मुख्यमन्त्री शाहले भोलि विश्वासको मत लिँदै, पक्षमा मतदान गर्न कांग्रेस र एमालेको ह्वीप

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने भएका छन् । भोलि साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने छन् ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बाध्यता आइलागेको हो । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल एमाले कांग्रेस तयार भइसकेका छन् ।

बुधवार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । उनकाअनुसार प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय लिएको हो ।

यस अघि सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो । पक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए । साथै, १३, १४ र १५ गते कांग्रेस सांसदहरूलाई धनगढी नछाड्न भनिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक हुन्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद जोड्दा बहुमत सजिलै पुग्छ ।

यता, माओवादी केन्द्रका ११ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका ७ सांसद पनि हाल प्रतिपक्षमै छन् । आफ्नै पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरिएको भन्दै नाउपाले समर्थन फिर्ता लिएको हो । संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् ।

यहाँ एकीकृत समाजवादीका ४ जना, राप्रपा र स्वतन्त्र सांसद १/१ जना रहेका छन्

काठमाडौँमा बङ्गलादेशी नागरिकको हत्या, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१२ स्थित नरदेवीमा बङ्गलादेशका नागरिकको हत्या भएको छ । बुधवार बिहान ३ बजेतिर ५५ वर्षीय सुब्रत पालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

मृतक नरदेवीमा सुनका गहना बनाउन काम गर्थे । हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर–२ घर भएका ४२ वर्षीय श्याम कालिकोटे छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ परिसरको संयुक्त टोलीले आरोपीलाई गोङ्गबुबाट पक्राउ गरेको हो । आरोपीले फलामले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

नरदेवीमा फ्ल्याट लिएर बस्दै आएका बङ्गलादेशी नागरिकका सहयोगीले उनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

फ्रान्सेली पोलिनेसियाको मार्क्वेसास टापुमा १३ फिट अग्लो सुनामीको चेतावनी

काठमाडौँ । फ्रान्सेली पोलिनेसियाको मार्क्वेसास टापुहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय अधिकारीहरूले आगामी केही घण्टामा चार मिटरसम्म अर्थात् लगभग १३ फिट अग्ला छालहरू आउने अनुमान गरिएको बताएका छन् ।

पहिले यो चेतावनी १.१ देखि २.२ मिटरको बीचमा थियो । अधिकारीहरूले यी छालहरू उआ हुका, नुकु हिवा र हिवा ओओ टापुहरूमा ठोक्किने अपेक्षा गरिएको बताएका छन् । यस्तो अवस्थामा, यस क्षेत्रमा बस्ने मानिसहरूलाई उच्च स्थानहरूमा सर्न सल्लाह दिइएको छ ।

नुकु हिवा प्रशान्त महासागरमा अवस्थित मार्क्वेसास टापुहरूको सबैभन्दा ठूलो टापु हो । फ्रान्सेली पोलिनेसियाका बाँकी भागहरू खाली गर्न आवश्यक छैन, तर मानिसहरूलाई समुद्र तट, किनार र नदीको मुखबाट टाढा रहन सल्लाह दिएको छ ।

चलचित्र विधेयक विधायक व्यवस्थापन समितिमा पुग्यो

काठमाडौं- राष्ट्रियसभा बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

उक्त प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए।

अब चलचित्र विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा गएको छ।

यसअघि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ का सम्बन्धमा सांसदहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा प्रधानमन्त्रीले जवाफका सिलसिलामा व्यक्त गरेको विचारसमेतका आधारमा उक्त प्रतिवेदनमा समावेश भएको सुझावहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए।

राष्ट्रियसभाको अर्को बैठक साउन २३ गते शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ।

बजेटमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् ।

सदस्यहरूमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानुन तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्वसहसचिव निर्मलहरी अधिकारी छन्  । कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३५९ मा विनियोजन कुशलता कायम गरी सार्वजनिक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धि बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुढृढ बनाउने उल्लेख छ । यसैगरी सार्वजनिक ऋणको उत्पादनशिल उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ ।

बजेटको बुँदा नं. ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ ।

बजेटमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो । संविधानको धारा ५९ मा संघ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य कानून अनुशासनसम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुने उल्लेख छ ।

रहेनन् खप्तड गोल्डकपका संस्थापक सुरेश हमाल

धनगढी । अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन भएको छ । बुधबार भारतमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हमालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपणको तयारी भइरहेको थियो ।
उनको निधनले सुदूरपश्चिम खेलकुद क्षेत्रले अभिभावक गुमाएको महसुस भएको छ । खेलकुदमा व्यावसायिकता र भविष्य खोजिरहेका युवाहरूका लागि हमाल आशाको केन्द्र थिए ।
‘उहाँ हाम्रो परिवारको मात्र होइन, खेलकुद जगतकै नायक हुनुहुन्थ्यो । कसैले नआँटेको काम गर्नुभयो,’ भावुक हुँदै भतिजा कल्पित हमालले भने, ‘त्यो पनि कुनै व्यक्तिगत स्वार्थ बिना, खेलाडी र खेलको विकासका लागि ।’

हमालले आफ्नो पारिवारिक जिम्मेवारी र व्यक्तिगत सुखसुविधालाई समेत पछाडि राखेर खेलकुदमा लगानी गरेको कल्पितले बताए । उनले सुदूरपश्चिम स्पोर्ट्स क्लब मार्फत खेलाडीहरूलाई अवसर दिएका थिए । खेलाडीलाई वर्षैभरि आफ्नै घरमा राखेर खाने, बस्ने र व्यावसायिक तालिमको पूर्ण व्यवस्था मिलाउने गर्थे । खेलाडीको प्रतिभा निखार्न बाहिरका प्रशिक्षक समेत ल्याउने गर्थे ।

‘उहाँले जस्तो त्याग सायदै अरू जो कसैले गर्न सक्दैन, हामी त उहाँकै रगत हौं, तर उहाँले जस्तो हिम्मत गर्न हामी सक्दैनौं । देशलाई उहाँजस्ता अरू १० जना सुरेश हमालको खाँचो छ,’ कल्पितले भने ।
सुदूरपश्चिममा सर्वाधिक धनराशिको राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्नु चानचुने कुरा थिएन । सुरेश हमालले यही असम्भव जस्तै लाग्ने सपनालाई विपनामा बदले । उनले ‘खप्तड गोल्डकप’ को अवधारणा ल्याए र त्यसलाई छैटौं संस्करणसम्म सफलतापूर्वक आयोजना गरेरै छाडे ।

हमाल र उनको टिमको अथक प्रयासले धनगढीको मैदानमा देशका नाम चलेका क्लबहरूले प्रतिस्पर्धा गरे । यसले स्थानीय खेलाडीलाई एक्सपोजर मात्र दिएन, समग्र क्षेत्रमा खेलकुदको एक नयाँ लहर सिर्जना गर्‍यो । तर दुई वर्षअघि जब उनी बिरामी परे, गोल्डकपको त्यो रौनक पनि एकाएक रोकियो । उनको स्वास्थ्यसँगै गोल्डकपको भविष्य पनि अनिश्चित बन्न पुगेको थियो ।

धेरैलाई थाहा नहुन सक्छ, फुटबलका यति ठूला आयोजक हमाल आफैँ भने सुरुमा तेक्वान्दोका खेलाडी थिए । विद्यालय जीवनदेखि नै खेलकुदमा होमिएका उनले तेक्वान्दोमा राम्रो सम्भावना देखाएका थिए । तर एउटा अनौठो समस्या उनको खेल जीवनमा बाधक बन्यो । उनलाई हवाईजहाजमा यात्रा गर्न अत्याधिक डर लाग्थ्यो । यही कारणले उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धा गर्ने अवसर गुमाए ।

तर एउटा बाटो बन्द हुँदा हजारौं बाटा खुल्छन् भने झैं उनले आफ्नो व्यक्तिगत खेल यात्रा टुङ्गिए पनि अरूको लागि बाटो बनाउने अठोट गरे । कलेज अध्ययनका लागि धनगढी आएपछि उनले सुदूरपश्चिमको खेलकुदलाई नै आफ्नो कर्मक्षेत्र बनाए । ‘यदि म उडेर बाहिर जान सक्दिनँ भने बाहिरकालाई नै यहाँ बोलाएर एउटा मञ्च तयार गर्छु’ भन्ने सोचले उनलाई खप्तड गोल्डकपको योजनाकार बनायो ।
कैलालीको भजनी नगरपालिका –५ मा जन्मेका हमाल ४८ वर्षका थिए । उनी धनगढीमा बसोबास गर्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

काठ्माण्डौँ- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अस्ट्रेलियाको पहिलो रकेट १४ सेकेन्डमै दुर्घटनाग्रस्त

एजेन्सी । देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ।  गिलमोर स्पेस टेक्नोलोजीले प्रक्षेपण गरेको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहलाई कक्षमा लैजान डिजाइन गरिएको थियो।  यसले बुधबार बिहान स्थानीय समयमा क्विन्सल्यान्ड राज्यको उत्तरी भागमा रहेको सानो सहर बोवेन नजिकको स्पेसपोर्टबाट परीक्षण उडानमा प्रक्षेपण गरेको थियो।

अस्ट्रेलियाली समाचार आउटलेटले प्रकाशित गरेको भिडियोमा २३ मिटर (७५ फिट) रकेट प्रक्षेपण टावर छोडेको देखिन्छ र दृष्टिबाट बाहिर खस्नुअघि हावामा उडिरहेको देखिन्छ। घटनास्थलमाथि धुवाँको लहर उठेको थियो।

हताहतको कुनै खबर आएको छैन।  कम्पनीले फेसबुकमा पोस्ट गरेको वक्तव्यमा प्रक्षेपणलाई सफलताको रूपमा स्वागत गरेको छ। एक प्रवक्ताका अनुसार सबै चार हाइब्रिड–चालित इन्जिन प्रज्वलित भए र पहिलो उडानमा २३ सेकेन्ड इन्जिन बलेको समय र १४ सेकेन्डको उडान समावेश थियो।

गिलमोर स्पेस टेक्नोलोजीले मे र यस महिनाको सुरुमा रकेटको अघिल्लो प्रक्षेपणको योजना बनाएको थियो, तर प्राविधिक समस्या र खराब मौसमले ती कार्य रद्द गरेको थियो।   सिइओ एडम गिलमोरले एक विज्ञप्तिमा रकेट लन्चप्याडबाट निस्किएकोमा खुसी भएको बताए।   ‘निस्सन्देह म धेरै उडान समय चाहन्थें तर यसबाट खुसी छु,’ उनले लिङ्कडइनमा लेखे। गिलमोरले फेब्रुअरीमा एक निजी रकेट कम्पनीले आफ्नो पहिलो प्रयासमा सफलतापूर्वक कक्षमा प्रक्षेपण गर्नु ‘लगभग नसुनिएको’ कुरा थियो।

रकेटले जमिन छोडेमा प्रक्षेपणलाई सफल मान्ने कम्पनीले पहिले नै बताएको थियो। ‘प्रक्षेपण स्थलको पूर्वाधार ‘अक्षुण्ण रह्यो’,’ विज्ञप्तिमा भनिएको छ।   स्थानीय ह्विटसन्डे क्षेत्रीय काउन्सिलका मेयर राई कोलिन्सले यान कक्षमा नपुगे पनि पूरा भएको प्रक्षेपण ‘ठूलो उपलब्धि’ थियो भने।   ‘यो हाम्रो क्षेत्रमा भविष्यको व्यावसायिक अन्तरिक्ष उद्योगको विशाल छलाङतर्फको महत्त्वपूर्ण पहिलो कदम हो,’ उनले फेसबुकमा लेखे।

गिलमोर स्पेस टेक्नोलोजीसँग निजी कोषकर्ता छन् र यस महिना एरिस रकेटको विकासका लागि देशको सङ्घीय सरकारबाट ५० लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) अनुदान प्राप्त भएको थियो। यसले अस्ट्रेलियामा नयाँ अन्तरिक्ष प्रविधिको विकास र व्यावसायीकरणलाई अगाडि बढाउन सन् २०२३ मा सरकारसँग फर्मको पाँच करोड २० लाख अस्ट्रेलियन डलर अनुदान सम्झौतालाई पछ्याएको थियो।

एरोस्पेस समाचार प्लेटफर्म नासास्पेसफ्लाइटका अनुसार यो देश सयौं उप–कक्षीय वाहन प्रक्षेपणको स्थल भएको छ तर अस्ट्रेलियाबाट कक्षमा दुईवटा मात्र सफल प्रक्षेपण भएको छ। पहिलो एरिस परीक्षण उडान ५० वर्षभन्दा बढी समयमा अस्ट्रेलियाबाट पहिलो कक्षीय प्रक्षेपण प्रयास थियो। एपी

प्रधानमन्त्री ओलीको दाबी: सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो

काठ्माण्डौँ- प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्नु गलत भएको भन्दै आपत्ति जनाए। उनले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने त भन्दै प्रश्न गरे। “सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्छन्। छ्यालब्याल रैछ भन्छन्। भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त? भ्रष्टाचार गर्न दिइन्न। कसैले गर्यो भने कारबाही हुन्छ। त्यही त गर्ने होला नि,” उनले भने।

ओलीले थपे, “सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ। कहाँको भ्रष्टाचारको पर्याय? गम्भीर विषयमा छलफल हुँदाखेरि हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु।”

यसअघि बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको आरोप लगाएका थिए। उनले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप लगाएका थिए।

प्रधानमन्त्री ओलीले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताए।

सुदूरपश्चिम विश्वविद्यालयका पदम र ईश्वरले अन्तर्राष्ट्रिय बहसमा नेपालको प्रतिनिधित्व गर्ने

कैलाली ।  सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत दुई कानुन संकायका विद्यार्थीले भारतको प्रयागराजमा हुने अन्तर्राष्ट्रिय बहस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायको चौथो सत्रमा अध्ययनरत डडेल्धुराका  पदम बहादुर साउद र विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्ययनरत  दार्चुलाका  ईश्वर दत्त भट्ट भदौ १५ गते आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुनेछन्।

‘महाकुम्भ’ स्थल प्रयागराजमा आयोजना हुने सो प्रतियोगितामा विश्वभरका २९ विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुँदैछन्। नेपालबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका पदम र ईश्वर कानुनी बहसमा सुदूरपश्चिम क्षेत्रका प्रतिभावान विद्यार्थीका रूपमा स्थापित हुँदै गएका छन्।

उक्त अन्तर्राष्ट्रिय मञ्चमा ‘संयुक्त राष्ट्रसंघ शान्ति स्थापनामा सफल छ कि असफल ?’ भन्ने विषयमा बहस हुनेछ। विभिन्न चरणहरू पार गर्दै अन्तिम सूचीमा पर्न सफल यी दुई विद्यार्थीलाई सुदूरपश्चिम विश्वविद्यालय र सम्पूर्ण नेपाली समुदायका तर्फबाट बधाई तथा सफलताको शुभकामना व्यक्त गरिएको छ।

विद्यार्थीद्वय साउद र भट्टको यो सहभागिता सुदूरपश्चिम क्षेत्रका लागि मात्र नभई सम्पूर्ण नेपाली कानुन क्षेत्रका विद्यार्थीहरूका लागि प्रेरणादायक मानिएको छ।

प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ‍’सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।

पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उजुरीमा जनाएका छन् ।

साथै उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।

पौडेलले प्रधानमन्त्री ओली तथा गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल,विजयकुमार गच्छदार,शक्तिबहादुर बस्नेत,विमलेन्द्र निधी,बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

यसअघि पौडेलले प्रधानमन्त्री ओलीसहितमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए । काठमाडौँ प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले उजुरी आएपनि आधिकारिक दर्ता हुन नसक्ने बताए ।

अनशन बसेका मेयर भट्टराईलाई ५ बजेपछि माइतीघरमा नबस्न निर्देशन

काठमाडौं : खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले माइतीघर मण्डलामा अनशन सुरु गरेका छन्। तर उनले प्रहरीले आफूलाई साँझ ५ बजेपछि त्यहाँ बस्न नदिने जानकारी दिएको गुनासो गरेका छन्।

‘मेरो कुरा दिनरात यही बस्ने हो, मेयर भट्टराईले भने, ‘तर प्रहरीले ५ बजेपछि बस्न पाइँदैन भनेको छ। मलाई जहाँ लगे पनि जान्छु।’ उनका अनुसार, एक प्रहरी अधिकृतले’माथिबाट आदेश आएको’ भन्दै साँझपछि बस्न नपाइने जनाएका थिए ।

भट्टराईले आइतवाररदेखि सात बुँदे माग राखेर तीन दिने सत्याग्रह सुरु गरेका थिए । तर माग सम्बोधन नभएपछि उनी सोमबारदेखि अनशनमा बसेका हुन् ।

उनका प्रमुख मागहरू यस्ता छन:

बाँसका सामग्री प्रयोग गर्न राष्ट्रिय नीति बनाउने,

बाँदरको व्यवस्थापन गर्न नीति ल्याउने,

स्थानीय उत्पादनको प्रवर्द्धन,

यातायात सञ्जाल विस्तार,

अनशन स्थलमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ ।

 

गृह मन्त्रालयले दुई सीडीओ परिवर्तन गर्‍यो

काठ्माण्डौँ- गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूलाई मन्त्रालयमा तानिएको हो ।

रुपन्देहीमा डा.टोकराज पाण्डे र सिन्धुपाल्चोक बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय पनि मन्त्री लेखकले गरेका मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ । मन्त्री लेखकले सोमबार यो निर्णय गरे पनि आइतबारबाट रिक्त भएको मन्त्रालयको प्रवक्ता कसैलाई तोकेनन् ।

गत असार ३१ गते मन्त्रालयको प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो । उनी आइतबार मन्त्रालयबाट बिदा भई विभागमा हाजिर भएपछि प्रवक्ता रिक्त भएको हो ।

मन्त्रालयको प्रवक्तामा अध्यागमन विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएका सहसचिव गोविन्द रिजाल र मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव जयनारायण आचार्यको सम्भावना छ । दुवै जना काठमाडौँका प्रमुख जिल्ला अधिकारी भइसकेकाले उनीहरू मध्यबाटै एक जना मन्त्रालयको प्रवक्ता हुने स्रोतले जानकारी दियो ।

एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । भुटानमा अगस्ट ६ देखि ११ सम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू-२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुबल संघ (एन्फा)ले बुधबार दशरथ रंगशालामा एक कार्यक्रम गर्दै बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचसव किरण राई लगायतले बिदाई गरे ।

प्रतियोगितामा नेपाल समूह ए मा छ । यस समूहमा उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् ।

उमेर समूहको विश्वकि जितिसकेको उत्तर कोरिया सबैभन्दा बलियो टोलीको रुपमा छ । नेपालले उत्तर कोरिया जस्तो बलियो टिमसँग खेल्दा अनुभव हासिल गर्ने माैका हुने एन्फाको विश्वास छ ।

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।

नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा मन्त्रीहरू निदाएका हुन् ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको अवस्थामा देखिएका हुन् ।

यसअघि प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा  सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि निदाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदा पनि नउठेपछि उनी सामाजिक सञ्जालमा ट्रोल बनेका थिए ।

हुम्लाको तिल गाउँमा आएको बाढीले ४ काठेपुल बगायो

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाँउ नजिकको खोलामा आएको बाढी ले चार वटा काठेपुल बगाएको छ ।

बाढीले तिल गाउँ जोड्ने ४ वटा काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र खोला छेउमा रहेको बुद्धको स्तुपामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

खेतबारीमा रोपिएको उवामा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । साउन १२ गते दिउँसो चार बजेतिर हुम्लाको तिल गाउँमा एक्कासी बाढी आएको थियो ।

घटनास्थलमा सुनखानी प्रहरीचौकीबाट ५ जनाको टोली गएर क्षतिको विवरण संकलन गरेर ल्याइएको डिएसपी पोखरेलले बताए ।

प्रहरी टोलीसँग स्थानीयले गुन्छुसा खोलामा आएको बाढीले क्षति पुगेको बताएका थिए । क्षतिको सम्पूर्ण विवरण आउन भने बाँकी नै रहेको डिएसपी पोखरेलले बताए ।

हुम्लाको तिलगाउँमै गत जेठ १ गते पनि बाढी आउँदा क्षति पुगेको थियो । त्यतिबेला गाउँको सिरानमा रहेका हिमतालको पानी चुहिएर बाढी आएको विज्ञ टोलीले निष्कर्ष निकालेको थियो ।

हायु परिवारलाई फर्काउन वडाध्यक्ष पुगे पोखरा, नयाँ घर बनाइदिने आश्वासन

काठ्माण्डौँ- घर छोडेर हिँडेको हायु परिवारलाई फर्काउन गोलञ्जोर-६, सिन्धुलीका वडाध्यक्ष रवीन श्रेष्ठ पोखरा पुगेका छन्।

उनले उक्त परिवार फर्किए तत्कालका लागि अस्थायी टहरा र पछि पक्की घरसमेत बनाइदिने आश्वासन दिएका छन्।

वडाध्यक्ष श्रेष्ठ हायु परिवारलाई भेट्न बुधबार पोखरा पुगेका हुन्। घर छोडेर हिँड्नुको कारण सोद्धा परिवार बिरामी भइरहने, तर्साएको जस्तो लाग्ने गरेको बताएको श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार, परिवारकी सबैभन्दा ज्येष्ठ सदस्य ५२ वर्षीया उर्मिला हायूले त्यस घरमा बस्नै मन नलागेको र भित्रैदेखि डर लाग्ने गरेको बताएकीछन्।

तर जेठा छोरा राजुचाहिँ घर फर्कन सहमत भएका छन्।

‘अहिलेसम्म आमाले फर्किन मान्नुभएको छैन। जेठा छोरा राजुचाहिँ फर्कन सहमत हुनुभएको छ,’ श्रेष्ठले भने, ‘अब परिवारलाई निर्णय गर्न दुई घण्टाको समय दिएका छौँ। उहाँहरूले मान्नुभयो भने आजै फर्काएर लैजान्छौँ।’

सिन्धुलीको गोलञ्जोर-६ को १६ जनाको हायु परिवार अहिले पोखराको गगनगौँ गएर बसिरहेको छ।

भिजिट भिसामा विदेश पठाउने गिरोह अझै सक्रिय, कुवेत जान लागेका ४७ महिला फर्काइए

काठमाडौं– सदनदेखि सडकसम्म भिजिट भिसा प्रकरण छानबिनको माग उठेर चौतर्फि सरकारको आलोचना भइरहँदा अझै पनि भिजिट भिसामार्फत विदेश पठाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

गत साउन ८ गते भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट ४७ महिला नेपाल फर्काइएपछि भिजिट भिसामा विदेश पठाउने गिरोह अझै सक्रिय रहेको पाइएको हो ।

नेपाल सरकारले दिनुपर्ने एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) बिना नै उनीहरु कुवेत जान लागेको अवस्थामा भेटिएपछि दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा उनीहरुलाई नेपाल फर्काइएको प्रहरीले जनाएको छ । दिल्लीबाट दूतावासका कर्मचारीले रुपन्देहीमा ल्याएर स्थानीय प्रशासनको जिम्मा लगाएका ४७ जना परिवारको जिम्मामा घर फर्काइएको हो ।

गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री

पोखरा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताएकी छिन् । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको बताइन् ।

`श्रद्धेय नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीको नेतृत्वमा बनेको यो गठबन्धनले देशलाई स्थायित्व दिएको छ,´ उनले भनिन्, `यसले गर्दा पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पत्याउने वातावरण बनेको छ ।´

देउवाले राजनीतिक स्थायित्वविना देशको समृद्धि र विकास सम्भव नहुने भन्दै अहिलेको सरकारले उत्कृष्ट भिजनका साथ काम गरिरहेको दाबी गरिन् । उनले जलवायु संकटका कारण हिमालहरू काला हुँदै गएको र देशले गम्भीर पर्यावरणीय चुनौती सामना गरिरहेकोमा गहिरो बताएकी छिन् । पोखरामा बगैँचा होटल उद्घाटन गर्दै देउवाले भनिन्, `पछिल्लो पटक मैले हिउँविनाको खैरो (ग्रे) माछापुच्छ्रे देखेँ । आफ्नो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ । अब आउने पुस्ताले हिउँले ढाकिएको हिमाल हेर्न नपाउने हो कि भन्ने डर लागेको छ ।´

उनले नेपालका छिमेकी मुलुकहरूमा देखिएको बाढी र नेपालमा पनि खडेरी तथा अतिवृष्टिको जोखिम बढेको बताइन् । `यो समस्या हाम्रो कारणले मात्र भएको होइन, तर यसको सबैभन्दा ठुलो मार हामीले खेपिरहेका छौँ,´ उनले भनिन् ।

रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मा दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो ।

रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टा भित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामको गति बढाउन सिँचाइमन्त्री खड्काको निर्देशन

कञ्चनपरः सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यस्ता आयोजनामा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताए।

राष्ट्रिय गौरवका र प्रत्यक्ष जनतालाई लाभ हुने उत्पादनसँग जोडिएका आयोजना यो सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले बजेट कम आएको छ भन्ने नसोच्नुस्, काम र खर्चको गति बढाउनुहोस्, बजेटको चिन्ता नगर्नुहोस् भनी आग्रह गरे।

मन्त्री खड्काले भने, “निर्माणाधीन नहरमा पानी सञ्चालन गर्न पनि धेरै ठुलो समस्या छ जस्तो मलाई लाग्दैन, कामको गति अझै बढाउनु प¥यो, पानी लिनेदिने कुरामा समस्या छैन।”सोमवार निर्माणाधीन नहरको अवलोकन गरेपछि राति ९ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरणको कार्यालय पुगेका उनले कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारी, मन्त्रालयको टिम र सरोकारवालालाई राखेर यस्तो बताए।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका कार्यालय प्रमुख डाक्टर योगेन्द्र मिश्रले प्रस्तुत गरे कार्ययोजनामा तीन वर्षमा पूरा गर्ने भनिएको कामलाई सकभर एक वर्ष नभए डेढ वर्षमा सक्ने गरी लाग्न उनले निर्देशन दिए। “तपाईंले तीन वर्षमा सक्ने भनेर प्रस्तुत गरेको देख्दा केही सानो विवाद आउँदा सोझै पाँच वर्ष लाग्ने देखिन्छ, जसले लागत पनि बढ्छ, मुआब्जा विवादलाई चाँडो समाधान गरेर द्रुत गतिमा काम अगाडि बढाउनु पर्‍यो।

पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने गरेर काम भइसकेको हुँदा बनेको नहरमा पानी सञ्चालन गरेर किसानलाई सुविधा दिनमा ढिलाइ गर्न नहुने कार्यालय प्रमुख मिश्रको भनाइ छ।

“संरचना तयार भए पनि भारतले टनकपुरबाट नहरमा पानी नछोड्दा नहरबाट यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन्, पानी छोड्न सक्यो भने सिँचाइका साथसाथै नहरको संरक्षणसमेत हुने छ,। कार्यालय प्रमुख मिश्रले भने, “थप काम गर्न र किसानलाई सम्झाइबुझाइ गर्नसमेत सजिलो हुन्छ, बनेको ठाउँमा पानी चलाउन नसक्दा किसानले जग्गा दिन आनाकानी गर्ने, पानी ठेगान नभएको भन्दै किसान हर्षित नहुने समस्या छ।” पानी सञ्चालन गर्न पहल गरिदिनसमेत उनले आग्रह गरे।

टनकपुर ब्यारेजबाट भारतीय पक्षले पानी नछाड्दा किसानको खेतमा पानी पुग्न नसकेको हो। सो नहर निर्माण भएर परीक्षणसमेत भइसकेको अवस्थामा भारतीय पक्षले आनाकानी गर्दा पानी सञ्चालन हुन सकेको छैन।

टनकपुरबाट पानी छाड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) ले पानी छाड्न नमानेको कार्यालय प्रमुख मिश्रले बताए। एनएचपिसीले माथिल्लो तहबाटै उद्घाटन गरेर मात्रै पानी छाड्न सकिने बताउँदै आएको छ। “दिल्लीको आदेश आउनेबित्तिकै पानी छाड्छौँ भन्ने जवाफ एनएचपिसीका कर्मचारीले दिने गरेका छन्,” उनले भने।

स्थायी राजधानी गोदावरीमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्‍दामा आज पेसी

धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी जङ्गलमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्दामा आज पेस रहेको छ।

सुदूरपश्चिम प्रदेश सभाले २०७५ असोज १२ गतेको गरेको स्थायी राजधानीको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो। सुदूरपश्चिम प्रदेश सभाको विरुद्धको उक्त मुद्दाको पेसी बुधवार तोकिएको मुख्य न्यायाधिवक्ताको कार्यालय, धनगढीले जनाएको छ।

मुख्य न्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी सत्यराज पडालले मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशी सोही कामका लागि काठमाडौँमा रहेका बताए। उनले बुधवार प्रदेश स्थायी राजधानीको मुद्दामा पेसी रहेको बताएका छन्। उनले भनेर्, पेसी आज तोकिएको छ। सर्वोच्चमा पेसी तोकिएको हो। तर, फैसला हुने÷नहुने विषयमा जानकारी छैन। साँझसम्म कुनै निर्णय आउन पनि सक्छ। साँझसम्म कुरौ।’

प्रदेश सभाको पहिलो कार्यकालमा २०७५ असोज १२ गतेको बैठकले कैलालीको गोदावरी नगरपालिका–४ तेघरीमा सुदूरपश्चिमको स्थायी राजधानी बनाउने निर्णय गरेको थियो। उक्त निर्णय सात वर्षसम्म कार्यान्वयन भएको छैन। प्रदेश सभाको निर्णय विरुद्धमा मुद्दा र गोदावरी वन क्षेत्रमा जमिन प्रयोगको अधिकार प्रदेश सरकारलाई नभएकाले निर्णय कार्यान्वयन नभएको हो।

तत्कालीन समयमा सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी क्षेत्रको नाप–नक्साँकनसहित चार सय ४४ बिघा जग्गाको भोगाधिकार माग गर्दै २०७५ माघमा वन मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेको थियो । प्रदेश सरकारले आवश्यक जमिन मात्र उपभोग गर्ने र बाँकी जंगल संरक्षण गर्ने प्रस्ताव गरेको छ। तर, संघ सरकारले वास्ता नगर्दा भोगाधिकारबारे कुनै टुङ्गो लागेको छैन्।

गोदावरीमा स्थायी राजधानी कार्यान्वयनमा अलमल भएपछि मुख्यमन्त्री कमल बहादुर शाहले विकल्प खोज्न प्रयास गरिरहेका छन्। उनले विकल्पका रूपमा धनगढीमै स्थायी राजधानी निर्माण गर्न गृहकार्य सुरु गरेका हुन्। धनगढीलाई नै स्थायी राजधानी तोकेर हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको १३ बिघामा प्रदेश मन्त्रालयलगायत संरचना निर्माण गर्ने योजनामा सुदूरपश्चिम सरकार छ। तर, सुदूरपश्चिमको स्थायी राजधानीको निर्णय परिवर्तन गर्न नहुने भन्दै गोदावरीमा विरोध सुरु भएको छ।

 

स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय तथा अस्पिताल र स्वास्थ्य संस्थाहरुसँग जग्गाको विवरण माग गरेको छ।

विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए।

मन्त्री पौडेलको निर्देशनपछि मन्त्रालयले मातहतका विभाग, केन्द्र, अस्पताल, प्रयोगशाला तथा सेन्टरका नाममा रहेको जग्गा, जग्गा उपयोगको अवस्था, लिजमा दिएको वा नदिएको लगायतका विवरण माग गरेको हो।

‘तहाँ विभाग/केन्द्र/अस्पताल/प्रयोगशाला/सेन्टर समेतका नाममा केकति जग्गा दर्ता कायम रहेको छ? दर्ता जग्गा के कति छ? जग्गाको उपयोगको अवस्था के छ? अन्य निकाय वा व्यक्तिलाई जग्गा उपयोग वा लिजमा उपलब्ध गराएको छ, छैन? उपयोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ? सम्पूर्ण व्यहोरा स्पष्ट हुनेगरी यो विवरण खुलाई पठाउनु’ मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ।

मन्त्रालयले जग्गाको विवरण सात दिनभित्र पठाउनु भन्दै पत्र काटेको हो।

राष्ट्रिय सभामा प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

काठमाडौं : संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने  र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने छिन्।

अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि प्रधानमन्त्रीले सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ।

सुनामीको चेतावनीपछि जापानले खाली गर्‍यो फुकुशिमा आणविक प्लान्ट

काठमाडौं । सुनामीको चेतावनीपछि जापानको फुकुशिमा आणविक प्लान्ट खाली गरिएको छ ।

जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी (TEPCO) ले फुकुशिमा दाइची र फुकुशिमा दैनी आणविक प्लान्टका कामदारहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर उच्च स्थानहरूमा लगिएको जनाएको छ ।

सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र सुनामी पछि फुकुशिमा दाइची प्लान्टमा ठूलो आणविक दुर्घटना भएको थियो । टेप्कोले प्लान्टमा कुनै क्षति नभएको र सुनामी चेतावनीलाई निगरानी गरिएको जनाएको छ ।

यस हप्ताको सुरुमा टेप्कोले विकिरणको स्तर कम गर्न पर्याप्त समय प्रदान गर्न इन्धनको फोहोर पूर्ण रूपमा हटाउन १२ देखि १५ वर्ष ढिलाइ हुन सक्ने घोषणा गरेको थियो ।

रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा बुधबार बिहान गएको ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार यो भूकम्प पेट्रोपाभलोभ्स्क-कामचत्स्कीबाट करिब १२६ किलोमिटर (७८ माइल) टाढा १८ किलोमिटर गहिराइमा गएको थियो ।

रुसमा शक्तिशाली भूकम्प,जापानमा सुनामीका छाल पुगे

जापान : जापानको स्थानीय प्रसारक NHK ले सुनामीका छालहरू होक्काइदो प्रान्तको उत्तरी क्षेत्रमा पुगेको रिपोर्ट गरेको छ। छालहरूको उचाइ लगभग १२ इन्च रहेको अनुमान गरिएको छ। होक्काइदोको उत्तरपूर्वी भागमा रहेको बन्दरगाह सहर नेमुरोमा सुनामी आएको थियो। जापानी अधिकारीहरूले पहिले नै सुनामीको छाल धेरै उच्च हुन सक्ने चेतावनी जारी गरिसकेका थिए।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अधिकारीहरूले परिस्थितिको मूल्याङ्कन गरिरहेको बताएका छन्। उनले पीडितहरूका लागि राहत उपलब्ध गराउनु पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

सुनामीका छालहरू पुगे पनि अहिलेसम्म कुनै हताहतको पुष्टि भएको छैन। प्रधानमन्त्री इशिबाले नागरिकहरूलाई तटबाट टाढा रहन र अग्लो जमिनमा सर्न आग्रह गरेका छन्।

यो सुनामी रुसमा गएको भूकम्पपछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भूकम्पको तीव्रता ८.८ मापन गरेको छ। पहिले यसको तीव्रता ८.० र त्यसपछि ८.७ भनिएको थियो,जुनपछि परिमार्जन गरिएको थियो।

दार्चुलाको अपिमा पर्यटक पुर्‍याउन पदमार्ग निर्माण

दार्चुला । सूदूरपश्चिम प्रदेशको सबैभन्दा उँचो हिमालका रूपमा रहेको अपि हिमालमा पर्यटक पुर्‍याउन सङ्घीय सरकारले दार्चुलाको अपि हिमाल गाउँपालिकाको विभिन्न स्थानमा पर्यटकीय पदमार्ग निर्माण गरेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमार्फत आर्थिक वर्ष २०७९र८० देखि हालसम्म २१ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण र गन्तव्यका रूपमा परिचित अपि हिमालको बेस क्याम्पसम्म सहज यात्रा गराउन पर्यटकीय पदमार्ग निर्माण गरिएको पर्यटन विभागका सिनियर डिभिजन इन्जिनियर सचिन्द्रकुमार यादवले जानकारी दिए । विभागबाट आव २०७९/८० मा अपि हिमाल गाउँपालिकाको खाइकोटदेखि बेस क्याम्पसम्म १६ किलोमिटर पदमार्ग निर्माण गरेको उनले बताए । पाँच करोड २८ लाखमा सिँढी, सोलिङ, पिसिसी ढलान र रेलिङ निर्माण गरिएको बताइएको छ ।

यस्तै गत आव २०८१/८२ मा ५.५ किलोमिटर नयाँ पदमार्ग निर्माण गरेको उनले जानकारी दिए। गाउँपालिकाको धनबोरादेखि घुसा, खाइकोटदेखि थुम्ती र छेतीदेखि भिरफाटासम्म पदमार्ग निर्माण गरिएको उनले बताए । गत आवमा पदमार्ग निर्माणमा तीन करोड दुई लाख रुपियाँ खर्च भएको बताइएको छ ।

यसअघि आठ हजार २८२ खुड्किलासहितको सिद्ध मकरीकोट पदमार्ग निर्माण भइसकेको छ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो सात हजार १३२ मिटर उचाइको अपि हिमाल दार्चुलामा पर्दछ । अपि हिमाल बेसक्याम्प घुम्न आउने र अपि नाम्पा संरक्षण क्षेत्रभित्रको प्राकृतिक आनन्द लिन आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको पाइएको छ । अपि हिमाल गाउँपालिकाका पर्यटन एकाइ प्रमुख बिसनसिंह बुढाथोकीका अनुसार गत आव २०८१/८२ मा १०३ जना विदेशी तथा दुई हजार ७३३ जना स्वदेशी पर्यटकले अपि हिमाल भ्रमण गरेका छन् ।

अपि हिमालको प्रचारप्रसारलाई तीव्र बनाई थप विदेशी पर्यटक भित्र्याउन गाउँपालिकाले अपि भ्रमण वर्ष-२०८० सञ्चालन गरेको थियो भने अतिथि सत्कारका लागि ६१ जना महिला र पाँच जना पुरुषलाई होमस्टे सञ्चालनको तालिम प्रदान गरेको छ । साथै ट्रेकिङ गाइडसम्बन्धी तालिम प्रदान गरी ट्रेकिङ गाइड उत्पादन गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्रमा हिउँचितुवा, हाब्रे (रेड पान्डा), मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरालगायत दुई सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रभित्र अपि हिमाल र नाम्पा हिमाल पर्दछन् ।

A Grand Sherpa Cultural Center to Be Built in Golden, Colorado

Colorado, July 29

The United Sherpa Association of Colorado is set to build a grand Sherpa Cultural Center in Golden, Colorado, with an estimated cost of approximately 1.5 million USD.

According to Association Vice President Lhakpa Sherpa, the organization has already finalized a deal to purchase land worth $500,000 in Golden for the project. The ownership will be officially transferred to the association within a few days.

Association President Kazi Sherpa shared that the land—about 8 ropani (approximately 1 acre)—is located along the main road in Golden, roughly 18 minutes from Boulder. The center will feature a large Buddhist stupa (Gumba) and other facilities representing Sherpa culture and identity. The property will include parking space for over 100 vehicles.

“The center will showcase Sherpa religion, culture, traditions, language, attire, and unique identity on American soil and serve as a center of attraction for people of all faiths,” – President Kazi Sherpa

Vice President Lhakpa Sherpa called upon everyone to support the center’s construction.

“We believe that the center, which will feature a magnificent stupa of Lord Buddha, will unite people of all nationalities, ethnicities, communities, and backgrounds,” he said. “We appeal to the Sherpa community, Nepalis living in the U.S. and abroad, as well as all peace-loving individuals to support this initiative.”

The association has already raised $350,000, including $63,000 personally contributed by Vice President Sherpa.

As additional funds were needed for the land purchase, 13 members of the Sherpa community contributed $20,000 each, on the condition that the funds would be repaid later without any interest.

खोज्नुहोस