वर्षाले कहाँ कति भयो भौतिक क्षति ? यस्तो छ सरकारको प्रारम्भिक विवरण

द एभरेष्ट पोष्ट
१९ असोज २०८२ १६:२६
वर्षाले कहाँ कति भयो भौतिक क्षति ? यस्तो छ सरकारको प्रारम्भिक विवरण

काठमाडौं ।  १७ र १८ असोजमा आएको अविरल वर्षाबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १ हजार ५०० मिटर तटबन्ध कटान भई १० करोड रुपैयाँबराबरको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ ।

मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ, जसका कारण होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति भएको छ । झापा गाउँपालिका–२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको मन्त्रालयले जनाएको छ । यसबाट ७५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

मेची नदीले ठाउँठाउँमा रहेका स्परहरूमा क्षति पुर्‍याएका कारण ५० लाख रुपैयाँबराबरको क्षति अनुमान गरिएको छ । त्यस्तै, केसलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिका वडा–६ र १२ को बस्ती डुबान भई ७५ घरधुरी स्थानान्तरण गरिएको छ । कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्‍याउँदा अनुमानित २५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

मन्त्रालयका अनुसार लालबकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका– १, मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको उल्लेख छ ।

महोत्तरीको रातो नदीले बलवा नगरपालिकाका २, १० र ११ नम्बरमा पर्ने बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुरमा गरी ३९० मिटर तटबन्ध बगाएको छ ।

सिँचाइतर्फ कम क्षति भएको छ । झाँज सिँचाइ प्रणालीको ब्यारेजभन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रमा मोहम्मदपुर गाउँ डुबानमा परेको छ । सुनसरी मोरङ, बागमती र नारायणी सिँचाइ आयोजनाहरूको सिञ्चित क्षेत्रभित्र रहेका खोला खोल्साहरूले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आकलन छ ।

सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबानमा परेको छ । कफर ड्यामलगायत निर्माणाधीन संरचनाहरूको अवस्था यकिन हुन नसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, इलाम, पाँचथर, ताप्लेजुङलगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू भएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण

क. नदी नियन्त्रणतर्फ

१७ र १८ असोज २०८२ मा आएको अविरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रणतर्फ करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा प्रारम्भिक अनुमानित १० करोड रुपैयाँबराबरको क्षति भएको छ । सोको प्रारम्भिक विवरण देहायबमोजिम छ:

  • कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरी होकलबारी गाउँको करिब ११४ घरबारी डुबानमा परेको र ५०० हेक्टर धान खेतमा क्षति पुग्नुका साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको छ । यसको अनुमानित क्षतिको लागत ७५ लाख रुपैयाँ छ ।
  • मेची नदीले ठाउँठाउँमा रहेका स्परहरूमा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत ५० लाख रुपैयाँ ।
  • केसलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिकाका ६ र १२ नम्बर वडाका बस्ती डुबानमा परी ७५ घरधुरी स्थानान्तरण भएको ।
  • कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत २५ लाख रुपैयाँ ।
  • लालबकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका– १, मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई  करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घरगोठ डुबानमा परेको । अनुमानित क्षतिको लागत ६० लाख रुपैयाँ ।
  • महोत्तरीको रातो नदीले बलवा नगरपालिकाका २, १० र ११ नम्बर वडाका  बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गाउँ गरी ३९० मिटर तटबन्ध बगाएको, साथै लोहरपट्टी नगरपालिका– ६, लोहारपट्टीमा ४०० मिटर, महोतरी गाउँपालिका– ६, रतबारामा २० मिटर, जलेश्वर नगरपालिकाका १, ४ र ७ वडाका बखरी र खैरा गाउँमा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै  सदरमुकाम जलेश्वर समेत बाढ़ीको जोखिममा रहेको । अनुमानित क्षतिको लागत ८ करोड रुपैयाँ ।

ख. सिँचाइतर्फ

  • सिँचाइ प्रणालीहरूको बाँध क्षेत्रमा नदीहरूमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, अन्डर्सलुइस, मूल नहर र शाखा नहरहरूका गेटहरूलाई समयमा नै गेट अपरेसन गरेको हुँदा सिँचाइ प्रणालीहरूमा उल्लेख्य क्षति नभएको ।
  • झाँज सिँचाइ प्रणालीको ब्यारेजभन्दा २०० मिटर माथिल्लो तटीय क्षेत्रको दायाँ गाइड बन्डबाट ओभर फ्लो भई मोहमदपुर गाउँ डुबानमा परेको ।
  • सुनसरी मोरङ, बागमती र नारायणी सिँचाइ आयोजनाहरूको सिञ्चित क्षेत्रभित्र रहेका खोला खोल्साहरूले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आकलन गरिएको ।
  • सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थलमा डुबान । कफर ड्यामलगायत निर्माणाधीन संरचनाहरूको अवस्था यकिन हुन नसकेको ।

ग. पहिरो तर्फ

इलाम, पाँचधर, ताप्लेजुङलगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू भएको र सोको विवरण प्राप्त हुन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस