किसानको हितमा सरकार प्रतिबद्ध छः मन्त्री अधिकारी

काठ्माण्डौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
‘धान बालीमा सघनता खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) द्वारा आज राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटारमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मा मन्तव्य राख्दै उहाँले स्रोत र साधनको सीमितताका बावजुद किसानका लागि राज्यले उचित ध्यान दिएर काम गर्ने बताएका हुन्।

“असारमा हिलोमा टेक्नै पर्ने संस्कार हो, जबसम्म हामी उत्पादनमा जोड दिदैनौँ, तबसम्म देश समृद्धिमा जाँदैन, चैते धानको जस्तो मिठो धानको चामल जस्तो स्वादिलो अरु हुँदैन, मैले उत्पादन गर्ने घैया धान र जुम्लाको मार्सी चामलको स्वाद उस्तै हो, हामी दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छौँ, किसानलाई अगाडि बढाउन नेपाल सरकारले प्रतिबद्धता जनाउने मात्रै होइन, आवश्यक काम पनि गर्छ”, उनले भने।

उनले आगामी वर्ष धान दिवस मनाउँदा उत्पादन वृद्धि भएको हुनेछ भन्दै किसानले व्यक्त गरेका विचारलाई आत्मसात गर्दै आगाडि बढ्ने प्रतिबद्धता जनाए। “धानमा आत्मनिर्भर हुनका लागि राज्यले गर्नुपर्ने कुराको समस्या समाधानका लागि हामीले व्यवस्थापन गरेका छौँ, मलका कारणले रोपाइँ गर्न नसक्ने अवस्थाको अन्त्य हुन्छ”, उनले भने।

सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापाले देशका किसानलाई सबल बनाउँदै देशलाई खाद्यमा आत्मनिर्भर बनाउन संसद्को समितिमा नीतिगत छलफल चलाएर आवश्यक व्यवस्थाका लागि सरकारलाई आवश्यक निर्देशन गर्ने बताइन।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले नेपालको कृषि क्षेत्रमा किसानले पुर्याएको योगदानलाई सम्मान गर्दै धान उत्पादन, खपत र निर्यातमा योगदान गर्दै आयातलाई प्रतिस्थापन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले जारी गरेको भूउपयोग नीतिका कारण उत्पादनयोग्य खेतीयोग्य जमिन पनि आवासीय जमिनमा रुपान्तरण हुँदा केही समस्या आएको भन्दै यसलाई सहज बनाउनुपर्नेमा जोड दिए।

नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिनाले धान मानिसको जीवन पद्धति र संस्कारको एक अभिन्न अङ्ग भएको भन्दै जलवायु परिवर्तनको समस्यालाई समाधान गर्दै विभिन्न जातका धानको विकास गर्दै गएको बताए।

उनले मानिसको रुचि र जनसङ्ख्याको वृद्धिअनुसार मागको श्रृङ्खलामा परिवर्तन हुने हुँदा आयात र निर्यातमा परिवर्तन भइरहने भन्दै सन् २०३० सम्म नेपाललाई धानमा आत्मनिर्भर बनाउने तयारी रहेको बताए।

राष्ट्रपतिबाट यसवर्षको राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित किसान दयाराम मरामचीले औपचारिकततमा सीमित हुँदै आएको दिवस र कार्यक्रममा परिवर्तन गर्दै किसानमैत्री नीतिगत व्यवस्था, कार्यक्रमका साथै खाद्य आत्मनिर्भरता बढाउन जोड दिनुपर्ने धारणा राखे।

धान, चामलमा आत्मनिर्भरताको विषयमा कार्यपत्र प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले विश्वमा धेरै धान उत्पादन गर्ने दश देशहरु एशियामा नै रहेको बताए। उनले पछिल्लो समय धान उत्पादनमा नेपालको आत्मनिर्भरता घट्दै गएको बताए।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले रोपाइँ उद्देश्यमाथि प्रकाश पार्दै किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले विसं २०६१ देखि मुलुकभरि असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइदै आइरहेको जानकारी गराए।

देशको प्रमुख खाद्यान्नबाली धानको खाद्यसुरक्षामा मुख्य भूमिका रहेको छ । पौष्टिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको सन्दर्भमा धानको जातीय विकास र खेती प्रविधिमा भएको परिवर्तन तथा धान बालीमा आएको आधुनिकताले गर्दा धान बालीको क्षेत्रफल र उत्पादनमा खासै कमी आएको छैन ।

मानो रोपेर मुरी फलाउने महिनाका रुपमा परिचित असार १५ लाई उत्सवको रुपमा परम्परादेखि नै मनाउने चलन छ । नेपालमा बर्खे धान र चैते धान गरी दुई थरीको धानखेती हुने गरेको भए पनि कूल धान उत्पादन हुने क्षेत्रफलमध्ये करिब सात प्रतिशत जमिनमा मात्र चैते धानको खेती हुने गरेको छ । त्यसकारण सम्भाव्य सिञ्चित क्षेत्रमा चैते धान खेतीको क्षेत्र विस्तारमार्फत धान खेतीमा सघनता ल्याई नेपाललाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षालाई सुदृढ गर्न सकिने सम्भावना प्रबल रहेको जानकारी गराइएको छ ।

प्रधानमन्त्री ओली मेड्रिडमा

मेड्रिड । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली यहाँ आइपुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ ।

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं । शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ ।

शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ ।

प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।

महाकालीमा पानीको बहाब बढ्यो, चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक

कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

“महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ”, उनले भने, “शनिवार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।”

यही असार १६ गतेसम्म सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा आग्रह गरेको छ।

एसीसी यु-१६ इस्ट जोन कप: नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य

काठ्माण्डौँ: मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।

क्वालालम्पुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ४२० रनको योगफल तयार पारेको हो । नेपालका लागि ओपनर प्रशिद्ध जैसीले १३२ रनको योगदान दिए । ११४ बल खेलेका प्रशिद्धले १५ चौका र १ छक्का प्रहार गरेका थिए ।

यस्तै, रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए । यसैगरी, सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे ।

इन्डोनेसियाका लागि केटुक डर्माले २, रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १-१ विकेट लिए ।

नेपालले यसअघि सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो । यु-१६ इस्ट जोन कपमा नेपालसहित १० टिम सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटान छन् ।

गभर्नर पौडेलको पहिलो नीतिगत कदमबाट व्यवसायी उत्साहित

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गनिर्देशन संशोधन गरेकोमा व्यवसायी हर्षित भएका छन् । चालु पुँजी कर्जा मार्गनिर्देशनले तोकेको सीमाभन्दा बढी चालु पुँजी कर्जा लिएका व्यवसायीले भुक्तानीको अवधि २ वर्ष पाएपछि उनीहरू उत्साहित भएका हुन् ।
पूर्वगभर्नर महाप्रसाद अधिकारीले २०७९ मा चालु पुँजी कर्जा मार्गनिर्देशन कार्यान्वयनमा ल्याएपछि व्यवसायीहरूले पटक-पटक संशोधनको माग राख्दै आएका थिए । यसअघि राष्ट्र बैंकले मार्गनिर्देशन संशोधन गर्दै उत्पादनशील उद्योगका लागि चालु पुँजी कर्जाको सीमा बढाएपनि व्यवसायीको असन्तुष्टि कायमै थियो ।

नयाँ गभर्नर डा. विश्वनाथ पौडेल नियुक्त भएसँगै मौद्रिक नीतिभन्दा अगाडि नै मार्गनिर्देशन संशोधन गर्दै चालु पुँजी कर्जा लिने अवधि बढाएका हुन् । यसले बैंक तथा वित्तीय संस्थालाई भन्दा व्यवसायीलाई बढी फाइदा भएको हो ।

राष्ट्र बैंकले २०७९ मा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याउँदै सीमाभन्दा बढीको चालु पुँजी कर्जा २०८० असारभित्र १० प्रतिशत, २०८० पुसभित्र १० प्रतिशत, २०८१ असार मसान्तभित्र २० प्रतिशत, २०८१ पुस मसान्तभित्रमा २० प्रतिशत र २०८२ असार मसान्तभित्रमा ३० प्रतिशत चुक्ता गरिसक्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, २०८२ सकिन लाग्दासमेत ऋणीले कर्जा चुक्ता नगरेपछि गभर्नर पौडेलले ऋणीलाई २०८४ सम्म ऋण भुक्तानी समयसीमा तोकेका हुन् । भुक्तानी हुन बाँकी रहेको रकमलाई समान अवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तानी हुनेगरी बैंकहरूले नै तालिका निर्धारण गरी असुलउपर गर्नसक्ने सुविधा दिइएको छ ।

यस्तो कर्जामा यसअघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम नियमित नभएसम्म फिर्ता (राइट ब्याक) गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था प्रयोजनका लागि पुनर्तालिकीकरण वा पुनर्संरचना नमान्ने राष्ट्र बैंकले संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।

यस व्यवस्थाले बैंक र ऋणी दुवैलाई राहात पुर्‍याउने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित बताउँछन् । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा कर्जाको भेरियन्स तोकिएको र उक्त भेरियन्सभन्दा बढी लगानी भएको यस्तो कर्जा असुलउपर गर्न बैंकहरूलाई समयतालिका नै राखिएकोमा नयाँ व्यवस्थासँगै हटाइएको र उठ्न बाँकी रहेको रकम समान किस्ता कायम गरी २०८४ भित्र असुलउपर गर्नसक्ने गरी सुविधा दिएको उनले बताए ।

यस व्यवस्थाले ऋणी र बैंक दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ । कर्जाको दुरुपयोग रोक्न भन्दै राष्ट्र बैंकले २०७९ मा चालु पुँजी कर्जा मार्गनिर्देशन ल्याएको थियो । क्यास क्रेडिट, ओभरड्राफ्ट, आयात कर्जा र चालु पुँजी कर्जा लगायतका शीर्षकमा यस्तो कर्जा प्रवाह हुने गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट कर्जा भने दिन छोडेका छन् । उक्त शीर्षकमा कर्जा लिएपनि घरजग्गा कारोबार, सेयर बजार लगायतका क्षेत्रमा लगानी भएको भन्दै राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गरेको थियो ।

उक्त कडाइसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्न सकेको छैन । व्यवसायीले आफ्नो कारोबारको २० देखि ४० प्रतिशतभन्दा बढी चालु पुँजी कर्जा लिन नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जालाई अल्पकालीन र दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जामा विभाजन गरेको छ ।

१ वर्ष अवधिको चालु पुँजी कर्जालाई अल्पकालीन र ५ वर्षसम्मको अवधिको चालु पुँजी कर्जालाई विभाजन गरेको छ । दीर्घकालीन चालु पुँजी कर्जा लिनका कम्तीमा ३ आर्थिक वर्षको लेखापरीक्षण अनिवार्य हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले यस मार्गनिर्देशनमा चालु पुँजी कर्जा पाउने सीमा तोकेको छ ।

कुनै पनि संस्था तथा फर्मले प्रस्तुत गर्ने अनुमानित कारोबारसँग तोकिएको कर्जा सीमा र (१-०.५*भरियन्स) गुणन गरी चालु पुँजी कर्जाको सीमा निकाल्ने सूत्र राष्ट्र बैंकले तोकेको छ । उक्त सूत्रभन्दा बढी तोकिएको चालु पुँजी कर्जा लिएका व्यवसायीले चालु आर्थिक वर्षको असार मसान्तसम्म कर्जा भुक्तानीको अवधि तोकिएको थियो । तर, यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत पनि कर्जा असुलउपर गर्न सकेका थिएनन् ।

नयाँ व्यवस्थापछि राष्ट्र बैंकले २०८४ सम्म सीमाभन्दा बढी लिएको चालु कर्जा भुक्तानीका लागि समय तोकेको दिएको छ । राष्ट्र बैंकको सहजीकरणसँग दुई वर्ष अवधि पाएको र यसबीचमा कारोबार विस्तार गरेर सीमाभन्दा बढी लिएको कर्जा भुक्तानी गर्नसक्ने भन्दै आसावादी भएका हुन् ।

गभर्नरको यो पहिलो ठूलो नीतिगत परिवर्तनले सकारात्मक सन्देश दिएको र आगामी मौद्रिक नीति व्यवसायमैत्री आउनेमा व्यवसायीहरू ढुक्क देखिएका छन् । बजारमा देखिएको शिथिलतालाई अन्त्य गर्न पनि नीतिगत लचिलोपन हुनुपर्ने भन्दै आए पनि राष्ट्र बैंकले विभिन्न उपकरणबाट कसिलो नीतिलाई कायमै राखेको थियो । तर, पौडेल गभर्नर भएर आउनेवित्तिकै यसमा ब्रेकथ्रू गरेको व्यवसायीहरूको विश्वास छ ।

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम. पाङ्गोबीच आज भेटवार्ता भएको छ। यो भेटवार्ता स्पेनमा हुने संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जाने क्रममा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न भएको हो।
भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षहरूबारे छलफल गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल समेत सहभागी थिए।

गाजामा इजरायली आक्रमणमा कम्तीमा ८१ जनाको मृत्यु, ४०० घाइते

काठमाडौं : हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।
बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ।

यस विषयमा इजरायली सेनाले कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्ता युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन्।

शीतल निवासमा राष्ट्रपति पौडेलले रोपे धान

काठमाडौँ: असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।

राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए ।

कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।

उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए ।

रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आज राष्ट्रिय धान दिवसका अवसरमा देशभरी रोपाईँ गरेर मनाइँदैछ ।

एशियन कप छनोटमा नेपाल र लाओस खेल्दै

काठमाडौँ: एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले लाओससँग खेल्दैछ।
खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा लाओस एक सय सातौं स्थानमा छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशकमा नेपाली महिला टोलीले लाओससँगको खेलबाटै एक सयौं खेल पूरा गर्दैछ । नेपाल रहेको समूह ‘एफ’ मा आयोजक उज्वेकिस्तानले पनि आइतबार नै श्रीलङ्कासँग खेल्दैछ ।

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले शनिबार आयोजित खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन् । सावित्रा भण्डारी साम्बाले पनि हरेक खेल महत्वपूर्ण हुने र पहिलो खेलदेखि नै राम्रो खेल्नुपर्ने बताएकी छन् ।

यस्तै नेपालले दोस्रो खेलमा असार १८ गते बुधवार श्रीलङ्का र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिवार उज्वेकिस्तानसँग खेल्नेछ ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।

१२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

एमाले राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा

काठमाडौं । नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास बनाएकी विद्यादेवी भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्।

आफ्ना दिवङ्गत श्रीमान् तथा नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको जन्म जयन्तीको अवसरमा शनिवार राजधानीमा आयोजना गरिएको कार्यक्रममा भण्डारीले आफू राष्ट्रप्रमुख हुनुअघि सक्रिय रहेको एमालेमार्फत नै राजनीतिमा फर्कने घोषणा गरेकी हुन्।

“नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यसाथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। म अब एमाले परिवारका रूपमा जोडिएको छु,” भण्डारीले भनिन्।

विसं २०७२ साल कार्तिक १८ गते पहिलोपटक राष्ट्रपति बन्नुअघि भण्डारी नेकपा एमालेको उपाध्यक्ष थिइन्।

नयाँ संविधानको व्यवस्था अनुसार दुई वर्ष मात्रै पहिलो कार्यकाल राष्ट्रपति बनेकी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्।

दुईपटक गरी करिब आठ वर्ष राष्ट्रपति बनेकी भण्डारीको अन्तिम कार्यकाल सन् २०२३ को मार्चमा सकिएको थियो।

यसअघि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि नेकपा माओवादीको राजनीतिमा फर्किएका थिए।

राजनीतिमा फर्कनुको कारण

पूर्व राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओली

देश र जनताको हित उद्देश्यले मात्रै आफू एमालेको राजनीतिमा फर्कन लागेको भण्डारीले दाबी गरेकी छन्।

‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने आफ्ना दिवङ्गत पतिको भनाई उद्धृत गर्दै पूर्व राष्ट्रपतिले राष्ट्रपतिको कार्यकाल सकिए लगत्तैबाट सञ्चार जगत् र पार्टी कार्यकर्ताबाट पनि आफ्नोबारे चासो राखिरहेकोबारे आफू जानकार रहेको बताइन्।

“सामाजिक सञ्जालमा पनि आफ्नोबारे भएका चर्चाबारे मैले गम्भीर रूपमा चिन्तन मनन गरेको छु र म एउटा निष्कर्षमा पुगेको छु,” भण्डारीले भनिन्।

एमाले राजनीतिमा फर्किएको घोषणाअघि भण्डारीले आफ्नो राजनीतिक विगतबारे लामो चर्चा गरेकी थिइन्।

“नेकपा एमालेको उपाध्यक्ष सम्हालिरहेकै समयमा पार्टीले मलाई राष्ट्रपतिको उम्मेदवार बनायो र म राष्ट्रपति बनेँ,” उनले भनिन्।

आफूले राष्ट्रपति भएर देशको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको उनको भनाई छ। पार्टीको विश्वासकै आफूले राष्ट्रपति बन्ने मौका पाएको भन्दै उनले एमाले नेतृत्वत्वलाई धन्यवाद समेत दिइन्।

“आफ्नो मातृभूमि र जनताको सेवा गर्ने दायित्व”बाट बाहिर आएको दुई वर्षबीचमा आफूले देशका विभिन्न ठाउँमा पुगेर जनता र विज्ञसँग अन्तरक्रिया गरेको उनले बताइन्।

“मेरो यस किसिमको छलफलका आधारमा निस्किएको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो,” उनले भनिन्।

ओलीलाई टक्कर दिने आशङ्का

केपी ओली र विद्या भण्डारी

तस्बिर स्रोत,PM Secretariat

एमालेको राजनीतिमा भण्डारीको पुनरागमनलाई पार्टीभित्रै आशङ्काको दृष्टिले हेरिएको छ।

आगामी दुई वर्षभित्र गरीसक्नुपर्ने एमालेको महाधिवेशनमा भण्डारीले अहिलेका अध्यक्ष केपी ओलीलाई चुनौती दिने कतिपयको आकलन पाइन्छ।

लामो समय पार्टी राजनीतिमा ओलीनिकट मानिने भण्डारीको पछिल्लो समय ओलीसँग दूरी बढेको विवरणहरू सार्वजनिक भएका छन्।

उनले गतसाता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग बालुवाटारमा भेट गरेर आफू पार्टी राजनीतिमा आउन चाहेको जानकारी गराएका विवरण यसअघि सञ्चार माध्यममा आएका थिए।

यसैसाता बसेको एमाले सचिवालय बैठकमा भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्कने विषयमा छलफल समेत भएको बताइएको छ।

एमाले अध्यक्ष ओलीले भने भण्डारीको राजनीतिक पुनरागमनबारे भइरहेका आशङ्काको खण्डन गरेका थिए।

भण्डारीअघि कार्यक्रममा बोल्दै ओलीले सञ्चारमाध्यमहरूमा त्यसबारे भ्रामक सूचना फैलाइएको आरोप लगाए।

“यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, यहीँबाट एमाले ध्वस्त हुन सुरु हुन्छ, यही सपना देखेर बसेका छन्,” ओलीले भने।

“त्यो सपना नदेखे हुन्छ हामी एकजुट रहन्छौँ पार्टी एकजुट रहन्छ,” ओलीले भने।

भण्डारीको राजनीतिक उदय

विद्या भण्डारी

तस्बिर स्रोत,Office of the President

राष्ट्रपति बन्नुअघि भण्डारीले रक्षामन्त्री र वातावरण तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन्।

पति मदन भण्डारीको २०५० साल जेठ ३ गते भएको रहस्यमय सडक दुर्घटनामा निधन भएपछि गरिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै सांसद निर्वाचित भएपछि भण्डारीको राष्ट्रिय राजनीतिमा बलियो उदय भएको थियो।

विसं २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मिएकी भण्डारीले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको यूथ लिगको कार्यकर्ताको रूपमा सङ्गठित राजनीतिक यात्रा थालेकी थिइन्।

गाउँको एउटा सामान्य किसान परिवारमा जन्मिएकी भण्डारी भोजपुरमा अध्ययनरत रहँदाबाटै राजनीतिमा आबद्ध भएकी थिइन्।

दाम्पत्य जीवनको एघार वर्षमै पती गुमाएकी भण्डारीले आफ्ना दिवङ्गत पतिले अघि सारेका ‘जनताको बहुदलीय जनवाद’को पैरवी गर्दै आएकी छन्।

उनीहरूका जेठी छोरी उषाकिरण मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष छिन्। कान्छी छोरी डा निशा कुसुम स्वास्थ्य अनुसन्धानका क्षेत्रमा क्रियाशिल छिन्। उनको विवाह पहिलो राष्ट्रपति डा रामवरण यादवका नातिसँग भएको छ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म हो : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा रूचि राख्नु धर्म भएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भण्डारी राजनीतिक मानिस भएकाले रूचि राख्नु धर्म भएको बताएका हुन् ।

‘पूर्वराष्ट्रिपति पनि एउटा पोलिटिकल मान्छे हो । पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो,’ पोखरेलले भने, ‘उहाँ जुन ठाउँमा जन्मिनुभयो, हुर्किनुभयो । जसले ग्रोन अप गर्‍यो त्यस प्रति कसरी विस्मृतिमा जान सकिन्छ रु त्यस कारणले न्यारो ढंगले सोच्नु हुँदैन ।’

उनले पूर्वराष्ट्रपतिले पार्टीमा लिन खोजेको जिम्मेबारी सल्लाहमा तय हुने पनि बताए । ‘जहाँसम्म के जिम्मेवारी लिने त्यो सल्लाहले समझदारीले । जे सल्लाह हुन्छ जे समझदारी हुन्छ त्यही हुन्छ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘अनि किन अनेक खालका कुरा ट्याक–ट्याक गरेको रु बेकारका कुरा ।’

 

मदन भण्डारीलाई पनि सहकारी ठग भनियो, चारवटा श्रीमती राखेका छन् भनियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई पनि फुत्त दुलोबाट निस्केको भनेर आलोचना गरिएको बताएका छन् ।

भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडाैंमा आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै ओलीले सहकारी ठगसँगै चारवटा श्रीमती राखेको भनेर पनि कुप्रचार गरिएको बताए ।

‘मदन भण्डारी फुत्त दुलोबाट निस्केको नेता होइन । उहाँले सांगठनिक विस्तारको काम गरिसक्नुभएको थियो’, ओलीले भने ।यस्ता कुप्रचारहरूको सामना गर्दै एमाले यहाँसम्म आइपुगेको ओलीले बताए ।

उनले महाकाली बेचेको भनेर आरोप लगाइए पनि महाकाली सन्धि देशको हितमा रहेको बताए । ओलीको सम्बोधन जारी छ ।

राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक, २०८२ शनिबार (असार १४) प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठाइएका प्रश्नको जवाफ दिँदै उनले उत्पादन, उत्पादकत्व वृद्धि र विकास तथा समृद्धिको आकांक्षा पूरा गर्न ऋण लिन आवश्यक रहेको बताए । पुँजीगत खर्चका निम्ति मात्र ऋण लिनुपर्ने भनेर सदनबाट प्राप्त सुझाव ग्रहणयोग्य रहेका उनले उल्लेख गरे ।

“उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि ऋण लिने हो । चालु आर्थिक वर्षको र आगामी आर्थिक वर्षको बजेटको स्रोत हेर्ने हो भने आन्तरिक राजस्वले व्यहोर्ने खर्चको दायित्व बढाएर प्रस्ताव गरिएको छ । ऋणबाट व्यहार्ने खर्चको दायित्व घटेको छ,” उनले भने । विगतको ऋणको साँवाब्याज तिर्न बढी रकम खर्च हुने गरेको उनले बताए ।

उक्त विधेयकमाथिको छलफलको क्रममा सांसद डा. प्रकाशशरण महतले सार्वजनिक ऋण बढ्दै जानु र त्यस्तो रकम पुँजी निर्माणमा खर्च हुन नसक्नु गम्भीर समस्याका रूपमा रहेको बताए । “हरेक वर्ष आन्तरिक ऋणको आकार बढिरहेको छ । आन्तरिक वा बाह्य ऋण किन लिने हो भन्ने कुरामा सरकार गम्भीर हुन जरुरी छ । साधारण खर्च धान्न आन्तरिक ऋण लिँदै जाने हो भने त्यो दिगो हुँदैन,” उनले भने ।

पूर्वअर्थमन्त्री महतले आन्तरिक ऋणको ठूलो हिस्सा साधारण खर्चमा गइरहेको बताए । हाल सरकारले बैंक तथा वित्तीय संस्थाबाट आन्तरिक ऋण लिने गरेको र बजेटमार्फत तलबभत्तालगायत साधारण शीर्षकमा खर्च गर्ने गरेकामा त्यस्तो प्रवृत्ति रोक्नुपर्नेमा उनले जोड दिए ।

आन्तरिक ऋण उठाउन बन्डलगायत वैकल्पिक स्रोत खोज्न सक्नुपर्ने सुझाव पनि उनले दिए ।

अर्का सांसद हितराज पाण्डेले पनि सरकारी ऋण पुँजी निर्माणमा खर्च हुन नसकेको बताए । “हामीले ऋण लिएर साधारण प्रकृतिका शीर्षकमा धेरै खर्च गर्न थाल्यौँ त्यसलाई उत्पादन वृद्धि हुने पुँजीगत शीर्षकमा खर्च गरिनुपर्छ । प्रतिफल विश्लेषण गरेर निश्चित योजनाका लागि मात्रै ऋण लिन व्यवस्था गरिनुपर्छ,” पाण्डेले भने ।

खानी र खनिजजन्य वस्तुको उत्खनन, प्रशोधन र प्रयोगका निम्ति सार्वजनिक ऋण खर्च गर्न सक्नुपर्ने उनको भनाइ थियो ।

सांसद माधव सापकोटाले आन्तरिक उत्पादन र पुँजीगत खर्च बढाउन सक्नुपर्ने धारणा राखे । मुलुकको वर्तमान आर्थिक अवस्थाको विश्लेषण गरी सोही आधारमा मात्र सार्वजनिक ऋण उठाउन सके यसले वित्तीय अनुशासन कायम हुने उनले बताए । सरकारले ऋण लिनुपर्ने उद्देश्य र कारण पनि स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि परेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।

एसईई प्रदेशबाट गर्न सरकारको प्रस्ताव

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाटै गर्न सरकारले प्रस्ताव गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले सो प्रस्ताव अघि सारेका हुन् ।

‘बजेटमा पनि एसईइ प्रदेशमा दिने भनेर पास गरेको छ । सीटीईभीटीमा भर्ना हुने पनि एसईई पछि हो । एसईई हटायो भने सीटीईभीटीमा भर्ना के गर्ने,’ उनको प्रस्ताव छ, ‘सरकरले प्रदेशमा गर्ने भनेर ल्याएको छ । एसईई राखौं प्रदेशबाट सञ्चालन गरौं । एसईईले गुणस्तर कायम गर्न मद्दत गर्छ ।’

मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको छैन । उपसमितिले पनि एसईई नराख्ने सहमति छ ।

सुडानमा अर्धसैनिक बलको आक्रमण, १३ सर्वसाधारणको मृत्यु

एजेन्सी– पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक समर्थन बल (आरएसएफ) ले गरेको आक्रमणमा शुक्रबार १३ जना सर्वसाधारणको मृत्यु भएको छ । साथै २१ जना घाइते भएको स्वयंसेवक समूहले जनाएको छ ।
शुक्रबार एल फासेरमा आरएसएफले आक्रमण गर्दा तीन बालबालिका सहित उनीहरूको मृत्यु भएको एक स्वयंसेवक समूह सुडानीज डाक्टर नेटवर्कले एक विज्ञप्ति मार्फत बताएको हो ।

सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफ दुवैलाई युद्धविराम लागू गर्न आह्वान गर्दै यसले सहरमा भएको आक्रमण र कडा घेराबन्दीले हजारौँ बालबालिका, महिला तथा वृद्धहरूलाई प्रत्यक्ष रूपमा लक्षित गरेको जनाएको छ ।

यसैबीच, एल फासेरमा प्रतिरोध समितिले एक विज्ञप्तिमा एल फासेर आरएसएफले गरेको विस्फोट र आक्रमणले आवासीय क्षेत्रमा तनाव थपेको जनाएको छ ।

विज्ञप्तिमा घटनाको परिणामस्वरूप महिला र बालबालिका सहित धेरै निशस्त्र नागरिकहरूको मृत्यु हुनुका साथै दर्जनौं गम्भीर घाइते भएका छन् । केही घाइतेहरूलाई सहरको मुख्य अस्पतालमा लगिएको छ, जुन हाल औषधि र चिकित्सा आपूर्तिको गम्भीर अभावको सामना गरिरहेको छ।

आरएसएफले २०२४ मे देखि एल फासेरमा अवरोध गरिरहेको छ, जसमा दैनिक जसो गोलाबारी र आरएसएफ र एसएएफ दुवै संलग्न तीव्र सहरी लडाइँहरू समावेश छन्। एल फासेरले डार्फर क्षेत्रका लागि प्रमुख प्रशासनिक केन्द्र तथा दारफुर राज्यको राजधानी हो जुन आरएसएफ नियन्त्रण बाहिर छ ।

सुडान सन् २०२३ अप्रिल देखि एसएएफ र आरएसएफ बीचको द्वन्द्वमा फसेको छ। युद्धले दशौँ हजारको ज्यान लिनु का साथै लाखौँलाई सुडानभित्र तथा यसको सीमापार घर छोड्न बाध्य पारेको छ ।

प्रदेश सभामा महिलाको भूमिका बढाउन आवश्यक

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका महिला सदस्यले प्रदेश सभामा आफ्नो भूमिका थप प्रभावकारी बनाएर लैजाने बताएका छन ।  संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थामा फरक छ । अब प्रदेश सभा वा अन्य ठाउँ महिला सदस्यले आफ्नो भूमिका प्रभावकारी बनाएर अघि बढ्नुपर्नेमा उनिहरूले जोड दिए । सुदूरपश्चिम प्रदेशमा १८ जना महिला प्रदेश सभा सदस्य हुनुहुन्छ । सबै जना समानुपातिकबाट आएका छन। सरकारमा दुई जना महिला राज्यमन्त्री छन भने एक जना उपसभामुख छन।

प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मी विकले महिला सदस्यको निर्णय प्रक्रिया र संसदीय गतिविधिमा महत्वपूर्ण सहभागी हुने भएकाले त्यसमा चुक्न नहुने उल्लेख गगरिन । संयक्त राष्ट्र सङ्घको संसद् सहयोग परियोजनाको सहयोगमा शुक्रबार फाया नेपालले आयोजना गरेको सुदूरपश्चिम प्रदेश सभामा रहेका महिला तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने महिला सदस्यको क्षमता अभिवृद्धि तालिममा बोल्दै उहाँले सो कुरा बताइन।

प्रदेश सभा सदस्य सन्तोष थापा शर्माले कहिलेकाहीँ ससाना कमजोरी र प्रस्तुतिमा महिला सदस्य चुकिरहेको उल्लेख गर्दै शून्य समय, विशेष समयका विषय र शैलीलाई अधिकतम प्रयोग र सुधार गर्नुपर्ने बताइन । उनले महिलाका सवालमा समान धारण बनाएर सबै महिला प्रदेश सभा सदस्य एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन ।

संसद्मा महिलाको सङ्ख्या उल्लेख्य रहे पनि प्रस्तुतिका दृष्टिले उपस्थिति कमजोर रहने गरेका टिप्पणी हुने गरेको बताउँदै उनले प्रदेश सभामा बोल्ने अधिकांश महिला सदस्यले आफ्नो क्षेत्रका विकासनिर्माणका विषयदेखि समसामयिक राजनीतिक तथा सामाजिक विषय समेटेर बोल्नुपर्ने प्रशिक्षक इन्द्रराज भट्टाईले बताए ।

प्रदेश सभामा पुरुष प्रदेश सभा सदस्यको वर्चस्व रहने गरेको गुनासो गर्दै यहाँको प्रदेश सभामा दलका तर्फबाट पनि कतिपय महिला प्रदेश सभा सदस्यले बोल्ने गरेको प्रदेश सभा सदस्य जुना दानीले बताए । उनले बजेट वितरणदेखि कार्यान्वयनको पाटोमा महिला प्रदेश सभा सदस्यले गम्भीरताका साथ ध्यान दिनुपर्ने बताए ।

त्यस्तै अर्का प्रदेश सभा सदस्य जानकी ऐर बमले महिला सदस्य दलीय मान्यतासँगै आफ्नो क्षेत्रको सरोकार र जनजीविकाका विषयमा केन्द्रित हुने गरेको बताए । उनको विचारमा महिलाको बोल्ने शैली र विषयवस्तुको गहनतामा थप प्रभावकारिताका लागि मेहनत गर्नुपर्ने खाँचो देखिएको बताए । यद्यपि निरन्तर सव्रिmयताले पहिलेको तुलनामा थप परिपक्वता हासिल भएको अनुभव उनले सुनाए । दलीय मान्यता राख्ने औपचारिक सन्दर्भबाहेक अन्य विषयमा बोल्ने क्रममा भने प्रायः महिला सदस्यले प्रदेशको विकासनिर्माणका साथै सामाजिक विषयलाई नै प्राथमिकता दिने गरेका छन ।

उनिहरूको चासोका विषयमा सामाजिक विषय पनि उत्तिकै पर्ने गर्छ । महिला सशक्तीकरणका विषयमा पनि अधिकांश महिला सदस्यले विभिन्न कोणबाट विषय उठाउने गरेका छन् । कार्यक्रमका सहभागी सुदूरपश्चिमका महिला सदस्यले नेतृत्वका माध्यमबाट प्रदेशका समस्यामा समाधान खोज्नका लागि काम गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन समावेशी नीति र कार्यक्रमको आवश्यकता रहेको बताएका थिए ।

प्रतिनिधिसभाबाट पारित भयो बजेटसम्बन्धी आर्थिक विधेयक

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटसम्बन्धी आर्थिक विधेयक, २०८२ शनिबार प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । यो विधेयकमा करसम्बन्धी व्यवस्था गरिएको हुन्छ ।
सो विधेयकमाथि पेस भएका संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए । करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने लगायतका विषयहरू आर्थिक ऐनको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

हरेक वर्ष करका दरहरू हेरफेर गर्दा लगानीकर्तालाई त्यसले समस्या पार्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नीतिगत स्थिरतामा जोड दिइएको अर्थमन्त्री पौडेलले बताए ।

आर्थिक विधेयक, २०८२ माथि परेका सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।

