कैलाली टेम्पो प्रकरण: प्रदेश सरकारद्वारा पाँच सदस्यीय छानबिन समिति गठन
धनगढी : कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट पल्टाइएको भन्ने विषय सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सरकारले घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले असार १ मन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाई सात दिनभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न निर्देशन दिइएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिए।
डिभिजन वन कार्यालय कैलालीले विभिन्न क्षेत्रबाट अतिक्रमण हटाउने अभियान सञ्चालन गरिरहेको अवस्थामा जेठ २९ गते गोदावरी सामुदायिक वन क्षेत्रभित्र टेम्पो भिरबाट पल्टाइएको भनी सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा समाचार, फोटो र भिडियो सार्वजनिक भएका थिए। सोही विषयलाई लिएर मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो।
गठित समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
प्रदेश सचिव दीर्धनारायण कोइरालाले ॐ समितिलाई घटनाका सबै पक्षको अध्ययन, आवश्यक प्रमाण संकलन तथा जिम्मेवार निकायसँग समन्वय गरी वस्तुनिष्ठ प्रतिवेदन बुझाउन समेत निर्देशन दिएका छन्।
उक्त घटनापछि सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा वन कार्यालयको कार्यशैलीबारे प्रश्न उठेका थिए। प्रदेश सरकारले भने छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय गरिने जनाएको छ।
यसअघि नै जेठ ३१ गते जिल्ला वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले पत्रकार सम्मेलन मार्फत टेम्पो नियत बस नखसाएको बताएका थिए। हाल उनी सहित अन्य संलग्न कर्मचारीहरू सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय कैलालीको निगरानीमा छन्।
