कालाबारकी इकाइटे

हिक्मत थापा ।
जहाज अवतरण हुने क्रममा थियो । झ्यालबाट अनन्त फैलिएको घना–हरियो जङ्गल, बीचबीचमा शान्त र एक तमासले फैलिएका नदीहरू मानौँ गन्तव्य कुनै घना जङ्गलबीचको समुद्री टापुमा छ झैँ लगिरहेको थियो । नदी र जङ्गलसँगै घुम्ती लिँदै जहाज तल झर्यो । पातला जङ्गलबीच सुन्दर र चौडा सडक अनि बस्ती देखियो । क्रमशः हामी उत्रियौँ– मार्गराट इक्पो अन्तर्राष्ट्रिय विमानस्थलमा ।
रनवेमा जहाज रोकिएपछि ढोका खुल्नुअघि यात्रुहरू सबै उठ्न थाले । मेरो पछाडिको सिटबाट अगाडि आए आर्किटेक्चर सरारी, जो मेरा यस यात्रा मिसनका सहायक थिए । ‘इकाइटे इज वेटिङ फर अस… सी इज फ्रम अओर कालाबार अफिस ।’ उनले भने । ‘कालाबारकी इकाइटे ! नाम पनि गजबै रहेछ ।’ मैले मनमनै सोचेँ । आगमन कक्षमा पुगेपछि सदृश्य भइन् अग्ली, पातली, हिसी परेकी इकाइटे, जो हाम्रो स्वागतमा निकैबेरदेखि उभिएकी रहिछिन् । ‘यु आर वेलकम सर इन आवर ब्युटीफुल एन्ड हिस्टोरिकल सिटी कालाबार !’ हँसिलो मुस्कानसाथ इकाइटेले स्वागत गरिन् ।
गाडीबाट होटेलतर्फ जाँदैगर्दा मैले इकाइटेलाई सोधेँ– ‘आई फिल कालाबार इज ब्युटीफुल सिटी बट क्यान यु एक्स्प्लाइन मी हाउ कालाबार इज हिस्टोरिकल सिटी ?’ प्राकृतिक स्रोत र सम्पन्न संस्कृति रहेको यो क्षेत्रलाई इक्वा अक्पा भनिन्थ्यो । निजर नदी हुँदै आएका इफिक, इबिबो, इग्वो यहाँका रैथाने बासिन्दा हुन् । पन्ध्रौँ शताब्दीमा यहाँ पोर्चुगिज नाविक आएपछि उनीहरूले बिस्तारै हामीलाई नियन्त्रित गर्न थाले । सुरुमा पाम–आयल र काठ यताबाट निर्यात गरे । अनि बिस्तारै अल्पसङ्ख्यक जातिका र त्यसपछि अरू मानिसहरूलाई दासको रूपमा लग्न थाले । सुरुमा यताका मान्छेलाई कालाबार भन्न थाले र पछि यो ठाउँलाई नै कालाबार नामाकरण गरे ।
सत्रौँ शताब्दीसम्म त कालाबार मान्छेहरूलाई जबरजस्ती कब्जा गर्दै युरोपमा दासको रूपमा पठाउने यताको ठूलो बन्दरगाह बन्यो । दुई लाखभन्दा बढी हाम्रा पु्र्खाहरूलाई यही बन्दरगाहबाट कष्टकर रूपमा बन्दी बनाएर युरोप र क्यारिबियन टापुतिर लगेर दासका रूपमा बेचे तिनीहरूले । युरोपियनहरू अहिलेको नाइजेरिया भूभागमा कालाबारबाट पसेका थिए । यतैबाट उनीहरूले यो विशाल नाइजेरियाको पूर्व–पश्चिम, उत्तर–दक्षिण आफ्नो शक्ति र व्यापार फैलाए । पछि अठारौँ शताब्दीको सुरुतिर अङ्ग्रेजको नियन्त्रणमा गयो कालाबार । उनीहरूले सन् १८१५ मा दास व्यापार त बन्द गरे तर त्यसपछि सुरु गरे मिसनरी अभियान । गरिबी, अचेतना र भयका कारण हामी क्रिस्चियनियिटी ग्रहण गर्न बाध्य भयौँ । सीमितले उनीहरूको शिक्षा र स्वास्थ्य सुविधा पायौँ तर त्यो बेलासम्म हाम्रो उर्वर जल, जमिन, जङ्गल, राज्यशक्ति र सत्ता उनीहरूको कब्जामा गइसकेको थियो । हामी केवल बाँकी थियौँ उनीहरूका दास र कामदार भएर । कालाबारमा पहिलो मिसनरी थियो स्कटिस मिसनरी । पछि अरू पनि थपिए । उनीहरूले हाम्रो संस्कृति, प्रकृति पुजन परम्परा र धर्म–संस्कृतिलाई सैतानको अभ्यास भन्दै बन्द गर्न थाले । योसँगै व्यापार र शासनको केन्द्र कालाबार बनाए । कालाबारमै नाइजेरियाको पहिलो स्कुल, अस्पताल, पोस्ट–अफिस, ब्यारेक, रोड, गार्डेन, सङ्ग्रहालय बने । यसरी क्रिस्चियनियिटीको केन्द्र र आधुनिक सहरको रूपमा नाइजेरियाको पहिलो सहरको रूपमा विकसित हुँदै गयो कालाबार ।
इकाइटे सिद्धहस्त पर्यटक–गाइडझैँ बोल्दै गइन् । म जिपको झ्यालबाट दायाँबायाँ हरिया रुखका झ्याङभित्र लुकामारी खेलिरहेको कङ्क्रिटबाहुल्य शान्त र सुन्दर सहर कालाबार हेर्दै उनलाई सुन्दै गरिरहेँ । ‘त्यसपछि ?’ १९औँ शताब्दीको प्रारम्भमा पुग्दा अङ्ग्रेजहरूले आफ्नो शासन उत्तर कानो र सोकोटो अनि पश्चिममा लेगोसमा बिस्तार गरिसकेका थिए । लेगोस पनि उनीहरूको अर्को आवासीय सत्ताकेन्द्रको रूपमा स्थापित भइसकेको थियो ।
सुरुमा कालाबार र लेगोस दुवै सहरबाट र पछि लेगोसबाट उनीहरूले सरकार चलाउन थाले । उनी अगाडि भन्दै गइन्– अँ, अर्को प्रख्यात कुरो छ, सन् १९१४ देखि १९६० सम्म कालाबारबाट नियमित यात्रु बोक्ने स्टिमर पानीजहाज चल्थ्यो, बेलायतको लिभरपुलसम्म । बेलायतसम्म सोझै व्यापार र आवतजावतको केन्द्र पछिसम्मै रहिरह्यो कालाबार । पछि १९६७ देखि १९७० सम्मको बाइफ्रा युद्धले यसलाई पनि नराम्ररी प्रभावित गर्यो । तर अब फेरि आफ्नै लयमा फर्केको छ कालाबार ।
दास व्यापारको कङ्लक बिर्सेर सम्पन्न सांस्कृतिक इतिहास र अबको पर्यटन केन्द्रको रूपमा हरित सहरको पहिचान बनाएर । यत्तिमै गाडी होटेलमा पुग्यो । र हामीलाई रिसेप्सनमा दर्ताको काम सकिदिएर इकाइटेले त्यो दिनका लागि बिदा मागिन् । ‘इकाइटे, कालाबारको कथा बाँकी छ कि सिद्धियो ?’ मैले जिज्ञासा राखेँ । ‘यो सकिँदैन सर !’ उनले भनिन्, ‘यो नसकिने छ ।’ ‘बाँकी भोलि र पर्सि छँदै छ नि ! म भनुँला,’ भन्दै इकाइटे आफ्नो बाटो लागिन् ।
हामी होटेलको कोठाभित्र पस्यौँ । भोलिपल्ट बिहान आठ बजे नै होटेलको रिसेप्सनमा इकाइटे कुरिरहेकी थिइन् हामीलाई । हामी कालाबार नदी बायाँ पार्दै अगाडि हुइकियौँ । पारिपट्टि बाक्लो उष्ण प्रदेशीय जङ्गलवारिका ससाना पहाडी थुम्कामा फैलिएको कालाबार शान्त, स्निग्ध सहर । पोर्ट, बन्दरगाह क्षेत्र भएको हुँदा नदीकिनारमा भने उद्योगहरूका लाम थिए । उद्योगहरूलाई सामान आयात–निर्यात गर्न वा उत्पादित सामग्री ढुवानीका लागि पनि सहज हुने हुँदा उद्योगहरू पोर्टभित्रै स्थापना गरिँदो रहेछ । त्यही कालाबार पोर्टभित्रको एउटा कुनामा हाम्रो गाडी रोकियो ।
