गेटा मेडिकल कलेजका अर्बौंका संरचना अलपत्र
 
                                 कैलालीः सरकारी पक्षको चरम बेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा नआउँदै अन्योलग्रस्त बन्न पुगेको छ। मेडिकल कलेज सञ्चालनमा नआउँदै तीन जना प्रमुख फेरिएका छन् भने करार र ज्यालादारीमा भर्ना गरिएका ६३ जना कर्मचारी गत पुसदेखि करार अवधि थप नहुँदा बिनापारिश्रमिक नै काम गरिरहेका छन्।
अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत नभएकाले सेवा विस्तारमा समस्या भएको बताइएको छ। मेडिकल कलेजका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम भने छ अर्ब ५८ करोड रुपियाँ खर्चेर पूरा भइसकेको छ तर सरकारले यसको सञ्चालन निर्देशिका स्पष्ट नगर्दा कहिले हुन्छ भन्ने अझै टुङ्गो लागेको छैन। सरकारले २०७३ सालमा गेटा मेडिकल कलेज सञ्चालन गर्ने भनेर सुरु गरेको अस्पतालको भौतिक संरचना ५१ हेक्टर क्षेत्रफलमा फैलिएको र कलेजका लागि आवश्यक पर्ने ४२ वटा संरचना तयारी अवस्थामा छन्।
राजनीतिक दाउपेचका कारण यो अस्पताल सुरु भएयता तीन जना प्रमुख फेरिसकिएका छन्। गत फागुनयता प्रमुख नहुँदा करार र ज्यालादारीमा काम गरिरहेका ६३ जना कर्मचारीको नियुक्ति थप नहुँदा तलब खानबाट वञ्चित भएको सूचना अधिकारी नैनसिंह कार्कीले बताए। कलेज प्रशासन र अस्पताल भवन स्वास्थ्य मन्त्रालय मातहत सञ्चालन गरिएको गेटा अस्पताललाई हस्तान्तरण गरिए पनि बाँकी संरचना अहिले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको छ। यसलाई पूर्वाधार विकास निर्माण समितिले रेखदेख गरिरहेको छ।
केही दिनअघि मात्र कैलाली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षभित्र सञ्चालन हुने गरेर प्रव्रिmया अघि बढेको बताए। मेडिकल कलेज सञ्चालन गर्ने भनेर तयार भएका संरचनालाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन भनेर तयार पारिएको विधेयक राष्ट्रिय सभाबाट पारित भएर अहिले प्रतिनिधि सभामा विचाराधीन अवस्थामा रहेको छ।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     