निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । यसका लागि आयोगले यसअघि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने देखि स्थानीय तहमा निर्वाचित भएका सबै दलहरुलाई पत्राचार गरेको छ ।

प्रवक्ता भट्टराईले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशील रहेको उल्लेख गर्दै विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा रहेको बताएका छन् ।

आयोगले यसअघि सोमबार फागुन २१ गतेको निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको थियो । स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्नेछ । कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहनेले  कात्तिक ३० अघि नै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।

बालेन र सुदनविरुद्ध कैलालीमा पनि उजुरी

धनगढी : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र (बालेन) शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएको छ ।

जेन-जी आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेकोले शाह र गुरुङविरुद्ध किटानी जाहेरी दिएको अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले जाहेरी बुझेको तर दर्ता भने हुन बाँकी रहेको बताए । ‘केन्द्रको निर्देशनअनुसार गर्छौं,’ उनले भने ।

नेप्सेमा ४५ अंकको गिरावट, ५ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा बुधबार पनि उच्च अंकको गिरावट आएको छ ।

बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा खुम्चिएको थियो ।

बुधबार नेप्सेमा कुल ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार भने साढे ४ अर्ब माथिको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

घुस डिल अडिओ प्रकरणमा पूर्वमन्त्री गुप्ता र श्रेष्ठविरूद्ध मुद्दा लिएर अदालत गयो अख्तियार

काठमाडौं । घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरूद्ध अख्तियारले मुद्दा दर्ता गर्ने भएको छ।  बुधबार उनीहरूविरूद्धको मुद्दा लिएर अख्तियारको टोली विशेष अदालत पुगेको हो।

विशेष अदालतमा मुद्दा दर्ता हुने प्रक्रियामै रहेको अख्तियारका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

‘फाइल पठाइएको छ। थप जानकारी केही बेरमा आउँछ,’ ती अधिकारीले भने।

विशेष अदालत स्रोतले पनि पूर्वमन्त्रीसहित ७र८ जना विरूद्ध मुद्दा आएको जनाएको छ।

त्यसलाई हेर्ने र बुझ्ने काम भइरहेको अदालतको स्रोतले सेतोपाटीलाई जानकारी दिए।

गत असारमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले घुस डिल गरेको अडिओ सार्वजनिक भएको थियो।

त्यतिबेला भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न मन्त्री गुप्ताले ५३ लाख घुस लेनदेनसम्बन्धी ुडिल गरेकोु अडिओ सार्वजनिक भएको थियो।

चौतर्फी आलोचना भएपछि उनले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यतिबेलाका भूमी, व्यवस्था तथा सहकारी मन्त्री रहेका बलराम अधिकारी पनि सो प्रकरणमा मुछिएका थिए।

उनीविरूद् भने मुद्दा लगेको वा नलगेको भन्ने खुलेको छैन।

पोखराको लिची बँगैचा जग्गा प्रकरणमा मुछिएपछि नाउपाको केन्द्रीय समितिले तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरी अध्यक्षबाट हटाएको थियो।

सुदूरपश्चिममा दशैँको अवधिमा सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा दसैँको अवधिभर भएका सवारी दुर्घटनाबाट आठ जनाको मृत्यु भएको छ। प्रदेशमा दशैँको समयमा एक सय २२ जना घाइते भएका छन्।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सबैभन्दा धेरै कैलाली र कञ्चनपुरमा २१÷२१ वटा सवारीसाधन दुर्घटनामा परेको तथ्याङ्क छ। कैलालीमा चार जनाको मृत्यु हुँदा ५४ जना घाइते भएका छन् भने कञ्चनपुरमा दुई जनाको मृत्यु भने ३७ घाइते भएका छन्।

बैतडीमा पाँच वटा सवारीसाधन दुर्घटना एकको मृत्यु भएको छ। बैतडीमा १४ जना घाइते भएका छन्। दार्चुलामा एकको मृत्यु र १० जना घाइते, डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटनामा ७ जना घाइते भएका ट्राफिक प्रहरीले बताएको छ।

दसैँको बेला डोटी, बाजुरा, अछाम र बझाङमा भने सवारीसाधन दुर्घटना नभएको पाइएको छ।

सगरमाथा नजिकै फसेका एक हजार पर्वतारोहीको सकुशल उद्धार

एजेन्सी : विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ ।

हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए ।

तर सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए ।

राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पुर्‍याएका छन् ।

सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ । यद्यपि अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ ।

छिमेकी किङ्घाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्यु भएको राज्य मिडियाले सोमबार पुष्टि गरेको छ ।

यसैबीच, नेपाल र भारतको सिमानामा भारी वर्षाले निम्त्याएको बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मीहरूले दुर्गम पहाडी बस्तीहरूमा पुग्न अहिलेसम्म पनि कठिनाइ भोगिरहेका छन् ।

सरकारलाई महेश बस्नेतको चुनौती: हिम्मत भए केपी ओलीलाई पक्राउ गरेर देखाऊ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेर देखाउन चुनौती दिएको छ। पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर आफू र केपी ओलीलाई समातेर देखाउन चुनौती दिए ।

उनले सरकारलाई चुनौती दिँदै भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रा बाको हिम्मत छ भनेर समातेर देखाऊ । यो धर्तीमा केपी ओली, एमाले र महेश बस्नेत जिउँदै छ ।’

उनले केपी ओली राष्ट्रियताको पक्षमा, भ्रष्टाचारविरुद्ध लागेकै भएकाले विदेशी षड्यन्त्र भएको जिकिर गरे ।

महेश बस्नेतसँग साइबर ब्युरोले लियो बयान

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतसँग बयान लिएको छ ।

साइबर क्राइमको आरोप लागेका बस्नेत बुधबार बिहान आफैं ब्युरोमा बयानका लागि हाजिर भएका थिए । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बस्नेत आफैं ब्युरोमा पुगेर बयान दिएका हुन् ।

मंगलबार मात्रै प्रहरीको केन्द्रीय साइबर ब्युरोले बस्नेतलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियाे तर अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भन्दै पक्राउ अनुमति दिन अस्वीकार गरेको थियाे । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सरकारी वकिल कार्यालयको निर्देशन अनुसार थप प्रमाण बुझेर मात्र पेस गर्न आदेश गरेको हाे ।

शोभा पाठकले दर्ता गरेको विद्युतीय कारोबार ऐन अन्तर्गतको जाहेरी यसअघि ब्यूरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो । जेनजी प्रदर्शनपछि बस्नेतले पीडितलाई सङ्केत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्यूरोलाई निर्देशन दिएको थियो ।

 

 

 

बाढीपहिरोबाट क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न झण्डै साढे १२ अर्ब लाग्ने अनुमान

काठमाडौं । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न झण्डै साढे १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताए । यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहित जनशक्ति परिचालन गरिएको उनले बताए ।

हालैको बाढीबाट मेची राजमार्गमा अधिक क्षति भएको छ । यो राजमार्गको पुनर्निर्माणका लागि एक अर्ब ५० करोड आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसैगरी, क्षतिग्रस्त कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायत राजमार्ग पुनःनिर्माण गर्न तीन अर्ब ७७ करोड लाग्ने सरकारको अनुमान छ ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार क्षति भएका १७ वटा  पुल पुनर्निर्माण गर्न चार अर्ब ५२ करोड, बेलिब्रिज जडान गर्न ८० करोड तथा वैकल्पिक सडक मर्मतसम्भार गर्न एक अर्ब ५९ करोड लाग्ने अनुमान सरकारले गरेको छ ।

सुनको मुल्यमा ऐतिहासिक उछाल

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले आज फेरि ऐतिहासिक कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको हो।

यो मूल्य नेपाली सुन बजारको इतिहासमै सबैभन्दा उच्च हो। यसअघि मंगलबार मात्रै सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भई कीर्तिमान बनाएको थियो। तर, २४ घण्टा नबित्दै उक्त कीर्तिमान तोडिएको हो।

सुनको मूल्य आकाशिए पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

 

 

ओली–लेखकविरुद्ध प्रहरीले जाहेरी लियो, बालेन–सुदनविरुद्ध के गर्ला ?

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका सुदन गुरुङविरुद्ध किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् ।

उनीहरूले बालेन र सुदनविरुद्ध सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्‍याएको र प्रहरीको हत्या गरेको आरोपमा किटानी जाहेरी दिन खोजेका छन् । प्रहरीले जाहेरी दर्ता गर्छ कि गर्दैन भन्ने चासोको विषय बनेको छ ।

यसैबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी भने प्रहरीले लिएको छ । आज प्रहरीले जाहेरी बुझ्दै जाँचबुझ आयोगलाई दिने भनेको छ ।

ओली र लेखकविरुद्ध उजुरी लिएपछि प्रहरीले कार्की आयोगमा बुझाउने

काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेन-जी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी प्रहरीले लिने भएको छ । सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिने भएको हो ।

तर, प्रहरीले तत्काल जाहेरी दर्ता भने नगर्ने एक उच्च प्रहरी अधिकृतले  बताए । ‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले समेत छानबिन गरिरहेकाले तत्काल जाहेरी दर्ता गरेर अनुसन्धान अघि नबढाउने भन्ने भयो,’ ती अधिकृतले भने, ‘यद्यपि जाहेरी प्रहरीले लिएर कार्की नेतृत्वको आयोगलाई जिम्मा लगाउने भन्ने निर्णयमा पुगेका छौं ।’

जेन-जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए । ‘जाहेरी आउँदैपिच्छे दर्ता गर्दै जाने हो भने भोलि काठमाडौंका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी आउला । त्यस्तो अवस्थामा के गर्ने ?,’ एक सुरक्षा प्रमुखले बैठकमा भनेका थिए, ‘विगतमा उहाँले सिंहदरबार जलाउने भन्दै स्ट्याटस लेखेकाले त्यही उद्धृत गर्दै जाहेरी आए त्यो पनि दर्ता गर्नुपर्ने अवस्था आउनसक्छ ।’

नेपाली सेनाले समेत परिस्थिति जटिल रहेको भन्दै संयमतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएको थियो । पछि प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ‘कानुनी फ्रेमवर्कभित्रै रहेर निर्णय लिइने’ बताएको स्रोतको भनाइ छ । त्यसपछि उत्पन्न परिस्थितिमा प्रहरी जाहेरी लिन त तयार भएको छ । तर, दर्ता नगरी आयोगमा बुझाउने निर्णय भएको स्रोतले बतायो ।

उनीहरूले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत जाहेरीमा विपक्षीका रूपमा उल्लेख गरेका थिए । ‘आदेश दिने कर्मचारीलाई त्यसरी कारबाही गर्दै जाने हो भने भोलि प्रहरी र कर्मचारीको मनोबल के हुन्छ ? सरकारले कसरी काम गर्छ भन्ने कुरा पनि राख्यौं,’ छलफलमा सहभागी एक अधिकारीले भने ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सोमबार साँझ ६ बजेदेखि नै गृह मन्त्रालयमा छलफलमा थिए । राति १० बजेतिर गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित सुरक्षा प्रमुखहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । त्यहाँ प्रधानसेनापति अशोकराज सिग्देल पनि थिए । पछि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई समेत बोलाइएको थियो ।

मंगलबार जेन–जीको एउटा समूहले अख्तियार दुरुपयोग अनुसन्धानत आयोगको टंगालस्थित कार्यालय पुगेर प्रमुख आयुक्त राईलाई राजीनामा दिन भन्दै दबाब पत्र बुझाएका थिए । ‘जेन–जी मुभमेन्ट अलायन्स’ नाममा बुझाइएको पत्रमा अख्तियारका सबै आयुक्तको सार्वजनिक सुनुवाइ गरी आवश्यक परे पदमुक्त गर्नुपर्ने भनिएको छ ।

२३ भदौमा भएको जेन–जी आन्दोलनमा राज्यपक्षले दमन गर्दा एकैदिन २१ जनाले ज्यान गुमाएका थिए । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेन–जीमाथि घातक हतियारबाट २६ सयभन्दा बढी गोली हानिएपछि भोलिपल्ट आक्रोश झन् बढेको थियो ।

राज्यपक्षबाट भएको दमनमा दुई दिनमा ७५ जनाको मृत्यु भएको थियो । २४ भदौमा प्रदर्शनकारीले संसद् भवन घेरेपछि सुरक्षा निकायको समेत दबाबका बीच तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए ।

बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले बताए । ‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौं,’ उनले भने ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

असोज ३० गते राजनीतिक दलसँग छलफल गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा निर्वाचनका विषयमा राजनीतिक दलसँग परामर्शको तयारी गरेको छ । यही असोज ३० गते छलफलका निम्ति दलहरूलाई बोलाउन लागिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

“असोज ३० गते दलहरूसँग परामर्श गर्छौं । त्यसका लागि आजै पत्र काट्ने तयारी भइरहेको छ,” उनले भने, “निर्वाचन कार्यतालिकासहित समग्रम विषयमा छलफल हुनेछ ।”

दलले तोकेका सम्पर्क व्यक्तिसँगको परामर्शमा नै बैठक बोलाउन लागिएको उनले बताए । “दलका तर्फबाट सम्पर्क व्यक्तिहरूको नाम दिनुभएको छ । उहाँसँग सल्लाह गरेर बैठक बोलाउन लागिएको हो,” उनले भने ।

बैठक बिहान ११:३० बजेका निम्ति बोलाउने तयारी छ । “आयोगमा दर्ता भएका सबै दललाई त पत्र काट्ने तयारी छैन, तर निर्वाचनका लागि दर्ता भएर एउटा वडाको वडा सदस्य जितेका दललाई समेत छलफलमा सामेल गराउँछौँ,” उनले भने ।

निर्वाचनका निम्ति आयोगले सोमबार (असोज २०) कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका सार्वजनिक भइसक्दा पनि छलफल नगरिएकामा राजनीतिक दलका नेताले असन्तुष्टि प्रकट गरिरहेका छन् ।

“हप्ताको एकपटक वा महिनको दुईपटक निर्वाचनको विषयमा छलफल गर्छौं,” भण्डारीले भने ।

मंगलबार (असोज २१) प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका विषयमा सुरक्षा निकायसहित आयोगका पदाधिकारीसँग छलफल गर्दै छिन् ।

प्रधानमन्त्री कार्कीले दिइन् पाकिस्तानका प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पाकिस्तान सरकार र त्यहाँको जनताको सहयोग आवश्यक रहेको बताएकी छन् ।

पाकिस्तानका समकक्षी शेहवाज सरिफले नेपालमा आएको बाढी र त्यसबाट भएको क्षतिप्रति दुःख र संवेदना प्रकट गरेपछि प्रधानमन्त्री कार्कीले धन्यवाद दिँदै उक्त कुरा बताएकी हुन् ।

कार्कीले बाढी र पहिरोको यो कठिन समयमा पाकिस्तान सरकार र त्यहाँको जनताबाट प्राप्त सहयोग सद्भावप्रति पनि धन्यवाद व्यक्त गरिन् ।

सरिफले हिजो आफ्नो आधिकरिक एक्सबाट नेपालमा बाढी र पहिरोबाट भएको मृत्यु र व्यापक क्षतिप्रति दुःख व्यक्त गरेका थिए । यो कठिन क्षणहरूमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र जनताको साथमा रहेको उल्लेख गरेका थिए ।

लाङटाङ क्षेत्रमा अलपत्र १२ पदयात्रीको उद्दार

काठमाडौं । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेको छ।

पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो।

सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन्।

जेनजीका गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था मजबुत पारियो

काठमाडौं । ‘जेनजी’का गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज र जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्ने शीर्ष नेतालाई पक्राउ गर्न चौतर्फी दबाब बढाउन थालेपछि काठमाडौंका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयमा प्रहरीको संख्या बढाइएको हो।

जेनजी युवाले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्।

जेनजीको एक समूहले मंगलबार (असोज २१) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तको राजीनामाको माग गर्दै औपचारिक रूपमा निवेदन समेत दर्ता गराएको छ।

ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमबार (असोज २०) साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखसँग छलफल गरेकी थिइन्। यद्यपि, प्रहरीले लिखित निर्देशन माग गर्दै जाहेरी लिन नमानेको बताइएको छ।

इन्दु बर्मा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी

काठमाडौँ  : नेपालकी कप्तान इन्दु बर्मा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मलेसियासँगको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा मंगलबार १५ रन बनाएसँगै इन्दुले यो कीर्तिमान हासिल गरेकी हुन् ।

इन्दुले ७७औँ खेलमा १ हजार रनको उपलब्धि पूरा गरिन् । उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करियरमा अहिलेसम्म एउटा मात्रै अर्धशतक रहेको छ, जुन उनले सन् २०२१ मा कतारविरुद्ध दोहामा ५५ रन बनाउँदै गरेकी थिइन् । उनले हालसम्म ७३ चौका र ३ छक्का प्रहार गरिसकेकी छन् ।

नेपालका लागि महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा इन्दु अब शीर्ष स्थानमा पुगेकी छन् । यसअघि सीता रानामगरले ६२ खेलमा ९६५ रन र रुविना क्षेत्रीले ७८ खेलमा ९१६ रन बनाइसकेकी छन् । पछिल्ला दुई खेलमा सीता प्लेइङ ११ मा परेकी छैनन् ।

रुविना र सीतापछि इन्दु नेपाली महिला टोलीकी सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले सन् २०११ देखि राष्ट्रिय टोलीमा खेल्दै आएकी हुन् । तर नेपालले सन् २०१९ देखि मात्र महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न थालेको हो, त्यसैले उनको यो उपलब्धि पछिल्ला ६ वर्षको प्रदर्शनमा आधारित हो ।

२०१० मा सिंगापुरमा भएको एसीसी यू–१९ कप इन्दुको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । आजको जितसँगै नेपालले सिरिजमा २-२ को रोमाञ्चक बराबरी गरेको छ।

अख्तियार प्रमुख राईमाथि जेनजी समूहका ३ आरोप– वाइडबडी, नक्कली शरणार्थी र निगमको जग्गा घोटाला

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै जेनजी समूहले ३ आरोप लगाएको छ । राईको राजीनामा माग गर्दै मंगलवार अख्तियारमा दबाब पत्र दर्ता गराएपछि जेनजी समूहले सार्वजनिक गरेको वक्तव्यमा राईमाथि नक्कली शरणार्थी प्रकरणसहित ३ आरोप लगाइएको हो ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको प्रत्यक्ष र परोक्ष संलग्नता रहेको जेनजी समूहको वक्तव्यमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउन गएका जेनजी अगुवा रिजन राना मगरले ३ प्रकरणमा राईको प्रत्यक्ष र नियामकीय संलग्नता रहेको आफूहरूको निष्कर्ष रहेको बताए । वाइडबडी विमान खरिदको प्रक्रिया शुरू गर्ने बेला राई पर्यटन मन्त्रालयको सचिव थिए । विशेष अदालतले वाइडबडी घोटालाको फैसला गर्दा राईमाथि ‘चयनात्मक अभियोजन’ गरेको भन्दै नैतिक प्रश्न उठाएको थियो । राईको निष्पक्षतामा पहिलैदेखि प्रश्न उठिरहेको जेनजी समूहको वक्तव्यमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको बेला राई गृहसचिव थिए । महाभियोग लगाएर हटाउन संसद् नरहेकाले प्रमुख आयुक्त राईसहित आयुक्तहरूको राजीनामा अति आवश्यक रहेको जेनजी समूहको वक्तव्यमा उल्लेख छ ।

दबाबपत्र दर्ता गराएपछि जेनजी नेतृ वनिकाले नैतिकताको आधारमा राईले राजीनामा दिने विश्वास गर्दै नदिए थप कार्यक्रम घोषणा गर्ने बताइन् । जेनजी समूहको वक्तव्यमा राजीनामा नगरे आवश्यकता अनुसार अन्य कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको ट्रम्पको दावी

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा  राष्ट्रपति ट्रम्पले शुल्क र व्यापारको सहयोगमा भारत र पाकिस्तानबीच द्वन्द्व रोकिएको बताएका हुन्।

यद्दपि भारतले भने उनको दावीलाई अस्वीकार गर्दै भारत र पाकिस्तान बीचको मुद्दा द्विपक्षीय भएको बताएको छ।  पत्रकारहरूले उनलाई के तपाईं शुल्कमा आफ्नो अडान परिवर्तन गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए।  त्यसको जवाफमा ट्रम्पले भनेका थिए ,’यदि मसँग कर लगाउने शक्ति नभएको भए, सातमध्ये कम्तिमा चार युद्ध भइरहेका हुन्थे। मैले युद्ध रोक्नको लागि कर प्रयोग गरें।’

अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको द्वन्द्वबारेमा पनि प्रतिक्रिया दिएका थिए। ‘यदि हामीले भारत र पाकिस्तानलाई हेर्‍यौं भने  तिनीहरू यो (युद्ध) को लागि तयार थिए। सात लडाकु विमानहरू खसालिएका थिए। तिनीहरू यसको लागि तयार थिए र तिनीहरू आणविक शक्ति हुन्,’ उनले भने,’ मैले  भनेको सबै कुरा धेरै प्रभावकारी थियो। मैले भनेको सबै कुरा कर र व्यापारको बारेमा थियो।’

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा आज (मङ्गलबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार सुन तोलामा २ हजार तीन सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँ कायम थियो ।

यता, महासंघका अनुसार मङ्गलबार चाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही कायम छ ।

राजीनामा माग गर्दै अख्तियार प्रमुख राईलाई जेन-जीको दबाबपत्र

काठमाडौँ : संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थानहरूमा फैलिएको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य हुनुपर्ने मागसहिन जेन-जीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरुको राजीनामा माग गरेको छ ।

आज अख्तियार कार्यालय टंगाल पुगेको जेन-जी समूहले प्रमुख आयुक्त राईलाई दबाबपत्र बुझाएको छ । जेनजी मुभमेन्ट अलायन्सले बुझाएको पत्रमा अख्तियारका सबै आयुक्तको सार्वजनिक सुनुवाइ गरी आवश्यक परे पदमुक्त गर्नुपर्नेसहित माग राखेको छ ।

राजनीतिक दल तथा प्रशासनिक क्षेत्रमा लागेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचार ठहर भए सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने पनि माग राखिएको छ ।यस्तै, आयोगले ९० दिनभित्र नेपालका सबै संसदीय दलका प्रमुख, पूर्व मन्त्रिपरिषद्का सदस्य, पूर्व प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, संघीय संसद्का अध्यक्ष, सभामुख, सर्वोच्च अदालतका न्यायाधीश, सबै सचिव, विशिष्ट श्रेणीका पदाधिकारी र तिनका संयुक्त परिवारको सम्पत्ति र स्रोतको छानबिन गरी सार्वजनिक सुनुवाइ गरी अधियोजन प्रक्रिया सुरु गर्नुपर्ने पनि उनीहरुको माग छ ।

१२ दिनको लागि ९० अर्ब रूपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । १२ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको केन्द्रीय बैंकले ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ ।

मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले कबोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

खासगरी केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजारमा अल्पकालिन ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।

यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

सुदूरपश्चिमका कारागारबाट भागेका ९७७ पक्राउ

धनगढी: गत भदौमा जेन्जी आन्दोलनको क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका करिब एक हजार कैदीबन्दीलाई पक्राउ परेका छन्। भदौ २४ गते जेन्जीहरूको प्रदर्शनका क्रममा भागेका ९७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी कार्यालयले कैलाली सहितका विभिन्न कारागारबाट भागेका ९४१ र बाल सुधार गृह डोटीबाट भागेका ३६ गरेर ९७७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको जनाएको छ। सुदूरपश्चिमका नौ जिल्ला कारागार शाखा र एक बाल सुधार गृहबाट नभागेका २९६ जनासमेत गरेर अहिले एक हजार दुई सय ७२ जना कैदीबन्दी कारागारमा राखिएका छन् ।

अब बाल सुधार गृह र विभिन्न कारागारबाट भागेका ४८१ जना कैदीबन्दीलाई पक्राउ गर्न बाँकी रहेको छ। जेन्जी आन्दोलनका दिन कैलाली कारागारबाट ६६६ जना कैदीबन्दी भागेका थिए। जसमध्ये जम्मा ३४१ जना कैदीबन्दीलाई मात्रै नियन्त्रणमा लिएको छ।

जिल्ला कारागार कन्चनपुरका ४५८ मध्ये ३४५, बझाङ्ग कारागारका ५३, डडेल्धुरा कारागारका ८० जना , बैतडी कारागारका ५९ ,दार्चुला कारागारका ६३ र बाल सुधार गृहका ३६ कैदीबन्दीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार डोटी बाजुरा र अछामबाट भने कैदीबन्दी भागेका थिएनन् । कतिपय कारागारबाट भागेका कैदीबन्दी आफै कारागार फर्किए पनि धेरैजसो कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर कारागार ल्याएको हो।

मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै फ्रान्समा सरकार ढल्यो

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन्। उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका थिए। उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुन: राजनीतिक गतिरोधमा पुर्‍याएको छ।

राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। तर आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषद् (जुन अधिकांश रूपमा अपरिवर्तित रह्यो) ले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो।

लेकोर्नुमाथि आगामी वर्षका लागि मितव्ययिता बजेट संसद्बाट स्वीकृत गराउने कठिन जिम्मेवारी थियो। संसद्मा सांसदहरू गहिरो रूपमा विभाजित छन्। उनका दुई तत्काल पूर्ववर्तीहरू, फ्रान्स्वा बायरो र मिशेल बार्नियर खर्च योजनाको गतिरोधकै कारण विधायिकाबाट हटाइएका थिए।

फ्रान्सको सार्वजनिक ऋण अहिले ऐतिहासिक उच्चतम स्तरमा पुगेको गत हप्ताको आधिकारिक तथ्याङ्कले देखाएको छ। देशको ऋण–कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपात अहिले युरोपेली सङ्घमा ग्रीस र इटालीपछि तेस्रो उच्च रहेको छ। यो युरोपेली सङ्घ (इयु) नियमले अनुमति दिएको ६० प्रतिशतको झण्डै दोब्बर नजिक छ।

अघिल्ला तीन वर्षमा सरकारले संसद्मार्फत मतदानबिना नै वार्षिक बजेट पारित गर्ने विधि अपनाएको थियो। संविधानले यस्तो प्रक्रिया अनुमति दिए पनि विपक्षीहरूले यसको कडा आलोचना गर्दै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका थिए।

तर लेकोर्नुले गत हप्तामात्र सांसदहरूलाई बजेट विधेयकमा प्रत्यक्ष मतदान गर्न सक्षम बनाउने आश्वासन दिएका थिए।

राष्ट्रपति म्याक्रोनले आफ्नो राजनीतिक शक्ति सुदृढ गर्ने उद्देश्यले गत वर्ष मध्यतिर आकस्मिक संसदीय निर्वाचनको घोषणा गरेका थिए। तर उक्त कदम उल्टो साबित भयो। परिणामस्वरूप विधानसभामा म्याक्रोन–समर्थक गठबन्धन अल्पमतमा रह्यो। यसले आजको राजनीतिक अस्थिरता झनै गहिरो बनाएको छ। एएफपी

भारतका प्रधानन्यायाधीशमाथि अदालतमै जुत्ता प्रहार

काठमाडौं ।  भारतका प्रधानन्यायाधीश बी।आर। गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको छ। ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेका थिए।

भारतीय सञ्चार माध्यमहरूका अनुसार, दिल्ली प्रहरीले उनीमाथि नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ। दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११स्३५ बजे सर्वोच्च अदालतको कोठा नं। १ मा भएको हो। ‘सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिए र सर्वोच्च अदालतको सुरक्षा इकाईलाई जिम्मा लगाए। उनी मायूर विहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य पनि हुन्,’ एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

जुत्ता प्रहार गर्ने अधिवक्ता प्रधानन्यायाधीश गवईले हालै मध्यप्रदेशको खजुराहो मन्दिर परिसरभित्रको भगवान् विष्णुको मूर्ति पुनर्स्थापना सम्बन्धी मुद्दाको सुनुवाइमा गरेका टिप्पणीबाट असन्तुष्ट रहेका खुलेको छ । गवईमाथि जुत्ता प्रहार गर्दा पनि उनी शान्त देखिए र अदालतमा रहेका वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरे। उनले भने, ‘यसबाट विचलित नहोस्, मलाई पनि फरक पर्दैन।’

सुरक्षाकर्मीहरूले राकेश किशोरलाई अदालतबाहिर निकाल्दै थिए, उनले चिच्याउँदै भनेका थिए, ‘सनातन धर्मको अपमान हिन्दुस्तानले सहिँदैन।’ अहिले प्रधानन्यायाधीश गवईलाई दिल्ली प्रहरीले ‘जेड प्लस’ सुरक्षा उपलब्ध गराएको छ ।

गवईले न्यायाधीश के। विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए।

इन्डिया एक्सप्रेसका अनुसार, सुनुवाइको क्रममा गवईले भनेका थिए, ‘यो त केवल प्रचारको लागि गरिएको मुद्दा हो। जानुहोस् र मूर्तिलाई नै केही गर्न भन्नुस्। तपाईं आफूलाई भगवान् विष्णुको भक्त भन्नुहुन्छ भने प्रार्थना गर्नुहोस्, ध्यान गर्नुहोस्।’

बाढीका कारण ३२ जलविद्युत् आयोजना प्रभावित, इलाममा मात्रै १५ आयोजनामा क्षति

काठमाडौँ  : भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै कानुन व्यवसायीले जुत्ता प्रहार गरेका छन् ।  ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीका क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेको बार एन्ड बेन्चले जनाएको छ ।

दिल्ली प्रहरीले उनलाई नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ । दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११:३५ बजे सर्वोच्च अदालतको कोठा नं. १ मा भएको हो। मयुर विहार क्षेत्रका बासिन्दा उनी सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य पनि रहेको बेन्चले उल्लेख गरेको छ।

प्रधानन्यायाधीश गवईले हालै मध्य प्रदेशको खजुराहो मन्दिर परिसरभित्रको भगवान् विष्णुको मूर्ति पुन:स्थापनासम्बन्धी मुद्दाको सुनुवाइ गरेका थिए । सोही फैसलाको असन्तुष्ट रहँदै अधिवक्ता किशोरले जुत्ता प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

आफूमाथि जुत्ता प्रहार गर्दा पनि प्रधानन्यायाधीश गवई भने शान्त देखिएका थिए । उनले अदालतमा रहेका वकिलहरूलाई बहस जारी राख्न आग्रह गरे। उनले यसबाट विचलित नभएको भन्दै आफूलाई कुनै फरक नपर्ने टिप्पणी गरे ।

उनले सनातन धर्मको अपमान हिन्दुस्तानले नसहने टिप्पणी गरेका थिए । गवईले न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए।

ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

काठमाडौं । हामी नेपाली संस्थाका संयोजक सुदन गुरुङले ‘एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक’ एण्ड एरेस्ट मर्डर भन्दै फेसबुक ट्रेन्ड सुरु गरेका छन्। राष्ट्रका लागि गर वा मर अभयिान सुरु  गरेको भन्दै उनले आफ्नो फेसबुकमार्फत ओली र लेखकको तस्बिरसहितको पोस्ट गरेका छन्।

जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि दमन गरेको, जेनजी प्रदर्शनकारीको हत्या गरेको आरोप जेनजी अभियान्ताहरुले लगाउँदै आएका छन्।

अहिले जेनजीकै मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ। यो सरकारले भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।

यही आयोगलाई दबाब दिन सुदनसहितले ओली र लेखकलाई पक्राउ गर भन्दै ट्रेन्ड सुरु गरेका छन्। कार्की संयोजक रहेको आयोगले ओली र लेखकसहितको राहदानीसमेत रोक्का गर्दै काठमाडौँ उपत्यका छाड्नुपरे पनि अनुमति लिन भनिएको छ।

बालुवाटारमा जेनजीको ८ बुँदे चेतावनी– प्रधानन्यायाधीशसहित पार्टी र नाताका न्यायाधीश नहटाए फेरि आन्दोलन
सुदनले फेसबुकमार्फत सार्वजनिक गरेको पोस्टरमा उनीहरुलाई तत्काल पक्राउ नगरे पक्राउ गरेर कारबाही गर्न बाध्य पारिने चेतावनी पनि दिइएको छ।

यसअघि सुदनसहित जेनजीका प्रतिनिधिले बालुवाटार पुगेर पनि यही विषयमा दबाब दिएका थिए। त्यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि बालुवाटर पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई ओली र लेखकसहितलाई पक्राउ गर्न दबाब दिएका थिए।

खोज्नुहोस