अब आतंकी हमला युद्ध मानिनेछ : भारत

द एभरेष्ट पोष्ट
२७ वैशाख २०८२ १७:५७
अब आतंकी हमला युद्ध मानिनेछ : भारत

 काठमाडौं । भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ।

उच्च सरकारी अधिकारीहरूको भनाइमा अबका यस्ता कुनै पनि आक्रमणको जवाफ भारतले युद्धस्तरमै दिनेछ। भारत–पाकिस्तानबीचको चुलिँदो तनावबीच भारतको यो चेतावनी आएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आतंकी गतिविधिमाथि स्पष्ट ‘रेडलाइन’ को घोषणा गर्दै यस्ता हमलाको योजना बनाउने र कार्यान्वयन गर्नेहरूलाई कडा प्रतिकार गरिने सन्देश दिएको छ।

भारतले आतंकवादसँग जोडिएका गतिविधिका लागि पाकिस्तानलाई निरन्तर जिम्मेवार देखाउँदै आएको छ।

बिहीबार पाकिस्तानले भारतका जम्मु–कश्मीरदेखि गुजरातसम्मका २६ स्थानमा ड्रोन हमला गरेपछि भारतले जवाफी कारबाहीस्वरूप पाकिस्तानका चारवटा एयरबेसमा हवाई आक्रमण गरेको थियो।

यसअघि २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकी हमलामा सीमा पारका आतंकी समूहको संलग्नता देखिएपछि भारतले पाकिस्तान र पाकिस्तानअधिकृत कश्मीर (पीओके) मा रहेका आतंकी लन्चप्याडहरूमा सटीक हमला गरेको थियो।

यही सन्दर्भमा प्रधानमन्त्री मोदीले दिल्लीस्थित निवासमा भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, चीफ अफ डिफेन्स स्टाफ र तीनवटै सेनाका प्रमुखहरूसँग आपतकालीन बैठक गरेका थिए।

पाकिस्तानले शुक्रबार राति गरेको ड्रोन हमलामा भारतीय सेना अनुसार विमानस्थल, एयरबेस र अन्य महत्वपूर्ण संरचनामा क्षति पुर्‍याउने प्रयास गरिएको थियो, तर भारतीय सुरक्षाफौजले ती प्रयास विफल बनाएको जनाएको छ।

बिहीबार साँझ जम्मु क्षेत्रमा पाकिस्तानले प्रहार गरेका आठवटा क्षेप्यास्त्रसमेत भारतीय हवाई सुरक्षा प्रणालीले नष्ट गरेको थियो।

यता, पाकिस्तानी विदेशमन्त्री इस्हाक डारले भनेका छन्, ‘भारतले आक्रमण रोकेको खण्डमा पाकिस्तान तनाव कम गर्न तयार छ, तर थप हमला भए जवाफ दिइनेछ।’ उनले यो कुरा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको संवादपछि बताएका हुन्।

भारत–पाकिस्तानबीचको पछिल्लो तनावले दक्षिण एशियाली क्षेत्रमै चासोको विषय बनिरहेको छ। दुवै देश परमाणु शक्ति सम्पन्न रहेकाले यस किसिमको सैन्य तनाव दीर्घकालीन रुपमा बढ्नु क्षेत्रीय स्थायित्वका लागि चिन्ताको विषय भएको विश्लेषकहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस