कोलोराडोको गोल्डेनमा भव्य शेर्पा सांस्कृतिक केन्द्र निर्माण गरिदै

कोलोराडो, २९ जुलाई ।

युनाईटेड शेर्पा एशोसियसन अफ कोलोराडोले शेर्पा सांस्कृतिक केन्द्र निर्माण गर्ने भएको छ ।

झण्डै १५ लाख डलरको लागतमा शेर्पा एशोसियसनले कोलोराडोको गोल्डेनमा भव्य शेर्पा सांस्कृतिक केन्द्र निर्माण गर्ने भएको हो ।

शेर्पा एशोसियसनले सांस्कृतिक केन्द्र निर्माणका लागि पाँच लाख डलरमा कोलोराडोको गोल्डेनमा जग्गा लिदैछ, एशोसियसनका उपाध्यक्ष लाक्पा शेर्पाले भने, जग्गाको डील भईसक्यो । केही दिनमा जग्गाको स्वामित्व एशोसिसयनको नाममा हुनेछ ।

बोल्डरबाट करीव १८ मिनेटको दूरीमा गोल्डेनमा मूल सडकसंगै जोडिएको ८ रोपनी जग्गामा एशोसियसनले शेर्पा समुदायको संस्कृति र पहिचान झल्किने विशाल गुम्बा सहित भव्य सांस्कृतिक केन्द्र निर्माण गर्ने अध्यक्ष काजी शेर्पाले जानकारी दिए ।
सांस्कृतिक केन्द्रमा सयभन्दा बढि गाडी पार्किङका लागि स्पेश रहेको छ ।

उनले अमेरिकी भूमिमा शेर्पा समुदायको धर्म, संस्कृति, परम्परा, भाषा, भेषभुषा र मौलिक पहिचान झल्किने गरी निर्माण गरिने सांस्कृतिक केन्द्र सबै धर्मावलम्बीहरुका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरे ।

उपाध्यक्ष लाक्पा शेर्पाले सांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग गर्न सबैलाई आह्वान गरे । भगवान बुद्धको बिशाल गुम्बा सहित निर्माण गरिने सांस्कृतिक केन्द्रलाई बिभिन्न राष्ट्रियता, सबैजाती, समुदाय, बर्गलाई जोड्ने विश्वास गरेका छौ, उनले भने, सांस्कृतिक केन्द्र निर्माणका लागि हामी शेर्पा समुदायसंगै देश विदेशमा रहेका नेपाली र अमेरिकी नागरिकसंगै शान्तिमार्गीहरुसंग आग्रह गर्दछौ ।

सांस्कृतिक केन्द्र निर्माणका लागि एशोसियसनले तीन लाख ५० हजार डलर संकलन गरेको थियो । जुन कोषमा उपाध्यक्ष शेर्पाले ६३ हजार डलर जम्मा गरेका थिए । सांस्कृतिक केन्द्रको जग्गा खरीदका लागि रकम अपुग भएपछि १३ जना शेर्पाले जनही २० हजार डलर सहयोग गरेका छन् । पछि फिर्ता पाउने गरी सांस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक सहयोग गरेका उनीहरुले त्यसको व्याज भने लिने छैनन् ।

 

प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको तेस्रो चरणको उद्घाटन

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् ।  थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधासहितको आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरमा विद्युत् उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरू भएका छन् ।  आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्ने आशा छ ।

प्रधानमन्त्री ओलीले आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताए । ओलीले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षामा सहज हुने विश्वास व्यक्त गरे । १ सय २० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरू भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएकोमा प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरे । ‘स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको हो, यो हामी सबैको सफलता हो, ओलीले, ‘भने ।

राष्ट्रिय गौरवका सिँचाइ आयोजना–सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना–यथाशीघ्र सम्पन्न गर्नसमेत ओलीले निर्देशन दिए । रानी जमरा कुलरिया नेपाल सरकारकै प्राथमिकताको आयोजना र समृद्ध नेपाल निर्माणको जगका रूपमा हेरिएको छ ।

कृषि उत्पादनमा कायापलट हुने विश्वास गरिएको छ । भने स्थानीय किसानहरूले आयोजना सञ्चालन पछिको सहजतामा खुसी व्यक्त गरेका छन् । आकाशे पानीको भरमा गर्ने कृषि खेती प्रणालीको अन्त्य गरिदिएकोमा खुसी व्यक्त गरेका छन् । ओली उद्घाटनका लागि हेलिकप्टर मार्फत कैलाली आइपुगेका थिए ।

उनले कर्णाली पुलसम्मै पुगेर आयोजना स्थलको अवलोकन र आयोजनाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री सरिक कार्यक्रममा प्रदेश सरकारका मुख्य मन्त्री कमलबहादुर शाहसहित मन्त्री, सांसद र नेता कार्यकर्ता, किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

रास्वपाले तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै गराइरहेको हस्ताक्षर क्याम्पेनप्रति टिप्पणी गरेका छन्। मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाले तीन करोडभन्दा बढी हस्ताक्षर पुर्‍याउने हो कि भनेर डर लागेको भन्दै कटाक्ष गरेका हुन्।

‘विभिन्न प्रकारका अपराध गर्‍यो अनि सरकारलाई गाली गर्‍यो। सरकार अदालत होइन, अदालतले थुन्छ कि छोड्छ सरकारको हातमा हुँदैन। ठगी गरेपछि अदालतले थुन्छ त हामी के गर्नु! गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध! केको प्रतिशोध? तथाकथित हस्ताक्षर क्याम्पेन, मलाई डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर क्याम्पेन गयो भने, म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला। दुई चार जनालाई सही गरायो, घरमा गएर दनादन..!,’ उनले भने।

उनले सभापति रवि लामिछानेको नाम नलिई आफूले उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको बताए। राजनीतिमा पनि आफूले नै ल्याएको दाबी गरे।‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोध? के साँध्नु थियो? असभ्य ढंगले बोलेको छ!,’ उनले भने। उनले नयाँ दलहरू अर्काले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ–यातना, क्षति, बलिदान सहेर ल्याएको लोकतन्त्रमा तर मारेको टिप्पणी गरे।

‘तर माराहरू, व्यवस्था विरोधी तरमाराहरू। तसर्थ भ्रममा नपरिकन, हाम्रो देश हामीले विकास गर्नुपर्छ,’ उनले भने, ‘स्ट्याटस लेख्न पाए भयो। एकछिन बुरुक्क उफ्रिएर गाली गर्न पाए भयो। हाम्रो सभ्यता, सामाजिक सभ्यता, सामाजिक मर्यादा, सामाजिक संस्कृति, यसमाथि ख्याल नगरेर, यसमाथि धावा बोल्न पाए भयो। झूट र भ्रम फिँजाउन पाए भयो। हामी त्यस्ता कुरामा ध्यान दिँदैनौं।’

फौजी शाहीलाई ऋचाको चेतावनी : भिडियो डिलिट नगरे कानुनी प्रक्रिया थाल्छु

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले आफूलाई सामाजिक सञ्जालमा अपमानजनक र अमर्यादित टिप्पणी गर्ने फौजी शाहीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएकी छन् ।  उनले सामाजिक सञ्जालमा मङ्गलबार एक शाहीले गरेको टिप्पणी सार्वजनिक गर्दै यस्तो चेतावनी दिएकी हुन् ।

‘फौजी शाही मेरा कामलाई लिएर जस्तो सुकै प्रतिक्रिया दिन सक्नुहुन्छ, मेरो सिनेमा बहिष्कार पनि गर्न सक्नुहुन्छ’, उनले अगाडि भनेकी छन् ‘तर मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो, त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइन्नँ ।’

उनले आफूलाई जथाभावी बोलेको भिडियो स्वीकार्य नभएको बताउँदै भिडियो डिलिट नगरे कानुनी प्रक्रिया थाल्ने चेतावनी समेत दिइन् ।

पतञ्जली जग्गा प्रकरण : पूर्वमन्त्री पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग

काठमाडाैं । विशेष अदालतले पतञ्जली जग्गा भ्रष्टाचारको आरोपमा मुछिएका पूर्वमन्त्री छविराज पन्तसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तत्कालीन सचिव समेत रहेका पन्तसँग पाँच लाख रुपैयाँ मागेको हो ।

पन्तले हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा र बिक्रीको अनुमतीका लागि पतञ्जली योगपीठले पेश गरेको निवेदन सहितको फाइल मन्त्रिपरिषद्‌मा लैजान प्रस्ताव अघि बढाएका थिए ।

चीनले तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर दिने

बेइजिङ : विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ। उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ।

चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ।

चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा गरेको हो। सरकारी सञ्चारमाध्यमका अनुसार चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाहरूको पालनपोषणमा मद्दत गर्नेछ।

जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एक सन्तान नीति अन्त्य गरिसकेको छ। त्यसपछि पनि जन्मदर घट्दै गएको छ।

प्रधानमन्त्रीले गरे रानीजमरा–कुलरिया सिँचाइ आयोजना र जलविद्युत् गृहको उद्घाटन

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रानीजमरा र कुलरिया तर्फको १४ हजार ३ सय हेक्टर सिचाइ ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रसारण लाइनको मङ्गलबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली आज कैलाली पुगेका थिए । उनले सबैभन्दा पहिले लम्कीचुहा नगरपालिका वडा नम्बर ३, चिसापानीस्थित कर्णाली नदीमा रहेको आयोजनाको मुहानको अवलोकन गरे। त्यसपछि प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका वडा नम्बर ९, कटासेमा निर्मित विद्युत् गृहको उद्घाटन गरे ।

आर्थिक वर्ष २०६७/६८ देखि निर्माण सुरु भएको यस आयोजनाको पहिलो चरण २०७४/७५ मा र दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो ।आयोजना सम्पन्न भएसँगै १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। साथै, उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

अद्यावधिक गुरुयोजना अनुसार, २०८२ मसान्तसम्ममा २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँ लागत अनुमान गरिएकोमा हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको काम सम्पन्न भइसकेको छ, जसमा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।

आयोजनामा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख रुपियाँ लगानी रहेको छ ।लम्की शाखातर्फ १४.६५ किलोमिटर मूल नहर निर्माण भइसकेको र शाखा तथा उपशाखा नहरहरूको निर्माणपछि थप ६ हजार हेक्टर जमिनमा सिँचाइ पुगी आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर पुग्नेछ ।

यो आयोजनाले कैलाली जिल्लाको कृषि विकास र ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यो आयोजना करिब १२० वर्षअघि स्थानीय किसानहरूले सुरु गरेको परम्परागत सिँचाइ प्रणालीलाई आधुनिकीकरण गरी निर्माण गरिएको हो ।

घरबास नहुँदा ४३१ गन्धर्व परिवार बिचल्लीमा

बाजुरा । आफ्नै घरबास नहुँदा बाजुराका गन्धर्व परिवार बिचल्लीमा परेका छन् । यहाँ बसोवास गर्दै आएका ४३१ गन्धर्व परिवार बिचल्लीमा परेका हुन् ।पहिलादेखि मादल बजाउने गीत गाउने र सुल्पा बिक्री गरेर जीवन गुजारा गर्दै आएका गन्धर्व परिवारको आफ्नो नाममा एक आना पनि जमिन नहुँदा यति बेला उनीहरूलाई घर बनाउन समस्या भएपछि उनीहरू बिचल्लीमा परेका हुन् ।

सपना बादीले घर बनाउन सबैले सहयोग गर्ने थिए तर आफ्नो नाममा एक आना पनि जमिन छैन, आफ्नो नाममा जमिन नहुँदा घर बनाउन समस्या भएको बताए।

उनले भने, ‘‘जमिन भएमा हामी घर बनाउन सहयोग गर्छौं भन्छन् । आफ्नो नाममा एक आना पनि जमिन छैन । जमिन नभएर घर बनाउन नपाएपछि अहिले त्रिपालको भरमा बास बस्नु परेको छ ।’’

जमिनका लागि यहाँका सरकारलाई धेरै पटक भन्दै आएको भए पनि कुनै सरकारले पनि अहिलेसम्म जमिन उपलब्ध नगराएको वादीले बताए । बाजुराका कोल्टी, रजाली, भौनेरा, कुल्देवमाण्डौ, बाह्रविसलगायतका ठाउँमा झण्डै ४३१ गन्धर्व घरपरिवारको अस्थायी रूपमा बसोवास गरिरहेका छन् । उनीहरूको आफ्नो नाममा जमिन नहुँदा कोही त्रिपालको बासमा छन् भने कोही सडकमा अर्कोको घरको सहारा लिएर बसोवास गर्दै आएका छन् ।

गन्धर्व परिवारसँग जमिन नहुँदा उनीहरू हिउँदको चिसो र वर्षाको झरीमा त्रिपालमुनीको बास बस्न बाध्य भए पनि कुनै तहको सरकारले उनीहरूको त्यो समस्या समाधान गर्न पहल नगरेको गुनासो पीडितको छ ।  पञ्चायतदेखि अहिलेको स्थानीय सरकारसँग घरबासको माग राख्दै आएको भए पनि हाम्रो कुरा कुनै सरकारले सुनुवाइ नगरेको बुढीगङ्गा नगरपालिका–७ मा अस्थायी रूपमा बसोवास गर्दै आएका चन्द्र वादीले बताए ।

उनले भने, “पहिला  गाउँमा कसैको गाई गोठमा बास बस्न पाउँथ्यौ, अहिले कोही पनि बस्न दिँदैनन् । अहिले भाडामा कर्कटपाताको टहरामा बास बस्दै आएका छौँ ।” दिन गन्दै महिना गयो, महिना गन्दै वर्ष गयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि लोकतन्त्र– गणतन्त्र आयो, योसँगै देशमा पनि ठुलो परिवर्तन भयो, तर हाम्रो त्रिपालमुनीको बास भने परिवर्तन नभएको चन्द्र वादीले बताए ।

पञ्चायती शासन व्यवस्थादेखि अहिलेसम्म उनीहरूको घरबासकै समस्या छ । घरबास गर्न उनीहरूले धेरै पटक जमिनको व्यवस्था गरिदिनुहोस भन्दै आएको भए कतै पनि उनीहरूलाई जमिन उपलब्ध भएको छैन । गणतन्त्रले यहाँका अन्य वर्गको अवस्थामा परिवर्तन भयो, पुस्तौँदेखि त्रिपालको बास गर्दै आएका गन्धर्व परिवारको भने कुनै परिर्वतन नआएको भनाइ उनीहरूको छ ।

गन्धर्व परिवारको राजनीतिक, सामाजिक, शैक्षिक अवस्थामा समेत कुनै परिर्वतन भएको छैन । पेट पाल्नका लागि गाउँ गाउँमा गएर बाजा बजाउने, नाच गान गर्नेजस्ता क्रियाकलाप गरेर जीविकोपार्जन गर्दै आएका गन्धर्व परिवार एक ठाउँमा निश्चित बसोवास गर्न नसकेका कारण उनीहरूका बालबालिकाहरू समेत शिक्षाबाट पनि वञ्चित हुँदै आएका छन् ।

जिल्लाका अधिकाँश ठाउँमा बस्दै आएका गन्धर्व परिवारको कुनै ठाउँमा न त घर न त उनीहरूकोे स्थायी बसोवास छ । आफ्नो नाममा जमिन नभएका कारण एक ठाउँमा निश्चित बसोवास नभएर उनीहरू घुमन्ते शैलीमै जीवन बिताउन बाध्य छन् । विसं. २०७८ को जनगणना अनुसार बाजुरामा गन्धर्व परिवारको सङ्ख्या एक हजार ८७८ छ । यो जिल्लाको कुल जनसङ्ख्याको १।६९ प्रतिशत हो । जसमा महिलाको सङ्ख्या ९८९  प्रतिशतमा १।४३  छ  भने पुरुषको सङ्ख्या ८९८ प्रतिशतमा १.३५ रहेको छ ।

भूमि समस्या समस्या समाधान आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनकबहादुर रोकायाले भने, ‘‘स्थानीय तहले भूउपयोग नीति बनाएर यहाँका गन्धर्व परिवारलाई यहाँ यो जमिन दिन सकिन्छ  भनेर दिनुभपर्‍यो, त्यही अनुसार हामी त्यहाँ गएर त्यो जमिनको अवस्था के कस्तो छ त्यही अनुसार नापी गरेर उनीहरूलाई जग्गा दिन सिफारिस गर्छौ ।’’

उनले भने, “अहिले तल्कालमा उनीहरू जहाँ बसेका छन् । त्यहीको साहूसँग समन्वय गरेर घरवासका लागि मात्र व्यवस्था गर्ने तयारी भएको छ ।”

स्थानीय तहले भूउपयोग नीति ल्याएपछि उनीहरूकै नाममा जमिन दिन आयोगले जग्गा नापी गरिदिन सक्ने रोकायाले बताए ।

युक्रेनमा रुसी हमला, कम्तीमा २० जनाको मृत्यु

एजेन्सी- युक्रेनमा भएको रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु  भएको छ । अन्य ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभका अनुसार रुसले जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमण गरेको थियो ।

क्षेत्रीय सरकारी अधिकारीहरूका अनुसार ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको आक्रमणमा धेरै मानिस मारिनुका साथै र कयौं घाइते भएका छन् ।

काम्यान्स्के शहरमा भएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको, पाँच जना घाइते भएको र अस्पताललाई क्षति पुगेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले बताए ।

यस क्षेत्रको सिनेनिकिभ्स्की जिल्लामा भएको आक्रमणमा अर्का एक व्यक्तिको मृत्यु भएको र धेरै घाइते भएको पनि उनले जानकारी दिए ।

सोमबार राति भेलिकोमिखायलिभस्कामा भएको छुट्टै आक्रमणमा ७५ वर्षीया महिलाको मृत्यु हुनुका साथै एक ६८ वर्षीय व्यक्ति घाइते भएको र एउटा निजी घर क्षतिग्रस्त भएको उनले बताए ।

दक्षिणी रुसमा युक्रेनी ड्रोन हमलामा एक जनाको मृत्यु भएको यस क्षेत्रका कार्यवाहक गभर्नरले मङ्गलबार बताएका छन् ।

सन् २०२२ मा आक्रमण शुरू भएदेखि नै धेरै हदसम्म छुट्याइएका क्षेत्रहरूमा नयाँ प्रगति गरेको रुसको ग्रीष्म आक्रमणलाई हटाउन किएभले प्रयास गरिरहेको छ ।

सप्ताहन्तमा रुसी सेनाले यस क्षेत्रको पहिलो गाउँ कब्जा गरेको केही हप्तापछि आफ्नो सेनाले ड्निप्रोपेट्रोभस्कको ‘मालियेभ्काको बस्ती मुक्त’ गरेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मस्कोलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘करिब १० वा १२ दिनको समयसीमा’ जारी गरेका छन् ।

सेयर बजारको आकार पुग्यो ५० खर्ब, बन्यो नयाँ रेकर्ड

काठमाडौं । नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दु रहेर बजार बन्द हुँदा सेयर बजारको आकार पहिलो पटक ५० खर्ब रूपैयाँ पुगेको छ। बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) ले नयाँ रेकर्ड बनाएको हो। बजार पुँजीकरणलाई सेयर बजारमा रहेको लगानीकर्ताहरूको सम्पत्ति समेत भनेर बुझिन्छ।

सेयर मूल्यमा आउने उतारचढावको आधारमा यसमा घटबढ भने भइरहन्छ। लगानीकर्ताले सेयर बिक्री गरेर हात पार्ने रकम नै उसको वास्तविक सम्पत्ति हुन्छ।मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ विन्दुमा आएको थियो। नेप्सेले एक वर्षअघिको उच्च विन्दु पार गरेको हो। २०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसैले मंगलबार नेप्से करिब चार वर्षयताकै उचाइमा आइपुगेको हो। यसअघि नेप्से २०७८ भदौ १० गते ३०९४ मा बन्द भएको थियो।

मंगलबार  कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १९ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ।  अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८४ करोड रूपैयाँ कमी आएको हो। आज ३२१ वटा धितोपत्रको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ।  यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको मूल्य सर्किट लेभलमा बढेको छ।  समता घरेलु लघुवित्तको मूल्य सर्वाधिक ८.६० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १४८ रूपैयाँ ८४ पैसामा झरेको छ।

यसैगरी, विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य २.९३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५९५ रूपैयाँ ५१ पैसा कायम भएको छ। मंगलबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ५२४ रूपैयाँ ६४ करोड ४१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

विश्वासको मत नपाए पनि मुख्यमन्त्री छाड्दिनँ: लामा

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूले कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाए पनि पदबाट राजीनामा नदिने बताएका छन्।

कांग्रेस संसदीय दलमा आफूविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिनु नपर्ने बताएका हुन्।

उनले भने, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने छैन। मुख्यमन्त्री हुनलाई दलको नेता नै चाहिँदैन, त्यसैले पार्टीको संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट हटाउनुपर्ने कुनै कारण छैन।’

लामालाई संसदीय दलको नेताबाट हटाउन कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्तावमा आज मत विभाजन भएको हो।

कांग्रेस संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै पर्‍यो। उनको विपक्षमा २२ मत परेको छ। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन्।

तीन हजारको विन्दुमा पुग्यो नेप्से

काठमाडौं- मंगलवार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज बजार परिसूचक (नेप्से) ३० दशमलव ४९ अंकले बढेर ३००१ को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ६३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ५२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर कम्पनी, सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु अधिवेशनबाट नै पारित गर्नेगरी काम भइरहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले बताएका छन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का संशोधनकर्ताहरुसँगको  छलफलपछि समितिका सभापति यादवले सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भइसकेकाले चालु अधिवेशनबाट नै उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितको उपस्थितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरू माधव सापकोटा, शिशिर खनाल, निशा डाँगी, मनिष झा, राजेन्द्र बजगाईंले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

पोखरामा फेला परेका हायु परिवारलाई आफन्तको जिम्मा लगाइयो

रामेछाप : सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।पोखरा महानगरपालिका-३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा-३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए। धनबहादुर हराएकी कमला हायुका श्रीमान् हुन्।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए। तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा रहेका थिए। प्रहरीका अनुसार उनीहरू शनिबार बिहानको राति १ बजेतिर सिन्धुलीबाट हिँडेर आइतबार  दिउँसो पोखरा पुगेका थिए। त्यसपछि लेकसाइडस्थित होटल जननीमा बास बसेर होटलबाट चेकआउट गरी हिँडेका उनीहरू सोमबार पोखरा–३० का दुई घरमा फेला परेका थिए।

प्रहरी अनुसन्धान अनुसार, उनीहरू शनिबार राति १ बजे सिन्धुली तीनपाटन गाउँपालिका-३ निवासी नवीन बिकले चलाएको मधेस प्रदेश ०४-००१-००८१ नम्बरको इभी भ्यान चढेर सिन्धुलीको बलेनीबाट हिँडेको पत्ता लागेको छ। सो भ्यानमार्फत खनियाँखर्क, हेटौंडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए।

सिन्धुलीबाट सम्पर्कविहीन भएको हायु परिवारले केही दिनअघि मात्र सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेका थिए। त्यसपछि उनीहरूले गाउँका अन्य व्यक्तिलाई जानकारी नदिई बस्तुभाउ त्यतिकै छाडेर भान्सामा समेत आगो लगाइ अचानक गाउँ छाडेका थिए।

उनीहरूले गाउँ छाड्नुको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ। प्रारम्भिक बयानमा परिवारका सदस्यले ‘बेलाबेलामा बिरामी पर्ने समस्या रहेकाले धामीले उक्त ठाउँमा नबस्न सुझाव दिएपछि गाउँ छाडेको’ बताएका छन्। सिन्धुली प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले हायु परिवार सोमबार बिहानदेखि खोजीमा रहेका बेला साँझ पोखरामा सुरक्षित अवस्थामा फेला परेको बताए।

विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह

काठमाडौँ । नेकपा (एमाले) ले आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव सङ्कलन अभियान सुरु गरेको छ। पार्टीले मातहतका कमिटी र सदस्यहरूलाई भदौ १० गतेभित्र लिखित सुझाव पार्टी केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ। यो जानकारी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा उल्लेख छ।

प्राप्त सुझावहरूमाथि विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी आवश्यक निर्णय लिइनेछ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। यस महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नेछन्। यी तीनवटै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट संशोधनसहित पारित भइसकेका छन्।

अपानी–१२ अनुसार, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनका प्रतिनिधि हुनेछन्। यद्यपि, दशौँ महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनित भएका सदस्यहरू आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको र पार्टीको भविष्य अन्य दलको तुलनामा ‘निकै उज्यालो’ रहेको बताएका छन्। उनले अपानी–१२ मार्फत कार्यकर्तालाई सन्तोष मानेर नबस्न आग्रह गर्दै पार्टीको यात्रा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा र गन्तव्य पूरा गर्ने कुरामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

ओलीले जनप्रतिनिधिमूलक निकायको कामलाई थप प्रभावकारी बनाउन तथा पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनको मुख्य लक्ष्य ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नु रहेको छ।

अपानीमा पार्टीको सङ्गठनात्मक जीवन पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको र बैठक, कार्यक्रम तथा अभियानमा कार्यकर्ताको सहभागिता बढेको उल्लेख छ। यद्यपि, पार्टी कामलाई आधारभूत तहमा र जनसङ्गठनका कामलाई समुदायकेन्द्रित गर्न अझै नसकिएको, नेपाली समुदायको बढ्दो उपस्थितिसँगै प्रवासको काम विस्तार गर्न नसकिएको, र पार्टी निर्माणमा नेतृत्व तथा कार्यकर्ताको स्वपरिचालनको अवस्थामा थप सुधार ल्याउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन र ‘मिसन ८४’ लाई सफल बनाउनका लागि सङ्गठनात्मक कामलाई थप सुधार गर्नु आवश्यक रहेको एमालेले बताएको छ। सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका महत्त्वपूर्ण निर्णयहरू जानकारी तथा कार्यान्वयनका लागि यो अन्तरपार्टी निर्देशन जारी गरिएको हो।

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।

सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुईवटा गाडी ठोक्किएका हुन् । कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालइीका डीएसपी राज कुमार सिंहले अनलाइनखबरलाई जानकारी दिए ।

घटना दिउँसो करिब सवा १ बजेको हो । उनका अनुसार गाडीमा क्षति भएको छ । तर, मानवीय क्षति भने नभएको उनले बताए । ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या : मन्त्री पौडेल

काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यकाबाहिर स्वास्थ्य जनशक्ति पठाउन समस्या भएको गुनासो गरेका छन् ।

मंगलबार ललितपुरमा मन्त्रालयले आयोजना गरेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा पौडेलले स्वास्थ्यकर्मीहरूलाई उपत्यका बाहिर सरुवा गर्दा रमाना नै नबुझ्ने गरेको गुनासो गरे ।

उपत्यका बाहिर रहेका संघीय, प्रदेशीक लगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने उपलब्ध गराउन नसकिएको उनले बताए ।

मन्त्री पौडेलले अहिले उपत्यकामा आवश्यकताको करिब ७५ प्रतिशत र उपत्यका बाहिर करिब ३३ प्रतिशत मात्रै स्वास्थ्य जनशक्ति रहेको जानकारी दिए । अहिले स्वास्थ्य मन्त्रालयमा जम्मा स्वास्थ्यकर्मीहरूको संख्या २६ सय रहेको र उपत्यका बाहिर आवश्यकताको एकतिहाई जनशक्ति समेत नरहेको उनले बताए ।

डेलले सबै स्थानमा आवश्यकता अनुसार जनशक्ति राख्न सकिए सोही स्थानमा हुने बिपद्मा तत्काल स्वास्थ्य सहयोग गर्न सहज हुने धारणा राखे ।

उनले स्वास्थ्य क्षेत्रमा लगानी निकै कम रहेको समेत बताए । स्वास्थ्य संस्थालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकिए संकट व्यवस्थापनमा ठूलो सहयोग पुराउन सकिने उनको भनाइ छ ।

उर्मिला हायूका परिवारमाथि गरिएको टिप्पणीप्रति हायू समाजको आपत्ति

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका भनिएका हायु परिवार पोखराम भेटिएपछि उनीहरुमाथि पूर्वाग्राही ढंगले टिप्पणी भएको भन्दै  हायू समाज नेपालले आपत्ति जनाएको छ । अध्यक्ष लक्ष्मण हायुले विज्ञप्ति जारी गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘यस घटनालाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हचुवा र आधारहीन समाचारहरु अनर्गल तरिकाले प्रसारण गरिएको पाइयो । परिवारको अस्थायी बसाइ र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्ता संग जोडेर गरिएको आग्रह पुर्वाग्रपुर्ण गलत टिप्पणी प्रति हामी गहिरो खेद प्रकट गर्दछौं । घोर आपत्ति जनाउदछौ । यस्ता आग्रह पुर्वागह्रपुर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र बिकृत मानसिकताको उपज बाहेक अरु केही हैन । हाम्रो हायू समुदाय आफ्नो श्रम, इमानदारीता र आत्मसम्मानमा जीवनयापन गरि आएको आदिवासी समुदाय हो । यस्तो आधार विहनि र हचुवा प्रचार-प्रसारले केवल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मान माथि प्रहार भएको अनुभूति हामीले गरेका छौं । सबै सञ्चार माध्यमहरूलाई सत्य, तथ्यमा आधारित भई आधिकारिक एवं प्रमाणिक समाचार मात्र सम्प्रेषण गर्न आग्रह गर्दछौं । साथै, समाजमा भ्रम र अफवाह फैलाएर आफ्नो दुनो सोझ्याउने गतिविधिवाट समुदायका सबैलाई सतर्क र सचेत रहन अनुरोध गर्दछौं ।’

साथै समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग पनि गरेको छ । स्थानीयले खबर गरेपछि  सोमबार खोजी गर्दै जादा उनीहरु पोखरा-३० गगनगौडामा भेटिएका थिए । उनीहरुले आफुहरुको आर्थिक स्थित कमजोर भएको र पोखरामा मजदुरी गर्न आएको बयान प्रहरीमा दिएका छन् ।

वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध

काठमाडौँ  ।  मुलुकभर परेकोे अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड छन् ।

त्यसैगरी गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी बामी सडकखण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी वामी सडकखण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हायू परिवारलाई लगाइयो आफन्तको जिम्मा

काठ्माण्डौँ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका र कास्कीको पोखरा महानगरपालिका–३० गगनगौडामा फेला परेका उर्मिला हायूको परिवारलाई आफन्तको जिम्मा लगाइएको छ।

पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो।

प्रहरीका अनुसार, हराएकामध्येकी कमला हायुका पति धनबहादुर तामाङ हुन्। प्रहरीसँगको बयानमा परिवारले बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको बताएका छन्।

सिँचाइमन्त्री खड्का र मुख्यमन्त्री शाहबिच भेट

धनगढी । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबिच मङ्गलबार बिहान भेटघाट भएको छ ।

मुख्यमन्त्री निवासमा दुवैबिच भेटघाट भएको हो । भेटघाटको क्रममा समसामयिकसहित उर्जा तथा सिँचाइका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

थारु समुदायमा आज गुरही पर्व मनाइँदै

धनगढी । कैलालीसहित विभिन्न जिल्लामा थारु समुदायमा मङ्गलबार गुरही पर्व मनाइँदैछ । बालबालिकाका पर्वको रुपमा गुरही पर्व मनाउन लागिएको हो ।

गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित छ । गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोगव्याधीले नसताउने, महामारी नफैलिने जनविश्वास रहेको छ ।

गुरही पर्वमा कपडाको गुरही बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा साँझपख बिसर्जन गर्ने चलन रहेको छ । यो पर्वमा बालिका वा किशोरीहरुले आफूसँग ल्याएको गुरही चौकमा फाल्ने र बालक वा किशोरहरुले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि बालिकाहरुले गुरहीसँग ल्याएको मकैको भुजा वा गेडागुडी बाँडेर खाने चलन रहेको छ ।

वर्षातको समयमा आँखा पाक्ने, घाउ खटिरा आउने, ज्वरो लगायतका स्वास्थ्य समस्या बालबालिकालाई हुने गर्दछ । यसलाई थारु भाषामा खाँज भन्ने गरिन्छ । गुरही पर्वले बालबालिकामा लाग्ने खाँज हटाउने गरेको बताइएको छ । आज धनगढीको गुरही चौकसहित विभिन्न थारु गाउँमा भव्यताका साथ गुरही पर्व मनाइने थारु अगुवा ठाकुरप्रसाद करिया प्रधानले जानकारी दिए।

साहित्यकार छविलाल कोपिलाका अनुसार गुरही पर्व थारु समुदायकी गुरही नामकी एक बालिकासँग जोडिएको छ । महामारीले धेरै बालबालिकाको ज्यान गइरहेको बेला एक गरिब घरमा देवीको रुपमा जन्मिएकी गुरहीले कपडाको गुरही, गुरहा बनाएर खेलाउने गरेको उल्लेख गर्दै उनले थपे, “त्यसपछि उनले गुरहीगुरहाको विवाह गराएपछि गुरहीगुरहाको सङ्ख्या व्यापक बढेको लोककथामा पाइन्छ । अनि, ती गुरहीगुरहाले भुसुना लगायतका महामारी फैलाउने किरालाई खाएर सखाप पारे । जसको कारण बालबालिकाको मृत्युदर घटेपछि थारु समुदायमा गुरही पर्व मनाउने चलन भएको हो ।”

शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् । विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा पर्याप्त आहारा, बासस्थानको उचित व्यवस्थापनले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार निकुञ्जमा सन् २०१३ मा १७ वटा बाघ रहेकामा सन् २०१८ मा १६, सन् २०२१ मा १९ र सन् २०२२ मा उक्त सङ्ख्या बढेर ३६ पुगेको हो ।

निकुञ्ज कार्यालयको पछिल्लो गणनाअनुसार यहाँ बाघको सङ्ख्या ४४ पुगेको छ । निकुञ्जमा क्यामेरा ट्र्यापिङ विधिबाट गरिएको गणनाअनुसार २४ भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको सूचना अधिकारी वाग्लेले बताए । निकुञ्जका अनुसार थोरै क्षेत्रफल रहेको शुक्लाफाँटामा बाघको सङ्ख्या धेरै हो ।

“यहाँ बाघका लागि आहारा र वासस्थानको उचित वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, वाग्लेले भने, “निकुञ्जमा कोर एरिया व्यवस्थापन प्रभावकारी छ, यहाँ १०० बढी पानीका ताल छन् त्यसकारण बाघको आहारा बढेकाले सङ्ख्यामा वृद्धि भएको हो ।”

उनले शुक्लाफाँटाभित्र रहेका ठुलो घाँसे मैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र निकुञ्जभित्र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको बताए । उनका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रूपमा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् ।

“निकुञ्जभित्र जैविक विविधताले भरिपूर्ण प्राकृतिक ताल र कृत्रिम तालहरू पनि छन्”, सूचना अधिकारी वाग्लेले भने, “यसले वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।” निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ ।

वाग्लेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात भए पनि यसको प्रचारप्रसारको कमी, पूर्वाधार नहुनुलगायत समस्याले यहाँ उलेख्य पर्यटक आउन नसकेको बताए ।  “जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो । थोरै क्षेत्रफलमा यहाँ धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ”, उनले भने, “यहाँ आउने हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।” उनले शुक्लाफाँटा पर्यटनको ठुलो सम्भावना बोकेको गन्तव्य भएको बताए ।

“यहाँ भारतीय पर्यटकको ठुलो सम्भावना छ तर नाकामा असहजताका कारण सम्भावना भएअनुसार पर्यटक आउन सकेका छैनन्”, सूचना अधिकारी वाग्लेले भने, “यस क्षेत्रको प्रचारप्रसारका साथै निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरे पनि सोअनुसारको ‘टुरप्याकेज’को व्यवस्था हुन नसक्दा पर्यटकको कमी हुने गरेको धारणा राख्नुभयो ।

“विदेशी पर्यटकलाई हवाई भाडामा पनि झन्डै दोब्बर छ । सबै देशका नागरिकलाई समान भाडा दर हुनुपर्नेमा त्यसो हुन सकेको छैन, त्यसकारण पनि पर्यटक काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर फर्किने गरेका छन्”, वाग्लेले भने, “पर्यटक लक्षित विभिन्न टुरप्याकेज बनाउनुका साथै निजी क्षेत्रको लगानी बढाउन जरुरी छ ।”

सूचना अधिकारी वाग्लेका अनुसार निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् भने ४४ वटा पाटेबाघ छन् । विश्वकै सबैभन्दा ठुलो घाँसेमैदानका रूपमा निकुञ्जको विशेषता रहेको उनको भनाइ छ ।

अछामको बयालपाटा अस्पताल प्रदेश सरकारमातहत

अछाम । बयालपाटा अस्पताल प्रदेश सरकारमातहत सञ्चालन गर्न बाटो खुलेको छ । केही वर्षदेखि आर्थिक सङ्कटको सामना गरिरहेको अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्न बाटो खुलेको हो । बयालपाटा अस्पताल प्रादेशिक अस्पताल सञ्चालनसम्बन्धी कानुन बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको हो । भदौ १ गते बाट ५० बेडको अस्पताल प्रादेशिक अस्पतालका रूपमा सञ्चालन हुने सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गैरसरकारी संस्था न्याय हेल्थ नेपालमार्फत सञ्चालन भइरहेको अस्पताल पछिल्लो समय दाताले हात झिक्दै गएपछि आर्थिक सङ्कटमा थियो । सामाजिक विकासमन्त्री मेघराज खड्काले बयालपाटा अस्पताल प्रदेश सरकारको मातहतमा सञ्चालन गर्ने निर्णय ऐतिहासिक भएको बताएका छन् । उनले भने, “हामीले केवल भौतिक पूर्वाधार मात्र हैन, गुणस्तरीय सेवा दिने संरचना निर्माण गर्न खोजेका हौँ, बयालपाटा अस्पताल प्रदेशमातहत ल्याएर हामीले संविधानले तोकेको दायित्व र जनताको अपेक्षा दुवै पूरा गर्न खोजेका छौँ ।”

स्वास्थ्य सेवा राज्यको उत्तरदायित्व मात्रै नभई जनताको विश्वास र जीवन रक्षासँग पनि जोडिएको विषय हो भन्दै मन्त्री खड्काको ५० बेडको सुविधा सम्पन्न अस्पताल बनाइने बताए।

आफूले चुनावी घोषणापत्रमा नै बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि पहल गर्ने कुरा उल्लेख गरेका खड्का सामाजिक विकासमन्त्री बनेपछि निरन्तर अस्पतालको व्यवस्थापनबारे पहल गरेका थिए । आफ्नै पहलले स्थानीय जनताको स्वास्थ्यप्रति देखिएको गम्भीर अभावलाई सम्बोधन गर्नुका साथै सरकार जनताप्रति उत्तरदायी हुँदै गएको स्पष्ट सङ्केत दिएको उनको दाबी रहेको छ ।

प्रदेश सरकारमातहत आएपछि अस्पतालमा जनशक्ति, औषधी, उपकरण, विशेषज्ञ सेवा तथा मातृशिशु स्वास्थ्य, आकस्मिक सेवा, सर्जरी सेवालगायतका थप सेवा विस्तार गरिने मन्त्री खड्काले बताए । स्वास्थ्यकर्मीको कार्यसम्पादन मूल्याङ्कन, पारदर्शी व्यवस्था र अनुगमन प्रणाली पनि सुदृढ गरिने उनले जानकारी दिए । स्थानीयवासी, जनप्रतिनिधि, नागरिक समाज र स्वास्थ्यकर्मी यो निर्णयलाई दीर्घकालीन र दूरदर्शी कदमका रूपमा लिइरहेका छन् । आधुनिक भौतिक संरचनामा सञ्चालित बयालपाटा अस्पताल १७ वर्षपछि सरकारको मातहतमा आउने भएको छ ।

अस्पतालले अछामसहित बाजुरा, डोटी, कालीकोट, दैलेखलगायतका दुर्गम जिल्लाका नागरिकलाई निःशुल्क रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । यो अस्पताल दुर्गमका जनताको स्वास्थ्य सेवामा वरदान नै साबित भएको छ । अस्पतालले हाल दिइरहेको सेवा सुविधामा प्रदेश सरकारको मातहतमा सञ्चालन भएपछि पनि कुनै कमी नहोस् भन्नेतर्फ सरोकारवाला सचेत छन् ।

कैलालीको बर्दगोरियामा अस्पताल सञ्चालन

कैलाली । सबै स्थानीय तहमा एक अस्पताल अनिवार्यको नीति अनुसार पहिलो पटक कैलालीको बर्दगोरियामा १५ शय्याको  दोदोधरा अस्पताल सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिरमा ३९६ वटा पालिकामा एकैपल्ट अस्पताल निर्माण गर्न शिलान्यास गरेका थिए । त्यसमध्येकै दोदोधरा अस्पताल सञ्चालनमा आएको छ ।

नेपालका ७५३ स्थानीय तहमा पहिलो पटक बर्दगोरिया गाउँपालिकाले अस्पताल सञ्चालनसँगै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । उनले अस्पतालको भौतिक निर्माणमा १८ करोड रुपियाँ खर्च भएको  र प्रयोगशालाका उपकरणलगायतका सामग्रीमा प्रदेश सरकारको सहयोगमा  २५ करोडसम्म खर्च भएको जानकारी दिए ।

छिमेकी घोडाघोडी र लम्कीचुहा नगरपालिका, चुरे गाउँपालिका तथा मोहन्याल गाउँपालिकाको पूर्वी-दक्षिणी क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार सेवा दिँदै आएको छ । सो अस्पतालमा दुई जना एमबिबिएस चिकित्सकसहितको व्यवस्था गरिएको छ । २४ सै घण्टा आकस्मिक सेवा दिँदै आएको दोदोधरा अस्पतालले शल्यक्रिया सेवासमेत विस्तार गर्ने अध्यक्ष कुँवरले बताए।

अस्पतालमा ४८ जनाको जनशक्ति रहेको छ भने अस्पतालले निःशुल्क पोस्टमार्टम सेवा सुरुसमेत गरेको छ । साथै सर्पदंश उपचार सेवा, सिकलसेल एनिमिया रोगको समेत उपचार हुने गरेको छ ।

अस्पतालले आँखा उपचार, निःशुल्क रगत, स्वास्थ्य बिमाको कार्यक्रम, शववाहन, घरदेखि घाटसम्म महाप्रस्थान, मृत्यु भएपछि हरेक नागरिकलाई १० हजार किरियाखर्चसमेत दिने गरेको गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीले बताए। गाउँपालिकाको आगामी योजना सेवा विस्तार गरेर १५ बाट ५० शय्याको अस्पताल डायलासिस, पित्तथैली, पत्थरी, एपेन्डिक्स जस्ता अपरेसन र आइसियुसमेत सञ्चालनमा ल्याउने तयारीमा रहेको जनाएको छ ।

गाउँमै सस्तो सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि स्थानीयमा खुसी छाएको छ । उपचारमा आएका नरेश विकले घरआँगनमा आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार पाउँदा खुसी भएको बताए । उनले न्यून आयस्रोत भएका आफूहरू जस्तोलाई बाहिर गएर उपचार गर्न नसकिने बताउँदै घरनजिकै सस्तोमा उपचार पाउँदा सहज भएको बताए । अर्को स्थानीय श्यामलाल चौधरीले घरमै सर्वसुलभ उपचार पाएको बताए । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले राम्रो काम गरेको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा एकसाथ शिलान्यास गरिएका ५३ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र अवस्थामा रहेको बेला कैलालीको बर्दगोरियाले भने घरमै सुविधासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अरू ठाउँमा भने जग्गा प्राप्तिमा ढिलाइ, ठेकेदारको लापर्बाही, बजेट अभावलगायत विभिन्न कारणले अस्पताल निर्माणमा सन्तोषजनक प्रगति हुन नसकेको जनप्रतिनिधिले बताएका छन् ।

आधारभूत अस्पतालको शिलान्यासको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि अधिकांश अस्पताल निर्माण हुन सकेका छैनन् । केही पालिकाले त जग्गासमेत व्यवस्था गर्न सकेका छैनन् । केही पालिकामा भवन बने पनि अस्पताल सञ्चालन हुन सकेको छैन ।

लोडसेडिङ छैन, प्राविधिक समस्या मात्रै हो : ऊर्जामन्त्री खड्का

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल नेपालमा ‘लोडसेडिङ’ को अवस्था नरहेको स्पष्ट पारेका छन्।

आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले अहिले विद्युत् निर्यात समेत भइरहेको हुँदा लोडसेडिङ नभएको बताए।

मन्त्री खड्काका अनुसार, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ।” उनले थपे, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्। मर्मत गर्न केही समय लाग्छ। यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ।”

समयको ऐनामा संवेदनाको प्रस्ट अनुहार

डा. नवराज लम्साल ।

‘कविता जीवनको समालोचना हो ।’ प्रसिद्ध लेखक मैथ्यु आर्नल्डको यो भनाइ कविता जगत्मा निकै चर्चित छ । जीवन र जीवनकै समालोचनाको जगमा कविताले जीवनकै कुरा गर्ने हो । मनोविनोद र आनन्द पनि जीवनकै रङ हो तर जीवनको जीवनतत्व बाँच्नुसँग छ । जिउँदै मृत्यु राखेर आँखामा मान्छे कसरी जिउँछ ? यतिखेर म कवि दीर्घराज उपाध्यायको नयाँ कवितासङ्ग्रहका हरफहरूसँग छु । उनी जीवन बाँच्न कठिन भएर पनि जिजीविषा साँचेर बाँच्नका लागि संघर्षरत नागरिकका पक्षमा छन् । मृत्यु नजिक पुगेका नागरिकको चूडान्त संवेदना टपक्क टिपेर उनले जीवनसँग मात्र होइन, मृत्युसँग पनि यसरी सम्वाद गरेका छन् ।

…र

मृत्युले भन्यो, म छु नि त,

तिमीहरूको सरकार पो छैन ।

/ मृत्युले भन्यो, म छु नि त

कवि उपाध्याय निकै लामो समयदेखिका क्रियाशील पत्रकार पनि हुन् । उनको कविता लेखन पत्रकारिताभन्दा जेठो छ तर पत्रकारितामा पनि उनले जेठो पहिचान बनाएका छन् । विद्युतीय वा छापा माध्यम, सबैतिर छपक्क । उनी सतही समाचारको सियोमा तेन्द्रातुन्द्री धागो उन्दैनन् । देशभित्र र कतिपय मुद्दामाथि देशबाहिरबाट उनले गरेको रिपोर्टिङ र लेखेको फिचर आफैँ पनि कुनै कविताभन्दा कम छैन । पत्रकारिताको त्यही कथ्यबोध र कविताको संवेदनाको दोभानमा गम खाएर उनी मान्छेका कवितामा जिउँदो उभिएका छन् ।

नदीलाई साथ दिइरहने किनार

जसको छैन आफ्नो कुनै परिचय

र, छैन छुट्टै अस्तित्व

नदीको नाममा बाँचिरहने त्यो किनार

न नदीमा मिसिन पाउँछ

न बग्न पाउछ, नदीझैँ ।

/ मीठो भ्रम

समाचार लेख्दा लेख्दै कविता र कविता लेख्दा लेख्दै समाचारतिर मन विभक्त हुँदा कवि मन कस्तो हुन्छ ? यो दीर्घ र दीर्घजस्तै कविहरूको सामुहिक समस्या हो । धेरै कविलार्ई सञ्चारकर्मले छपक्क छोपेझैँ लाग्छ । दीर्घ पनि त्यसैमध्ये एक हुन् । मैले एक पटक कविहरू मोहराज शर्मा, रूपेश श्रेष्ठ र दृष्टिवाणी धिताललाई सोधेको थिएँ । उनीहरू क्रमशः एपी वान, कान्तिपुर र प्राइम टिभीका पत्रकार पनि हुन् । उनीहरू सबैले मैलाई सोधे – रेडियो नेपालको समाचार प्रमुख भएर बिहान, बेलुकी ७ बजेको समाचार पढिरहँदा तपाईँलाई कस्तो लाग्छ ? म निरुत्तर थिएँ । कैलालीमा पुगेको बेला अनौपचारिक कुराकानीमा कवि उपाध्यायलाई पनि सोधेँ । उनी मुस्कुराए मात्रै । शालीन र भद्र स्वभाव, सात्विक जीवनशैली र परोपकारी भावना, संवेदनापूर्ण हृदय र सकारात्मक चेतनाका यी तन्नेरी कवि आफैँमा एक कविता हुन् । उनी कविताजस्तै जीवन बाँचिरहेका छन् । उनको कविता साधना पच्चीस वर्षभन्दा जेठो छ । लाग्छ, उनी कवि हुनभन्दा बढी मान्छेको पीडालाई सुललित हरफमा उन्न र अक्षरमा जीवन बुन्न कवितासँग खेल्छन् ।

आमा यो शहरमा बाँदर पनि भोकै भए

हामी पनि भोकै भयौँ

बादर र हाम्रो जीवनको मूल्य

उस्तै उस्तै भयो,

न प्यास कसैले सोध्यो

न भोक कसैले सुन्यो ।

/ आमा म आउँदैछु

आजका कविताले कथ्य र शिल्प दुवैलाई नयाँ आकार दिएका छन् । कवितामा तन्नेरी उपस्थिति जति बलबान् छ, लेखन पनि त्यत्तिकै सशक्त छ । आजका कविता सुन्दरीको शोभा, सौन्दर्य, वैँस र वसन्तसँग मात्र होइन, मान्छेको जीवनसँग नजिकै हुन खोज्छ । श्रम, श्रमिक, सीमान्तकृत नागरिक र तिनका पसिना कविताका सीमा र सामथ्र्य हुन् । फूलको थुँगा, पात र त्यहाँ बस्ने भमरासँग मात्र होइन, फूलको बोट, जरा, त्यही फूल हुर्काउने माली र माटोसँग पनि गहिरो चासो राख्छन् आजका कवि । फूल मन पराउने असल कविले माली कसरी भुल्नु ? माली मजदूर,  उसको जीवन, परिवार र परिवारहरूको पनि परिवार पूर्ण देश कसरी बिर्सनु ? कवि उपाध्याय सुन्दर सुदूर पश्चिममा बसेर देशको पूर्णता छामिरहेछन् । सिंहदरबार नियालिरहेछन् र शासकहरूको कुरूप अनुहारमा अक्षरको सिस्नुपानी बर्साइरहेछन् ।

सरकारले करोडौँ खर्चेर घण्टाघर बनायो

त्यही घण्टाघर मुन्तिर

मृगौला फेल भएर

मृत्यु पर्खेर बसेको

नागरिकको उपचारका लागि

सरकारसँग बजेट थिएन ।

/ ईश्वरका नाममा बजेट चढाउनेहरू

देश भूगोलमात्र होइन, देश माटोको आकार र देखिने नक्सामात्र पनि होइन । देश देश हुन सुखी नागरिक, पहिचानको देश र देशको पहिचान चाहिन्छ । कवि उपाध्यायलाई थाहा छ, देश बलियो हुन इतिहासको ज्ञान, संस्कृतिको विरासत र पौरस्त्य दर्शनको जगमा उठेको जीवनचक्रको जग पनि  बलियो हुनुपर्छ । सैपाल र अपी हिमालको फेदमा बसेर शिरमा खप्तड र आँगनमा शुक्ला फाँटा हुर्काइरहेको माटोले कसरी भुल्छ र त्यहाँ आमा, हजूर आमाले गाएको मागल, घरघरको स्वस्तीवाचन र समवेत स्वरमा देउराली घन्कने लोकजीवनका अवयव ? उनलाई वन चाहिन्छ, वनेली चाहिन्छ, संस्कृतिको सुवासमा प्रसारित भइरहेको नेपालीपन चहिन्छ । आज संसारले झेलेको विश्वव्यापी उष्णता, पग्लँदो हिमाल र फडानीमा परेको जङ्गलको घाउ उनको छातीमा छ । कोरोना कालमा सार्थक पत्रकारिता गरेर नागरिकको जीवन बचाउन अहोरात्र क्रियाशील यी पत्रकारलाई पत्रकार मात्रै भन्नु पनि अन्याय हो र आगैसँग जस्तो तिनै कथ्यहरूसँग खेल्ने यी कविलाई कवि मात्रै भन्नु पनि अन्याय हो । उनी आफैँ दुनियाँको न्यायका खातिर चिन्तित छन्, कवि भएर पत्रकार भएर । उनको चिन्ता प्रकृति र संस्कृतिको फेरिँदो रूपमाथि पनि उत्तिकै सशक्त छ ।

छोडिसक्यो, कागले सन्देश ल्याउन

बास्न छोडिसके भालेहरू

क्वैलीले भन्न छोड्यो, को हो, को हो

ओहो ! मेरो पहाड ।

/ तिमी कहिले फर्कन्छौँ ?

मूलतः आमा र आमाहरूको आँसु देखेर नेपाल आमासमक्ष एउटा कविले गरेको काव्यात्मक निवदेन हो यो सङ्ग्रह । कविताहरू विद्रोहजस्ता तर विनम्र, सीमाहीन भावनाजस्ता तर सम्हालिएका, गालीजस्ता तर तर्कपूर्ण, सरलजस्ता तर सुगठित, वर्णनजस्ता तर सम्प्रेष्य छन् । उनको लेखनको मूल विशेषता यही हो । उनको कत्थ्य र शिल्पमा नयाँपन छ ।

लामो समयदेखि साहित्य र कवितामा जम्दै आएका दीर्घको सुदीर्घ छातीभित्र धसिएको गहिरो अनुभूति अक्षरमा सर्लक्क कुँदिएको छ । समाजको काखमा बसेर  उनी सम्पूर्ण समाज, समय र संवेदना बुनिरहेछन् र मैथ्यु आर्नल्डले कविताका लागि भनेझैँ समाजको समालोचना गरिरहेछन् । उनी यही समय र समाजका संवेदनशील कवि हुन् । लाग्छ, उनको उज्यालो परिचयलाई अब कुनै वादलले छेक्ने छैन ।

बेपत्ता भएका हायू परिवारको विवरण सार्वजनिक (नामावलीसहित)

सिन्धुलीको गोलञ्जोर-६ बाट बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ। उनीहरुको मोबाइल ‘ट्रयाकिङ’ गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरेको छ। वेपत्ताहरुको नामावली यसप्रकार छ :

१) बर्ष ५२ की उर्मिला हायु (आमा)

२) बर्ष २७ की कमला हायु (छोरी)

३) बर्ष २३ की कोमल माया हायु (बुहारी)

४) बर्ष २२ की उषा हायु (छोरी)

५) बर्ष १९ की सुजता हायु (छोरी)

६) बर्ष १८ की अस्मिता हायु (छोरी)

७) बर्ष १२ की सान्ता हायु (छोरी)

८) बर्ष २९ को राजु हायु (छोरा)

९) बर्ष २४ को हिमाल हायु (छोरा)

१०)बर्ष १६ को लाल बहादुर हायु ( छोरा)

११) बर्ष १४ को बेग बहादुर हायु ( छोरा)

१२) बर्ष ११ को लक्की हायु (छोरा)

१३) बर्ष १२ को सुवर्ण हायु (छोरा)

१४) बर्ष १० की ओम कुमारी हायु (छोरी)

१५) बर्ष १ को अर्जुन हायु (नाती)

१६) बर्ष ४ की रियासा हायु ( नातिनी )

गत शुक्रवारदेखि छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जनाको परिवारै सम्पर्क विहीन भएको र अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको सिन्धुलीका प्रमुख जिल्लाअधिकारी दिनेश सागर भुसालले नेपालटिभीअनलाई जानकारी दिए ।

खोज्नुहोस