खु’कुरी लिएर सिंहदरबार छिर्छु भन्ने सुकुम्बासी पक्राउ

द एभरेष्ट पोष्ट
१५ असार २०८३ १६:४७

काठ्माण्डौ। प्रहरीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी डम्बर बहादुर तामाङलाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा हिंसात्मक र धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

भोजपुरको अरुण गाउँपालिका घर भएका ३९ वर्षीय तामाङलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

तामाङमाथि प्रहरी वृत्त सिंहदरबारले थप अनुसन्धान गरिरहेको छ। तामाङले एक सञ्चारमाध्यमसँगको कुराकानीमा सुकुम्बासी समस्या समाधान नभए खुकुरीले गर्दन रेट्ने र आवश्यक परे सिंहदरबारभित्रै खुकुरी लिएर जाने जस्ता विवादास्पद अभिव्यक्ति दिएका थिए।

उनको सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उनले सरकारले बस्ती छाड्नका लागि दिन लागेको २५ हजार रुपैयाँको राहत अस्वीकार गर्दै काठमाडौंमै जग्गा, घर र ८ लाख रुपैयाँ नगदको माग गरेका थिए। सो माग पुरा नभए आफूलाई हटाउन आउनेमाथि खुकुरी प्रहार गर्ने उनको चेतावनी थियो।

हाल तामाङलाई प्रहरी हिरासतमा राखिएको छ। यता सुकुम्बासी मोर्चाहरूले भने उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस