इजरायली हमलामा परी गाजामा १९ जनाको मृत्यु

काठमाडौँ, ९ कात्तिक : गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा पट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको जानकारी दिएका छन् ।
आक्रमणले उत्तरी गाजाको जेइतुनको घरमा प्रहार गर्दा तीन जना बालबालिका सहित सात जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको जनाइएको छ । एएफपिटिभीको फुटेजमा मानिसहरूले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोज तलास गरिरहेको देखाएको छ ।
खान युनूस सहरमा भएको आक्रमणमा तीन बालकसहित छ जनाको मृत्यु भएको तथा २६ जना विस्थापित भएको बासलले बताएका थिए । गाजा पट्टीको नुसेइराटमा एउटा घरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको तथा दक्षिणी सिमानाको रफाहमा भएको ट्यांक फायरमा दुई जनाको मृत्यु भएको उनले जनाएका छन् ।