भारत र पाकिस्तानबीचको युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकियो – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको टिप्पणी गरेका छन्। ओलीले  सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोह सम्बोधनका क्रममा यस्तो टिप्पणी गरेका हुन्।

उनले बुद्धकाे सन्देश जहिले पनि सान्दर्भिक हुनेबारे चर्चा गर्ने क्रममा भने,’बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्।’

यसै क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालकाे अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्। ‘भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालकाे स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्यौं,’ उनले भने।

साथै, उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखेका छन्।

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । कोहलीले सोमबार इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

कोहलीले टेस्ट फर्म्याटमा १२३ खेलबाट ९ हजार २३० रन बनाए । जसमध्ये ३० खेलमा शतक बनाएका थिए भने ३१ खेलमा अर्धशतक बनाए । यसअघि, गत हप्तामात्रै रोहित शर्माले टेस्टबाट सन्न्यास लिएका थिए ।

 

नेजाको अध्यक्षमा सुरज भण्डारी पुनः निर्वाचित

लसभेगास,२९ बैशाख ।
नेपाली अमेरिका पत्रकार संघ (नेजा)को नवौँ महाधिवेशनबाट सुरज भण्डारी पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
दुई वर्षको कार्यकालका लागि पुनः अध्यक्ष पदमा निर्वाचित

आईतवार अमेरिकाको लसभेगासमा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा दुई वर्षका लागि १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

नेजाको उपाध्यक्षको जिम्मेवारी कल्पना घिमिरे, महासचिवमा इश्वरी न्यौपाने, सचिवमा शंकरबहादुर थापा र कोषाध्यक्षमा झरना अधिकारी चयन भएका छन्।

त्यस्तै सदस्यमा राजकुमार तामाङ (गोले), डा. डोल्मा लामा, यसोदा तिमल्सिना, जानु पंगेनी, दिपेन्द्र खड्का, र डिल्लीबहादुर राउत चयन भएका छन्।

क्षेत्रीय संयोजकको रूपमा सृजना काफ्ले (डिसी मेट्रो), शान्तिराज राई (उत्तरपूर्व), दिपक दाहाल (पश्चिम), र ओम आचार्य (मध्य) चयन भएका छन्।

निर्वाचनका लागि नेजाका संस्थापक गिरिश पोख्रेलको संयोजकत्वमा रहेको चार सदस्यीय निर्वाचन समिति चयन गरिएको थियो । जसमा मोहनसिं लामा, गोपाल गडर्तौला, र तारा रावल रहेका थिए।

नेपाल पत्रकारिता संकटमा छ–अध्यक्ष शर्मा

लसभेगास, २९ बैशाख
नेपाल अमेरिका पत्रकार संघ(नेजा) को नवौ अधिवेशन तथा साधारण सभा शनिवार अमेरिकाको लस भेगासमा शुरु भएको छ ।

एक समारोहका बीच नेजाको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपाल भाषा, पहिचान र पत्रकारिताको संरक्षण, सम्बद्र्धनका लागि नेजाले अमेरिकामा निर्वाह गरिरहेको भूमिका सह्रानीय भएको बताईन् ।

नेपाल पत्रकार महासंघ र नेजाबीच बिगत केही वर्षयता जारी सहकार्य र सम्बन्धलाई अझै बलियो बनाउने अध्यक्ष शर्माले प्रतिबद्धता गरिन ।

नेपाली पत्रकारिता संकटमा रहेको चर्चा गर्दै उनले भनिन्, पत्रकारिता मर्दैछ । आर्थिक रुपले पत्रकारिता संकटमा छ । पत्रकारहरुको भौतिक र पेशागत असुरक्षा बढ्दो छ । पत्रकारिताले विश्वसनीयताको पनि संकट पनि सामना गरिरहेको छ । यो कठिन घडीमा पत्रकारिता गरिरहेका सबै पत्रकारहरुकाबीच सामूहिक हितका लागि अझै एकता र विश्वासको वातावरण आवश्यक छ ।

नेजाका अध्यक्ष सुरज भण्डारीले प्रवासमा रहेर पत्रकारिता गरिरहन आफैमा चुनौतीपूर्ण भएपनि आफ्ना निजी समस्याभन्दा माथि उठेर नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना र प्रवासी नेपालीहरुका संघर्ष, सफलता र पीडाहरु उजागर गर्न नेजा सधै सक्रिय रहेको बताए ।

उनले नेजाको स्थापनाकालदेखि हालसम्म सहयोग गर्ने संस्थापक र साधारण सदस्यहरुप्रति आभार व्यक्त गर्दै आगामि दिनमा नेजालाई बलियो बनाएर लैजान सबैलाई आग्रह गरे ।

कार्यक्रमका वक्ताहरुले कुनै पार्टी, नेताका लागि नभई देश र जनताका लागि पत्रकारहरुले काम गर्नुपर्ने बताए ।

अधिवेशनमा अग्रज पत्रकारहरु कविर राणा, ओम शर्मा, यशोदा तिम्सिना, दीर्घराज उपाध्याय, नेजाका पूर्व अध्यक्षहरु भोला आचार्य, आङछिरिङ शेर्पा, गैर आवासीय नेपाल संघका बिभिन्न च्याप्टरका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका   थिए ।

अधिवेशनमा पत्रकारिताको विकास र नेपाली समुदायको पक्षमा निरन्तर रुपमा कलम चलाएर योगदान पुर्याए वाफत बिजय घिमिरे, किरण मरहठ्ठा, किशोर पन्थी, रामचन्द्र भट्ट लगायतका पत्रकारहरुलाई जनही एक हजार डलरका दरले सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेजाको स्थापनाकालदेखि सहयोग गर्ने पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा शुरु भएको उद्घाटन शत्रको सञ्चालन महासचिव बाबुराम दाहालले गरेका थिए ।
कार्यक्रममा अधिबेशनका कन्भेनर रोशन अधिकारीले स्वागत मन्तव्य र उपाध्यक्ष सुजन पण्डितले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रचण्ड र माओवादी सुदूरपश्चिम संसदीय दलबिच छलफल, निर्णायक बैठक डडेलधुरामा बस्ने

काठमाडौँ, २८ वैशाखः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी राखेका छन् ।

लामो समयदेखिको विवाद समाधान गर्न आइतबार बिहान निजी निवास खुमलटारमा नेता खगराज भट्ट सहितका सांसदहरू छलफल गरेका छन् । छलफल सकारात्मक भएपनि संसदीय दलका नेता मानबहादुर धामी घर फर्किएकाले कुनै सहमति नभएको भट्टले जानकारी दिए ।

‘संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष प्रचण्डसँग छलफल भइरहेको छ । यद्यपि कुनै सहमति भएको छैन । केही दिनमा समाधान निस्केला’, उनले भने ।

यसअघि पनि पटक पटक छलफल गरेपनि सहमति हुन नसकेको अवस्थामा प्रचण्डले वैशाख २४ गते दुवै पक्षलाई बोलाएका थिए । तर अन्तिम समयमा छलफल स्थगित भएपछि अधिकांश सांसदहरू घर फर्किसकेकोले कुनै सहमति नभएको अर्का सांसद शिवसिंह ओलीले बताए । ओलीका अनुसार प्रचण्डले दुवै पक्षलाई जेठ १ गते डडेलधुरामा बोलाएका छन् ।

‘संसदीय दलका नेतासहित अधिकांश सांसदहरू घर फर्किसकेका छन् । आजको छलफलमा चार जना सांसद मात्र थियौँ । विवाद समाधानका लागि अध्यक्षले जेठ १ गते डडेलधुरामा बोलाउनुभएको छ । बैठक सकारात्मक देखिन्छ’, ओलीले भने ।

प्रचण्ड निवासमा भट्ट, ओली, रमेशसिंह धामी र झपटबहादुर साउद सहभागी भएका थिए । प्रचण्ड मध्यपहाडी लोकमार्ग अन्तर्गतको अभियानमा भाग लिन जेठ १ गते डडेलधुरा जाँदै छन् । २०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर दलको नेता बनेका थिए । दलको नेता भट्टलाई बनाउन पार्टीले चार पटक परिपत्र नै पठाएको थियो । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

भारत-पाकिस्तान द्वन्द्वमा लाखौं मानिसको मृत्यु हुन सक्थ्यो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम राखेकोमा भारत र पाकिस्तानको प्रशंसा गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोष्टमार्फत भनेका छन्, “म भारत र पाकिस्तान दुवैको बलियो र दृढ नेतृत्वमा धेरै गर्व गर्छु।”

“उनीहरुले सही समयमा बुद्धि र साहस देखाए र यो द्वन्द्व रोक्ने निर्णय गरे, किनकि यो द्वन्द्वले लाखौं निर्दोष मानिसहरूको मृत्यु र ठूलो क्षति निम्त्याउन सक्थ्यो,” ट्रम्पले थपे ।

अमेरिका यो ऐतिहासिक निर्णयमा पुर्‍याउनलाई मद्दत गर्न सक्षमभएको उनको भनाइ छ ।

भारत र पाकिस्तानबीच युद्धविराम, दुवै देशले गरे घोषणा

भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । भारत र पाकिस्तान दुवै मुलुकले युद्धविराम तत्काल लागू भएको घोषणा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराममा सहमति भएको जानकारी दिएका थिए ।

पाकिस्तानी विदेशमन्त्री इशाक डारले एक ट्वीट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । उता भारतीय विदेशसचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबारै अमेरिकी विदेशमन्त्रीले भारतीय र पाकिस्तानी विदेशमन्त्री तथा पाकिस्तानी सेना प्रमुखसँग फोनमा वार्ता गरेका थिए ।

काश्मिरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि भारतले त्यसको दोष  पाकिस्तानमाथि लगाउँदै मिसाइल आक्रमण गरेको थियो । भारतले आक्रमण गरेको तेस्रो दिन पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो ।

अब आतंकी हमला युद्ध मानिनेछ : भारत

 काठमाडौं । भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ।

उच्च सरकारी अधिकारीहरूको भनाइमा अबका यस्ता कुनै पनि आक्रमणको जवाफ भारतले युद्धस्तरमै दिनेछ। भारत–पाकिस्तानबीचको चुलिँदो तनावबीच भारतको यो चेतावनी आएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आतंकी गतिविधिमाथि स्पष्ट ‘रेडलाइन’ को घोषणा गर्दै यस्ता हमलाको योजना बनाउने र कार्यान्वयन गर्नेहरूलाई कडा प्रतिकार गरिने सन्देश दिएको छ।

भारतले आतंकवादसँग जोडिएका गतिविधिका लागि पाकिस्तानलाई निरन्तर जिम्मेवार देखाउँदै आएको छ।

बिहीबार पाकिस्तानले भारतका जम्मु–कश्मीरदेखि गुजरातसम्मका २६ स्थानमा ड्रोन हमला गरेपछि भारतले जवाफी कारबाहीस्वरूप पाकिस्तानका चारवटा एयरबेसमा हवाई आक्रमण गरेको थियो।

यसअघि २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकी हमलामा सीमा पारका आतंकी समूहको संलग्नता देखिएपछि भारतले पाकिस्तान र पाकिस्तानअधिकृत कश्मीर (पीओके) मा रहेका आतंकी लन्चप्याडहरूमा सटीक हमला गरेको थियो।

यही सन्दर्भमा प्रधानमन्त्री मोदीले दिल्लीस्थित निवासमा भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, चीफ अफ डिफेन्स स्टाफ र तीनवटै सेनाका प्रमुखहरूसँग आपतकालीन बैठक गरेका थिए।

पाकिस्तानले शुक्रबार राति गरेको ड्रोन हमलामा भारतीय सेना अनुसार विमानस्थल, एयरबेस र अन्य महत्वपूर्ण संरचनामा क्षति पुर्‍याउने प्रयास गरिएको थियो, तर भारतीय सुरक्षाफौजले ती प्रयास विफल बनाएको जनाएको छ।

बिहीबार साँझ जम्मु क्षेत्रमा पाकिस्तानले प्रहार गरेका आठवटा क्षेप्यास्त्रसमेत भारतीय हवाई सुरक्षा प्रणालीले नष्ट गरेको थियो।

यता, पाकिस्तानी विदेशमन्त्री इस्हाक डारले भनेका छन्, ‘भारतले आक्रमण रोकेको खण्डमा पाकिस्तान तनाव कम गर्न तयार छ, तर थप हमला भए जवाफ दिइनेछ।’ उनले यो कुरा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको संवादपछि बताएका हुन्।

भारत–पाकिस्तानबीचको पछिल्लो तनावले दक्षिण एशियाली क्षेत्रमै चासोको विषय बनिरहेको छ। दुवै देश परमाणु शक्ति सम्पन्न रहेकाले यस किसिमको सैन्य तनाव दीर्घकालीन रुपमा बढ्नु क्षेत्रीय स्थायित्वका लागि चिन्ताको विषय भएको विश्लेषकहरू बताउँछन्।