प्राकृतिक जोखिममा परेकालाई उद्धार र क्षतिपूर्ति दिन सांसदहरूको माग

काठ्माण्डौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक जोखिममा परेकालाई तत्काल उद्धार गरी उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आग्रह गरेका छन् ।
बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले नेपाल प्राकृतिक रूपमा उच्च जोखिम रहेकाले विपद् न्यूनीकरणमा आवश्यक समन्वयको आवश्यकता औंल्याए ।

सांसद अर्जुन नरसिंह केसीले असार १२ गते अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ककनी गाउँपालिका–१ कागतीगाँउस्थित भसीबुमा एक महिलाको मृत्यु र एक पुरुष गम्भीर घाइते भएका जनाउँदै मृत्यु भएकालाई क्षतिपूर्ति तथा र घाइतेको उपचार, राहत र पुनःस्थापना गर्न माग गरे । उनले जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुनुपर्ने बताए ।​

​सांसदद्वय विमला सुवेदी र हितबहादुर तामाङले मनसुनजन्य विपद् न्यूनीकरणमा सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्ने बताउँदै जोखिममा परेकालाई तत्काल उद्धार र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । उनीहरूले मानवीय क्षतिसँगै चौपाया र तरकारी खेती नष्ट भएको भन्दै उपचार, क्षतिपूर्ति र राहतका लागि माग गरे ।

सांसद रामहरि खतिवडाले वर्षातको मौसम शुरू भएसँगै ठाउँठाउँमा बाढी पहिरोले सडक, राजमार्ग अस्तव्यस्त बनाएको बताए । उनले भने, ‘असारे विकासले थप अप्ठ्यारो बनाएको छ । ७७ जिल्लामा विपद् तथा क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृह मन्त्रालयले आवश्यक तयारी गर्नुपर्छ ।’

सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ की १२ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्याले स्तब्ध बनाएको बताउँदै दोषीलाई अधिकतम कारबाही गर्न, पीडित परिवारलाई शीघ्र राहत, न्यायिक सहायता र मनोवैज्ञानिक परामर्श दिनुपर्ने माग गरे । उनले बलात्कारका घटनाले समाजमा कस्तो प्रकारको आपराधिक मानसिकता छ भन्ने देखाएको भन्दै यसलाई सिङ्गो राज्यले गम्भीरतापूर्वक लिन जरुरी रहेको धारणा राखे ।

सांसद प्रकाश ज्वालाले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई कतिपय भूतपूर्व मन्त्री, राजनीतिक दल, व्यापारीको सुरक्षामा खटाउनु ऐन तथा कानुन विपरीत र बेठीक रहेको बताए ।

उनले गृहमन्त्रीसँग खटाइएका ती सुरक्षाकर्मीहरू फिर्ता पठाउन माग गर्दै कति सुरक्षाकर्मी कहाँ-कहाँ खटिएका छन्, सोको विवरण माग गरे ।

सांसद ठाकुरप्रसाद गैरेले एसईईको नतिजामा आएको सुधार सकारात्मक रहेको बताउँदै आगामी दिनमा नतिजा थप सुधार गरी प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय शिक्षा विधेयक यथाशीघ्र पास गर्नुपर्ने माग गरे ।

सांसद मुक्ताकुमारी यादवले जनकपुरका कलाकार अविनाश झा (कलकतियाबाली)की श्रीमती अन्सा सदाको मृत्युको घटनाबारे छानबिन समिति गठन गर्न माग गरिन् ।

अंक थपेर एसईईको नतिजा बढाइएको होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अंक थपे नबढाएको दाबी गरेका छन् ।
हिजो (शुक्रबार) मात्रै सार्वजनिक भएको ०८१ को एसईईको नतिजाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधि सभा बैठकबाटै यस्तो दाबी गरेका हुन् ।

‘मिहिनेत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुनेगरी नयाँ पुस्तालाई होच्याउने गरी विद्वानले बोलेको कुरा सुन्दा दु:ख लाग्छ । नम्बरमा खेलबाड होइन । विद्यार्थीले मिहिनत गरेर यो नम्बर ल्याएको हो,’ प्रधानमन्त्री ओलीले भने ।

नतिजामा केही मानिसले अंक थपेर हचुवाको भरमा बिना आधार बोलोको भन्दै प्रधानमन्त्री ओलीले दु:ख व्यक्त गरे ।

शुक्रबार प्रकाशित भएको एसईईको नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।

‘४८ पनि नपुगेको ठाउँबाट ६१ प्रतिशत पुगेको छ । रेकर्ड ब्रेक भयो । विद्यार्थी फेल नगर्ने परिपाटी बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विद्यार्थीको मिहिनेतलाई अपमान नगर्न पनि आग्रह गरे ।

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले दिए संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई जानकारी दिएका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्पेन भ्रमणका सबन्धमा जानकारी गराएका हुन् ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी साँझ औपचारिक भ्रमणमा जान लागेका हुन् ।

स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको समेत सहभागिता हुन्छ ।

आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्रीको यात्रा सुरु हुन्छ, स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यक्रम तालिका छ ।

आफ्नो नेतृत्वमा जाने भ्रमण टोलीमा २१ जना सहभागी हुनेछन् ।

भ्रमणमा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनेछन् । परराष्ट्र मन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवस्यक व्यक्तिहरुको संलग्नता छ ।

भ्रमणको दोस्रो दिन असार १५ गते भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ ।

लगत्तै प्रधानमन्त्रीले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता रहनेछ ।

हप्ता दिन पछि असार २० गते प्रधानमन्त्री काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।

गृहमन्त्रीलाई राप्रपा सांसदको चेतावनी– धेरै फुर्ति नदेखाउनुस्, भोलि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिबाट गृहमन्त्री रमेश लेखकलाई कमाइ बचाउन सजिलो भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभको शनिबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले केही दिनअघि गठित शंकरदास वैरागी नेतृत्वको समितिबाट गृहमन्त्री लेखकलाई कमाएको रकम बचाउन सजिलो भएको टिप्पणी गरेकी हुन् ।

‘मैले तगृहमन्त्रीज्यूलाई सोझो–साझो ठानेको थिएँ । उहाँ त चम्फु बाठो हुनुहुँदो रहेछ,’ सांसद कार्कीले भनिन्, ‘उहाँले त यस्तो समिति बनाउनुभयो कि त्यो समितिबाट उहाँलाई त फुत्किन धेरै सजिलो भयो । र, कमाइलाई पनि बचाउनलाई धेरै सजिलो भयो ।’

उनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकलाई धेरै फुर्ति नखाउन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीज्यू धेरै फुर्ति नदेखाउनुस् । किन भने त्यो एक दिन यस्तो समय आउँछ, तपाईं पनि त्यो पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,’ कार्कीले प्रश्न गरिन्, ‘त्यतिखेर नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ?’

सांसद कार्कीले गृहमन्त्री लेखकमाथि नेपाली जनता बेचेर ५० लाखदेखि एक करोडका दरले दैनिक कमाइ गरेको पनि आरोप लगाइन् । ‘तपाईंले भिजिट भिसाको नाममा जुन दैनिक ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ,’ उनले आरोप लगाइन्, ‘नेपाली जनतालाई बेच्नुभएको छ ।’

राप्रपा सांसद कार्कीले गृहमन्त्री लेखकलाई नैतिकता देखाएर राजीनामा दिन पनि सुझाव दिइन् । ‘गृहमन्त्रीज्यू तपाईंसँग नैतिकता छ भने राजीनामा गर्नुस् । र, छानबिनलाई सघाउ पुर्‍याउनुस् ।’

हामी मिसन–८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन ।
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताए ।

“हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन”, अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गत वर्षको भन्दा १४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए ।

उनले मौका परीक्षामा सहभागी हुने र आउने एसइईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी दिए ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने आजको बैठक पनि अवरोध गर्ने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आज (शनिबार) पनि अवरोध गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभाको बैठकमा अवरोध कायम राख्ने निर्णय गरेको हो ।

‘सदन अवरुद्ध नै हुन्छ । हाम्रो आन्दोलन जारी नै छ । झारा टार्ने समिति मानेका छैनौँ,’ बैठकपछि सांसद हरि ढकालले भने, ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म आन्दोलन जारी रहन्छ ।’

शनिबारको संसद बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । तर, रास्वपाले प्रधानमन्त्रीको सम्बोधनका क्रममा पनि आफ्नो आन्दोलन जारी रहने बताएको छ ।

प्रधानमन्त्रीले बोलेको त सुन्नु होला नि ? भन्ने पत्रकारको जिज्ञासामा सांसद ढकालले भने, ‘प्रधानमन्त्री बोल्नुहुन्छ । हाम्रो आन्दोलन पनि सँगै हुन्छ ।’

एनपीएलका लागि काठमान्डौँ गुर्खाजले गर्‍यो करणसहित ६ खेलाडी रिटेन

काठमान्डौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम काठमान्डू गुर्खाजले फास्ट बलर करण केसीसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ ।

शनिबार काठमान्डू गुर्खाजले एनपीएलको दोस्रो संस्करण लागि कप्तान केसीसहित ६ जना खेलाडीलाई रिटेन गरेको हो ।

रिटेन हुनेमा केसीसहित साहब आलम, भीम सार्की, राहिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठ रहेका छन् ।

युवा वैज्ञानिक डा. जितेन्द्र उपाध्याय, जसले मुख्यमन्त्रीको सल्लाहकार बन्न त्यागे क्यानडाकाे सुख-सुविधा

कैलाली । कतिपय नेपाली युवाको सपना हुन्छ- विदेश जाने, पढ्ने र उतै भविष्य बनाउने ! यही सपना बोकेर उच्च शिक्षा हासिल गर्न विदेश गएका नेपाली युवाहरूको फिर्ता हुने सङ्ख्या न्यून हुँदै आएको छ ।

त्यही न्यून हुँदै आएको स्वदेश फर्कनेमा पर्छन् डा. जितेन्द्र उपाध्याय । उनी आफ्नो ऊर्जाशील समय परदेशमा बिताएर त्यहाँको प्रगतिमा दुःख गर्ने र रुग्ण उमेरमा देश फर्किनेहरूको जमातमा अपवाद भएका छन् ।

डा. उपाध्याय ती पात्र हुन्, जसले विदेशमा बसेर उच्च सफलता हासिल गरे पनि मातृभूमिका लागि सबै छोडेर फर्कने निर्णय गरे । अछामको कमलबजारस्थित कुइकामा जन्मिएका डा. उपाध्याय अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका राजनीतिक सल्लाहकार छन् । विज्ञान, अनुसन्धान, सङ्गठन र समाज सेवाको सङ्गम बनेका उनी १७ वर्षको अन्तर्राष्ट्रिय अनुभव बोकेर स्वदेश फर्किएका हुन् ।

कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरमा कक्षा १० सम्म अध्ययन गर्दा उनी कहिल्यै दोस्रो हुनुपरेन । शैक्षिक जीवनमै अनुशासित, होसियार र उद्देश्यप्रति स्पष्ट सोच भएका उनी सिद्धार्थ वनस्थलीबाट आईएस्सी गरेपछि त्रिचन्द्र कलेजबाट विज्ञानमा स्नातक उत्तीर्ण भए । प्रारम्भमा मेडिकल डाक्टर बन्ने चाहना थियो, तर त्रिचन्द्रमा पढ्दै माइक्रोबायोलोजीमा रुचि जागेपछि उनी सोही क्षेत्रमा केन्द्रित भए ।

त्रिचन्द्रपछिको शैक्षिक यात्राले उनलाई रुस, बङ्गलादेश, कोरिया हुँदै क्यानडासम्म पुर्‍यायो ।

राजनीतिक चेतना र सङ्गठनमा सक्रियता

शैक्षिक यात्रासँगै उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए । २०६० सालदेखि त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)मार्फत विद्यार्थी आन्दोलनमा होमिएका उनी २०६२ मा स्ववियु निर्वाचनमा विजयी भए । २०६२/०६३ मा काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसमा आन्दोलन हाँक्नेसम्मको जिम्मेवारी उनको काँधमा थियो ।

तत्कालीन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सेती र महाकाली अञ्चलमा पनि उनको राम्रो पकड भएको हुँदा यहाँका विद्यार्थीहरूलाई एकीकृत गर्ने, आन्दोलनको मोर्चामा लैजाने र लोकतन्त्रको पक्षमा दृढ बनाउने उनको दैनिकी थियो ।

‘२०६२/०६३ को आन्दोलनमा उपत्यकाका विद्यार्थीहरूलाई केन्द्रित गर्ने, गणतन्त्रको पक्षमा वकालत गराउने र नेविसंघको मोर्चा सम्हाल्ने जिम्मेवारीमा थिएँ’, ती दिन सम्झँदै उनले भने, ‘तपाईं हामी सबैको दुःखले ल्याएको लोकतन्त्र गणतन्त्रको संरक्षण गर्नु तपाईं हाम्रै दायित्व हो ।’

अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभव

त्रिचन्द्रबाट स्नातकपछि चीन सरकारको छात्रवृत्तिमा नाम निक्लिए पनि उनी अन्तर्वार्तामा सहभागी भएनन् । त्यसपछि उनले रसियाको छात्रवृत्तिमा मास्टर इन फुड साइन्स एन्ड टेक्नोलोजी गरे । बङ्गलादेशको ढाका विश्वविद्यालयमा थप अध्ययन गरे । कोरियाको छात्रवृत्तिमा प्रविधिबाट विद्यावारिधि गरे ।

नेपाल फर्किएपछि उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वैज्ञानिकका रूपमा काम गरे । त्यहीबेला काठमाडौं विश्वविद्यालयमा पढाउन थाले । अनुसन्धानका क्रममा उनले डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिमका जिल्लामा जडीबुटी र जङ्गली च्याउमाथि अध्ययन गरे । विषालु र खाद्य च्याउको वर्गीकरण र चेतनामूलक पहलमा उनले योगदान पुर्‍याए ।

‘जङ्गली च्याउबाट प्रत्येक महिना ज्यान गइरहेको खबर आएपछि मैले कस्ता च्याउ खाने र कस्ता नखाने भन्ने विषयमा अनुसन्धान गरेको थिएँ’, डा. उपाध्यायले भने, ‘त्यो बेला सुदूरपश्चिमका वनजङ्गलमा भएका जडीबुटीहरूका बारेमा थप जानकारी प्राप्त भयो ।’

वैज्ञानिकलाई सल्लाहकारको जिम्मेवारी

विदेशमा उनी विज्ञानको क्षेत्रमा स्थापित थिए । क्यानडाको म्याकगिल विश्वविद्यालयमा पढाउँदै गर्दा उनलाई प्रदेश सरकारबाट राजनीतिक सल्लाहकारको प्रस्ताव गयो । करिब १७ वर्ष विदेश बसेका उनी एक सातामै निर्णयमा पुगे र विश्वविद्यालयमा राजीनामा दिएर नेपाल फर्किए ।

‘क्यानडा छोड्नु मेरो जीवनको सबैभन्दा ठूलो निर्णय थियो’, उनी भन्छन्, ‘मातृभूमिको लागि केही गर्नुपर्छ भन्ने सोचले फर्किएको हुँ ।’

उनी नेपाली जनसम्पर्क समिति क्यानडा शाखाका उपसभापतिसमेत थिए । मुख्यमन्त्री कमलबहादुर शाहले उनको विज्ञता र अनुभवलाई नै प्रधान मानेर आफ्नो राजनीतिक सल्लाहकारको रूपमा जिम्मेवारी दिएका हुन् ।

‘मुख्यमन्त्रीज्यूले विभिन्न महत्वपूर्ण विषयमा उहाँ (राजनीतिक सल्लाहकार)ज्यूसँग निरन्तर छलफल गर्नुहुन्छ । नीति, विधि, कानून र दीर्घकालीन महत्वको विषयमा विश्वव्यापी अभ्यास, अवस्था र प्रभावको उहाँहरूबीच छलफल हुने गर्छ’, मुख्यमन्त्री शाहका प्रमुख स्वकीयसचिव प्रयागराज खनाल भन्छन्, ‘प्रदेशको विकास र समृद्धिमा मुख्यमन्त्रीज्यूसँग निकै राम्रो केमेस्ट्री मिलिरहेको छ ।’

सल्लाहकारका रूपमा डा. उपाध्यायले लगानी सम्मेलनदेखि नीति निर्माणसम्म उल्लेखनीय भूमिका खेलेका छन् । सुदूरपश्चिममा जडीबुटीमार्फत समृद्धिको खाका बनाउँदै उनले प्रशोधन केन्द्र र प्रयोगशालाको प्रस्ताव अगाडि सारिरहेका छन् ।

‘स्थानीयले जडीबुटीको महत्व बुझ्न सकेका छैनन्, हामीसँग प्रशोधनको संयन्त्र छैन । सीधा भारत जान्छ’, उनी भन्छन्, ‘त्यसैले नीति, कानून र संरचना निर्माणका लागि म सुझाव दिइरहेको छु ।’

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय समेटिएको छ । जानकारहरूका अनुसार डा. उपाध्यायकै सुझावमा सरकारले प्रशोधन केन्द्र र प्रयोगशालालाई महत्व दिएको छ । जडीबुटीबाट प्रदेशलाई समृद्ध बनाउन सकिने उनको बुझाइ छ ।

नेपाली कांग्रेसमा विद्यार्थी कालदेखि सक्रिय उनी पार्टी विभाजनका बेला शेरबहादुर देउवासँगै अडिग रहे । यही निष्ठाका कारण देउवाको विश्वास जित्न सफल भएको उनी बताउँछन् ।

मुख्यमन्त्री शाह रहँदासम्म आफ्नो पद हुनेमा विश्वस्त डा. उपाध्याय आफू त्यहाँ रहँदासम्म प्रदेशको समृद्धिमा दीर्घकालीन महत्वका विषय नीतिगत रूपमा स्थापित गराउने प्रयासमा रहेको बताउँछन् ।

उनी भन्छन्, ‘म जुन पदमा छु, त्यो जिम्मेवारी आजै सकिए पनि गुनासो छैन । मलाई देश र प्रदेशका लागि आफ्नो सीप लगाउनु छ ।’

मुलुकभित्र सम्भावना नरहेको भन्दै युवाहरू पलायन भइरहेको बेला डा. उपाध्यायले क्यानडाको लाखौं पारिश्रमिक त्यागेर देशमै सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । त्यसमाथि राजनीतिप्रति वितृष्णा बढिरहेका बेला उनी आफ्नो राजनीतिमार्फत देश र प्रदेशको समृद्धिको रेखा कोर्न सकिन्छ भन्ने योजनामा छन् । उनी भन्छन्, ‘विदेशमा जस्तो सफलता मिल्दा पनि देशमा केही गर्नुको आनन्द छुट्टै हुन्छ ।’

‘जुनसुकै देशमा गए पनि त्यहाँ म दोस्रो दर्जाको नागरिक जस्तै हुँ, तर आफ्नो देशमा सानो योगदानले पनि ठूलो असर पार्नसक्छ’, डा. उपाध्याय थप्छन् ।

एक वैज्ञानिकबाट उनले अहिले राजनीतिक सल्लाहकारको पहिचान बनाएका छन् । आफ्नो सीप र ज्ञानलाई प्रदेशको समृद्धिमा लगाउने योजना बनाएका छन् । क्यानडाबाट आफ्नो सबै योजना र उद्देश्य त्यागेर मातृभूमि फर्किएका उनी प्रदेश र देश समृद्ध भएको देख्न चाहन्छन् ।

आफू जस्तै सबै नेपाली देश सम्झिएर फर्किएको वा आफू बसेको देशबाट आफू जन्मिएको देशको विकासको लागि केही गरेको हेर्न चाहन्छन् डा. उपाध्याय ।

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने

काठमाण्डौ – एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।

विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् । यसका लागि असार २३ गते बेलुकी पाँच बजेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

धनगढीमा मोटरसाईकल दुर्घटनामा नेपाली काँग्रेसका युवा नेताको मृत्यु

धनगढी,१४ असार ।
धनगढीमा मोटरसाईकल दुर्घटनामा परी नेपाली काँग्रेसका युवा नेताको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १२ जुगेडाका रवीन्द्र सिंह रहेका छन् । ।

मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाईते भएका सिंहको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका-१२ जुगेडा कम्पनी टोलमा शुक्रवार राति करीव १ बजे सिंहले चलाएको सुपप्र ०१००९ प ७७८४ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर नालामा खसेको थियो ।

नालामा मोटरसाईकल सहित खसेर घाईते भएका सिंहलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा सिंहको निधन भएको हो ।

धनगढी-१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिंह ट्रेड युनियन काँग्रेस धनगढी प्रदेश (क) का पूर्व अध्यक्ष हुन् ।

पोष्टमार्टमपछि शनिवार सिंहको अन्त्येष्टि गरिएको छ । मृतक सिंहको अत्येष्टि अघि पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओढाईएको थियो ।

खोज्नुहोस