भारतीय आक्रमणमा हाम्रा २६ नागरिक मारिए, ४६ जना घाइते छन्: पाकिस्तान

एजेन्सी : भारतले सोमबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पिओके) मा गरेको सैन्य कारबाहीमा २५ पाकिस्तानी नागरिकको मृत्यु भएको छ। पाकिस्तान सेनाले भारतको सैन्य कारबाहीमा कम्तीमा २६ नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जनाएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जेनरल अहमद शरीफ चौधरीले एक पत्रकार सम्मेलनमा भारतले पिओके र पाकिस्तानमा गरी छ स्थानमा हमला गरेको जानकारी दिँदै यो कारबाही ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ भएको दाबी गरे।
भारतले भने आफ्ना कारबाहीहरूलाई ‘संयमित, सटीक र गैर-उत्तेजक’ बताएको छ। भारतका विदेश सचिव विक्रम मिश्रीले यो कारबाही सीमापार आक्रमणको प्रतिकारस्वरूप गरिएको बताए। उनले भारतको लक्ष्य पाकिस्तानसँग युद्ध गर्नु नभएर आतंकवादी पूर्वाधार नष्ट गर्नु मात्र भएको तर्क गरे।
पाकिस्तानी पक्षबाट गरिएको जवाफी कारबाहीका कारण भारत प्रशासित कश्मीरमा पनि सर्वसाधारणको ज्यान गएको खबरहरू आएका छन्। सीमावर्ती क्षेत्रमा भीषण गोली हानाहान भइरहेको र दुवै देशका सुरक्षाकर्मीहरू पूर्ण तयारी अवस्थामा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।
यसैबीच, अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन र युरोपेली संघले परिस्थितिलाई थप बिग्रन नदिन कूटनीतिक पहल अघि बढाउने बताएका छन्।