पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुहोला भन्ने कल्पना गरेको थिइनँ : अध्यक्ष ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिसँगको भेटघाटमा व्यक्त भनाइका सन्दर्भमा कतिपय ‘अनलाइन’ र सामाजिक सञ्जालमा सम्प्रेषित सूचनाका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाउँदै प्रधानमन्त्रीको सचिवालयले काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले भन्दै नभनेको ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषय स्वार्थबाट प्रेरित भई बाहिर ल्याइएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ ।

भेटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनमा भएको क्षति, हाल पार्टीले अङ्गीकार गरेको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गर्दै आएका कामबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।

अध्यक्ष ओलीले ‘पूर्वराष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान अरू नेताले नगरेका र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत् रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर ‘मिडिया’ र पार्टीका अन्य नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यस रुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ । केन्द्रीय कमिटीले उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन,’ अध्यक्ष ओली भनाइ प्रस्तुत गर्दै प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

भारतद्वारा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग

काठमाडौँ । भारतले नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइक भेहिकल सहयोग गरेको छ ।  सरकारले  राजपत्रमा सूचना प्रकाशित गर्दै  नेपाली सेनालाई भारतबाट २ करोड ४० लाख बराबरका ६ वटा लाइट स्ट्राइक भेहिकलमा सहयोग भएको उल्लेख गरेको छ ।

यसको लागि  भन्सार छुट दिन सूचना समेत निकालेको हो । यस्ता भेहिकल  पैठारी गर्दा नेपाल सरकारले पूर्ण भन्सार महसुल र अन्य शुल्कहरूमा छुट दिएको छ ।

रुबी हत्यामा संलग्न भनिएका पासवानको निधन

काठमाडौं- रुबि साहको हत्यामा साहको हत्या संलग्न रहेको आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको भदौ ११ गते मृत्यु भएको छ । जलेको अवस्थामा प्रक्राउ गरिएको उनलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचारपछि उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि कीर्तिपुर स्थित बर्न सेन्टरमा पठाइएको थियो । उनलाई २ ः२४ बजे अस्पताल पुर्याइएको र साझ ६ बजेर १० मिनेट जादा उनको मृत्यु भएको अस्पतालले जनााएको छ ।

रौतहटमा निकै चर्चित बनेको रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले जलेको अवस्थामा पक्राउ गरेको छ।

सरकारले १८ भदौलाई तोक्यो सामाजिक सञ्जाल अनिवार्य सूचीकरण हुने औपचारिक म्याद, नभए प्रतिबन्ध

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्महरू अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने म्याद बिहीबारदेखि लागु हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले सात दिने म्याद सूचना निकालेको हो ।

९ भदौको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सात दिन भित्र मन्त्रालयमा अनिवार्यरूपमा सूचीकरण गर्नुपर्ने निर्णय गरेको थियो । ९ गते बसेको बैठकको निर्णय सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका थिए । उनले तोकिएको समयभित्र सूचीकरणमा नआउने वा सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई नेपालभित्र क्रमशः निष्क्रिय गराइने बताएका थिए ।

त्यसपछि सञ्चार मन्त्रालयले बिहीबार औपचारिक रूपमा त्यससम्बन्धी सूचना जारी गरेको हो । जसमा सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित निकायमा सूचीकरण गर्न/गराउन सरकारको नाममा निर्देशनात्मक दिएको भन्दै १८ भदौभित्र अनिवार्य सूचीकरणमा आउन आह्वान गरिएको छ ।

यस्तै, मन्त्रालयले उल्लिखित अवधिभित्र सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपाल भित्र सम्पर्क बिन्दु (Point of Contact), आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्न समेत भनेको छ ।

मन्त्रालयले तोकिएको समय भित्र सूचीकरण नगर्ने वा त्यस प्रयोजनका लागि सम्पर्कमा नआउने प्लेटफर्महरूलाई क्रमशः: नेपाल भित्र निष्क्रिय गराउने चेतावनी दिएको छ । सूचीकरण गरेमा सोही क्षणदेखि पुन: सक्रिय गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको पहिलो अभ्यास खेलमा तीन विकेटको हार व्यहोरेको छ । बिहीबार नेपालले प्रस्तुत गरेको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

साउथ  अस्ट्रेलियाका  विन्टरले ३६ रन बनाए । होगनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका भीम सार्कीले ३२ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए ।

साउथ अस्ट्रेलियाका थोम्पसन, ब्राउन र मेनेन्टीले समान दुई विकेट लिए । म्याकफाडेन र मेन्जिसले समान एक विकेट लिए ।

नेपालले आजै साउथ अस्ट्रेलियासँग दोस्रो अभ्यास खेल खेल्ने तालिका छ । गएको मंगलबार नेपालले दुई अभ्यास खेलमा क्रिकेट एसीटीविरुद्ध क्रमशः ४१ र ६ विकेटको जित निकालेको थियो ।

रौतहटकी रूबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रौतहटमा २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। रौतहट प्रहरीले आरोपी पासवानलाई बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएको थियो।  उपचारका क्रममा बुधबार अपराह्न पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले सेतोपाटीलाई जानकारी दिए।

रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनाका आरोपी पासवान जलेको अवस्थामा फेला परेका थिए। हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए।

पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो। उनले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए। ‘मैले नै हत्या गरेको हुँ भनेका छन्,’ रौतहट प्रहरीले भनेको थियो। शरीरका विभिन्न भाग जले पनि पासवान बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए।

गत शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो। भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो।

नेतृत्वविहीन सेती प्रादेशिक अस्पताल, नीतिगत निर्णय प्रभावित

धनगढीः सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन हुँदा अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ। अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नभएको हो।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिमा नहुँदा अस्पतालबाट नितिगत रुपमा समस्या आएको मौखिक रुपमा पटक पटक जानकारी आएको बताए। नौ वटै जिल्ला अस्पतालको विकास समितिमा पदाधिकारी नियुक्त गर्ने काम केही दिनभित्र हुने उनले बताए।

अस्पताल नेतृत्वविहीन बनेपछि प्रशासनिक सेवा भने सञ्चालनमा छ तर नीतिगत निर्णय तथा नयाँ योजना निर्माणमा असर परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए। नीतिगत निर्णय र समस्या समाधानका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने हो, समिति नहुँदा त्यसबाट गरिनुपर्ने काम प्रभावित भएका बताए।

अध्यक्ष अभावमा नियमित बैठक, कर्मचारी भत्ता वितरण, र करार कर्मचारीको म्याद थपजस्ता विषयमा समेत अन्योलता देखिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका अस्पताल विगत चार महिनादेखि नेतृत्वविहीन अवस्थामा छन्। त्यसले गर्दा अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ । अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न कठिनाइ भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताए।

भारतले उपहार दिएको मुर्रा राँगो ‘रोहित’ मर्‍यो

कास्की  : भारतले २१ महिनाअघि उपहार दिएको १५ मध्ये एउटा मुर्रा राँगो मरेको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा रहेको मुर्रा गत साउन ३० मा भ्यागुते रोगका कारण मरेको हो ।  उक्त मुर्रा साउन १७ देखि बिरामी भएको र उपचारकै क्रममा साउन ३० गते साँझ ६ बजे मरेको कार्यालयका सूचना अधिकारी डा. महेन्द्र मल्लले बताए । उनका अनुसार यो मुर्राको नाम ‘रोहित’ राखिएको थियो ।

भ्यागुते रोग पशुमा देखिने खतरनाक सरुवा रोग हो । यो रोग पास्चुरेला मल्टोसिडा नामक जीवाणुका कारण हुन्छ । आहारा, पानी, झिंगा, लामखुट्टे, किर्ना, उपिया आदिको टोकाइबाट निरोगी पशुमा यो रोग सर्छ । भ्यागुते रोग लागेका पशुमा उच्च ज्वरो आउने, घाँटी र हृयाकुला सुनिने, घाँटीबाट घ्यार–घ्यार आवाज आउने, आँखा रातो हुनेजस्ता समस्या देखिन्छन् । संक्रमण बढेर फोक्सोमा पुगेपछि त्यसको असरले बढीमा तीन दिनमा पशुको मृत्यु हुन्छ ।

लक्षण देखिएलगत्तै छुट्टै क्वारेन्टाइनमा राखिएकाले अन्य राँगा र पशुमा रोग नसरेको कार्यालयका निमित्त प्रमुख विश्वनाथ गौतमले बताए । उनकाअनुसार यो राँगोको मृत्युले वीर्य उत्पादनमा क्षति पुग्नेछ । ‘यो ल्याइएकै वीर्य उत्पादन गर्न हो । हामीले यसबाट वीर्य संकलन गरेका थियौं,’ उनले भने, ‘३ हजार डोज वीर्य स्टक भएकाले यसको सन्तान उत्पादनमा समस्या त हुँदैन । तर नियमित वीर्य उत्पादनमा क्षति हुने भयो ।’

 

भारतले दिएका १५ मध्ये ७ वटा मुर्रा ०८० मंसिरमा पोखरा ल्याइएका थिए । ५ वटा लहान र ३ वटा बाँकेस्थित राष्ट्रिय पशु प्रजनन्, कार्यालयमा पठाइएका थिए । पोखरा ल्याइएकामध्ये दुई वटाबाट गत वर्षदेखि वीर्य संकलन सुरू गरिएको थियो । गत साउन ३० मा मरेको मुर्रा वीर्य संकलन गरिएका तिनै दुईमध्ये एक हो ।

बाँकी पाँच मुर्रा वीर्य उत्पादनका लागि तालिमकै चरणमा रहेको गौतमले बताए । मृत्यु भएको राँगोको पोस्टमार्टमपछि प्रक्रिया पुर्‍याएर अन्त्येष्टि (गाडिएको) गरिएको उनले सुनाए । राँगो मरेको विषय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हालैको मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए ।

बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि होडबाट बाहिरियो

काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेको छ । योसँगै नेपाल उपाधि होडबाट पनि बाहिरिएको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल ४-१ गोलअन्तरले पराजित भएको हो । बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्‍याट्रिक गरिन् ।

पहिलो हाफको ३८औं र ४५औं मिनेटमा बंगलादेशले गोल गरेको थियो भने इन्जुरी समयमा नेपालले गोल फर्काएपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।

दोस्रो हाफमा बंगलादेशले थप २ गोल गर्‍यो । ७३औं मिनेट र ८७औं मिनेटमा बंगलादेशले गोल गर्दै ४-१ को जित निकाल्न सफल भयो ।

नेपाल पहिलो खेलमा भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराउँदा तेस्रो खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको थियो ।

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी रहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्ने प्रावधान छ ।

नेपालले यसपछि भारत र भुटानसँग खेल्नेछ ।

सुदूरपश्चिममा प्रदेश सभा सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

कैलाली । सुदूरपश्चिम प्रदेशमा एउटा विधेयक प्रमाणीकरण गरिएको छ। बुधवार प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका हुन्।

२०७५ सालदेखि नै प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा थियो। असार १३ गते शुक्रवार बसेको छैटौँ अधिवेशनको १३औँ बैठकले यसलाई संशोधन गरेको थियो।

असार २३ गते सभामुखले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि भदौ १० गते प्रदेश प्रमुख कार्यालय पुगेको थियो। आवश्यक अध्ययनपछि बुधवार प्रदेश प्रमुखले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।

विधेयक प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित हुने छ र ऐनको रूपमा कार्यान्वयन हुनेछ।

बैतडीमा जीप दुर्घटना, १२ जना घाइते ३ को अवस्था गम्भीर

बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाकोे दशरथचन्द नगरपालिका– ४ शाहीलेक नजिक जीप दुर्घटना भएको हो। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले बताए।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका– ११ ग्वालेकका ५० वर्षिया हरिना जोशी, दशरथचन्द नगरपालिका– ६ का २१ वर्षिय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका– ४ का ३४ वर्षिय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका– ४ का २१ वर्षिय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका– ६ का २२ वर्षिय भुपेश जोशी, पुर्चौडी नगरपालिका– ४ का ३८ वर्षिया हिरा भट्ट, पुर्चाैँडी नगरपालिका – ५ का १७ वर्षिय रिकेश पार्कि रहेका छन्।

यस्तै पुर्चाैडी नगरपालिका– ५ का २८ वर्षिय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चाैडी नगरपालिका–४ का २३ वर्षि य जनक भट्ट, पाटन नगरपालिका– ९ का १८ वर्षिय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका– ९ का २१ वर्षिय जनक भट्ट र पाटन नगरपालिका– ३ का ४२ वर्षिय डम्मर दत्त भट्ट घाइते भएको बडूले बताए।

जीपमा चालक सहित जम्मा १३ जना सवार थिए । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भिर भएपनि अरुको अवस्था भने सामान्य रहेको बडूले बताए। चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारण बुझिरहेको प्रहरी रिक्षिक बडुले बताए । दुर्घटनाको कारण भने खुलेको छैन्।

युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ऐन महर

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर एक युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेको खुलेको छ ।

प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थीका अनुसार, ५ भदौमा हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी आएको थियो । त्यसपछि सोधपुछका लागि भन्दै महरलाई बोलाइएको थियो ।

प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट ९ भदौमा पक्राउ अनुमति लिइसकेको थियो । त्यसपछि बुधबार कार्यालय पुगेका उनी पक्राउ परेका हुन् ।

एसपी अवस्थीका अनुसार, महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्नुपर्ने जाहेरीमा उल्लेख छ । यो दफामा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने भनिएको छ ।

उपदफा (१) मा भनिएको छ, ‘कम्प्युटर इन्टनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धीलाई खलल पार्नै किसिमको सामग्री प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सामाजिक सञ्जालमा लाइभ बसेर पीडितको चरित्र हत्या गरेको आरोप महरमाथि छ । उनीमाथि केहीअघि एक महिलाले बलात्कारको आरोप समेत लगाएकी थिइन् । तर, प्रहरीले उजुरी लिन मानेको थिएन । पछि उच्च अदालत, पाटनले अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

यद्यपि, त्यही बीचमा पीडित भनिएकी युवती समेत विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेकी थिइन् ।

गत वर्ष रोकिएको बाघ र गैँडा गणना मङ्सिरमा गरिने

चितवन : गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ। यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो।

विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार-चार वर्षमा गणना गरिँदै आएको छ। सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ। उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ। करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए। एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ। गैँडा गणना गर्न एक महिना लाग्छ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ। बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले १८ लाख रकम विनियोजन गरेको छ, यसका लागि एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्छ। कँडेलले गैँडा गणनाका लागि १८ लाख रुपैयाँ विनियोजन गरेको बताए। गैँडा गणना गर्न दुई करोड बढी खर्च लाग्ने गर्दछ। बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राख्ने गरिन्छ। त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ। बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए। हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक-फरक हुने गर्छन्।

गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ। नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो। सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए। सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिव १०० को हाराहारीमा झरेको थियो। नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ।

सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो। नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैँडा फेला परेको तथ्यांक छ।

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महरविरुद्ध विद्युतीय अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

स्वास्थ्य बीमा नवीकरण समयमा नगरे थप शुल्क लाग्ने : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले बीमित परिवारलाई तोकिएको समयमा बीमा नवीकरण नगरे थप शुल्क लाग्ने भएकोले असोज मसान्तभित्रै नवीकरण गर्न आग्रह गरेको छ।

बोर्डका अनुसार विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ।

तर उक्त म्यादपछि नवीकरण गर्दा भने बीमितले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। बोर्डले तोकेको विवरण यस्तो छ :

तीन महिनाभित्र नवीकरण गर्दा योगदान रकममा १० प्रतिशत थप

छ महिनाभित्र नवीकरण गर्दा योगदान रकममा ३० प्रतिशत थप

एक वर्षभित्र नवीकरण गर्दा योगदान रकममा ५० प्रतिशत थप

एक वर्षपछि नवीकरण गर्दा योगदान रकममा १०० प्रतिशत थप

दुई वर्षपछि नवीकरण गर्दा योगदान रकमको तीन गुणा

तीन वर्षपछि नवीकरण गर्दा योगदान रकमको चार गुणा

बोर्डले बीमित परिवारलाई तोकिएको समयमा नै बीमा नवीकरण गरी स्वास्थ्य सुरक्षामा निरन्तरता दिन आग्रह गरेको छ।

भिजिट भिसा प्रकरण: छानबिन समितिले रास्वपा सचिवालयमा बुझायो प्रतिवेदन

‘भिजिट भिसा प्रकरणमा पीडितहरूलाई सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको’ भन्ने विषयमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकमा सांसद प्राध्यापक डाक्टर चन्दा कार्कीको नेतृत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई बुझाएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

पार्टीका नेता तथा कार्यकर्ताहरूमाथि भिजिट भिसा प्रकरणमा अनियमितता र अवाञ्छित संलग्नताको आरोप लागेपछि रास्वपाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन डा. कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले यस प्रकरणका विभिन्न पक्षमा गहन अध्ययन तथा अनुसन्धान गरी आज आफ्नो प्रतिवेदन पेश गरेको हो।

प्रवक्ता झाका अनुसार, प्रतिवेदनमा भिजिट भिसामा देखिएका समस्याहरू, त्यसमा पार्टीका कुनै नेता वा सदस्यको संलग्नताको अवस्था र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक सुझावहरू समेटिएको छ।

सचिवालयले अब प्रतिवेदनमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिनेछ।

भिजिट भिसा मार्फत मानव तस्करी गर्ने काममा सरकारका गृहमन्त्री रमेश लेखक समेत मुछिएको आरोप लगाउँदै  रास्वपाले राजीनामा माग राखी संसद् अवरोध जारी राखेको छ।

तर, कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल नै भिजिट भिसा मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लगाएपछि कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन र सक्कल मिसिल माग गर्ने आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन र सक्कल मिसिल माग गर्ने आदेश दिएको छ।

बुधवार न्यायाधीश सागर विष्टको एकल इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको तर्फबाट दायर निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

सुप्रिम सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलनपछि आफूले जिम्मेवार भागको बिगो दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेको भन्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। सोही निवेदनमा बुधवार बहस भएको हो।

यसअघि लामिछानेले जिल्ला अदालतमा निवेदन दिँदै आफूले जिम्मेवारीमा पर्ने बिगो रकम बुझाइसकेको भन्दै रिहाइको माग गरेका थिए। अभियोग पत्रअनुसार सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाउने प्रस्ताव राखेका थिए। तर, अदालतले हालसम्म रिहाइको अनुमति दिएको छैन।

फोहोर व्यवस्थापन एप सार्वजनिक

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ । यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्थापनको क्षेत्रमा एक नयाँ आयाम थप्ने लक्ष्य राखेको छ ।

नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानका अनुसार, यो प्रणालीलाई प्रयोगकर्ता–मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको छ ।

यसले फोहोर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ । प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।

यो एप फोहोर व्यवस्थापनमा काम गर्ने हुने संस्थाहरू, फोहोर उत्पादन गर्ने घरायसी बासीहरू, व्यवसायहरू जस्तै हस्पिटल, होटल, स्कुल, सरकारी संस्थाहरू आदि हुन् ।

यसमा फोहोर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथ–साथै यो सिस्टमले नगरपालिकाको लागि पनि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ ।

नगरपालिकाका यूजरबाट आफ्नो नगर/वडामा फोहोर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ ।

नेपाल टेक मार्केट डटकमका सीईओ चिरञ्जीवी अधिकारीले यसमा एआईको प्रयोग गरिएको जानकारी दिए ।

निजामती विधेयक : प्रतिनिधिसभाले रोकेको सहसचिवमा खुला प्रतिस्पर्धा राष्ट्रिय सभाको समितिले १० प्रतिशत राख्यो

काठमाडौँ । निजामती सेवामा सहसचिव पदपूर्तिका लागि १० प्रतिशत संख्या खुला प्रतिस्पर्धाबाट गराउने व्यवस्था संघीय निजामती विधेयकमा राखिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान निजामती विधेयकमा राखेको हो ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने प्रावधान सर्वसम्मतिले पारित गरेको हो ।समितिको बुधबारको समितिले उक्त सहमति जुटाएको हो ।

प्रतिनिधिसभाबाट पारित विधेयकमा भने सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति नहुने व्यवस्था पारित गरेको थियो । प्रतिनिधिसभाले सहसचिवमा १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था राखेको थियो । त्यसलाई उल्ट्याएर राष्ट्रिय सभाले १० प्रतिशत खुला, २० प्रतिशत अन्तरतह र ७० प्रतिशत बढुवाबाट सहसचिवको पदपूर्ति हुने व्यवस्था गरेको हो ।

सांसद झक्कुप्रसाद सुवेदीले नायब सुब्बा र सहसचिवमा पदपूर्ति खुला प्रतिस्पर्धाबाट पनि गर्नुपर्ने कानुनी प्रावधान राख्नुपर्ने बताएका थिए । सांसद बेदुराम भुसालले सहसचिवमा खुलाबाट पदपूर्तिको प्रावधान राख्नुपर्ने बताए । थोरै प्रतिशतमा भएपनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने व्यवस्था राखेर जानुपर्ने उनको भनाइ थियो ।

सांसद अञ्जान शाक्यले भने सहसचिवमा खुला प्रतिस्पर्धाको प्रावधान राख्न नहुने बताएकी थिइन् । उनले भनिन्, ‘सहसचिव खुला गर्नु हुदैँन, पढाइ र कामको प्रतिस्पर्धा हुनसक्छ, तर अनुभवको प्रतिस्पर्धा हुन सक्दैन । अनुभवका आधारमा दृष्टिकोण नै फरक हुन सक्छ । सहसचिवमा खुला प्रतिस्पर्धा राख्नु हुदैँन, बढुवाबाटै गर्ने व्यवस्था गर्नुपर्छ, प्रतिनिधिसभाले पारित गरेको व्यवस्था नै कायम गर्न उचित हुन्छ ।’

यो छलफलपछि समितिले विधेयकको दफा १०को (ज)मा सहसचिवको पदपूर्ति खुला, अन्तरतह प्रतिस्पर्धा र बढुवाद्वारा हुने प्रावधानमा सहमति जुटाएको हो ।

रवि लामिछानेको मुद्दा सागर विष्टको इजलासमा

रुपन्देही । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ । बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार दायर मुद्दा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो ।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले आज लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको बताए । बुधबार लामिछानेको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गर्नेछन् ।

लामिछाने पत्नी निकिताले सोमबार श्रीमानको तर्फबाट उच्च अदालत बुटवलमा बिगो तोके बराबरको बैंक जमानत लिएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित रिट दायर गरेकी थिइन् । आज निवेदामाथिको प्रारम्भिक सुनुवाइ हुनेछ ।

पहिलो एक घण्टामा पौने २ अर्बको सेयर कारोबार

काठमाडौं । बुधबार पहिलो एक घण्टामा १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पहिलो एक घण्टाको यो कारोबार रकम अघिल्ला दिनको तुलनामा उल्लेख्य हो । १२ बजेसम्म नेप्से परिसूचक २० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा छ । १६४ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ४ को स्थिर छ । विकास बैंक, फाइनान्स, अन्य र व्यापार समूह १ प्रतिशतभन्दा धेरै बढेका छन् । बैंकिङ ०.५२ प्रतिशत बढेको छ । विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

ग्रिन भेन्चर्स तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ४ प्रतिशत बढेको छ । सीवाईसी लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको ३ प्रतिशतभन्दा धेरै मूल्य घटेको छ । पहिलो एक घण्टामा धेरै कारोबार भएका कम्पनीमा ग्रिन भेन्चर्स, हिमालयन रि, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा र लुम्बिनी विकास बैंक छन् ।

फेसबुक भिडिओ मार्फत रुबि साहको ह’त्या कबुल गरेका लक्ष्मण पासवानले आफ्नै शरीरमा लगाए आगो

काठमाडौँ । रौतहटकी रुबि साहको हत्या गरी सुटकेसमा प्याक गरेर फरार आरोपी लक्ष्मण पासवानले फेसबुक भिडिओ मार्फत हत्या आफैले गरेको स्वीकार गरेका छन् । मङ्गलबार बिहान करिब ५ बजेतेर ‘कुमारी ज्योति’ नामक फेसबुक आईडीमार्फत ९ मिनेट ३६ सेकेन्ड लामो भिडिओ सार्वजनिक गर्दै उनले हत्या कबुल गरेका हुन् ।

उनले भिडिओमा हत्या गर्ने आफ्नो चाहना नभएको, दुवै जना प्रेममा रहेको, रुबिकी आमाले दुःख दिएको र अन्य व्यक्तिहरूले समेत हैरानी दिएको आदि दाबी गरेका छन् । प्रहरीले पक्राउ गरेर आफूलाई जेल हाल्ने र १०/१५ वर्ष जेल हाल्ने कुरा स्वीकार गर्न नसक्ने र आफूले आफैँलाई सजाय दिन शरीरमा आफैँ आगो लगाएर आत्महत्या गर्ने कुरा समेत उनले भिडिओमा बोलेका छन् ।

पासवानले सार्वजनिक गरेको भिडिओ र उनीले आफ्नो शरीरमा आगो लगाइसकेपछि घाइते अवस्थामा प्रहरीले पक्राउ गरिरहेको भिडिओ दुवै यतिखेर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । रौतहटको माधव नारायण नगरपालिका-६ स्थित माधवपुरको बाटोमा पासवानले आफ्नै शरीरमा आगो लगाएको बताइएको छ । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीय रुबी कुमारी साहको गत शनिबार हत्या भएको थियो । उनको सब सुटकेसमा फेला परेको थियो ।

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

उपाधि रक्षाका लागि नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ । यसअघिका तीन खेलमा नेपालले दुईमा हार र एक जित निकालेको थियो ।

पहिलो खेलमा भारतसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो भने तेस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बङ्गलादेश सहभागी छन् । नेपालले भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्ने तालिका छ ।

सिडेन सुदूरपश्चिमको नेतृत्वमा इन्जिनियर रोशन भट्ट

कैलाली । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्वमा इन्जिनियर रोशन भट्ट निर्विरोध निर्वाचित भएका छन् । आगामी भाद्र १४ गतेका लागि तोकिएको निर्वाचनमा अन्य प्रतिस्पर्धी उम्मेदवार नआएपछि भट्ट सहित सम्पूर्ण पदाधिकारी र कार्यसमिति सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन् ।

निर्वाचन समितिका संयोजक इन्जिनियर पदम बहादुर मडका अनुसार दुई वर्षे कार्यकालका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध बनेका हुन् ।

निर्वाचित पदाधिकारीहरू

सभापति : इन्जिनियर रोशन भट्ट

उप–सभापति : इन्जिनियर कृष्ण बहादुर ऐर

सचिव : इन्जिनियर दीपेन्द्र बहादुर शाही

सह–सचिव : इन्जिनियर किरण रावल

कोषाध्यक्ष : शैलेन्द्र बहादुर मल्ल

निर्वाचित सदस्यहरू

इन्जिनियर बिरेन्द्र रोकाया, शान्त कुमार साउद, मदन बहादुर कुंवर, रोशन ओझा, रोशन भाट, प्रदिप कुमार धामी, बिकास रावल, कोशराज बडु, करण सिंह ऐरी र मंगल बुढा निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक मडले भने, “दुई वर्षे कार्यकालका लागि सम्पूर्ण पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।”

सिडेन नेपाली कांग्रेस निकट इन्जिनियरहरूको छाता संगठनका रूपमा परिचित छ ।

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा तुरुन्त जरिवाना वा कारबाही हुँदैन : यातायात व्यवस्था विभाग

काठ्माण्डौँ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयनमा ल्याइने स्पष्ट पारेको छ । तर असोज १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने व्यहोरा विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको हो ।

साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न समेत विभागले अनुरोध गरेको छ ।

संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको समितिको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। यसअघि विभागले भदौ ३ गते सार्वजनिक सूचना जारी गरेर असोज १ देखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको थियो।

विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट लागू भएपछि मुलुकभरका सवारी साधनको एकिन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण, राजस्व छली रोकथाम तथा विपद् व्यवस्थापनमा सहजता हुने बताइएको छ।

विभागले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति ध्यानाकर्षण गर्दै नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार रहेको र तथ्याङ्क मुलुक बाहिर नजाने गरी विभागकै सर्भरमा सुरक्षित हुने जनाएको छ।

जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’, चार जनाको मृत्यु

काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरमा ‘क्लाउडबर्स्ट’का कारण जनजीवन अस्तव्यस्त बनेको छ । लगातारको भारी वर्षाका कारण डोडा जिल्लामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । यस्तै, थुप्रै घाइते भएका छन् ।

मृतकमध्ये दुई जनाको घर भत्किएर र दुई जनाको बाढीका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीले थुप्रै घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासनले नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तीन दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण जम्मू–कश्मीरका कैयौँ सडक र रेल सेवा अवरुद्ध भएका छन् । जम्मू–श्रीनगर र बटोटे–किश्तवारलगायत राजमार्ग बन्द छन् ।

सामान्यतया क्लाउडबर्स्ट भनेको अचानक छोटो समयमा अत्यधिक धेरै वर्षा हुनु हो ।

राष्ट्रपति पौडेलद्वारा विपीनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपीन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन सो आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका लागि उनका जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने कुरा उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए।  सो अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

बाबुरामले तोकिदिए उखुको मूल्य

काठ्माण्डौँ । उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले उखुको मूल्य तोकिदिएका छन् । हिजोदेखि राजधानी केन्द्रित आन्दोलनमा होमिएका उखु किसानलाई समर्थन गर्न भट्टराई पार्टीका आधा दर्जन नेताहरुसहित त्यहाँ पुगेका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले उखुको मुल्य आफूखुशी निर्धारण गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । उखु किसानको बाँकी रकम भुक्तानी गर्नुपर्ने र यसअघि उपलब्ध गराउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँकै दर कायम गर्नुपर्ने उनको माग छ ।

उखुको बक्यौता अनुदान रकम ७० कै दरले भुक्तानी गरिनुपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, अनुदान भुक्तानी र उखुमा लगाएको भ्याट खारेज गर्नुपर्नेलगायतका माग राखेर किसान उखुको बोटसहित आन्दोलरत छन् । आन्दोलनमा तराई मधेशका १३ जिल्लाका किसान सहभागी रहेको उखु किसान सङ्घर्ष समितिले जनाएको छ ।

यसैबीच नेकपा (एकीकृत समाजवादीं)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि माइतीघर मण्डला पुगेका छन् । भुइँमा थचक्क बसेर वातचित गर्दै उनले उखु किसानहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

खोज्नुहोस