सुदूरको सेवामा डा. कायस्थका ३६ वर्ष

११ साउन २०८२ ०:१०
सुदूरको सेवामा डा. कायस्थका ३६ वर्ष

अल्वर्ट आईन्सटाईनको भनाई छ, अरुका लागि विताईएको जीवन मात्र साँचो अर्थमा मूल्यवान हुन्छ । संसारमा त्यस्ता कैयौ व्यक्ति छन्, जसले पुरै जीवन मानव सेवामा समर्पित गरे । र बनाए, पृथक पहिचान । तिनै मध्येका एक हुन्, क्षय, कुष्ठ तथा छातिरोग विशेषज्ञ प्रा.डा. शुभेषराज कायस्थ । जसले आफ्नो पुरै जीवन सुदूर पश्चिमका जनताको स्वास्थ्योपचारमा समर्पित गरेका छन्।

काभ्रेपलाञ्चोकको बनेपा । भोलाखा टोल । वि.स. २०१३ सालमा त्यही जन्मिएका हुन्, उनी । कायस्थ परिवारका पाँच सन्तानमा उनी माईला थिए ।

बुवा चन्द्रराज नाम चलेका वकिल । बाजे राणाशासनका जिम्मावाल । उनको घरमा सबैले पोत बुझाउथे । उनका बाजे पोत वाफत संकलित सिक्का बोरामा भरेर भक्तपुर पु¥याउथे । जिम्मावालको परिवारको रवाफ थियो । उनी फरक स्वभावका थिए । सिक्काको मोह उनी भित्र हुर्किएन । हुर्कियो, सेवा गर्ने सोच । उपचार नपाएर छटपटाईरहेकाहरु देख्थे । सोच्थे, यिनको उपचार गर्न पाए हुन्थ्यो ।

उनको बाल्यकाल भोलाखा टोलमै बित्यो । त्यही कखरा सिके । आजाद हाईस्कुलबाट एसएलसी पास भए । हेल्थ असिसटेण्ट(एचए) चाहन्थे । जहाँ ईच्छा । त्यहाँ उपाय । महाराजगञ्जस्थित चिकित्सा अध्ययन संस्थान (आईओएम) मा भर्ना पाए । उनी एचएको पहिलो व्याचका विद्यार्थी थिए । त्यहीबाट एचएको पढाई पुरा गरे ।

त्यही बेला बंगलादेशको राजशाही मेडिकल कलेजमा छात्रवृति खुल्यो । उनले निवेदन दिए । केही दिनपछि रेडियो नेपालमा एमवीवीएसको छात्रवृति पाउनेहरुको नाम प्रसारण भयो । जसमा उनको नाम पनि थियो । त्यो उनको भाग्य बदल्ने सूचना थियो । उनले बिर्सेका छैेनन्, अझै । विहान सात बजे मुख्य समाचार अघि प्रसारण भएको त्यो सूचना ।

त्यसको केही दिनमै उनले काठमाण्डौंबाट बंगलादेशका लागि उडान भरे । साथमा थिए, तीन जना साथी । बिमानसंगै उनका सपनाले पनि उडान भ¥यो । हो, उनको डाक्टर बन्ने सपनामा पखेटा पलाएका थिए ।

उनी मिहिनेती थिए । र, पढाईमा तेज । पाँच वर्षमै एमवीवीएसको पढाई पुरा गरे । उनका साथीहरुले सात वर्षमा समेत सकेनन् ।  एक वर्ष मेडिकल बिभागमा प्रोफेसरको मातहतमा क्लिनिकल असिसटेण्ट भएर ईन्टर्नसीपमा त्यही काम गरे । र, नेपाल   फर्के ।

जागीरको शुरुवात

२०४६ सालमा उनले मेडिकल अफिसरमा नाम निकाले । उनीसंग तीन वटा अप्सन थिए, पहिलो सिन्धुपाल्चोक, दोस्रो,लमजङ र तेस्रो महाकाली अञ्चल अस्पताल महेन्द्रनगर । उनले महाकाली अस्पताल रोजे । त्यहाँ कार्यरत थिए, उनका एचए पढ्दाका साथी डा. गणेश बहादुर सिंह ।

