झलकमान गन्धर्वको गीत पुनः स्वराङ्कन गरेर चलचित्रमा समावेश

काठमाडौँ । चलचित्र ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः स्वराङ्कन गर्दै निर्माण पक्षले चलचित्रमा समावेश गरेको हो ।

परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको गीतमा अहिले आशिष अविरलको स्वर सुन्न सकिन्छ ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको चलचित्रलाई नरदेवी फिल्मसले प्रस्तुत गरेको हो ।

‘कोशेढुंगा’मा मुकुन भुसाल, सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

ट्रम्पको चेतावनी– दुई हप्तामा रुस–युक्रेन युद्धविराम नभए अमेरिकाले ठुलो निर्णय लिनेछ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्।

अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। चाहे त्यो ठुलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै। हामी यो पनि भन्न सक्छौँ कि यो तपाईंको लडाई हो, अमेरिकाको होइन।ʼ

उनले युक्रेनको एक अमेरिकी कारखानामा हालै भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरे। यो आक्रमणबाट कारखानामा आगलागी भएको थियो भने धेरै कामदारहरू घाइते भएका छन्।

ʻम यसमा खुसी छैन, न त युद्धबारेमा केही पनि,ʼ ट्रम्पले भने।

उनले भने,ʻरुस–युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट म खुसी छैन। अर्को दुई हप्ताले यसले कुन दिशा लिनेछ भनेर देखाउनेछ।ʼ

ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको वकालत पनि गरे। उनले आफ्नो कार्यकालमा सातवटा युद्ध रोकेको र तीनवटा सम्भावित युद्धलाई टारेको दाबी गरे।

यसअघि अगस्ट १८ मा, राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासबारे छलफल गर्न युरोपेली नेतासँग ह्वाइट हाउसको भ्रमण गरेका थिए।

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन–जेलेन्स्की भेटघाटको व्यवस्था गर्न थालेको बताए।

यद्यपि अगस्ट १५ मा अलास्कामा ट्रम्प र पुटिनबीच शिखर सम्मेलन भए पनि रुस र युक्रेन युद्धविराममा सहमत हुन सकेनन्।

भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण

आएकी छिन् । तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागत गरेका छन् ।

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो । उपराष्ट्रपति सुआनले ९ गते स्वदेश फर्किनेछिन् ।

आज भियतनामकी उपराष्ट्रपति नेपाल आउँदै

समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदैछिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

भियतनामको तर्फबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म रहने छिन् ।

उनले भ्रमणको क्रममा, दुई उपराष्ट्रपतिले २४ अगस्ट २०२५ मा काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

यसका साथै, उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ । उपराष्ट्रपति सुआन २५ अगस्ट २०२५ मा काठमाडौंबाट हनोई प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र टोटेनह्यामले खेल्दैछन् ।

यस्तै राति पौने ८ बजे बर्नमाउथ र वुल्भ्स, बर्नली र सन्डरल्याण्ड तथा ब्रेन्टफोर्ड र एस्टन भिल्लाबीच खेल हुनेछ । यसैगरी राति सवा १० बजे आर्सनल र लिड्स युनाइटेडले खेल्नेछन् ।

गएराति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–१ गोलले हराएको छ । गएराति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई फराकिलो गोलअन्तरले हराएको हो ।

यो सिजन दुई खेलमा चेल्सीको पहिलो जीत हो । अहिले तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीको चार अङ्क छ । यसअघि चेल्सीले आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेससँग बराबरी खेलेको थियो ।

‘नाडा अटो शो’मा ईभी कार जिनपिङकाे तहल्का, सस्तोमै उच्च रेन्ज दिने गाडी पाएपछि बुकिङको ओइरो

काठमाडौं । ‘नाडा अटो शो’मा मंगलबार लञ्च भएकाे ईभी कार जिनपिङ लिङ्बक्स ईसी०१ ले तहल्का मच्चाएकाे छ ।

सस्तो मूल्य, धेरै रेन्ज र स्मार्ट डिजाइनका साथ ठाकुर मोटर्सले नेपाली बजारमा भित्र्याएको याे गाडी नाडा शो सुरु भएको दिन देखिनै धेरैकाे आकर्षण बनेकाे छ।

कम्पनीकी म्यानेजर सुनिता ढुंगानाका अनुसार, पहिलो तीन दिनसम्मकाे तथ्यांक हेर्दा नाडामा सर्वाधिक बुकिङ यही गाडीको भएको अनुमान छ।

लिङ्बक्स ईसी०१ नेपालमा उपलब्ध अहिलेसम्मकै किफायती मूल्यमा पाइने, सबैभन्दा बढी रेन्ज दिने ईभी कारको रूपमा आएको हो।

म्यानेजर ढुंगानाका अनुसार यो ईभी कार दुई मोडेलमा उपलब्ध छ । बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री छ, जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ । यस्तै, प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ, जसको दाबी गरिएको रेन्ज ३४० किलोमिटर छ।

दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर छ । गाडीमा एलएफपी प्रविधिको ब्याट्री राखिएकाे छ । याे ब्याट्री सुरक्षित र टिकाउ मानिन्छ ।

‘फाइभ डोर’ सुविधासहितकाे यो कार १२ फिट लम्बाइ, ५ फिट चौडाइ, करिब साढे ५ फिट उचाइ र ८ फिटको ह्वीलबेसमा आधारित छ।

म्यानेजर ढुंगानाका अनुसार २०० एमएमको ग्राउन्ड क्लियरेन्स भएकाे याे गाडी नेपालका जस्ताेसुकै उकालो, खाल्डाखुल्डी सडकहरूमा गुड्न सक्ने क्षमता राख्छ।

कम्पनीले गाडीकाे बेस मोडेलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखेकाे छ भने प्रिमियम मोडेलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ ताेकेकाे छ ।

तर नाडामा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट दिएको छ। जसअनुसार, बेस मोडेल १८ लाख ९९ हजार, र प्रिमियम मोडेल २३ लाख ४९ हजार मा उपलब्ध हुने बताइएकाे छ ।

साथै गाडी यहाँ गाडी खरिद गर्ने ग्राहकले एक वर्षको बीमा, एक वर्षको सडक कर, नम्बर प्लेट एम्बोस गर्ने सुविधा, र फ्लोर म्याट समेत पाउने म्यानेजर ढुंगानाले बताइन् ।

सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभाको बिधायन व्यवस्थापन समितिको बैठकमा आफुले राखेको धारणाबारे थप प्रष्ट पार्दै मन्त्री न्यौपानेले निजामतीको सबै पदमा खुला राख्दा कर्मचारीहरूमा काममा भन्दा बढी लोकसेवामा ध्यान जाने गरेको बताइन् ।

संघीय निजामती सेवा विधेयकमा नासु खुलाबाट नगर्ने प्रस्ताव छ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकमा लोक सेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ ।

‘खरिदार र नासुमा एकै योग्यता र कोर्षबाट परीक्षा दिन पाइने हुँदा निजामती सेवामा खरिदारको खुला विज्ञापन गरेपछि नासुमा पनि विज्ञापन गर्दा उक्त कर्मचारीको ध्यान नासुको परीक्षामा बढी केन्द्रित हुने मेरो भनाई हो,’ मन्त्री न्यौपानेले स्पष्ट पारिन् ।  सबै पदमा खुला विज्ञापन गर्दा कर्मचारीहरू आफ्नो वृद्धि विकासका लागि कार्यालयमा हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा केन्द्रित हुने र यसले सरकारले चाहेअनुसारको नतिजा दिन नसक्ने मन्त्री न्यौपानेले बताइन् ।

राष्ट्रिय सभामा छलफल भइरहेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धी व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । खरिदार तहमा प्रतिस्पर्धा गर्न कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश पाइनेछ । यसका अलावा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ ।

यस्तै विधेयकमा अब उपसचिवमा प्रतिस्पर्धा गर्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ । अहिलेसम्म खुला प्रतिस्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन ।

युक्रेनसँग सहमति गर्न पुटिनलाई २ साताको अल्टिमेटम

एजेन्सी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई २ साताको समयसीमा (अल्टिमेटम) दिएका छन्।

ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस प्रगति भएन भने रुसविरुद्ध कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका हुन्।

यही अगस्ट १५ मा अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको एक हप्तापछि ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्।

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ, चाहे त्यो ठूलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै। अथवा हामी यो पनि भन्न सक्छौँ- यो अमेरिकाको लडाइँ होइन, यो तपाईंको लडाइँ हो।’

उनले युक्रेनस्थित अमेरिकी कारखानामा रुसले हालै गरेको आक्रमणप्रति आक्रोश पनि व्यक्त गरे। आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कर्मचारी घाइते भएका थिए।

ट्रम्पले भने, ‘म यसबाट खुसी छैन, युद्धसँग सम्बन्धित कुनै पनि कुराबाट।’

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले थपे, ‘रुस-युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट म खुसी छैन। यो कुन दिशामा जान्छ भन्ने कुरा अर्को दुई हप्तामा स्पष्ट हुनेछ।’

ट्रम्पले रुसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटघाटका विषयमा पनि बताए।

उनले भने, ‘म चाहन्छु- दुई नेता सँगै बसून्। यदि उनीहरूले यसो गरेनन् भने मैले यसो किन भयो भनेर हेर्नुपर्छ।’

यस क्रममा ट्रम्पले आफ्नै कार्यकालमा सात युद्ध रोकेको र तीन सम्भावित युद्ध टारेको दाबी पनि गरे।

यसअघि युक्रेन युद्धकै विषयमा ट्रम्पसँग छलफल गर्न अगस्ट १८ मा युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरू ह्वाइट हाउस पुगेका थिए।

उक्त भेटवार्तापछि ट्रम्पले पुटिन-जेलेन्स्की बैठकका लागि चाँजोपाँचो मिलाउन सुरु गरिएको बताएका थिए। एजेन्सी

बा

आदिम युगदेखि
ठिंग उभिएको त्यो पहाड
जसले आँधी झेल्यो
झरी व्यहो¥यो
मेरा बा र त्यो पहाडमा
सहने सामथ्र्य
उस्तै लाग्छ
त्यो पहाड
जसले,
कहिल्यै गुनासो गरेन
कहिल्यै आँशु झारेन

त्यो सिमल
जसलाई माघमा पातले सम्म साथ दिएन
हेर उसलाई फागुनमा फुलेको
जसका पात फूल्छन्
डाँट फूल्छन
फूलेर राताम्य हुने त्यो सिमल

सिमल
मेरो बाल्यावस्थामा जस्तो थियो
त्यस्तै छ, त्यो सिमल
घाम, पानी सहेर
फुलेकै छ, निरन्तर
आकाशको चरम उचाईमा उड्ने चीलहरु
त्यसैको ओत लाग्न आईपुग्छन्
काया बृद्ध भएपनि
फूल फूलिरहने
त्यो सिमल र मेरा बा
उस्तै लाग्छन्, मलाई

बा भरोसा
बा आशा
बा विश्वास
बा तागत
बा नै हिम्मत
बा नै ढुकुटी
बा भन्दा ठूलो अर्को विश्वास छैन
बा छन्, त सबथोक छ

नदी
जो बगिरहन्छ निरन्तर
जो बनाउछ, आफ्नो बाटो आफै
जो चट्टान फोरेर निस्किन्छ
जो पाखा पखेरा छिचोल्दै
पुग्छ सागरमा
जो कहिल्यै थाक्दैन
जो कहिल्यै बिचलित हुदैन
बस्, बगिरहन्छ, निरन्तर
मेरा बा र नदी उस्तै लाग्छ मलाई
जो कहिल्यै थाक्दैनन
जो कहिल्यै रोकिदैनन
जो कहिल्यै बिचलित हुदैनन
हो, मेरा बा नदी हुन्
नदी जस्तै मेरा बा

बा
जसको प्रेम अव्यक्त छ
जसको प्रेम अथाह छ
र, जसको आशिर्वाद अथाह छ
घाम सहेर
जसले ओत दिए
जलेर आफू
जसले उज्यालो संसार देखाए
आफू गले
तर ममा उर्जा भरिरहे
उर्जाका अजस्र स्रोत
मेरा बा
पहाड, नदी र सिमल झै मेरा बा !

नेपालले पायो पाकिस्तान साहिन्सबाट १४५ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० श्रृखंलामा नेपालले पाकिस्तान साहिन्सबाट १४५ रनको लक्ष्य पाएको छ ।

शुक्रबार डार्विनमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४४ रन बनाएको हो ।

पाकिस्तानका निम्ति अविजित रहेका कप्तान इर्फान खानले ४२ रन बनाए । इर्फानले २६ बलमा तीन चौका एक छक्का प्रहार गरे । अब्दुल समदले २६ रन बनाए । महोम्मद वासिनले समान २३ रन बनाए । यासिर खानले १८ र मेह्रान मुम्ताजले १० रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । सोमपालले चार ओभरमा ३० रन खर्चिए । नन्दन यादव, दिपेन्द्र सिंह ऐरीले समान दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट लिए ।

प्रतियोगितामा आज नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले यसअघिका पाँचमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो ।

नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको जित निकालेको थियो । पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगाड्र्सलाई ३३ रनले हराएको थियो ।

विपिन जोशीकी आमा र बहिनी स्वदेश फिर्ता

धनगढीः हमासद्वारा अपहरणमा परेका नेपाली विपिन जोशीकी आमा र बहिनी १० दिनको इजरायल भ्रमणपछि स्वदेश फर्किएका छन्।  भ्रमणका क्रममा उनीहरूले इजरायलका राष्ट्रपति, प्रधानमन्त्री, सेना प्रमुख र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए। साथै, विपिन अपहरणमा परिएको स्थान समेत उनीहरूले अवलोकन गरेका थिए।

तेलअभिभ विमानस्थलमा नेपाली राजदूत धनप्रसाद पण्डित, प्रधानमन्त्री कार्यालयका प्रतिनिधि जोस र नदाब बेन यहुदाले उनीहरूलाई विदाइ गरेका थिए। गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा विपिन जोशी बन्धक बनेका थिए।

उक्त आक्रमणमा करिब १,२०० जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए। सोही आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएका थिए। विपिन जोशी ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए।

अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

एजेन्सी । चिलीको अन्टार्कटिका क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।  भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर) गहिराइमा गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

यस भुकम्पबाट सुनामीको कुनै खतरा नभएको बताइएको छ । ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच  फैलिएको पाँच सय माइल फराकिलो अशान्त जलडमरूमध्य हो । यसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामी आउने सम्भावना नभएको पुष्टि गरेको छ । चिलीको राष्ट्रिय विपद् प्रतिक्रिया सेवा (सेनाप्रेड) ले भूकम्पलाई ‘मध्यम तीव्रता’ को रूपमा व्याख्या गर्दै अन्टार्कटिका क्षेत्रका लागि ‘सावधानी चेतावनी’ जारी गरेको छ ।

चिलीको गृह मन्त्रालयको एक स्रोतका अनुसार दक्षिण अमेरिकी महाद्वीपको सबैभन्दा दक्षिणी बसोबास भएको क्षेत्र ‘म्यागालेन्स क्षेत्रका लागि कुनै खतरा छैन’ भनिएको छ । सेनाप्रेडले सावधानीको अवस्थामा राष्ट्रिय अन्टार्कटिका क्षेत्रका ‘समुद्र तट क्षेत्रहरू’ र ‘चट्टानी किनारहरू’ खाली गर्न आवश्यक रहेको बताएको छ ।

लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिमा राप्रपाको विरोध

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारत र चीनबीच भएको पछिल्लो सम्झौता खारेज गर्न माग गरेको छ ।  राप्रपाले दुवै छिमेकी मुलुकलाई कुनै पनि प्रकारको अतिक्रमण वा उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन पनि सरकारसँग आग्रह गरेको छ ।

‘राप्रपा नेपालको भूस्वाधीनता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएको छ । यस विषयमा नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न माग गर्दछ ,’ प्रतिनिधिसभा बैठकमा सांसद अनिशा नेपालीले भनिन्, ‘कुनै पनि प्रकारको अतिक्रमण वा उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग आग्रह गर्दछ ।’

उनले भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापारमार्ग खोल्ने निर्णयबारे पार्टीका तर्फबाट गम्भीर आपत्ति जनाइन् ।

‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनै पनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो,’ नेपालीले भनिन् ।

लिपुलेक, लिम्पयाधुरा र कालापानी नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण नक्सा र सन्धि–सम्झौताले प्रष्ट देखाएको उनले जिकिर गरिन् ।

‘यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको कार्य हो,’ राप्रपा सांसद नेपालीले भनिन् ।

लिपुलेक विवाद सरकारले कूटनीतिक पहलको माध्यमबाट समाधान गरोस् : सांसद खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबिच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिएका हुन् । उनले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न उनले आग्रह गरे ।

उहाँले भन्नुभयो, ‘संयोग छ सभामुख महोदय सम्माननीय प्रधानमन्त्री केही दिनपछि चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ । त्यो समयमा दुवै सरकारका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र यो समस्या समाधान होस् भनेर माग गर्न चाहन्छु । यस्तो बेलामा हामी सबै नेपालीहरू कुनै पार्टी र कुनै जातिको नभई सम्पूर्णको नेपालको तर्फबाट स्वाभिमान र राष्ट्रिय एकता पक्षको पक्षमा उभिनुपर्छ ।’

उनले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे समेत दुई देशबिच आपसी सहकार्य र समन्वय हुनुपर्ने बताए ।

भारतद्वारा ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृत

काठमाडौं । भारतले थप ८० मेगावाट बिजुली खरिद गर्न स्वीकृति दिएको छ । ४८ दशलमवव ५ मेगावाटको मेवा खोला र ३१ दशमलव ०४ मेगावाटको करुवा सेती जलविद्युत् आयोजनाको बिजुली निर्यात गर्न स्वीकृत पाएको हो । बर्षायाममा नेपालले बिजुली बिक्री गर्दै आएको छ भने सुख्खायाममा भारतसँगै किन्दै आएको छ ।

भारतसँगै नेपालले बगलादेशलाई समेत ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ । पछिल्लो पटक भारतले २०० मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको थियो । नेपाल र भारतबीचको द्विपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि बिजुली निर्यात गर्न पाउने भएको छ ।

आगामी ३१ अक्टोबर २०२६ सम्मको बिजुली निर्यात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ ।

यो सम्झौताको पहिलो वर्ष हो र झन्डै १ हजार मेगावाट निर्यात भइसकेको छ । गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिजुली भारत निकासी भएको थियो ।

सबैलाई स्वीकार्य हुनेगरी विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्छ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरोकारवाला पक्षका असन्तुष्टिहरू सम्बोधन गरेरमात्रै सबैलाई स्वीकार्य हुने गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनको विधेयक, २०८० अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव नहुने भएकाले विधेयक निर्माणमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । ‘सरकारले तत्काल देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरी सबैलाई स्वीकार्य हुने गरी विधेयक अगाडि बढाउन आवश्यक देखिन्छ,’ साउदले भने, ‘शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव हुँदैन । त्यसकारण यो विषयमा सरकार गम्भीर हुन जरुरी छ ।’

लामो समयको प्रतीक्षापछि विषयगत समितिले विधेयकको प्रतिवेदन पारित गरेको छ । शिक्षा विधेयकले संघीय संरचनाअनुसार विद्यालय शिक्षालाई कानुनीरूपमा व्यवस्थित गर्दै आधारभूत शिक्षा सुनिश्चित र निजी विद्यालय नियमन गर्ने लगायतका प्रावधानहरू सकारात्मक भएको सांसद साउनको भनाइ थियो ।

‘तर, सरोकारवालाहरूको व्यापक असहमतिका बीच विगतमा सरकारले गरेका सम्झौताहरूको बेवास्ता गरी अगाडि बढाउँदा व्यापक असन्तुष्टिहरू देखिएका छन्,’ साउदले भने, ‘२० औँ वर्षदेखि कार्यरत अस्थायी प्रकृतिका राहत, साविक उच्च मावि, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्ने दायित्वबाट सरकार पन्छिन खोजेको गुनासो छ ।’

सीमावर्ती क्षेत्रमा बर्डफ्लुको संक्रमण, नेपालतर्फ बढ्दो जोखिम

कञ्चनपुर : नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतबाट अवैध रुपमा कुखुराको आयात हुने भएकाले संक्रमणको जोखिम रहेको सरोकारवालाहरु बताउँछन् ।

‘भारतबाट कुखुरा तथा कुखुराजन्य पदार्थ नेपाल भित्रिन सक्ने भएकाले संक्रमणको जोखिम देखिन्छ,’ सुदूरपश्चिम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा. पानसिंह ठगुन्नाले भने, ‘यस क्षेत्रका कुखुरा पालक कृषकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ ।’ उनले संक्रमण भित्रिन नदिन नाकामा रोकथामदेखि चेकजाँमा आवश्यक कडाइ गर्नुपर्ने बताए ।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार उत्तराखण्डको उद्यमसिंहनगर र बागेश्वरमा केही दिनयता बर्ड फ्लु तीव्र गतिमा फैलिएको छ । जसका कारण उक्त क्षेत्रमा रहेका पोल्ट्री फार्ममा धमाधम कुखुरा मरिरहेका छन् । संक्रमण देखिएको क्षेत्रलाई शिल गरेको अमर उजालाले लेखेको छ ।

‘खासगरी सीमा क्षेत्रमा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ,’ डा. ठगुन्नाले भने, ‘लुकाइछिपाइ आउने कुखुरा र कुखुराजन्य पदार्थमा रोक लगाउनुपर्छ ।’ उनले कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट उक्त सामाग्री आउन सक्ने बताए ।

उद्यमसिंहनगर कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकासँगै सीमा जोडिएको क्षेत्र हो । दुवैतर्फका बस्तीहरु एक आपसमा जोडिएका कारण पनि उक्त क्षेत्रमा बढी जोखिम हुन सक्ने देखिन्छ ।

‘हामीले सचेतनाका कामहरु गरिरहेका छौं, स्थानीय तहको सम्बन्धित शाखाले पनि जिम्मेवार हुनुपर्छ,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका पशु विकास निर्देशक श्याम खड्काले भने, ‘जनचेतनाका कामहरु हामीले गरिरहेकै छौं, सीमावर्ती क्षेत्रमा संक्रमण देखिएपछि सबै सजग हुनुपर्छ ।’

बर्ड फ्लुको जोखिम र यसबाट हुन सक्ने असरबारे कुखुरा पालक किसानहरुलाई जानकारी दिन सके संक्रमणको जोखिम कम गर्न सकिने पशु विकास निर्देशक खड्का बताउछन् । उनले नाकामा रहेको पशु क्वारेन्टाइनले पनि कडाइका साथ जाँच गर्नुपर्ने बताए ।

डल्फिन संरक्षणमा राज्यले चासो नदिएको गुनासो

धनगढी, भदौ ६ गते । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन संरक्षणमा राज्यले चासो नदिएको स्थानीय संरक्षणकर्मीले गुनासो गरेका छन् । कैलालीको नदीमा पाइने डल्फिन संरक्षणमा स्थानीय समुदाय क्रियाशील रहे पनि राज्य उदासीन रहेको उनीहरुको गुनासो छ ।

कुनै पनि तहका सरकारले साथ नदिएको संरक्षणकर्ताको गुनासो छ । उनीहरुले राज्यले डल्फिन संरक्षण क्षेत्रसमेत घोषणा गर्न नसकेको बताएका छन् । “डल्फिन देखा पर्ने नदी जलाधार क्षेत्रलाई हामी सबैले डल्फिन संरक्षित क्षेत्र भन्दै र चिनाउँदै आएका छौं । यस क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने हाम्रो माग हो” डल्फिन संरक्षणमा क्रियाशील टीकापुर नगरपालिका –७ का भोजराज ढुङ्गानाले भने ।

टीकापुर नगरपालिका –७, भजनी नगरपालिका –३ र ८ मा कर्णाली, मोहना, काँढा, कान्द्रा नदीमा सबैभन्दा बढी डल्फिन देखिएका छन् । यसै क्षेत्रलाई डल्फिन संरक्षण क्षेत्र र डल्फिन प्रजनन् केन्द्र बनाउनु पर्ने स्थानीयको माग छ । यस वर्ष यी क्षेत्रमा डल्फिनका बच्चा विगत वर्षको तुलनामा बढी देखा परिरहेको जनाइएको छ ।

नौवटा बच्चासहित वयस्क गरेर करिब २५ वटासम्म यस वर्ष डल्फिन रहेको ढुङ्गानाले बताए । उनका अनुसार वर्षात सिजनमा डल्फिन यहाँ बच्चा जन्माउने र हुर्काउने गरेका छन् ।  यसैगरी, डल्फिन पर्यटन विकाससँग सम्बन्धित पूर्वाधार निर्माणमा पनि राज्यले तदारुकता नदेखाएको उनीहरुको गुनासो छ । डल्फिन अवलोकनका लागि स्वदेशी तथा विदेशी आगन्तुक आइरहेको जनाइएको छ । यद्यपि, डल्फिन अवलोकन गर्न जाने स्थानसम्म पुग्न सडक संरचना राम्रो छैन । डल्फिन पाइने क्षेत्रमा पर्या पर्यटन विकासका लागि सबैभन्दा पहिले सडक संरचना निर्माण गर्न आवश्यक रहेको स्थानीय नरेन्द्र रेग्मीले बताए ।

टीकापुर नगरपालिका –७ सुरक्षित भवनदेखि ढुङ्गाना टोल डल्फिन क्षेत्रसम्म र भजनी नगरपालिका –८ हुलाकी राजमार्गदेखि काँढा नदीसम्म गैरीनालामा पक्की पुलसहित कालोपत्रे बाटो निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ । त्यस्तै, भजनी नगरपालिका –३ बर्दवाफाँटादेखि दैलेखी टोल र कुसुमघाटदेखि नयाँवस्ती डल्फिन क्षेत्रसम्म बाटो निर्माण गर्न आवश्यक रहेको जनाइएको छ ।

यसैगरी, भजनी नगरपालिका –८ र टीकापुर नगरपालिका –७ स्थित पथरैया र काँढा नदीको दोभानमा झोलुङ्गे पुल निर्माणको माग उनीहरुको विगतदेखिको हो । यो ठाउँमा पुल बनेमा स्थानीयलाई ओहोरदोहोर गर्न सहज त हुनेछ नै, त्यसले डल्फिन अवलोकनका लागि भ्युटावरको काम गर्ने जनाएको छ । पुल निर्माणका लागि दुई पटक सर्भे भए पनि अहिलेसम्म पुल नबनेको स्थानीय बताउँछन् ।

मोहना नदीको कटानले भजनी नगरपालिका –३ मा रहेको कुसुमघाट र नयाँ वस्ती उठीबास हुने त्रास छ । स्थानीयले नदी कटान नियन्त्रणको माग गरे पनि सुनुवाइ भएको छैन । दुवै गाउँलाई जोगाउन मोहना नदीमा बृहत तटबन्ध निर्माण गर्न आवश्यक रहेको ढुङ्गानाले बताए ।

“यहाँका जनता लामो समयदेखि संरक्षणमा क्रियाशील छन् । त्यसैले उनीहरुलाई पनि बचाउन आवश्यक छ” उनले भने, “किनभने बस्ती जोगाउन राज्यले ध्यान दिएन भने जनतामा संरक्षण किन गर्ने भन्ने हुन सक्छ ।”

यसैगरी, नदी तटीय क्षेत्रका स्थानीयको जीविकोपार्जनमूलक कार्यक्रम राज्यले लागू गर्न आवश्यक रहेको जनाइएको छ । जीविकोपार्जनको कार्यक्रम लागु भएमा संरक्षणमा थप टेवा पुग्ने ढुङ्गानाले विश्वास व्यक्त गरे ।

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुरः हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल बाघ, गैँडा र बाह्रसिङ्गाकै लागि मात्र चिनिएको छैन। यो राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका दृष्टिकोणले पनि अद्वितीय मानिन्छ। निकुञ्जमा चार सय ६५ प्रजातिका चरा पाइने भए पनि तीमध्ये १९ प्रजाति विश्वमै दुर्लभ श्रेणीका चरा यहाँ पाइन्छन्। जसमा विश्वमै दुलर्भ सीमतित्रा, सारस, भुँडीफोर गरुड, खर मजुर, सानो खरमजुर, सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महाचिल, लघु महाचिल, सानो बौडाइ, राज लहाँचे, सेतो कण्ठे धिप्सी, कासेघाँसे, बरी, नरक भ्याकुर, सुनौलो तोप चरा, बगाल बगेडीलगायत चरा निकुञ्जमा पाइन्छन्।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौराका अनुसार ती दुर्लभ प्रजातिमध्ये सबैभन्दा सङ्कटापन्न अवस्थामा खरमजुर रहेको छ। निकुञ्जमा यस चराको सङ्ख्या निकै कम छ। घाँसेमैदानमा बासस्थान बनाउने यो चरा शुक्लाफाँटाको पहिचानसँगै जोडिएको छ।यस्तै सुनौलो तोप चरा त शुक्लाफाँटामा मात्र पाइन्छ। घाँसेमैदानदेखि लालपानी, मोहनपुर, सिंहपुरजस्ता क्षेत्रमा यसको उपस्थिति देखिन्छ। घाँसेमैदान र सिमसार क्षेत्र नजिकका काँटेदार रुखहरूमा यस चराले गुँड लगाउने गर्छ । एउटै रुखमा यस चराका दर्जनौँ गुँड रहने गर्दछन्।

ठूलो धनेस र राजलहाँचेजस्ता प्रजाति भने निकुञ्जको घना सालको जङ्गलमा पाइने चराविज्ञ डगौरा बताउछन्। हिउँदमा बसाइँ सर्ने क्रममा आउने सेतो कण्ठे धिप्सी, ताल–तलाउ वरिपरि बस्ने सारस तथा विभिन्न किसिमका गिद्धहरू पनि यहाँ पाइन्छन्। निकुञ्जमा गिद्धका आठ प्रजाति पाइन्छन्। जसमध्ये चार प्रजाति डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र सेतो गिद्ध अति सङ्कटापन्न अवस्थामा छन् । डङ्गर गिद्धको सङ्ख्या केही बढेको भए पनि बाँकी प्रजातिहरूको सङ्ख्या अत्यन्तै न्यून रहेको चराविज्ञ डगौरा बताउछन्। निकुञ्जमा पाइने गिद्धका प्रजाति अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को रातो सूचीमा सूचीकृत रहेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिउँदमा बसाइँ सारेर आउने चराहरूको गन्तव्यका रूपमा रहेको छ। कैले टाउके हाँसजस्ता दुर्लभ जलपन्छी हिउँदयाममा यहाँको तालतलाउमा आउने गर्दछ।  नेपाल पन्छी संरक्षण सङ्घले गरेको पछिल्लो सर्वेक्षणअनुसार निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा करिब पाँच हजार ८८२ जलपन्छी पाइएका थिए।  हिउँदयाममा सिमसार क्षेत्र चराले भरिभराउ हुने हुँदा यो निकुञ्ज पन्छी अवलोकनकर्ताका लागि पनि आकर्षण केन्द्र बनेको छ। तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको निकुञ्जमा ७१ प्रतिशत भाग वनले ढाकेको छ, जसमा सालको वन ८० प्रतिशतभन्दा बढी छ। यिनै वन र घाँसेमैदान चराको मुख्य बासस्थान हुन्।

चराविज्ञ डगौराका अनुसार तालतलाउ जलकुम्भी र नरकटले ढाकिँदै गएर चराको खेल्ने ठाउँ साँघुरिँदै गएको छ। घाँसेमैदानमा चराको प्रजनन हुने बेला वैशाख–जेठतिर डढेलो लाग्दा गुँड र बासस्थान नष्ट हुने गर्दछन्। निकुञ्ज बाहिरका सिमसार क्षेत्र अतिक्रमण, खेतीपाती र संरचनात्मक विकासका कारण झन् सङ्कुचित बन्दै गएका छन्।

सामुदायिक वनमा हुने वृक्षरोपण पनि अर्को चुनौती बनेको छ। विज्ञहरूका अनुसार घाँसे फाँटमै प्रजनन गर्ने चरालाई यो कार्यले नोक्सान पुर्याइरहेको छ। “घाँसको फाँटमै धेरै चराले गुँड बनाउँछन्, त्यहाँ रुख लगाइएपछि उनीहरूको बासस्थान हराउँछ”, डगौराले भने।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लेका अनुसार निकुञ्जभित्र दुर्लभ चराको संरक्षणका लागि कार्य अगाडि बढाइँदै आएको छ। घाँसेमैदानमा बासस्थान भएका चराको बासस्थानलाई डढेलोले बढी क्षति पुर्याउने गरेको देखिएको छ। कहिलेकाहीँ हुरीबतासले गर्दा लाग्ने ठूलो डढेलोले रुखमा गुँड बनाउने चरालाई पनि समस्यामा पार्ने गरेको छ। चोरी–सिकारी नियन्त्रण गर्न १४ वटा निकुञ्ज पोष्ट र नेपाली सेनाका १९ वटा पोष्ट स्थापना गरिएको छ।

अहिलेसम्म दुर्लभ चराको चोरी–सिकार भएको आधिकारिक तथ्याङ्क नभएको उनको भनाइ छ। स्थानीय बासिन्दालाई चरा संरक्षणसम्बन्धी तालिम, गोष्ठी र छलफलमार्फत सङ्घसंस्थाको सहयोगमा तथा निकुञ्ज आफैँले पनि चेतना फैलाउने कार्य गर्दै आएको छ। चराको प्राकृतिक बासस्थानमा खलल नपुगोस् भन्ने लक्ष्यसहित स्थानीय सरोकारवाला र निकुञ्ज प्रशासनले सहकार्य गर्दै आएका छन्।

शुक्लाफाँटा केवल चरामात्र होइन, पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, बाह्रसिङ्गा, नीलगाई, घडियाल गोही, चितुवालगायत दुर्लभ वन्यजन्तुको बासस्थान पनि हो। यही जैविक विविधता र चराचुरुङ्गीको समृद्धिले गर्दा यो निकुञ्ज विश्वभरिका अनुसन्धानकर्ता र पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

‘सुदूरका सुईना’ र मन्त्रीका गफ

समाचार टिप्पणी ।
वर्षौ भयो, सुदूरका जनताले मेडिकल कलेजको सपना देखेको । सबै सपनालाई थाँती राखेर व्यग्रतापूर्वक प्रतिक्षा गरिएको सुदूरको एउटै सपना हो, गेटामा मेडिकल कलेज । त्यही सपनामाथि राजनीति भयो । क्रम अझै जारी छ । सञ्चालन अझै अनिश्चित छ । जस लिनेको होडवाजी उहिल्यै शुरु भएको हो ।

मेडिकल कलेजको मुद्दा कहिले नाममा अल्झियो । कहिले कसको मातहतमा सञ्चालन गर्ने निर्णय गर्नमै अलमलियो । नाम जे सुकै राख । बस्, मेडिकल कलेज चलाउ । जहाँ सबै सुबिधा होउन् । त्यहाँबाट ‘रेफर’ भएर अन्यत्र जानु नपरोस । अहिलेसम्म ‘रेफर’ मै मृत्यु भएकाको संख्या हजारौंमा छ । अलपत्र र बेखर्ची भएर बिलखबन्द भएकाहरुको पीडा भनिसाध्य छैन् ।

सुदूरवासीको मेडिकल कलेजको एउटा सपना र सुदूर पहाडको एउटा भरोसा, बयालपाटा अस्पतालका बारेमा यहाँ चर्चा गर्दैछौ ।

शुरु गरौ, मेडिकल कलेजबाट ।

प्रदीप पौडेलले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेयता स्वास्थ्य क्षेत्रमा गरिरहेका सुधारका प्रयत्नहरु सकारात्मक र नतिजान्मुख छन् । शुभेच्छुकहरुको नजरमा उनी भोलिवादमा विश्वास गर्दैनन् । नतिजामा विश्वास गर्छन् ।

तर गेटा मेडिकल कलेजमा उनले जसरी हतारमा ईमर्जेन्सी सेवाको उद्घाटन गरे । र, उद्घाटनका क्रममा गेटा मेडिकल कलेज सञ्चालनमा आएपछि सेती प्रादेशिक अस्पताल बन्द गर्ने उद्घोष गरे, त्यसले उनीपनि स्टन्ट र प्रचारमुखी भएको आरोप खेपिरहेका छन् ।

मेडिकल कलेजका लागि तयारी हालतमा रहेको गेटामा ३० शैयाको आकस्मिक सेवा उद्घाटन गरेका मन्त्री पौडेलले डडेल्धुरामा पाँच सय शैयाको अस्पताल सञ्चालनमा ल्याउने गफ दिन भ्याए । कहाँ सुदूरका सुईना ? कहाँ मन्त्रीका गफ ?

डडेल्धुरामा पाँच सय शैयाको होईन, सात सय शैयाकै अस्पताल सञ्चालन गरुन । त्यसमा कसैको विमती छैन् । तर तयारी हालतमा रहेको मेडिकल कलेजमा ३० शैयाको आकस्मिक सेवा उद्घाटन गर्नु पर्ने त्यस्तो के परिस्थिति आईलाग्यो, बुझि नसक्नु छ ।

मन्त्री ज्यू, पहिले गेटा मेडिकल कलेज पूर्ण रुपमा सञ्चालनमा ल्याउनुहोस । ३० शैयाको  ईमर्जेन्सी सेवा उद्घाटन गर्ने तपाई र गेटा मेडिकल कलेजका भवनको निरीक्षण गर्ने चटके नेताहरुका गफ उस्तै भएनन् र ? मन्त्री तुफानी शैलीमा आए । मानौ, आगो पैचो माग्न आएका थिए । आए । गए । जसरी पहिलेका स्वास्थ्य र शिक्षा मन्त्री आए । गए ।

मन्त्री ज्यू, सस्तो लोकप्रियता र साता तिना कुराको उद्घाटनमा नरमाउनुहोस । सुदूरका जनताले मेडिकल कलेजको उद्घाटन खोजेका हुन् । त्यसमा जोड दिनुहोस । किनकी तपाईबाट यहाँका नागरिकले नतिजाको आश गरेका छन् । स्टन्ट होईन ।

संघीय सरकारका मन्त्रीले प्रदेश सरकारको मातहतमा रहेको सेती प्रादेशिक अस्पताल बन्द गर्ने अभिव्यक्ति दिनु अर्को असंगत कुरा हो । यो भनिरहदा उनका साथमा रहेका प्रदेशका स्वास्थ्य मन्त्री (सामाजिक विकास मन्त्री) मौन थिए ।

मन्त्री पौडेल यति असंवेदनशील छन्, जस्तो लाग्दैनथ्यो । उनीसंग आग्रह छ, सेती प्रादेशिक अस्पताललाई बन्द गर्ने होईन, यसलाई व्यवस्थित गर्नुहोस । यसको शैया र सेवा थप्नुहोस । यो जरुरी छैन कि, अस्पताल छेउका सेवाग्राही सामान्य उपचारका लागि गेटा जाउन । पहाडी जिल्लाका अस्पतालहरुको स्तरोन्नती गर्नुहोस । यस्तो नहोस, पहाडबाट उपचारका लागि गेटा पुग्न नपाउदै नागरिकले ज्यान गुमाउनु परोस । अहिलेसम्म भयो, अव नहोस ।

पौडेल मेडिकल कलेजपछि सुदूर पहाडको भ्रमणमा निस्किएका छन् । सुदूर पहाडको स्वास्थ्य अवस्था बुझेर काठमाण्डौं फर्किएपछि नबिर्सिउन, यहाँका नागरिकले समयमै उपचार नपाएर मृत्युवरण गर्नुपरेको पीडा ।

अचेल सुदूरका कतिपय नेता र बुद्धिजीविले भन्ने गरेको सुनिन्छ, कर्णालीको स्वास्थ्य अवस्था सुदूरभन्दा राम्रो भयो । त्यहाँ मेडिकल सञ्चालन हुदा पनि सुदूरपश्चिममा हुन सकेन ।

यो बुझाई र भनाई आफैमा गलत छ । तर्कहीन पनि । कर्णाली के सुदूर पश्चिमभन्दा माथि जान नहुने हो र ? के सुदूर भन्दा खराव भईरहनु पर्ने हो र, त्यहाँको अवस्था ? पक्कै पनि होईन ।

संघीय सरकारसंग सुदूरपश्चिमको माग र अपेक्षा त के हो भने, राज्यको नीति, व्यवहार र उपेक्षाका कारण पछि परेको सुदूरको भूगोललाई कृपा होईन, न्याय चाहिएको हो । त्यसका लागि क्षतिपूर्ति चाहिएको हो । त्यो पनि स्वास्थ्यमा मात्र होईन, समग्र क्षेत्रमा चाहिएको हो ।

अव लागौ, बयालपाटा अस्पताल तर्फ ।

अछामको बयालपाटामा न्याय हेल्थ नेपालद्धारा सञ्चालित बयालपाटा अस्पतालको भविश्य र सेवाका बारेमा यतिबेला सुदूर पहाडमा थुप्रै आशंका, अड्कल र केही भ्रमहरु सृजना भएका छन् । अस्पतालको भविश्यसंग जोडिएका छन्, सामाजिक विकास मन्त्री मेघराज खड्का । त्यही भूगोलबाट निर्वाचित खड्का अहिलेसम्म कुनै विवादमा मुछिएका छैनन् । खड्काले बयालपाटालाई प्रदेश सरकारको मातहतमा ल्याए । खड्का बाहेक यो निर्णय गर्ने ल्याकत अरुले राख्दैनथे । यो कार्य अरुले गर्ने भए, पहिले गरिसक्थे । यसमा दुईमत छैन् ।

बन्द हुने अवस्थामा पुगेको अस्पताललाई खड्काले प्रदेश मातहतमा ल्याएर जोगाए भन्नेमा आंशिक सत्यता छ । सत्य यो पनि हो कि, प्रदेश सरकारको असहयोगका कारण त्यो अस्पताल बन्द हुने अवस्थामा पुगेको हो ।

सरकारले दुर्गम बाजुराको कोल्टीमा, बयालपाटा जस्तै सुविधायुक्त निशुल्क सञ्चालन गर्नु पथ्र्याे । त्यहाँ पनि बयालपाटा जस्तै अस्पतालको आवश्यकता थियो । अझ मंगलसेनस्थित जिल्ला अस्पताललाई बयालपाटा जस्तै निशुल्क र सुविधायुक्त बनाउनु पर्ने थियो । तर बयालपाटालाई मंगलसेन जस्तै बनाउने कार्य भयो । यसको अर्थ मंगलसेनका चिकित्सक र स्वास्थ्यकर्मीहरुको सेवालाई कम आँकिएको होईन् ।

मन्त्री खड्काले सुदूरपश्चिममा एउटा यस्तो नमूना अस्पताल सञ्चालन गर्ने सोच राख्न सकेनन्, वा उनमा त्यो आत्मविश्वास र क्षमता भएन, त्यस्तो अस्पताल, जसले नागरिकलाई सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क देओस, त्यो पनि गुणस्तरीय । र, अझ समयमै । उनी यहाँनिर चुके ।

