दलीय विद्यार्थी संगठनलाई संरचना उपभोग गर्न दिइएको छैन : त्रिवि
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दलीय संगठनलाई कुनै पनि संरचना उपभोग गर्न नदिएको स्पष्ट पारेको छ । विश्वविद्यालय अनुदान आयोगमाफर्त सरकारलाई पत्र पठाउँदै त्रिविले स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न नदिएको बताएको हो ।
‘क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन रहेको तर दलीय विद्यार्थी संठनहरूलाई आधिकारिक रुपमा कुनै पनि संरचना उपभोग गर्न दिइएको छैन यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन मिति २०८३/०३/१५ मा पत्राचार गरिएको छ,’ त्रिविको पत्रमा उल्लेख छ ।
त्रिविले सोमबार यदि कुनै क्याम्पसमा त्यस्ता संरचना बनाइएको पाइएमा तत्काल हटाउन निर्देशनसमेत दिएको थियो । सरकारले ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइ ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्रको विकास गर्ने भनेको छ ।
शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय संगठन हटाउन लागिएको सरकारको भनाइ छ ।
स्वसिवयु सभापतिहरू मध्येबाट दुई जना त्रिवि सभाको सदस्य हुने व्यवस्था छ । त्रिविले दलीय संगठन हटाउने भनेपछि स्ववियु र विद्यार्थी संगठनले विरोध जनाइरहेका छन् ।
