‘ग्याँस सकियो, ध्रुवलाई कल गर्नु’

द एभरेष्ट पोष्ट
५ साउन २०८२ १०:११
‘ग्याँस सकियो, ध्रुवलाई कल गर्नु’

दीर्घराज उपाध्याय ।
धनगढी, ५ साउन ।

समय रातको १०ः३० बजे । बजार सुनसान छ । धनगढी हसनपुरस्थित ध्रुव किराना पसलका सञ्चालक ध्रुव जोशीलाई एलएलचौकस्थित एक ग्राहकले कल गरेर ग्याँस सकिएर खाना पकाउन नपाएको समस्या सुनाउदै  एक थान सिलिण्डर पु¥याई दिन आग्रह गरिन् । उनी एक थान सिलिण्डर लिएर पुगे । ती महिलाले उनलाई धन्यवाद दिईन । ग्याँस आएपछि महिलाले खाना बनाएर परिवारलाई खुवाईन । उनको परिवार भोकै सुत्न परेन ।

यो उनको दैनिकी हो । विहान पसल नखोल्दै उनी सिलिण्डर पु¥याउन हिडिसकेका हुन्छन् । जहाँ ग्यास सकियो, उनी बिलम्व नगरी पुग्छन् । उनी रात भन्दैनन् । दिन भन्दैनन् । घाम र पानीले त उनलाई कहिल्यै रोकेन ।

धनगढी डुवानमा थियो । कतिपय वस्तीमा एक घरबाट अर्को घरमा आवात जावत गर्न समस्या थियो । उनी भने त्यही डुबानमा सिलिण्डर लिएर घर घर पुगे । उनलाई डुबानले पनि रोकेन ।

कोभिडमा सबैलाई ज्यान जोगाउने चिन्ता थियो । घर बाहिर निस्किन मान्छेहरु डराउथे । उनी कोभिडमा पनि घरभित्र चुपचाप बसेनन् । उनी ज्यानको परवाह नगरी सिलिण्डर लिएर घर घर   पुगे ।

एक समय थियो, उनी रक्सी खाएर दिन बिताउथे । कति रक्सी खान्थे उनलाई थाह हुन्थेन । उनी रक्सीको कुलतमा थिए ।

उनी त्यो कुलतबाट बाहिर निस्किए । रक्सी चटक्कै छोडे । र, पुरै समय काममा लगाउन थाले । कुलतबाट निस्किन गाह्रो हुने तर्क गर्नेहरुका लागि उनी गतिलो उदाहरण पनि हुन् ।

स्वदेशमा काम गर्न संकोच मान्नेहरुका लागि त उनी प्रेरणाको स्रोत हुन् । हसनपुरमा उनको किराना पसल छ । र, त्यही खाद्य उद्योग पनि । त्यसका साथै उनी ग्याँसको अधिकृत बिक्रेता पनि हुन् । पसलमै बसेर पनि उनी व्यापार गर्न सक्थे । उनलाई पसलमा बसेर व्यापार गर्नेभन्दा पनि घरघरमा ग्याँस पु¥याएकोमा सन्तुष्टि मिल्छ । त्यसैले त उनी एकछिन खाली बस्दैनन् ।

उनी सिलिण्डर बोकेर घर घर पुग्छ । संकोच मान्दैनन् । चोरी डकैती र गलत काम पो गर्न लाज ? भन्छन्, काम गर्न केको लाज ? के को संकोच ?

उनी अटोभरी सिलिण्डर भर्छन् । घर घर पुर्याएर फर्किन्छन् । फर्किदा खाली सिलिण्डर ल्याएर आउछन् ।

उनी दैनिक सयभन्दा बढि घर र पसलमा सिलिण्डर पुर्याउने गरेको सुनाउछन् । कहिलेकाही डेढ सयभन्दा बढि सिलिण्डर खपत हुने गरेको उनले बताए ।

​​​​​​​उनी पैसा नभएकालाई निराश बनाउदैनन् । उधारोमै भएपनि सिलिण्डर दिएर फर्किन्छन् । ग्राहकले पैसा नभएको कुरा सुनाउदा उनी सहजै भन्छन्, भोलि दिनु । सोच्छन्, ग्याँसको अभावमा कोही भोको नबसोस ।

घर, रेष्टुरेण्ट, होटल । जहाँ कही ग्याँस सकियो ? खाना बनाउन पाएन । भोकै बस्नु पर्ने अवस्था आयो । धनगढीमा सबैले सम्झिने एउटै नाम हो, ध्रुव जोशी । हरेक ग्राहकलाई उनको नाम र नम्बर कण्ठ छ । कसैको घरमा ग्याँस सकियो भने सबैले सल्लाह दिन्छन्, जोशीलाई कल गर्नु ।

कतिपय ग्राहक कहाँ उनलाई ग्याँस सकिएको खवर गर्नै पर्दैन् । उनलाई होटल, रेष्टुरेण्ट, स्कुल र घरहरुमा ग्याँस सकिने समयसम्म थाह हुन्छ । ग्याँस सकिएको खवर गर्नु अघि नै उनी सिलिण्डर लिएर ग्राहक कहाँ पुग्छन् । उनी समयको त पक्का छन् नै । आफ्नो पेशा र ग्राहकप्रति पनि ईमान्दार छन् ।

ग्याँस सकिए सबैले सम्झिन्छन् । कल गर्छन् । भन्छन्, म यसैमा खुशीमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस