अचानक मौसम बिग्रिएपछि धनगढीका लागि उडेका जहाजहरु काठमाण्डौं फिर्ता

द एभरेष्ट पोष्ट
१४ माघ २०८१ ६:५४
अचानक मौसम बिग्रिएपछि धनगढीका लागि उडेका जहाजहरु काठमाण्डौं फिर्ता

रञ्जना बिसी,

धनगढी, १४ माघ ।
आईतवार साँझ काठमाण्डौंबाट धनगढीका लागि उडेका जहाजहरु अचानक मौसम बिग्रिएपछि काठमाण्डौं फिर्ता भएका    छन् ।

काठमाण्डौंबाट उडेको श्रीएयरको जहाज धनगढीको आकाशबाट फिर्ता भयो भने बुद्ध एयरको जहाज नेपालगञ्जको आकाशबाट काठमाण्डौं फिर्ता भयो ।

केही मिनेटको फरकमा काठमाण्डौंबाट उडेका जहाजहरु अचानक मौसम  बिग्रिएपछि धनगढी बिमानस्थलमा अवतरण हुन् सकेनन ।

श्रीएयरको अपरान्ह ४ः०५ मिनेटमा उड्ने भनिएको जहाज साँझ ६ः२० मा काठमाण्डौंबाट उड्यो । ७ : १० मा धनगढी बिमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको जहाज बाक्लो हुस्सुका कारण अवतरण हुन नसकेर काठमाण्डौं फर्किन बाध्य   भयो । धनगढीको आकाशबाट फिर्ता हुदै गर्दा बिमानपरिचारिकाले मौसमको खरावीका कारण अवतरण गर्न नसकिएको जानकारी दिदै जहाज काठमाण्डौं फर्किएको बताईन । काठमाण्डौंको आकाशमा पुगेर पनि जहाज एयर ट्राफिकका कारण करीव २० मिनेटसम्म आकाशमा होल्ड भयो । र, राति ८ः२५ मा काठमाण्डौं बिमानस्थलमा अवतरण भयो ।

धनगढी अवतरण हुनै लागेको जहाज अवतरण हुन नसकेर फर्किएपछि आत्तिएका यात्रुहरु काठमाण्डौंको आकाशमा जहाज होल्ड भएपछि निकै आतंकित भए । जव जहाज अवतरण भयो, तव यात्रुहरुको शान्तिको सास फेरे ।

त्यस्तै अवस्था बुद्ध एयरका यात्रुहरुको रह्यो । काठमाण्डौंबाट ६ः१९ मा उडेको बुद्ध एयरको जहाज नेपालगञ्जको आकाश पार गर्दै थियो । धनगढीमा बाक्लो हुस्सुका कारण पर्याप्त भिजिबलिटी नभएको भन्दै धनगढी नपुगेरै काठमाण्डौं फिर्ता भयो । जहाज आकाशबाटै फिर्ता भएपनि बिमानस्थलमा रहेका यात्रुहरु निराश भएर घर फर्किदा जहाजमा रहेका यात्रुहरु पनि संशय र त्रासले आतंकित भए ।

काठमाण्डौं जान बिमानस्थलमा जहाजको पखाईमा रहेका पूर्व मन्त्री एनपी साँउद, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष चतुर बहादुर चन्द, सुदूर पश्चिमका पूर्व मन्त्री प्रकाश देउवा लगायतका यात्रुहरु जहाज आकाशबाटै काठमाण्डौं फर्किएपछि बिमानस्थलबाट बाहिर निस्किए ।

बाक्लो हुस्सुका कारण बिहानदेखि बन्द रहेको धनगढी बिमानस्थल दिउँसो १ : ३० बजेको खुलेको थियो । आकाश खुलेपछि काठमाण्डौं बिमानस्थलमा जहाजको पर्खाईमा रहेका यात्रुहरु धनगढी जान पाईने भयो भनेर खुशी भए । यता धनगढी बिमानस्थलमा रहेका यात्रुहरु भने काठमाण्डौं जान पाईने भयो भनेर खुशी भए । तर दुबै बिमानस्थलमा रहेका यात्रुहरुको खुशी धेरै समय भने टिक्न सकेनन ।

केहीदिनयता धनगढीका अधिकांश उडानहरु बाक्लो हुस्सुका कारण प्रभावित हुदै आएका छन् ।

दिउँसो खुलेको आकाश साँझ अचानक बिग्रिएपछि जहाजहरु धनगढीका लागि उडेका जहाजहरु आकाशबाटै फिर्ता भएका बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए ।

गत शनिवार पनि धनगढी बिमानस्थलको धावनमार्गका अवतरणका क्रममा रहेको जहाज बाक्लो हुस्सुका कारण धावनमार्गबाटै ओभरसुट गरेर काठमाण्डौं फर्किएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस