अब ह्वाट्सएप प्रयोग गर्न फोन नम्बर नचाहिने
काठमाडौं। विश्वभरका तीन अर्ब बढी प्रयोगकर्ताका लागि ह्वाट्सएपले अब अकाउन्टका लागि युजरनेम रोज्ने सुविधा ल्याएको छ । यो परिवर्तनको मुख्य उद्देश्य गोपनीयता बढाउनु हो, जसले गर्दा प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा अरूसँग सम्पर्क गर्न सक्ने छन् । मेटा प्लेटफम्र्सको स्वामित्वमा रहेको ह्वाट्सएपले सोमबारदेखि प्रयोगकर्ताले आफ्नो युनिक युजरनेम रिजर्भ गर्न सक्ने जनाएको छ । कम्पनीले यो सुविधा यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि पूर्ण रूपमा उपलब्ध गराउने योजना बनाएको छ ।
ह्वाट्सएपकी हेड अफ प्रोडक्ट एलिस न्यूटन–रेक्सका अनुसार, युजरनेम सुविधाले विशेष गरी नयाँ व्यक्तिसँग जोडिँदा वा कुनै समूह (ग्रुप) च्याटमा सहभागी हुँदा आफ्नो फोन नम्बर कसले देख्न पाउने भन्ने विषयमा प्रयोगकर्तालाई बढी नियन्त्रण दिनेछ । कम्पनीले यसलाई गोपनीयताको दृष्टिले ठूलो सुधार (अपग्रेड) भएको जनाएको छ ।
एलिस न्यूटन–रेक्सले भनिन्, ‘जब तपाईं कुनै नयाँ व्यक्तिसँग भेट्नु हुन्छ-चाहे त्यो सहपाठी होस्, छिमेकी होस् वा कुनै कार्यक्रममा भेटिएको व्यक्ति—त्यसलाई आफ्नो फोन नम्बर दिनु धेरैका लागि ठूलो निर्णय हुन सक्छ ।’ यो सुविधा सिग्नल जस्ता प्रतिस्पर्धी मेसेजिङ एपमा रहेको प्रणालीसँग मिल्दोजुल्दो छ, जहाँ फोन नम्बरको सट्टा युजरनेममार्फत कुराकानी सुरु गर्न सकिन्छ ।
तर ह्वाट्सएपका अनुसार यसको उद्देश्य सामाजिक सञ्जालको जस्तो प्रोफाइल बनाउनु नभई गोपनीयता सुरक्षित गर्नु हो । उदाहरणका लागि, ह्वाट्सएपमा कुनै युजरनेम डायरेक्टरी हुने छैन । त्यसैले कसैसँग सम्पर्क गर्नका लागि उसको ठ्याक्कै युजरनेम थाहा हुनुपर्नेछ ।
फेसबुक र इन्स्टाग्रामका युजरनेम पनि सुरक्षित
नक्कली पहिचान र अनलाइन ठगी रोक्न ह्वाट्सएपले हाल प्रयोगमा रहेका फेसबुक र इन्स्टाग्रामका युजरनेम सम्बन्धित प्रयोगकर्ताकै लागि सुरक्षित (रिजर्भ) राख्ने जनाएको छ । त्यस्तै, सार्वजनिक व्यक्तित्व, सेलिब्रिटी तथा सरकारी निकायसँग सम्बन्धित केही चर्चित युजरनेम स्थायी रूपमा सुरक्षित राखिनेछ, ताकि कसैले तिनको दुरुपयोग गर्न नसकोस् ।
न्यूटन–रेक्सले भनिन्, ‘यदि मानिसहरूले ह्वाट्सएपमा आफूलाई अझ सुरक्षित महसुस गर्न थाले, आफ्नो फोन नम्बर निजी राख्न सके र चाहेको अवस्थामा नयाँ व्यक्तिसँग विश्वासका साथ सम्पर्क गर्न सके भने हामी यसलाई सफल मान्नेछौं ।’ ह्वहाट्सएपले आफ्नो ब्लगमा उदाहरण दिँदै लेखेको छ, ‘मानौं तपाईं आफ्नो बच्चाको फुटबल टोलीका अभिभावकहरूको समूहमा सहभागी हुन चाहनु हुन्छ, तर अहिलेसम्म नचिनेका व्यक्तिलाई आफ्नो फोन नम्बर दिन चाहनु हुन्न ।’ यही आवश्यकतालाई ध्यानमा राखेर कम्पनीले युजरनेम सुविधा ल्याएको हो ।
विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ता भएकाले एउटै नाम धेरै जनाको हुन सक्छ । त्यसैले सबैलाई आफूले चाहेको युजरनेम छनोट गर्ने अवसर दिन पहिले नै रिजर्भ गर्ने व्यवस्था गरिएको हो । यदि आफूले चाहेको युजरनेम उपलब्ध नभएमा, ह्वाट्सएपले युजरनेम जनरेटर पनि उपलब्ध गराएको छ, जसले उपयुक्त युजरनेम सुझाव दिन्छ । कन्टेन्ट क्रिएटर, साना व्यवसाय तथा संस्थाहरूका लागि फेसबुक वा इन्स्टाग्राममा प्रयोग भइरहेको युजरनेम नै व्हाट्सएपमा पनि प्रयोग गर्ने विकल्प दिइएको छ ।
युजरनेम फिचरका मुख्य विशेषता
युजरनेम फोन नम्बरको विकल्प हुनेछ, जसबाट अरूले तपाईंलाई खोज्न र सन्देश पठाउन सक्ने छन् ।
प्रत्येक युजरनेमसँग वैकल्पिक ४ अङ्कको सुरक्षा कोड पनि रहनेछ ।
यो कोड सक्रिय गरेमा पहिलो पटक सम्पर्क गर्ने व्यक्तिले तपाईंको युजरनेमसँगै उक्त सुरक्षा कोड पनि थाहा पाउनु पर्नेछ ।
ह्वाट्सएपमा कुनै सार्वजनिक युजरनेम डायरेक्टरी वा सुझाव प्रणाली हुने छैन ।
पहिलो पटक कसैलाई सन्देश पठाउँदा, यदि युजरनेम प्रयोग गरिएको छ भने, प्राप्तकर्ताले तपाईंको फोन नम्बर देख्ने छैन ।
कसलाई सुरक्षा कोड आवश्यक पर्दैन ?
तलका व्यक्तिहरूलाई तपाईंको युजरनेम वा सुरक्षा कोड आवश्यक पर्दैन—
जसले पहिलेदेखि तपाईंको फोन नम्बर सुरक्षित (सेभ) गरेका छन् ।
जससँग तपाईं पहिले नै च्याट गरिसक्नु भएको छ ।
जो तपाईंको साझा (ज्वाइन्ट) ग्रुपमा छन् ।
जसले तपाईंको क्युआर कोड स्क्यान गरिसकेका छन् ।
जसलाई तपाईंले पहिले नै सन्देश पठाइसक्नु भएको छ ।
युजरनेम कसरी बनाउने ?
युजरनेम बनाउन मोबाइलमा ह्वाट्सएपको नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ ।
यसका लागि :
सेटिङ अकाउण्ट युजर नेममा जानुहोस् ।
४ अङ्कको सुरक्षा कोड प्रयोगकर्ताले आफैं रोज्न सक्दैनन् । यो कोड ह्वाट्सएपले स्वतः तयार गर्छ । चाहनु हुन्छ भने ‘गेट अ डिफरेन्ट कि’ विकल्प प्रयोग गरेर नयाँ कोड बनाउन सकिन्छ ।
युजरनेम र सुरक्षा कोड प्रयोग गर्नु पूर्ण रूपमा वैकल्पिक हो । तपाईंले जुनसुकै बेला युजरनेम वा सुरक्षा कोड थप्न, परिवर्तन गर्न वा हटाउन सक्नुहुन्छ ।
यदि तपाईंको ह्वहाट्सएप खाता १८ वर्षभन्दा कम उमेर देखिने मेटा अकाउन्टसँग जोडिएको छ भने, गोपनीयता सुरक्षाका लागि सुरक्षा कोड पूर्व निर्धारित रूपमा सक्रिय हुनेछ । आवश्यक परे यसलाई पछि परिवर्तन गर्न सकिन्छ ।
युजरनेम सक्रिय गर्दा हालका च्याट वा कुराकानीमा कुनै असर पर्दैन । पहिलेदेखि सम्पर्कमा रहेका व्यक्तिले युजरनेम वा सुरक्षा कोडबिना पनि तपाईंलाई सन्देश पठाउन सक्ने छन् ।
यदि कसैले तपाईंको युजरनेममार्फत सम्पर्क गर्न खोज्दा सुरक्षा कोड नहुँदा सफल भएन भने, त्यसबारे तपाईंलाई कुनै सूचना आउने छैन ।