स्थानीय इन्जिनियरहरूको टोली पहिले नै पुगिसकेको थियो । एकछिनको विमर्शपछि उद्योग स्थापना सहयोगका लागि आएको स्थानीय प्राविधिकहरूको टोलीसँगै आर्किटेक्चर सरारी जमिन नापजोखमा लागे । म भने इकाइटेसँग कालाबार बुझ्न फेरि गफिएँ । ‘उहिले हामी इफिक जातिका अवासी नाम गरेका सर्वोच्च देवता थिए । उनले नै स्वर्ग र धरतीमा मानवको संरचना गरेका हुन् भन्ने मान्यता छ । अनासा, ओबुटन, उकोन एसोक, सन्कोलगायत सयभन्दा बढी देवता थिए ।
पानीका, आगोका, वनका, वर्षाका, खेती–किसानका छुट्टाछुट्टै मान्यदेवहरू थिए । इफिकहरू नाइजेरियाको कालाबार क्षेत्रमा मात्र नभई क्यामरुन, गुयानालगायत देशमा फैलिएका छन् । तर मिसनरी आएपछि इफिकहरू लगभग सबैजसो क्रिस्चियनमा बदलिए । कोही विभिन्न प्रलोभनमा, कोही कुप्रथामा सुधार गरेकोमा खुसी भएर र कोही जबरजस्ती ।
जाति रह्यो तर धर्म–संस्कृति नभएको अवस्थामा छन् इफिकहरू अहिले ।’ इकाइटे भन्दै गइन्, म सुन्दै रहेँ । ‘हो, कुप्रथा पनि साह्रै थियो । जुम्ल्याहा बच्चा जन्मिनेबित्तिकै मारिन्थ्यो । राजा–महाराजा मर्दा तिनीलाई स्वर्गमा पनि सहयोगी चाहिन्छ भनेर केही बालक र युवा खोजेर मारिन्थ्यो । मिसनरीले यस्तै विकृति निषेध गरे । सुधार गरे ।’ ‘तिमीहरूका राजा अझै छन् त ?’ ‘छन्,’ इकाइटेले भनिन्– ‘इफिक वंशको ७८औँ राजा इकिडेने इकोपो ओकोन अबासी ओटु पाँचौँ अहिले पनि छन् । सरलाई थाहै होला उपनिवेश सुरु भएपछि अहिलेसम्म राज्यले केही मान–सम्मान र सुरक्षा दिएर सांस्कृतिक राजाको रूपमा अन्य नाइजेरियन राजा र सुल्तान राखेको । हो, ओटु पाँचौँलाई पनि उसरी नै राखेको छ ।
इफिकहरू राजालाई एकदमै सम्मान गर्छन् र सर्वोच्च देवता अबासीको प्रतीक मान्छन् ।’ इकाइटेको कथा सकिएको थिएन । आर्किटेक्चर सरारी र उनको टिम फर्कियो । आजको काम सकियो भने उनले । एकछिनको विमर्शपछि हामी सहरतिर फर्कियौँ । दिन अझैँ बाँकी थियो । ‘यो दुई–तीन घण्टामा कालाबारमा हामीलाई कता घुमाउन सक्छ्यौ त इकाइटे ?’ मैले इकाइटेलाई सोधेँ ।
हामी कालाबारको पुरानो सरकार (अङ्ग्रेज गभर्नर) बस्ने घर पुग्यौँ । अहिले यसलाई ओल्ड रेसिस्डेन्सी म्युजियम भनिन्छ । सन् १८८४ मा रोयल नाइजर कम्पनीले यो घरका लागि सम्पूर्ण सामग्री बेलायतको ग्लास्गोमा निर्माण गरी यता ल्याएर उतैको नक्सामा बनाएको थियो । यही घरमा बेलायती गभर्नर बसेर नाइजेरियाभरी शासन चलाउँथे । अहिले यसलाई सरकारले व्यवस्थित रूपमा सङ्ग्रहालय बनाएको रहेछ । यस क्षेत्रको इतिहास, पुराना सरकारी कागज–पत्र, पुरातात्त्विक सामग्रीहरू, इतिहास झल्काउने हातहतियार र संस्कृति, घरायसी सामग्री, कलाकृति, मुद्रा, व्यापारमा प्रयोग गरिने सामग्री, युरोपियन गोराहरूको आगमन, दास व्यापार, अमानवीय तरिकाले तिनको बिक्री, ओसारपसार, प्रयोग भएका अन्य चित्र–सामग्रीहरू हामी एक–एक गर्दै हेर्दै गयौँ, इकाइटे अथ्र्याउँदै गइन् ।
गर्वलाग्दो इतिहास, वीरताका कथा र संस्कृति सुन्दै जाँदा अन्तिममा गोरा उपनिवेशको कब्जामा परी दास भएर बिक्री हुनुपर्दाको व्यथासम्म पुग्दा मेरा आँखा नजानिँदो किसिमले भिजे । मैले चिसमिरो भावसहित इकाइटेका आँखामा हेरेँ, उनका पनि परेला रसाइरहेका थिए । भोलिपल्ट हामीलाई फर्किनु थियो । खानामा कालाबारको प्रसिद्ध स्वादिष्ट भोजन नचाखी कसरी फर्किनु ? इकाइटेले कालाबारी खाना पाउने स्थानीय रेस्टुरेन्टमा लगिन् । थरी–थरीका माछाका सुप अथ्र्याउँदै गइन् । सुप माग्दा प्रशस्त माछाका टुक्रासहित सुप र साथमा तरुलको ढिँडो आउँदो रहेछ । माछाको सुप र तरुलको कालाबारी ढिँडो । नाइजेरियामा मेरो पहिलो रैथाने खान्की थियो । अविस्मरणीय स्वादिलो । धन्यवादसहित हामी इकाइटेबाट छुट्टियौँ त्यो दिन ।
भोलिपल्टको घमाइलो बिहान । २७ फेब्रुअरी २००७ । इकाइटेले विमानस्थलबाट हामीलाई बिदा गर्न लागिन् । लोकसंस्कृति र नाचको धनी कालाबारबारे उनले भन्न बाँकी नै रहेछ । ‘सर, डिसेम्बर महिनाभर कालाबार कार्निभल हुन्छ ।’ उनले भनिन्– ‘दिनहुँ कालाबारको संस्कृति र परम्परागत नाच सडकभरी प्रदर्शन हुन्छ । संसारभर फैलिएको कालाबारको डायस्पोरा र पर्यटकले यहाँका सडक भरिन्छन् त्यतिबेला । कालाबार बुझ्न त्यो नै सबैभन्दा उपयुक्त समय हो । आउनु है अबको डिसेम्बरमा ।’ उनको त्यही हार्दिकता बोकेर म र आर्किटेक्चर सरारी कालाबारबाट फर्कियौँ, नाइजेरियाको हालसम्म सञ्चालनमा रहेको पुरानो वायुसेवा एरो कन्ट्राक्टरको बोइङ चढेर ।
नाइजेरियाको पूर्व–दक्षिणस्थित सीमावर्ती ऐतिहासिक सहर कालाबारदेखि पूर्वराजधानी लेगोससम्मको हवाई–यात्रा दुरी एक घण्टाको छ । यो अवधिमा मनभरी, आँखाभरी कालाबारकी हँसिली इकाइटेको सम्झना झलझली भइरह्यो । र सम्झनाको तरेलीमा आज पनि उस्तै छ कालाबारको कथा । त्योबेला सजल आँखाको डिल पुछ्दै इकाइटेले छड्के–प्रश्न सोधेकी थिइन्– ‘सरले अफ्रिकाको बारेमा एउटा प्रसिद्ध भनाइ त सुन्नुभएकै होला ?’ ‘कुनचाहिँ ?’ मैले त्यसैमा टुक्रे–प्रश्न जोडेको थिएँ । ‘गोराहरू जब अफ्रिका आएका थिए उनीहरूको हातमा बाइबल थियो र अफ्रिकीहरूको हातमा जमिन । तर जब अफ्रिकीहरूले बाइबल पढिसिध्याए तब उनीहरूको हातमा बाइबल थियो र गोराहरूको हातमा जमिन,’ इकाइटेले भनेकी थिइन्, ‘हो, यो भनाइको पहिलो जीवन्त साक्षी हो कालाबार !’ …
लेगोस, नाइजेरिया । ( सौजन्य : किलिमन्जारो , दोश्रो संस्करण , २०२५ )