Two Nepalese Poets to Represent Nepal at International Literature Festival of Kerala

Kathmandu, 14 August

The International Literature Festival of Kerala (ILFK) has invited two prominent Nepalese poets, Bhuwan Thapaliya and Amar Aakash, to participate in its second edition, to be held from 17 to 21 August in Thrissur, Kerala.

Organized by the Kerala Sahitya Academy in collaboration with the Department of Culture, Government of Kerala, ILFK is regarded as a true people’s festival, celebrating the power of literature to connect, question, and inspire.

The event will bring together over 200 leading writers, poets, and thinkers from India and abroad for readings, discussions, and cultural exchanges. Both Thapaliya and Aakash will take part in multiple readings and interact with Malayalam poets and other participating writers from across the globe.

They will also participate in a high-profile panel discussion titled “New Trends in Poetry” alongside internationally acclaimed Palestinian poet Asma Azaizeh and renowned Tibetan poet Tenzin Tsundue. Bhuwan Thapaliya, an English-language poet from Kathmandu, is the author of four poetry collections, including Safa Tempo (Nirala, New Delhi).

An economist by profession, his work has appeared in leading international journals and anthologies, such as Life in Quarantine: Witnessing Global Pandemic Initiative (Stanford University), the International Human Rights Art Festival, and Poetry and Covid (UK Arts and Humanities Research Council). He has presented his work at literary events in South Korea, India, the United States, Thailand, Cambodia, and Nepal.

Amar Aakash (pen name of Laxman Adhikari) is a distinctive voice in contemporary Nepali poetry and fiction. His debut poetry collection, Tungana, launched at the New Delhi World Book Fair, received critical acclaim in both India and Nepal for its lyrical depth and innovative style.

A regular columnist for Madhuparka and Pratik, Aakash is also known for his literary criticism, film essays, and short stories published in Samakalin and Annapurna Post. His much-anticipated debut novel, Grahan (Eclipse), is scheduled for release in 2026. Calling ILFK “a golden opportunity,” Aakash said, “It’s a privilege to introduce Nepali writing to a wider world and to join a galaxy of amazing writers.”

Thapaliya shared similar sentiments, describing his participation as “a novel experience—visiting our close neighbor and immersing myself in its vibrant literary scene.”

The International Literature Festival of Kerala is expected to draw thousands of literature enthusiasts and promises to be a dynamic platform for cultural exchange and dialogue.

केरलाको अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै दुई नेपाली कवि

काठमाण्डौं, ३० साउन ।

केरलाको अन्तर्राष्ट्रिय साहित्य महोत्सव (ILFK) ले दुई प्रमुख नेपाली कवि, भुवन थपलिया र अमर आकाशलाई केरलाको त्रिशूरमा १७ देखि २१ अगस्टसम्म आयोजना हुने दोस्रो संस्करणमा भाग लिन आमन्त्रित गरेको छ।

केरला साहित्य एकेडेमी र केरला सरकारको संस्कृति विभागको सहकार्यमा आयोजना गरिएको ILFK लाई एक वास्तविक जन–महोत्सवका रूपमा लिइन्छ, जसले साहित्यिक मिलनउत्सुकता र प्रेरणाको शक्तिलाई पर्वका रुपमा मनाउँछ।

यस कार्यक्रमले भारत र विदेशका २०० भन्दा बढी अग्रणी लेखक, कवि र विचारकलाई पठन, छलफल तथा सांस्कृतिक आदान–प्रदानका लागि एकसाथ ल्याउने काम गर्दछ।

थपलिया र आकाश दुवैले विभिन्न पठन सत्रहरूमा भाग लिनेछन् र विश्वभरका मलयालम कविहरू तथा अन्य अन्तर्राष्ट्रिय लेखकहरूसँग संवाद गर्नेछन्। उनीहरू अन्तर्राष्ट्रियस्तरमा प्रशंसित प्यालेस्टिनी कवि अस्मा अजाइजेह र प्रख्यात तिब्बती कवि तेन्जिन सुन्डुसँगै ‘कवितामा नयाँ प्रवृत्ति’ शीर्षकको प्यानल छलफलमा पनि सहभागी हुनेछन्।

काठमाडौंका अङ्ग्रेजी भाषाका कवि भुवन थपलिया सफा टेम्पो (निराला, नयाँ दिल्ली) सहित चार कविता संग्रहका लेखक हुन्। पेशाले अर्थशास्त्री रहेका उनले Life in Quarantine: Witnessing Global Pandemic Initiative (स्ट्यानफोर्ड विश्वविद्यालय), International Human Rights Art Festival र Poetry and Covid (युके आर्ट्स एण्ड ह्युम्यानिटीज रिसर्च काउन्सिल) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल तथा सङ्ग्रहहरूमा आफ्नो कृति प्रकाशित गरेका छन्।

उनले दक्षिण कोरिया, भारत, संयुक्त राज्य अमेरिका, थाइल्यान्ड, कम्बोडिया र नेपालमा साहित्यिक कार्यक्रमहरूमा आफ्नो कविता प्रस्तुत गरेका छन्।

अमर आकाश (लक्ष्मण अधिकारीको लेखनाम) समकालीन नेपाली कविता र कथामा एक विशिष्ट आवाज हुन्। नयाँ दिल्ली विश्व पुस्तक मेलामा विमोचित उनको पहिलो कविता संग्रह तुङ्गनाले भारत र नेपाल दुवैमा गीतात्मक गहिराइ र नवीन शैलीका कारण प्रशंसा पायो।

मधुपर्क र प्रतीकका नियमित स्तम्भकार, आकाश आफ्ना साहित्यिक आलोचना, चलचित्रसम्बन्धी निबन्ध, र समकालीनमा प्रकाशित कथाहरूका लागि पनि परिचित छन्। उनको धेरै प्रतीक्षित पहिलो उपन्यास ग्रहण सन् २०२६ मा प्रकाशन हुने तर्खरमा छ। ILFK लाई “सुनौलो अवसर” भन्दै आकाशले भने, “नेपाली साहित्यलाई फराकिलो संसारमा परिचय गराउनु र विशिष्ट लेखकहरूको आकाशगंगामा सामेल हुनु एक सौभाग्य हो।”

