मनोरम त्रिवेणी, रमणीय आख्रिकोट

धनगढी, २ असोज । एक ऐतिहासिक दैविक धाम । पवित्र त्रिवेणी । भेरी, कर्णाली नदी र बाधें खोलाको संगम त्रिवेणी । बडिगाउँको यो त्रिवेणीमा आएर नुहाउनुस्, धुपवत्ती बाल्नुस् अनि शंखघण्टी बजाउनुस् । त्यसले छुट्टै आनन्द र शान्ति दिन्छ ।
श्री १००८ महा मण्डलेश्वर इश्वर चैतन्यजी महाराजले बडिगाँउ त्रिवेणीमा पुगेर भने, यो ठाऊँ अद्भुत र अलौकिक रहेछ । ध्यान, योग र धाम बन्न सक्ने अपरम्पार सम्भावना बोकेको यो ऐतिहासिक देवभूमि हो।
त्रिवेणी नजिकै छ, आख्रिकोट । बडिगाउँको भ्युटावर भनेर चिनिने आख्रिकोट को त्यो उचाइमा बिशाल समथर फाँटमा टेक्दा जो कसैको मन आनन्दित हुन्छ । प्राकृतिक हिसाबले अत्यन्त रमणीय आख्रिकोटको प्रचार प्रसार हुन सके पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्ने पत्रकार भोजराट भाट बताउछन् ।
कैलालीको चिसापानीबाट करीव एक घण्टामा पुगिने कर्णाली नदीसंगै जोडिएका कैलाली र सुर्खेतका यी मनमोहक क्षेत्रहरु अहिलेसम्म ओझेलमा छन् ।
त्रिवेणी, आख्रिकोट र त्यो नजिकै रहेको शिबधामलाई जोडेर प्रचार गर्न सकिए यो क्षेत्रमा तिर्थाटनका लागि झत्तजनहरुको घुईचो लाग्ने बताईन्छ ।
घाटगाउँको भेरी-कर्णाली नदी किनारमा शिवधाम छ । नदी किनारका ढुंगाको भूबनोट देखेर चैतन्यजी महाराजले भने, यो देवगणहरुले मिलाएर राखेको, चित्र कोरेको ढुंगाहरु भएको आभाष हुन्छ । यहाँका हरेक ढुंगामा देवताको बास छ । यो ठाउँमा धुनी जगाउन आवश्यक छ ।
तस्वीरहरु : भोजराज भाट