देश कंगाल बनाउने नै राजाहरू : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कंगाल बनाउनेहरु नै राजाहरू भएको आरोप लगाएका छन्। आज ९शनिबार० काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलक्षित गर्दै देशलाई आजको जमानासम्म गरिब बनाएर राख्नेले ‘हामी आउँछौँ, साथ देऊ’ भनिरहेको देख्दा अचम्म लागेको बताए । ‘अचम्म त के भने, यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभई भएन, हामी आउँछौँ, साथ देऊ भनेर लाजै मान्दैन’, उनले भने, ‘यो देश कंगाल बनाउने त यिनीहरू हुन् त १’

अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको उनले उल्लेख गरे । देशलाई बस्न लायकको बनाउनै पर्नेमा उनले जोड दिए । ‘वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन् । यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ’, उनले भने, ‘यस्तो देशमा फोक्साको व्यापारी रु कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा रु’ प्रधानमन्त्री ओलीले देशलाई उपचार गर्ने पुस्ता हालको रहेको बताउनु बताए । वर्तमान पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनुपर्नेमा उनले जोड दिए ।

 

भारत र पाकिस्तानले तनाव मत्थर पार्ने बाटो कसरी खोज्न सक्छन्?

काठमाडौं । भारत पाकिस्तान सङ्कटले खतरनाक मोड लिँदैगर्दा संसारभरबाट देशहरूले शान्त रहन आह्वान गरिरहेका छन्।

सुरुमा भारतले हवाई हमला गरेपछि र पाकिस्तानले पनि आफूले कयौँ भारतीय लडाकु विमानहरू खसालेको दाबी गरेपछि (जुन दाबीलाई दिल्लीले पुष्टि गरेको छैन) दुवै पक्षले “जित” दाबी गरेर तनाव मत्थर हुने प्रारम्भिक रूपमा सोचिएको थियो।

तर बदलाभावले लामो समयसम्म चलिरहने हमलाहरूले उनीहरूलाई अझ खतरनाक परिदृश्यतर्फ डोर्‍याउने जोखिम रहन्छ।

सन् २०१९ र २०१६ का जस्ता विगतका द्वन्द्वहरूमा अमेरिका र केही अन्य विश्वशक्तिहरूले दिल्ली र इस्लामाबादलाई स्थिति नियन्त्रणमा ल्याउन र तनाव कम गर्न दबाब दिएका थिए।

अहिले दुवै पक्षमा राष्ट्रवादी भास्य चरम सीमामा पुगेको छ र उनीहरू त्यसप्रति व्यग्र देखिन्छन्।

यी दुई छिमेकीहरू पछिल्ला दशकहरूमा भन्दा यसपटक युद्धको नजिक पुगेका छन्।

“विश्व समुदाय मौन छ; त्यो खतरनाक छ,” लण्डनस्थित किङ्ग्स कलेजका सिनिअर फेलो रहेका पाकिस्तानी प्राज्ञ आयशा सिद्दीकाले भनिन्।

“दशकौँदेखि यस्ता घटनाहरू भइरहे तापनि यो पहिलोपटक हो जब दुई देश कसैको निगरानीबिनै वा बलपूर्वक रोक्न नभनिरहेको द्वन्द्वमा फसेका छन्,” उनले भनिन्।

अमेरिकी भूमिका

वासिङ्टन थप संलग्न नभएसम्म इस्लामाबाद र दिल्लीले आफ्ना आरोप र प्रतिआरोपहरू जारी राख्न सक्नेछन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत र पाकिस्तानका वरिष्ठ नेताहरूलाई तनाव कम गर्न भनिरहेका भए तापनि अन्य अमेरिकी नेताहरूको सन्देश फरक छ।अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्यूजसँगको अन्तर्वार्तामा भारत र पाकिस्तानबीचको सम्भावित युद्ध “हाम्रो कुनै चासोको विषय” नहुने बताएका छन्।

“हामी यी कुरा सकेसम्म चाँडो मत्थर होस् भन्ने चाहन्छौँ। यद्यपि हामी यी देशहरूलाई नियन्त्रण गर्न सक्दैनौँ,” भान्सले भने।

२६ जना सर्वसाधारणको ज्यान जानेगरी भारत प्रशासित कश्मीरमा भएको आतङ्कवादी हमलाको समयमा भान्स भारत भ्रमणमा थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यसअघि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई “लज्जास्पद” भनेका थिए।

गोलाबारीबाट क्षतिग्रस्त बनेको घर

तस्बिर स्रोत,Getty/AFP

तस्बिरको क्याप्शन,पाकिस्तानी गोलाबारीबाट क्षतिग्रस्त भएको आफ्नो घरको भग्नावशेषको छेउमा उभिएका स्थानीय बासिन्दाहरू

अघिल्ला भारत-पाकिस्तान झडपहरूमा भारतले पाकिस्तानभित्र रहेका आतङ्कवादी शिविरहरूमा “सर्जिकल हमला” गरेपछि तनाव चाँडै कम भएको थियो। यो सन् २०१९ को कुरा हो।

उक्त सङ्कटपछि एक भारतीय सैन्य विमानलाई खसालिएको थियो र विमान चालकलाई पाकिस्तानले कब्जामा लियो।

वासिङ्टन र अन्य विश्व शक्तिहरू संलग्न भएका विवरणमाझ दुई दिनपछि उनी रिहा भए।

तर अहिलेको द्वन्द्वको घनत्व बढी छ र दुवै पक्षमा जोस उच्च रहेको छ।

ट्रम्प प्रशासनको प्राथमिकता कर, चीन र युक्रेन-रुसबारे बढी भए पनि दुई परमाणु हतियारधारी प्रतिद्वन्द्वीबीचको तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायको एकीकृत प्रयासको आवश्यकता पर्न सक्छ।

चीन के गर्ला?

दक्षिण एसियामा हिस्सेदारी राख्ने अर्को विश्व शक्ति भनेको चीन हो।

बेइजिङको इस्लामाबादसँग घनिष्ठ आर्थिक र सैन्य सम्बन्ध छ। यसले व्यापार बढाउन चीन-पाकिस्तान आर्थिक करिडोरको भागको रूपमा पाकिस्तानमा ५० अर्ब डलरभन्दा बढी लगानी गरेको छ।

चीनको भारतसँग पनि नसुल्झिएका सीमा समस्याहरू छन् र दुई देशहरूबीच सन् २०२० मा हिमालय क्षेत्रमा सीमा झडप भएको थियो।

दुई देशबीच तनाव भए पनि चीन भारतको दोस्रो ठूलो व्यापारिक साझेदार हो।

“यदि अमेरिका [भारत-पाकिस्तानबीचको तनाव समाधान गर्न] अनिच्छुक भए संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् – पाँच स्थायी सदस्यहरू – यसमा संलग्न हुनुपर्छ यो उनीहरूको पनि जिम्मेवारी हो,” साङ्घाईस्थित अन्तर्राष्ट्रिय मामिलाविज्ञ विई शेन डिङ्गलीले बीबीसीलाई भने।

भारतले गत महिना पर्यटकहरूमाथि घातक आक्रमण गर्ने कश्मीरी पृथकतावादी विद्रोहीहरूलाई पाकिस्तानले समर्थन गरेको आरोप लगाउँदै गर्दा ती चिनियाँ प्राज्ञले भारतको चिन्तालाई सम्बोधन गर्न “पी-फाइभ सदस्यहरूले घटनाको विश्वसनीय अनुसन्धान सुरु गर्न सक्ने” बताएका छन्।

खाडी देशले गर्नसक्ने मध्यस्थता

दुवै देशसँग नजिकको सम्बन्ध भएका कतार, साउदी अरब र संयुक्त अरब एमिरेट्स (यूएई) जस्ता खाडी देशहरूले आफ्नो मध्यस्थता प्रयासलाई तीव्र पार्न सक्छन्।

भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको पृष्ठभूमिमा साउदी अरबका विदेश राज्यमन्त्री अदेल अल-जुबैर मे ७ तारिखमा दिल्ली आइपुगेका थिए।

त्यसलाई भारत र पाकिस्तानबीचको तनाव बढ्दै गएको अवस्थामा एक अप्रत्याशित भ्रमणको रूपमा हेरिएको थियो।

“अदेल अल-जुबैरसँगको भेटघाट राम्रो रह्यो,” भारतका विदेश मन्त्री एस जयशङ्करले भने। उनले आफ्ना समकक्षीले “आतङ्कवादको दृढतापूर्वक प्रतिरोध गर्ने भारतको दृष्टिकोण साटेको” बताए।

ती साउदी मन्त्री पाकिस्तानका नेताहरूसँग वार्ता गर्न शुक्रवार इस्लामाबाद आइपुगेका थिए।

खाडीमा पाकिस्तानका करिब २६ लाख मानिसहरू बस्ने र काम गर्ने गर्छन्। रियादको पाकिस्तानमा उल्लेख्य प्रभाव रहेको छ।

पाकिस्तानलाई वर्षौँदेखिको आर्थिक सङ्कटको समयमा साउदी अरबले अर्बौँ डलर ऋण दिएको छ।

सङ्कटबाट निस्कने उपाय

वर्तमान सङ्कटबाट बाहिर निस्किने एउटा उपाय भनेको दुवै पक्षले आफ्ना मानिसहरूलाई सन्तुष्ट पार्न जीतको दाबी गर्न सक्ने अवस्था हुनसक्छ।

दिल्लीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरभित्रका सन्दिग्ध आतङ्कवादी लुकेका ठाउँहरूमा गरिएको क्षेप्यास्त्र हमला गत महिना पहलगाममा भएको आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूलाई “जबाफदेही” बनाउने प्रतिबद्धताको हिस्सा भएको बताएको छ।

“भारतले पहिले नै आफ्नो उद्देश्य हासिल गरिसकेको बताएको छ। अब के गर्ने भन्ने कुरा पाकिस्तानको हातमा छ। यदि उनीहरूले बदला लिन चाहन्छन् भने भारतबाट कडा प्रतिक्रिया आउनेछ,” अवकाशप्राप्त भारतीय लेफ्टिनेन्ट जेनरल डीए हूडाले भने।

पाकिस्तान र खासगरी त्यसको शक्तिशाली सेनाका लागि उसले जनताहरूलाई भारतविरुद्ध लड्नसक्ने देखाउन चाहन्छ।

आकाशमा विमानहरूबीच हुने झडपमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेर भारतलाई पाठ सिकाएको देखाउन सेनाले देखाउन चाहेको छ।

भारतले पछिल्ला हमलाका क्रममा कुनै पनि लडाकु विमान गुमाएको स्वीकार गरेको छैन।

तर पाकिस्तानी प्राज्ञ सिद्दिकाका अनुसार अहिलेको सङ्कट कसरी सकिन्छ भन्ने कुरा भारतको घोषित उद्देश्यहरूमा भर पर्छ।

“भारतले पाकिस्तानलाई सजाय दिने देखि लिएर थप केही हासिल गर्नेसम्म गर्दै दिनदिनै गोलपोष्ट फेर्दे आएको छ,” उनले भनिन्।

तत्काल आणविक हतियार प्रयोग गर्दैनौँ : पाकिस्तान

काठमाडौं– भारतसँग तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको बताएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आशिफले अहिले आणविक हतियार प्रयोग गर्ने सम्भावना नरहेको जनाएका हुन् ।

पाकिस्तानी टेलिभिजन जियो न्यूजसँगको कुराकानीका क्रममा उनले तत्कालका लागि आणविक हतियार प्रयोग नगर्ने बताए । उनले दुई मुलुकबीच जारी तनाव यस क्षेत्रमा मात्र सीमित नहुने पनि चेतावनी दिए ।

उनले भने, ‘म विश्वलाई भन्दैछु, यो क्षेत्रीय रुपमा मात्र सीमि हुनेछैन, यसले थप विनाश निम्त्याउनेछ ।’ उनले अणविक हतियार प्रयोगबारे राष्ट्रिय कमाण्ड अथोरिटीको बैठक नडाकिएको पनि उल्लेख गरे ।

यस अथोरिटीलाई पाकिस्तानी आणविक हतियारको प्रयोगबारे निर्णय लिने अधिकार दिइएको छ ।

नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्छ : प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वद्र्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए ।

‘हरियो वन, नेपालको धनको नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ किन वनको विनास हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तार गर्नमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।’

हाल नेपालमा हाल ४६ प्रतिशत वनको भाग रहेको छ। प्रधानमन्त्रीले नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्ने भन्दै इकोसिस्टम जोगाएर काठबाट फाइदा लिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले आफूहरु प्राकृतिक र जीवनमय देशमा हुर्केको उल्लेख गर्दै यो विश्व वातावरणका लागि पनि योगदानको विषय भएकाले अब वन सबलीकरण गर्ने र बुट्यानहरुलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

कृषि र वनको अधिकृत मिलेर फलफूल खेतीमा जोड दिन सकिने भन्दै उनले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले क्षेत्रवादी नभई एकार्का क्षेत्रलाई सहयोगी हुन आग्रह गरे । उनले किसानहरुलाई पशुपालन जस्ता कुराहरुमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरणको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए ।

‘मैले बाघको संख्या अब बढाउनु पर्दैन भन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी पनि गरियो । बाघले कानुनको किताब पढेको हुँदैन । उसले भोक लागेर खाना नपाएपछि मान्छेलाई आक्रमण गर्छ । फोटोका बाघ हेरेर यसले केही गर्दैन भनेर हुँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम दोब्बरभन्दा बढी संख्यामा बाघ बढाएका छौँ । वनको छेउमा बस्नेलाई यसको पीरमर्का थाहा छ । वातावरणको संरक्षण मानव जातिका लागि गर्ने हो । मानव जाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न सकिँदैन ।’

प्रधानमन्त्री ओलील् पेरिस सम्झौता नमान्ने केही केही देशहरु रहेको उल्लेख गर्दै विश्व सहकार्यमा सबै आउनु पर्नेमा जोड दिए । उनले यो महत्व आज बुझिएन भने भोलि बुझ्न ढिलो हुने लागेर नेपालले सगरमाथा संवादको आयोजना गर्न लागेको स्पष्ट गरे ।

 

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

काठमाडौँ, २६ वैशाख :सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु¥याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो ।

फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप राष्ट्र र खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्रदान गर्नुका साथै विश्वभर महिला फुटबलमा लगानी तीव्र बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

अठचालिस टोली सहभागीताको नयाँ ढाँचामा अब १२ समूह रहनेछ, जसले कुल खेल सङ्ख्या ६४ बाट बढाएर १०४ पु¥याउनेछ र प्रतियोगिता एक हप्ता थप लम्बिनेछ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भन्नुभयो, “यो केवल थप १६ टोली खेलाउने कुरा मात्र होइन, यो निर्णयले सदस्य राष्ट्रहरूलाई समग्र रूपमा महिला फुटबल संरचना विकास गर्न प्रेरित गर्नेछ ।”

महिला विश्वकपको सुरुआत सन् १९९१ मा १२ टोलीसहित भएको थियो। त्यसपछि सन् २०११ सम्म १६ टोलीले भाग लिए भने क्यानडा र फ्रान्समा सम्पन्न सन् २०१९ संस्करणमा २४ टोली सहभागी थिए । सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डद्वारा सह–आयोजित प्रतियोगितामा पहिलोपटक ३२ टोली सहभागी भएका थिए । सन् २०२७ मा आगामी विश्वकप ब्राजिलमा आयोजना हुनेछ ।

यसैबीच, पुरुष विश्वकप पनि सन् २०२६ देखि ४८ टोलीसहित आयोजना हुँदैछ, जुन संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

‘आमसञ्चार विधेयक छिट्टै पास हुन्छ’ : कानुन मन्त्री

धनगढी,२७ बैशाख । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रि हिरा सिह सार्कीले सुदूरपश्चिमको सञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास गर्ने तयारी भईरहेको बताएका छन । डडेल्धुरामा शनिवारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी आयोजना गरिएको २ दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सार्कीले यस्तो बताएका हुन ।

सञ्चार विधेयक पास गर्नका लागि पत्रकारहरू सँग छलफल गरिरहेका छौं, अझ महासंघले यसमा छलफल गरि सुझाव दिन आग्रह गर्दछु’ मन्त्री सार्कीले भने । उनले मन्त्री भएदेखि नै सञ्चार विधेयक बनाउन लागि परेको बताए । ‘प्रदेश सरकार गठनको पनि ८ वर्ष भएछ, म पनि आठौं मन्त्री भएको रहेछु तर अहिलेसम्म आम सञ्चार विधेयक नबन्नु दुखद हो । पत्रकारहरुको ब्यवस्थापनका लागि यो ऐन आवश्यक छ’ मन्त्री सार्कीले भने ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.तारा प्रसाद जोशीले रेडियो एफएमहरु संकटमा परिरहेकाले नयाँ प्रविधि सँगै अघि बढ्नुपर्ने बताए । ‘अहिले एफएम रेडियो मात्रै होईन, प्रिन्ट मिडिया पनि संकटमा छन । मिडिया भनेको जनताको आवाज हो । यो जोगाउने जिम्मा सरकारको हो, सरकारले यसमा ध्यान दिनुपर्छ’ प्रदेश सभा सांसद जोशीले भने ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रशिक्षणमा ९ वटै जिल्लाका रेडियोका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

आर्थिक अवस्था कमजोेर भएर संकटमा रहेका रेडियोहरूलाई कसरी जोगाउने भन्ने बारेमा डाक्टर रघु मैनालीले सहजिकरण गरिरहेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत बहादुर सिहले स्वागत गरेका थिए भने नेपाल प्रेस युनीयनका केन्द्रिय सदस्य शैलेन्द्र रोकाया, युनीयन डडेल्धुराका उपाध्यक्ष राम खत्री, प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मी ऐर, प्रेस संगठनका जिल्ला अध्यक्ष भीम दाहाल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष टीकाराम साउद सहितका पत्रकारहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मानबहादुर साउदे धन्यवादज्ञापन गरेका थिए ।

बाजुरामा कुपोषणले २ महिने शिशुको मृत्यु

धनगढी,२७ बैशाख । जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले वताएका छन् ।

मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको डा। बुढाले बताएका छन् । उता स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा बर्सेनि कुपोषणले बालबालिकाको मृत्यु हुने गरेको छ । मुक्तिकोटमा अहिले पनि १४ जनाभन्दा बढी बालबालिका कडा कुपोषणको चपेटामा रहेका छन् । रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।

दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् । बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्छन, ‘धेरै पक्षहरु होलान तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले नै कुपोषण त भयावह हुने नै भयो ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले केही वर्ष गरेको कुपोषणको ‘स्र्माट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ । बाजुराका ९ स्थानीय तहका ६९ वडामध्ये २७ वडाका घरघरमा पुगेर ५ वर्षमुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कम तौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द बताए । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।

महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कविता कुँवरले १८ रन जोडिन् । यस्तै, सम्झना खड्काले १३, इन्दु वर्माले ७ रन बनाइन् ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनले एक विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले ३४ रन बनाइन् ।

यो जितसँगै तीन अङ्क जोडेको नेपाल तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपाल र हङकङबीचको पहिलो खेल शुक्रबार वर्षाका कारण रद्द भएपछि दुवैले एक–एक अङ्क बाँडेका थिए । नेपालले अब मङ्गलबार हङकङ र बिहीबार बहराइनसँग खेल्नेछ ।

 

आफूविरुद्ध भ्रम छर्ने काम भयो : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाएका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गरे । उनले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताए ।

