ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती हुँदैन : अर्थमन्त्री

द एभरेष्ट पोष्ट
१८ मंसिर २०८२ १६:०८
ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाहरूको बजेट कटौती नहुने बताएका छन् ।

सिंहदरबारमा बुधबार (मंसिर १७) बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरूले आयोजना कटौतिका विषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरूमा बजेट कटौती नहुने बताएका हुन् ।

उनले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएका कारण तरलता बढेको भन्दै यस्ता समस्या समाधान गर्ने बताए । विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा अब नरोकिने भन्दै तरलता केही कम हुने उनको भनाइ छ ।

सरकारको सीमित स्रोतका कारण स्थानीय र प्रदेश सरकारले खर्च गर्न नसकेको रकमलाई संघीय सरकारले उपयोग गरेकाले केही सहज भएको मन्त्री खनालको भनाइ छ ।

मन्त्री खनालले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौती गरिएको भन्दै यसका कारण पर्ने असरका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए ।

बैठकमा समिति सदस्यहरूले आयोजना कटौती, सांसद सेवा सुविधा कटौतीलगायतका विषयमा चासो व्यक्त गरेका थिए । हिमालयन टेलिभ्वाइस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस