, स्थायी पर्यवेक्षकहरूको प्रतिनिधित्व हुनु महत्त्वपूर्ण छ। खासगरी महासभाको आरम्भमा फ्रान्स र साउदी अरेबियाले आयोजना गर्न लागेको दुई राज्य समाधान विषयको बैठकको सन्दर्भमा,” डुजारिकले भने।

फ्रान्सका अतिरिक्त यूके, क्यानडा र अस्ट्रेलियाले पनि आगामी महिना हुने महासभा बैठकमा प्यालेस्टीनी राज्यलाई मान्यता दिने तिनको योजना रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घका कुल १९३ सदस्य राष्ट्रहरूमध्ये १४७ सदस्यले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन्।

तर स्पष्ट मान्यताप्राप्त सिमानाको अभावमा वेस्ट ब्याङ्कको ठूलो भूभाग इजरेली बस्ती विस्तारकर्ताहरूको नियन्त्रणमा छ। बस्ती विस्तार अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानिन्छ। गाजामा पनि त्यस्तै (बस्ती विस्तार) चर्चाका माझ प्यालेस्टीनी राज्यलाई मान्यता दिइए पनि धरातलीय यथार्थमा तात्त्विक भिन्नता आउने देखिँदैन।

सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउने मुख्यमन्त्रीसमक्ष हिन्दू इकोनोमी फोरमको प्रतिबद्धता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसहितको टोलीलाई हिन्दू इकोनोमी फोरमका प्रतिनिधिहरूले सुदूरपश्चिमको धार्मिक पर्यटनमा लगानी भित्र्याउन भूमिका खेल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा हिन्दू इकोनोमी फोरमका प्रतिनिधिहरूले विश्व हिन्दू इकोनोमिक्समार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक पर्यटन क्षेत्रमा लगानी ल्याउन पहल गर्ने बताएका हुन् ।

‘हामी विश्वभर रहेका हिन्दूहरूमार्फत नेपालमा लगानी ल्याउने विषयमा छलफल गरिरहेका छौँ’, नेपाल संयोजक सुरज बैद्यले भने, ‘सुदूरपश्चिम प्रदेशमा पनि धेरै धार्मिक स्थल छन्। त्यहाँ लगानी भित्र्याउने विषयमा पनि हामी छलफल गर्छौँ ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका वैद्यले सुदूरपश्चिम प्रदेशमा यसअघि पनि सम्भावनाबारे गरिएको अध्ययनका निष्कर्ष प्रस्तुत गरेका थिए । उनले नीतिगत कारण लगानी भित्र्याउन समस्या भएको भन्दै लगानीमैत्री नीति बनाउन मुख्यमन्त्री शाहलाई सुझाव दिएका थिए ।

लगानी सम्मेलनमा प्रतिबद्धता अनुसारको लगानी नआएको भन्दै उनले विशेष क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीकर्ताहरूलाई आह्वान गर्नुपर्ने बताएका थिए ।

पूर्व राजदूत समेत रहेका हिन्दु इकोनोमिक्स फोरमका महासचिव महेश दाहालले विश्वका हिन्दूहरूको चासो नेपालतर्फ रहेको भन्दै उनीहरू मार्फत लगानी ल्याउन सकिने बताए । सुदूरपश्चिममा हिन्दूहरूको ठूलो आस्था र केन्द्र रहेको भन्दै धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिन सकिने उनको भनाइ थियो ।

‘सुदूरपश्चिममा लगानी गर्न सहज छ भन्ने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘मुख्यमन्त्रीज्यू आफैं लगानीका लागि लागिरहनुभएको छ, हामी उहाँलाई साथ दिन तयार छौँ ।’

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले पनि सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको भन्दै नीति क्षेत्र त्यहाँ लगानी गर्न उत्साहित भएको बताए । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीसँग विभिन्न नाकाहरूलाई व्यावसायिक नाका बनाउनुपर्ने विषयमा कुरा गर्नुपर्ने सुझावसमेत उनले दिए ।

सुदूरपश्चिममा पर्यटनको ठूलो सम्भावना रहेको भन्दै प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । कर्णाली संसारको पाँचौं उत्कृष्ट ¥याप्टिङ गर्ने नदी भएको भन्दै अन्तर्राष्ट्रिय र्‍याप्टिङ फेस्टिवल गर्न मुख्यमन्त्रीलाई सुझाव दिए ।

पूर्वगभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिमको विकास र लगानीका विषयमा आफूहरू गम्भीर रहेको भन्दै संसारभरिका हिन्दूहरूलाई सुदूरपश्चिमको सम्भावनामा लगानी गर्न आग्रह गर्ने बताए ।

उनले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरूसम्म मात्र पुग्दा पनि सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन सफल हुने दाबी गरे ।

‘भारत र चीनलाई ट्रान्जिट बनाउनुपर्छ, हामीले दुवै देशलाई लगानी गर्न आग्रह गर्नुपर्छ’, उनले भने, ‘अहिले उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्ताहरुलाई ल्याउन पहल गर्नुपर्छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लगानीकर्ताहरूको सुझावअनुसार लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनले स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गर्न आफूहरू आतुर रहेको बताए ।

‘सुदूरपश्चिममा लगानीकर्तालाई स्वागत गर्न हामी आतुर छौँ’, मुख्यमन्त्री शाहले भने, ‘हामी लगानीमैत्री वातावरण बनाउँछौँ, तपाईंहरू निर्धक्क भएर लगानी गर्नुहोस् ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न पनि आग्रह गरे । उनले सुदूरपश्चिममा समस्या मात्रै रहेको भनाइलाई खण्डन गर्दै त्यहाँ समस्याभन्दा कैयौँ गुणा बढी सम्भावना रहेको बताए ।

मुख्यमन्त्री शाहले केही समयअघि भारत भ्रमणमा भारतीय मुख्यमन्त्रीहरूसँग सुदूरपश्चिममा लगानी ल्याउनेबारे छलफल भएको उल्लेख गर्दै यसपटकको लगानी सम्मेलनमा भारततर्फबाट लगानी आउने अपेक्षा व्यक्त गरे । तीनै तहको सरकार सुदूरपश्चिममा लगानी भित्र्याउन सकारात्मक रहेको उनको भनाइ थियो ।

छलफलमा सुदूरपश्चिम प्रदेशको सम्भावना र अवस्थाबारे नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा परियोजना विज्ञ दिलीप भट्टले मंसिर १ र २ गते हुने लगानी तथा विकास सम्मेलनको तयारी र प्राविधिक पक्षबारे जानकारी दिएका थिए । सरकारले नितिगत सुधार गर्ने बताएपछि लगानीकर्ता उत्साहित भएको लगानी तथा विकास सम्मेलन प्रचार समिति संयोजक शिवसिंह ओलीले जानकारी दिए ।

कुलिङ पिरियडमा सहमति खोज्न २० मिनेट रोकियो विधायन समिति बैठक

काठमाडौं । कुलिङ पिरियडमा सहमति खोज्न विधायन व्यवस्थापन समिति बैठक केही समयका लागि स्थगित भएको छ ।

सहमति जुटाउन भन्दै समिति सभापति, मन्त्री तथा केही सदस्यहरू छलफलमा जुटेपछि बैठक २० मिनेटका लागि भन्दै स्थगित गरिएको छ ।

बैठकमा एमालेका तर्फबाट समितिमा रहेका सदस्यहरूले विज्ञहरूको अभाव हुनेभन्दै कुलिङ पिरियड दुई वर्ष राख्न नहुने अडान राखेका छन् । अन्य दलका तर्फबाट सदस्य रहेकाहरूले भने न्यूनतम दुई वर्ष कुलिङ पिरियड राख्नुपर्ने बताएका छन् ।

बैठकमा कुलिङ पिरियडको व्यवस्था गरेर जानुपर्ने पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल छन् । एमाले भने यसको विपक्षमा छ ।

बाढीपहिरोले ८ वटा सडक पूर्ण रुपमा अवरुद्ध

काठमाण्डौ : देशका विभिन्न भागमा बाढीपहिरोले आठवटा सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलामा रहेको कोशी राजमार्ग, रसुवाको पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् ।

यस्तै बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट-डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा सडक एकतर्फी सञ्चालन भएका छन् ।

नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड एकतर्फी सञ्चालन भएका प्रहरीले जनाएको छ ।

 

बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थले माग्यो आवेदन

काठमाडौं । सरकारले बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।  यही भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले सरद ओझालाई पदमुक्त गरेपछि अर्थ मन्त्रालयले शनिबार प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

ओझाको योग्यताबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले अयोग्य ठहर गरेपछि मन्त्रिपरिषद्ले ओझालाई अध्यक्षबाट बर्खास्त गरेको थियो ।  सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । अध्यक्षका लागि सात दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिनुपर्नेछ ।

प्राधिकरणको अध्यक्ष हुन बिमा, मौद्रिक, वाणिज्यशास्त्र व्यवस्थापन जनप्रशासन तथ्यांकशास्त्र, गणित, अर्थशास्व वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उनुभव व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । उच्च नैतिक चरित्र भएको व्यक्ति योग्य हुने मन्त्रालयले जनाएको छ ।  अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा व्यक्तिको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्डअनुसार ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

गौरा पर्वको दुई दिन सार्वजनिक बिदा

धनगढी, भदौ १४ गते । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नेपाल सरकारले भदौ १५ र प्रदेश सरकारले भदौ १६ गते गौरा पर्वको बिदा दिएपछि यो प्रदेशमा दुई दिन सार्वजनिक बिदा कायम भएको हो ।

नेपाल सरकारले गौरा पर्वमा दिएको बिदा बाहेक थप एक दिन भदौ १६ गते गौरा पर्वको बिदा रहेको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ । यस प्रदेशमा बिहीबारदेखि गौरा पर्व मनाइँदै छ । पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमीको अवसर पारेर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । गौरा पर्व मनाउनेलाई सो दिन विदा हुनेछ ।

कञ्चनपुरकी सम्झना मृत्यु प्रकरणः श्रीमान् पुर्पक्षका लागि कारागार चलान

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा उनका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

अनुसन्धानका लागि पक्राउ परेका मृतक सम्झनाका श्रीमान पवन भट्टलाई कञ्चनपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। अदालतले सम्झनाका सासू ससुरा र पवनकी दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको छ। सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको बिहीवार अदालतमा थुनछेक बहस भएको थियो।

कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा मृतकका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई धरौटीमा छाड्ने आदेश दिएको र सासू किरण भट्टलाई साधारण तारेखमा छोड्ने आदेश दिएको बताए। उनका अनुसार न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले ससुरा र पवनको दिदी पूजाबाट जनही एक÷एक लाख धरौटी लिन आदेश दिएको छ। सो आदेश अनुरूप तीन जना रिहा भएका हुन भने मृतकका श्रीमान् पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।

गत साउन १८ गते बिहान सम्झना घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन मृतक सम्झनाका माईती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्धा दिएको थियो। सो मुद्धामा बिहिवार थुनछेक बहस भएको हो।

छाउगोठ भत्काएर जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला

अछामः अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ। पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन्। जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन्।

जिल्लास्थित सरोकार भएका निकायद्वारा मङ्गलबार गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण गरिएको पाइएको हो। आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवीदेउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताएका छन्।

अनुगमनका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गरेकी छिन्। छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवासुविधामा रोक लगाइने उनको भनाइ छ।

हिजो जिल्लाको पञ्चदेवल विनायक–८ बारलाको सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की ३६ वर्षीया रत्ना भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको घर नजिकै त्रिपाल टाँगी बनाइएको छाउगोठमा सुतिरहेको अवस्थामा टहराभन्दा माथि भिरबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्युु भएको थियो।

सोही त्रिपालमा महिनावारी भएर सुतिरहेकी रत्ना गम्भीर घाइते भएकी छिन्। रत्ना आफ्नो माइती घर बारला गएकी थिइन्। महिनावारी कानुनले वर्जित गरेको विषय हो। महिनावारीको नाममा कुनै पनि विभेद् गरेको पाइएमा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए।

तत्काल जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा छाउगोठ भत्काइने उनले जानकारी दिए। यस क्षेत्रमा महिनावारी भएका बेला दूध, दही खान नदिने चलन अझै कायम। गाई र भैँसीको दूध, दही र मोही महिनावारी भएका बेला दिँदा गाईवस्तु बाँझो हुन्छन् भन्ने अन्धविश्वासले महिला तथा किशोरीलाई दूध दिइँदैन।

डलरको प्रभुत्वदेखि ब्रिक्सको चुनौतीसम्म : वैश्विक आर्थिक राजनीति

कृष्ण धानुक ।

डलराइजेशन भन्नाले कुनै पनि देशले आफ्नो राष्ट्रिय मुद्रासंगै विदेशी मुद्राको रूपमा अमेरिकी डलर प्रयोग गर्ने प्रक्रियालाई जनाउँछ।

दोस्रो विश्वयुद्ध अघिसम्म विश्व मुद्रा प्रणाली गोल्ड स्ट्यान्डर्डमा आधारित थियो। बेलायतको पाउण्ड स्टर्लिङ यस प्रणालीको प्रमुख मुद्रा थियो। सन् १९३१ सम्म १ औन्स सुन बराबर £४.२४ पाउण्ड स्टर्लिङ थियो। एक औन्स करिब २८.३ ग्राम हुन्छ। गोल्ड स्ट्यान्डर्डले मुद्रा स्थिर र अन्तर्राष्ट्रिय व्यापारमा विश्वास कायम राखेको थियो। जसले अन्तर्राष्ट्रिय व्यापारमा पाउण्डको स्थिरता र विश्वसनीयता सुनिश्चित गरिएको थियो। तर सन् १९३० को आर्थिक महामन्दीका कारण शेयर बजार, बैंकिङ प्रणाली, उत्पादन, रोजगारीमा गिरावट तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोधले गर्दा विश्वव्यापी आर्थिक प्रणाली अस्थिर बन्न पुग्यो। महामन्दीका कारण बेलायतले १९३१ मा गोल्ड स्ट्यान्डर्डबाट पछाडि हट्यो र पाउण्ड स्टर्लिङ मुक्त विनिमय दर प्रणालीमा प्रवेश गर्‍यो।

दोस्रो विश्वयुद्धपछि ब्रिटेनले आफ्ना उपनिवेशिक राष्ट्रहरूलाई स्वतन्त्रता दिन थालेपछि ब्रिटेनको आर्थिक अवस्था क्रमशः कमजोर हुँदै गयो। यही आर्थिक अस्थिरताका कारणले विश्वले स्थिर मुद्रा खोज्न थाल्यो। विश्वले नयाँ मुद्रा प्रणाली अपनाउने आवश्यकतालाई महसुस गरिरहेको थियो। यस शून्यतालाई अमेरिकाले सुनौलो अवसरको रूपमा देख्यो र युद्धपश्चात् विश्वव्यापी आर्थिक प्रभुत्व स्थापित गर्ने आफ्नो अवसरको सदुपयोग गर्न अघि बढ्यो।

पहिलो र दोस्रो विश्वयुद्ध मुख्य रूपमा युरोपमै लडिएको थियो। दोस्रो विश्वयुद्धमा अमेरिका ढिलो गरी सामेल भए पनि युरोपको जस्तो व्यापक क्षति अमेरिकाले बेहर्नु परेन। बरु युद्धको समयमा अमेरिकाले आफ्ना उद्योग र उत्पादन क्षमतालाई युद्धसामग्री र हतियार उत्पादनमा केन्द्रित गर्‍यो। मित्र राष्ट्रहरूलाई आवश्यक सामाग्री उपलब्ध गराएर अमेरिकी अर्थतन्त्रलाई अझ सुदृढ गर्न मद्दत पुर्‍याएको थियो। यसै क्रममा अमेरिकी उद्योगहरूलाई लगानी बढाउने अवसर प्राप्त भयो। उनीहरूले आधुनिक उत्पादन प्रविधि अपनाइरहेका थिए। युद्धपश्चात्, अमेरिकाले विश्वव्यापी आर्थिक क्षेत्रमा आफ्नो स्थिति मजबुत बनाउँदै लागिरहेको थियो भने  बाँकी विश्वका देशहरूले पनि अमेरिकासँग साझेदारी गर्दा आर्थिक फाइदा देख्न थालेका थिए। त्यतिबेला अमेरिकी सुन भण्डारमा तात्कालिन समयको करिब दुई तिहाइभन्दा बढी सुन भण्डारण भैसकेको थियो ।

दोस्रो विश्वयुद्धमा जर्मनीको पराजय लगभग निश्चित भएपछि सन् १९४४ मा अमेरिकाको न्यू ह्याम्पशायरमा ब्रेटन वुड्स सम्मेलन सम्पन्न भएको थियो। यस सम्मेलनमा ४४ वटा मित्र राष्ट्रका ७३० प्रतिनिधिहरू सहभागी भएका थिए। जसमा प्रत्येक राष्ट्रका प्रमुख अर्थशास्त्री र सरकारी अधिकारीहरू समावेश थिए। सैनिक र आर्थिक रूपमा सशक्त अमेरिकाले ब्रेटन वुड्स सम्मेलनमार्फत अमेरिकी डलरलाई सुनबाट समर्थित  मुद्राको रूपमा विश्वलाई प्रस्तुत गर्‍यो। प्रत्येक १ औन्स सुनको मूल्य बराबर $३५ अमेरिकी डलरको आधारमा तय गरिएको थियो। ब्रेटन वुड्स सम्मेलनपछि अमेरिकी डलरलाई गोल्ड स्ट्यान्डर्ड डलरको रूपमा विश्वमा स्थापित गरियो।

ब्रेटन वुड्स सम्झौताको परिणामस्वरूप अन्तर्राष्ट्रिय मुद्रा कोष  तथा अन्तर्राष्ट्रिय पुनर्निर्माण र विकास बैंक  स्थापना गर्ने सहमति पनि भएको थियो। अन्तर्राष्ट्रिय पुनर्निर्माण र विकास बैंकलाई पछि विश्व बैंक समूहको अभिन्न अङ्गका रूपमा समावेश गरियो। विश्व बैंकले विकासशील देशहरूको दीर्घकालीन विकास, पूर्वाधार र गरिबी निवारणमा सहयोग गर्ने भने त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक असन्तुलन, विदेशी मुद्रा संकट नियन्त्रण र अन्तर्राष्ट्रिय मौद्रिक स्थिरतालाई प्रमुख कार्य क्षेत्रको रूपमा व्याख्या गरियो।

दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा विभाजित भयो। पुँजीवादको नेतृत्व अमेरिकाले गरिरहेको थियो भने समाजवाद र साम्यवादको नेतृत्व तत्कालीन सोभियत रूसले गरिरहेको थियो। पश्चिमी राष्ट्रहरू पुँजीवादको पक्षमा रहेका थिए भने पूर्वी युरोपेली तथा कमजोर आर्थिक अवस्था भएका अल्पविकसित राष्ट्रहरूको झुकाव समाजवाद र साम्यवादी विचारधारातर्फ बढी थियो। यस्ता राष्ट्रहरूको स्वाभाविक झुकाव सोभियत रूसतर्फ बढ्दै थियो। यस्तो विभाजनले राजनीतिक र आर्थिक तनाव सिर्जना गर्‍यो। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रूम्यानले १२ मार्च १९४७ मा ट्रूम्यान सिद्धान्त प्रतिपादन गरेका थिए। यस सिद्धान्तको मुख्य उद्देश्य युद्धपश्चात् कमजोर राष्ट्रहरूलाई तथा एशिया, अफ्रिका र दक्षिण अमेरिकाका गरीब राष्ट्रहरूमा समाजवाद र साम्यवादको विस्तारबाट जोगाउँदै लोकतान्त्रिक सरकारलाई समर्थन गर्नु रहेको थियो। ट्रूम्यान सिद्धान्त अन्तर्गत नै तत्कालिन अमेरिकी विदेशमन्त्री जर्ज सी. मार्शलको अगुवाइमा ५ जून १९४७ मा मार्शल योजना ल्याइयो।

मार्शल योजना अन्तर्गत दोस्रो विश्वयुद्धले आर्थिक रूपमा जर्जर भएका युरोपेली राष्ट्रहरूको आर्थिक पुनर्निर्माण, राजनीतिक स्थिरता, साम्यवादको फैलावट रोक्न सन् १९४८-१९५२ सम्म तात्कालिन करिब $१३.३ अर्ब बराबरको अनुदान र ऋण उपलब्ध गराएको थियो। सबै आर्थिक सहायता अमेरिकी डलरमा प्रदान भएको थियो भने भुक्तानी पनि डलरमै गर्नुपर्ने सर्त थियो। जसले गर्दा डलरलाई विश्वको प्रमुख मुद्राको रूपमा स्थापित गर्न मद्दत गर्‍यो। युरोपेली राष्ट्रहरूले आफ्नो पुनर्निर्माणमा अमेरिकी डलर प्रयोग गर्नुपर्दा डलरको अन्तर्राष्ट्रिय प्रभुत्व बढ्यो।

सन् १९६०–७०को दशकमा अमेरिकी अर्थतन्त्रमा भियतनाम युद्ध र सामाजिक सुधार कार्यक्रम जस्ता ठूलो खर्चका कारण डलरको आपूर्ति सुनको भण्डारणभन्दा बढी हुन थाल्यो। यसले गोल्ड स्ट्यान्डर्डमा आधारित प्रणालीमा असन्तुलन सिर्जना गर्‍यो। किनभने प्रत्येक डलरलाई निश्चित मात्रामा सुनले समर्थन गर्नुपर्ने नियम थियो। अमेरिकी डलर विश्वव्यापी रिजर्भ मुद्रा भएकोले केही राष्ट्रहरू अमेरिकी डलरको माग बढाउँदै थिए भने धेरै देशहरूले आफ्नो अमेरिकी डलर भण्डारणको केही हिस्सा सुनमा रूपान्तरण गर्न खोज्दै थिए। अमेरिकाको फेडरल रिजर्भ बैंकले आफ्नो सुनको भण्डारण भन्दाबढी डलर छापेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गरिसकेको थियो। अमेरिका के विश्वासमा थियो भने विश्वका धेरै देशहरू एकैपटक आफ्नो डलरलाई सुनमा रूपान्तरण गर्न  आउँदैनन्। तर समयसँगै परिस्थिती क्रमशः बिपरीत हुँदै गइरहेको थियो। जसले अन्तर्राष्ट्रिय मुद्रा प्रणालीमा दबाब र अस्थिरता सिर्जना गर्‍यो। जसको परिणामस्वरूप अमेरिकी सुनको भण्डारणमा दबाव बढ्दै गइरहेको थियो।

दबाब सहन नसकेपछि अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७१, अगस्ट १५मा घोषणा गरे कि अमेरिका अस्थायी रूपमा सुन र डलरको विनिमय बन्द गर्दैछ। जसलाई ऐतिहासिक रूपमा निक्सन शक भनिन्छ। यो निर्णयपछि अमेरिकी डलर फ्लोटिङ मुद्रा प्रणालीतर्फ रूपान्तरण भयो। जसको मूल्य बजारको माग र आपूर्तिले निर्धारण गर्नेछ। अमेरिकाको यो निर्णय अस्थायी भए पनि अहिलेसम्म लागू नै छ।

निक्सन शक पछि अमेरिकाले विश्वलाई यस्तो अवस्था पुराइ दियो जहाँ  सबै देशहरू तथा व्यक्तिहरूसँग बैंक चेक त छ तर ती चेकहरू बैंकबाट नगदमा रूपान्तरण गर्न सम्भव चाहिँ छैन। यसो हुनुको कारण गोल्ड स्ट्यान्डर्डको स्थगित हुनु थियो। अमेरिका आर्थिक तथा राजनीतिक रूपमा शक्तिशाली देश भएकोले कसैले त्यसको विरोध गर्न सकेन। गोल्ड स्ट्यान्डर्ड रद्द भए पनि विश्वले विकल्प नपाउँदा डलरलाई अन्तर्राष्ट्रिय मुद्राको रूपमा स्वीकार गर्नेमुख्य आधार बनी रह्यो। उदाहरणका लागि नेपाल र डेनमार्कका कम्पनीहरूबीच व्यापारिक कारोबार हुँदैछ। भुक्तानी गर्ने बेलामा नेपाली रूपैयाँ डेनमार्कमा चल्दैन भने डेनिश क्रोनरको प्रयोग नेपालमा हुँदैन। यस्तो अवस्थामा अमेरिकी डलर एक विकल्पको रूपमा देखिन्छ। किनभने डलर दशकौँदेखि अन्तर्राष्ट्रिय मुद्राको रूपमा प्रयोग हुँदै आएरहेको थियो। यद्यपि डलर गोल्ड स्ट्यान्डर्ड नभए पनि धेरै देशहरूबीच साझा स्वीकार्यता भएको मुद्राको रूपमा यसको महत्व कायम रहिरहेको थियो।

सन् १९७० को दशकमा विश्वले ठूलो तेलको संकट भोग्यो। मध्यपूर्वका तेल उत्पादक ओपेक सदस्य राष्ट्रहरूले तेलको उत्पादन नियन्त्रण गर्दै मूल्यमा अत्यधिक वृद्धि गरे। कच्चा तेलको मूल्य ४ डलरबाट १२ डलर प्रति ब्यारेल पुर्‍याइएको थियो। अरब राष्ट्रहरूले इजरायलको समर्थन गर्ने देशहरूमा तेल आपूर्ति रोकिदिएको थियो। यसले अमेरिकी र पश्चिमी देशहरूमा ईन्धन अभाव, मूल्य वृद्धि र मुद्रास्फीति ल्यायो।

यस संकटले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा गहिरो प्रभाव भयो भने अमेरिकी डलरलाई प्रमुख मुद्रा बन्ने अवसर सिर्जना गर्‍यो। त्यसै क्रममा अमेरिकाले तेल निर्यात गर्ने ओपेक राष्ट्रहरूमा प्रमुख रहेको साउदी अरेबियासँग पेट्रो–डलर सम्झौता गर्‍यो। ओपेकले त्यस बेलाको विश्व तेल उत्पादनमा करिब ३७.४% बजार ओगटेको थियो। यस सम्झौताअनुसार, पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय खरिद–बिक्री अमेरिकी डलरमा मात्र हुनेछ र पेट्रोलियम पदार्थ उत्पादक देशहरूले पेट्रोलियम उत्पादन बेचेर प्राप्त गरेको डलर फेरि अमेरिकामा लगानी गर्नुपर्ने सम्झौता गरिएको थियो। जसको फलस्वरूप साउदी अरेबियाले राम्रो प्रतिफल प्राप्त गर्ने छ । यसको अर्थ तेल बेचेर कमाएको डलर अमेरिकी बैंक वा वित्तीय बजारमा लगानी गर्नुपर्थ्यो। यसरी सजिलै प्राप्त विदेशी लगानीले अमेरिकी अर्थतन्त्रमा स्थायित्व, वृद्धि, सैन्य पूर्वाधार, हथियार प्रणालीको अत्याधुनिक विकास र अन्तर्राष्ट्रिय प्रभुत्व कायम राख्न मद्दत गर्‍यो।

पेट्रो–डलर सम्झौता केवल कच्चा तेल व्यापारको व्यवस्था नभई राजनीतिक, आर्थिक र सैन्य साझेदारीको आधार पनि थियो। साउदी अरेबियापछि अन्य ओपेक राष्ट्रहरूले पनि अमेरिकासँग पेट्रो–डलर सम्झौता गरे। सैन्य गठबन्धन, सुरक्षा सम्झौता र रणनीतिक साझेदारीहरू मार्फत ती राष्ट्रहरूलाई बाह्य आक्रमणबाट रक्षा गर्ने तथा त्यो देशको राज्यसत्ताको सुरक्षा गर्ने प्रतिबद्धता अमेरिकाले गरेको थियो। यो सम्झौताले अमेरिकी डलरलाई विश्वव्यापी प्रमुख मुद्रा बनाइराख्न मद्दत गर्‍यो भने अरब राष्ट्रहरूलाई आर्थिक र सुरक्षा दृष्टिले लाभ नै भयो।

अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२५ को पहिलो त्रैमासिकको डाटासेट अनुसार विश्वको कुल विदेशी मुद्रा भण्डार १२.५४ ट्रिलियन अमेरिकी डलर पुगेको छ। जसमा अमेरिकी डलरको हिस्सा ५७.७४%, युरोको २०.०६%, चिनियाँ युआनको २.१२%  भनेअन्य मुद्राहरूको २०.१०% हिस्सा रहेको छ।

सन् १९९५ मा विश्वको विदेशी मुद्रा भण्डारमा अमेरिकी डलरको हिस्सा लगभग ७०% रहेको थियो। विश्वका अन्य देशहरूले आफ्नो विदेशी मुद्रा भण्डारमा डलरको भाग घटाएर युरो, युआन, र अन्य मुद्राहरू प्रयोग गर्न थालेका छन्।

अहिले पनि विश्वमा हुने विदेशी मुद्रा कारोबारको करिब ८८% लेनदेन अमेरिकी डलरमै हुन्छ भने अन्तर्राष्ट्रिय व्यापार र भुक्तानीमा करिब ४८% भुक्तानी डलरमै गरिन्छ। यसको अर्थ, विश्वव्यापी व्यापारमा डलरको प्रभुत्व अझै कायम छ।

सन् २०२५ सम्म अमेरिकी राष्ट्रिय ऋण करिब $३७ ट्रिलियन पुगेको छ। यो अमेरिकाको कुल वार्षिक घरेलु उत्पादनको लगभग १२४% बराबर हो। यस अर्थमा अमेरिकी अर्थतन्त्र अत्यधिक ऋणी भएको छ। अमेरिकी सरकारले प्रत्येक वर्ष आफ्नो ठूलो ऋणको ब्याज तिर्नु पर्छ। अमेरिकी डलरमा निर्भर रहेका देशहरूले अमेरिकी अर्थतन्त्रमा आउने समस्या वा डलरको मूल्य घटबढबाट प्रत्यक्ष असर भोग्नु पर्ने हुन्छ। २००८ को हाउसिंग क्राइसिस यसको राम्रो उदाहरण हो।

अमेरिकी ऋणको अत्यधिक वृद्धि र यसको दीर्घकालीन प्रभावलाई मध्यनजर गर्दै डि-डलराइजेशन अर्थात् अमेरिकी डलरमा निर्भरता  घटाउने विषयमा धेरै देशहरूको सहमति बन्दै गएको छ र  विभिन्न कारणले आवश्यक पनि हुन्छ। किनभने अमेरिकी डलरको मूल्यमा गिरावट वा मुद्रास्फीति हुँदा डलरमा निर्भर देशहरूको अर्थतन्त्र जोखिममा पर्छ। त्यसैगरी वैकल्पिक मुद्राहरूको प्रयोगले देशलाई अमेरिकी ऋणको प्रभावबाट टाढा राख्छ। साथै डि-डलराइजेशनले मौद्रिक र व्यापारिक नीतिमा देशलाई स्वतन्त्रता प्रदान गर्छ। यसरी डि-डलराइजेशनले केवल अमेरिकी डलरमा निर्भरता घटाउने मात्र होइन त्यो देशको आर्थिक सुरक्षा र स्थिरता सुनिश्चित गर्ने काम पनि गर्दछ।

हाल विश्वमा  पेट्रोलियम पदार्थको सट्टा बिजुली र सौर्य ऊर्जा को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। ग्लोबल वार्मिंग र जलवायु परिवर्तनका कारण पनि पेट्रोलियम उत्पादनको प्रयोगमा कटौती हुँदै आएको छ। पेट्रो–डलर एग्रिमेन्ट दीर्घकालीनसम्म टिक्ने संभावना कम छ। किनभने विश्व अर्थतन्त्र बहुध्रुवीय बन्दै गएको छ र देशहरूले ऊर्जा व्यापारमा वैकल्पिक मुद्रा प्रयोग गर्न थालेका छन्। रुस र भारतबीच केही समयदेखि पेट्रोलियम खरिद–बिक्री रुपी र रूबलमा भइरहेको छ। चीन र साउदी अरबले सन् २०२३ मा ५०  अर्ब युआन (लगभग ७.१ अर्ब अमेरिकी डलर) को तीन वर्षे मुद्रा स्वाप सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौताले दुई देश बीचको वित्तीय सहकार्यलाई मजबुत बनाउने र दुवै मुद्राको प्रयोगलाई बढावा दिने उद्देश्य रहेका छन्।

डि-डलराइजेशन एकै दिनमा हुने होइन यो एउटा दीर्घकालीन प्रक्रिया हो जुन सुरु भइसकेको छ। विश्वका विभिन्न देशहरूले क्रमशः अमेरिकी डलरमा निर्भरता घटाउँदै वैकल्पिक मुद्रा प्रयोग सुरु गरिसकेका छन्। जस्तै रूस, भारत, चीन, साउदी अरब र संयुक्त अरब इमिरेट्सले  व्यापारका लागि आफ्नो देशको वा अन्य मुद्रामा भुक्तानी गर्न थालेका छन्।

सन् २००१ मा ब्राजिल, रुस, भारत र चीनका अर्थशास्त्रीहरूले पहिलो पटक ब्रिक्सको अवधारणा प्रस्तुत गरेका थिए। यसले उदाउँदा अर्थतन्त्र भएका देशहरूको समूहको रूपमा आर्थिक शक्ति र सम्भावनालाई मार्गदर्शन गरेको थियो। पछि सन् २०१० मा दक्षिण अफ्रिकालाई  समावेश गरेपछि ब्रिक्स भनिन थाल्यो। यसले विश्वव्यापी आर्थिक र राजनीतिक प्रभाव बढाउने उदेश्यलाई अझ बलियो बनायो। हाल ब्रिक्स प्लस समूहमा १० वटा पूर्ण सदस्य र १३ वटा साझेदार देशहरू छन्। यस समूहले विश्व जनसंख्याको लगभग ५६% प्रतिनिधित्व गर्छ भने विश्वको कुल ग्रहस्थ उत्पादन मा करिब ४४% अंश राख्छ। यसरी जनसंख्या र अर्थतन्त्रमा ठूलो हिस्सा भएकाले ब्रिक्स प्लस समूहले विश्वव्यापी आर्थिक र कूटनीतिक प्रभावमा महत्वपूर्ण भूमिका खेल्ने पक्का छ।

हालसम्म ब्रिक्स प्लस समूहले एकल साझा मुद्रा लागू गर्ने निर्णय गरेको छैन। नयाँ साझा मुद्राको विकासमा विचार गरिरहेको छ जसलाई यूनिट भनिन्छ। यस मुद्रा प्रणालीमा प्रत्येक सदस्य राष्ट्रको मुद्राको मूल्याङ्कन सो राष्ट्रको सुनको भण्डारको आधारमा गरिनेछ। यसले मुद्राको स्थिरता र विश्वासनीयता सुनिश्चित गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

डोनाल्ड ट्रम्पको सरकारले हाल अमेरिकाको व्यापार नीति अन्तर्गत ट्यारिफको खेल खेलिरहँदा यसले विश्वव्यापी व्यापार र अर्थतन्त्रमा दबाब सिर्जना गरिरहेको छ। डोनाल्ड ट्रम्पको सरकारले ब्रिक्ससमूहका देशहरू भारतलाई ५०%, चीनलाई ३०%, ब्राजिललाई ५०%, रुसलाई पूर्ण आर्थिक प्रतिबन्ध, दक्षिण अफ्रिकालाई ३०% ट्यारिफ लगाएको छ। यसले देखाउँछ कि कुनै देशले मात्र प्रभुत्व कायम राख्न खोज्दा अन्य राष्ट्रहरू स्वतन्त्र रूपमा योजना र समाधान तयार गर्न सक्छन्। हिन्दीमा एउटा  उखान छ: किसिको इतना भी दूर मत करो कि वो तुम्हारे बिना जीना सीखले ठीक यस सन्दर्भमा लागू हुन्छ। जसको अर्थ हो कि अत्यधिक दबाब वा नियन्त्रणले अन्य देशहरूलाई आफ्नै क्षमता अनुसार समाधान खोज्न बाध्य पार्छ।

 

महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई उच्चस्तरीय समितिद्वारा ८३ लाख बढी रकम हस्तान्तरण

काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराएका शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले ८३ लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ। श्रेष्ठको अध्यक्षतामा गठन भएको एनआरएनए कार्यसमितिलाई शुक्रबार राजधानीमा भएको विशेष समारोहबीच उक्त रकमसहित सम्पत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भर्चुलअ माध्यमबाट समेत विश्वभरका एनआरएनहरु जोडिएका थिए ।

जसअनुसार कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै घलेले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै संस्थालाई अझ प्रभावकारी बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले भने, ‘एनआरएनए केवल संगठन मात्र होइन, यो विश्वभर छरिएर रहेका नेपालीहरूको साझा परिवार हो। यसलाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने विश्वास लिएको छु।’

समितिकी सदस्य जानकी गुरुङले उच्चस्तरीय समितिले गत वैशाखमा निर्वाचन गराएपछि ८३ लाख ६२ हजार २ सय २८ रुपैयाँ बचत भएको र सो रकम नयाँ समितिलाई हस्तान्तरण गरिएको बताइन् । साथै कम्प्युटर, प्रिन्टर लगायतका जिन्सी सम्पत्तिहरू समेत नयाँ नेतृत्वलाई जिम्मा दिइएको उनले बताइन् ।

यसैगरी भौतिकरुपमै उपस्थित अध्यक्ष महेश श्रेष्ठले विगतका चुनौती र विवादहरूको स्मरण गर्दै सबैलाई एकता प्रक्रियामा आउन आह्वान गरे । उनले भने, ‘हामीले कतिपय कठिनाइको बीचमा काम गरेका छौँ। तर, पारदर्शिता र निष्पक्षताको सिद्धान्तलाई कहिल्यै छोडेनौँ। अबको हाम्रो प्राथमिकता प्रवासी नेपालीको अधिकार, हित र परिचयलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हुनेछ।’

उनले बद्री केसी पक्षले अक्टोबरमा महाधिवेशन गर्ने भनिएपनि त्यो सम्भव नरहेको र रोकिने स्पष्ट पारे । उनले आधिकारिक एनआरएनए आफूहरु नै भएको भन्दै छिट्टै कार्यालयबाटै काम गरिने समेत दाबी गरे ।

यसैगरी पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको बताए । उनले आफू एनआरएनए नागरिकता पाउने पहिलो व्यक्ति भएको उल्लेख गर्दै सो नागरिकता कार्यान्वयनका साथै समग्र विषयमा आवाज उठाउन पनि एकताबद्ध एनआरएनए हुनुपर्नेमा जोड दिए ।

यसैगरी नवनिर्वाचित उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले पनि आ–आफ्नो धारणा राख्दै नयाँ कार्यकाललाई सहकार्य र साझेदारीको आधारमा अघि बढाउने प्रतिबद्धता जनाए। उनीहरूले प्रवासी नेपालीहरूको नागरिकता, दोहोरो नागरिकता, श्रमिक अधिकार, लगानी प्रबर्द्धन र आपत्कालीन अवस्थामै सहयोग पुर्‍याउने अभियानलाई प्राथमिकता दिने बताए।

भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी समितिका सदस्य तथा पूर्वअध्यक्ष देवमान हिराचन, सदस्य विनोद कुँवर, अभियन्ता आरके शर्मासहित अन्य वक्ताहरूले पनि महेश श्रेष्ठ नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउन आग्रह गरे। यस्तै कार्यक्रममा एनआरएनए सचिव चिन्तामणि सापकोटा, कोषाध्यक्ष ठाकुर ढुंगानालगायतको पनि सहभागिता रहेको थियो ।

विश्वकप रजत विजेता खो-खो टिम उत्कृष्ट अवार्डसहित पुरस्कृत

काठमाढौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो-खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ । खो-खो टिम सिनियरतर्फ पुरस्कृत भएको हो । पुरुष/महिला टोलीलाई समान १/१ लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरियो । दुवै टिमले भारतमा भएको प्रथम खो-खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थिए ।

खो-खो टिमसँगै जुनियरमा २ र पारामा १ खेलाडी, १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र १ स्थानीयलाई सम्मान गरियो । जुनियरको पुरुषमा बक्सिङका अप्रिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भए । अप्रिलले थाइल्यानडमा भएको एसियाली यू–२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु–१९ मा कास्य जितेका थिए ।

पूजाले विश्वकप एसियाली छनोटमा २ सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् । नेपाल र मलेसियाबीचको यू–१९ टी– २० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन् । पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन् । पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा कास्य पदक जितेकी थिइन् ।

उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाख नगदसहित पुरस्कृत भयो । उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेसनल प्रालि र उत्कृष्ट स्थानीय तहमा बागमती गाउँपालिका, मकवानपुरलाई पुरस्कृत गरियो । उत्कृष्ट खेलकुद पत्रकारको पुरुषमा खेलाडी डट्‌कमका अञ्जन खड्का र महिलामा मेरो खेल डट्‌कमकी लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मान भए ।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन) तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए । दुवैले जनही २५ हजार नगद पुरस्कार पाए । उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ संस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार नगदसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए । करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए । परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार नगद प्राप्त गरे ।

राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका हुन् ।

महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन आवतजावतमा रोक

कञ्चनपुर, भदौ १३ गते । बनबासा पुल भएर नेपाल–भारत प्रवेश गर्ने ठुला सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार शुक्रवार दिउँसो १२ स् ४५ बजे बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाव एक लाख ४५ हजार ०२९ क्यूसेक मापन गरिएको छ ।

महाकाली नदीमा रहेको नेपाल–भारत जोड्ने बनबासा पक्की पुल ९शारदा ब्यारेज० जीर्ण हुँदा पानीको बहाव एक लाख क्युसेक नाघेपछि आवागमनमा रोक लगाइने गरिन्छ । सुदूरपश्चिमका पहाडी जिल्ला सहित कञ्चनपुरमा बिहीबारदेखि नियमितरुपमा वर्षा भएकाले शुक्रवार महाकालीमा पानीको बहाव बढेको छ ।

 

लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गर्न आँतुर छौँ : मुख्यमन्त्री शाह

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम सरकार सुदूरपश्चिममा निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आँतुर रहेको बताएका छन्।

सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौँमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल कार्यक्रममा उनले सुदूरपश्चिमका सम्भावनाहरुलाई लगानी सम्मेलनमार्फत राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहेको बताए।

स्वदेशका निजी क्षेत्रलाई सुदूरपश्चिममा लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी लिन प्रदेश सरकार तयार रहेको उनले बताए। मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरे। सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै लगानी गर्न मुख्यमन्त्री शाहले आह्वान  गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरे।मन्त्री पाण्डेले भने, “सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्भेन्चरको समिश्रण भएको प्रदेश हो।सुदूरपश्चिका थुप्रै पर्यटकीय सम्भावनाहरु उजागर भइरहेका छन्।यस लगानी सम्मेलनमार्फत् सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान पनि गर्दछु।”

अपी हिमालको पहिलो आरोहणका लागि १५ सदस्यीय टोली प्रस्थान

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।  नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे ।

नेपाल सरकारले हालै मात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो।

बिदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर(शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे।

“यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” मन्त्री पाण्डेले भने।

अपी गाउँपालिकाबाट समेत संलग्न टोलीमा १५ जना आरोही सहभागी छन्। आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेत समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणको क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ।

भिभो भि६० नेपालमा सार्वजनिक

काठमाडौं : विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप भिभो भि६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

भिभो भि६० ले जाइस् प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको छ। आधिकारिक सार्वजनिक कार्यक्रम हायात सेन्ट्रिक काठमाडौंमा आयोजना गरिएको थियो, जसमा मिडिया प्रतिनिधिहरू, इन्फ्लुएन्सरस् र राष्ट्रिय वितरकहरूको उपस्थिति रहेको थियो।

जाइस् अप्टिकल स्ट्यान्डर्ड अनुसार बनेको भिभो भि६० मा ५० मेगापिक्सेलको जाइस् सुपर टेलिफोटो क्यामरा रहेको छ, जसले टाढाबाट पनि स्पष्ट पोट्र्रेट खिच्न सक्दछ। यसको १०ह टेलीफोटो स्टेज पोट्र्रेटले चहकिलो स्टेज लाईटमा पनि उत्कृष्ट प्रदर्शन गर्दछ, जबकि पाँच फरक फोकल लेन्थ (२३ मिमि–१०० मिमि) ले प्रयोगकर्ताहरूलाई हरेक परिदृश्यलाई अझ सटीक र कलात्मक ढंगले फ्रेम गर्ने सुविधा दिन्छ।

एआई इमेज स्टुडियोले  भि६० को  सिर्जनात्मक सम्भावनाहरू थप बढाएको छ। यसमा रहेको एआई फोर सीजन पोट्र्रेट मार्फत वसन्त, गर्मी, शरद वा जाडो—चारै ऋतु अनुरूप परिवेशलाई तुरुन्तै पुनः कल्पना गर्न सकिन्छ। क्यामरा सेटअपमा थप रूपमा ५० मेगापिक्सेलको जाइस् मुख्य क्यामरा, ८ मेगापिक्सेलको जाइस् अल्ट्रा वाइड–एङ्गल क्यामरा, र ५० मेगापिक्सेलको जाइस् ग्रुप सेल्फी क्यामरा रहेको छ। यी सबैलाई अल्ट्रा क्लियर फोर के भिडियो र सुधारिएको एआई औरा लाईट सिस्टमले अझ प्रभावशाली बनाएको छ, जसले कम प्रकाशमा समेत उत्कृष्ट परिणाम दिन्छ।

डिजाइनको दृष्टिले, भि६० मा इक्वेल देप्थ क्वाड–कर्भ डिस्प्ले राखिएको छ, जसले स्लिम बेजल सहित सहज र आकर्षक दृश्य अनुभव प्रदान गर्छ। पछाडिको स्टार ट्रायल क्यामरा मोड्युलले यसको मिनिमलिस्टिक डिजाइनलाई थप सुन्दर बनाएको छ। यो स्मार्टफोन दुई आकर्षक रङमा मिस्ट ग्रे र बेरी पर्पलमा उपलब्ध हुनेछ।

सुदृढताका दृष्टिले, भिभो भि६० मा डायमण्ड शिल्ड ग्लासको प्रयोग गरिएको छ। यसमा रहेको आई पी ६८÷६९ रेटिङको साथ भिभोको नयाँ वानट्याप व्याटर इजेक्सन र डस्ट रिमोवल फिचरले यसलाई अझ धुलो र पानी प्रतिरोधी बनाउँछ। शक्तिशाली ६५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले दिनभरि सहजै साथ दिन्छ। प्रदर्शनतर्फ, यसलाई नयाँ जेनेरेसनको क्वालकम स्न्यापड्रैगन ७ जेन ४ चिपसेट र १२ + १२ जि बी को विस्तारित र्‍यामले सहज र छरितो अनुभव प्रदान गर्छ।

भिभो भि६० को नेपालमा प्रि–बुकिङ अगस्ट २९ देखि सेप्टेम्बर २ (भदौ १२–१६) सम्म खुला हुनेछ र पहिलो बिक्री सेप्टेम्बर ३ (भदौ १७) बाट बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ। प्रि–बुकिङ गर्ने ग्राहकहरूले भिभो इयरबड्स उपहारस्वरूप प्राप्त गर्नेछन्।

मूल्य तथा उपलब्धताः
१२ जि बी + २५६ जि बी: ७० हजार ९९९
१२ जि बी + ५१२ जि बी: ७५ हजार ९९९

भिभो भि६० ०% ईएमआईमा पनि उपलब्ध हुनेछ, जसमा ४०% डाउनपेमेन्ट सहित एक वर्षसम्म किस्तामा भुक्तानी गर्न सकिने सुविधा रहेको छ। यसका अतिरिक्त, ग्राहकहरूले भीभोको आधिकारिक एक्सचेन्ज प्लेटफर्म ‘नयापुराना’ मार्फत आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ भीभो भी६० सँग साट्न सक्छन्। लन्च अफरको रूपमा, भीभो भी६० मा अपग्रेड गर्दा ग्राहकहरूले आफ्नो पुरानो उपकरणको मूल्याङ्कनमा अतिरिक्त २ हजार प्राप्त गर्नेछन्। हाल यो सुविधा १०० भन्दा रिटेल स्टोरहरूमा उपलब्ध छ र निकट भविष्यमा अझ विस्तार गर्ने योजना रहेको छ।

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार गम्भीर : अर्थमन्त्री पौडेल

काठ्माण्डौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकार यसबारे अत्यन्त संवेदनशील रहेको र आवश्यक सुधारात्मक कदम तत्कालै कार्यान्वयनमा ल्याइएको प्रष्ट पारे ।

‘ग्रे लिस्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ । हामी ग्रे लिस्टबाट बाहिर निस्कने मात्र होइन, फेरि कहिल्यै ग्रे लिष्टमा नपर्ने गरी कामकारबाही अघि बढाइरहेका छौं,’ अर्थमन्त्री पौडेलले भने ।

उनका अनुसार, नेपाल २०२२/२३ मा सम्पन्न तेस्रो चरणको अन्तर्राष्ट्रिय मूल्यांकनमा नियमन, सुपरीवेक्षण, अनुसन्धान र सम्पत्ति जफतजस्ता कार्यहरू पर्याप्त नहुँदा ग्रे लिस्टमा परेको हो । तर २०८० चैत्र ३० मा पारित १९ वटा ऐन संशोधनसँगै आवश्यक कानूनी आधार तयार भएको र अहिले कार्यान्वयन तीव्र गतिमा अघि बढेको बताए ।

अर्थमन्त्रीले ग्रे लिष्टमा पर्नु देशको वित्तीय, आर्थिक र कूटनीतिक प्रतिष्ठाका लागि हानिकारक हुने स्पष्ट पार्दै यसको प्रभाव कम गर्न सरकारले शिघ्र सुधारात्मक कार्ययोजना बनाई २०८२ देखि लागू गरिसकेको जानकारी दिए ।

उनले वैदेशिक ऋण, अनुदान, सहायता र लगानीमा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले यो समस्यालाई चाँडै समाधान गर्न प्राथमिकता दिएको प्रष्ट पारे ।

उनले सम्पत्ति शुद्धीकरण निवारण नियमावली २०८१, नयाँ राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८२–२०८६), सूचक संस्थाहरूलाई जारी गरिएका निर्देशनहरू, र एसिया प्यासिफिक ग्रुप (APG) का लागि प्रगति प्रतिवेदन समेतलाई सरकारको सक्रियताका प्रमाणका रूपमा प्रस्तुत गरे ।

सांसदहरूले राखेका अन्य प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले महालेखापरीक्षक कार्यालयलाई प्रभावकारी बनाउन प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी, बेरुजु न्यूनीकरणका लागि सुधार, र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई संस्थागत सुदृढीकरणमार्फत सबल बनाउन कदम चालेको बताए ।

उनले दलित समुदायको हित प्रवर्द्धनका लागि गत वर्ष विनियोजित २० करोड खर्च हुन नसके पनि चालु आर्थिक वर्षमा ‘भगत सर्वजीत उद्यमशीलता विकास कार्यक्रम’मार्फत ५० करोड रुपैयाँ छुट्याइएको र शीघ्र कार्यान्वयन गरिने सभालाई जानकारी दिए ।

खोज्नुहोस