सुरक्षित र सतर्क रहन प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको भन्दै सुरक्षित र सतर्क रहन नागरिकलाई आग्रह गर्नुभएको छ।

विपतको अवस्थामा सरकार साथ रहेको भन्दै नागरिकलाई सुरक्षित र सावधानी हुन उनले आग्रह गर्नुभएको हो।

बाढीपहिरो बढ्दै गएपछि देशवासीको नाममा सम्बोधन गर्दै उनले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताए।अप्ठेरोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए।

कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आंकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस्।तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो,आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,प्रधानमन्त्रीले भिडियो सन्देशमा भन्नुभएको छ,हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं।

म प्रस्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न।राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन।

सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उनले बताए।महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए।

गोसाइँकुण्ड घुम्न गएका चार जना खोलामा बगेर बेपत्ता

रसुवा, १९ असोज ।
शनिवार भक्तपुरबाट रसुवाको गोसाइँकुण्ड घुम्न जाँदै गरेका ४ जना गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोलामा बगेर बेपत्ता भएका छन् ।

बाढीले बगाएर बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ, भक्तपुर नगरपालिका १० का २८ वर्षका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।

रसुवाका डीएसपी हेम शाहीका अनुसार भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना बेरिङ खोलाले बगाएर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार १६ मध्ये ८-८ जनाको समूहमा हिँडेको उनीहरूको एउटा समूहबाट ४ जनालाई एक्कासि आएको खोलाको बाढीले बगाएको हो ।

डीएसपी शाहीले वर्षा नरोकिएका कारण उनीहरूको खोजीका लागि कठिनाइ भइरहेको बताए ।

 

मेची करिडोरका तीन ठाउँका पुल बगे

काठमाडौं । मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ ।

केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।

इलाम नगरपालिका-११ बेलासेमा माईखोला माथि करिब ५ वर्ष पहिले मात्रै बनेको पक्की पुल क्षतिग्रस्त भएपछि त्यहाँबाट आउजाउ ठप्प भएको छ ।

मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आउ–जाउ बन्द भएको छ ।

अविरल वर्षापछि देशभरीको जनजीवन प्रभावित, बिभिन्न राजमार्ग अवरुद्ध

काठमाण्डौं, १८ असोज ।
शुक्रवार रातिदेखि परेको अविरलका कारण देश भरीको जनजीवन प्रभावित भएको छ । डुबान र बाढीबाट सबैभन्दा बढि काठमाण्डौं उपत्यका प्रभावित भएको छ ।

प्रधानमन्त्री सुशिला कार्कीले भिडियो सन्देश जारी गर्दै देशवासीलार्य सुरक्षित र सावधानी अपनाउन आग्रह गरेकी छन् ।

पत्रकारहरुसंगको कुराकानीमा विपद्‍मा मानवीय क्षति शून्य हुने गरी काम गर्न निर्देशन दिएका गृहमन्त्री ओमप्रकाश अर्यालले भौतिक क्षतिका विवरण आइरहेको जानकारी दिदै मानवीय क्षति शून्य होस् भन्ने उद्देश्यले सरकारले काम गरिरहेको बताए ।

त्यस्तै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई २४ घन्टै कार्यालयमा बस्न निर्देशन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले उद्धारका लागि हेलिकोप्टर आवश्यक परे तत्काल सम्पर्क गर्न प्रजिअ र सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौं उपत्यका आसपासका नदीमा जलसतह बढेपछि उच्च सतर्कता अपनाउन अपिल गृह मन्त्रालयले सम्बन्धित निकायसंगै सर्वसाधारणलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका बस्तीका मानिसहरूको आश्रयस्थलका लागि ७० वटा विद्यालय तोकेको छ ।

मेयर बालेन्द्र शाहका अनुसार ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थलको रूपमा तोकिएकोमा अहिलेसम्म चारवटा विद्यालयमा बाढी प्रभावित परिवारलाई स्थानान्तरण गरिएको छ । प्रभावित बासिन्दा कुलेश्वरस्थित जन विकास विद्यालयमा २५१ जना, त्रिपुरेश्वरस्थित विश्व निकेतनमा ७० जना, गुह्येश्वरीमा ५२ जना, टेकुस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् ।

वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको हो ।

चितवन प्रशासनले अर्को सूचना जारी नहुँदासम्म आज शनिबार साँझ ६ बजेदेखि चितवन हुँदै अन्य जिल्लामा जाने सडकहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका गाडीहरू पहिरो र सडकको अवस्था हेरी प्रशासनको समन्वयमा आउजाउ गर्न सक्ने छन् । प्रशासनको यो निर्णयले काठमाण्डौं जाने सडकमा समेत यातायातका साधन सञ्चालनमा रोक लागेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको छ । उक्त सडक भासिएसँगै रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन बन्द गरिएको छ ।

उता बीपी राजमार्ग बन्द भएपछि पुष्पलाल मार्ग हुँदै काठमाडौं प्रवेश गरिरहेका सवारी साधनहरुलाई दोलखाको किर्नेटारमा रोकेको दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

बीपी राजमार्ग बन्द भएपछि सार्वजनिक सवारी साधनहरु मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी जान थालेका थिए ।

अविरल वर्षापछि देशका बिभिन्न राजमार्गअरु अवरुद्ध भएक छन् । अत्यावश्यकीय काम बाहेकका लागि बाहिर ननिस्किन सरकारले सर्वसाधारणसंग आग्रह गरेको छ ।

रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

रौतहट १८ असोज । रौतहटमा चट्याङ लागेर शनिवार साँझ दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुनेमा कटहरिया नगरपालिका –२ हथियाहीका मरुलाल लहेरीका १७ बर्षीय छोरा सेराज लहेरी र रामधेनु यादवका १६ बर्षीय छोरा नवीन यादव रहेका छन् ।

शनिवार साँझ करीव साढे ६ बजेको समयमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । लहेरीको घट्नास्थलमै र यादवको उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको हो ।

दुबै जनाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको छ ।

जापान उड्न हिडेकी सरस्वती बाटोमै अस्ताईन

डोटी, १८ असोज ।
दशैंको टीका लगाएर जापान जान हिडेकी डोटीको दीपायल सिलगढी नगरपालिका -१ तिखाकी २० वर्षीया सरस्वती खड्काको कपिलवस्तुमा बस दुर्घटनामा परी मृत्यु भएको छ ।

जापान जान घरबाट बिदावारी भई काठमाण्डौं जादै गरेकी खड्का बस दुर्घटनामा परी कपिलवस्तुमा अस्ताईन । उनी धनगढीबाट ना ८ ख ५७०३ नम्बरको बसमा काठमाण्डौं जादै थिईन् । उनी चढेको बस आज बिहान कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, वनकसवासमा आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाईते भएकी खड्काको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । बाटोमै अस्ताएकी खड्काको जापान जाने सपना अधुरो रह्यो ।

धनगढीबाट पोखरा जादै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, २० घाईते

धनगढी, १८ असोज ।

धनगढीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९०७ नम्बरको यात्रुबाहक बस शनिबार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाही रहेका छन् ।

दुर्घटनामा परेकी कैलालीको कैलारी गाउँपालिका–१ की २१ वर्षीया सरस्वती चौधरीको अवस्था गम्भीर छ । दुईटै खुट्टामा चोट लागेका कंचनपुर पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय बिप्लव पोख्रेल लाई उपचारका लागि लखनउ रेफर गरिएको छ ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका–५ हसनपुरका २० वर्षीय सुशिल भट्ट, कंचनपुर पुनर्वास नगरपालिका–८ की २७ वर्षीया अस्मिता भट्टराई ,३४ वर्षीया खडानन्द शर्मा, पुनर्वास–६ की २६ वर्षीया अन्जना बिश्वकर्मा र उनकी ५ वर्षीया छोरी एलियन बिश्वकर्मा, सोही ठाउँ बस्ने ६० वर्षीया लक्ष्मी बिश्वकर्मा, धनगढी उपमहानगरपालिका–१ का ३४ वर्षीय बिधान भण्डारी घाईते भएका छन् ।

दुर्घटनामा परी घाईते भएका धनगढी–५ तारानगरका ३२ वर्षीय मनिस श्रेष्ठ, उनकी पत्नी ईन्दु, छ वर्षीया छोरी प्रान्सीको नवजीवन अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाईते भएका डोटी जोरायल गाउँपालिका–१ का २४ वर्षीय घनश्याम ओझा, २१ वर्षीय पारस ओझा, धनगढी–५ हसनपुरकी ३२ वर्षीया प्रिंयका श्रेष्ठ, कास्की पोखरा महानगरपालिका–१६ का २१ वर्षीय सुनिल परियार र सोही ठाउँकी ४५ वर्षीया मन्जु परियार, पोखरा–१६ का २५ वर्षीय प्रजोल पहाडी, कंचनपुर बेलौरी नगरपालिका–३ की २२ वर्षीया सबिना रोकायाको निसर्ग अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक प्रहरीका अनुसार स्कुटरलाई जोगाउन बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहको कमाण्डमा २५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

दुर्घटनामा घाईते भएका बसका सह चालक स्याङ्जा फेदीखोला गाउँपालिका–१ का ३० वर्षीय बुद्ध गुरुङलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएका छन् ।

भिजिबिलिटी घटेपछि सात अन्तर्राष्ट्रिय बिमान डाईभर्ट, आन्तरिक हवाई सेवा बन्द

काठमाडौँ, १८ असोज । वर्षाका कारण भिजिबिलिटि (दृश्यता) घटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर सातवटा अन्तर्राष्ट्रिय जेट विमान डाईभर्ट भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई गन्तव्य बिभिन्न देशबाट उडेका जहाजहरुले अवतरण गर्न नसकेर काठमाण्डौंको आकाशबाट फिर्ता भएर बिभिन्न देशमा आपतकालीन अवतरण गरेका छन् ।

प्रस्थान उडानहरू भईरहदा अन्यत्रबाट आउने बिमान अवतरणमा भने समस्या उत्पन्न भएको हो ।

दिल्लीबाट काठमाडौं आउँदै गरेका एयर इन्डिया र इन्डिगोका दुई उडान पुनः दिल्ली फर्किएका छन्। आबुधाबीबाट उडेको एयर अरेबियाको विमान बाणारसीतर्फ मोडिएको छ।

दिउँसो करिब २ बजेतिर मुम्बईबाट आएको इन्डिगो एयरलाइन्सको विमान लखनउ तर्फ मोडिएको छ ।

ईन्डिगोले दुई पटक अवतरणको प्रयास गरेपनि सफल हुन सकेन ।

कुनमिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको विमान ढाका, थाइल्याण्डबाट आएको थाइ एयर एशियाको उडान लखनउ, र जापानको नारिताबाट आएको नेपाल वायुसेवा निगमको जहाज दिल्लीतर्फ डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

यतिबेला कतार एयरवेजका दुई वटा विमान गोरखपुरको आकाशमा होल्डमा छन् । तीन वटा जहाज फर्किएका छन् ।

त्यस्तै खराव मौसमका कारण आज दिनभरी आन्तरिक उडानहरु भने स्थगित भए ।

धनगढीबाट काठमाण्डौं जादै गरेको बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाईते 

कपिलबस्तु १८ असोज ।

धनगढीबाट काठमाण्डौं जादै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना हुदा २२ जना घाईते भएका छन् ।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ख ५७०३ नम्बरको बस बिहान करिब ६ बजे अनियन्त्रित भई कपिलवस्तुको शिवराज नगरपालिका १, बनकसबासस्थितमा दुर्घटनामा परेको हो ।

बसमा करिब ४० जना सवारमध्ये २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिएका छन् ।

उनीहरुलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक फरार भएका छन् ।

 

अविरल वर्षापछि काठमाण्डौं जोड्ने सडकमा तीनदिनसम्म आवागमनमा रोक, हवाई सेवा पनि प्रभावित

काठमाण्डौं, १८ असोज ।
अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि काठमाडौ भित्रिने र बाहिरिने सडकमा आवागमनमा तीन दिनका लागि रोक लगाईएको   छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चट्याङ सहित अविरल वर्षा हुने भएपछि असोज १८ देखि २० गतेसम्म काठमाण्डौं जोड्ने मार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाएको हो ।

मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म पानी परिरहने अनुमान गरेको छ। अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेकोले यात्रा नगर्न सर्वसाधारणलाई सचेत गरिएको छ ।

त्यस्तै शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान बन्द गरिएको छ।

लगातारको झरीले उडान गर्ने अवस्था नभएपछि बिहानबाट अहिले १० बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको विमानस्थलले जनाएको छ।

१० वजेपछि मौसम हेरेर उडान सञ्चालनको अनुमती दिने वा नदिने निर्णय गरिने विमानस्थलले जनाएको छ ।

 

अस्पतालको शैयाबाट घाईते सिपाहीको प्रश्न– राष्ट्रले किन जीवनको अन्तिम संघर्षमा एक्लै छोड्यो ?

हरीश जोशी ।

म नेपाल प्रहरीको सिपाहीमा कार्यरत कर्मचारी हुँ । विगत २१ वर्ष देखि यो संस्थामा कार्यरत छु । जागिरको उत्तराद्र्धमा विभागीय सेवा सुविधाहरु कटौती हुदैछन् भन्ने थाहा पाउँदा समेत आर्थिक समस्या र प्रमोशन हुने प्रलोभनसंगै २०८२ साल ०५ महिना २३ र २४ गतेका दिन जेन-जीको आन्दोलनको क्रममा सख्त घाईते हुँदा मेरो शरिरको बाँया तर्फ प्यारालाईसिस भई लड्नु परेको छ ।

हाल प्यारालाईसिसको उपचारको क्रममा भारतको बरेली स्थित रहेको गाँधी अस्पतालमा डाक्टरको रोहबरमा मेरो उपचार भई रहेको छ । मेरो शरीरमा केही सुधारका संकेतहरु देखिएका छन्, जुन कुरा म र मेरो परिवारको खुसीको कुरा हो । सबैभन्दा पहिला संगठन र नेपाल सरकारलाई मेरो एउटा विनम्र कटु अनुरोध छ, म मरे पछि सलामी र हार्दिक श्रद्धाञ्जली नदिनु किन भने राष्ट्रमा भएको १० वर्षे जनयुद्ध होस वा १९ दिने जन आन्दोलन, जस्तो सुकै विषम परिस्थितिमा पनि म छाती थापेर राष्ट्रको लागि अग्र मोर्चामा हिँडेको योद्धा हूँ । जीवन मरणको युद्धमा राज्यले देखाएको मानवताको अनुपस्थितिले मलाई उत्तर दिइ सकेको छ । म मरे भने हार्दिक श्रद्धाञ्जली भनेर कुनै पत्रिकामा विज्ञापन नगरी दिनु होला, किन भने श्रद्धा र अञ्जली फरक–फरक शब्दहरू हुन् । यी शब्दहरुले विश्वास,आस्था,सम्मान र अर्पण गर्नु भन्ने बुझिन्छ । म जस्ता सयौ प्रहरीहरुको विश्वास टुटिसकेको छ । आस्था गुमी सकेको छ । मैले जिउँदो हुँदा सम्मान पाएन । त्यसैले हार्दिक श्रद्धाञ्जली अर्पण तथा शोक सलामी नदिनु होला ।

अँ साँच्ची भूकम्प पुनःनिर्माणमा धरहरा पुनःनिर्माणको लागि केही दिनको रकम काटिएको थियो । अहिले पनि देश त्यस्तै अवस्थामा छ । सयौं संरचनाहरु देशले गुमाउनु पर्यो । देशका मुनाहरु म जस्तै घाईते छन् । संरचनाहरु तत्काल पुनःनिर्माण हुँदैछन । फेरि पनि मेरो एक महिनाको तलब काट्नु होला । सामाजिक संजालहरुमा देख्दैछु, पाँच दिनको तलब भत्ता काट्ने अरे । निम्नस्तका  कर्मचारीबाट काटिएको तलबको पारदर्शी सदुपयोग होस । राष्ट्र तथा संस्थाले मलाई केही दिन सकेन भने हामीले दिनु पर्छ भनेर मैले तालिमहरुमा राम्रोसँग सिकेको छु । राष्ट्रका लागि यति गर्न सक्यो भने जीवनको उत्तराद्र्धमा मलाई राष्ट्र प्रति गर्व गर्ने ठाउँ हुनेछ । म संगठनको एउटा साधारण तर गर्विलो सिपाही हूँ ।

राष्ट्रको झण्डा मुठ्ठीमा बोकेर २१ वर्ष युवावस्थाको मेरो रगत, पसिना र जिन्दगी देशको सेवामा समर्पित गरें । हरेक कठिनाईहरुमा राष्ट्रलाई अगाडि राखें । परिवारलाई पछाडी । मेरो आफन्त लगायत ईष्ट, मित्रहरुलाई टाढा बनाए । संगठनका निमित्त उहाँहरुको आवश्यकता पूर्ति गर्न सकेन । स्वतः मबाट मेराहरु टाढा भए । तर पनि मेरो संगठनको विश्वासमा म बाँची रहे । राष्ट्र म, मेरा र आफन्त भन्दा ठूलो हो भन्ने कल्पनामा डुबी रहे । जीवनको उत्तराद्र्धमा जब भाग्यले मलाई ठगेर कठोर परीक्षा लियो । भाद्र महिनाको २३ र २४ गतेको दिन नाम समेत नसुनेको जेन जीको आन्दोलनमा परी घाईते हुँदा निर्दयी रोग प्यारालाईसिससंग मैले लड्नु परेको छ । यो अवस्थामा म जवानले भरोसा गरेको मेरो संस्था र मेरो सरकार सबै चुपचाप र गुमनाम छन् ।

म हतियार लिएर देशको रक्षार्थ दौडिएको त्यो २०६२ साल जेठ १६ गतेको दिन सम्झिदा अचेल समेत गर्व लाग्छ । तर राज्य र संगठनको लागि लड्दै गर्दा हाल घाईते भई उपचारका लागि करोडौं खर्च गर्नु परीरहेको छ , सोच्छु, त्यो गर्व साँच्चै गर्भबाट तुहिएको छ । पीडा महसुस हुन्छ । संगठनले म जवानको लागि “मानवता” नामको आधारभूत जिम्मेवारी समेत पुरा गर्न सकेन । संगठन र राज्यको यो सिपाही आफ्नै आमाबुबा, दाजुभाइ र नेपाली दिदी बहिनीहरूको भरमा चन्दा उठाएर उपचार गरिरहेको छ । यो कुनै व्यक्तिगत पीडा मात्र होइन । यो प्रश्न हो । राष्ट्रको लागि जीवन दिने सिपाहीलाई राष्ट्रले किन जीवनको अन्तिम संघर्षमा एक्लै छोड्यो ? यदि संगठन र राज्यको सिपाहीलाई पनि चन्दा उठाएर उपचार गर्नु पर्ने बाध्यता आउँछ भने जनताको अवस्था कस्तो होला ? आज म सरकार र संस्थासँग विनम्र तर दृढ स्वरमा आव्हान गर्छु । सिपाही मात्र होइन, कुनै पनि नागरिकले राष्ट्रको खातिर रोगसँग युद्धमा एक्लै लड्न नपरोस् ।

जिम्मेवारी लिएको संगठनका कर्मचारीहरुलाई मात्र नभई, जुनसुकै नागरिकको स्वास्थ्य र जीवन सुरक्षामा समान हुनु पर्छ तर मलाई मेरो राज्य र संगठन माथि अझै भरोसा छ । म विश्वास गर्छु । म संगठन र राज्यका लागि लड्दै गर्दा घाईते भई प्यारालाईसिस भएको सिपाही हूँ । म सिपाहीको पीडामा मात्र ५ मिनेट उभिएर मेरो प्रधान मन्त्री, गृह मन्त्री र आईजीपी सापले हेर्नुहुनेछ । यी पीडाहरूले तपाईहरुलाई २ मिनेटमै पोल्नेछ । तपाईहरु छट्पटिनु भयो भने हजारौंलाई न्यायपूर्ण नीति, सहयोग र मानवताको बाटो खुल्नेछ ।

आईजीपीसाब जय नेपाल । अन्त्यमा मेरो एउटा सुझाव छ । हुन त यो सुझाव मैले हजुर भन्दा पूर्व आईजीपी मेरो शिक्षक दीपक थापा समक्ष पठाएको थिए । पुग्यो पुगेन त्यो म यकिन गरेर भन्न सक्दिन । तर हजुरसम्म पुगी सकेको छ । म यहाँ सार्वजनिक गर्न जाँदैछु, जन्म र मृत्यु साश्वत सत्य हुन् । हो मान्छे जन्मन्छ रोग लाग्छ, यो सामान्य कुरा हो । नीति नियममा दिन मिल्ने ठाउँ छैन । त्यो मलाई पनि राम्रोसँग थाहा छ । तर यो नीति नियम कसले बनाएको हो ? यहाँ नीति नियम ठूलो कि, मानवतासंगै हुर्किएको एक सकल दर्जाको कर्मचारी ? संगठनमा कार्यरत ८० हजार हाराहारी सदस्यहरु हुनुहुन्छ । रोग लाग्यो खर्च करोडौंमा गयो । अब मसँग न टेक्ने जमीन छ । न समात्ने ठाउँ । मलाई थाह छ, दैनिक सयौं मानिस मर्दछन् । म मर्दा राष्ट्रलाई खासै असर पर्दैन । तर परिवारमा ठूलो बज्रपात हुन्छ । मेरो परिवार, श्रीमती, बालबच्चाको मेरुदण्ड भनेको म नै हुँ । नेपाल प्रहरीको प्रत्येक सदस्यबाट सामूहिक रूपमा स्वेच्छाले केही रकम संकलन गर्न सकिन्छ । प्रहरीको कुनै सदस्यलाई गम्भीर रोग लाग्यो र उपचार खर्च उसको क्षमता भन्दा माथि भयो भने सहायता कोष खडा गरेर दिन पनि सकिन्छ । बरु मलाई नदिए हुन्छ । तर म भन्दा पछाडि यसरी करोडौंमा खर्च गर्नुपर्ने अवस्था आएमा जो कोहीले पनि केही सहायता मानवताको नाताले संगठनबाट पाओस् भन्ने जाहेर गर्दछु । संगठनमा मानवताको नाताले मलाई सहयोग गरि दिनुस् भनेर बारम्बार जाँदा पनि संगठनले सक्दैन बाहिरै चन्दा उठाएर उपचार गर्नुस भन्ने जवाफ पाए । उल्टै भनियो, हामी सक्दैनौ, नीति नियममा पनि छैन् । नीति नियम परिवर्तन गर्न सकिदैन भन्ने जस्ता जवाफ दिनु मानवताको नाताले कतिको उचित हो ? म ठम्याउन सक्दिन । राष्ट्र र संस्थाप्रति म सदैव गर्व गर्दछु । तर मेरो एउटा पीडाले एउटा प्रश्न भने सधैँ उभ्याउनेछ ? राष्ट्रका लागि छाती थाप्न तयार एक योद्धाले किन अन्तिम अवस्थामा राष्ट्र र संस्थाको साथ र सहयोग पाउन सक्दैन भनेर ।

((समग्र सुरक्षाकर्मीको पीडालाई सम्बोधन गरी लेखिएको यो सामग्री सामाजिक सञ्जालबाट साभार गरेका हौ ।)

जनकपुरमा दुर्गा भवानीको मूर्ति बिसर्जनका क्रममा दुबै समुदायबीच झडप, कर्फ्यू जारी

जनकपुरधाम,१७ असोज ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुर्गा भवानीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएको छ । झडप र ढुंगाहानाहानका क्रममा केही व्यक्ति घाईते भएका छन् ।

दुर्गा भवानीको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीचको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

झडपपछि थप क्षति हुन नदिन स्थानीय प्रशासनले साँझ ६ः३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले झडपछि एक अर्काको घरमा आगजनीको प्रयास भएको बताए । झडपपछि एक समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ ।

भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो । यस पटक दुर्गा भवानीको मूर्ति बिसर्जनका क्रममा पुनः दुबै समुदायबीच झड भएको हो ।

अफ्रिकाको नाईजेरियामा नेपालीहरुले दशैंको टीका संयुक्त रुपमा लगाए

लेगोस, नाइजेरिया ।

अफ्रिकाको नाइजेरियामा बसोबास गरिरहेका नेपालीहरुले लेगोसमा दशैंको टीका संयुक्त रुपमा लगाएका छन् ।

लेगोसमा रहेका गैरआवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष हिक्मत थापा र मन थापाबाट उनीहरुले टीका जमरा ग्रहण गरेका हुन् ।

नेपालीहरुको मुख्य पर्व दशैं संयुक्त रुपमा प्रवासमा मनाउदा नेपालीबीच भातृत्व, प्रेम र एकता अनि नेपाल प्रतिको माया बढने विश्वाश गरिएको छ ।

दशैंको टीकाको दिन ज्येष्ठ नागरिक तथा अभिभावकबाट टीका ग्रहण गरेर आशिर्वाद लिईन्छ । नेपालीहरुले सोही संस्कृति अनुसार नेपाली अगुवा थापा दम्पत्तीबाट टीका ग्रहण गरेका हुन् ।

सोही अवसरमा नेपालीहरुले एक अर्कालाई टीका लगाए । थापा दम्पत्ती सहित नेपाली परिवारको हातबाट नाईजेरियाका नागरिकहरुले समेत टीका ग्रहण गरी दशैंलाई उत्सवका रुपमा मनाए ।

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

काठमाडौँ,१६ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दशैंको टीका नलगाउने भएकी छन्।

प्रधानमन्त्रीको सचिवालयले जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले आफूले पनि टीका नलगाउने र अरुलाई पनि टिका नलगाइदिने जनाएको छ।

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्री कार्कीले टीका नलगाउने र यसवर्ष टीका लगाउने कार्यक्रम समेत नरहेको जनाएका छन् ।

बिहान ११ : ५३ बजे दशैंको टीकाको उत्तम साईत

काठमाडौँ, १६ असोज ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले विभिन्न देशका लागि दशैंको टीकाका लागि शुभ साइत सार्वजनिक गरिएको जानकारी दिए ।

उनले तिथ्यादिको स्थानीयमान अनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको बताए ।

समितिले नेपालका लागि असोज १६ गते बिहान ११ : ५३ बजे दशैंको टीकाको उत्तम साईत रहेको जनाएको छ ।

  •  नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे,
  • दिल्ली,भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९,
  • न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ :२५,
  •  फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७,
  • वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ :०५,
  • टेक्सासका लागि अक्टोबार ११:३३,
  • वासिङ्गटन डिसीका लागि ११ :३५,
  • क्यालिफोर्नियाका लागि बिहान ११ :११,
  • कोलोराडोका लागि ११ :२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो।

यसैगरी,

  • टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ :५५,
  • भ्यानकुभरका लागि ११ :३३,
  • टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ :३१,
  • सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ :४३,
  • मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ :१९,
  • व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ :५३,
  • एडिलेटका लागि ११ :३५,
  • क्यानबेराका लागि ११ :५१,
  • तास्मानियाका लागि ११ :४५,
  • पर्थका लागि ११ :२५ र
  • डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ :४७ बजेको साइत शुभ रहेको छ।

यस्तै,

  • बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ :२३,
  • लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ :२३,
  • लण्डन बेलायतका लागि बिहान ०९ :१७,
  • पेरिस, फ्रान्सका लागि बिहान ०९ :५७,
  • नर्वेको ओस्लोका लागि बिहान १० :०३,
  • क्वालालम्पुर मलेसियाका लागि बिहान ११ :११,
  • अवुधावी युएइका लागि बिहान १० :५५,
  • दोहा कतारका लागि बिहान १० :१३,
  • बैंकक थाइल्याण्डका लागि बिहान १० :४५,
  • सियोल दक्षिण कोरियाका लागि बिहान १० :५७,
  • तेल अभिभ इजरायलका लागि बिहान ११ :३५,
  • सिङ्गापुरका लागि बिहान ११ :०९,
  • हङ्गकङ्गका लागि बिहान ११ :४५,
  • साउदी अरेबियाका लागि बिहान १० :५५,
  • याङ्गून म्यानमारका लागि बिहान १० :२७,
  • जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १० :२५ र
  • माल्टाका लागि बिहान १० :५५ बजेको साइत

 

दशैं, यस पटक तिमी नआउदा हुदैन ?

धुवाको मुस्लोले ढाकेको आकाश
अझै खुलेको छैन
गोलीले ढलेको छोरालाई
दागवत्ती दिएर ढलेकी आमा
अचेत छिन अझै
काजक्रिया सकियो
समवेदना दिनेहरु पातलिदै गए
रोकिएका छैनन्, अझै आँशुका बलिन्द्र धारा
आँशु पिएर कसरी लाउनु निधारमा टीका ?
दशैं, यस पटक तिमी नआउदा हुदैन ?

दागवत्ती दिएर फर्किएका बुवामा
अझै विश्वास जीवित छ अनौठौ
छोरा टुप्लुक्क आईपुग्नेछ, आगनमा
ओभाएका छैनन्, आमाका आँखा
दिदी र बहिनी कुरेर बसेकी छिन्
भाईको बाटो
यो अन्त्यहीन पीडा र पर्खाई
दशैं यस पटक तिमी नआउदा हुदैन ?

रगतले लतपतिएको बानेश्वर,
त्यो संसद भवन
आलै त्यो रगतको आहाल
अझै सलबलाईरहेका हत्याराहरु
अपहरणमा परेको आन्दोलनको उपलब्धी
बलिदानी व्यर्थ जाने पीर
लुछाचुडी भईरहेको शहिदको सपना

गोलीले छियाछिया पारेको छाति
दुखाई सहन नसकेर
नर्ससंग
वीषको सुई घोप्दिन आग्रह गर्ने घाईतेहरु
दुखाईमा
मल्हम बनेर नआएको तिमीलाई
मैले के भनेर मनाउ ?
दशैं, तिमी यस पटक नआउ है

बर्दी फुकालेर भीडले
लखेट्दा लखेट्दै
बाग्मतीमा हाम फालेर जोगिएको प्रहरी
कुन खुशी लिएर घर गयो होला ?
जुन छातिमा बहादुरीका तक्मा छैनन्
छन त,
आफ्नै दाजुभाईका बुटले बनाएका घाउहरु
कुन खुशीमा मनाउनु उत्सव
जहाँ आफ्नै भाईहरु मारिए
दशैं जहाँ तिमी आउनुको खुशी छैन
यस पटक तिमी नआउदा हुदैन ?

कसले जित्यो ?
कसले हा¥यो ?
को जल्यो ?
को ढल्यो ?
कसले कसलाई लखेट्यो ?
हिसाव छैन
न्याय म¥यो
निसाफ छैन
निसाफ हराएको बेला
तिमी नआउदा हुदैन दशैं ?

अनिदा रातहरु
अन्त्यहीन पीडाहरु
निदाउन बिर्सिएका आँखाहरु
मृत्यु बोकेर हिडेको समय
प्राणविहीन सपनाहरु
यो कस्तो समय लिएर आयौ
तिमी आयौ भनेर हास्नु कि रुनु ?
तिमी यस पटक नआउ है दशैं ?

मीन बहादुरको सम्पत्ती ठानेर
हजारौको रोजगारी लुट्ने ती लुटेराहरु
खुलेआम हिडिरहेको समयमा
ती जागीर गुमाएका दिदी बहिनीहरुले
कसरी मनाउनु दशैं ?
लुट्न पल्केकाहरु
फेरि अर्को वर्ष दशैं अघि
आउदैनन भन्ने छ र ?
निहु र नाम जे सुकै दिएपनि
लुटन पल्केकाहरुलाई
सरकारी छुट जो छ
संशय, सन्देह र त्रास बोकेर
तिमीलाई मनाउनु कसरी ?
दशैं यो पटक तिमी नआउदा हुदैन ?

गरीवका झुपडी र सास
बगाउन बाढी आउने देशमा
भ्रष्टाचार, कुशासन र मनपरी तन्त्र
पखालेर लैजाने बर्खा किन आउदैन ?
अधुरो छ, आन्दोलन
अधुरो छ, शहीदको सपना
हत्यारा र देश लुटेराहरुको
आसन फेरियो
भासन फेरिएन
सबैचिज अधुरो छ,
तिमी कसरी भरी हुन सक्छौ ?
तिमी भरी भएपछि आउनु
दशै, यो पटक तिमी नआउदा हुदैन ?

हमासले कब्जामा लिएको
छोरा खोज्दै
ईजरायल र अमेरिका भौतारिरहेकी
आमा र दिदीले
तिमी आयौ भनेर कसरी मनाउनु खुशी ?
छोरा आगनमा नआएपछि
तिमी आउनुको के खुशी ?
दशैं यस पटक तिमी नआउदा हुदैन ?

मुग्लानबाट
बसमा पहाड उक्लेकाहरु
टेक्नै नपाई आगनमा
मनाउन नपाउदै उत्सव
कहिले सेतीमा बगे
कहिले जोरायलमा खसे
किस्ता किस्तामा फर्किने
परदेशिएका दाजुभाई
पुग्नै नपाई आगनमा
अस्ताउछन बाटोमा
कहिले काली दुख्यो
कहिले कर्णाली
यसपटक देशै दुख्यो

आगो पैचो मागेर हुर्किएको समाजमा
हुल बाँधेर आएको छिमेकीले
घरमा आगो झोसेपछि
मनाएको बिजयोत्सव
निमेषमै खरानी पारिएको वर्षौको मिहिनेत
आफ्नै आगनमा शरणार्थी हुनुको पीडा
जोसंग रहेनन, अक्षताका लागि चामल
के ले भर्नु निधार ?
भन त दशैं
तिमीलाई खानु कि लाउनु ?
तिमी नआउदा हुदैन यस पटक ?

आहा ! त्यो दशैं
त्यो मच्चिने रोटे पिङ
भूई छोड्न
पालो पर्खिरहेका मान्छेहरु
त्यो रामलीलाको रमाईलो
लंगुर बुर्जा र खड्खडेमा झुम्मिएका
युवाहरु
जहाँ हार्नुको पीडा छैन
परदेशबाट
घरदेश फर्किएकाहरुको
अभूतपूर्व जमघट
किम्बदन्ती झै लाग्ने रौनक
त्यो रमाईलो
अनि त्यो दशैं ।
तिमी यस पटक तिमी जस्तै भएनौ
हो दशैं, तिमी दशैं जस्तै भएनौ ।
त्यसैले यसपटक
तिमी नआउनु है दशै ।

(सम्पूर्ण शहीदहरुमा समर्पित)

वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं १५ असोज । वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत मंगलबार भएको तेस्रो खेल वेस्टइन्डिजले १० विकेटले जितेको छ । १२३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज १२.२ ओभरमा विजयी भएको हो ।

वेस्टइन्डिजका लागि ‌ओपनरद्वय अमिर ज‌ंगोले ४५ बलमा ६ छक्का र ५ चौकासहित ७४ रन र अकिम अगस्टेले २९ बलमा २ छक्का र ४ चौकासहित ४१ रन बनाएपछि वेस्टइन्डिजले १० विकेटको सहज जित निकालेको हो ।

यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो। नेपालका लागि कुशल भूर्तेलले ३९, कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका रामोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए। जेडाया ब्लेड्सको दुई तथा अकिल हुसैन र जेसन होल्डरका नाममा समान एक/एक विकेट रह्यो।

नेपालले सोमबार भएको दोस्रो खेलमा ९० रनले र शनिबार भएको पहिलो खेलमा दुई पटकको ट्वान्टी–२० विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको थियो । यससँगै नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ टुंग्याएको छ ।

 

नवरात्रको अन्तिम दिनः महानवमी पर्व मनाइँदै

काठमाडौं १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

तीन दिन देशभर वर्षा हुने

काठमाडौं १५ असोज । दसैँकाे टीकाकाे भाेलिपल्ट अर्थात् एकादशीदेखि तीन दिन देशभर वर्षा हुने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाले याे अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताएकाे हाे।

महाशाखाका अनुसार  बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यूनचापीय प्रणालीको कारणले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी)का दिनबाट मनसुन सक्रिय हुने भएकाे हाे।

असोज १७ (एकादशी): कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। साथै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १८ (द्वादशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै,  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १९ (त्रयोदशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।

दसैँकाे टीकाकाे दिन अर्थात् १६ असाेजसम्म मनसुनी वायुको  प्रभाव रहने अनुमान यसअघि नै सार्वजनिक भएकाे थियाे। तर, दसैँको अन्तमा मनसुन सक्रियसमेत हुने सम्भावना रहेकोले सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरोको साथै  सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेकाे छ।

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं १४ असोज। नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ ।

नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म देवीको पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठहरुमा आज पनि भक्तजनको घुइँचो छ ।

नवरात्रको सातौं दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि सुरु हुने भएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादशैंको विशेष रौनक पनि सुरु भएको छ ।

 

गाजामा युद्धविराम गर्न सहमत

काठमाडौं १४ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् ।

दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन् ।

ट्रम्पले भने, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।’

लगत्तै नेतान्याहूले थपे, ‘गाजामा शान्तिपूर्ण प्रशासन हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ। सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि यो कार्य सम्पन्न हुनेछ, हमासले मानेन भने इजरायल आफैं पूरा गर्नेछ।’

उता, हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारेको छ । प्यालेस्टिनी सरकारले भने ट्रम्पको योजनाको स्वागत गरेको छ ।

ट्रम्पको गाजा युद्धविराम योजनामा के छ?

पत्रकार सम्मेलनमा ट्रम्पले दिएको जानकारीअनुसार, योजनामा गाजामा युद्ध रोक्ने, सबै बन्दीलाई छोड्ने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव छ ।

यस बोर्डको अध्यक्षता ट्रम्प स्वयं गर्नेछन्, जसमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरसहित अन्य देशका प्रतिनिधि रहनेछन् ।

वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालले यूएईस्थित शारजाह क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पहिलो खेलमा जित हासिल गरेको नेपालले आजको खेल जिते सिरिज हात पार्नेछ ।

आज दशैंको फूलपाती भित्राइँदै

काठमाडौं १३ असोज ।  बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ ।

‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भने ।

फूलपाती भित्राउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

हनुमानढोकामा यस वर्षको फूलपाती अपराह्न भित्राइने कार्यक्रम छ । फूलपाती लिन शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जीवनपुरबाट स्वयम्भू हुँदै राजधानीबाट गएको समूहले फूलपाती ल्याउने छ । त्यस क्रममा स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरिन्छ । स्वयम्भूबाट जमलको दशैंघरमा फूलपाती आइपुग्ने छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्राइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

दल दर्ताका लागि १३ नयाँ पार्टीले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं १३ असोज । २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि नयाँ–नयाँ पार्टी खोल्ने क्रम सुरु भएको छ । जेन–जी आन्दोलनअघि उपनिर्वाचनको मिति घोषणा भएयता १३ नयाँ पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसमध्ये धरानका मेयर हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी (श्रसंपा) एउटा हो ।

आफ्नै नेतृत्वमा श्रसंपा खोलेका साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले १६ भदौमै पार्टी गठन गरेका थिए । ३१ भदौमा पार्टीको केन्द्रीय समितिबाट निर्णय गराएर दल दर्ताका लागि ७ असोजमा निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनले पार्टीको केन्द्रीय समिति २३ सदस्यीय बनाएका छन् । केन्द्रीय कार्यालय काठमाडौंको सुकेधारामा तोकिएकामा सात प्रदेश कार्यालय विराटनगर, जनकपुर, हेटौँडा, कास्की, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा तोकिएको छ ।

केन्द्रीय समितिले दल दर्ताका लागि गरेको निर्णयको प्रतिलिपि, दलको विधान, घोषणापत्र, झन्डा, चिह्न (लोगो)को नमुना, कम्तीमा पाँच सय नेपाली मतदाताले दलको सदस्यता प्राप्त गरेको प्रतिबद्धतासहित निजहरूले अर्काे दलको सदस्य नभएको भनी गरेको उद्घोषणपत्र, दलको सदस्यता प्राप्त गर्न प्रतिबद्धता व्यक्त गर्ने नेपाली मतदाताको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि बुझाएका छन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन आएको पुष्टि गरे । ‘हर्कराज राई साम्पाङ अध्यक्ष रहने गरी दल दर्ताका लागि निवेदन आएको छ । हामी अध्ययन गर्दै छौँ । कानुनअनुसार दल दर्ताका लागि सबै रित पु¥याएको अवस्थामा दल दर्ता हुन्छ,’ उनले भने ।

टिकटकर आँचलले आत्मदाह गरेको प्रहरीको निष्कर्ष, दुरुत्साहनमा एक युवक पक्राउ

काठमाडौं । टिकटकर आँचल नाथको मृत्यु प्रकरणमा प्रहरीले उनका प्रेमी भनिएका युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार जलेको अवस्थामा भेटिएकी आँचलको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।

जडिबुटीस्थित एक गाडी मर्मत गर्ने ग्यारेजमा अपराह्न ४ बजेको समयमा आँचलको शरीरमा आगो लागेको थियो । प्रहरीले उनले आत्मदाह गरेको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनले आत्मदाह गरेको भन्ने ठहरमा पुग्ने भिडियो फुटेज सुरक्षित छ । तर, उनलाई सो ग्यारेजसम्म पुर्याउने काम कसले र कुन उद्देश्यले गर्यो भन्ने कुराको अनुसन्धान हुने भट्टराईले बताए ।

अनुसन्धानकै क्रममा उनको प्रेमी भनी प्रचारित एक युवकलाई नियन्त्रणमा लिइएको एसपी भट्टराईले बताए । ती युवकविरुद्ध आँचलका परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन् ।

शरीरमा आगो लगाएलगत्तै प्रत्यक्षदर्शीले उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगेका थिए । आँचल पुरानो सिनामंगल (पेप्सीकोला) मा डेरा गरी बस्थिन् । उनको परिवारका एक सदस्यका अनुसार डेरासँगै बस्ने एक छिमेकी महिलासँग पछिल्ला केही दिनमा भनाभन चलिरहेको थियो । उनै महिला सञ्चालक रहेको ग्यारेजमा आगलागीमा परेका कारण आफन्तले उनीमाथि शंका गरेका छन् । सोही शंकाका आधारमा प्रहरीले केही महिलालाई नियन्त्रणमा लिएको थियो । तर, पुरुषका नाममा परिवारको सदस्यले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएपछि प्रेमी भनिएका युवकलाई पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

केही समयदेखि आँचलले आफ्नो टिकटकमा निराशाजनक पोस्ट गरिरहेकी थिइन् । उनले चार दिनअघि मात्र लेखेकी थिइन्, ‘मेरो त हरेक चिजदेखि मन मरिसक्यो । थाहा छैन अब कुन दिन यो शरीर पनि मर्छ ।’

कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका–२ की स्थायी बासिन्दा आँचलको उमेर २२ वर्ष पुगेको थियो । वैदेशिक अध्ययनका क्रममा युरोप जाने तयारीमा रहेकी उनको भिसा लागिसकेको पारिवारिक स्रोतले जनाएको छ । आँचलको वैवाहिक स्थितिका बारेमा विभिन्न टिकाटिप्पणीहरु भइरहे पनि प्रहरीले भने उनी अविवाहित रहेको बताएको छ ।

एउटा महोत्सवमा सांगीतिक प्रस्तुतिका क्रममा दर्शक दिर्घामा रहेकी आँचल ग्वाँग्वाँ रोएको भिडिओ/फोटो भाइरुल भएको थियो । टिकटकमा उनका १ लाख २० हजार फलोअर्स छन् ।

जेनजीको नाममा भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमा मागेपछि निजी क्षेत्रले गुहार्‍यो सरकार

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै  गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ ।

आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा  सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।

उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।

विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा भोटेकोशी गाउँपालिका जेनजी समूहका नाममा १० प्रतिशत शेयर निःशुल्क लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत् गृह बन्द छ भने यही कारण दैनिक करिब रु ९८ लाखसहित हालम्म रु १६ करोडभन्दा बढी गुमाउनु परेको उल्लेख छ ।

विद्युत् गृह बन्द गरेपछि पनि दैनिक रुपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनका लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत् आयोजनासँग निःशुल्क सेयर मागेर सम्बन्धित आयोजनाहरुमा पत्र पठाइएको तथा अन्य अन्य क्षेत्रहरुमा समेत विभिन्न माग राखेर आयोजनाहरुमा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनाहरुमा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ ।

आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित पनि बनाउने उल्लेख गरिएको छ ।

हर्कको दलको नाम ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए निवेदन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्।

‘हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको छ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिँदै भने, ‘दर्ता चाहिँ भइसकेको छैन। आयोग जाँचबुझ प्रक्रियामै छ।’

साम्पाङ आफैले दल खोलेर जाने यसअघि नै सार्वजनिक गर्दै आएका छन्। तर, निर्वाचन आयोगको दर्ता प्रक्रियामा गएको कुरा भने खुलाएका छैनन्। निर्वाचन आयोगका अनुसार असोज ७ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको छ।

‘रित पुगेर आएको दल दर्ता गर्नै पर्छ। अहिले दसैं बिदा सुरु हुन लाग्यो। रित पुगेर आएको भए दसैंलगत्तै दर्ता हुनसक्छ,’ आयोगका सूचना अधिकारी घिमिरेले भने।

दसैँ बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

काठमाडौँ, १२ असोजः दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ ।

निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो खुला रहनेछन् । दसैँका समयमा सवारी साधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढी हुने गरेको छ ।

खोज्नुहोस