झापाबाट तीन जना भुटानी शरणार्थी पक्राउ

काठमाडौं ।  झापामा तीन जना भुटानी शरणार्थी पक्राउ परेका छन्। प्रहरीले शनिबार तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अमेरिकाबाट विभिन्न देश हुँदै भुटानी शरणार्थीहरू नेपाल आएको प्रहरीले सूचना पाएको थियो।  सो सूचनाको आधारमा खटिएको टोलीले शनिबार दिउँसो २ बजे दमक नगरपालिका-३ बेलडागी शिविरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्।  उनीहरूमाथि थप अनुसन्‍धान गर्न अध्यागमन विभागमा बुझाउने तयारी छ।

‘आरटीएफ’ कमाण्डर राजभण्डारी पक्राउ, प्रसाईं अझै फरार

काठमाण्डौं, १६ चैत ।
प्रहरीले दुर्गा प्रसाईं निकट ‘रोयल टास्क फोर्स (आरटीएफ)’ का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ।

शुक्रवार तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले राजभण्डारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले राजभण्डारीलाई शनिबार बालाजु क्षेत्रबाट पक्राउ गरिएको पुष्टि गरे ।
प्रहरीले तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एक सयभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ।

राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र आन्दोलन परिचालन समितिका संयोजक धवल सम्शेर जवरा सहित सयभन्दा बढि जना पक्राउ पर्दा आन्दोलनका अगुवा दुर्गा प्रसाई भने अझै फरार छन् । प्रहरीले प्रसाईको खोजी जारी रहेको बताएको छ ।

 

ज्ञानेन्द्र शाह निरकुंश -देउवा

लुम्बिनी, १६ चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनै नसक्ने बताएका छन् ।

शनिबार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभागृहमा सुरु भएको नेपाल लेखक संघको आठौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले राजाको बिगत र बर्तमान हेरेर संवैधानिक राजा हुन नसक्ने बताएका हुन् ।

शुक्रबार राजधानीमा भएको आन्दोलनले पूर्वराजा शाहले चाहेको व्यवस्था स्पष्ट भएको देउवाले बताए ।

देउवाले ज्ञानेन्द्र शाहमा संवैधानिक राजा हुने इच्छा नै नभएको बताए ।

‘हिजो भएको आन्दोलन एकदमै हिंसात्मक थियो । त्यो आन्दोलनको प्रकृति हेर्दा ज्ञानेन्द्रमा संवैधानिक राजा हुने कुनै क्षमता नै देखिएन । उनी निरंकुश छन्,’ उनले भने, ‘उनी अराजक भएको हिजोको आन्दोलनले देखाइसक्यो ।’

अहिलेको समय गणतन्त्रकै भएकाले व्यवस्था उल्टिन्छ कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । देउवाले यतिबेला सबैले संयमता अपनाउन आवश्यक रहेको धारणा राखे ।

 

नजरबन्दमा राखियो राजावादी आनदोलनका संयोजक नवराज सुवेदीलाई

राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ । संयोजक सुवेदीको काठमाडौं महानगरपालिका–७, कुमारीगालस्थित घरमा प्रहरी खटाइएको छ ।

सुवेदीलाई प्रहरीले शुक्रबार रातिदेखि नै घरबाट बाहिर निस्किन दिएको छैन । ८६ वर्षीय सुवेदीलाई स्वास्थ्य र उमेरका कारण पक्राउ नगरी घरमै नजरबन्दमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार संयोजक सुवेदीलाई कसैसँग भेट्न दिइएको छैन ।

शुक्रबार तीनकुनेमा राजावादीहरूले हिंसात्मक आन्दोलन गरेका थिए । उक्त आन्दोलन समितिका संयोजक सुवेदी हुन् भने कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं । प्रदर्शनका क्रममा तीनकुनेमा पत्रकार सुरेज रजकसहित दुई जनाको मृत्यु भएको थियो ।

यसअघि राजसंस्था पुनःस्थापनाको आन्दोलन भड्काएर हिंसात्मक बनाउन योजनाबद्ध भूमिका खेलेको भन्दै प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको थियो ।

राजसंस्था पक्षधरको शुक्रबारको आन्दोलन भड्किनुको मुख्य दोष भने कमाण्डर तोकिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई लगाइएको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । तर, फरार रहेका प्रसाईं अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । त्यस्तै, राजावादीको आन्दोलन भड्काएको आरोपमा अधिवक्तासमेत रहेका स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ पनि पक्राउ परेका छन् ।

तीनकुनेको प्रदर्शन हिंसात्मक भएपछि सहभागीहरू तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका थिए । प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गर्दै कोटेश्वरदेखि जडिबुटीसम्म पुगेका थिए । त्यसक्रममा एक दर्जनभन्दा धेरै सवारी जलाउनुका साथै अन्नपूर्णपोष्ट, कान्तिपुर टिभीलगायत सञ्चारगृहमा आक्रमणसमेत गरेका थिए । कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्चाएका थिए ।

गृहमन्त्री लेखकद्वारा तोडफोड र आगजनी भएकाे क्षेत्रमा अनुगमन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूको तोडफोड र आगजनीबाट पुगेको क्षतिको तीनकुने क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको क्रममा विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी भएपछि गृहमन्त्री लेखक अनुगमनमा निस्किएका हुन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको थियो । प्रदर्शनका दुई जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार उनले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी परिस्थितिको समीक्षा गर्नेछन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

स्रोतले भन्यो–हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ ।

ज्ञानेन्द्र शाहलाई थुनेर मुद्दा चलाउन माओवादी सांसदको माग

काठमाडौं, १६ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले राजावादीहरुको प्रदर्शनलाई आन्दोलन भन्न नमिल्ने बरु पञ्चायत शासनको झल्को दिनेगरि लुटपाट र हिंस्रक गतिविधि भएको टिप्पणी गरेका छन् । राजावादीहरुले पत्रकारलाई जिउँदै जलाएर मारेको भन्दै उक्त घट्ना निन्दनीय रहेको दाहालको टिप्पणी छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । राजावादीहरुको आन्दोलन नभएर अपराधिक प्रदर्शन भएको उनको भनाई छ । उनले सरकारले समयमै प्रहरीहरुमाथि गाडी चढाएर हत्या गर्न उद्धत देखिएका ज्ञानेन्द्र शाहका कमाण्डर दुर्गा प्रसाईंलाई फिल्डबाटै पक्राउ गर्न नसकिनु दुःखद भएको र यसको नैतिक जिम्मा वर्तमान सरकारलेपनि लिनुपर्ने मत राखे ।

प्रहरीलाई सरकारले प्रसाईंलाई पक्राउ गर्न निर्देशन दिन भने चुकेको उनको भनाई छ । उनले भने,‘हिजोको घट्ना निन्दनीय छ । यो अमानवीय छ। यो राजनीतिक प्रकृतिको घट्ना नै होइन, यो त अपराधिक प्रकृतिको घट्ना छ । यसमा संलग्न पात्र र निर्देशन दिने ज्ञानेन्द्र शाहलाई पनि गिरफ्तार गर्नुपर्छ । उनको सेवा तथा सुविधा खोस्नुपर्छ । उनीमाथि मुद्दा चलाउनुपर्छ । ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको घट्ना हो । यसमा संस्थागत रुपमा ज्ञानेन्द्र शाहले जिम्मा लिनुपर्छ । उनलाई थुन्नुपर्छ ।’

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले दिए राजिनामा

धनगढी, १६ चैत ।
काठ व्यापारीहरुसंगको आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले शनिवार राजिनामा दिएका छन् ।

असोज महिनाको एक छलफलमा गरिएको आर्थिक लेनदेन सम्बन्धि कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले शनिवार राजिनामा दिएका हुन् ।

काठ व्यापारीसंगको मिलोमतोमा ढलापडा, सडा काठको टेण्डर र दिगो वन व्यवस्थापनको कार्य विधि बनाउन मोल मोलाई गरिरहेको मन्त्री चौधरीको अडियो सार्वजनिक भएपछि मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई पदबाट राजिनामा दिन निर्देशन दिएका थिए ।

टीकापुरमा रहेका मन्त्री चौधरीलाई आज बिहान धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले चौधरीलाई राजिनामा दिन निर्देशन दिदै नदिए बर्खास्त गर्ने चेतावनी दिएका थिए ।

मुख्यमन्त्री शाहलाई भेटेर फर्किएपछि चौधरीले पदबाट राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहले आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ र संरक्षक रेशम चौधरीलाई समेत मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए ।

उनले पदबाट राजिनामा दिनेक्रममा आफ्नो पार्टीभित्र दुई धार रहेको, पार्टी भित्रैबाट र अन्य पार्टीहरुले आफूमाथि षडयन्त्र गरेको चौधरीले बताए ।

उनले आफूलाई नियुक्तिको विषयमा केही दिन अघि धम्की दिएको र सुरक्षित राखिएको धम्कीपूर्ण मेसेज आवश्यक परेको बेला सार्वजनिक गर्ने बताए ।

उनले आफूमाथि प्रश्न उठेकोले नैतिकताका आधारमा राजिनामा दिएपनि आर्थिक लेनदेनमा आफू संलग्न नभएको बताए ।

तीनकुने घटनाको दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १६ चैत ।
सरकारले तीनकुनेमा शुक्रबार भएको घटनाका दोषीलाई कारबाही गर्ने भएको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीनकुने घटनाको सत्य-तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समेत जानकारी दिए ।

बैठकले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

शक्रवार दुर्गा प्रसाई नेतृत्वको राजावादीहरुको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो । सोही क्रममा आन्दोलनकारीहरुले लुटपाट र आगजनी समेत गरेका थिए ।

कोरियाली पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य -राजदूत पार्क

काठमाडौं, १६ चैत ।

कोरिया टुर्स एन्ड ट्रेनिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) स्थापनाको ७औं वार्षिक उत्सव कोटान नाइट बिहीवार काठमाण्डौंमा सम्पन्न भएको छ।

बिहीबार काठमाण्डौंको होटल मर्क्योरमा आयोजित कार्यक्रममा बोल्दै कोटानका अध्यक्ष अमरबहादुर शाहीले कोटानको मुख्य उद्देश्य कोरियन पर्यटकहरुलाई ट्रेकिङमा जाँदा सुरक्षित हिसाबले पदयात्रा गराउनका साथै आउँदा दिनमा कोरियन पर्यटकको संख्या वृद्धि गर्ने रहेको बताए ।

अध्यक्ष शाहीले संस्थाको स्थापनाकाल देखि नै कोरियाली दूतावाससँगको सहकार्य र सहयोगप्रति हार्दिक आभार प्रकट गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोरियाली राजदूत पार्क थेयङले कोरियाली पर्यटक नेपाल भित्र्याउनका लागि कोटानले खेलिरहेको महत्त्वपूर्ण भूमिकाप्रति आभार प्रकट गर्दै नेपालमा कोरियाली पर्यटन प्रवर्धन गर्न दूतावास प्रतिबद्ध रहेको बताए ।

राजदूत पार्कले नेपालमा पर्यटन व्यवसाय देशको प्रमुख आयआर्जनको स्रोत भएको उल्लेख गर्दै पर्यटकको सुरक्षालाई ध्यान दिंदै विज्ञापन गर्न सकेमा हरेक हप्ता ५० लाख कोरियालीहरु कोरियाका पहाडहरुमा ट्रेकिङमा रमाउने गरेको प्रसंग उठाउँदै उक्त संख्याको २ प्रतिशत मात्र नेपाल भ्रमण गर्दा एक लाख कोरियाली पर्यटक नेपाल भ्रमण गर्न सक्ने सम्भावनाको बारेमा चित्रण    गरे ।

राजदूत पार्कले कोरियाली पर्यटकहरुका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताए ।

कार्यक्रममा कोटानका पदाधिकारी तथा कोरियाली दूतावास, कोइका, ईपिएस, नेपाल पर्यटन बोर्ड होटल एसोसिएसन, विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र धवलसम्शेर सहित १७ जना पक्राउ

काठमाण्डौं, १६ चैत ।
प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार काठमाण्डौंको तीनकुनेमा आयोजित दुर्गा प्रसाई नेतृत्वको राजावादीहरुको आन्दोलनका क्रममा पुर्‍याइएको ठूलो धनजनको क्षतिमा संलग्न भएको आरोपमा मिश्र सहित १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाललाई पक्राउ गरेको छ ।

उनीहरुलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।

शुक्रवार राजावादीहरुको आन्दोलनका क्रममा तीनकुनेमा आगजनी र लुटपाट भएको थियो । सोहीक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । आगजनीमा परी एक जना पत्रकार र गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको थियो ।

तीनकुने क्षेत्रमा सेना परिचालन

काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। कफ्र्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो।

जिल्ला प्रशासन कार्यालयले  काठमाडौंको  ४ ठाउँमा कफ्र्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको छ। विमानस्थललगायतका संवेदनशील क्षेत्रमा  राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो।

दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजे : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको बताएका छन्।

लेखकले निजी सम्पत्ति आगजनी गर्ने र मिडिया हाउसमा आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताएका छन्।

मन्त्री लेखकले राजावादीको आन्दोलनमा प्रहरीले संयमता र धैर्यता अपनाएको उल्लेख गरे। तर उदण्डताको अगाडि केही नलागेको उनले बताए।

राजावादी आन्दोलनकारीहरूको अनियन्त्रित भिडले काठमाडौंको कोटेश्वर र तीनकुने क्षेत्रमा निजी सम्पत्तिमा आगजनी र मिडिया हाउसमाथि आक्रमण भएको छ।

साथै, नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा आगजनी भएको छ। प्रहरी भिड नियन्त्रणमा चुकेको देखिएको छ।

गृह मन्त्रालय र सुरक्षा निकाय बीच आकस्मिक बैठक सुरु

गृह मन्त्रालयमा आकस्मिक बैठक सुरु भएको छ । गृहमन्त्री रमेश लेखक, गृह सचिव, सुरक्षा निकायका टोलीसहित बैठक सुरु भएको छ ।

राजावादी समूहको प्रदर्शन उग्र बन्दै गएपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको हो ।

प्रदर्शनको समीक्षा गर्दै अराजक गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल भइरहेको गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

राजावादीहरूको प्रदर्शन उग्र बन्दा उनीहरूले विभिन्न पार्टी कार्यालयका मुख्यालय तारो बनाइरहेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगरमा उनीहरूले आगजनी गरिसकेका छन् ।

एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय नजिक प्रदर्शनकारीहरू पुगेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइरहेको छ ।

काठमाडौंको तीनकुने क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्युनै लगाइसकेको छ ।

राजावादी समूहले लुटे भाटभटेनी

काठमाडौं । कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् ।

“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।

प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन ।

“४० मिनेट भइसक्यो प्रहरीलाइ खबर गरिएको तर अझै आइपुगेको छैन,” भाटभटेनीका सीओओ  पानु पौडेलले भने ।a

राजावादीको आन्दोलन उग्र, तीनकुने क्षेत्रमा लगाइयो कर्फ्यु

काठमाण्डौं, १५ चैत ।
दुर्गा प्रसाई नेतृत्वको राजावादी आन्दोलनकारीहरुले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ ।

तीनकुने क्षेत्रमा बढ्दो अराजकतालाई मध्यनजर गर्दै सरकारले थप क्षति हुन नदिन र शान्ति सुरक्षा कायम राख्न कर्फ्यु लगाएको हो ।

गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले कर्फ्यु लगाउने निर्णय गरिएको पुष्टि गरे ।

राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडको प्रयास गरेका थिए ।

प्रर्दशनकारीहरुले उनीहरूले तीनकुनेका विभिन्न घरभवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । तीनकुनेमा राखेको सभा नसकिँदै राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।

प्रचण्डको आशङ्का : ‘ओली राजावादीसँग त मिलेका छैनन्?’

काडमाडौं । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली राजावादीसँग मिलेका त छैनन्? भन्ने प्रश्न गरेका छन्।

उनले भने, “अहिले उल्टो उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ। भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो।”

उनले “बयलगाडामा चढेर गणतन्त्र आउँदैन भनेर ओलीले पहिले पनि भनेको” आरोप लगाए।

प्रचण्डले ओलीलाई गणतन्त्रपछि रिस रहेको भन्दै उनले आफूलाई गणतन्त्रवादी भएको पुष्टि गर्नु पर्ने बताए।

काठमाण्डूका केही क्षेत्रमा कर्प्यू लगाउने निर्णय

काठमाण्डू : काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा त्यहाँ आगजनी, तोडफोड र लुटपाट भएको भन्दै कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डूले स्थिति नियन्त्रणमा लिनका लागि उक्त निर्णय गरेको हो।

काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बीबीसीसँग भने, ूस्थिति नियन्त्रणमा लिनका लागि तीनकुने, सिनामङ्गल, कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।ू

सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमहरूमा उक्त क्षेत्रमा प्रहरीले ूकर्फ्यू समय सुरु हुन लागेकोू भन्दै सर्वसाधारणलाई सुरक्षित रूपमा घर फर्कन आग्रह गरेको भिडिओहरू पनि आएका छन्।

तीनकुनेमा ‘तोडफोड, आगजनी र लुटपाट’
नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले तीनकुने क्षेत्रको अवस्था अझै तनावग्रस्त रहेको बताएका छन्।

उनले राजसंस्था पक्षधर प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरेको बताए।

“केही घाइते भएका छन्। आगजनी, तोडफोड, र लुटपाट भएको छ,” आचार्यले बीबीसीसँग भने।

“स्थिति अझैसम्म तनावग्रस्त छ।” – बीबीसी

म्यान्मारमा शक्तिशाली भूकम्प, बैंककमा ढल्यो ३० तले भवन

काठमाडौं । शुक्रबार म्यान्मारमा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको छ । त्यस्तै भवनहरूलाई क्षति पुर्‍याएको र छिमेकी थाइल्यान्डका मानिसहरूलाई सडकमा भाग्न बाध्य पारेको छ ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

एएफपी पत्रकारहरूका अनुसार २० लेन चौडा राजमार्गहरू भएको एक फराकिलो म्यान्मारको राजधानी न्यापिडोमा भवनहरूका छतका टुक्राहरू खस्दै सडकहरू भत्किएका छन् ।

भूकम्प आएर हल्लाउन थाल्दा एएफपी पत्रकारहरूको एउटा टोली न्यापिडोको राष्ट्रिय सङ्ग्रहालयमा थियो ।वर्दीधारी कर्मचारीहरू बाहिर दौडिँदा घरको छत र भित्ताबाट टुक्राहरू खसेका थिए । तिनीहरूमध्ये कोही काँपेका र आँसुले भरिएका थिए भने अरूले प्रियजनहरूलाई सम्पर्क गर्ने प्रयास गर्न सेलफोन समातेका थिए ।

स्थिर हुनुअघि करिब आधा मिनेटसम्म जमिन हिंसात्मक रूपमा कम्पन भयो । भूकम्पपछि हताहतको तत्काल कुनै खबर आएको छैन तर भूकम्पले उत्तरी थाइल्यान्डका नजिकैका सहरहरू र राजधानी बैंककसम्म आतङ्क फैलायो ।

यसैबीच, म्यान्मार केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।

थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो ।

‘विगतमा केही कमजोरी गरेकाले समस्या पैदा भए’ : प्रचण्ड

काठमाण्डौं, १५ चैत ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको बताएका छन्।

उनले आफूहरूले त्यसप्रति आत्मालोचना गर्नुपर्नेमा प्रचण्डको जोड छ। “हामी गणतन्त्रवादीले जनताका आशा/अपेक्षाअनुरूप काम गर्न नसकेकै कारण इतिहासको कुडा-कर्कटमा पुर्‍याइएकाहरूले टाउको उठाएका हुन्।”

“हामी गम्भीर आत्मालोचना गर्दै गल्तीबाट शिक्षा लिएर जनताका सम्पूर्ण जनताको पक्षमा लाग्छौँ।”

उनले नेपाली जनता र राजनेताको उदारतालाई उट्याउने कोसिस नगर्न चेतावनी दिए। उनले विगतमा गरेका गल्तीको फल अहिले उनले भोगिरहेको र थप गल्ती नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिए।

उनले “सामन्ती निरङ्कूशता र दलाल पुँजीवादलाई पूर्ण रूपमा परास्त गर्नका लागि अर्को क्रान्ति आवश्यक भएको” पनि बताए।

उनले गणतन्त्रवादीले केही गल्ती गरेकाले अरूले फाइदा उठाएको भन्दै अब सच्चिएर आफूहरूले नयाँ क्रान्तिको नेतृत्व गर्ने दाबी गरे। उनले तीनकुनेमा “मण्डले अराजकता” फैलाएको र आगलागी गरेको भन्दै राजावादी प्रदर्शनकारीहरूको आलोचना पनि गरे।

अहिले पनि केपी शर्मा ओली उल्टो बाटो हिडेको बताए।

उनले कुलमानलाई हटाइएको विषयलाई उल्लेख गर्दै त्यो व्यक्तिको लडाइँ नभइ सुशासन र कुशासनको लडाइँ भएको बताए।

गणतन्त्रको मर्म विपरीत सत्ताधारी ‘बिचौलियाको मतियार’ बनेको बताए।

उनले जनतामा अहिले देखिएको आक्रोशको समीक्षा गरेर लोकतन्त्रतर्फ फर्कँन आग्रह पनि गरे।

जनतातर्फ नफर्किए “बिचौलियाको पछाडि लागिरहेमा” अबको क्रान्तिको तारो सत्ताधारी दल र त्यसका नेता पर्ने चेतावनी पनि प्रचण्डले दिएका छन्।

उनले आत्मआलोचनासहित मोर्चासँग सहकार्य गर्न पनि आग्रह गरे।

वीवीसी नेपालीबाट

‘जनताका इच्छा पूरा भएका छैनन् तर गणतन्त्रबाट पछि फर्कने होइन’

ठमाण्डौं, १५ चैत ।

समाजवादी मोर्चाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका नेकपा नेता नेत्रविक्रम चन्द विप्लवले कुनै पनि हालतमा अब नेपालमा राजतन्त्र फर्कन नसक्ने बताए।

उनले आफूहरू देशमा गणतन्त्र ल्याउने पछिल्लो शक्ति भएकाले आफूहरूले “अVध्यारो पैतलामुनि रहेको” शक्ति नफर्कने दाबी गरे। उनले अहिले आफूहरू चौबाटोमा पुगेको जस्तो लागेको भए पनि ती चुनौतीलाई सामना गर्दै अघि बढ्ने बताए।

उनले भने, “जनताका सबै चाहना पूरा भएका छैनन् भन्ने हामीलाई थाहा छ। तर नेपाली जनताले गणतन्त्रमा गौरव गर्छन् र अब यसबाट पछि फर्कने होइन।”

उनले गणतन्त्र आएपछि केही मानिसहरूको उठीबास लागेकाले उनीहरू चम्किएको पनि बताए। तर त्यस्तो शक्ति परास्त हुने उनको भनाइ छ।

उनले राजावादीहरूले जनआन्दोलनका संयोजक बनाएका नवराज सुवेदीतर्फ सङ्केत गर्दै “कुर्सीबाट उठ्न पनि नसक्ने मान्छेले राजतन्त्र फर्काउन नसक्ने” बताए।

उनले अहिले नेपालमा राजनीतिको “प्रहसन” भइरहेको र उनीहरूले पछुताउनुपर्ने चेतावनी दिए।

वीवीसी नेपालीबाट

तीनकुनेमा आगलागी, नियन्त्रणको ‘प्रयास जारी’

काठमाण्डौं, १५ चैत ।

राजावादीहरूको प्रदर्शन तथा सभास्थल रहेको काठमाण्डूको तीनकुनेस्थित एउटा निजी भवनमा आगलागी भएको छ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएकै बेला त्यहाँ आगलागी भएको हो।

प्रदर्शनकारीहरूले उक्त घरमा आगो लगाइदिएको दाबीसहितको विवरण पनि आएको छ तर त्यसको आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।

“त्यहाँ आगलागी भएको छ, तर प्रदर्शनकारीले दमकललाई जानका लागि रोकेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको छ,” काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अशोकुमार भण्डारीले बीबीसीसँग भने।

“सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर आगो निभाउने प्रयास गरिरहेका छन्।”

उक्त क्षेत्रमा स्थिति केही तनावपूर्ण बनेको र अझै पनि झन्डै ५०० प्रदर्शनकारीहरूले प्रहरीलाई ढुङ्गा हानिरहेको उनले बताए।

तीनकुनेमा प्रहरीहरू

तीनकुनेमा प्रहरीले चलायो गोली

काठमाडौं – राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

राजावादी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा थालेपछि प्रहरीले सुरुवातमा लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्न थाले। तर, स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले रबरको गोली र रियल गोली प्रहार गरेको छ।

प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन्। उक्त घाइतेलाई तिनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ। घाइते प्रदर्शनकारीको कम्मरमा गोली लागेको जानकारी प्राप्त भएको छ।

झडपमा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन्, र नेपाल प्रहरीका केही जवानहरू पनि घाइते भएको जानकारी प्राप्त भएको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

रुसी सेनामा ‘ज्यान गुमाएका र बेपत्ता आफन्त’ खोज्दै मस्को पुगे नेपाली

रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका एक दर्जनभन्दा बढी नेपालीका आफन्तजन राहत र क्षतिपूर्तिको खोजीका लागि रुसको राजधानी मस्को गएको नेपाली अधिकारीहरूले बताएका छन्।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक लेखनाथ गौतमका अनुसार बेपत्ता रहेका भनिएका केही परिवारका सदस्य पनि आफन्तको खोजी गर्दै रुस गएका छन्।

उनले मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा आफूहरूले १६ जनालाई रुस जना अनुमति दिइएको बताए।

गौतमका अनुसार रुस जाने अधिकांशमा रुसी सेनामा भर्ती भएका पुरुषहरूका श्रीमतीहरू नै छन्। उनले भने, “कोहीका नजिकका नातेदारहरू पनि हुनुहुन्छ। कानुनी हकदार नै चाहिने भएकाले अधिकांशको श्रीमतीहरू नै जानुभएको छ।”

सन् २०२२ मा सुरु भएको रुस र युक्रेनबीचको युद्धमा रुसको तर्फबाट युद्धरत सेनामा भर्ना भएकामध्ये १०० जनाभन्दा बढी नेपाली अझै बेपत्ता रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुस जान सहजीकरण

नेपाल सरकारले हालसम्म रुसी सेनामा कार्यरत आफ्ना ४९ नागरिकले ज्यान गुमाएको पुष्टि गरेको छ। तर बेपत्ता रहेकाहरूको सङ्ख्या पनि उल्लेख्य भएकाले यो सङ्ख्या अझै बढ्न सक्ने ठानिएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णबहादुर ढकालले रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाएका वा हराइरहेका व्यक्तिका आफन्तहरूलाई रुस जान दिनका लागि नेपालले सहजीकरण गरिदिएको बताए।

प्रवक्ता ढकालले भने, “रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्ने परिवारका लागि कन्सुलर विभागले ‘टू हूम इट मे कन्सर्न’ (जो जससँग सम्बन्धित छ) भन्ने पत्र जारी गर्दै आएको छ। रुस नै गएर बेपत्ता रहेका आफन्तको खोजतलास गर्न चाहने परिवारका लागि पनि त्यस्तो पत्र जारी गर्दै सहयोग अनि सहजीकरण गर्दै आएको छ।”

उनले थपे, “एउटा परिवारले तीन किस्ता (क्षतिपूर्ति)मध्ये दुई किस्ता रुसमा नै प्राप्त गरिसकेको जानकारी नेपाली राजदूतावास मस्कोबाट प्राप्त भएको छ। अर्को परिवारको क्षतिपूर्ति प्राप्तिको प्रक्रिया चलिरहेको छ।”

रुस-युक्रेन युद्धमा लडेका नेपालीहरूको सङ्ख्या यकिन छैन

तस्बिर स्रोत,EPA

तस्बिरको क्याप्शन,रुस-युक्रेन युद्धमा लडेका नेपालीहरूको सङ्ख्या यकिन छैन

रुसी सेनामा नेपालीहरू गैरकानुनी रूपमा भर्ना भएका विवरणहरू सार्वजनिक भएलगत्तै नेपालले सन् २०२२ मै ‘भिजिट’ र श्रम भिसामा रुस जान रोक लगाएको थियो।

तर पछिल्लो निर्णयअनुसार मस्कोस्थित नेपाली दूतावासको सिफारिसमा कन्सुलर सेवा विभागले मृतक वा वेपत्ताका परिवारहरूलाई यात्रामा सहजीकरणका लागि यस्तो पत्र लेखिदिन थालेको हो।

कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक गौतमले भने, “बेपत्ताको हकमा अहिले के हुन्छ, केही पत्ता लाग्छ कि लाग्दैन भनेर हामीले परीक्षणका रूपमा आफन्तलाई जान दिएका हौँ। केही उपलब्धि भयो भने अरूको पनि गरौँला भन्ने हिसाबमा पहिले हेरौँ भनेर एकदुई जनाको मात्रै दिएका छौँ।”

उनले विगतमा पनि परीक्षणका रूपमा आफूहरूले रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीहरूका एकाध परिवारलाई रुस जान अनुमति दिएको बताए।

रुस पुगेका परिवारका सदस्य के भन्छन्?

क्षतिपूर्ति वा बेपत्ता आफन्तको खोजी गर्दै रुस पुगेका परिवारका सदस्यहरूले प्रक्रिया चलिरहेको भन्दै यसबारे धेरै बोलेका छैनन्।

बीबीसीसँग कुरा गर्दै एक जनाले कागजपत्र बुझाएपछि तीन हप्तादेखि तीन महिनाभित्र क्षतिपूर्ति रकम प्राप्त हुने जानकारी दिइएको उल्लेख गरे।

उनका अनुसार रुसी अधिकारीहरूले ज्यान गुमाएका नेपाली रुसी सैनिकका परिवारलाई झन्डै १ करोड ७० लाख रुबल अर्थात् २ करोड ७७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने वाचा गरेका छन्।

त्यसबाहेक परिवारले रुसी नागरिकता लिएको खण्डमा मासिक ३५ हजार रुबल ( करिब नेपाली ५७ हजार रुपैयाँ) भत्ता दिने भनिएको पनि उल्लेख गरेका छन्।

तर यो विवरणको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

“हामी आउनेजाने आफ्नै खर्च हो। बस्नेखानेदेखि लिएर सबै पीडितकै खर्च हो। हामीले पाउने भनेको क्षतिपूर्तिको रकम हो,” उनले बताए।

नेपाली राजदूतावासले पनि आवश्यक परे अनुवादसहितमा सहयोग पर्ने आश्वासन दिएको मृतक वा वेपत्ता नेपालीको आफन्तको भनाइ छ।

रुस-युक्रेन युद्ध सुरु भएयता मस्कोमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेकाले रुसबाट सोझै नेपालको ब्याङ्कमा रकम पठाउन कठिन भएको अधिकारीहरूले बताउँदै आएका छन्।

त्यसलाई हल गर्न कूटनीतिक तरिकाले परराष्ट्र मन्त्रालयले रुसी पक्षसँग छलफल गरिरहेको भनिएको छ।

रुसी सेनामा नेपाली साङ्केतिक तस्बिर

तस्बिर स्रोत,Getty Images

बीबीसीले रुसबाट नेपाल फर्किएका एक पूर्व रुसी सैनिकसँग कुरा गर्दा ‘उनले हुन्डीलगायतका माध्यमहरूको प्रयोग भएको’ बीबीसीलाई बताएका थिए।

“हामीले आफ्नो खातामा जम्मा भएको पैसा त्यहाँ रहेका कुनै व्यापारीलाई दिने र उहाँको माध्यमबाट पठाउने गरेका थियौँ।”

नेपाली अधिकारीहरूले युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका रुसीहरूले जति क्षतिपूर्ति पाउँछन्, त्यहीबराबर रकम ज्यान गुमाएका नेपालीका परिवारहरूलाई दिन रुसले लिखित रूपमा नै प्रतिबद्धता जनाएको यसअघि उल्लेख गरेका थिए।

अधिकारीहरूले मस्कोस्थित नेपाली राजदूतावासको सहयोगमा २०० भन्दा बढी रुसी सेनामा कार्यरत नेपाली फर्किएको भन्दै आफ्नै प्रयासमा फर्कनेहरूको सङ्ख्या जोड्दा नेपाल फर्किएकाहरूको सङ्ख्या अझै धेरै हुन सक्ने बताएका छन्।

रुसी सेनामा भर्ना भएका भनिएका १०० भन्दा बढी नेपाली अझै सम्पर्कविहीन रहेको तथ्याङ्क मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ। पहिचानका लागि ६२ जनाको डीएनए जाँचको प्रतिवेदन रुस पठाइएको भए पनि त्यसबारे विवरण आउन बाँकी छ।

नेपाली अधिकारीहरूले युद्धमा घाइते भएका नेपालीहरूको यकिन सङ्ख्या उपलब्ध नरहेको तर केहीले क्षतिपूर्ति पाएको कुरा आफ्नो जानकारीमा रहेको उल्लेख गरेका छन्।

प्रमानन्द : एक ‘क्रेजी’ पर्यटनकर्मी

कतिपय मान्छे आफ्नो कमजोरी लुकाउन भूगोललाई दोष दिन्छन् । कतिपय समय र परिवेशलाई । त, कतिपय भाग्यलाई ।

जो आफ्नो क्षमता र कर्ममा विश्वास गर्छ्, खुरुखुरु कर्म गर्छ ।  प्रतिकूल समय र परिस्थितिलाई अनुकूल बनाउन प्रयत्न    गरिरहन्छ ।

र, त्यही प्रयत्नले बनाउछ्, पृथक पहिचान । तिनैमध्येका एक हुन्, प्रमानन्द भण्डारी ।

२२ मंसिर २०३१ सालमा महेन्द्रनगरमा जन्मिएका उनी नरीश्वर भण्डारी र नैनाकलाका जेठा छोरा हुन् ।

जन्मथलो भीमदत्त नगरपालिका–२ उल्टाखाममा हुर्किएका उनले घरछेउकै सरस्वती माविमा कखरा सिके । त्यहीबाट एसएलसी गरे । त्यसपछि पढ्न पुगे, नैनिताल । त्यही प्रमाण पत्रको पढाई पुरा गरे । र, फर्केर महेन्द्रनगरमै स्नातक पढ्न थालेका उनी त्यहीबेला बुवाले शुरु गरेको होटल व्यवसायमा जोडिए ।

४० को दशकमा महेन्द्रनगर सुदूर पश्चिमको व्यापारिक ‘हव’ थियो । त्यो समय, जतिबेला महेन्द्रनगरमा खानबस्नका लागि राम्रो होटल थिएन । उनका बुवाले सोचे, एउटा गतिलो होटल खोल्न पाए, कम्तिमा यहाँ आउने मान्छेलाई सुविधा हुने थियो ।

त्यही सोचले झण्डै चार दशकअघि जन्मियो, आनन्द होटल । त्यसपछि महेन्द्रनगरमा थुप्रै होटल थपिए । त्यो क्रम जारी छ । न्यू आनन्द होटल, त्यो समय महेन्द्रनगरका लागि हयात पनि थियो, सोल्टी पनि । न्यू आनन्द होटल, जसको नामै काफि थियो ।

२०४२ सालमा चार कोठा भाडामा लिएर शुरु गरेको होटल व्यवसाय ०५५ सालमा बजारमा आफ्नै भवन बनाएर सारे । सञ्चालनमा ल्याए, १६ वटा कोठाको सुविधायुक्त होटल । त्यसमा थपे, तालिम हल र रेष्टुरेण्ट ।

०५८ सालमा मुलुकमा संकटकाल लाग्यो । उनको लगानी उठने कुरै भएन । ऋणमा डुबे । ०६१ सालमा ऋण तिर्न चार बिगाहा जमीन र घर बचे । तर उनले हिम्मत हारेनन ।  नत उनी पछि हटे ।

२०६५ सालमा उनले मोहित टुर एण्ड ट्राभल्स शुरु गरे । उनी हवाई जहाजको टिकटसंगै पर्यटकहरुलाई टुर प्याकेज पनि बेच्न थाले । उनी आफै गाईड । आफै मालिक । काम गर्न कहिल्यै संकोच मानेनन् ।

२०७५ सालमा बैंकबाट थप ऋण लिए । र, होटलको स्तरोन्नती गरे । कोठाको संख्या ५० पु¥याए ।

त्यसको केही समयपछि कोभिड–१९ को कहर शुरु भयो । होटल व्यवसाय ठप्प भयो । बैंकको सावाव्याँज तिर्न सकेनन । उनी दोस्रो पटक ऋणमा डुबे ।  ऋणबाट उम्किन भाँसीको १० कठ्ठा जमीन बेचे ।

जुंगाको रेखी नपलाउदै जोडिएको होटल व्यवसाय उनको अम्मल जस्तै थियो । उनका बुवाको होटल व्यवसायमा अनुभव थियो । उनलाई अनुभवी बुवाको साथ । त्यो व्यवसाय, जसमा बुवाको पसिनाको सुगन्ध थियो ।

होटल व्यवसायमा उनले थुप्रै उतारचढाव भोगे । पटक पटक ऋणमा डुवे । कोसिस गर्दा गर्दै ऋणमा डुबेकोमा उनलाई ग्लानी थिएन । गलत काम गरे पो ग्लानी ? कामगर्दा गर्दै समय र परिस्थिति प्रतिकूल भयो । त्यसलाई नियन्त्रण गर्नु उनको वशमा थिएन । समयले उनको पटक पटक परीक्षा लिईरह्यो । उनी परीक्षा दिईरहे । समय जित्न दिईरहेको थिएन । हार्न उनले जानेका   थिएनन् ।

पर्यटन व्यवसाय धर्मराईरहेको बेला २०७० सालमा जग्गा लीजमा लिएर ८ कोठामा शुक्लाफाँटा जंगल कटेज शुरु गरे । क्याम्प फायर, रोमाञ्चकारी सफारी, सूर्यास्तको मनमोहक दृष्यावलोकनका लागि यो कटेज पर्यटकहरुको रोजाईमा प¥यो ।

उनी उत्साही भए । ०७१ सालमा शुक्लाफाँटामा सफारीको प्याकेज शुरु गरे । त्यसपछि खप्तड बडिमालिका, अपि, रामारोशन, रारा गएका उनले त्यहाँका लागि पनि प्याकेज बनाए । पहिलो पटक जेठो छोरा मोहितसंग २०७१ मा खप्तड गएका उनी त्यसयता सात पटक पुगिसके । रारा दुई पटक ।

उनी भारतीय पयर्टकहरुलाई बोकेर शिवरात्रीमा पशुपतिनाथ पुगे । पर्यटकको रोजाई अनुसार शुक्लाफाँटासंगै खप्तड, जनकपुर, पोखरा, मुक्तिनाथ पनि गाईड बनेर गए ।

सुदूरपश्चिमलाई काठमाण्डौंको नीतिले टाढा बनाएको हो । हजारौ किमी लामो हवाई यात्रा तय गरेर आएका विदेशी पर्यटकका लागि काठमाण्डौंबाट सुदूरपश्चिमको दूरी केही होईन । उनको अनुभवले भन्छ, अचाक्ली हवाई भाडाका कारण विदेशी पर्यटकको रोजाईमा सुदूर पश्चिम पर्न सकिरहेको छैन् ।

सरकारका नजरमा त्यही पोखरा, चितवन र लुम्बिनी मात्र छ । मानौ, नेपालमा अरु ठाउँ नै छैनन् । उनी भन्छन्, सरकार यो सोचभन्दा बाहिर कहिले निस्किएला ? र, पुग्ला सुदूरपश्चिम ।

सुदूर पश्चिममा विदेशी पर्यटक आउन सरकारको नीति बाधक छ । भारतीय पर्यटक आउने वातावरण नै छैन् । नेपालभित्र गाडीमा हुने अनावश्यक खानतलासी र सीमामा व्यहोर्नुपर्ने झञ्झट सम्झेर  भारतीय पर्यटकहरु आउनुअघि नै आफ्नो योजना स्थगित गर्छन् ।

कच्चा पदार्थ नचाहिने संसारकै ठूलो उद्योग मानिन्छ, पर्यटन । जो, ‘थ्रि ए’ एडभेञ्चर, अकोमोडेसन र एक्सेसबिलिटीमा निर्भर छ । सुदूर पश्चिममा एडभेञ्चर छ । बाँकी दुई चिज अझै अपुग छन् । उनी भन्छन्, सरकारले ध्यान दिनु पर्ने यसमा हो ।

सरकारले पर्यटन वर्ष मनाईरहदा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्छ । तर तिनलाई सुदूरपश्चिममा पु¥याउने सरकारसंग कुनै खाका हुदैन् । सरकारको सोच र व्यवहारले उनको मन कुडिन्छ । मानौ, सुदूरपश्चिम यो देशको भूगोलभित्रै पर्दैन् ।

हुन् पनि सरकारको नियमित कार्यक्रम वा आकस्मिकताभित्र सुदूरपश्चिम अहिलेसम्म अटाएको छैन् । जव पर्यटन बोर्डमा बस्नेहरुको आफ्नै घर वा यही भूमि भएर उत्तराखण्डको तिर्थाटन गर्ने मन हुन्छ, तव उनीहरु काज मिलाएर भत्ता खाने जोहो मिलाउछन् । अरुबेला त सुदूरपश्चिम तपसिलमा पनि पर्दैन ।

देशभरीमा १२ लाखभन्दा बढि पर्यटक भित्रिएको भनेर हर्ष बढाई गर्ने पर्यटन बोर्डलाई सुदूर पश्चिममा नौ हजार पर्यटक भित्रिएको तथ्यांकले गिज्याउँदो हो कि नाई ? त्यसमध्ये पनि सात हजार पर्यटक भारतीय रहेको तथ्यांकले देखाउछ ।

सरकारी ढुकुटीबाट विदेश शयर गर्ने पर्यटन बोर्डका मान्छेलाई आफ्नै देश घुम्न फुर्सद हुदैन । आफू नघुमेको देशको प्याकेज बनाउछन् । र, विदेश शयर गर्छन । हरेक वर्ष कैयौं कार्यक्रममा विदेश जाने पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले ती कार्यक्रममा गएर कति विदेशी पर्यटक भित्र्याए ? उनी प्रश्न गर्छन् ।

===============

महेन्द्रनगरमा जव कुनै दल, संघसंस्था र नेतालाई निशुल्क कोठा, हल र खाना चाहिन्छ । तव उनलाई सम्झिन्छन् । हुन् पनि सबै दलका लागि उनको होटल आश्रयस्थल जस्तै हो ।
जव उद्योग वाणिज्य संघ वा होटल व्यवसायी संघको चुनाव आउछ । को कहाँबाट आयो ? त्यसको खोजी शुरु हुन्छ । उनी हराईन्छन् । उनलाई लाग्छ, जुन भूगोलमा उनी जन्मिए, जहाँको माटोमा लडिबुडी गर्दै हुर्किए, जहाँको हावा, पानी र माटोसंग उनको औंधी प्रेम छ, त्यही माटोमा उनी पराई बन्छन् । यो उनको नमिठो अनुभव हो । व्यक्तिगत रुपमा उनको स्वभाव, व्यवहार र बानी मन नपराउने मान्छे सायदै कोही होलान ।

तर चुनावमा भोट किन पाउदैनन् ? यो उनीभित्र गढेको प्रश्न हो । तर उनलाई त्यसको छु मतलव । उनी सबै चिज बिर्सेर सुदूर पश्चिममा पर्यटक कसरी भित्र्याउने त्यसैमा घोत्लिन्छन् ।

उनलाई कसले के भन्छ्, कहिल्यै असर गरेन । सायद असर गरेको भए उनी उहिल्यै महेन्द्रनगर छोडीसक्थे । उनी कर्म गरिरहे । सुदूरको पर्यटनको प्रवद्र्धनका लागि कहिले दिल्ली पुगे । कहिले लखनउ । कहिले आगरा । देहरादून, नैनिताल, हरिद्धार, रुद्रपुर त कति पटक पुगे, पुगे । त्यसको लेखाजोखा नै छैन् ।

काठमाण्डौं र पोखरा पुगेर कतिपटक त्यहाँका पर्यटन व्यवसायीलाई सुदूर पश्चिम घुम्न निमन्त्रणा दिए ।

==================

उनी पागल जस्ता लाग्छन् । तीन दशकदेखि, जो सबैचिज छोडेर बस्, पर्यटन प्रवद्र्धनमा लागीरहेका छन् । हुदा हुदा सपनामा पनि पर्यटक भ्त्रियाएको देख्छन् ।
गम्भीर बिरामी भएका उनका बुवा अस्पतालबाट साँझ डिस्चार्ज भए । बुवालाई घरमा छोडेर उनी त्यही साँझ काठमाण्डौंबाट महेन्द्रनगर पुगे ।

भोलिपल्ट विहानै टे«किङका लागि सबै बन्दोबस्त गरे । र, चालकलाई साथमा लिएर बाजुराको बडीमालिकाका लागि निस्किए । पर्यटनका कुरा गरेर मात्र हुदैन् । पर्यटकीय क्षेत्रको सुन्दरताको बयान गरेर मात्र हुदैन् । सुन्दरतासंगै उनी त्यहाँको कठिनाईलाई पनि नजिकबाट बुझ्छन् ।  अनि त्यहाँको प्याकेज बनाउछन् । बडिमालिकाको अपर्झट यात्रा गर्नु पछाडिको कारण त्यही थियो ।

उनी जे गरिरहेका छन् । त्यसमा उनका बुवाको साथ छ । पत्नी अम्बिकाको समर्थन । र, छोराहरुको आड । त्यसैले आफूले गरिरहेको कर्मप्रति दरो विश्वास छ ।

यो जरुरी छैन्, बाटो बनाउनेहरु आफैले बनाएको बाटोमा हिड्न पाउछन् । तर कसैले न कसैले त बाटो बनाउनै पर्छ । त्यसपछि पो अरुले हिड्न पाउछन् । हो, प्रमानन्द सुदूरपश्चिममा पर्यटनको बाटो बनाईरहेका छन् । भोलि त्यो बाटोमा सबै हिड्ने उनको विश्वास छ ।

त्यही विश्वासले उनलाई बिचलित हुन दिदैन । उनलाई भाग्न दिदैन् । थाक्न त उनले जानेकै छैनन् ।

महेन्द्रनगर बजारसंगै जोडिएको छ, शुक्लाफाँटा । जहाँ संसारकै दुर्लभ चरा,बन्यजन्तु र वनस्पती छन् । र, एशियाकै ठूलो मानिने घासे मैदान त्यही भित्र छ ।

एकैसाथ जहाँ हेर्न पाईन्छन् हजारौको संख्यामा बाह्रसिंगाहरु । झण्डै २५०० को हाराहारीमा बाह्रसिंगा, ४६५ भन्दा बढि प्रजातीका चरा, ४४ भन्दा बढि बाघ, २० भन्दा बढि गैडा र थुप्रै हात्ती छन् । शुक्लाफाँटाभित्र दर्जनौ तालहरु छन् । चार सय ६५ प्रजातीका चराको बासस्थान हो, शुक्लाफाँटा । शिकारी तालमा मात्र २२ हजार चरा एकै ठाउँमा रहेको अध्ययनले देखाएको छ । दुर्लभ खरमजुर यही पाईन्छ ।

यति सानो क्षेत्रफलमा फैलिएको वनमा यतिठूलो संख्यामा बन्यजन्तु विरलै हुन्छन् । त्यसैले त प्रायःजसो पर्यटकले बाघ हेर्न पाउछन् । उनी शुक्लाफाँटाको बयान गरेर थाक्दैनन् ।
विहानको नास्ता बाह्रसिंगा हेरेर खान मिल्ने भएकोले उनले प्याकेजको नाम दिए, ‘ब्रेकफाष्ट वीथ बाह्रसिंगा’ ।

संसारभरीबाट आएका गैर आवासीय नेपालीहरुका अगुवा जीवा लामिछाने, कुमार पन्त, कुल आचार्य लगायतले शुक्लाफाँटामा सफारीसंगै ‘ब्रेकफाष्ट वीथ बाह्रसिंगा’ को मज्जा लिए ।

शुक्लाफाँटामा नजिकबाट बाह्रसिंगाको झुण्ड, मयुरको नृत्य हेरेर लोभिएका लामिछानेले त यस्तो अद्भूत सफारी अन्यत्र महशुस गर्न नसिकएको सुनाए ।

भण्डारी यही कुरा संसारलाई सुनाउन चाहन्छन् । र, जति नयाँ मान्छे आउछन्, उनी आफै गाईड भएर शुक्लाफाँटा पस्छन् । भो अव त पुग्यो, कति जानु शुक्लाफाँटा ? उनले कहिल्यै भनेनन् । जति पटक गएपनि उनको धीत मरेको छैन् । शुक्लाफाँटा छ नै   त्यस्तो ।

शुक्लाफाँटासंग उनको अटुट प्रेम छ । छेउमै बग्ने महाकालीमा कहिल्यै पानी हुदैन । कहिल्यै उर्लेर बस्तीमै बग्छ । तर उनको प्रेम एकनास छ ।

पर्यटकले एउटै कुरा कति हेर्नु नभनुन । उनी नयाँ गन्तव्यको खोजीमा मलास पुग्छन् । र, त्यहाँको सौन्दर्य वर्णन गर्छन् ।

लुम्विनी, पोखरा, र सौराहा बेचिने देशमा उनी सुदूर पश्चिम बेचिरहेका छन् । सरकार र पर्यटन बोर्डलाई पनि लाग्छ, त्यति टाढा सुदूरमा को जान्छ ?

भलै, त्यो बोर्ड र मन्त्रालयलाई नेतृत्व गर्नेहरु यही माटोले जन्माएकाहरु नै किन नहुन, उनीहरु पनि कुर्चीमा बसेपछि काठमाण्डौं झै भईदिन्छिन्, अलिकतिपनि लज्जाबोध नगरी भनिदिन्छन्, सुदूरपश्चिममा के छ ?

प्रदेश सरकारको नेतृत्व गर्ने दल र सत्ता साझेदारहरु पनि उस्तै छन् । पर्यटनमा बजेट छुट्याउछन् । अनि त्यसमै ¥याल काँढ्छन् । न काम गर्छन् । न पर्यटनव्यवसायीलाई काम गर्न दिन्छन् । बस्, खान पाए पुग्यो । पर्यटनको चिन्ता कसलाई ? यही कुराले प्रमानन्दको चित्त दुख्छ । यो माटोले जन्माएका मान्छेहरु यति कृतघ्न कसरी हुन सक्छन् ?

एक पटक त्यो दोषी चश्मा उतारेर हेर्नुस महाशय । उनी जवाफमा भन्छन्, सुदूरमा के छैन्, सुन्दर खप्तड छ । मनोरम बडिमालिका यही छ । हेरेर धीत नमर्ने अपी यही छ । महाकाली किनारमा फैलिएको अद्भूत शुक्लाफाँटा यही छ, जहाँ सूर्योदयदेखि सूर्यास्तसम्मका हरेक पल हेरिरहन मन लाग्छ । ¥याफ्टिङका लागि कर्णाली,काली र सेती यही छन् । धार्मिक पर्यटकका लागि भगवतीका सात बहिनीका पीठ उत्तिकै महत्वपूर्ण छन् ।

May be an image of 7 people and kayak

उनी शुक्लाफाँटा १० जनाको समूहलाई खाजा सहित १५०० रुपैयाको प्याकेज बेचिरहेका छन् । त्यसबाहेक दिन र पर्यटकको संख्याका आधारमाखप्तड, बडिमालिका, रामारोशन र अपीको प्याकेजमा काम गरिरहेका छन् । सरकारको सुविधा र बजेट कहिल्यै पर्खिएनन । उनले जे जती गरिरहेका छन् । आफ्नै बलबुता र सामथ्र्यमा गरिरहेका छन् । आफ्नै खर्चमा उनले सुदूरपश्चिमको पर्यटनमा काम गरिरहेका छन् । सरकारी बजेटमा पर्यटनको डंका पिट्नेहरुको जमातमा उनी अपवाद हुन् ।

उमेरले उनी एक कम पचासमा छन् । पर्यटनलाई जीविका होईन, जीवन बनाए । र, त्यही जीवनका तीन दशक पर्यटनका उकाली ओरालीमा बिताए । बाँकी जीवन पनि यसैमा बिताउने धोको छ । त्यही धोकोले ढाकिएका छन्, उनका निजी रहर, आकांक्षा र सपनाहरु ।

बैंकको किस्ता तिर्न समस्या छ । उनी समस्यालाई पैतालामुनी कुल्चेर हिडेका छन्, किनकी उनीसंग बुवा छन्, जसले भनिरहन्छिन्, हरेश नखानु । सरकारको भरोसा कसलाई ? बुवाको त्यही भरोसाले न उनी डग्मगाउदैनन् ।

आफूलाई रैथाने भन्नेहरु घरजग्गा बिक्री गरेर काठमाण्डौं हुदै युरोप अमेरिका छिरिसके । बुवाले जोडेको घरजग्गा बेचेर महेन्द्रनगरमै सुविधासम्पन्न होटल बनाएर उनले मूर्खता गरे भन्नेहरुलाई मुखभरी जवाफ दिने मन छ । यस्ता मूर्खहरु सबै शहरमा किन जन्मिदैनन् ?

दक्षिण कोरियामा हालसम्मकै ठूलो डढेलो, जनधनको क्षतिका विवरण

दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले यसअघिका त्यस्तो आगलागीले भन्दा धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन्।

हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन्। प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन्।

मार्च २१ मा सुरु भएको उक्त डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ।

डढेलो नियन्त्रणका लागि हजारौं सङ्ख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ।

हालसम्मकै खराब

दक्षिण कोरियाको डढेलो नियन्त्रणका लागि खटाइएका हेलिकप्टरहरू

तस्बिर स्रोत,South Korean Army/News1

दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ।

अधिकारीहरूले उक्त डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन्। हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन्।

तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ।

बुधबार एक अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका पाइलटको मृत्यु भएको छ। कम्तीमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको छ।

देशका विपद् प्रमुखले आगलागीको मात्राले जलवायु सङ्कटको कठोर वास्तविकतालाई उजागर गरेको बताएका छन्।

सांस्कृतिक धरोहरमा पनि असर

डढेलोबाट नष्ट हुने जोखिममा रहेका महत्त्वपूर्ण कलाकृतिहरूलाई सुरक्षित गर्न र सार्न कामदारहरू खटिएका छन्

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,डढेलोबाट नष्ट हुने जोखिममा रहेका महत्त्वपूर्ण कलाकृतिहरूलाई सुरक्षित गर्न र सार्न कामदारहरू खटिएका छन्

आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ। इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ।

दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू सङ्घर्षरत छन्।

मौसम पूर्वानुमानहरूमा डढेलो प्रभावित क्षेत्रमा लगभग ५ मिलिमिटर वर्षा हुने अनुमान गरिए तापनि अधिकारीहरूले त्यसलाई सजगतापूर्वक हेरेको बताएका छन्।

“वर्षाको मात्रा कम छ, त्यसैले यसले आगो निभाउन धेरै मद्दत गर्ने देखिँदैन,” कोरिया वन सेवाका प्रमुख लिम साङ-सिओपले एक ब्रीफिङमा भने।

वीवीसी नेपाली सेवाबाट

अमेरिकी ‘सेकन्ड लेडी’ उषा भान्सबारे तपाईँले थाहा पाउनुपर्ने कुरा

उषा भान्स संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्सकी पत्नी हुन्। ‘सेकन्ड लेडी’ले ह्वाइट हाउसको केन्द्रमा नभई किनारामा जीवन व्यतीत गर्ने परम्परा छ। आफू कहिल्यै चर्चामा आउन नखोज्ने स्वभावकी उषालाई उक्त भूमिका उपयुक्त हुन सक्छ।

यद्यपि उनका साथीहरूका अनुसार हाल ३९ वर्षकी भान्सले आफ्ना पति अमेरिकी उपराष्ट्रपति जेडी भान्सको तीव्र राजनीतिक उदयमा उल्लेख्य सहयोगी भूमिका निर्वाह गरेकी छन्।

आफ्ना श्रीमान्‌ शक्तिमा उदय हुँदा उनी कहिलेकाहीँ सञ्चारमाध्यमको नजरमा पनि पर्छिन्। ग्रीनल्यान्डको विवादास्पद पूर्वनिर्धारित भ्रमणका क्रममा पनि यस्तै भयो।

अमेरिकी सपनाकी प्रतिनिधि

आप्रवासी आमाबुवाकी परिश्रमी छोरीका रूपमा उषा भान्स केम्ब्रिजका गल्लीदेखि येल र अमेरिकी सर्वोच्च अदालत हुँदै आफ्नो सार्वजनिक जीवनको शिखरमा पुगेकी छन्। धेरै प्रशंसकका लागि उषा भान्स ‘अमेरिकी सपना’की एक जीवित अवतार हुन्।

उनका ४० वर्षे श्रीमान् पनि उनको गज्जबको योग्यता देखेर चकित पर्छन्। ओहायोका पूर्वसांसद भान्सले आफ्नी श्रीमतीको उपलब्धिले आफूलाई पनि “नम्र” महसुस गराउने बताएका छन्।

जेडी भान्स र उषा भान्स

तस्बिर स्रोत,Getty Images

माइतीतर्फ ‘नी चिलुकुरी’ नामबाट बोलाइने उषा भान्सको जन्म क्यालिफोर्नियाको सान डिएगोमा एउटा कामकाजी परिवारमा भएको थियो। उनका बुवा मेकानिकल इन्जिनियर र आमा मलेक्युलर बायोलोजिस्ट थिए। भान्सकी आमा भारतको आन्ध्र प्रदेशबाट अमेरिका पुगेकी थिइन्।

उषाले येल विश्वविद्यालयबाट इतिहासमा स्नातकसम्मको अध्ययन गरिन्। त्यसपछि उनले केम्ब्रिज विश्वविद्यालयबाट आधुनिक इतिहासमा एमफिल अध्ययन सकिन्।

जेडी भान्ससँगको भेट

उपराष्ट्रपति भान्ससँग उनको भेट सन् २०१० मा येल ल स्कूलमा विद्यार्थीका रूपमा भएको थियो। त्यहाँ “श्वेत अमेरिकामा सामाजिक स्खलन” नामक छलफल समूहमा उनीहरूको चिनजान भयो।

त्यो भेट र चिनजानले उनका भावी श्रीमान्‌लाई सन् २०१६ मा प्रकाशित भएको ‘हिलबिली एलजी’ पुस्तक प्रकाशनका लागि प्रेरित गर्‍यो। ‘यूएस रस्ट बेल्ट’ भनिने कामकाजी श्वेत अमेरिकीहरू बस्ने क्षेत्रमा हुर्किएका उनको बाल संस्मरणमा आधारित यो पुस्तक सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा पनि परेको थियो।

सन् २०२० मा रोन होवार्डले उक्त पुस्तकमा आधारित चलचित्र निर्देशन गरेका थिए।

भान्स जोडी ट्रम्पको मार ए लागोमा

तस्बिर स्रोत,Getty Images

उनको पुस्तकमा भान्सले येलमा उषासँग उनी कसरी “मोहित” भएका थिए भन्ने कुरा खुलाएका छन्। उनले उषासँग कैयौँ उत्कृष्ट गुणहरू रहेको भन्दै उनलाई “पृथक् आनुवंशिक विशेषता” भएकी महिलाको रूपमा तारिफ गरेका छन्।

भान्सले एउटा भेटघाटपछि नै प्रेममा परेको कुरा उनलाई सुनाएर आफूले कसरी “आधुनिक डेटिङका हरेक नियमहरू उल्लङ्घन गरेका थिए” भन्ने पनि चर्चा गरेका छन्।

सहपाठीहरूको सम्झनामा विद्यार्थी उषा भान्स

सहपाठीहरू उनको सहयोगी भावनाका कारण उनी ‘आईभी लीग’ भनिने उच्च प्रतिस्पर्धाबाट छानिने अमेरिकी प्रतिष्ठित विश्वविद्यालयमा छनौट भएको स्मरण गर्छन्।

अहिले कानुनका एक जना प्राध्यापक रहेका चार्ल्स टेलरका अनुसार उषा आफैँले पनि चाहेको उच्च प्रतिष्ठित न्यायाधीशहरूको सहायक पदमा आवेदन कसरी दिने भनेर उनले अरू विद्यार्थीहरूलाई पनि सिकाइरहेकी हुन्थिन्।

गत नोभेम्बरमा मतदान गर्दै भान्स जोडी

तस्बिर स्रोत,Getty Images

अर्का सहपाठीले उषा भान्ससँग अघि बढ्ने अठोटको कमी रहेको आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग बताइन्।

“उनी उत्कृष्ट विद्यार्थी थिइन्। हाम्रो कक्षाकै जान्नेमध्ये थिइन्,” उनी भन्छिन्। “कहिलेकाहीँ त्यस्ता विद्यार्थी अरू विद्यार्थीहरूलाई किनारा लगाउन चाहन्छन्।”

“तर उनी कक्षाकोठाका आफ्ना नोटहरू सधैँ अरूसँग साट्थिन्। तिनीहरू राम्रोसँग व्यवस्थित, रङ्गहरूको सङ्केत लगाइएका र राम्रोसँग गरिएका हुन्थे।”

टेलरका बुझाइमा उषा भान्ससँग आफ्ना श्रीमान्‌लाई प्रभावित गर्न सक्ने क्षमता थियो। यद्यपि उनीहरूबीच “समान स्तरको सम्बन्ध” रहेको उनी सुनाउँछन्।

अर्का सहपाठी पनि यो कुरामा सहमत छन्।

“जेडीका लागि उनी आवाज ठूलो बनाउने माध्यम जस्तै थिइन्,” उनी भन्छिन्। “उनी येलबाटै उनका लागि मार्गदर्शक थिइन्।”

राजनीतिक झुकाव

भान्स जोडी नर्थ क्यारोलाइना जाँदै

तस्बिर स्रोत,Getty Images

उषा भान्सको राजनीतिक झुकाव चाहिँ सधैँ अनुमानको विषय बन्ने गर्छ।

उनका श्रीमान्‌ले डेमोक्र्याटहरूविरुद्ध नाराहरू लगाइरहे पनि उनी एक दशकअघिसम्म डेमोक्र्याट पार्टीकै सदस्य थिइन्। गत बर्खासम्म पनि उनले काम गरिरहेको सान फ्रान्सिस्कोको वकालत कार्यालयको छवि “प्रगतिशील” थियो।

यद्यपि उनले डिस्ट्रिक्ट अफ कोलम्बिया पुनरावेदन अदालतमा अहिलेका सर्वोच्च अदालतका न्यायाधीश रहेका ब्रेट कभनोको सहायक भएर पनि केही समय काम गरेकी थिइन्। त्यसपछि उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सको सहायक भएर पनि काम गरिन्। दुवै जना न्यायाधीशहरू सर्वोच्च अदालतमा बहुमतमा रहेको कन्जर्भेटिभका खम्बा मानिन्छन्।

शक्तिशाली यो जोडी परिवारको महत्त्वबारे भने धेरै सहमत भएजस्तो देखिँदैन।

उनीहरूको विवाह सन् २०१४ मा केन्टकीमा भयो र यो जोडीबाट दुई जना छोरा तथा एक जना छोरीसहित तीन सन्तान भए।

भान्स जोडी एक अर्कालाई चुम्बन गर्दै

तस्बिर स्रोत,Getty Images

गत अगस्टमा फक्स न्यूजसँग उषा भान्सले आफ्ना श्रीमान्‌ले आफ्नो हुर्काइका कारण घरलाई माया गर्ने सांस्कृतिक मान्यतालाई आंशिक रूपमा मात्रै जोड दिने गरेको बताएकी थिइन्। तर आफूलाई परिवारबाट प्राप्त भएको सहयोगका कारण आफूले परिवारमा शान्ति र स्थायित्वका लागि काम गर्ने गरेको बताएकी थिइन।

“किनभने मसँग मेरा पछाडि मानिसहरू थिए,” उनले भनेकी थिइन्।

भारतमा उषा भान्सको जीवनबारे लेखिएको पुस्तकबारे उनका आफन्तले मात्रै नभई धेरैले गर्व गर्ने गरेका छन्।

आन्ध्र प्रदेशमा रहेकी उनकी जिजुहजुरआमाले अमेरिकी सेकन्ड लेडीको सफलताबाट आफू अचम्भीत नभएको बीबीसीसँग बताइन्। उनका अनुसार उनको पारिवारिक विरासत नै हिन्दू विद्वान्‌हरूको थियो।

उषा भान्सकी जिजु हजुरआमा चिलुकुरी सन्थम्मा आन्ध्र प्रदेशमा

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,उषा भान्सकी जिजुहजुरआमा चिलुकुरी सन्थम्मा

चिलुकुरी सन्थम्मा आफैँ पनि आन्ध्र प्रदेशमा भौतिक विज्ञानकी प्राध्यापक हुन्।

“सबै जना विदेशी भूमिको उच्च पदमा पुग्दैनन्। उषाले चुमेको उचाइ र उनको जस्तो प्रशंसा पाउने भाग्य लाखौँमा एक जनाले पाउने हुन्,” उनले भनिन्।

वीवीसी नेपाली सेवाबाट

खोज्नुहोस