पूर्व पश्चिम राजमार्गसंग सुदूरपश्चिम जोडिएको थिएन् । कर्णालीमा पुल थिएन । फेरीमा गाडीहरु तार्थे । न यातायातको सहज सुविधा । न भरपर्दो सञ्चार सेवा । उनले सुदूर पश्चिम रोजे । भारतको बाटो भएर महेन्द्रनगर पुगे । र, महाकाली अञ्चल अस्पतालमा काम गर्न थाले । संगै काम गर्थिन्, उनकी पत्नी डा. गौहरी सुलोचना कायस्थ । २१ वर्षपछि एमडी गर्न काठमाण्डौं गए । वीर अस्पतालको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएएसएस)बाट ईन्टरनल मेडिसिनमा एमडी गरे । एक वर्ष त्यही छाती रोग तथा मेडिसिन बिभागको प्राध्यापकका रुपमा काम गरे ।

त्यसपछि उनको सेती अञ्चल अस्पतालमा सरुवा भयो । जहाँ नौ वर्ष सेवा गरे । र, त्यहीबाट नौ वर्षअघि अवकाश पाए । अवकाश पछि धेरैले भन्छन्, भो, अव पुग्यो । कति काम गर्नु ?  तर उनको मनमा त्यस्तो सोच आएन । न मनले भन्यो, अव आराम गर । र त, अवकाशपछि पनि निरन्तर बिरामीको सेवामा खटिए । उनी बनेपा फर्केनन । उनले काठमाण्डौ रोजेनन् । धनगढीसंग उनको अटुट प्रेम छ । लगाव छ । त्यही कारण धनगढी छोड्न सकेन । पैसा त उनले क्लिनिक चलाएर कही पनि कमाउथे । उनले धनगढीलाई स्थायी मुकाम बनाए । घर जोडे । चिकित्सक छोरी र ज्वाईलाई बोलाए ।

उही असल चिकित्सक हो, जसले आशाको सबैभन्दा राम्रो सञ्चार गर्छ । उनलाई बिरामीले सदैव असल चिकित्सकका रुपमा सम्झिन्छन् । यसर्थ कि, उनी विरामीलाई अनावश्यक औषधी दिदैनन् ।

‘डाक्टर साप म चामल बेचेर जचाउन आएको हूँ, बिन्ति मलाई खाली पेट खाने दवाई दिनुहोला ?’ विरामीको यस्तो व्यथा सुन्दा उनको मन कुडिन्छ । हो, उनले अभावमा खाली पेट औषधी खाने विरामीको पीडा बुझेका छन् । पैसाका लागि अनावश्यक औषधी दिने चिकित्सकहरु देख्दा उनको मन खिन्न हुन्छन । चिकित्सकको धर्म बिरामीलाई लुट्ने होईन् । सेवा गर्ने हो, उनी भन्छन्, जसले चिकित्सा सेवालाई धन्दा बनाए । र, तिनैले यो क्षेत्रको बदनाम गरे ।

बिरामीको आशिर्वाद नै तक्मा

उनले जिन्दगीमा धेरै सम्मान पाएका छन् । तक्मा पाएका छन् । राजाको हातबाट गोरखा दक्षिण बाहु पाए । संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रका तर्फबाट उनले थुप्रै सम्मान पाएका छन् । उनलाई हेल्थ दर्पण म्यागेजिनले राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित गरेको थियो । तर सम्मान र तक्मा भन्दा सन्तुष्टि र खुशी भने बिरामीको उपचारबाट प्राप्त हुन्छ, उनलाई ।  भित्तामा झुड्याईने तक्मा र प्रमाण पत्र भन्दा मान्छेको मनमा कुँदिनुको आनन्द बेग्लै हुन्छ । त्यसको महत्व बेग्लै हुन्छ ।

महाकाली अस्पतालको कायापलट

उनी महाकाली अञ्चल अस्पतालमा मेडिकल सुपरीटेण्डेट हुदा त्यहाँ १४ जना डाक्टर कार्यरत थिए । जवकी सेती अञ्चल अस्पतालमा ४ जना डाक्टर मात्र थिए । महाकाली अस्पतालको सेवा भरपर्दो थियो । कैलाली जिल्लाको पहलवानपुर,लम्की, टीकापुरबाट बिरामीहरु उपचारका लागि त्यहाँ जान्थे ।

उनले महाकाली अञ्चल अस्पताल छोडेपछि अस्पतालको अवस्था पनि बिग्रियो । हाल सेती अञ्चल अस्पतालमा ५० भन्दा बढि डाक्टर कार्यरत छन् । महाकाली अञ्चल अस्पताल भने डाक्टरको अभाव झेलिरहेको छ ।

अनुसन्धान र सेवा संगसंगै 

उनले रोगीको उपचारका क्रममा आफ्नो ज्यानको कहिले परवाह गरेनन् । मल्टीड्रग रेसिस्टेण्ट ट्युवरक्लोसिस(एमडीआर) र एक्सटेन्सिभली ड्रग रेसिस्टेण्ट ट्युवरक्लोसिस (एक्सडिआर टीवी) को उपचार अत्यन्त जोखिमपूर्ण मानिन्छ । उनी भने ती विरामीको जीवन बचाउन खटिरहे । एमडीआर र एक्सडीआरलाई टीवीको सबैभन्दा जोखिमपूर्ण चरण मानिन्छ । सर्ने भएकोले एमडीआर र एक्सडीआरका रोगीलाई अलग राखेर उपचार गर्नुपथ्र्यो । डा. कायस्थले उनीहरुको उपचारका लागि धनगढीमा उपचार केन्द्र स्थापना गरे । स्थानीयको बिरोधपछि उपचार केन्द्र एक ठाँउबाट अर्को ठाँउमा सारिरहे । तर उनी बिचलित  भएनन् ।

हो, एमडीआर र एक्सडीआर टीवीका बिरामीको उपचारका क्रममा थुप्रै स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । र उनको आँखै अघि थुप्रै बिरामीको पनि उपचारकै क्रममा मृत्यु भयो । तर बिरामीलाई अन्तिम घडीसम्म आशा बाडिरहे ।

कैलाली र कञ्चनपुरमा थारु जातीमा देखा परेको सिकलसेल एनिमियाको उपचारका लागि गरेको उनले अविस्मरणीय छ । उनले सिकलसेल एनिमियाका बिरामीको उपचार मात्र गरेनन । हरेक बिरामीको रोगको सुक्ष्म अध्ययन गरे । यसको जोखिम र अवस्थाका बारेमा सरकारकै ध्यानाकर्षण गरे । सेती अञ्चल अस्पतालमा संभव नहुने उपचारलाई यही संभव गरे । उनकै अथक पहलमा प्रयोगशालाको व्यवस्था भयो । बिरामीले निशुल्क उपचार पाउन थाले । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकिरहेका बिरामीहरुको सजिलोका लागि सरकारले एक लाख रुपैया दिने घोषणा ग¥यो ।

नेपाल सरकारको निर्देशिका नेशनल गाईडलाईन अफ म्यानेजमेण्ट अफ सिकलसेल डिजिज लेखे । नेशनल गाईडलाईन अफ ट्रपिकल डिजिजका मुख्य लेखक पनि उनी नै हुन् ।

डा. कायस्थले सुदूर पश्चिमका जिल्लाहरुमा लाग्ने ट्रपिकल रोग बारे पनि अनुसन्धान गरे । शाकाहारी मानिसमा हुने भिटामिन बी १२ को कमीबारे उनले गरेको अनुसन्धानलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुमोदन गरिसकेको छ ।

अविस्मरणीय  घट्नाहरु 

उनले विरामीको उपचारका क्रममा थुप्रै सुखद अनुभूति संगालेका छन् । केही दुःखद पनि । उनी तीन वटा घट्ना कहिल्यै बिर्सिदैनन् । सर्पले टोकेका एक युवक महाकाली अञ्चल अस्पतालमा भर्ना थिए । उनी बोल्न सकिरहेका थिएनन् । युवकले उपचारमा खटिएकी नर्सलाई आफूतिर ताने । उनको हातमा डा. कायस्थको नाम लेखे । र, बोलाउन लगाए । डा. कायस्थले हेरे निको हुने ती युवामा विश्वास थियो । नभन्दै डा. कायस्थको उपचारले ती युवा निको भएर घर फर्के ।

निम्बुखेडाका एक व्यक्ति छाती दुख्यो भनेर उपचारका लागि महाकाली अञ्चल अस्पताल आए । डा. कायस्थले लक्षणका भरमा उनको हृदयघात भएको निष्कर्ष निकाले । र, उपचार शुरु गरे । चार दिनपछि थप उपचारका लागि बरेली पठाए ।

बरेलीका डाक्टरले उनका आफन्तलाई सही तरिकाले उपचार भएको बताए । केही दिन त्यहाँ उपचार गरेपछि बिरामी निको भए । र, घर फर्के । हृदयघात थाह पाउने न ईसिजी मेसिन थियो । न त जटिल शल्यक्रिया गर्ने टीम । त्यसका बाबजुद पनि उनले बिरामीको उपचारमा कुनै कसर बाँकी राखेनन् ।

उमेरले ६९ मा नाघे । उनको उर्जा र सक्रियताले भन्छ, उमेर भनेको संख्या मात्र हो । उनी बिरामीको उपचार र अनुसन्धानमा अहिले पनि व्यस्त छन् । जति उनी सरकारी अस्पतालमा जागीरे हुदा खटिन्थे । हुन् त, उनले आफूलाई कहिल्यै जागीरे ठानेनन् । उनले कहिल्यै विदा भनेनन् ।

कार्यालय समयपछि बिरामीको उपचारमा खटिन्थे । हरेक दिन बिहान उठेपछि बिरामी हेर्थे ।  राति सुत्नु अघि पनि एकपटक बिरामी हेर्थे । र, अरु बेला पनि बिरामीका आफन्तले बोलाए जान्थे ।

र, धेरै कम डाक्टरले बिरामीलाई छुन्छन । टाढैबाट कस्तो छ भनेर सोध्छन् । तर डा. कायस्थ भने हरेक बिरामीलाई नजिकबाट हेर्छन । छुन्छन । र सोध्छन्, कस्तो छ अहिले ?

उनी एक जना क्षयरोग र एचआईभीबाट संक्रमितको उपचारमा खटिएका थिए । एकदिन बिरामी उनको हात समातेर रुन थाल्यो । रुदा रुदै उसको गला अबरुद्ध भयो । केहीबेर बोल्न सकेन । एकछिन पछि उसले आँशु झार्दै भन्यो, डाक्टर साप मलाई छुने तपाई पहिलो व्यक्ति हो । क्षयरोग र एचआईभीबाट संक्रमित भएपछि घरबाट निकालिएका उनलाई कसैले छुन्थेनन् । भनिन्छ, आधा रोग त डाक्टरले छोएरै ठिक हुन्छ । दया र सहानुभूति डाक्टरले दिन सक्ने सबैभन्दा शक्तिशाली औषधि हो ।

भनाई छ, कहिलेकाहीं निको पार, प्रायः उपचार गर, तर सधैं सान्त्वना देउ । डा.कायस्थले बिरामीलाई निको मात्र पारेनन् । सधै सान्त्वना दिए ।

उनले बिरामीमा यही फर्मुला प्रयोग गरे । र, कमाए ख्याति । महाकाली अञ्चल अस्पतालमा दुई दशक बिरामीको सेवा गरे । त्यहाँबाट धनगढी आए । शुरुवाती दिनमा धनगढीका लागि नयाँ थिए । कञ्चपुरमा कमाएको ख्यातिले उनको धनगढीको क्लिनिकमा पनि बिरामीको घुईंचो लागिरह्यो ।

कोढ लागेका बिरामीहरु घर र समाजबाट बहिस्कृत हुन्थे । घरबाट निकालिएका कुष्ठरोगीहरुका लागि त उनी भगवान थिए । कुष्ठरोगीहरुका घाउमा मल्हम लगाए । उनीहरुको उपचार गरे । र, निको बनाएर घर पठाए । उनले पुनर्जीवन दिए ।

कुष्ठरोगलाई अघिल्लो जन्मको पापका रुपमा हेरिन्थ्यो । यो पाप होईन । रोग हो, उनले सन्देश दिए,  उपचार गरे निको हुन्छ ।

निको भएर फर्किने क्रममा बिरामीले दिने आशिर्वादले उनमा उर्जा भर्छ । र, त्यही उर्जाले सेवा गरिरहन प्रेरित गर्छ । उमेरले ७० टेक्दैछ । र त, बिरामीको उपचारमा यो उमेरमा पनि सक्रिय छन् ।

उनी सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हुन् । अस्पतालका नाम मात्रका थिए । उपकरण थिएन । गतिलो अप्रेशन कक्ष थिएन । बेहोस गर्ने बिधि अहिलेजस्तो थिएन । त्यसका बाबजुद पनि चिकित्सकहरुले अप्रेशन गर्थे । बिरामी एम्बुलेन्समा होईन, बयलगाडामा आउथे । अस्पताल पु¥याउन नपाउदै बिरामीको मृत्यु हुन्थ्यो । प्रसव व्यथा लागेपछि अस्पताल होईन, सुडेनी गुहार्ने त्यो युग । सबै दुःखाईको एउटै औषधी सिटामोल । तमाम मिठा नमिठा अनुभूति ।

तीन दशकको अबधिमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा थुप्रै सेवा, सुविधा थपिए । सरकारी अस्पतालहरुको स्तरोन्नती भयो । थुप्रै निजी अस्पतालहरु खुले । विशेषज्ञ चिकित्सकहरु थपिए । यद्दपि जटील रोगको उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता यथावत छ । त्यसका लागि गेटामा सुविधा सम्पन्न मेडिकल कलेज जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

बंगलादेशमा विवाह

उनी राजशाही कलेजमा पढ्थे । त्यही पढ्थिन्, बंगलादेशकी गौहरी सुलोचना । सहपाठी सुलोचनासंग पढाईका क्रममा नियमित रुपमा भेट हुन थाल्यो । त्यो भेट विस्तारै प्रेममा परिणत  भयो ।

प्रेमको कुनै धर्म हुदैन । न त यो कुनै भूगोल र वादको घेरामा कैद हुन्छ । हो, उनी देश बाहिर थिए । देशको सीमा भन्दा पर । धर्म र जातीको छेकवार लागेको समाज । अनि निर्मम समय । उनले केही सोचेनन् । उनले दुवै परिवारलाई सहमत गराए । र, गौहरीसंग विवाह गरे । बंगलादेशमै उनकी जेठी छोरी निराजनाको जन्म भयो । एमवीवीएसको पढाई सके । र, फर्किए माईती देशबाट गौहरी र छोरी सहित । नेपालमा छोरी प्रज्ञा जन्मिईन् ।

दुबै छोरीले उनीहरुलाई पछ्याए । निराजनाले बाल रोगमा एमडी गरिन् । र, रोजिन, सेती प्रादेशिक अस्पताल । जहाँ पिता सुभेषले एक दशक सेवा गरे । कान्छी छोरी प्रज्ञा मेडिसिनमा एमडी  गर्दैछिन् ।

…………………
डाक्टर हुनु केवल पेशा होइन, यो जिम्मेवारी हो, एक आह्वान हो, र एक सौभाग्य हो । कतिपय डाक्टरले यसलाई धन्दा बनाई दिए । उनले यसलाई जिम्मेवारी ठाने ।

भन्नेको के जान्छ, भनि दिन्छन्, के उनले पैसा नलिएर उपचार गरेका छन् ? पैसा लिएर पनि विरामीसंग राम्रो व्यवहार नगर्ने डाक्टर यही समाजमा छन् । बोलीमा नम्रता । व्यवहारमा सरलता । सोचमा समानता । त्यो डाक्टर होईन, जसमा यी गुण छैनन् । उनमा यी गुण छन् । हो, उनले कहिल्यै हेरेनन्, विरामीको आर्थिक हैसियत । जात । वर्ण । र, धर्म ।

त्यसैले भनिन्छ, मानिसहरू डाक्टरलाई उनको परिश्रमको तलब तिर्छन्, तर उनको दयाको ऋण कहिल्यै तिर्न सक्दैनन् ।

One thought on “सुदूरको सेवामा डा. कायस्थका ३६ वर्ष

Leave a Reply to VijayKunwar Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस