कैलाली नपुग्दै सुदूरपश्चिममा दलको नेता फेर्न प्रचण्डले दिएको निर्देशन अलपत्र

कैलाली । १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो ।

आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि अन्तिम पल्ट बुधवार उनले सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए ।

फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड एक घण्टाको लागि मात्रै काठमाडौँ आएका थिए ।

प्रचण्डले पुरानै शैलीमा ‘म २० गते कैलाली पुग्छु म पुग्नुभन्दा पहिल्यै नै निर्णय कार्यान्वयन गराउनु होला’ प्रचण्डले सबैलाई साथमा राखेर फेरी निर्देशन दिए । प्रचण्डले यस अघि नै भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए ।

माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न मङ्गलवार कैलाली पुग्ने आफ्नो कार्य तालिका सुनाउँदै उनले त्यो बेलासम्म समस्या समाधान गर्न सबै सांसदहरूलाई बोलाएरै निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन भएन । आफूले भनेजस्तै गरी प्रचण्ड अहिले कैलाली पुगिसकेका छन् । तर, दलको नेताको विवाद मिलेको छैन। ‘अध्यक्ष कमरेडले २० गतेभित्र विवाद मिलाउन भन्नु भएको थियो तर, विवाद अझै मिलेको छैन ’ माओवादीका एक सांसदले भने ‘कसरी विवाद मिलाउने भन्ने विषयमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन ।’

संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५्५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । यस्तो अवस्थामा केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आइरहेको छ ।

प्रचण्डले आफै बोलाएर २० गतेभित्रै भट्टलाई नेता बनाउन भने पनि कुन विधिले बनाउने भन्ने विषय भने अन्योलमा पर्दा प्रचण्डले अन्तिम पल्ट दिएको निर्देशन पनि उल्लङ्घन भएको छ ।

थारु राष्ट्रिय मुक्ति मोर्चाको उद्घाटन हुँदै

माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न टिकापुरमा आज सुरु हुँदै छ । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी छन् ।

उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, राना थारु तथा कठरिया थारु समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल लगायतका पार्टी पदाधिकारी तथा नेताहरू सहभागी हुने छन् ।

एनएसएलमा धनगढी एफसीबाट ओलावालेको निरन्तरता

धनगढी । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि नाइजेरीयन फरवार्ड आफिज ओलावालेलाई पुनः टोलीमा अनुबन्ध गरेको छ।

ओलावाले यसअघि एनएसएलका दुई संस्करणमा धनगढी एफसीबाट खेल्दै टोलीलाई दुवै सिजनको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। भारत र बंगलादेशका शीर्ष लिगमा समेत अनुभव हासिल गरिसकेका ३० वर्षीय ओलावालेले नेपालका अधिकांश शीर्ष क्लबबाट खेलिसकेका छन्। उनको आगमनले धनगढी एफसीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

धनगढी एफसीले यसअघि नै लेबनानी फरवार्ड अहमद हजाजीलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। यसबाहेक, देवेन्द्र तामाङ, जेजस काकी, पासाङ लामा, विवेक पौडेल, विजयारथ शेख, रुद्र फुयाँल, रामचन्द्र वादी, शांतिलाल र अशोक खवासजस्ता खेलाडी टोलीमा रहेका छन्। यस सिजनका लागि धनगढी एफसीले स्पेनका जुआन म्यानुएल मार्टिनेज सायेजलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

युइएफए प्रो लाइसेन्स प्राप्त मार्टिनेजले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशका क्लबहरूलाई प्रशिक्षण गराइसकेका छन्। भने नेपाली क्रिकेट टोलिका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी लाई ब्राण्ड एम्बासडर नियुक्त गरिसकेको छ । नाइजेरीयन फरवार्ड ओलावालेले लगातार तेस्रो पटक धनगढी एफसीबाट खेल्न पाउँदा खुशी व्यक्त गरेका छन्।

उनले भने, ‘हामी दुई सिजन उपाधिको धेरै नजिक पुगेर चुकेका थियौं। अधुरो सपना पूरा गर्न यसपटक टोलीसँग पुनः जोडिएको छु।’ धनगढी एफसीका अध्यक्ष सुवास शाहीले ओलावाले टोलीका मुख्य पहिचान भएकाले उनको आगमनले क्लबलाई थप मजबुत बनाउने बताएका छन्।

उनले भने, ‘नेपाली माटोमा राम्रो सँग भिजेका र नेपाली फुटबलमा गोलमेसिनका रूपमा चिनिएका ओलावालेले यस सिजन पनि समर्थकहरूको मन जित्ने विश्वास लिएका छौं।’ धनगढी एफसीले चैत १६ गते सुरु हुन गईरहेको एनएसएलको‌ तेस्रो संस्करण‌का लागि बलियो तयारी गरिरहेको छ। विदेशी तथा अनुभवी खेलाडीको आगमनले क्लबलाई उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ।

‘ह्याकरवन एम्बास्डर वर्ल्डकप : क्वाटरफाइनलबाट बाहिरियो नेपाल

काठमाडौं । विश्वकै प्रतिष्ठित ह्याकिङ प्रतियोगिता ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२४’ मा नेपाली टिम क्वाटरफाइनलबाट बाहिरिएको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ह्याकरवनले नेपाल प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो ।

यसअघि, नेपाली टिमले बेलायतलाई पराजित गर्दै शीर्ष १६ अर्थात् क्वाटरफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अब सेमिफाइनलमा नेदरल्यान्ड्स र स्पेन तथा ग्रीस र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टिमहरू फाइनल चरणमा आमनेसामने हुनेछन् ।

ह्याकरवन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिमले विभिन्न सिस्टममा रहेका कमजोरी (बग) पत्ता लगाउने प्रतिस्पर्धा गर्छन् । जुन टिमले तोकिएको समयसीमाभित्र बढी कमजोरी पहिचान गर्छ, त्यसकै अंक बढी रहन्छ । अन्ततः सर्वाधिक अंक प्राप्त गर्ने टिम विजेता घोषित हुन्छ ।

नेपालको टिममा रहेका ह्याकरहरू:

आनन्द ढकाल, आकाश हमाल, सन्दीप ओली, कुशल ढकाल, प्रशान्त भट्टराई, वैभव आनन्द झा, खगेश्वर जोशी, अविरल श्रेष्ठ, आयुष श्रेष्ठ, विवेक उप्रेती, विवेक ढकाल, रिकेश बानियाँ, विशाल श्रेष्ठ, मिलन कटुवाल, प्रणव प्रणय, विश्वदीप तामाङ, R3dpars3c, 20_root, मधुसूदन आचार्य र प्रसिद्ध भुसाल ।

अमेरिकाबाट एक नेपाली निष्कासित

काठमाडौं : अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा अवैध ढंगबाट अमेरिका पुगेका एक युवकलाई अमेरिकाले निष्कासन गरेको हो ।
उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए। तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले उनको कागपत्रमा कैफियत फेला पारेपछि उनलाई पीआर दिन अस्वीकार गरेको थियो। पीआर दिन अस्वीकार गरेपछि अदालतले तत्काल अमेरिका छाड्ने आदेश दिएको थियो तर केसी थरका उनले अदालतको आदेश अवज्ञा गर्दै गैह्रकानुनी ढंगले काम गर्दै आएका थिए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई निकाल्न गरेको प्रयासमा केसी केहि समय अगाडि समेत पक्राउ गरे। त्यहाँको अध्यागमनले उनीमाथि थप अनुसन्धान गर्दै अमेरिकाबाट निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काएको स्रोतले बताएको छ।

 

ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने

वासिङ्टन, १९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएको छ । उक्त अवसरमा उनले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

सन् २०२० को चुनावमा पराजयपछिको चार वर्षपछि अमेरिकी संसद भवनमा हुने उनको यो पहिलो सम्बोधन हो ।

रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो ४३ दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी एक हजार ४१९ दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ ।

अलाबामाका सिनेटर तथा पूर्व फुटबल प्रशिक्षक टोमी ट्युबरभिलले इन्स्टाग्राममा भनेका छन्, “राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको अहिलेसम्मको जितलाई उजागर गर्ने र आगामी चार वर्षका लागि ‘गेम प्लान’ प्रस्तुत गर्नेछन् ।

“एउटा कुरा निश्चित छ, यो पूर्व राष्ट्रपति जो बाइडनको नेतृत्वमा विगत चार वर्षमा हामीले भोगेको ‘जोकर शो’भन्दा धेरै फरक हुनेछ,” रिपब्लिकन सांसद ट्युबरभिलले भने ।

प्रतिविम्ब परिवर्तन

ट्रम्पले आफ्ना अर्बपति सल्लाहकार एलन मस्कसँग मिलेर राष्ट्रपतिको ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा कार्यान्वयन गर्न कडा र छिटो प्रयास गर्ने आशय देखाइसकेको छ, चाहे यसको अर्थ, उनको अधिकारको संवैधानिक सीमाको परीक्षण गर्नु वा सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाउनु नै किन नहोस्।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा संघीय निकायहरू विघटन गर्र्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने र क्युबाको ग्वान्टानामो बेस्थित अमेरिकी सैन्य शिविरमा कागजातविहीन आप्रवासीहरूलाई राख्न थालेका छन् ।

उनले क्यानडालाई गाभ्ने, आवश्यक परेको खण्डमा आर्थिक बल प्रयोग गर्ने र संयुक्त राज्य अमेरिकालाई बलियो बनाउन युरोपेली सङ्घ गठन गरिएको दाबीसमेत गरेका छन् ।

शुक्रबार ओभल अफिसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पको असाधारण चर्काचर्कीमा उनले आफ्ना युक्रेनी समकक्षीको आलोचना गरेको थियो यो अमेरिकी प्रतिविम्ब परिवर्तनको पछिल्लो उदाहरण मात्र थियो।

रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् ।

सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएको सामाजिक सञ्जाल फेसबुक मार्फत झाले जानकारी गराएका छन् ।

‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’, उनले लेखेका छन् ।

झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए । उनको अनुपस्थितिमा सह–प्रवक्ता प्रतिभा रावलाई जिम्मेवारी दिएका थिए ।

नेपाल र भारतबीच ‘वास’ क्षेत्रको विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौतापत्रको लक्ष्य छ ।’

भारत र नेपाल दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य लिइएको छ । सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदानप्रदान, बर्सातको पानी संकलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, भारत सरकारको जलशक्ति मन्त्रालयका सचिवद्वय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता छ । मन्त्री यादव भोलि मंगलबार स्वदेश फर्किने तालिका छ ।

रास्वपाका केन्द्रीय सदस्य अमेरिकामा पक्राउ, पार्टीको सूचीबाट हटाइयो नाम

१८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा नेता मनिष झाका अनुसार थापा हाल अमेरिकन इमिग्रेशनको हिरासतमा छन् ।

झाले जानकारी दिएअनुसार थापाले यसअघि नै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने निवेदन दिएका थिए । उनले कानुनी प्रक्रियाहरू समाधान नभएसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहने उल्लेख गर्दै निवेदन दिएका थिए ।

पार्टीको वेबसाइटबाट समेत केन्द्रीय सदस्यहरूको सूचीबाट थापाको नाम हटाइएको छ ।

अमेरिकाले सहयोग रोक्दा नेपालमा गैंडा गणना कार्यक्रम प्रभावित

चितवन – अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआडी) को सहयोग रोकिंदा नेपालमा यस वर्ष गर्ने गैंडा गणना कार्य नै प्रभावित भएको छ । गैंडा गणना कार्य दाताको भरमा मात्रै हुँदै आएकोले युएसएआइडीको सहयोग रोकिएसँगै संकटमा परेको हो । हरेक पाँच–पाँच वर्षमा गरिने गैंडा गणना यो वर्ष चैत ५ गतेदेखि २५ गतेसम्म गर्ने तयारी थियो ।

गैंडा गन्न चाहिने जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख सबै खर्च युएसएआइडीले बोहोर्ने सहमती थियो । तर सहयोग रोकिएपछि खरिद प्रक्रिया नै स्थगीत गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ ।

युएसएआइडीको जलजङ्गल परियोजनासँगै विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । तर झन्डै ५० लाखका उपकरण किन्ने सहयोग नै रोकिएपछि अरू निकाले पूरा खर्च व्यहोर्न नसक्ने बताएका छन् । चैतपछि गैंडा गन्न नसकिने भएकोले अब कार्यक्रम स्थगीत गर्नुको विकल्प नरहेको आचार्यले बताउनुभयो ।

यसपाली गैंडा र अर्को वर्ष बाघ गन्ने कार्यक्रम थियो । सहयोग रोकिंदा बाघ गन्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने चिन्ता रहेको विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले बताउनुभयो । यस अघि सन् २०२१ मा गैंडा गणना गर्दा नेपालमा सात सय ५२ वटा गैंडा भेटिएका थिए । सन् १९६५ मा सय वटामा झरेको गैंडाको सङ्ख्या त्यसपछिको संरक्षण प्रयासले बढेको हो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ ।

 

गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा इजरायलको रोक

तेल अभिभ । इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ। गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउने अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेकाले यो निर्णय गरिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावमा रमजान र यहूदी निस्तार चाडलाई समेट्न युद्धविरामको अवधि छ हप्ता बढाउने समावेश थियो । इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो।

तर हमासले युद्धविराममा अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गर्नु र हाल कायम सम्झौताको दोस्रो चरण लागू गर्नु रहेको बताएको छ। जनवरी १९ मा लागू भएको इजरायल र हमासबिचको गाजा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार समाप्त भएको थियो।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो जसमा लगभग १,२०० जनाको मृत्यु भयो र २५१ जनालाई बन्धक बनाइएको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजा पट्टीमा हवाई र स्थल अभियानमा लगभग १५ महिनाको अवधिमा कम्तीमा ४८,३६५ जनाको मृत्यु भएको थियो। – बीबीसी


हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या

काठमाडौं- हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो।

हिमानीको हातमा मेहेन्दी, घाँटीमा स्कार्फ र नाकबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनको शव शनिबार बिहान साम्पला बस स्ट्यान्ड नजिकै रोहतक(दिल्ली सडकको छेउमा सुटकेसमा फेला परेको थियो। हिमानी रोहतकमा सक्रिय कांग्रेस कार्यकर्ता थिइन् । उनी राहुल गान्धीको भारत जोडो यात्रामा पनि संलग्न थिइन् ।

पूर्व मुख्यमन्त्री भूपेन्द्र सिंह हुड्डाले हिमानीको हत्याको उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्। विजय नगरमा बस्ने हिमानीका छिमेकीहरूले हिमानी नरवाल घरमा एक्लै बस्ने गरेको बताएका छन्। आमा र कान्छो भाइ दिल्लीमा बस्छन्।

प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने- ‘युक्रेनी जनतामाथि अपमान भयो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् । युक्रेनी जनताले ट्रम्प प्रशासनको आलोचना गरेका छन् र ट्रम्पप्रति आक्रोशित भएको बताएका छन् । शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण वार्ताका क्रममा युक्रेनी जनताले आफूहरूमाथि अपमान भएको बताएका हुन् ।

जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रवार ह्वाइट हाउस छाडेपछि स्थिति अन्योलग्रस्त बनेको छ । ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए । अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिका अपमान गरेको आरोप लगाएपछि बैठकमा तनाब बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

तर चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँगको अन्तर्वार्तामा, युक्रेनीहरूले अमेरिकी पक्षले आफ्नो राष्ट्रपति र युक्रेनी जनताको मर्यादाको ‘अपमान’भनेकोमा असन्तुष्टि र निराशा व्यक्त गरे । ‘यो वास्तवमा हाम्रो व्यक्तिगत र हाम्रो इच्छा, हाम्रो स्वतन्त्रताको अपमान हो । तिनीहरूले हामीलाई जुन ठाउँबाट बाहिर निकालेका थियौँ त्यसैमा फर्काउन चाहन्छन् । हामी स्वतन्त्र छौँ, तीन वर्षदेखि यो प्रमाणित गर्दै आएका छौँ । हामीले हाम्रो रगतले, आफ्नो जीवनले यसको मूल्य तिरिरहेका छौँ । यसलाई वर्णन गर्न असम्भव छ, भावनाहरू केवल स्तरमा गइरहेका छन्,’ स्थानीय बासिन्दाले भने ।

‘मलाई लाग्छ कि सबै युक्रेनीहरूले भिडियो हेरे । किनभने हामी सबै वार्ताको आशामा थियौँ। द्वन्द्वको अन्त्यको लागि पर्खन चाहन्छौँ। हामी सबै हाम्रा आफन्त र साथीहरूको बारेमा चिन्तित छौँ। यो सामान्य भए पनि एक झटका हो । किनभने राष्ट्रपतिले हाम्रो देशको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँलाई अपमान गरिएको थियो,’अर्का युक्रेनी नागरिकले भने । तर राष्ट्रपति ट्रम्पले राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन्, तर आफूले शान्ति चाहेको बताएका थिए ।

नेपाललाई लागुपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, फागुन १७ गते। गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।

शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले अहिले सङ्घीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए । उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए।

पालिका र वडावडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे।

समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे।

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताए। अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्‍याउन जरुरी रहेको बताए । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे।

प्रेस चौतारी नेपालले जारी गर्याे १२ बुँदे धनगढी घोषणापत्र

धनगढी, १७ फागुन ।  प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सम्पन्न भएको छ ।  सङ्गठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आज सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहमा प्रमुख वक्ता नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट रहेका थिए ।  प्रदेश अधिवेशनमा श्रमजीवी पत्रकारको पेसागत हकहित तथा सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा गहन छलफल भएको छ। यस सँगै अधिवेशनले १२ बुँदे धनगढी घोषणापत्र–२०८१ पनि जारी गरेको छ ।

यस्ता छन् घोषणा पत्रका १२ बुँदा 

१) गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेश समिति, प्रदेशका नौ वटै जिल्ला समिति र प्रदेशबाट केन्द्रीय समितिमा गठबन्धनको तर्फबाट निर्वाचित केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाहरूबाट निर्वाचनमा सहभागी हुने सबैलाई यो अधिवेशन हार्दिक आभार प्रकट गर्दछ। साथै, विजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछ।

२) पछिल्लो समय आम सञ्चार माध्यमहरूमा लेखेकै भरमा पत्रकारमाथि विभिन्न दबाब सिर्जना गर्ने, चरित्रहत्या गर्ने तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भइरहेका हर्कतहरू बन्द गर्न यो सम्मेलन माग गर्दछ।

३) सुदूरपश्चिमको आम सञ्चार क्षेत्र व्यवस्थापन तथा नियमनका लागि सुदूरपश्चिम सरकारलाई यथाशीघ्र कानुन निर्माण गरी सञ्चार प्रतिष्ठान गठन गर्न माग गर्दछ।

४) स्थानीय पत्रकारितालाइ गुणस्तरीय र मर्यादित बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र मिडिया हाउसहरूको द्विगुणित विकासका लागि आवश्यक कदम चाल्न सरोकारवाला निकायसँग माग गर्दछ।

५) मिडिया क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्न चाहने सञ्चार कर्मीहरूका लागि सुदूरपश्चिम सरकारसँग छात्रवृत्तिको व्यवस्था गर्न अनुरोध गर्दछ।

६) पत्रकार महासङ्घमा शुद्धिकरणको अभियान थप सशक्त रूपमा अघि बढाउन माग गर्दछ।

७) सुदूरपश्चिमको स्थायी राजधानीको टुङ्गो लगाई पूर्वाधार निर्माणको काम थालनी गर्न अनुरोध गर्दछ।

८) कैलालीको गेटामा यथाशीघ्र मेडिकल विश्वविद्यालय स्थापना गर्न माग गर्दछ।

९) सुदूरपश्चिम प्रदेशका सरकारी तथा गैरसरकारी क्षेत्रका विज्ञापन सुदूरपश्चिमकै सञ्चार घरमार्फत प्रकाशन र प्रसारणका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायसँग अनुरोध गर्दछ।

१०) सुदूरपश्चिममा रहेका सञ्चार माध्यमहरूमा कार्यरत श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछ।

११) सुदूरपश्चिम क्षेत्रमा महिला पत्रकारहरूको सङ्ख्या न्यून देखिएकाले महिला पत्रकारहरूलाई उत्प्रेरित गर्न सरोकारवाला निकायसँग माग गर्दछ।

१२) सुदूरपश्चिमका अनुहार फेर्न सक्ने आयोजना पञ्चेश्वर, पश्चिम सेती, कर्णाली चिसापानीमा अध्ययन गरिएका जलविद्युत आयोजना, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण, दैजी(छेला तथा डुडेझारी औद्योगिक क्षेत्र स्थापना, महाकाली करिडोर र सेती करिडोर जस्ता ठुला निर्माण कार्यहरूलाई अघि बढाउन सरकारसँग माग गर्दछ।

घोषणापत्र लोकेश साउद (बैतडी),भोजराज जोशी (कैलाली), भानुभक्त आचार्य (कैलाली), लिली कुँवर (कञ्चनपुर) सहितको चार सदशिय समितिले तयार गरेको हो ।

हिमपहिरोमा पुरिएका ५५ मध्ये ४९ जनाको उद्धार, छ जना अझै बेपत्ता

एजेन्सी : उत्तराखण्डको चमोलीमा हिमपहिरोमा पुरिएका ५५ जनामध्ये ४९ जनाको उद्धार गरिएको छ।

हिजो राति ८ बजेसम्म ३३ जनाको उद्धार गरिएकोमा आज थप १६ जनालाई बाहिर निकालिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पुरिएकामध्ये छ जनाको खोजी कार्य जारी छ। दुई जना कामदारको मृत्युको खबर आए पनि आधिकारिक पुष्टि हुन नसकेको समाचारमा उल्लेख छ।

उद्धारमा सेना, आईटीबीपी, बीआरओ, एसडीआरएफ र एनडीआरएफका २०० भन्दा बढी सैनिकहरू संलग्न छन्। यो घटना बद्रीनाथबाट ३ किलोमिटर टाढा चमोलीको माना गाउँमा भएको हो।

उद्धार गरिकामध्ये २५ जना कामदारलाई मानाबाट जोशीमठ सैनिक अस्पतालमा ल्याइएको छ र बाँकीको उद्धार कार्य जारी छ।

प्रधानमन्त्री मोदीले उत्तराखण्डका मुख्यमन्त्री धामीबाट उद्धार कार्यको बारेमा जानकारी लिएका छन्। धामीले पनि आज बिहान घटनास्थलको भ्रमण गरेका थिए।

बिहार, उत्तर प्रदेश र उत्तराखण्डका ११-११ जना कामदार
हिमपहिरोमा फसेका ५५ जना कामदारमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्।

उत्तराखण्ड सरकारले जारी गरेको सूचीमा १३ जना मजदुरको नाम छ, तर उनीहरूको ठेगाना भने उल्लेख छैन।

शुक्रबार उद्धार गरिएका सबै कामदारहरूलाई माना गाउँमा रहेको आईटीबीपी क्याम्पमा ल्याइएको छ। त्यहाँ उनीहरूको उपचार जारी छ। चार जनाको अवस्था गम्भीर छ।

द्वन्द्वको पीडा भुल्न सिर्जना कर्म

बैतडी । द्वन्द्वमा आफन्त गुमाएको परिवार द्वन्द्वको पीडा भुल्न पुख्र्यौली पेसाको सिर्जना कर्ममा लागेको पाइएको छ । पञ्चेश्वरका धर्मराम ओडले द्वन्द्वमा मारिएकी आफ्नी १९ वर्षीया दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरेर आफ्नै पुर्ख्यौली पेसा सुरु गरेका

पञ्चेश्वर गाउँपालिका–४, आमचोरा स्थित उज्वलगाउँका ३४ वर्षीय युवा धर्मराम वडले पुर्ख्यौली सिपबाट काठका खोलदेली (कलात्मक झ्याल ढोका) मा बुट्टा कोर्दै, मूर्ति बनाउने काम गर्दै आएका छन् । पुर्ख्यौली पेसाले द्वन्द्वको पीडा मात्रै भुलाएको छैन, घर परिवारको हातमुख जोर्ने बाटोसमेत पहिल्याएको छ ।

धर्मराम वड १४ वर्षको छँदा जेठी दिदी १९ वर्षीय रोशनी वड (रचना) माओवादीको आरोपमा मारिइन् । घटना स्मरण गर्दै उनले भने, “यो २०६१ सालको कुरा हो । त्यति बेला म १४ वर्षको थिएँ । घरको खानतसाली गर्न पटक पटक सुरक्षाकर्मी आउँन थालेपछि केही समय पढ्न पाईन् । शान्ति प्रक्रियापछि प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्न सफल भए ।”

घरको एक्लो छोराका रुपमा रहेका धर्मले विद्यालय शिक्षा पूरा गरेर आर्थिक अभावले उच्च शिक्षा हासिल गर्न सकेनन् । चार वटा बहिनी मध्ये जेठी दिदी सहिद भएपछि अन्य तीन वटाको विवाह भयो । राज्यबाट पाएको क्षतिपूर्तिले तीन वटा बहिनीको शिक्षा दिक्षा र आफ्नो पढाइमा सहयोग पुगेको उनले बताए । तीन वटै बहिनीको विवाहपछि आमा बुवाको हेरचाह गर्ने सहारा नहुँदा धर्मरामले कतै जाने मौमा नपाएपछि बुवा÷ बाजेसँग भएको पुर्ख्यौली सिप सिक्न सुरु गरेको बताए ।

उनका बाजे दानी वड काष्ठकलाका निकै सिपालु थिए । बाजेबाटै उनका बुवा कमल वडले पनि उक्त सिप सिक्नु भएको थियो । कमल वड अहिले ६६ वर्षको भए । छोरीको सद्गतिसमेत गर्न नपाएकोमा ६६ वर्षी वृद्ध कमल वड अहिले पनि भावुक हुन्छन् । छोरीका लागि केही गर्न नसके पनि द्वन्द्वको पीडा भुलाउन उनले छोरीका नाममा मूर्तिकला उद्योग सञ्चालन गर्न छोरा धर्मरामलाई सुझाव दिए ।

पुख्र्यौली सिप सिकेर दिदीका नाममा उद्योग खोल्न सफल भएका धर्मरामले अहिले दर्जनौ मन्दिरका काठका कलात्मक द्वार निर्माण गरिसकेका छन् । भगवानका मूर्ति बनाइसकेका छन्। सिमेन्टका मूर्ति र गेट निर्माणमा प्रयोग हुने उपकरण उनि आफैले स्थानीय आरनमा तयार गरेका छन् ।

काठको काम गर्न आवश्यक पर्ने रन्दा, कटर, बासुलो र विद्युत्बाट चल्ने राउटर प्रयोग गर्दै आएका छन् । आर्थिक समस्याले थप उपकरण  किन्न नसकिएको उनले बताए । पुर्ख्यौली सिपको संरक्षणका लागि उद्योगलाई कतैबाट सहयोग नमिलेको पनि उनले गुनासो गरे ।

काष्ठकलामा मेहनत अनुसारको पारिश्रमिक नपाए पनि विदेश जानु भन्दा पुर्ख्यौली पेसा नै उत्तम ठानेर यसैमा रमाएको उनले बताए । पुर्ख्यौली पेसा अँगाल्दा गाउँ समाजमा राम्रो परिचय बनेको उनले बताए । उनले भने, “यो पेसामा मेहनत अनुसारको ज्याला छैन, तै पनि विदशमा अरू काम गर्नु भन्दा यही पेसा ठिक छ । बिस्तारै सबैले चिन्न थालेका छन् । पञ्चेश्वर गाउँपालिका भन्दा बाहिरका छिमेकी पालिकाबाटसमेत मौलिक घरका खोलदेली र मन्दिर र मूर्ति निर्माणको काम पाइन थालेको छ ।”

सरकारले सहयोग गरेमा पुर्ख्यौली सिप सिकाएर गाउँका युवालाई दक्ष बनाउने धोको रहेको उनले बताए । धर्मराम वडले पुर्ख्यौली सिपसँगै आधुनिक उपकरणका रूपमा स्काभेटरको नमुनासमेत तयार गरेका छन् ।

जेलेन्स्कीको पक्षमा उभिए विश्व नेताहरु

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग भनाभन भएपछि ह्वाइस हाउसबाट निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पक्षमा विश्वभरका नेताहरुले साथ दिएका छन् ।

खासगरि यूरोपेली नेताहरु तथा क्यानेडीयन नेताहरुले उनलाई साथ दिएका हुन् । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्की एक्लै नभएको बताएका छन् ।

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेसले आफ्नो देश युक्रेनको पक्षमा उभिने लेखेका छन् भने युरोपेली आयोगकि सभापति उर्सुला भोन देर लेयेनले पनि साथ भएको उल्लेख गरेकी छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन तथा क्यानडाका कार्यबाहक प्रधानमन्त्री जस्टिन ट्रूडो तथा न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सोनले साथ दिएको बताएका छन् ।

उनीहरुले सामाजिक संजालमा जेलेन्स्कीलाई मेन्सन गरेर यस्तो उल्लेख गरेका छन् । यीबाहेक यूरोपेली संघका साना मझौला अरु देशहरुले पनि साथ दिएको उल्लेख गरेका छन् ।

ट्रम्प र जेलेन्स्कीको भेट कसरी चर्को बहसमा परिणत भयो?

वासिङ्टन डिसी । शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबिच भएको भेट चर्को बहसमा परिणत भयो।

ट्रम्पले जेलेन्स्कीले शान्ति नचाहेको र यदि उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने स्पष्ट गरे । ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे।  ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाए।  यसैबिच, जेलेन्स्कीले भने, ’हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’

ट्रम्प र जेलेन्स्कीबिचको बहसको क्रममा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभा अत्यन्तै तनावमा देखिएकी थिइन्।

ओभल अफिसबाट जारी गरिएको भिडियोमा युक्रेनी राजदूतले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ। ओक्साना ओभल अफिसमा दुवै नेताहरूको नजिकै बसिरहेकी थिइन् र उनको चिन्ता विश्व मिडियाको क्यामेराले कैद गरेको थियो।

8b43e9e0-f638-11ef-896e-d7e7fb1719a4.jpg

जेलेन्स्कीले दुई देशबिच बहुमूल्य खनिजसम्बन्धी सम्झौता गर्न अमेरिकाको भ्रमण गरेका थिए तर यो सम्झौता अब असफल भएको छ।

दुई नेताबिचको चर्को बहसका कारण बैठकपछि तय भएको पत्रकार सम्मेलन पनि रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो।

बैठकपछि, ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट सेयर गर्दै जेलेन्स्कीमाथि धेरै आरोप लगाए। ट्रम्पले भने, ‘बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु।’

ट्रम्पले थप भने, “उनले अमेरिकाको अपमान गरेका छन्। यदि उनी शान्ति चाहन्छन् भने यहाँ फर्केर आउन सक्छन्।’

fc541420-f606-11ef-9e61-71ee71f26eb1.jpg

यो घटनापछि जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै युक्रेनले पनि शान्ति चाहेको जिकिर गरे ।

उनले लेखे, ‘धन्यवाद अमेरिका, धन्यवाद तपाईंको समर्थनको लागि, धन्यवाद यस भ्रमणको लागि, अमेरिकी राष्ट्रपति, कंग्रेस र अमेरिकी जनतालाई धन्यवाद। युक्रेन केवल र केवल शान्ति चाहन्छ र हामी त्यसको लागि काम गरिरहेका छौँ।’

उनले अमेरिकी टिभी च्यानल फक्स न्यूजलाई अन्तर्वार्ता पनि दिए। यस क्रममा उनले विश्व मिडियाको अगाडि ओभल अफिसमा जे भयो त्यो ‘राम्रो नभएको’ बताए।

यद्यपि, उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध बचाउन सकिन्छ भन्नेमा पूर्ण विश्वस्त रहेको आशा पनि व्यक्त गरे।

कहाँबाट सुरु भयो बहस ?

यसअघि, जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनसँगको शान्ति वार्तामा ‘कुनै सम्झौता’ हुनु हुँदैन भनेर बताएका थिए।

तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कूटनीतिबाट युद्ध अन्त्य गर्न सकिने बताएपछि दुई नेताबिच बहस सुरु भयो।

जेलेन्स्कीले भान्सलाई सोधे, ‘तपाईं कस्तो प्रकारको कूटनीतिको कुरा गर्दै हुनुहुन्छ ?’

db9d7c70-f607-11ef-8c03-7dfdbeeb2526.jpg

जवाफमा, भान्सले भने, ‘म त्यो कूटनीतिको बारेमा कुरा गर्दैछु जसले तपाईंको देशमा भइरहेको विनाशलाई रोक्न सक्छ।’

भान्सले थप सोधे, ‘के तपाईंले बैठकको क्रममा एक पटक पनि धन्यवाद भन्नुभयो?’

जेलेन्स्कीले जवाफ दिए, ‘मैले धेरै पटक धन्यवाद भनेको छु।’

ट्रम्पले युक्रेनले जित्न नसकेको दाबी गरे

त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई भने, ‘युक्रेन अहिले ठुलो समस्यामा छ र उनीहरूले रूससँग युद्ध जित्न सक्दैनन्।’

उनले थपे, ‘तर यदि तपाईं हामीसँग हुनुहुन्छ भने, तपाईंसँग यसबाट बाहिर निस्कने मौका छ।’

91f39b40-f607-11ef-9e61-71ee71f26eb1.jpg

भेटमा ट्रम्पले युद्धको समयमा युक्रेनलाई दिइएको सहयोगको मुद्दाको बारेमा कुरा गरे। ट्रम्पले भने, ‘हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौF। हामीले तपाईंलाई सैन्य उपकरणहरू दिएका छौँ। यदि हामीले सैन्य सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामा समाप्त हुने थियो।’

ट्रम्पले भने, ‘यदि मैले तपाईंहरू (रुस र युक्रेन) लाई बिचमा ल्याइनँ भने, तपाईं कहिल्यै सम्झौता गर्नुहुने छैन।’

‘तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ। अर्को पक्षलाई पनि मन पर्ने केही छैन। तपाईं मलाई सख्त बनाउन चाहनुहुन्छ र म संसारको अरू कोही भन्दा कडा हुन सक्छु। तर तपाईंले त्यसरी सम्झौता गर्न सक्नुहुन्न।’

युद्धविरामको बारेमा जेलेन्स्कीले के भने?

ट्रम्पले जेलेन्स्कीलाई  यदि युद्धविराम हुन्छ भने, युक्रेनले तुरुन्तै यसलाई स्वीकार गर्नुपर्ने बताए ।

ट्रम्पले भने, ‘यदि युद्धविराम भएको छ भने युक्रेनले तुरुन्तै यसलाई स्वीकार गर्नुपर्छ ताकि गोलाबारी रोकियोस्।’

जेलेन्स्कीले आफूले पनि युद्ध रोक्न चाहेको भनेर जवाफ दिए।

69b3a6c0-f607-11ef-aa28-abbfea60ff44.jpg

तर ट्रम्पले उनलाई रोक्दै भने, ‘तर तपाईं युद्धविराम चाहनुहुन्न भन्दै हुनुहुन्छ।’

जवाफमा जेलेन्स्कीले भने, ‘हामीलाई ग्यारेन्टी सहितको युद्धविराम सम्झौता चाहिन्छ।’

जेलेन्स्कीले ट्रम्पलाई युक्रेनका जनतालाई युद्धविरामको बारेमा के चाहन्छन् भनेर सोध्न पनि भने।

पहिले पनि आरोप प्रत्यारोप

बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसले युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट ‘अलग कोठा’ मा सरेको रिपोर्ट गरेको छ।

त्यहाँ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र विदेश सचिव मार्को रुबियोले उनीहरुलाई ह्वाइट हाउस छोड्न भने।

a9b3c6b0-f607-11ef-9e61-71ee71f26eb1.jpg

त्यसपछि युक्रेनी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिर निस्किरहेको देखियो।

हालै, अमेरिका र रुसका प्रतिनिधिहरूले रुस र युक्रेनबिच चलिरहेको युद्ध अन्त्य गर्न वार्ता गरेका थिए ।

यस वार्तामा युक्रेनलाई समावेश गरिएको थिएन। त्यसपछि जेलेन्स्कीले ट्रम्पमाथि प्रश्न उठाएका थिए र ट्रम्प गलत सूचनाको बिचमा रहेको दाबी गरेका थिए।

ट्रम्पले पनि पछिल्ला केही दिनमा धेरै पटक जेलेन्स्कीलाई निशाना बनाउँदै उनलाई ‘तानाशाह’ सम्म भनेका छन्।

रुस र युक्रेनबिच विगत तीन वर्षदेखि युद्ध चलिरहेको छ।

शुक्रबार भएको बैठकमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबिच युक्रेनको दुर्लभ खनिज पदार्थको सम्बन्धमा सम्झौता हुने सम्भावना थियो।

तर ट्रम्प र जेडी भान्ससँगको चर्को बहस पछि, जेलेन्स्कीले यो सम्झौतामा अब कहिले हस्ताक्षर गर्छन् भनेर हेर्न बाँकी छ।

बीबीसी

नयाँ शिक्षा ऐन चाँडै आउँदैछ : मन्त्री भण्डारी

धनगढी १७ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन ।   नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं  जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताए ।

क्षा ऐनमा सबै शिक्षकका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको जानकारी उनले दिए ।

शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने बताउदै उनले भने, ‘‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ । यसका लागि सरकार लागिपरेको छ । शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँदैछ ।’’

अहिले नेकपा ९एमाले० र नेपाली कांग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीले बताए । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरु अहिलेको आवश्यकता भएकाले संसदबाट पारित गर्नुपर्नेमा जोड दिएको उनले बताए ।

यस्तै, देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड थियो । अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्ने उनले बताए। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा मन्त्री भण्डारी प्रमुख अतिथी रहेका थिए।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय अध्यक्ष विष्णु भण्डारी विशिष्ट अतिथी रहेका थियो । अधिवेशनले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको नयाँ नेतृत्व चयन गर्ने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीका अध्यक्ष प्रेमराज भट्टले बताए ।

खोज्नुहोस