थपलियाले पनि समान भावना व्यक्त गर्दै आफ्नो सहभागितालाई “एक अद्वितीय अनुभव — हाम्रो नजिकको छिमेकीलाई अध्ययन गर्दै यसको जीवन्त साहित्यिक सागरमा पौडने अवसर” भनेर वर्णन गरे। केरलाको अन्तर्राष्ट्रिय साहित्य महोत्सवले हजारौं साहित्य–उत्साहीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ र सांस्कृतिक आदान–प्रदान तथा संवादका लागि एक गतिशील प्लेटफर्मको रूपमा स्थापित हुने वाचा गर्दछ।

चिकित्सकहरू ठूलो सङ्ख्यामा नियमित रूपमा विदेश ‘पलायन’ हुँदाको जोखिम

काठमाडौं ।  शहीद गङ्गालाल हृदय रोग केन्द्रका वरिष्ठ शल्यचिकित्सक डा रामेश कोइरालाले अमेरिका पुगेर राजीनामा दिएको घोषणा गरेपछि नेपालमा विशेषज्ञ चिकित्सकहरूको विदेश पलायनबारे कतिपयले चिन्ता गरिरहेका छन्। सामाजिक सञ्जालमा यस्तो चिन्ता गर्नेमा स्वास्थ्यकर्मीहरू मात्रै नभई राजनीतिज्ञ र सर्वसाधारण समेत छन्।

नेपाल मेडिकल काउन्सिलका अनुसार गएको आर्थिक वर्ष विदेशमा अध्ययन वा कामका लागि चारित्रिक प्रमाणपत्र लिने चिकित्सकहरूको सङ्ख्या २,६८१ छ। त्यसमध्ये २९१ जनाले नेपालमै रहनका लागि ‘गुड स्ट्यान्डिङ सर्टिफिकट’ भनिने चारित्रिक प्रमाणपत्र लिएका छन्।

सन् २०२० अघि ‘मेडिकल’ र ‘डेन्टल’ गरी चिकित्सकको लाइसन्स परीक्षा उत्तीर्ण गर्नेहरूको सङ्ख्या २६ हजार आसपास मात्रै रहेको काउन्सिलको तथ्याङ्कले देखाउँछ।

चिकित्सा क्षेत्रको नियामक निकाय मेडिकल काउन्सिलका अनुसार सबैभन्दा धेरै चिकित्सकहरूले अमेरिका जानका लागि चारित्रिक प्रमाणपत्र लिएका छन्। त्यसपछि यूके, माल्दिभ्स, अस्ट्रेलिया, भारत, क्यानडा लगायतका देशहरू छन्।

नेपाली चिकित्सकहरू सिङ्गापुरदेखि साउदी अरबसम्म गइरहँदा देशमा जनसङ्ख्याको अनुपातमा चिकित्सकहरूको अभाव कम गर्ने सरकारी लक्ष्यमा भने चुनौती थपिने क्रममा छ।

चिकित्सक पलायन हुँदा निम्तिने जोखिम

चिकित्सकहरू शल्यक्रियापछि

तस्बिर स्रोत,SDNTC

नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकहरूको पछिल्लो सङ्ख्या ३८,४९९ छ। त्यसमध्ये केही विदेशी चिकित्सकहरू पनि छन्।

नेपालमा करिब ११,००० विशेषज्ञ चिकित्सक छन्।

पछिल्लो समय तीव्र गतिमा बढेको चिकित्सकहरूको विदेश पलायनले केही विशिष्ट र जटिल रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरू स्वदेशमा र विशेष गरी उपत्यका बाहिर पाउन चुनौती हुन सक्ने नेपाल चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष डा बद्री रिजाल बताउँछन्।

“विशेषज्ञ हुनलाई ३५ वर्षसम्म अध्ययन गरेर तयार भएको जनशक्तिलाई रोक्न सकेन भने पक्कै पनि स्वास्थ्य क्षेत्रमा ठूलो असर हुन्छ,” रिजाल भन्छन्। “कार्डिओलजिस्ट, कार्डियाक सर्जन, भास्कुलर सर्जन, न्यूरोसर्जन, प्लास्टिक सर्जनहरूको जनशक्ति अहिले नै अभाव छ।”

सेवा सुविधा र चिकित्सकहरूमाथि बेलाबखत हुने आक्रमणबाट व्यक्तिगत सुरक्षा अभावका कारण चिकित्सकहरू उपत्यका बाहिर बस्न नखोजेको रिजाल बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पनि काठमाण्डू उपत्यकाबाहिर चिकित्सक र स्वास्थ्यकर्मीहरूको अभाव देखाएको छ। सङ्घीय अस्पतालहरूमा चिकित्सकहरूको दरबन्दी रिक्त नभए पनि प्रादेशिक र स्थानीय अस्पतालहरूमा चिकित्सकहरू धेरै रिक्त रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन्।

त्यसको एउटा कारण प्रदेश लोकसेवा आयोगबाट चिकित्सकहरूको पदपूर्तिमा भएको ढिलाइ पनि रहेको उनले बताए। नेपालमा सङ्घीय संरचना लागु भएपछि स्वास्थ्यकर्मीहरूको समायोजन हुँदा अधिकांशले सङ्घीय सेवा रोजेका थिए।

“देशभरि तीनवटै तहमा सबै स्वास्थ्यकर्मीहरूको ३२-३३ हजार दरबन्दी हुँदा २०-२१ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरूको पदपूर्ति भएको छैन,” उनी भन्छन्।

नेपालमा चिकित्सा अध्ययन गर्ने युवाहरूको सङ्ख्या बढ्दो क्रममा रहे पनि नयाँ चिकित्सकहरूलाई स्वदेशमै टिकाउन चुनौती देखिएको मन्त्रालयका प्रवक्ता बताउँछन्।

“नेपालमा उचित सुविधा र पेसागत सुरक्षा दिन सकियो भने मात्रै चिकित्सकहरू रहलान्। नभए त जहाँ बढी सुविधा पाइन्छ, जहाँ भविष्य सुनिश्चित हुन्छ, सबै त्यतै जान खोज्छन्,” बुढाथोकी भन्छन्।

निजामती ऐनमा स्वास्थ्यलाई अलग राख्ने र काम तथा दुर्गमताअनुसार अतिरिक्त सेवासुविधाको कानुन बनाउन पहल भइरहेको प्रवक्ता बुढाथोकी बताउँछन्।

जनसङ्ख्याको अनुपातमा चिकित्सकहरूको अभाव

चिकित्सकहरू शल्यक्रिया गर्दै

तस्बिर स्रोत,SDNTC

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक १०,००० जनसङ्ख्याबराबर १० जना मेडिकल डाक्टरहरू छन्। उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले दिगो विकास लक्ष्य हासिल गर्न प्रत्येक १० हजार जनसङ्ख्याका लागि ४४ जना डाक्टर, नर्स र सुँडेनीहरू आवश्यक पर्ने जनाएको छ।

“एक करोड नेपाली हुँदाको जनशक्तिले अहिले तीन करोड जनसङ्ख्या हुँदा पनि सेवा दिनु परिरहेको छ। एक जना स्वास्थ्यकर्मीले चार जनाबराबरको काम गर्नुपर्ने अवस्था छ,” मन्त्रालयका प्रवक्ता बुढाथोकी भन्छन्।

चिकित्सा शिक्षा आयोगको नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपणले विसं २०८७-८८सम्म प्रति १० हजार जनसङ्ख्यामा स्वास्थ्य जनशक्ति अनुपात ४७.४५ हुने प्रक्षेपण गरेको छ।

उक्त प्रतिवेदनले नेपालमा स्वास्थ्य जनशक्तिको औसत वार्षिक वृद्धिदर ३.६ प्रतिशत हुने आकलन गरे पनि विशेषज्ञ चिकित्सकको वृद्धिदर न्यून हुने प्रक्षेपण गरेको छ।

विसं २०७७/७८ सालमा एमबीबीएस स्नातक र तथा विशेषज्ञसहित ५,७७९ चिकित्सक अपुग रहेको उक्त प्रक्षेपणमा उल्लेख थियो। त्यस बेला करिब २०,००० मात्रै चिकित्सक थिए।

विसं २०८२/८३सम्म ३०,००० चिकित्सक आवश्यक हुने प्रक्षेपणअनुसार नेपालमा उत्पादित चिकित्सकहरूको सङ्ख्या बढे पनि नेपालमा कार्यरत चिकित्सकहरू २०,००० आसपास मात्रै रहेको चिकित्सक सङ्घको आकलन छ।

‘बिरामीको खर्च बढ्न सक्छ’

अस्पतालको औषधि बिक्री कक्षअगाडि बिरामीहरूको लाइन

नेपालका अब्बल र नयाँ पुस्ताका चिकित्सकहरू ठूलो सङ्ख्यामा बाहिरिनु गम्भीर समस्या रहेको प्राध्यापक डा अर्जुन कार्की बताउँछन्। “यो समाजका सबै क्षेत्रले चिन्ता गर्नुपर्ने विषय हो। चिकित्सक मात्रै गएका छैनन्, नर्सहरू पनि गइरहेका छन्, विद्यार्थी पनि गएका छन्, धेरै युवाहरू गइरहेका छन्,” कार्की भन्छन्।

“यो क्रम रोक्न सकिएन भने सक्नेले विदेश गएर उपचार गर्नुपर्ने र नसक्नेले उपचार नपाएर मर्नुपर्ने अवस्था आउन सक्छ।” सरकारी छात्रवृत्तिमा अध्ययन गरेर तयार भएका नयाँ चिकित्सक बाहिरिँदा राज्यको लगानी र दक्ष चिकित्सकको उपलब्धता जस्ता दुवै पाटोमा असर पर्ने चिकित्सा क्षेत्रका जानकारहरू बताउँछन्।

नेपालमा अहिलेसम्म पनि कतिपय जटिल रोगसम्बन्धी दक्ष चिकित्सक उत्पादन हुँदैनन्। बाहिर पढेर आएका चिकित्सकहरू नेपालमा नटिकेर विदेशिनुपर्ने अवस्था आए त्यसले थप चिन्ता जन्माउने कार्की बताउँछन्।

चिकित्सक सङ्घका वरिष्ठ उपाध्यक्ष रिजाल दक्ष चिकित्सकको सङ्ख्या कम हुँदा बिरामीहरूको उपचार खर्च बढ्न सक्ने बताउँछन्।

“अहिले नै उपत्यकाबाहिर दक्ष चिकित्सक नहुँदा उसको आउनेजाने खर्च बेहोरेर अस्पतालहरूले झिकाउने गरेका छन्। बिरामी आफैँ बाहिरबाट काठमाणडू आउनुपर्‍यो भने पनि उसको आउनेजाने, खानेबस्ने थप खर्च हुने अवस्था छ,” रिजालले भने। -बीबीसी नेपाली 

बाजुराकाे हिमाली गाउँपालिकामा बाढीले ११ वटा घर बगायाे

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा रहेको बिच्छ्या खोलामा आएको बाढीले ११ वटा घर बगाएको छ । गएराति आएको बाढीले ११ घर बगाएको, ७ घरमा क्षति पुगेको र १७ वटा घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

हिमाली गाउँपालिकाको वडा नम्बर १, ३ र ५ मा बढी क्षति भएको र स्थानीय प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको छ । बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा बैतडीमा १ सय २७ मिलिमिटरभन्दा धेरै पानी परेको छ । सुदूरपश्चिमका कैलाली, डोटी, अछाम लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ । आजराति कोशी प्रदेशको पहाडी भू–भागको १/२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दैनिक एक हजारभन्दा बढीले पार्टी सदस्यता लिइरहेको रास्वपाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैनिक एक हजारभन्दा बढीले आफ्नो पार्टीको सदस्यता लिइरहेको दाबी गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा रास्वपाका प्रवक्ता मनिष झाले अहिले पार्टी प्रवेश गर्नेको लर्को लागेको दाबी गरे ।

“अहिले हामीकहाँ दैनिकरूपमा हजार जनाभन्दा बढीले सदस्यता लिइरहनुभएको छ,” उनले भने ।

बिहीबार सशस्त्र प्रहरी बलका सेवा निवृत्त डीआईजी दुर्गा भट्टराई र अर्का सेवा निवृत्त एसएसपी विश्वेश्वर थापासहित रास्वपा प्रवेश गरेका छन् ।

यस्तै, अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्वगभर्नर शोभा जोशी, नेपाली सेनाका पूर्वकर्नेल डा. प्रद्युम्न पौडेल पनि रास्वपामा प्रवेश गरे ।

रसुवामा बस दुर्घटना: २१ जना घाइते, ४ गम्भीर

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका-५, लहरेपौवामा बिहीबार दिउँसो एक यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। पासाङल्हामु राजमार्गमा अटोलाई साइड दिने क्रममा बस अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्मका अनुसार, गत्लाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस दिउँसो करिब २:१५ बजे दुर्घटनामा परेको हो।

धुन्चे-त्रिशुली सडकखण्डमा विपरीत दिशाबाट आएको अटोलाई ठाउँ दिने प्रयास गर्दा बस सडकबाट तल खस्न पुगेको थियो। बस घटनास्थलमै कुच्चिएको र झ्यालका सिसाहरू फुटेर क्षतविक्षत अवस्थामा रहेको छ।

दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीहरू उद्धार कार्यमा खटिएका थिए। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशुली अस्पताल, नुवाकोट पठाइएको छ।

गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंको ग्रीन सिटी अस्पतालमा रिफर गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

गम्भीर घाइते हुनेहरूमा रसुवा आमाछोदिङ्मोकी २० वर्षीया प्रिस्किला तामाङ, ५१ वर्षीया दावा साङ्मो तामाङ, २८ वर्षीया सुनिता तामाङ र नुवाकोट किस्पाङका ५४ वर्षीय बुद्दि वि.क. रहेका छन्।

एक २ महिने शिशुलाई पनि मध्यम चोट लागेको र थप उपचारका लागि काठमाडौं पठाइएको छ।

बसका चालक नुवाकोटका २७ वर्षीय गणेश सुनार र सहचालक २१ वर्षीय राजकुमार सेन्चुरी पनि मध्यम घाइते भएका छन्। अन्य घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको र उनीहरूको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ।

ओलीको हावादारी गफले देश बर्बाद भयोः दाहाल

काठमाडौँ –  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्।

संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएको बताए। प्रधानमन्त्रीले धरातल छोडेर हावादारी गफ दिएको उनको आरोप छ।

आफू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको र आफूले सदनमा बोलेकोभन्दा फरक नरहेको बताए।

उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ। यथार्थ धरातलमा के छ भन्नेकुरा सबै जनतालाई थाहा छ। उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ। त्यसले गर्दा पनि देश बर्बाद भएको छ। टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ। उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ। त्यो बेठिक छ।’

टियुलाई मात्रै इस्यु बनाएर प्रधानमन्त्री आफूमाथि उत्रिएको बताए।

जसपा र राष्ट्रिय मुक्ति पार्टीले गरे कार्यगत एकता घोषणा

काठमाडौं ।  जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच बिहीबार कार्यगत एकताको घोषणा गरिएको छ। अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन्। उनीहरूबीच निकट भविष्यमा नै पार्टी एकता गर्ने गरी कार्यगत एकताको घोषणा गरिएको हो।

‘देशलाई अग्रगामी निकास दिन पहिचानसहितको संघीयता र समाजवाद पक्षधर शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यकता छ भन्ने कुरा हृदयङ्गम गर्दै, संविधानको अग्रगामी संशोधन, परिमार्जन र विकास गर्ने उद्देश्यले जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल निम्न साझा मुद्दा, लक्ष्य र उद्देश्यहरू प्राप्तिका लागि एकता उन्मुख कार्यगत एकता गर्न सहमत भएका छौं,’ कार्यगत एकताको सहमति पत्रमा उल्लेख छ।

दुई दलबीचको कार्यगत एकताको संरचना तीन तहकै हुने सहमति पत्रमा उल्लेख छ।

केन्द्रीय तह, प्रादेशिक तह, स्थानीय तहमा कार्यगत एकता हुनेछ। केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने र यस समितिमा पार्टीका अध्यक्षहरूसहित दुवै पार्टीबाट ७/७ जना रहने छन्। समितिमा कम्तीमा २ जना महिला हुनुपर्ने व्यवस्था राखिएको छ।

आपसी समन्वय र कार्यसञ्चालनको लागि सचिवालय बनाउन सकिने प्रावधान राखिएको छ।

प्रादेशिक तहमा प्रदेश संयोजन समिति रहने र यस समितिमा प्रदेशका अध्यक्षहरूसहित प्रत्येक पार्टीहरूबाट ५/५ जना रहने उल्लेख छ।

स्थानीय तहमा हाललाई जिल्ला संयोजन समिति रहने र यस समितिमा जिल्ला अध्यक्षसहित ३/३ जना रहने दुवै पार्टीले बताएका छन्।

पार्टीका जनवर्गीय/भ्रातृ सङ्गठनहरूबीच पनि आवश्यकतानुसार संयुक्त संरचना निर्माण गर्न सकिने उल्लेख छ।

कार्यगत एकतामा संलग्न पार्टीहरूले बैठकको अध्यक्षता आलोपालो गर्ने र सबै तहको संयोजन समितिको बैठक, कार्यसूचीहरूको निर्धारण आपसी सहमतिको आधारमा हुने तय गरिएको छ।

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका काम तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

प्रधानमन्त्री ओलीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

जम्मू कश्मिरको किश्तवाडमा क्लाउडबर्स्ट, १२ जनाको मृत्यु

जम्मू-कश्मीर । जम्मू-कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब-डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२:३० बजे ‘क्लाउड ब्रस्ट’ (बादल फाट्ने) भएको छ। पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, यो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उनीहरूको शव पनि फेला परेको छ। २५ जनाभन्दा बढी मानिस घाइते भएका छन् र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

हजारौं तीर्थयात्री मचैल माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएको बेला यो घटना भएको थियो। यो यात्राको पहिलो बिसौनी हो। क्लाउड ब्रस्ट भएको ठाउँबाट नै यात्रा सुरु हुनेवाला थियो। यहाँ तीर्थयात्रीहरूका बस, टेन्ट, लंगर (सामुदायिक भोजनालय) र धेरै पसलहरू थिए। बाढीको पानीले ती सबै बगाएको छ।

मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन्। यो यात्रा जुलाई २५ देखि सेप्टेम्बर ५ सम्म चल्नेछ। यो रुट जम्मूदेखि किश्तवाडसम्म २१० किलोमिटर लामो छ र यसमा पद्दरदेखि चशोटीसम्मको १९.५ किलोमिटर सडकमा सवारी साधन चल्न सक्छन्। त्यसपछि मचैलसम्म ८.५ किलोमिटरको पैदल यात्रा हुन्छ।

उता, हिमाचल प्रदेशका अधिकांश क्षेत्रमा बुधबार राति भारी वर्षा भएको छ। कोटखाईको खलटूनालाको पहाडमा बिहान ३ बजे बादल फाट्दा खोलामा माटोको ढिस्को आएको छ। यसले गर्दा एउटा पेट्रोल पम्प र ६ वटाभन्दा बढी गाडीहरू पुरिएका छन्। पम्पमा काम गर्ने कर्मचारीहरूले भागेर ज्यान बचाएका थिए।

हिमाचल प्रदेशको कुल्लु र शिमलामा पनि बुधबार साँझ ४ ठाउँमा क्लाउड ब्रस्ट भएको  थियो। कुल्लुको श्रीखण्ड र तीर्थन भ्याली, शिमला जिल्लाको फाचाको नान्टी गाउँ र काशापाठमा बादल फाटेपछि नदी र खोलाहरूमा बाढी आएको छ।

हिमाचल प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार, पछिल्लो २४ घण्टामा वर्षा र यससँग सम्बन्धित घटनाहरूका कारण ३९६ वटा सडकहरू बन्द भएका छन्।

बजेट अभावले मल आपूर्ति आधा कटौती

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक मलको माग १३ लाख टन भए पनि चालु आर्थिक वर्षमा ६ लाख टन मात्र आपूर्ति गर्ने सरकारको योजना रहेको जानकारी दिएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा मलको लागि उपलब्ध बजेटले माग धान्न नसकिने बताए।

उनका अनुसार युरिया मलमा ८२ प्रतिशत, डिएपीमा ६४ प्रतिशत र पोटास मलमा ४९ प्रतिशतसम्म अनुदान दिइएका कारण पर्याप्त मात्रामा मल आयात गर्न कठिनाइ भइरहेको छ।

मन्त्री अधिकारीले खरिद गरी ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत हुने क्षेत्रहरूमा प्रदेश सरकारमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको बताए।

खेतियोग्य जमिन, सिंचाइ सुविधा, बाली सघनता, विगतको खपत तथा हालको मागका आधारमा प्रदेशको कोटा निर्धारण गरिने उनको भनाइ छ।

उनले बाँकी १० प्रतिशत मल बफर स्टोरमा राखिने र प्रदेश समितिको सिफारिसमा वितरण गरिने उल्लेख गरे।

उनले भने, ‘हाल वार्षिक मलको माग १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण रहेको छ। चालु आर्थिक वर्षमा ६ लाख टन आपूर्ति गर्ने सरकारको योजना छ। मलमा अत्यधिक अनुदान रहेको कारण पनि उपलब्ध बजेटले माग सम्बोधन गर्ने गरी मल ल्याउन सकिएको छैन।’

एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि

काठमाडौं : पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै गत पुषदेखि हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ५२ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सवैभन्दा धेर् गण्डकी प्रदेशमा ८ सय ७७, बागमतीमा ६ सय १२ कोशीमा ५ सय १८ , लुम्बिनीमा ४ सय ६५, सुदूरपश्चिममा ३ सय १६, कर्णालीमा ७७ र मधेश प्रदेशमा ५३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षहरूमा वर्षायाममा तराईका जिल्लाहरूमा मात्रै देखिने डेंगुको सङ्क्रमण पहाडी जिल्ला हुँदै हिमाली जिल्लाहरूसम्मै फैलिन थालेपछि जनस्वास्थ्यको प्रमुख चुनौति बनेको छ ।

पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध अकुत सम्पत्ती आर्जन गरेका भन्दै भ्रष्टाटार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार यादवमाथि ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ बिगो दाबी गर्दै गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोग दर्ता गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवको शुरू नियुक्ति मिति २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्मको जाँच अवधिमा वैध आय २ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँ रहेको छ।

त्यही अवधिमा उनको कुल खर्च तथा लगानी भने ३ करोड ६५ लाख ४ हजार ४ सय ५३ रुपैयाँ छ। निर्देशक यादवको वैध आयभन्दा ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँले स्रोत पुष्टि नभएको प्रवक्ता पौडेलले जानकारी दिलए।

सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अभियोगपत्रमा उल्लेख छ।

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको पाइएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उनलाई समेत प्रतिवादी कायम गरिएको छ।

‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा रिलिज हुने

पोखरा- हिन्दी फिल्म ‘मिलियन भ्युज’ भारतभन्दा पहिले नेपालमा प्रदर्शन हुने भएको छ। आगामी १२ सेप्टेम्बरमा नेपालका अधिकांश हलमा एकैपल्ट प्रदर्शन तयारी छ। त्यसका लागि फिल्म यूनिटले नेपालमा प्रचारप्रसार सुरु गरिसकेको छ।

बिहीबार पोखरामा पत्रकारहरूसँग कुराकानीमा नेपालका लागि डिष्ट्रिब्यूटर केदार पराजुलीले फिल्मको कथावस्तु मन परेर यहाँ ल्याउन लागिएको बताए। उनले भने, ‘भारत गएको बेला यो फिल्म हेरेँ, कथाबस्तु राम्रो लाग्यो र नेपालमै रिलिज तयारी गरिएको हो।’

भारतमा सेन्सरका लागि लामो समय पालो कुर्नुपर्ने भएकाले नेपालमा पहिले प्रदर्शन गर्ने तयारीमा फिल्म यूनिट छ। फिल्मका वर्ल्डवाइड डिष्ट्रिब्यूटर विकासकुमार राजपुत सिंहले ‘त्यहाँ क्यूमा छ, तर कहिले सेन्सर पास हुन्छ भन्न सकिँदैन, नेपाल आफूलाई पनि मनपर्ने र उहाँ (केदार) सँग कुराकानीपछि नेपालमा रिलिज तयारी गरिएको हो।’

नेपालका लागि भने सेन्सरमा धेरै समय लाग्दैन। वर्ल्डवाइड डिष्ट्रिब्यूटर विकासले फिल्म मनोवैज्ञानिक थ्रिलर भएको बताए। ब्ल्याक वेबको भयावह गहिराइमा आधारित भारतीय थ्रिलर ‘मिलियन भ्युज’ ले २५ वर्षीया दृढ इच्छाशक्ति र आत्मसम्मान बोकेकी युवतीको जीवन–मरणको संघर्षलाई पर्दामा उतारेको उनको भनाइ छ। उनले भने, ‘आशा छ, नेपाली दर्शकले रुचाउनुहुनेछ।’

थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका अंशुल सिंन्हाले फिल्म निर्देशन एवं निर्माण गरेका हुन्। कथा पनि उनै आफैँले लेखेका हुन्। फिल्ममा सिद्धि जयसवाल र सोहनको मुख्य अभिनय छ। त्यस्तै, प्रवीन सहायक भूमिकामा देखिएका छन्।

फिल्ममा युवतीको आत्मसम्मान विषयलाई प्रभावकारी रूपमा उठाइएको जनाइएको छ। ९० मिनेटभित्र १० लाख भ्यूज हासिल गर्न वा आफ्नी साथीको ज्यान गुमाउनुपर्ने कठोर अल्टिमेटम विषयलाई आत्मसम्मान जोगाउने संकल्पसँग सिनेमामा जोडिएको विकासकुमारले बताए।

मार्केटिङ बासुदेव सिंहले फिल्म करिब १२ करोड लागतमा निर्माण भएको बताए। उनका अनुसार नेपालका सयभन्दा बढी हलमा रिलिज गर्ने तयारी छ। रिलिजअघि ८ सेप्टेम्बरमा कलाकारसहित काठमाडौँमा प्रमोसन साँझ हुने र पछि फेरि पोखरा, बुटवल, चितवन सहरमा जाने निर्माण पक्षले जनायो।

आउटपुट मिडियाको ब्यानरमा निर्माण भएको फिल्म करिब २ घण्टा लामो छ। कार्यक्रममा ‘नालापानी’ फिल्म निर्देशक रिमेश अधिकारीले पनि फिल्मको कथावस्तु नेपाल र भारत दुवैको सामाजिक पृष्ठभूमिसँग मेल खाने बताए।

कारागारहरूका समस्या समाधान गर्न संसदीय अध्ययन समिति बनाउनुपर्छ: एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले देशभरका कारागारमा देखिएका विभिन्न समस्याहरूको दीर्घकालीन समाधानका लागि संसदीय अध्ययन समिति गठन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले भने, ‘गृह प्रशासन सुधार योजना, २०७८ अन्तर्गत जारी कारागार सुधार अवधारणा पत्र, २०७९ को प्रतिवेदन कार्यान्वयन गर्न तथा कारागार सुधारसम्बन्धी प्रक्रियाको व्यापक अध्ययन गरेर यो समस्याको दीर्घकालीन रुपमा समाधान गर्न एउटा संसदीय अध्ययन समिति गठन गर्न माग गर्दछु।’

कैदीबन्दीहरूको अधिकारको रक्षा गरेर सुधारको बाटो देखाउनु नै सभ्य र उत्तरदायी राज्यको पहिचान भएको उनले बताए। उनले राष्ट्रिय मानव अधिकार आयोगलाई उद्धृत गर्दै साउन २४ गते कैलाली कारागारमा कैदीबन्दीहरूबीच भएको मुठभेडबाट उत्पन्न घटना, वीरगञ्ज कारागारमा कैदीको मृत्यु, रुपन्देही जिल्ला कारागारलगायत अन्य जिल्लाका कारागारहरूमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा न्यूनतम मानव अधिकारको संरक्षणसमेत हुन नसकेको अवस्था रहेको बताए।

साउदले देशभरका ७५ वटा कारागारमा झण्डै १८ हजार २८३ कैदी र १० हजार ४३५ जना थुनुवा गरी २८ हजार ७१८ कैदीबन्दी रहेको बताए। ‘त्यसबाहेक १४२७ जना विदेशी नागरिकसमेत छन्। यीमध्ये धेरैजसो जेल क्षमताभन्दा दोब्बर बढी कैदी राखेर सञ्चालनमा छन्,’ उनले भने।

सुदूरपश्चिमका विभिन्न जिल्लामा वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

काठमाडौं : बिहिबार नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ। अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए।

विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ। कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए।

गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको विभागले जनाएको छ। हिजो देशैभरी सक्रिय भएको मनसुन आज भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसमविद् ढकालले उल्लेख गरे।  “पछिल्लो २४ घण्टाको मापन हेर्दा भने सबैभन्दा बढी वर्षा बैतडीमा ११६, डोटीमा ९२ दशमलव चार, कैलालीमा ९० दशमलव छ र अछाममा ९८ मिलिमिटर वर्षा भएको छ”, उनले भने।

उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, कास्की, पर्वत जिल्लामा पनि भारी वर्षा भएको जनाउँदै उहाँले धेरै वर्षा मापन केन्द्रहरूमा भारी वर्षा भएको अभिलेख रहेको बताए। पछिल्लो तीन घण्टाको रेकर्ड कैलाली, दार्चुला, बैतडी, डडेलधुरा तथा आसपासका जिल्लाहरू पनि निरन्तर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पुर्वी भू-भागभन्दा पश्चिमतर्फ बढी सक्रिय भइरहेको हो।

हाल देशभर साधारणतया बदली भई सुदुरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा वर्षा भइरहेको छ। आज रातिदेखि विस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ।  मौसमविद् ढकालले भने, ‘‘वर्षा रोकिने नै चाहिँ हुँदैन, तर भारी वर्षा कम हुने देखिएको छ, छिटफूट ठाउँमा मात्रै भारी वर्षा हुन्छ, बदली भने कायमै रहने छ।”

सरकारले ल्यायो एआई नीति

काठ्माण्डौँ- सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)नीति स्वीकृत गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एआई नीति-२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो।

त्यस्तै मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्र, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटी व्यावसायिक प्रशिक्षक केन्द्र, बुटवल र व्यवसायिक प्रशिक्षण केन्द्र, इटहरीको लागि आर्थिक वर्ष  ०८२-०८३ मा आवश्यक पर्ने अधिकृतस्तरका ७२५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

एमसीसीको सहयोगमा बन्ने विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा सम्झौता भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले बिहीबार विज्ञप्ति जारी गर्दै १५.४५ करोड डलरको विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेर पुनः सक्रिय भएको जनाएको हो।

एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनमध्ये  दुई खण्ड निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको एमसिए–नेपालले जनाएको छ।

एमसिए नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरेको जनाएको छ।

एमसिए–नेपालका अनुसार संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका सम्झौताअन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिनेछ।

‘यी सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ’, एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ।’

सम्झौताले नेपालमा विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एमसीए–नेपालले जनाएको छ।

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

कञ्चनपुर । सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए।

उनकाअनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।

इजरायली आक्रमणमा परी गाजामा एकैदिन एक सय जनाभन्दा धेरैको ज्यान गयो

एजेन्सी- गाजाको उत्तरी क्षेत्रमा इजरायलको तीव्र बमबारीका कारण कम्तीमा एक सय जना प्यालेस्टेनी नागरिकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ६१ जना गाजा सिटीकै रहेका अलजजिराले जनाएको छ । गाजा सिटी वरपरको क्षेत्र विशेषगरी जैतुन, साब्रा र शेख रदवानमा हवाई तथा तोप आक्रमण तीव्र भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र इजरायली नाकाबन्दीका कारण भोकमरी र कुपोषणबाट तीन बालबालिकासहित आठ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्ध शुरू भएदेखि अहिले भोकमरी र कुपोषणबाट १ सय ६ बालबालिकासहित २ सय ३५ जनाको ज्यान गइसकेको खबरमा उल्लेख छ ।

यसैबीच गाजामा युद्धविरामका लागि हमासको प्रतिनिधि मण्डल हिजो इजिप्ट पुगेको छ । गएको जुलाईमा कतारमा भएको वार्ता असफल भएपछि फेरि काइरोमा युद्ध रोक्ने, राहत आपूर्ति गर्ने र गाजावासीको पीडा अन्त्य गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

इजरायली सुरक्षा क्याबिनेटले केही दिनअघि गाजा सिटी कब्जा गर्ने तथा लाखौं प्यालेस्टीनी नागरिकलाई जबरजस्ती स्थानान्तरण गर्ने योजना पारित गरेको छ ।

दार्चुलामा बाढीले तीन पुल बगायो

दार्चुला । टिंकर खोलाको बाढीले छांगरुदेखि टिंकरसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगाएपछि टिंकर गाउँसँगको सडक सम्पर्कविच्छेद भएको छ ।

टिंकर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्याँस गाउँपालिका–१ का वीरेन्द्रसिंह तिंकरीले जानकारी दिए । टिंकरमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए ।

बाढीबाट गाउँमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए । उनले भने, “टिंकर सीमा प्रहरीचौकीसँग सञ्चार सेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिंकरबाट प्रहरी परिचालन भएका छन् ।”

छांगरुदेखि टिंकरसम्मको झन्डै ३०० देखि ४०० मिटर बाटो पनि बाढीले बगाएको छ ।

बाजुरा विच्छ्याको बाढीले बस्ती जोखिममा : पुल बगायो, १० घरमा क्षति

बाजुरा । बाजुराको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ ।

बुधबार (साउन २८) रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताए । उक्त खोलाको एउटा झोलुंगो पुलसहित केही घरहरू बगाएको उनले जानकारी दिए ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार, यति बेलासम्म १० घरमा क्षति भएको छ । क्षतिको मूल्यांकन गर्न पालिकाबाट टोली परिचालन गरिएको छ । प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भएको छैन । बाढीले उक्त क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले वर्षा जारी रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

टप इन्ड सिरिजलगत्तै नेपालले अस्ट्रेलियामै अर्को शृंखला खेल्ने

काठ्माण्डौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा टप इन्ड सिरिजका अतिरिक्त अर्को एउटा शृंखला पनि खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार, आईसीसी पुरुष टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीकै क्रममा नेपालले यो शृंखला खेल्न लागेको हो ।

टप इन्ड सिरिज अगस्त १४ देखि २४ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुँदैछ । उक्त शृंखला सकिएलगत्तै नेपाली टोली अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ ।

उक्त शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ ।

सोही दिन नेपाली टोलीले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपाली टोलीले आफ्नो पाँचौँ तथा अन्तिम खेल पनि अगस्त ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्ने क्यानले जनाएको छ ।

यो शृंखलाअघि नेपाली टोली अस्ट्रेलियामै टप इन्ड सिरिज खेल्नेछ । टप इन्ड सिरिजमा नेपालले आफ्नो पहिलो खेल अगस्त १५ तारिखमा एनटी स्ट्राइकसँग खेल्नेछ । उक्त शृंखलामा नेपाली टोलीले आफ्नो दोस्रो खेल १६ तारिखमा बंगलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।

यसैगरी, नेपाली टोलीले आफ्नो तेस्रो खेल अगस्त १८ तारिखमा स्टार्ससँग र चौथो खेल १९ तारिखमा हरिकन्ससँग खेल्नेछ । नेपालले अगस्त २० तारिखमा रेनगेड्ससँग पाँचौँ र २२ तारिखमा पाकिस्तान ‘ए’ सँग छैटौँ खेल खेल्नेछ ।

नेपाली टोलीले यी दुबै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

शिक्षा विधेयकमा असन्तुष्टि : निजी विद्यालय सञ्चालकले घोषणा गरे आन्दोलन

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका हुन् ।

निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । जसअन्तर्गत आज पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

भोलि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरेका छन् ।

यस्तै, भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापन पत्र बुझाउने र सुझाव संकलनका लिग राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय प्याब्सन–एनप्याब्सले गरेका छन् । भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र ६–७ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एन प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा सबै तहका समितिलाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।

 

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा आयोजना हुँदैछ ।

यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले उदघाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।

युवा अभियन्ता करिया प्रधानलाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड

धनगढी, २९साउन ।
कैलालीका युवा अभियन्ता ठाकुर प्रसाद चौधरी (करियाप्रधान) अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।

मानव अधिकार अभियानका लागि युवा नेपालद्धारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित आप्रवासी कामदारको मानवअधिकार विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा चौधरी सहित दुई नेपाली र १ बंगलादेशी युवा अभियन्तालाई सो अवार्ड प्रदान गरिएको हो ।

मानवअधिकारको रक्षा र प्रवद्र्धनको क्षेत्रमा खेलेको असाधारण र उच्च योगदानको कदर गर्दै सो संस्थाले इजरायली राजदूत स्मुलिक अरी वासमार्फत उनलाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड प्रदान गरेको हो ।

हाल धनगढी उपमहानगरपालिका- १ शिवनगर बस्दै आएका करिया प्रधान कैलालीको घोडाघोडी नगरपालिका -१० थेवैका स्थायी वासिन्दा हुन् । उनी सन २०१० देखि युवा सशक्तिकरणको क्षेत्र क्रियाशिल छन् ।

युवाहरुको हकहीत र अधिकारका लागि वकालत गर्दै आएका करियाप्रधानले स्थानीय सरकारको क्षमता अभिबृद्धिका लागि सञ्चालित सुशासन परियोजनाको समेत नेतृत्व गरेका थिए ।

युवा अभियान, थारु विद्यार्थी समाज, आदिवासी जनजाति विद्यार्थी महासंघको विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गरेका ठाकुरले बातचित घर मार्फत समाज रुपान्तरणका लागि सकारात्मक बहस सञ्चालन गर्दै आएका छन् ।

उनी ग्राम विकास तथा अनुसन्धान केन्द्र (आरडीआसी) कैलालीको सुशासन परियोजनाका जिल्ला संयोजक पनि हुन् ।

गीतकार खड्काको ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ बजारमा

काठमाण्डौं,
गीतकार गणेश खड्काले ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ बजारमा ल्याएका छन् ।

खड्काले रेकर्ड गरेको दुई वर्षपछि ‘नगएको भए हुन्थ्यो’ गीतको म्युजिक भिडिओ आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

खड्काले गीतमा आफ्नो प्रियमान्छेसंगको अपेक्षा व्यक्त गरेका छन् ।  उनी लेख्छन्, ‘नगएको भए हुन्थ्यो बगाई लाने खोलासम्म, पर्खिएको भए हुन्थ्यो म आउने बेलासम्म ।’ छोडी जाने प्रिय मान्छेलाई कहीकतै निष्ठुरी नभनी स्मरण गरेका छन्, अतितका प्रेमील मिठा पलहरु ।

गीतहरुका प्रत्येक हरफ बगेका छन्, नदी झै । हरेक शब्दमा मिठो भाव छ, प्रेमको । अझै आसमा छन्, उनी । कुरिबसेका छन्, बाटो हेरी । र, अपेक्षा गर्दै भन्छन्, फर्किएको भए हुन्थ्यो घुम्तीमाथि लुकिछिपी ।

युवापुस्ताका लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको ‘नगएको भए हुन्थ्यो’ गीतमा महेश खड्काले संगीत भरेका छन् । निता राईले निर्देशन गरेको म्युजिक भिडिओमा अनिश मगर र प्रतिज्ञा भण्डारीको अभिनय रहेको छ । गीतको संगीत संयोजन महाराज थापाले गरेका हुन् ।

दुई सयभन्दा बढि गीत रचना गरेका खड्काका २७ भन्दा बढि रेकर्ड छन् । जसमध्ये १७ गीत बजारमा आएका छन् ।

भोजपुरमा जन्मेका उनको बाल्यकाल त्यही बित्यो । माध्यमिक तहसम्म त्यही पढे । उच्च शिक्षाका लागि धनकुटा पुगे । पढाईसंगै ५० को दशकमा रेडियो नेपालको धनकुटास्थित क्षेत्रीय प्रसारणमा जागीरे भए । त्यही क्रममा उनको परिवार भोजपुरबाट स्थायी रुपमा ईटहरी स¥यो । बसाईसराईको श्रृंखला रोकिएन् । रोजगारीका सिलिसिलामा २००८ मा पूर्वी अफ्रिकाको सेसेल्स पुगे । ५० को दशकदेखि गीत, कविता, नाटक, नियात्रा लेखनमा सक्रिय खड्काको दर्जनौ गीत, कविता र नाटकहरु प्रकाशित छन् । धमनीमा बग्ने रगत झै साहित्य उनको धमनीमा छ । र त जहाँ पुगेपनि पोखिन्छन्, गीतमा । कवितामा । ‘नगएको भए हुन्थ्यो’ गीत उनले सेसेल्समै लेखेका हुन् ।​​​​​​​

एनआरएनएमा परिवर्तनका लागि युवाको नेतृत्व आवश्यक – अवस्थी

न्यूयोर्क, १३ जुलाई ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदमा सुदूरपश्चिमका सुरेन्द्र अवस्थीले उम्मेदवारी दिएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटा स्थायी घर भएका अवस्थी सन २०१७ देखि अमेरिकामा अष्टिनमा बसोबास गर्दै आएका छन् ।

व्यवसायसंगै सामाजिक कार्यमा संलग्न अवस्थीले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा भानु खरेलको टीमबाट बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिएका छन् ।

जुनियर रेडक्रस सर्कलमा आवद्ध भएर माध्यमिक तहदेखि नै सामाजिक कार्यमा सक्रिय भएका अवस्थी सोही बेलादेखि वीपीको आदर्श र सिद्धान्तबाट प्रभावित भएर नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न भए ।

नेविसंघको कञ्चनपुर जिल्ला सदस्य हुदै केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका अवस्थीले स्नातकोत्तर अध्ययनका क्रममा नेपाल कमर्स क्याम्पस मीन भवनमा नेबिसंघ सुदूर पश्चिम सम्पर्क मञ्चको अध्यक्षको भूमिका निर्वाह गरे ।

व्यवस्था परिवतर्नका लागि मुलुकमा भएका हरेक आन्दोलन युवाहरुको सहभागिताले सफल भएपनि उनीहरुलाई सधै जिम्मेवारीबाट बञ्चित गर्ने गरिएको अवस्थीको गुनासो छ ।

उनी युवाहरुको नेतृत्वबाट मात्र समाज र देशको रुपान्तरण संभव देख्छन् । एनआरएनएमा मेरो उम्मेदवारी युवाहरुको भावना, बिचार र मुद्दाको उम्मेदवारी हो, अवस्थी भन्छन्, युवाहरुको सहभागिताबाट एनआरएनएमा परिवर्तन संभव छ । एनआरएनएमा परिवर्तनका लागि मेरो उम्मेदवारी हो ।
उनी एनआरएनएमा परिवर्तनका लागि आफूलाई मतदान गरेर बिजयी गराउन सम्पूर्ण मतदाताहरुसंग आग्रह गर्छन् ।

महेन्द्रनगरको उदयदेव माविबाट एसईई, बालजागृती बहुमुखी क्याम्पसबाट स्नातकको पढाई पुरा गरेका अवस्थीले नेपाल कमर्स क्याम्पस मीन भवनबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

नेपालमा मानवअधिकारका क्षेत्रमा समेत सक्रिय रहेका अवस्थीसंग कोक्यापको सुदूर पश्चिम प्रदेश समिति सदस्यका रुपमा काम गरेको अनुभव पनि छ ।

सुदूर पश्चिम नेपाली समाजको टेक्सासको दुई कार्यकाल बोर्ड सदस्य रहेका अवस्थी अष्टिनमा व्यवसायसंगै, सामाजिक र धार्मिक कार्यमा सक्रिय    छन् ।

अवस्थी सुदूरपश्चिम विश्व हिन्दु युवा संघको अमेरिकाको जनसम्पर्कको अध्यक्ष समेत हुन् ।

 

 

खोज्नुहोस