सुविधा सम्पन्न बसमा लगानी बढाउँदै सुन्दर सुदुरपश्चिम यातायात

कैलाली । सुन्दर सुदुरपश्चिम यातायात प्रालीले स्तरीय एसी सहितको बस सेवा थप गर्ने अभियानलाई जारी राखेको छ ।
सार्वजनिक यातायातलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित अगाडि बढेको प्रालीले देशका विभिन्न शहरलाई यातायातको माध्यमबाट जोड्ने काम गरिरहेको छ ।
हाल ६१ जिल्लाका सडकसम्म प्राली अन्तर्गतका बसहरुले यात्रुलाई सेवा प्रदान गरिरहेका छन् । धनगढी काठमाडौंदेखि देशका अन्य शहरहरुलाई स्तरीय एसी सहितको बस मार्फत जोड्न प्राली सफल भएको छ ।
प्रालीले अन्य बस सेवा सरह नेपालकै उत्कृष्ट स्तरको बससम्म सञ्चालनमा ल्याइसकेको छ । कम्पनीसँग ४२ बर्षको अनुभव छ । रुपान्तरित प्राली भन्दा अगाडि समितिबाट सेवा प्रवाह हुँदै आइरहेको थियो । राज्यको नीति अनुसार २०७६ मा कम्पनी प्रालीमा रुपान्तरण भएर प्रालीले व्यवसायीलाई सेयर सदस्यका रुपमा जोडेर सेवा प्रदान गरिरहेको छ । प्राली अन्तर्गत हाल झण्डै साढे ५ सय बस सञ्चालनमा रहेको अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए ।
‘हामीले पछिल्लो समय स्तरीय बस सेवा थप गर्ने अभियानलाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘यात्रुले सर्वसुलभ भाडादरमा स्तरीय बसबाट सेवा लिन पाउने वातावरण बनाउन हामी सफल भइरहेका छौैं ।’
व्यवसायीले स्तरीय बसमा लगानी बढाइरहेपनि सवारी गुड्ने सडकको अवस्था भने दयनीय रहेको बताउँदै उनले सार्वजनिक यातायात र सडक राज्यको प्राथमिकतामा कहिल्यै पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । ‘सडकको दुर्दशा सबैलाई जानकारी नै छ । तरपनि हामीले स्तरीय बसमा लगानी बढाउने अभियान जारी राखेका छौं । आगामी दिनमा पनि स्तरीय बस सेवा सञ्चालनमा अभियानलाई निरन्तरता दिनेछौं ।’
प्रालीले सबै प्रकारका यात्रुहरुलाई मध्यनजर गर्दै सेवा सञ्चालन गरिरहेको छ । सामान्य बसदेखि अति स्तरीय बसहरु सञ्चालनमा छन् । सोफा सिटमा बसेर यात्रुले यात्रा गर्न सक्ने वातावरण बनेको छ । पछिल्लो समय यात्रुहरुले आफ्नो चाहना अनुसारको बस छनोट गरेर यात्रा गर्नसक्ने वातावरण बनेको अध्यक्ष सापकोटाले बताए ।
आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुलाई स्तरीय सेवा प्रदान गर्न प्रालीका बसहरुले योगदान गरिरहेको अध्यक्ष सापकोटाले बताए ।
प्रालीले धनगढीलाई केन्द्रमा राखेर आसपासका जिल्लाहरुबाट समेत देशभरका विभिन्न शहर जोड्ने गरी बससेवा थप गरिरहेको छ । धनगढीलाई देशको राजधानी काठमाडौंसम्म जोड्ने ‘महेन्द्र राजमार्ग’को निर्माण अवस्थादेखि यातायातका साधनहरु सञ्चालन शुरुवातसँगै २०४० साल चैत्र १४ गते सुदुरपश्चिम यातायात ब्यबसायी संघको स्थापना भएको थियो । २०७६ साल जेठ १९ गते संग रुपान्तरित भई सुन्दर सुदुरपश्चिम यातायात प्रालीमा दर्ता भएको हो ।
समयको माग एवं सडक विस्तारको क्रम तथा लगानी कर्ताहरुको बढ्दो अभिरुचिसँगै आफ्नो सेवालाई विस्तार गर्न प्राली अग्रसर बनिरहेको अध्यक्ष सापकोटा बताउँछन् ।
प्रालीले प्रधान कार्यालय धनगढी लमा राखी सुदुरपश्चिम प्रदेशलार्ई केन्द्रविन्दु बनाई देशको पूर्व मेचीदेखि पश्चिम महाकालिसम्मका मुख्य तथा सहायक राजमार्गका साथै ग्रामीण कच्ची सडकहरुमा लामो तथा छोटो दुरीका यातायात सेवा प्रदान गरिरहेको छ ।
वातानुकुलित एसी स्तरीय सेवा, माइक्रो बस, भिडियो तथा स्तरिय एवं मध्यम स्तरीय मिनी, द्रुत डांक सेवा, नन् स्टप सेवा लगायत दिवा तथा रात्री सेवा र ग्रामीण कच्ची सडकहरुका लागि स्थानीय सेवाहरु समय सापेक्ष बस तथा जिप सेवा कम्पनीले सञ्चालन गरेर यात्रुलाई निरन्तर सेवा प्रदान भइरहेको अध्यक्ष सापकोटाले बताए ।
शहरमुखी यातायात सेवा मात्रै संचालन नगरी प्रालिले ग्रामीण भेगदेखी देशको राजधानी सम्म स्तरीय बससेवा संचालन गरिरहेको बताउदै अध्यक्ष सापकोटाले सुदुरका अन्य पहाडी जिल्लाबाट समेत प्रदेश र देशको राजधानी सम्म स्तरीय बससेवा संचालना रहेको बताए ।
प्रालीले काठमाण्डौ लगायत पोखरा, बुटवल, बिराटनगरसम्म स्तरिय सोफा एसी बस सेवा संचालनमा ल्याइसकेको बताउदै अध्यक्ष सापकोटाले निकट भबिस्यमा नै अन्य स्थानहरुमा समेत स्तरिय बस सेवा संचालनमा ल्याइने बताए । “स्तरीय सेवा हाम्रो चाहना, सुरक्षीत यात्रा हाम्रो कामना” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै प्रालीले आगामी दिनमा अझै स्तरीय सेवा प्रवाह गर्ने लक्ष्य लिएको अध्यक्ष सापकोटाले बताए ।