हो, प्रदेश सरकारका आफ्नै बाध्यता छन् । दायरा छन् । तर त्यसको अर्थ प्रदेश सरकारले आफू अनुकूल नीति बनाउन पाउदैन भन्ने होईन । बयालपाटामा जागीर खान अछाममा जन्मिएको व्यक्तिले अतिरिक्त पाँच नम्बर स्वतः पाउने नीति बनाउने पनि उनी नै हुन् । वर्षौदेखि बयालपाटामा काम गरिरहेकाहरु नै यही नीतिका कारण आन्तरिक प्रतिस्पर्धाबाट बाहिरिएका छन् । अछामका लागि सुन्दा प्रियकर लागे पनि भोलि सबै मन्त्रीले आआफ्नो जिल्लाका लागि यस्तो नीति बनाए के हुन्छ ? यो नीति न त संविधानसम्मत छ । न दूरदर्शी नै ।

यस्तो नीति बनाउन सुझाव दिने कर्मचारीहरु नै होलान, जसले एउटै जिल्लामा सञ्चालित दुई वटा अस्पताल अलग अलग नीतिमा सञ्चालन गर्न सकिदैन भन्ने निष्कर्ष मन्त्रीलाई सुनाए । र, मन्त्रीले त्यही कुरा पत्याए । आज बयालपाटा अस्पताल जुन अवस्थामा आईपुग्यो, त्यसमा तिनै कर्मचारीको सुझावमा हिड्न बाध्य मन्त्रीको लाचारी झल्किन्छ ।

खड्का नीति बनाउने स्थानमा छन् । बिडम्बना, उनले कर्मचारीका सुझावलाई अन्तिम सत्य ठाने । जनताको हितमा कसरी उत्कृष्ट नीति बनाउन सकिन्छ ? उनले त्यसतर्फ ध्यान दिनुपथ्र्यो ।

बयालपाटा अस्पताललाई बजेट नदिएको भन्दै हिजो बिरोध गर्ने खड्काले आफू मन्त्री हुदा बजेट बिनियोजन गर्न नसक्नुले भन्छ, मन्त्रीहरु लाचार छन् ।
जनताको स्वास्थ्योपचारको जिम्मेवारी राज्यको हो । स्वास्थ्य जस्तो संवदेनशील विषयमा सधैंभरी गैर सरकारी संस्थाको भरमा राज्य पर्नु हुदैन् । ढिलोचाँडो न्याय हेल्थ नेपाल, बयालपाटा अस्पताल सरकारलाई जिम्मा लगाएर बाहिरिन्थ्यो, यसमा दुईमत छैन् ।

सुदूर पहाडका जनताले निशुल्क रुपमा बयालपाटा अस्पतालबाट पाउदै आएको सेवा, सुविधा र गुणस्तर तलमाथि नहोस, यो सबैको अपेक्षा हो ।

औषधी किन्ने आर्थिक हैसियत नभएका सुदूर पहाडका जनताले शुल्क तिरेर उपचार गर्ने अवस्था अझै भईसकेको छैन् । रोग लुकाएर बस्ने, उपचारका लागि अस्पताल नजाने समस्या त्यसैको उपज हो ।

यही अवस्थालाई मध्यनजर गर्दै बयालपाटा अस्पतालले शतप्रतिशत सेवा निशुल्क प्रदान गर्दै आएको सत्य बिर्सिन हुदैनथ्यो, प्रदेश सरकारले । प्रदेश सरकारको मातहतमा गएपछि सेवाग्राहीले पर्चीसंगै सम्पूर्ण सेवा सुविधाको शुल्क तिरिरहेका छन् । यसको मूल्य कसकसले चुकाउनु पर्नेछ, त्यो त प्रष्ट छ ।

सरकारका सल्लाहकार छन् कि, निशुल्क सेवा दिए जनताको बानी बिग्रिन्छ, भन्दै पर्चीदेखि सबै सेवाको शुल्क लिनुपर्ने सुझाव दिन्छन् । प्रदेश सरकारका कर्मचारीहरु यही मनोविज्ञानमा बाँचेका छन् । उनीहरुलाई यो थाह छैन, सुदूर पहाडका जनता कसरी बाँचेका छन् ?

प्रदेश सरकारले बयालपाटाकै मोडेलमा कोल्टीको अस्पताल सञ्चालन गर्नुपथ्र्यो । कोल्टीमा पनि बयालपाटा जस्तै निशुल्क र सुविधा अस्पतालको खाँचो छ । तर प्रदेश सरकारले त्यसो गरेन्, उल्टै बयालपाटा अस्पतालाई मंगलसेनस्थित जिल्ला अस्पतालको मोडेलमा सञ्चालन गर्ने निर्णय ग¥यो । उनीहरुको निष्कर्ष थियो, एउटै जिल्लामा दुई थरीका मापदण्डमा अस्पताल सञ्चालन गर्न सकिदैन ।

सरकारको सोच, राम्रोलाई अझ राम्रो बनाउने हुनुपथ्र्यो । तर भयो, राम्रोलाई खरावको हाराहारीमा पु¥याउने ।

शल्यक्रिया गर्ने टीममा रहेका दक्ष र अनुभवी कर्मचारीलाई हटाएर एउटा चिकित्सकबाट बिरामीको शल्यक्रियाको अपेक्षा गर्नु दुर्भाग्य हो । अहिले कर्मचारी छनौटका क्रममा त्यो टीम ब्रेक भएको छ ।

चिन्ता यो हो कि, बयालपाटा अस्पतालले आफ्ना सेवाहरु पूर्ववत सञ्चालन गर्न सक्छ कि सक्दैन ? हिजोसम्म राजनीति नघुसेको बयालपाटामा राजनीति हावी नहोस । जुन भावना र गति (स्पिड र स्प्रिट) मा बयालपाटाका चिकित्सक र कर्मचारीहरुले सेवा दिईरहेका थिए, त्यसले निरन्तरता पाओस ।

पूर्ववत अवस्थामा अस्पतालको सेवा, सुविधा र गुणस्तरलाई कायम राख्न सके यो निर्णय उनको राजनैतिक जीवनमा ऐतिहासिक हुनेछ । अन्यथा यो निर्णय सामाजिक विकास मन्त्री खड्काका लागि आत्मघाती हुनेछ ।

कराते खेलाडीको बिदाइ, सिंहद्धारा आर्थिक सहयोग

धनगढी, ५ भदौ ।
२३औँ एशियाली क्याडेट, जुनियर तथा अण्डर २१ कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न कराते खेलाडी मनिषा कुमारी बोहरा धनगढीबाट प्रस्थान गरेकी छन् ।

चीनको शाओगुआन शहरमा सेप्टेम्बर ५ देखि ७ तारेखसम्म हुन लागेको च्याम्पियनसीपमा नेपालका तर्फबाट छनौट भएकी सुदूर पश्चिमकी बोहराको आज धनगढीमा विदाइ गरियो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा आयोजित विदाइ कार्यक्रममा परिषदका सदस्य सचिव लोक बहादुर खड्काले खेलाडी बोहरालाई सुदूरपश्चिम प्रदेश कराते महासंघका तर्फबाट उपलब्ध गराइएको  १ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरे ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष तथा नेपाल कराते महासंघका केन्द्रीय सदस्य गजेन्द्र साँवद, कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख आश्रम केसी, नेपाल कराते महासंघको केन्द्रीय रेफ्री कमिसनका सदस्य, अन्तर्राष्ट्रिय रेफ्री प्रकाश कुमार चन्द, अन्तर्राष्ट्रिय निर्णायक तथा कराते प्रशिक्षक हिक्मत गुरुङ, अन्तर्राष्ट्रिय निर्णायक तथा कराते प्रशिक्षक केशव बडुवाल, कराते प्रशिक्षक भरत हमाल, बैतडी जिल्ला कराते महासंघका अध्यक्ष राज बहादुर कार्की, सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य प्रकास बिक लगायत सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा कार्यरत बिभिन्न खेलका प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

आयोजक संस्था सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयका अनुसार खेलाडी बोहरालाई प्रदान गरिएको १ लाख ५० हजार रुपैया हाल अमेरिका बस्ने कराते तथा किक बक्सिङ खेलका पुर्व अन्तर्राष्ट्रिय खेलाडी, ८औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको कराते तर्फका पदक बिजेता तथा नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष मकेन्द्र बहादुर सिंहले उपलब्ध गराएका थिए । बिभिन्न अवसरमा खेलाडीहरुलाई सहयोग गर्दै आएका सिंहले यस प्रतियोगितामा सहभागी हुन गईहेका सशस्त्र प्रहरी बलको एपीएफ क्लवका करातेका खेलाडी प्रदिप बैजाली मगरलाई पनि ५० हजार रुपैया नगद सहयोग गरेका छन् ।

नेपाली राष्ट्रिय कराते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठका अनुसार यस प्रतियोगितामा नेपालका तर्फबाट प्रदिप र मनिषा लगायत ९ खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

प्रदीपले २०२३ मा काठमाडौँमा सम्पन्न ७औँ दक्षिण एशियाली कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १ स्वर्णपदक र २०२५ मा श्रीलंकामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा २ स्वर्णपदक र १ रजतपदक जितेका । त्यसैगरी मनिषाले भुटानमा २०२४ मा सम्पन्न भएको ८औँ दक्षिण एशियाली कराते प्रतियोगितामा १ स्वर्णपदक र ९औँ दक्षिण एशियाली कराते प्रतियोगितामा १ स्वर्ण पदक जितेकी थिइन्  ि

काठमाण्डौं सहित १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं, ५ भदौ ।
गृह मन्त्रालयले काठमाडौं सहित १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । त्यसबाहेक मन्त्रालयले २० सहसचिव र २४ उपसचिवको एकसाथ सरुवा गरेको छ।

गृह मन्त्रालयले बुधबार काठमाडौंसहित १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृह मन्त्रालय पठाइएको छ । काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।

535669954_1882617365803453_157202231711395513_n-1755704743.jpg

अदालती करुणाका लागि प्रसिद्ध न्यायाधीश फ्रान्कको निधन

अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियो, जो अदालतमा देखाएको करुणा र मानवताको लागि ‘संसारको सबैभन्दा राम्रो न्यायाधीश’ भनेर चिनिन्थे । उनै क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भैको छ । उनको परिवारले सामाजिक सञ्जालमार्फत यो समाचार सार्वजनिक गरेको हो ।

रोड आइल्यान्डका सेवानिवृत्त न्यायाधीश क्याप्रियोले करिब चार दशकसम्म सेवा गर्दै साना कानूनी उल्लङ्घनमा समेत सहानुभूतिपूर्ण दृष्टिकोण देखाउनु भएको थियो । उनको कोर्टरुम रियालिटी कार्यक्रम ‘क्याच इन प्रोभिडेन्स’ ले ट्राफिक उल्लङ्घन र पार्किङ टिकट जस्ता मामिलामा संघर्ष गरिरहेका व्यक्तिहरूप्रति उहाँको दयालु व्यवहारलाई देखाएको थियो ।

उनका छोरा डेभिड क्याप्रियोले भनेका छन्, ‘प्यानक्रिएटिक क्यान्सरसँग साहसी सङ्घर्षपछि, पिता न्यायाधीश फ्रान्क क्याप्रियोको निधन भयो । हामी उहाँलाई सम्मानित न्यायाधीश मात्र नभई मायालु पति, बुबा र हजुरबुबारूपमा सम्झनेछौँ ।’

एनपिएल–२ को मिति घोषणा, पहिलो खेल १७ नोभेम्बरमा

 

काठ्माण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले  नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको मिति घोषणा गरेको छ । क्यानका अनुसार प्रतियोगिता आउँदो १७ नोभेम्बरदेखि १३ डिसेम्बरसम्म आयोजना गरिने छ ।

एनपिएल २०२५ का लागि क्यानले केही साताअघि मिनी अक्सन सम्पन्न गरेको थियो । अब टिमहरूले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाउने छन् ।

आसन्न एनपिएल सिजनमा पनि आठवटा टिमले भाग लिने छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न माग

काठ्माण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा प्रधानमन्त्री ओली हाल कामचलाउ सरकारको हैसियतमा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया तुरुन्त अघि बढाउन आग्रह गरिएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रिट दर्ता भइसकेको छ । यसमा प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिनिधि सभाका सभामुख, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालय विपक्षी बनाइएको छ ।

संविधानको धारा १०० (२) अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले क्रमशः असार ३१ र असार २२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

रिटमा कामचलाउ सरकारलाई दूरगामी तथा नीतिगत निर्णय नगर्न समेत अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । सर्वोच्चमा यो रिटको सुनुवाइ शुक्रबार हुने पेसी तोकिएको छ ।

शिक्षा विधेयक समितिबाट पारित, तीन दलको फरक मत‍

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । बिहीबार बसेको समितिको बैठकबाट विधेयक पारित गरिएको हो ।

अब बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्ने तयारी गरिएको छ ।

विधेयक पारित हुँदा विपक्षी दहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका छन् । विधेयक उनीहरूको फरक मतसहित पारित भएको हो ।

बैठकमा पूर्वशिक्षामन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले ईसीडी कार्यकर्तालाई शिक्षक मान्नुपर्ने बताएकी थिइन् ।

राप्रपाकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदै लिनुपर्ने तर्क गरेकी थिइन् ।

‘जनै हराएको मान्छे’ को प्रिमियरमा पारिवारिक सम्बन्ध र जिम्मेवारीको चर्चा

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को बुधबार उपत्यकामा प्रिमियर गरिएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेर्न पुगेका अधिकांशले आफू भावुक बनेको प्रतिक्रिया दिएका छन्।

प्रिमियरमा अग्रज कलाकार सुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठलगायत फिल्मकर्मी र पत्रकारहरूको उपस्थिति थियो।

फिल्म हेरेपछि कलाकारहरूले फिल्मकोकथासँग भावनात्मक रूपमा जोडिएको बताए। फिल्मले मन छोएको र आफ्नै परिवारको याद दिलाएको उनीहरुको भनाइ थियो। बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथाले रुवाएको उनीहरूले प्रतिक्रिया थियो।

फिल्ममा बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा प्रस्तुत गरिएको छ।

हिमाल न्यौपाने निर्देशित फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहारी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

खुट्टाले टेक्नुपर्ने देश टाउकोले टेकिरहेको छ: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले नेपालको अर्थतन्त्र उल्टो बाटोमा रहेको बताएकी छिन् ।

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयको उद्घाटनका क्रममा भण्डारीले अर्थतन्त्र आयातमा निर्भर भएको उल्ले गरिन् । भण्डारीले भनिन, ‘साधन स्रोतको हिसाबले खुट्टाले टेक्नुपर्ने देश टाउकोले टेकिरहेको छ ।’

खोज्नुहोस