टी-२०आईमा दीपेन्द्रको कीर्तिमानी १००औं खेल पूरा

द एभरेष्ट पोष्ट
२५ जेठ २०८३ १२:३४
टी-२०आईमा दीपेन्द्रको कीर्तिमानी १००औं खेल पूरा

काठमाडौं । नेपाली टी-२०आई टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा १००औं खेल पूरा गरेका छन् ।

एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा सोमबार हङकङसँग मैदानमा उत्रिएसँगै उनको १०० खेल पूरा भएको हो । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ ।

उनी १००औं खेल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् । उनीभन्दा पछाडि सोमपाल कामीले ९१ खेल खेलेका छन् भने करण केसीले ९० खेल खेलेका छन् ।

दीपेन्द्रले सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।

दीपेन्द्रले १००* खेलमा १ शतक र १२ अर्धशतकसहित २२१३ रन बनाएका छन् । यस्तै उनले ६२ विकेट समेत लिएका छन् । आजको खेलमा गरेको प्रदर्शन यसमा जोडिन बाँकी छ ।

हाल दीपेन्द्र आईसीसीको टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा छन् । उनी दोस्रो स्थानसम्म पुग्न सफल भइसकेका छन् ।

लामो समय उपकप्तानका रूपमा रहेका दीपेन्द्र केही समयअघि मात्रै टी-२०आई टोलीको कप्तान नियुक्त भएका थिए ।

दीपेन्द्रका कीर्तिमान

दीपेन्द्रले नेपालका लागि विभिन्न कीर्तिमानहरू समेत बनाएका छन् । ९ बलमै ५० रन बनाएर नतोडिने कीर्तिमान बनाएका उनले एकै ओभरमा ६ छक्काको कीर्तिमान समेत बनाएका छन् ।

सन् २०२३ सेप्टेम्बरमा चीनको हाङ्जाउमा भएको एसियन गेम्स अन्तर्गत मंगोलियासँगको खेलमा उनले इनिङ सकिन ११ बल बाँकी रहेको अवस्थामा समेत ९ बलमा ८ छक्कासहित ५० रन बनाएर सबैभन्दा छिटो बनेको अर्धशतकको नतोडिने कीर्तिमान बनाए । उनको यो कीर्तिमान बराबरी मात्र हुन सक्छ ।

यस्तै सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध इनिङको अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । त्यसबेला ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए । केही दिनअघि कुशल भुर्तेलले पनि चीनविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरे ।

दीपेन्द्रले नेपालका लागि यू–१९ स्तरमा पनि कप्तानी गरेका छन् । उनकै कप्तानीमा नेपालले यू-१९ एसिया कपमा भारतलाई हराएको थियो । घरेलु प्रतियोगितामा पनि उत्तिकै सफल छन् । उनले २०१९ मा सीआईबी अत्तरियाको कप्तानी गर्दै टोलीलाई धनगढी प्रिमियर लिग (डीपीएल) उपाधि दिलाएका थिए ।

अर्को फ्रेन्चाइज लिग नेपाल टी–२० मा लुम्बिनी अल स्टार्सलाई उपाधि दिलाए । २०२३ मा नेपाल पुलिस क्लबलाई नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण र २०२४ मा प्रधानमन्त्री कपको उपाधि दिलाए ।

नेपाल पुलिस क्लबबाट लामो समय खेलेपछि उनले गतवर्ष नेपाल पुलिस क्लब छाडे । हाल उनी घरेलु क्रिकेटमा कुनैपनि विभागीय टिम वा प्रदेशस्तरको टिममा आबद्ध छैनन् ।

नेपालको घरेलु फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै संस्करणमा उनले सुदूरपश्चिम रोयल्सको कप्तानी गर्दै फाइनलसम्म पुर्‍याएका थिए । यद्यपी उपाधि भने जिताउन सकेनन् ।

यीबाहेक दीपेन्द्रले देशबाहिर पनि फ्रेन्चाइज लिग खेलेका छन् । क्यानडाको ग्लोबल टी-२० लिग तथा यूएईको आईएल टी-२० मा खेलेका दीपेन्द्रलाई बेल्जियको इयू टी-२० लिगमा पनि जेबी ब्रुग्सले अनुबन्ध गरेको छ ।

हाल भइरहेको इयू टी-२० लिगमा दीपेन्द्रले खेल्न भने पाएका छन् । एसियन गेम्स छनोटका कारण उनी राष्ट्रिय टोलीबाट खेल्न व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस