विवाहका लागि पार्टनर खोजिदिने ‘लमी’एप सार्वजनिक

द एभरेष्ट पोष्ट
१६ असार २०८३ १७:५२

काठमाडौं । आजको व्यस्त र आधुनिक समयमा आफ्नो लागि उपयुक्त जीवनसाथी वा मित्र खोज्नु एउटा चुनौतीपूर्ण कार्य बनेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै विशेष गरी नेपाली समुदायका लागि तयार पारिएको डेटिङसम्बन्धी एप ‘लमी’ सार्वजनिक भएको छ ।

यो केवल एक डेटिङ एप मात्र नभई नेपाली संस्कार र मूल्य–मान्यतालाई आधुनिक प्रविधिसँग जोड्ने एउटा भरपर्दो डिजिटल सेतु भएको कम्पनीले जनाएको छ ।

हालसम्म १० हजारभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरिसकेको लमी एप एउटा यस्तो प्लेटफर्म हो जसले तपाईंलाई मित्रता, प्रेम सम्बन्ध (डेटिङ) वा विवाहका लागि उपयुक्त साथी खोज्न मद्दत गर्छ ।

यसले समान सोच, जीवनका लक्ष्य र सांस्कृतिक मूल्य भएका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँछ । परम्परागत रूपमा गाउँघरमा ‘लमी’ले गर्ने जोडी मिलाउने कामलाई अहिले यो मोबाइल एपले थप सहज, सुरक्षित र आधुनिक बनाएको छ ।

प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै यहाँ प्रोफाइल प्रमाणीकरणको व्यवस्था गरिएको छ । प्रयोगकर्ताले आफ्नो पहिचान पुष्टि गर्न आवश्यक कागजात अपलोड गर्नुपर्ने हुन्छ, जसले गर्दा नक्कली प्रोफाइलको जोखिम न्यून हुने जनाइएको छ ।

तपाईंको रुचि, उमेर, धर्म, जात, शिक्षा र वैवाहिक अवस्था जस्ता मापदण्डका आधारमा उपयुक्त साथी खोज्न यसले मद्दत गर्छ । यसको उन्नत एल्गोरिदमले तपाईंको प्राथमिकता अनुसारका प्रोफाइलहरू मात्र देखाउने सुविधा पनि रहेको छ ।

यदि झुक्किएर कुनै प्रोफाइल ‘लेफ्ट स्वाइप’ भयो भने प्रिमियम प्रयोगकर्ताले त्यसलाई ‘रिविन्ड’ गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, मन परेका प्रोफाइललाई पछिका लागि ‘बुकमार्क’ गरेर सुरक्षित राख्न सकिन्छ । ‘लमी’ले आफ्ना प्रयोगकर्तालाई थप सुविधा प्रदान गर्न विभिन्न प्रिमियम योजनाहरू पनि ल्याएको छ । यसका शुल्क एक हप्ताका लागि १९९, एक महिनाका लागि ६९९ र तिन महिनाका लागि १९ सय ९९ शुल्क लाग्ग्ने कम्पनीले जनाएको छ ।

“पहिलेको पुस्तामा विवाहका लागि मध्यस्थकर्ता अर्थात् ‘लमी’को ठूलो भूमिका हुन्थ्यो । तर, समय परिवर्तनसँगै अहिलेको पुस्ता अरूले रोजिदिएको भन्दा आफैँले बुझेर र रोजेको व्यक्तिसँग सम्बन्ध गाँस्न रुचाउँछन्,” एपका प्रबन्ध निर्देशक नबिन श्रेष्ठ भन्छन्, “यो एपले संसारभरि छरिएर रहेका नेपालीहरूलाई एकै ठाउँमा जोड्न मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ ।”

सुरक्षा, गोपनीयता र नेपाली मौलिकतालाई उच्च प्राथमिकता दिने ‘लमी’ एपले आधुनिक डेटिङ अनुभवलाई सहज बनाएको छ । यदि तपाईं पनि आफ्नो लागि सही र अर्थपूर्ण सम्बन्धको खोजीमा हुनुहुन्छ भने, ‘लमी’ तपाईंको यात्राको सारथि बन्न सक्ने कम्पनीको भनाइ छ । यसलाई फोन नम्बर, इमेल वा सामाजिक सञ्जालमार्फत सजिलै लगइन गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस