विपद् व्यवस्थापनमा सहकार्य आवश्यक: गृहमन्त्री लेखक

धनगढी, २७ फागुन । गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापनका लागि सरकारवाला सवै मिलेर काम गर्नु पर्ने बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने सरकारी योजना रहेको बताए ।

उनले बैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद सामाग्री उपलबध गराईने बताए । सरकारले प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकार भएको उनले बताए ।

गृहमन्त्री लेखकले बिपदको समयमा प्रदेश सरकारसंगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए । त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरे ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलन पनि शेखरले गरे ‘वहिष्कार’

कैलाली । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सम्मेलन धनगढीमा सुरू भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा प्राय: शीर्ष सबैजसो नेता उपस्थित छन् । तर, शेखर कोइराला भने आएनन् ।

सम्मेलनमा सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापालगायतको उपस्थिति छ । नेताहरू डा. शशाङ्क कोइराला, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, डिना उपाध्यायलगायत पनि धनगढी आएका छन् ।

१४औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित कोइरालाले आगामी महाधिवेशनमा पनि सभापतिको प्रमुख दाबेदारको रूपमा आफूलाई उभ्याइरहेका छन् । उनी पछिल्लो समय कांग्रेसका भेला र सम्मेलनहरू प्रति रुष्ट छन् ।

यसअघि पोखरा र लुम्बिनीमा भएको प्रशिक्षण कार्यक्रममा पनि अधिकांश नेता पुग्दा उनी गएनन् । उनले कहिँ निम्तो नगरिएको त कहिँ आधिकारिक व्यक्तिबाट खबर नआएको बताएका थिए ।

सुदूरपश्चिम प्रदेशमा भने आमन्त्रण गर्दा पनि नआएको प्रदेश महामन्त्री मेघराज खड्काले बताए ।

‘हामीले निम्तो पनि दिएका थियौँ फोन पनि गरेका थियौँ तर, उहाँ (शेखर कोइराला) आउनुभएन ’, उनले भने ‘किन आउनु भएन भन्ने कुरा त उहाँलाई नै थाहा होला ।’

पूर्वराजालाई सिटौलाको चेतावनी- सरकारले नै बस्न नागार्जुन दिएको हो, चाहे अहिल्यै हटाइदिन सक्छ

कैलाली । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई आफूले नै नारायणहिटीबाट बिदा गरेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका हुन् ।

उनले सरकारले नै निर्णय गरेर नागार्जुन पठाएको भन्दै चाहेका बेला त्यहाँबाट पनि निकाल्न सक्ने चेतावनी दिए । ‘राजाबारे अलिअलि चर्चा हुन्छ मैले भन्ने गरेको छु, किन धेरै चर्चा गर्नु हामीले, म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको हुँ’, सिटौलाले भने, ‘सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे अहिले हटाइदिन सक्छ । सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले योबारेमा धेरै चर्चा गर्नु उपयुक्त होइन ।’

आइतबार काठमाडौंमा पूर्वराजाको पक्षमा देखिएको भीडलाई सङ्केत गर्दै उनले भने, ‘१५-२० हजार मान्छे सडकमा आउनु कुनै ठूलो कुरो होइन । धेरै चर्चा गरेर हामी आत्तिनुपर्दैन ।’

पार्टी र सरकारको बीचमा राम्रो सहकार्य हुनु आवश्यक रहेको उनको भनाइ थियो । संविधान संशोधन गर्न कांग्रेस तयार रहेको भन्दै नेता सिटौलाले संविधान संशोधन गरेर भए पनि जनतालाई सहज हुनुपर्ने बताए ।

संविधान कार्यान्वयनका विषयमा समीक्षा गर्ने बेला आएको सिटौलाको भनाइ थियो । जनताको आशा र भरोषा कांग्रेसप्रति रहेको भन्दै उनले एमाले(कांग्रेसको सहकार्यलाई जोगाउनुपर्नेमा जोड दिए ।

केपी ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व नेपाली कांग्रेसको रहेको उनको भनाइ छ ।

‘काङ्ग्रेसकै सहारामा सरकार रहेको छ’, सिटौलाले भने, ‘अहिले बनेको कांग्रेस(एमालेको समझदारी जोगाउनुपर्छ । पछि यो पार्टीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।’

 

एक वर्षपछि माओवादी संसदीय दलको छलफल: नेता फेर्नुअघि ‘इन्चार्ज’ परिवर्तनको शर्त

कैलाली । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक दिएको लिखित तथा मौखिक निर्देशन कार्यान्वयन गर्न पहिलो पटक सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलमा छलफल भएको छ । अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरू भएको थियो । त्यसपछि माओवादी संसदीय दलको बैठक एउटा पक्षले सबै वहिष्कार गरिरह्यो ।

भट्टलाई हटाएर धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना र धामीको पक्षमा ६ सांसद उभिएका थिए ।धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५\५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन् । भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् । दुवै पक्षमा बराबरी भएपछि हेडक्वार्टरको निर्देशन पनि कार्यान्वयन हुन सकेको थिएन ।

यसैबीच आइतबार यो विषय समाधान गर्ने भन्दै माओवादीका सबै सांसद एक ठाउँमा बसे । रमेश धामी बैठकमा आएनन् । अरु सबै सांसदहरू अध्यक्ष प्रचण्डले दिएको निर्देशन कार्यान्वयन गर्ने पक्षमा उभिए । प्रचण्डले भट्टलाई दलको नेता बनाउन लिखित तथा मौखिक निर्देशन दिएका थिए । आइतबार अनौपचारिक छलफलमा आफूहरू अध्यक्षको निर्देशन कार्यान्वयन गर्ने पक्षमा रहेको तर, केही असहमतिका विषयहरू रहेको भन्दै धामीले विषय उठान गरेका थिए ।

‘दलको विषयमा टुङ्गो लगाउनु पर्छ । पहिलो पटक यसरी सबै सबेर सामूहिक छलफल भयो । राम्रो कुरा हो ’ धामीले भने, ‘केन्द्रको सर्कुलर कार्यान्वयन हुनुपर्छ तर, मेरा पनि केही विषयहरू छन् जुन सम्बोधन हुनुपर्छ ।’

धामीले केन्द्रमा पनि जिम्मेवारी भट्टलाई दिँदा आफूले पाउने जिम्मेवारीबारे प्रष्ट हुनुपर्ने भन्दै आइरहेका छन् । आफू संसदीय व्यवस्थाअनुसार चुनिएको दलको नेता भएको भन्दै पहिले आफ्नो व्यवस्थापन भएपछि मात्रै दलको नेता फेरिने अडानमा उनी छन् । आइतबार पनि उनले त्यही संकेत गरेका थिए ।

झपट साउँदले धामीका केही कुराहरूलाई सम्बोधन गर्दै अहिले ५ \५ जना सांसद लिएर कहिँ पुग्न नसकिने बताएका थिए ।

‘केन्द्रको सर्कुलर लागू गरौँ यसरी ५ \५ जना सांसद बोकेर हामी कहीँ पुग्दैनौँ’, उनले भनेका थिए ।

साउँदले अध्यक्ष प्रचण्डसँग यसअघि नै धामीले सिफारिस गरेका व्यक्तिहरू मन्त्री कायम हुने तर, भट्टलाई दलको नेता बनाउने गरी दिएको निर्देशन आफूहरूले मानेपनि धामी समूहले उल्लंघन गरेको बताएका थिए ।

‘त्यो बेला मन्त्री यथावत् राख्ने र दलको नेता फेर्ने सहमति भएको थियो त्यो पनि पूरा भएन’, उनले भने ।

जानकी पौडेल कुवरले साउँदकै कुरालाई समर्थन गरिन् । अक्कल रावलले विधिको कुरा प्रधान हुने टिप्पणी गरे । गीता मालले छलफल र संवादबाट विवाद टुङ्गो लगाउनु पर्नेमा जोड दिइन् ।

माओवादी सांसद ओमविक्रम भाट ‘सरल’ ले संसदीय दलको नेता फेरिने अवस्थामा सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि स्थानीयलाई नै दिनुपर्ने बताए ।

अहिले प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल छन् । धामी पक्षले भने इन्चार्ज पोखरेलबाट विभेदपूर्ण व्यवहार भइरहेको भन्दै इन्चार्ज फेर्नुपर्ने बताउँदै आइरहेको छ ।

भाटले इन्चार्ज फेर्ने विषय आफूले उठान गरे पनि यो धामी पक्षका पाँच सांसदहरूको साझा माग रहेको बताएका थिए । भाटले यसअघि १४ फागुनमा खुमल्टारमा पनि सुदूरपश्चिम प्रदेशको इन्चार्ज विना मगरलाई बनाउनु पर्ने प्रस्ताव अगाडि सारेका थिए ।

विनालाई इन्चार्ज बनाउँदा परिवारवादको आरोप लाग्ने अवस्थामा उनले लक्ष्मण जोशी, त्रिलोचन भट्ट वा जगत पार्कीमध्येबाट पनि इन्चार्ज बनाउन सकिने बताएका थिए ।

आइतबारको छलफलमा पनि सरलले सोही प्रस्ताव सारे । स्थानीय इन्चार्ज बनाउनुपर्ने उनको प्रस्तावमा केही सांसदले समर्थन गरेका थिए भने केहीले मौन समर्थन जनाएका थिए । केही सांसदले भने स्थानीय इन्चार्ज बनाउँदा पार्टी र संगठन बलियो हुने तर्क गर्दै संसदीय दलले भने नाम किटान गर्न नहुने बताएका थिए ।

सांसद लक्ष्मी विकले संसदीय दलको विवाद मिलाउन विगतका तिक्ततालाई अगाडि ल्याउन नहुने बताएकी थिइन् । ‘सबैलाई सहज हुनेगरी मिल्नु पर्छ । दीर्घकालीन सहज हुनेगरी विवाद टुङ्गो लगाउनु पर्छ’, उनले भनिन्, ‘पहिलेका कुरा ल्याएर फेरि विवाद गर्नुहुँदैन । ’

खगराज भट्टले केन्द्रको निर्देशन कार्यान्वयन हुनुपर्ने भन्दै आफूले आगामी दिनमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता गरेका थिए । प्रदेशसभाको एक वर्ष भट्ट नै दलको नेता थिए । पहिलो पटक सरकारमा जाँदा आफै गएको, सबै सांसदहरूसँग छलफल नगरेको, प्रतिपक्ष हुँदा पनि कमजोर भएको लगायतका आरोप उनीमाथि लाग्दै आइरहेको थियो । आइतबार विगतका आफ्नो केही कमजोरी स्वीकार गर्दै आगामी दिनमा पार्टी र संसद् दुवैलाई बलियो बनाउने गरी अगाडि बढ्ने बताए ।

करिब एक वर्षपछि एकताको सन्देश दिनेगरी भएको अनौपचारिक छलफलमा माओवादीभित्रको विवाद मिलाउने, संसद्मा प्रमुख प्रतिपक्षको भूमिका बलियो बनाउने र केन्द्रको सर्कुलर कार्यान्वयन गर्ने विषयमा करिब सहमति जुटेको छ । तर, धामी पक्षले आफ्नो बटमलाइन बनाएको इन्चार्ज फेर्ने विषयले भने दलको नेता फेर्ने विषय पनि पेचिलो नै बनेको छ ।

पिएम कप क्रिकेट : गण्डकीलाई हराउदैँ सुदूरपश्चिम प्रदेशको पहिलो जित 

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

दाङको देउखुरीमा भएको खेलमा सुदूरले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरले ७ ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो ।

सुदूरका लागि किरण ठगुन्नाले अविजित शतकीय पारी खेले । १०१ बलमा उनले ९ चौका र ६ छक्कासहित १२१ रन बनाए । कप्तान नारयण जोशी ३८ रनमा अविजित रहे ।

गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १(१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २२० रन बनायो । दीपक डुम्रेले सर्वाधिक ६० रन बनाए भने अर्जुन कुमालले ५७ रन बनाए ।

सुदूरका शेर मल्लले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । नारायण जोशीले ८ ओभरमा २१ रन दिएर २ विकेट लिए । हेमन्त धामी, मिलन बोहरा र अर्जुन बिकले १(१ विकेट लिए ।

पहिलो खेलमा कर्णालीसँग पराजित भएको सुदूरले जितसँगै २ अंक जोडेको छ । गण्डकी पहिलो खेलमै पराजित भयो ।

कार्यविधि बनेपछि मात्रै सभागृह सञ्चालनमा आउने

धनगढी, फागुन २६ गते । धनगढीमा बनेको धनगढी सभागृह कार्यविधि बनेपछि मात्रै सञ्चालनमा आउने भएको छ । सभागृहको स्वामित्व पाएको धनगढी उपमहानगरपालिकाले कार्यविधि बनाएपछि मात्रै सभागृह सञ्चालनमा आउने भएको हो । एक हजार क्षमताको सो सभागृहको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

तर सभागृह सञ्चालनसम्बन्धी कार्यविधि अझै बनिसकेको छैन । यो कार्यविधि बनेपछि मात्रै सभागृह सञ्चालनमा आउने धनगढी उपमहानगरपालिकाका भौतिक पूर्वाधार विकास समितिका संयोजक सन्तोष मुडभरीले जानकारी दिए । उनले सभाहल सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले ठेक्कामा निजी क्षेत्रलाई पनि दिन सक्ने उल्लेख गरे ।

एक हजार क्षमताको सभा हल सङ्घीय सरकारको साढे ३२ करोड लगानीमा बनेको हो । २०७९ असारमा नै सभागृहको निर्माण कार्य सम्पन्न भएको थियो । धनगढी उपमहानगरपालिका–८ मा सभा हल रहेको छ । यो सभाहलमा ठुलठुला गोष्ठी, सेमिनार आयोजना गर्न सकिने जनाइएको छ । धनगढी सभाहल सञ्चालनमा नआएकाले यस्ता कार्यक्रमहरु महँगो शुल्क तिरेर पार्टी प्यालेस वा ठुला होटलहरुमा आयोजना हुँदै आएका छन् ।

परराष्ट्र मन्त्री राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गरेकी छन् ।

मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि पुग्ने कार्यक्रम छ ।

मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । त्यसपछि मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छ ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा। राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेश मन्त्रीहरूको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा। राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै यही भ्रमणकै क्रममा मन्त्री डा। राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम रहेको छ ।

 

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

एजेन्सी । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मंगलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ ।

तीन वर्षको द्वन्द्व समाधानका लागि मंगलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट हाउसको असफल भ्रमणपछि पहिलो पटक अमेरिकी र युक्रेनी अधिकारीहरू भेट्नेछन् ।

जेलेन्स्कीले सोमबार देशको वास्तविक नेता साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई भेट्ने र त्यसपछि उनको टोली ‘मंगलबार अमेरिकी टोलीसँगको बैठकका लागि बस्ने’ बताए । रेड सी बन्दरगाह सहर जेद्दामा हुने वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विट्कफले वासिङ्टन ‘शान्ति सम्झौताका लागि एक ढाँचा र प्रारम्भिक युद्धविराम पनि पाउन चाहन्छ’ भनेका छन् । जेलेन्स्कीले युक्रेन ‘रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध’ रहेको तर आफ्नो हितलाई ‘सही तरिकामा ध्यानमा राख्न’ चाहेको बताए ।

“शान्ति नजिक ल्याउने र समर्थन जारी राख्ने दुवै सन्दर्भमा हामी परिणामको आशा गर्दछौँ”, उनले आइतबार साँझ आफ्नो सम्बोधनमा भने । अमेरिकी विदेशमन्त्री मार्को रुबियो सोमबार जेद्दा जानुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि उनको सहभागिताको पुष्टि गरेको छ ।

जेलेन्स्कीले उनका वार्ताकारहरूमा विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्टेम उमरोभ, उनका चिफ अफ स्टाफ एन्ड्री यर्मक तथा सैन्य कमान्डर एवं यर्मकका सहायक पावलो पालिसा समावेश हुने जानकारी दिए । किएभ अमेरिकी टोलीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए । वासिङ्टनले हाल राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा सन् २०२२ फेब्रुअरीमा आफ्नो पूर्ण आक्रमण सुरु गरेको मस्कोसँग टेबलमा बाध्य पार्ने प्रयासमा युक्रेनलाई सैन्य सहायताका साथै गुप्तचर साझेदारी र स्याटेलाइट इमेजरीमा पहुँच निलम्बन गरेको छ ।

ट्रम्पले पुटिनसँग सञ्चार नवीकरण गरेका छन् र जेलेन्स्कीको आलोचना निरन्तर गरिरहेका छन् । यसले किएभ र युरोपेली सहयोगीहरूमा ट्रम्पले रुसलाई फाइदा पुग्ने समझौता स्वीकार गर्न युक्रेनलाई बाध्य पार्न सक्ने भन्ने डर उत्पन्न गरेको छ ।

तर शुक्रबार ट्रम्पले युद्धको मैदानमा युक्रेनलाई ‘प्रहार’ गरेकोमा रुसमाथि थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका थिए । युक्रेनका युरोपेली सहयोगीहरूले गत हप्ता जेलेन्स्कीसँग शिखर सम्मेलन आयोजना गरेका थिए र उनीहरूले रक्षा खर्च ठूलो मात्रामा बढाउने घोषणा गरेका थिए । बेलायत र फ्रान्सले युक्रेनका लागि समुद्र र हावामा युद्धविराम र युक्रेनको शक्ति सुविधाहरूमा रुसले गरेको बमबारी रोक्न प्रस्ताव गरेका छन् ।

जेलेन्स्कीका अनुसार युक्रेनी र बेलायती कूटनीतिज्ञहरूले सप्ताहन्तमा किएभमा वार्ता गरेका थिए । ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीचको सार्वजनिक विवादका कारण अमेरिकी नेताले माग गरेको खनिज सम्झौतामा हस्ताक्षर नगरी युक्रेनीहरू बाहिरिएपछि साउदी वार्ता आएको हो ।

पछि जेलेन्स्कीले घटनालाई ‘दुःखदायी’ भनेका छन् र ट्रम्पको ‘बलियो नेतृत्व’ सँग काम गर्न तयार रहेको बताए । उनले रणनीतिक खनिज भण्डारको सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको पनि बताएका छन् । विट्कफले ट्रम्पले जेलेन्स्कीबाट एक पत्र प्राप्त गरेको र त्यसलाई ‘एक धेरै सकारात्मक पहिलो कदम’ र ‘एक माफी’ भनेका छन् । युक्रेनले साउदी अरबमा सम्झौतामा हस्ताक्षर गर्नेछ कि भनेर सोधिएको प्रश्नमा विट्कफले भने, “मलाई लाग्छ जेलेन्स्कीले यसमा हस्ताक्षर गर्ने प्रस्ताव राखेका छन् र उनले यसलाई पालना गर्छन् वा हुन्न भनेर हामी हेर्नेछौँ ।”

विट्कफले फेब्रुअरीमा जेलमा रहेका एक अमेरिकी शिक्षकको रिहाइका लागि मस्को भ्रमण गरेका थिए र पछि उनले पुटिनसँग धेरै समय कुरा गरेको र उनीसँग ‘सम्बन्ध विकास’ गरेको बताएका थिए । ट्रम्प र जेडी भान्ससँगको जेलेन्स्कीको विवादास्पद भेटका क्रममा वाल्ट्ज ओभल अफिसमा थिए ।

उनले पछि फक्स न्युजलाई जेलेन्स्की ‘शान्ति वार्ता गर्न तयार हुनुहुन्न’ तर ‘समय उहाँको पक्षमा छैन’ भनेका थिए । सिएनएनसँगको अन्तर्वार्तामा वाल्ट्जले भनेका छन्, “यदि जेलेन्स्कीको व्यक्तिगत प्रेरणा वा राजनीतिक प्रेरणा लडाइँ अन्त्य गर्नेबाट भिन्न छ‘ तब मेरो विचारमा हामीसँग वास्तविक समस्या छ ।”

साउदी मध्यस्थकर्ता

साउदी अरब रुस र युक्रेनसँग अमेरिकी कूटनीतिका लागि एक प्रमुख आयोजक बनेको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र रुबियोले गत महिना रियादमा भेट गरी संवाद पुनः सुरु गर्न र युक्रेन द्वन्द्वमा वार्ता सुरु गर्न सहमत भएका थिए । जेलेन्स्कीले सन् २०२२ मा रुसको आक्रमणपछि साउदी अरबमा धेरै पटक भ्रमण गरेका छन् तर गत महिना रुस–अमेरिका वार्तामा निमन्त्रणा नभएको भन्दै भ्रमण स्थगित गरेका थिए ।

सन् २०२२ मा रुसी नियन्त्रित युक्रेनमा रहेका पाँच कैदीलाई क्राउन प्रिन्ससँगको वार्तापछि आदानप्रदान गर्न रियाद लगिएको थियो । पुटिनले क्राउन प्रिन्सले गत वर्ष ‘जासुसी’ गरेको आरोपमा रुसले जेलमा राखेका वालस्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचको रिहाइ सुरक्षित गर्न पनि सहयोग गरेको बताए ।

अमेरिकाको ऐतिहासिक मित्र, तेल–धनी राज्य साउदी अरब सन् २०१८ मा टर्कीमा असन्तुष्ट साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि अन्तर्राष्ट्रिय रूपमा अछुत बन्यो । तर विट्कफले ट्रम्पको टोलीको ‘साउदीहरूसँग साँच्चै राम्रो सम्बन्ध छ’ भने ।

राजतन्त्र फर्किने कुनै माहाेल छैन: देउवा

धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन्।

सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजतन्त्र फर्किने चर्चा हल्लामात्रै भएको दाबी गरे।

“मैले कुनै माहोल देखेको छैन, त्यो त केवल हल्ला मात्र हो,” देशभर राजतन्त्र पक्षधर गतिविधि बढिरहेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले भने।

गठबन्धनबारे बोल्दै उनले वर्तमान सरकारमा कुनै समस्या नभएको बताउँदै यो गठबन्धन २०८४ सम्म कायम रहने उल्लेख गरे।

सभापति देउवाका अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशन पनि निर्धारित समयमा नै हुनेछ।

देउवा कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलन उद्घाटन गर्न अधिकांश केन्द्रीय नेतासहित धनगढी आएका हुन्।

महिला टी–२० क्रिकेट : युगाण्डाविरूद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ- वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले घरेलु टोली युगाण्डालाई एक विकेटले पराजित गरेको छ।

रोमाञ्चक खेलमा नेपालले घरेलु टोली युगाण्डाविरूद्ध जित निकालेको हो।

जितसँगै नेपालले दुई खेलबाट दुई अंक जोडेको छ। त्यस्तै पहिलो पराजय बेहोरेको युगाण्डाको पनि समान खेलबाट दुई अंक नै छ।

पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित हुँदा युगाण्डाले हङकङलाई आठ विकेटले हराएको थियो।

आइतबार एन्टेब्बे क्रिकेट ओभलमा युगाण्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले एक बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि साना प्रवीणले १७, पूजा महतोले १६ र रुबिना क्षेत्रीले १० रन बनाए।

युगाण्डाका लागि जेनेट एमबाबाजीले तीन तथा सारा वलाजले दुई विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको युगाण्डाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७५ रनमात्र जोडेको थियो।

युगाण्डाका लागि इमाकुलेट नाकिसुईले २२, स्टेफेनिया नाम्पिलिनाले १४ र मलिषा अरिकोटाले ११ रन बनाए।

नेपालका लागि पूजा महतोले तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिइन्।

पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो । काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भएका छन् ।

उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् । अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्‍याउन र्‍याली आयोजना गरिएको छ ।

पञ्चेश्वर अगाडि बढ्छ, गेटामा मेडिकल विश्वविद्यालय बन्छ : प्रधानमन्त्री ओली

कैलाली । प्रधामन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम सम्भावनाले निकै अगाडि रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गरेका हुन् ।

यो सुन्दर मात्रै होइन सम्भावनाले भरिएको समृद्ध बन्न सक्ने प्रदेश हो । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ दीक्षित हुँदै गरेका विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, ‘नयाँ पुस्ताले देशमा सम्भावनाको खोजी गर्नु पर्छ ।’

दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लाग्नु पर्ने उनको भनाइ थियो । दार्चुला उत्तरी क्षेत्रसम्म पुग्न सकस भएको भन्दै छाङग्रुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको बताए ।

‘अहिले पाँच करोड विनियोजन गरेका छौं । पारीको बाटोबाट जाँदा नेपालीहरुले दुःख पाएका छन् । अहिले गोरेटो बाटो निकालेपछि पक्की सडकको लागि बजेट विनियोजन गरेर तक्लाकोटसम्म जाने बाटो बनाउँछौं’, उनले भने ।

गेटामा मेडीकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ सुरु हुने प्रधामन्त्री ओलीले दाबी थियो । पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको प्रधामन्त्री ओलीले बताए ।

आफू प्रधामन्त्री हुँदा मुलुकमा विकासले गति पाइरहेको उनले भनाइ थियो । हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण प्रारम्भ गरेको प्रधामन्त्री ओलीले बताए ।

सुदूरपश्चिम देव भूमि रहेको भन्दै उनले यहाँका मोठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको बताए ।

दीक्षान्त समारोहमा सरिक भएका प्रधामन्त्री ओलीले अझै सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्नेछन् । यसैगरी, प्रधानमन्त्री ओलीले आजै धनगढीमा नवनिर्मित सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसको झण्डा निकालेर फालेपछि विवाद

धनगढी, २५ ।  फागुन  स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई फाइदा पुग्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले ऐन बनाउन लागेको भन्दै आन्दोलन गरिरहेका विद्यार्थीले नेपाली कांग्रेसको झन्डा निकालेर फालेपछि विवाद भएको छ।

आज धनगढीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनको क्रममा आन्दोलनरत केही विद्यार्थीले रोड क्षेत्रमा राखिएको नेपाली कांग्रेसको झन्डा निकालेर फालेका थिए। भोलि धनगढीमा आयोजना हुन लागेको नेपाली कांग्रेसको प्रदेश स्तरीय सम्मेलनको उद्घाटन गर्न आइरहेकाका पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि धनगढीको छ लेन सडकदेखि लिएर मुख्य सडक क्षेत्रमा रहेका विद्युत् पोल र मेडियनमा नेपाली कांग्रेसको झन्डा राखिएको छ।

तर, प्रदेश सरकारलाई दबाब दिन आन्दोलनमा उत्रेका विद्यार्थीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आसपासको क्षेत्रबाट कांग्रेसको झन्डा निकालेर फालेपछि कांग्रेस निकटको भातृसंगठनले त्यसको प्रतिवाद गरेको छ। झन्डा निकालेर फालेकोप्रति आक्रोस व्यक्त गर्दै कांग्रेस निकटका युवाले आन्दोलनरत विद्यार्थीलाई हप्काउनुका साथै उनीहरुको साउन्ड सिस्टम फालेका थिए।

आन्दोलनरत पक्षले तरुण दलका युवाले आफूमाथि कुटपिटसमेत गरेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोषराज जोशीले आन्दोलनरत विद्यार्थीमाथि कुटपिट भएको उल्लेख गर्दै विद्यार्थीको आन्दोलन विथोल्ने प्रयास भइरहेको जिकिर गरे । झण्डा हटाउनु विद्यार्थीबाट गल्ती भएको स्वीकार्दै उनले सम्झाउन छोडेर तरुण दलका युवाले आक्रमण गरेको बताए। तरुण दलले भने सम्मेलनका लागि लगाइएको झन्डा ननिकाल्न आग्रहमात्रै गरेको जनाएको छ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएको व्यवस्थाको विरुद्ध विद्यार्थी सङ्गठनले एक सातादेखि धनगढीमा आन्दोलन गरिरहेका छन्। विधेयकमा सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन लागु हुनुभन्दा पहिले स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करार नियुक्तलाई ऐन लागु भएपछि पहिलो पटकका लागि लोकसेवा आयोगले उनीहरूबिचमात्रै आन्तरिक प्रतियोगिताात्मक परीक्षाद्वारा पद्पूर्ति गर्ने उल्लेख गरिएको छ। स्थानीय तहमा ठुलो सङ्ख्यामा रहेका करारका कर्मचारीलाईमात्रै फाइदा पुग्ने गरी सरकारले ऐन बनाउन लागेको जिकिर गर्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन्।

कांग्रेस सभापति देउवा सोमबार धनगढी आउँदै

धनगढी, २५ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी आउँदै छन् । धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि उनि धनगढी आउन लागेका हुन ।

सभापति देउवा बिहान ९ बजे धनगढी विमानस्थलमा अवतरण गर्नुहुने नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

उनले सभापतिको स्वागतका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुलाई बिहान ९ बजे विमानस्थल पुग्न आग्रह गरेका छन् ।

पूर्वराजाको ‘स्वागत’ का लागि काठमाण्डू विमानस्थल प्रवेशद्वारअगाडि समर्थकको भिड

काठमाडौं । पोखराबाट काठमाण्डू आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थक तथा शुभेच्छुकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वारअगाडि भेला हुन थालेका छन्।

प्रवेशद्वारअगाडि भेला भएका राष्ट्रिय झण्डा बोकेका मानिसहरूले राजसंस्थाको पक्षमा विभिन्न नाराबाजी गरिरहेका छन्।

विमानस्थलको सुरक्षा संवेदनशीलता स्रोतलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीका अनुसार ठूलो सङ्ख्यामा समर्थक तथा शुभेच्छुकहरू विमानस्थलअगाडि पुग्ने क्रम जारी छ।

राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्।

केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आएका शाह आइतवार दिउँसो पोखराबाट काठमाण्डू फर्किन लागेका हुन्।

उक्त कार्यक्रमका क्रममा कुनै अवाञ्छित गतिविधि वा अप्रिय घटना हुन नदिने हिसाबले सामान्य दिनको भन्दा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले बीबीसीलाई बताएका हुन्।

सुरक्षा तयारी कस्तो छ?

ठाउँठाउँबाट समर्थकहरू भेला भइरहेका छन्

काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कार्यक्रमलाई ध्यानमा राखी सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको बताए।

“जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएर जनपद, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ,” बीबीसीसँग उनले भने।

“सुरक्षा व्यवस्थालाई लिएर त्यस्तो कुनै समस्या छैन। तर पनि सुरक्षा एलर्ट चाहिँ छ।”

काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले स्वागत र्‍यालीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएरै प्रहरी परिचालन गरिएको बताए।

“र्‍यालीको रूपमा ठूलो सङ्ख्यामा मानिसहरू आउँदा कुनै अवाञ्छित गतिविधि हुन सक्ने, ट्राफिक व्यवस्थापनमा असर पर्न सक्ने भएकाले कुनै अवाञ्छित गतिविधि नहोओस् भनेर सुरक्षा योजना बनाएरै हामीले प्रहरी परिचालन गरेका छौँ,” उनले भने।

सामान्य दिनको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी गराए।

“आवागमनमा अवरोध, पक्षविपक्षबीच झडप हुन सक्ने थ्रेट हामीले महसुस गरेर नेपाल प्रहरीका मात्र १,१३४ जना प्रहरी परिचालन गरेका छौँ,” खनालले भने।

ट्राफिक प्रहरीले ठूलो सङ्ख्यामा सहभागिता भए सवारी आवागमनमा त्यसको असर पर्न सक्ने जनाएको छ।

“स्वागत र्‍याली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट गौशाला, चावहिल, सुकेधारा, महाराजगञ्ज हुँदै निर्मल निवास पुग्ने जानकारी हामीले पाएका छौँ,” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले बीबीसी न्यूज नेपालीसँग भने।

खास गरी तीनकुनेबाट ज्ञानेश्वरसम्मको रूटमा आफूहरूले ट्राफिक एलर्ट गराएको उनले बताए।

“स्वागतमा पूर्वराजाका शुच्छेक, समर्थकहरू सहभागी हुने भएर ट्राफिकमा त्यसको असर पर्छ। त्यो भएर उल्लिखितबाहेकका रूट प्रयोग गर्दा सहज हुन्छ।”

आयोजक के भन्छन्?

सडकमा महिलाहरू पनि देखिएका छन्

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीका अनुसार गौशालासम्म समर्थक तथा शुभेच्छुकहरू पूर्वराजा शाहको स्वागतार्थ सडकका दायाँबायाँ उभिने छन्।

“त्यहाँबाट राजाको स्वागतमा हामी सबै सवारीको पछिपछि र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने छौँ,” उनले थपे।

स्वागतमा सहभागी हुन “कुनै दलविशेष नभनी सम्पूर्ण राष्ट्रभक्त नागरिकहरू” लाई आफूहरूले अपिल गरेको सांसद शाहीले बताए।

बलिवूड अभिनेत्री मनिषा कोइरालाले पनि स्वागत कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेकी छन्।

“आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोधः आज पोखराबाट सरकारको काठमाण्डू सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ,”सामाजिक सञ्जाल फेसबुकमा आइतवार बिहान उनले लेखेकी छन्।

आयोजकहरूले स्वागत कार्यक्रममा राजसंस्था पक्षधर दल तथा समूहका मात्रै नभई गणतन्त्र पक्षधर दलका कार्यकर्ताहरू पनि सहभागी हुने दाबी गरेका छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल” पनि सहभागी हुने जनाएको छ।

प्रसाईले आइतवारको कार्यक्रमलाई सफल बनाउन आफ्ना समर्थकहरूलाई अपिल समेत गरेका छन्।

सोही कार्यक्रमलाई मध्यम नजर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतवारका लागि काठमाण्डूका लागि पूर्वनिर्धारित आमसभा समेत स्थगित गरिसकेको छ।

राजसंस्था पक्षधर शक्तिहरूले राजसंस्था पुनर्स्थापना र हिन्दू अधिराज्य कायम गराउने दिशामा आफूहरू “अन्तिम धक्का” दिने तयारीमा रहेको बताइरहेका छन्।

त्यसका लागि उक्त अजेन्डामा सहमत देखिएका सबै दल तथा समूहहरूबीच सहकार्य गर्ने तयारी पनि गरिरहेको उनीहरूले बताएका छन्।

अर्कोतर्फ गणतन्त्र पक्षधर दल तथा विश्लेषकहरूले राजसंस्था पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै आएका छन्। –बीबीसी नेपाली

युगान्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

काठमाडौं । वुमन्स डे टी–२० कप क्रिकेट सिरिजमा युगान्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा युगान्डाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ७५ रन बनाएको हो ।

युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए । नेपालका लागि पुजा महतोले ३ तथा इन्दु बर्माले २ विकेट लिए ।

शनिबार भएको आफ्नो पहिलो खेलमा भने नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो ।

 

काठमाडौँमा उच्च सुरक्षा सतर्कता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने भन्दै राजावादीहरुले शक्ति प्रदर्शन गर्न शुरु गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षा स्रोतले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो साढे २ बजे काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुनेक्रम शुरु भएको छ ।

यसै विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेर भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने बारे छलफल भएको थियो ।

साथै सुरक्षा प्रबन्धका लागि सुरक्षाकर्मी परिचालन गर्ने र आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गरिने गरि तयारी भएको बुझिएको छ ।

सुरक्षा समितिको सोही निर्णय अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालन गरिएको छ ।

त्यस्तै प्रहरीले त्रिभुवन विमानस्थल भित्र टिकट भएका यात्रु र कर्मचारीलाई मात्र प्रवेश गर्न दिएको छ भने अन्यलाई मूलसडकको गेटमै रोकेको छ ।

ह्वाट्सएप ग्रुपबाट निकालेको भन्दै एडमिनको गोली हानी हत्या

एजेन्सी : पाकिस्तानको खैबर पख्तुनख्वा राज्यको राजधानी पेशावरमा, व्हाट्सएप ग्रुपबाट हटाइएको निहुँमा एक व्यक्तिले ग्रुप एडमिनको गोली हानी हत्या गरेका छन्।

यो घटना शनिबार पेशावरको बाहिरी इलाकामा रहेको रेगीमा भएको प्रहरीले जनाएको छ। अहिलेसम्म अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रहरीका अनुसार मुश्ताक अहमद नामक एक व्हाट्सएप एडमिनले अशफाक खानलाई ग्रुपबाट हटाएका थिए। यसपछि दुई जनाबीच विवाद भएको थियो।

बिहीबार, दुवै जना विवाद अन्त्य गर्न सहमत भएका थिए तर भेट हुने बित्तिकै अशफाकले मुश्ताकलाई गोली हानी हत्या गरे। अशफाकलाई ग्रुपबाट किन हटाइयो भन्ने कुरा अझै थाहा भएको छैन।

मृतकका भाइ हुमायुन खानले मिडियालाई भने- ‘मेरो भाइ र अशफाक बीच एउटा व्हाट्सएप ग्रुपमा केही विवाद भएको थियो, जसका कारण उसले अशफाकलाई ग्रुपबाट हटायो। यसपछि अशफाक रिसाएर मेरो भाइलाई गोली हान्यो। हाम्रो परिवारमा कसैलाई पनि दुई जना बीचको झगडाको बारेमा केही थाहा थिएन।’

प्रहरीले अशफाक विरुद्ध उजुरी दर्ता गरेको छ। अभियुक्तहरूलाई पक्राउ गर्न छापा मार्ने काम जारी छ।

पाकिस्तान र अफगानिस्तानको सीमामा अवस्थित खैबर पख्तुनख्वालाई पाकिस्तानको अत्यन्तै संवेदनशील क्षेत्र मानिन्छ। यो क्षेत्र पाकिस्तानमा मात्र नभई विश्वमै सबैभन्दा बढी हिंसा प्रभावित क्षेत्रहरू मध्ये एक हो।

कानुन उल्लंघन गरेको आरोपमा जापानबाट दुई नेपाली निष्कासन

काठमाडौं : जापानको अध्यागमनले कानुन उल्लंघन गरेको आरोपमा दुई नेपालीलाई निष्कासन गरेको छ। निष्कासनमा पर्नेमा पुन र भुजेल रहेका छन्। उनीहरू गत साता काठमाडौं आइपुगेका हुन्।

पछिल्लो समय जापानले अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ। फागुन महिनामै नौ नेपालीलाई जापानले निष्कासन गरिसकेको छ।

भारत-पाकिस्तान सीमा वरिपरि यात्रा नगर्न अमेरिकाको आग्रह

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा र नियन्त्रण रेखा वरिपरि यात्रा नगर्न आग्रह गरेको छ ।

ट्राभल एडभाइजरी जारी गर्दै अमेरिकाले पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा गर्न पनि निषेध गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो सल्लाहकारको कारण यी क्षेत्रमा आतङ्कवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको बताइएको छ ।

एडभाइजरीमा भनिएको छ, “पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन् । बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतङ्कवादी आक्रमणहरू भइरहेका छन् । यसमा पूर्व सङ्घीय प्रशासित आदिवासी क्षेत्रहरू समावेश छन्, जसलाई FATA वा सङ्घीय प्रशासित आदिवासी क्षेत्रहरू पनि भनिन्छ । यहाँ ठूला स्तरमा आतङ्कवादी आक्रमण भएका छन्, जसमा धेरैको ज्यान गएको छ, यद्यपि साना आक्रमण भइरहन्छन् ।”

एडभाइजरीमा थप भनिएको छ, “अतिवादीहरूले गरेको आतङ्कवाद र हिंसाले स्थानीय सैन्य र प्रहरी अड्डाहरूमा पनि आक्रमण गरेको छ ।आतङ्ककारीहरूले यातायात केन्द्र, बजार, शपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थल र सरकारी सुविधाहरूलाई चेतावनी बिना नै लक्षित गर्न सक्छन् ।”

आतङ्ककारीहरूले विगतमा अमेरिकी कूटनीतिज्ञ र दूतावासहरूलाई लक्षित गरेकोसमेत एडभाइजरीमा उल्लेख छ ।

प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन्। उनले दिउँसो १ बजे प्रदेशसभामा आफ्नो मन्तव्य राख्नेछन्।

त्यसअघि, ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन्, जहाँ १,३७७ विद्यार्थी दीक्षित हुँदैछन्।

दीक्षान्त समारोहपछि, प्रधानमन्त्री ओली धनगढी उपमहानगरपालिका–८ मा निर्माण सम्पन्न सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

ओली दिउँसो काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउदैछन् ।

माओवादीको जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको एक नेताले बताए ।

राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको ती नेताको भनाइ छ । अभियान अन्तरगत शनिबार रौतहटमा कार्यक्रम भएको छ । जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् ।

तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्ने गरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।

यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै नवलपुर ९नवलपरासी पूर्व० मा चैत्र २, परासी ९नवलपरासी पश्चिम०मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो ।

यस्तै कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो । यी सबै कार्यक्रम अब कहिलेदेखि सुरु गरेर कहिले सक्ने भन्नेबारे केन्द्रीय कार्यालयले छिट्टै मिति तय गर्ने ती नेताको भनाइ छ ।

अभियान भने माओवादीले फागुन १२ गते झापाबाट सुरु गरेको थियो । अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।

पछिल्लो समय राजावादीहरूले आफ्नो गतिविधि बढाउँदै लगेका छन् । आइतबारका लागि राजावादीहरूले पोखराबाट काठमाडौँ फर्किँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्ने तयारी गरेका छन् ।

 

युक्रेनमा रुसको आक्रमण : १२ जनाको मृत्यु

एजेन्सी : शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ। यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी वार्ताकारहरूबीच युद्धविरामको लागि हुने वार्ताको केही दिन अगाडि भएको हो।

युक्रेनको डोनेट्स्क क्षेत्रको डोब्रोपिलियाको केन्द्रमा शुक्रबार राति भएको रुसी आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ।

खार्किभ क्षेत्रका सैन्य प्रमुख ओलेग सिनेगुबोभले शनिबार बिहान बोगोदुखिभ सहरमा भएको ड्रोन हमलामा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएको जानकारी दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड रुसमाथि नयाँ प्रतिबन्ध र शुल्क लगाउने धम्की दिएका बेला रातभर हवाई आक्रमण भएको हो।

साथै, पत्रकारहरूलाई मन्तव्य दिएको केहि समय पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की पनि दिएका थिए।

महिलाको उन्नति समाज समृद्धिको आधार : संयुक्त राष्ट्र महासचिव

न्यूयोर्क । संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय समुदायलाई सबै महिला र बालिकाहरूको लागि अधिकार, समानता र सशक्तिकरणलाई यथार्थ बनाउन अडिग रहन आह्वान गरेको छ ।

“जब महिला अगाडि बढ्छ, हामी सबै अगाडि बढ्छौं,” संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्देशमा उल्लेख गरे । “समान अधिकारलाई मूलधारमा ल्याउनुको सट्टा, हामी दुर्व्यवहारलाई मूलधारमा राखिएको देखिरहेका छौं ।”

“जब महिला र केटीहरूको लागि समान अवसरको ढोका खुला हुन्छ, सबैको जित हुन्छ । समान समाजहरू अधिक समृद्ध र शान्तिपूर्ण हुन्छन् र दिगो विकासको जग बसाल्छन् ।”

“यस अन्तर्राष्ट्रिय महिला दिवसमा, हामी बेइजिङमा भएको ऐतिहासिक संयुक्त राष्ट्र सम्मेलन पछिको तीस वर्षको प्रगति र उपलब्धिलाई मान्यता दिन्छौं,” गुटेरेसले थपे ।

मार्च ८ मा, अन्तर्राष्ट्रिय परिवारले सबै महिला र केटीहरूका लागि ‘अधिकार,समानता,सशक्तिकरण’ भन्ने विषयवस्तुअन्तर्गत अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछ ।

यस वर्षको नाराले सबैका लागि समान अधिकार, शक्ति र अवसर खोल्न सक्ने कार्य र कोही पनि पछाडि नछोडिने नारीवादी भविष्यका लागि आह्वान गर्दछ । यस दृष्टिकोणको केन्द्रबिन्दु आगामी पुस्ता युवा, विशेष गरी युवती र किशोरीहरूलाई स्थायी परिवर्तनको उत्प्रेरकको रूपमा सशक्त बनाउनु हो ।

तिब्बतमा भूकम्प जाँदा काठमाडौँमा समेत धक्का महसुस

काठमाडौं – चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्प गएको छ । शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा तिब्बतको डिंगी काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यसको तीव्रता ५।९ म्याग्निच्युड रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको उल्लेख गरिएको छ ।

यसअघि पुस २३ गते सोही क्षेत्र केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको थियो ।

 

राजतन्त्र फर्काउने हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक

डोटी । गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा भइरहेको होहल्ला काम नलाग्ने बताएका छन् । डोटीमा नेपाल प्रेस युनियनद्धारा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

पछिल्लो समय राजसंस्था फर्काउनु पर्ने माग गर्दै गरिएका प्रदर्शन र र्‍यालीहरुलाई संकेत गर्दै गृहमन्त्री लेखकले केही साथीहरुबाट भइरहेको होहल्ला काम नलाग्ने बताएका हुन् । गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्र विरुद्ध पहिलेदेखि नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनुपर्ने बताए । गणतन्त्रको विकल्प राजतन्त्र नहुने गृहमन्त्री लेखकको भनाई छ ।

गृहमन्त्री लेखकले भने, ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ । देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरु उपभोग गरिरहेका छन् ।’ नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न उनको सुझाव छ । पूर्वराजालाई पार्टी खोलेर खुला राजनीतिमा आउन समेत उनले चुनौती दिएका छन् ।

एनआरएनको अधिवेशन मे भन्दा पर जान हुँदैन : परराष्ट्र मन्त्री डा. राणा

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली सङ्घ एनआरएनएको महाधिवेशन अदालतले तोकेकै मितिमा गर्न निर्देशन दिएकी छन् ।
नवौँ अधिवेशनपछि विभिन्न समूहमा विभाजित भएकोमा सर्वोच्च अदालतको गत वर्षको चैत २१ गतेको आदेश अनुसार उच्चस्तरीय समितिलाई एकताको अधिवेशन गर्ने जिम्मा दिइएको थियो ।

सर्वोच्चका न्यायाधीश द्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले डा. शेष घलेको नेतृत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेर फैसलाको पूर्ण पाठ सार्वजनिक भएको ६ महिनाभित्र अधिवेशन गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको फैसला ढिलो गरी सार्वजनिक भएकाले आगामी मे १८ तारिखमा ६ महिना पुग्छ ।
घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३–५ काठमाडौँमा भौतिक उपस्थितिमा एनआरएनएको अधिवेशन गर्ने गरी मिति घोषणा गरेको छ भने अहिले सदस्यता आह्वान गरिसकेको छ ।

उच्चस्तरीय समितिले अधिवेशनको तयारी अघि बढाउँदा बालुवाटारबाट काम गरिरहेको डा. बद्री केसी समूहले अहिलेसम्म उच्चस्तरीय समितिसँग समन्वय गरेको छैन भने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले गरेको आग्रहलाई पनि मानेको छैन । एक पटक पनि उच्चस्तरीय समितिको बैठकमा उपस्थित नभएका डा. केसी शुक्रवार परराष्ट्र मन्त्री राणाले बोलाएको बैठकमा भने उपस्थित भएका थिए । उक्त बैठकमा केसीले मेमा तोकिएको अधिवेशन पर सार्नु पर्ने तर्क गरेपछि परराष्ट्र मन्त्री राणाले सर्वोच्चको परमादेश कार्यान्वयन गर्ने कुरामा दायाँ बायाँ नहुने प्रस्ट पारिन् ।

छलफलमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवले अदालतले दिएको समय सीमामा जसरी पनि अधिवेशन गरेर संस्था नवीकरण गर्नु पर्ने बताएका थिए । अर्को पक्षलाई समेट्ने कुरामा सहजीकरण गर्न उच्चस्तरीय समितिलाई मन्त्री राणाले आग्रह गरे पनि परमादेशको मिति कटाउन भने नपाइने बताइन् ।
आजको बैठकमा यसअघि उच्चस्तरीय समितिमा उपस्थित नभएका केसीसहित पूर्व अध्यक्षहरू पनि उपस्थित भएका थिए ।

उच्चस्तरीय समितिलाई असफल बनाउन लागि परेको समूह सरकारसँगको छलफलमा भने सुरुमै पुग्नुलाई धेरैले आश्चर्य पनि मानेका छन् ।

आज बोलाइएको प्रदेशसभा बैठक स्थगित

धनगढी, २३ फागुन । सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिए । आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाएको थियो । आज बोलाइएको बैठक आइतबार दिउँसो १ का लागि सारिएको जोशीले जानकारी दिए ।

यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेशसभाबाट विशेष सम्बोधन गर्ने बताइएको छ । एक कार्यक्रममा सहभागी हुन कञ्चनपुरको महेन्द्रनगर आउन लागेका प्रधानमन्त्रीले सम्भवतः प्रदेश सभाबाट पनि विशेष सम्बोधन गर्ने जनाइएको छ । तर सचिवालयमा आधिकारिक जानकारी भने अहिलेसम्म नआएको जोशीले बताए ।

खोज्नुहोस