नीति तथा कार्यक्रम बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको शनिबार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो । गत जेठ १८ गते प्रदेश प्रमुख नजिर मियाँले सरकारको वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रतिपक्षी दलले भने सरकारको नीति तथा कार्यक्रमप्रति असहमति जनाएका थिए ।
नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको विषयमा जवाफ दिँदै मुख्यमन्त्री शाहले नीति तथा कार्यक्रमका सन्दर्भमा आएका सुझावलाई बजेट वक्तव्यमा समेट्ने बताए । उनले नीति तथा कार्यक्रमका सवालमा प्रदेश सभामा ठुला विमति वा असहमतिका शब्द नसुनिएको भन्दै सबैलाई धन्यवाद दिए ।
विपक्षी दलका नेताले नीति तथा कार्यक्रम मलेसिया र सिङ्गापुरको जस्तो भएको तर बजेट सुडान र सोमालिया जस्तो नहोस् भनेर टिप्पणी गरेका थिए । मुख्यमन्त्री शाहले थप्नुभयो, “साँच्चै भन्ने हो भने यो हामी सबैले नीति तथा कार्यक्रमको सन्दर्भमा प्रतिपक्षी दलका नेतासहित सम्पूर्ण प्रदेश सभा सदस्यले दिएका सुझावलाई गम्भीरतापूर्र्वक लिएको मुख्यमन्त्री शाहले बताए । उनले योजना आयोजना छनोट गर्दैैगर्दा प्रदेश सभा सदस्यले गरेको सहयोग, दिएको सुझाव अनुसार बजेट कार्यक्रम आउने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री शाहले कालापानी, रानीसैन घटनासहित ऐनमा भएका व्यवस्थापनका कुराको सन्दर्भमा, राजधानी निर्माणलगायतका विषयमा उठेका कुराबारे भोलिका दिनमा सबैसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले प्रदेश सभामा उपस्थित भई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा प्रदेश प्रमुखलाई धन्यवाद पनि दिए ।