यथास्थिति भत्काउने र रूपान्तरण सहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् ।

चुनौतिका विरुद्ध लड्ने सङ्कल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर गरेका छन् ।

भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ

भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ।

अलजजिराको रिपोर्टअनुसार पाकिस्तानको उन्नत फतेहका दुई संस्करण छन्। जसलाई फतेह-१ र फतेह-२ भनिन्छ।

सैन्य विज्ञहरूका अनुसार, फतेह-१ संस्करण छोटो दूरीको क्षेप्यास्त्र हो जुन १४० किलोमिटर (८७ माइल) टाढासम्म प्रहार गर्न सक्षम छ।

रिपोर्टहरूअनुसार, फतेह-२ संस्करणलाई ‘अझ उन्नत’ भनिएको छ र यसको दायरा ४०० किलोमिटर (२४८ माइल) सम्म छ।

दुवै संस्करणलाई सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र भनिन्छ।

अरबी भाषामा फतेह शब्दको अर्थ ‘लगभग विजेता’ वा ‘विजेता’ हो।

यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा ड्रोन आक्रमण गरेको बताएको छ।

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।

त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुन्यान-अन-मार्सुस‘ थालिएको बताएको छ।

यसैबीच जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको जवाफ: कुनै पूर्वाग्रह थिएन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा प्रहरीको कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा  १७ वैशाखमा सर्वोच्च अदालतको फर्जी पत्रका आधारमा चौधरी पक्राउ परेको विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरीले कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नराखेको बताएका हुन् ।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको पत्रका आधारमा प्रहरीले कमलादीस्थित प्रज्ञा भवनबाट चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरेको थियो ।

पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी

काठमाडौं । भारतको रक्षा मन्त्रालयले अपरेसन ‘सिन्दूर’ अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको जिकिर गरेको छ । विहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मे ७ मा भारतले गरेको कारबाहीमा पाकिस्तानका कैयौं हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भारतको रक्षा मन्त्रालयले भनेको छ, ‘लाहोरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई निष्क्रिय पारिएको विश्वसनीय रूपमा थाहा भएको छ ।’ विज्ञप्तिमा भारतमा सैन्य केन्द्रहरूमा आक्रमण गरियो भने त्यसको उचित जवाफ दिइने चेतावनी पनि दोहोर्‍याइएको थियो ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार पाकिस्तानले भारतको उत्तरी र पश्चिमी क्षेत्रमा ड्रोन र मिसाइलमार्फत् आक्रमण प्रयास गरेको तर ती आक्रमणहरूलाई भारतको एकीकृत ड्रोन प्रतिकार प्रणाली र हवाई सुरक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको जिकिर गरिएको छ । भारतले तनाव बढाउने चाहना नराख्ने तर आवश्यक परेमा आफ्नो सुरक्षाका लागि दृढताका साथ प्रतिक्रिया जनाउने दोहो¥याएको छ ।

भारत-पाकिस्तान तनाव बढेपछि नेपालका १८४४ स्थानमा चेकप्वाइन्ट

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालमा सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ ।

मङ्गलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतको सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोल गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

एसएसबीसँग संयुक्त पट्रोल वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै, एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको छ ।

सोही अवधिमा सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ । वैशाख २३ गते ५ सय ६४, बैशाख २४ गते ६ सय ४० र बैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको छ ।

उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरुबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको छ ।

बजेट निर्माणमा त्रुटि गर्ने छुट छैन : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सही रुपमा परिचालन हुने बजेट निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक सहयोग इकाइले आज धनगढीमा आयोजना गरेको आगामी नीति तथा कार्यक्रम र बजेटसम्बन्धी छलफल कार्यक्रमको उद्घाटन गर्र्र्दै उनले यस्तो बताएका हुन ।

मुख्यमन्त्री शाहले बजेट निर्माणमा त्रुटि गर्न छुट नरहेको उल्लेख गरे । “बजेट निर्माणमा हामीले सधैं त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटी दोहो¥याउने हो भने सङ्घीय संरचनामा उभिएको अर्थै भएन ।,”उनले भने ।

उनले तीन तहकै सरकारबिचको सम्बन्धलाई प्रगाढ बनाउन आवश्यक रहेको औंल्याए । एक अर्काको अस्तित्व स्वीकार्न नसक्ने परिपाटीका कारण समस्या भइरहेको मुख्यमन्त्री शाहको भनाइ थियो । यसैगरी, हालै भएको आफ्नो औपचारिक भारत भ्रमण उलब्धीपूर्ण बनेको उनले स्पष्ट पारे ।

कार्यक्रममा मन्त्रीहरु, विषयगत समितिका सभापतिहरु, प्रदेशसभा सदस्य, नीति तथा योजना आयोगका सदस्यसहित ८८ वटै पालिकाका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा। जीवन रानाले बजेटको सन्दर्भमा कार्यपत्र प्रस्तुत रेका थिए ।

संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रबिन्दुमा राखेर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोडदिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा बिषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायको बिषयलाई गृह मन्त्रालय र नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

“संक्रमणकालीन न्यायको बिषय अत्यन्तै महत्वपूर्ण र गम्भीर बिषय हो संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई पूर्णता दिएका छौँ, कानूनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुन सकेको थिएन, यसमा म प्रष्ट छु, त्यसका लागि म काम गर्न तयार छु, त्यसका लागि सहयोग पुग्नेगरी तपाईंहरुले काम गर्न सक्नुपर्छ, ज्यादै ठूलो समस्या छ, यौनजन्य हिंसाका पीडितहरु धेरै छन्, बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप पनि हुँदैन र क्षमतादान पनि हुँदैन, सरकार यस बिषयमा अगाडि बढेको छ, ” उनले भने,“ संक्रमणकालीन न्यायका बिषयलाई सरकारले सम्बोधन गर्छ ।”

उनले संक्रमणकालीन न्यायको बिषयलाई सम्बोधन गर्ने कुरा कुनै पनि बहानामा ढिलाई गर्न नहुने बताए ।

“संक्रमणकालीन न्यायको बिषयमा ढिला भयो भने हामी पछि पर्छौँ, दुई आयोगका पदाधिकारी सिफारिसका लागि सिफारिस समिति अगाडि बढिसकेको छ,” लेखकले भने, “ यसपटक बनेको ऐनमा पीडित समन्वय इकाई भनेर गठन भएको छ, नियमावलीमा पनि थप स्पष्ट पारेर पीडितको प्रतिनिधित्व गराउन सकिन्छ, पीडितको सहभागिता विना संक्रमणकालीन न्याय अगाडि बढ्न सक्दैन, पीडित र आयोगलाई जोड्ने गरि हामी अगाडि बढ्न सक्छौं।”

 

उनले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव १३२५ र १८२०ले द्वन्दपीडित महिलाहरूको सुरक्षा र सहभागिता निर्णयका प्रत्येक तहमा सुनिश्चितता हुनुपर्नेमा जोडदिए ।

 

“संक्रमणकालीन न्यायको बिषयलाई प्राथमिकताका साथ अगाडि बढ्छन्,” उनले भने, “द्वन्दपीडितहरुका सामाजिक संस्था र मानव अधिकार आयोगले यो क्षेत्रमा राम्रो काम गरेको छ ।”

पाकिस्तानसँगको युद्धमा नेपालले भारतलाई साथ दिनुपर्छ: सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादविरुद्ध थालेको लडाइँमा नेपालले साथ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले आतंकवाद साझा चुनौती भएको भन्दै त्यसविरुद्धको लडाइँमा जुनसुकै देशलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध सुरु गरेको कारबाहीले नेपाल पनि जोखिमयुक्त अवस्थामा पुगेको छ । यस्तो जटिल परिस्थितिको सामना गर्न सरकारले पूर्वतयारी गर्नुपर्छ,’ उनले भने, ‘आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि हामीले साथ दिनुपर्छ ।’

त्यसका साथै उनले धितो बोर्डका अध्यक्षसम्बन्धी कमिसन प्रकरणमा छानबिन गर्न माग गर्दै अख्तियार प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव दिए।

६५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै ज्येष्ठ नागरिक

कैलाली  । बिहान करिब साढे ११ बजेतिर धनगढीको मुख्य सडकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेका विद्यार्थीको भीड थियो । १६र१७ वर्षे किशोरकिशोरीहरुको भीडमा एक वृद्धको उपस्थितिले सबैको ध्यान तान्यो ।
विद्यालयको पोसाक लगाएका, हातमा प्रवेशपत्र बोकेका ती वृद्ध धनगढी उपमहानगरपालिका–३, विशालनगरका ६५ वर्षीय गणेश बहादुर सिंह थिए । टाइ–बेल्ट, कालो जुत्तामा चिटिक्क परेका उनको जोश कुनै किशोरावस्थाको विद्यार्थीभन्दा कम थिए ।

उनी पनि तिनै किशोरकिशोरीहरुसँग कक्षा १२ को परीक्षा दिएर फर्किरहेका थिए । उनी नेपालमा १२ को परीक्षा दिने सबैभन्दा पाका उमेरका विद्यार्थी हुन् ।

‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने जस्तै पूर्व शिक्षक सिंहको अध्ययनप्रतिको इच्छा उमेरले रोकेन । २०१७ सालमा बझाङको बुंगल नगरपालिका ९साविक कफलसेरी गाविस–४० मा जन्मिएका सिंहको बाल्यकालदेखि नै पढ्ने ठूलो इच्छा थियो । २०३६ सालमा स्थानीय सरस्वती हाई स्कुल, विजगडाबाट एसएलसी पास गरे पनि पारिवारिक जिम्मेवारीले उनलाई अगाडि बढ्न दिएन ।

चार बहिनी र पाँच भाईमध्ये जेठा सन्तान भएकाले घरधन्दा उनकै काँधमा पर्‍यो । दुई वर्षसम्म व्यवसायमा लागे । तर मन शान्त भएन । ‘पढ्न त पाइएन, तर अरूलाई पढाउँछु भनेर व्यापार छोडें,’ सिंह सम्झिन्छन् । ०३९ सालमा गाउँकै महादेव निमाविबाट शिक्षण पेसा सुरु गरे । ३६ वर्षको शिक्षकीय सेवामा १२ वर्ष बालकोटको माझिवन विद्यालय र १२ वर्ष दुर्गा आधारभूत विद्यालय, चिल्ठामा प्रधानाध्यापकका रूपमा काम गरे । २०७७ सालमा दुर्गा आधारभूतबाटै सेवानिवृत्त भए।

सिंह अहिले सेवानिवृत्त जीवनलाई विश्राम होइन, पुनः अध्ययनको अवसरका रूपमा उपयोग गरिरहेका छन् । ‘शिक्षक भएर अरूलाई सिकाएँ, अब आफ्नै सिक्ने पालो आयो’, उनले मुस्कुराउँदै भने । २०४६ सालमा सिंहको परिवारमा कानुनी झमेलाले ठूलो तनाव ल्यायो । विवाद अदालतसम्म गयो । झण्डै आठ वर्षसम्म मुद्दा चल्यो। यसले सिंह परिवारको समय र पैसा दुवै गुम्यो । त्यहीबेला उनलाई लाग्यो ‘हामीले कानुन नबुझेकै कारण यो सब भयो ।

त्यसपछि उनले अठोट गरे ‘अब कानुन बुझेर मात्र होइन, कानुन विषय पढेरै जान्छु ।’ तर अठोट लिए जस्तो पढ्न सजिलो थिएन । समय व्यवस्थापन उनका लागि ठूलो चुनौती थियो । बझाङमा रहँदा कानुन पढ्न सम्भव थिएन । २०७७ मा रिटायर्ड भएपछि परिवारसहित कैलाली सरे । २०८१ सालमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपिए० मा कक्षा ११ मा कानुन विषय लिएर भर्ना भए । उनी नियमित रुपमा झोला र किताब बोकेर विद्यालय उपस्थित भए ।

‘मैले राम्रै अंक ल्याएर ११ कक्षा पास गरेँ,’ उनी सुनाउँछन् । विद्यालय पोसाकमा देख्दा सुरुमा अरू विद्यार्थी, शिक्षक सबै अचम्म मान्थे । कतिले हाँसे, मजाक पनि उडाए । तर त्यो कुराले सिंहको मनोबल घटेन । परिवारमा पनि छोरा र बुहारीले पढ्न हौसला दिए । श्रीमती भने सुरुमा खुसी नभएको उनी बताउँछन् ।

जीवनको उत्तरार्धमा भए पनि आफ्नो कानुन पढ्ने सपना पूरा भएकामा सिंह मख्ख छन् । कानुन सबैले बुझ्नुपर्ने र कानुनको अनविज्ञता कसैलाई क्षम्य नभएको उनी बताउँछन् । भन्छन्,‘यो उमेरमा पढेर वकिल त नबनुला तर कानुन सम्बिन्धी बुझेका कुरा सबैलाई सिकाउने छु ।’

कमिला तस्करी गर्न खोज्ने किशोरकिशोरीलाई सात हजार डलर जरिवाना

एजेन्सी । केन्याको एक अदालतले बेल्जियमका दुई किशोरसहित चार जनालाई हजारौँ जीवित कमिलालाई देशबाहिर तस्करी गर्ने प्रयास गरेको आरोपमा सात हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ । केन्याली वाइल्डलाइफ सर्भिस (केडब्लुएस) ले चारै जनालाई ‘बायो पाइरेसी’मा संलग्न भएको आरोप लगाएपछि यो मुद्दाले निकै चर्चा पाएको छ ।

बेल्जियमका १८ वर्षीय डेभिड लोर्नोय र सेप्पे लोडेविजक्स, भियतनामका दुह हुङ गुयेन र केन्याका डेनिस न्गाङ्गाले कमिलाहरू राखेको स्वीकारेका छन् तर तिनीहरू तस्करी गर्न लागिएको भने नभएको बताएका छन् ।

राजधानी नैरोबीबाट करिब १६० किलोमिटर टाढा रहेको नाकुरु काउन्टीमा दुई हजार २४४ वटा ट्युबमा प्याक गरिएका पाँच हजार रानी कमिलासहित लोर्नोय र लोडेविजक्क्सलाई पक्राउ गरिएको हो ।

एएफपीले देखेको आरोपपत्रअनुसार दुह र एनगाङ्गामा कपासको ऊनले भरिएको १४० वटा सिरिन्ज र दुई कन्टेनरमा कमिलाहरू राखिएको अवस्थामा फेला परेका थिए।

यी दुई मुद्दा छुट्टाछुट्टै थिए तर चारै जनाविरुद्ध एकसाथ मुद्दा चलाइएको थियो । बेल्जियममा लोर्नोयलाई ‘कमिला प्रेमी’ को रूपमा वर्णन गरिएको छ भने उनले घरमा कमिलाका समूहहरूको भण्डारण गरेका छन् । उनी ‘कमिला र कमिला पालन’ नामक फेसबुक समूहको सदस्य हुन् ।

उनले अनुसन्धानकर्ताहरूलाई कमिलाको ओसारपसार गैरकानुनी हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्।

नैरोबीको प्रहरीले बेल्जियनहरूले लगेको कमिलाको मूल्य १० लाख शिलिङ (सात हजार ७४० अमेरिकी डलर) मूल्य बराबरको रहेको बताएको छ ।

अदालतको प्रतिवेदनअनुसार उक्त चोरीमा दुर्लभ ‘मेसोर सेफालोट्स’ प्रजातिको कमिला पनि समावेश छ, जसमध्ये एक रानी कमिला हाल कम्तीमा ९९ अमेरिकी डलरमा बिक्री भइरहेको छ ।

अनुमति बिना कुनै पनि वन्यजन्तुको नमूना वा ट्रफी राख्नुलाई केन्याको कानुनले एक आपराधिक घटना मान्छ । घटनामा संलग्न व्यक्तिहरूलाई सामान्यतया १० हजारसम्म जरिवाना र पाँच वर्ष वा त्यो भन्दा बढी जेल सजाय हुनसक्छ ।

अदालतले अन्ततः चारै जनालाई १० लाख शिलिंग (सात हजार ७४० अमेरिकी डलर) जरिवाना वा भुक्तानी गर्न नसकेमा एक वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले लोर्नोय र सेप्पेलाई ‘सामान्य शिकारीको रूपमा नदेखिने’ तर उनीहरू कानुनबारे अनभिज्ञ रहेको पाइएको पनि बताएको छ।

केडब्लुएसले उनीहरूको कार्य ‘वन्यजन्तु अपराध मात्र नभई जैविक चोरी’ पनि भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

“उनीहरूले कमिलालाई दुर्लभ कीराप्रजातिको माग बढिरहेको युरोप र एसियाका उच्च मूल्यका विदेशी घरपालुवा जनावरको बजारमा तस्करी गर्ने उद्देश्य राखेको थिए,” विज्ञप्तिमा भनिएको छ।

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाडौं : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत-पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो। सिंहदवारमा बुधबार गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो।

गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने विषयमा छलफल भएको बताए। ‘सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन मन्त्रीज्युले निर्देशन दिनुभएको छ,’ उनले भने।

भारतले पाकिस्तानमाथि आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा परी कम्तीमा ४६ जना घाइते भएको विभिन्न एजेन्सीहरूले उल्लेख गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुरक्षा परिषद्को बैठक बोलाएका छन्। नेपालको सुरक्षा रणनीतिका विषयमा छलफल गर्न उनले सुरक्षा परिषद्को बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरवारमा बसिरहेको छ।

 

एमालेले गर्यो पूर्व मन्त्रीसहित दुई नेतालाई कारबाही

काठमाडौं । युवा संघको अधिवेशनमा हातपात र तोडफोड गरेको आरोपमा नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका ताप्लेजुङ पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ । उनीसँगै युवा नेता तथा प्रदेश विभाग सदस्य मणि पोमु पनि कारबाहीमा परेका छन् ।

कोशी प्रदेश कमिटीको मंगलवार विराटनगरमा बसेको बैठकले दुवै नेतालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रदेश इन्चार्ज शेरधन राईले बताए । उनीहरुमाथि युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोडको आरोप छ ।

गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा दुई पक्षबीच विवाद भएको थियो । नेतृत्व चयनपछि पोमुको नेतृत्वमा आक्रमण भएर केही घाइते समेत भएको बताइएको छ ।

सो क्रममा अध्यक्ष मण्डको अध्यक्ष युवा संघ केन्द्रीय कमिटी सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि हातपात भएको थियो । पोमुको नेतृत्वमा २० जनाको समूह बन्दसत्रको हलभित्र छिरेर ढोको थुनेर आक्रमण गरेको आरोप छ ।

सो क्रममा अध्यक्ष मण्डको अध्यक्ष युवा संघ केन्द्रीय कमिटी सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि हातपात भएको थियो । पोमुको नेतृत्वमा २० जनाको समूह बन्दसत्रको हलभित्र छिरेर ढोको थुनेर आक्रमण गरेको आरोप छ ।

सो घटनामा पोमु प्रत्यक्ष संलग्न रहेको र साम्सोहाङले निर्देशन दिएको आरोप छ । घटनाबारे छानवीन गर्न प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरिएको राईले बताए ।

सो समितिको प्रतिवेदनका आधारमा थप निर्णय हुने उनको भनाइ छ । अहिले साम्सोहाङ प्रदेश सल्लाहकार परिषद सदस्य र पोमु पर्यटन विभागको सदस्य छन् ।

 

खोज्नुहोस