किसानलाई ‘बोनस’ बन्दै चैते धान

द एभरेष्ट पोष्ट
१६ जेठ २०८२ १४:३८
किसानलाई  ‘बोनस’ बन्दै चैते धान

कैलाली : कैलालीको भजनी नगरपालिका–७ का फागुराम चौधरी केही वर्ष अघिसम्म वार्षिक दुई बाली अन्न फलाउँथे । परिवारका लागि खान पुग्नेजति राखेर बचेको धान, गहुँ बिक्री गर्थे । तर उनले व्यवसायिक रुपमै बिक्री हुनेगरी भने फलाउन सकेका थिएनन् । धान, गहुँ, तोरी, मसुरो लगायत बालीको खेती गर्ने तरिका पुरानै थियो । जसमा मेहनत बढी लाग्ने तर उत्पादन भने कम ।

अहिले तिनै फागुरामको खेती गर्ने तरिका फेरिएको छ । खेतमा प्रयोग हुने परम्परागत औजार छोडेर आधुनिक औजारको प्रयोग गर्छन् । उन्नत जातको बीउ, धान–गहुँमा लाग्ने रोगको उपचार र किरा फट्यांग्रा मार्न किटनासक औषधि प्रयोग गर्छन् । यसले खेतमा लाग्ने मेहनतलाई मात्र कम गरेको छैन, उत्पादनलाई पनि बढाएको चौधरी बताउँछन् ।

सामान्यत: मौसम अनुसार वर्षमा दुई बाली अन्न उत्पादन हुन्छ । तर फागुराम अहिले तीन बाली उत्पादन गर्छन् । एक बाली गहुँ, तोरी र दुई बाली धान । धानमा एक बाली चैते धान उत्पादन हुन्छ । जुन माघमा बीउ उमारेर फागुनदेखि चैतको बीचमा रोपिन्छ । जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म करिब १२० दिनमा यो धान पाक्छ । यसपछि रोपिन्छ बर्खे धान ।

‘चैते धान त हाम्रो लागि बोनस जस्तै हो । गहुँ पाकिसकेपछिको खाली समयमा अर्को आम्दानी गर्ने बाटो बनेको छ’, फागुराम भन्छन् । उनले समाज सुधार कृषि समूह अन्तर्गत १२ बिघा क्षेत्रफलमा यो धान रोपेका छन् । विगत ४ वर्षदेखि चैते धान खेती गर्दै आएका भजनी–३ का किसान खुशीराम चौधरीले वर्षमा तीनवटा बाली लगाएर राम्रो आम्दानी भएको बताए । ‘चैते धानले बर्खे धानभन्दा बढी फल दिइरहेको छ,’ चौधरीले भने,‘यसले किसानहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ ।’

भजनी नगरपालिका कैलालीको सबैभन्दा बढी डुबान पर्ने क्षेत्रमा पर्छ । वडा न.३, ५ र ८ बाढी तथा डुबानको उच्च जोखिम युक्त क्षेत्र हो । यो क्षेत्रमा हिउँदेबाली मात्रै उत्पादन हुन्छ । बर्खामा धान उत्पादन नहुने हुँदा यहाँका किसान मर्कामा पर्थे । तर विगत तीन वर्षयता यो क्षेत्रमा चैते धान उत्पादन बढ्न थालेको छ । भजनी नगरपालिका–३ ढुसीकी आशारानी डगौंरा चैते धान रोप्न पाउँदा मख्ख छिन् । ३ वर्ष अघिसम्म उनको परिवारको सबैभन्दा धेरै खर्च खाद्यान्न खरिदमा जान्थ्यो । तर अहिले आफैंले धान उत्पादन गर्न थालेपछि पैसा बचत हुने गरेको डंगौरा बताउँछिन् ।

‘धान चामले सधै किन्नुपर्थ्यो । बर्खामा केही फल्दैन थियो । अहिले बर्खाकोभन्दा बढी हामी चैते धान फलाउँछौ । केही घाटा हुँदैन’, आशारानी भन्छिन् । उनले राधाकृष्ण कृषि समूह अन्तर्गत ३० बिघा क्षेत्रफमा चैते धान रोपेकी छन् । भजनी–५ की रूपी देवी डंगौराले पनि चैते धान खेतीलाई राम्रो सम्भावनाको रूपमा देखेकी छन् ।

कैलालीका विभिन्न क्षेत्रका किसानले यो धान विगतदेखि फलाउँदै आएका छन् । तर बेसिजनमा फल्ने यो खेतीबारे खासै अध्ययन नभएको हुँदा अपेक्षा अनुसारको धान फलिरहेको थिएन । अहिले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले कैलालीका विभिन्न पालिकामा चैते धानबारे अध्ययन, माटो परीक्षण लगायत किसानलाई अनुदान दिने गरेको छ । यसले जिल्लामा चैते धान खेतीको विस्तारसँगै उत्पादन पनि वृद्धि भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कैलालीको तथ्यांक अनुसार यो वर्ष कैलालीमा ४७६ हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ । लक्ष्य भने ६०० हेक्टर रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलबाट चैते धान रोप्न सुरु भएको थियो । ०८०/८१ मा विस्तार भएर १७२ हेक्टर क्षेत्रफलमा जिल्लाभर यो धान रोपिएको थियो । चालु वर्षमा भजनी, जोशीपुर र जानकी गाउँपालिकाका अधिकांश वडाहरूमा चैते धान खेती विस्तार गरिएको छ । जोशीपुरको वडा नम्बर १ देखि ५, भजनीको वडा नम्बर ३, ६ र ८ तथा जानकी गाउँपालिकाको वडा नम्बर ४ धान उत्पादनका लागि ‘धान जोन’ एरिया घोषित गरिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कैलालीका वरिष्ठ कृषि अधिकृत गोविन्द जोशी बर्खे धानको तुलनामा यो धान डेढ गुणा बढी फल्ने बताउँछन् । उनका अनुसार चैते धानका लागि बजारमा विभिन्न बीउ भए पनि चैते ४, चैते ५, हरदिनाथ १ र हरदिनाथ ४ किसानले बढी रचाएका छन् । यो धानलाई विस्तार गर्न सके कैलालीका किसान अनपेक्षित धान उत्पादन गर्न सक्ने अधिकृत जोशी बताउँछन् ।

परियोजनाले यो वर्ष तोकिएका क्षेत्रमा ३ हजार २४१ मेट्रिक टन धान उत्पादन हुने आंकलन गरेको छ । कैलालीमा ५० हेक्टरमा आ.व ०७९/८० मा २ सय ६३ मेट्रिक टन, १७२ हेक्टरमा ०८०/८१ मा १ हजार १ सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएको थियो । चैते धान विस्तारका लागि चालू आर्थिक वर्षमा ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यो रकम किसानलाई अनुदान, प्राविधिक सहयोग, जिङग् सल्फेट, कीट, झारनाशक औषधि, इलेक्ट्रिक स्पेयर, इलेक्ट्रिक मोटर, त्रिपाल र डेलिभरी पाइप वितरणमा खर्च भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कैलालीकी कृषि प्राविधिक रीतु धामीले जानकारी दिइन् ।

उनका अनुसार परियोजनाले प्रति हेक्टर ८ हजार ५ सय रुपैयाँ अनुदान दिँदै आएको छ । यसबाट कैलालीका ६१ हृजार ५८४ किसान लाभाविंत भएका छन् ।

सिँचाइको समस्या

भजनी–३ का सीताराम डँगौरा नेतृत्वको साना किसान समूहले चैते ४ र चैनी ५ जातको धान खेती गर्दै आएको छ । तीन जना किसान यही धान उत्पादनले ऋण मुक्त भएको डँगौरा बताउँछन् । बर्खे धानको तुलनामा उत्पादन बढी भए पनि रोग, किरा र पानीको समस्या भने बढी हुने छ । धानले पानी उच्च खपत गर्ने हुँदा सिँचाइका लागि विद्युत् अभाव भएको किसानहरुको गुनासो छ । राधा कृष्ण महिला कृषक समूहकी अध्यक्ष आशा रानी डँगौराले सिँचाइ गर्न विद्युत् अभाव झेल्नु परेको बताइन् ।

भन्छिन्,‘बिजुलीको पावर नै पुग्दैन खेतसम्म । एक बिघा धान सिँचाइ गरेपछि अर्को बिघाको लागि ३ दिन कुर्नुपर्छ ।’ यो सिजनमा पानि कम पर्ने भएकाले सिँचाइ गर्न विद्युत् विकल्प किसानसँग छैन् । तर खेती योग्य जमिन रहेका अधिकांश ठाउँमा विद्युत् नपुग्दा किसानहरु समस्यामा परेका छन् । भजनी नगरपालिकाका नगर प्रमुख एकल चौधरीले खेतमा विद्युत् जडानको लागि नगरपालिाले २ करोड १० लाख बजेट छुट्याएको बताए । त्यो रकम पनि अपुग भए ३० लाख अझै थप गर्ने उनको भनाइ छ । डुबान क्षेत्र रहेको भजनीमा चैते धानलाई बढीभन्दा बढी प्रमोट गर्न आफू प्रतिबद्ध रहेको चौधरी बताउँछन् ।

किसानहरूले उत्पादन गरेको धानको मूल्य पनि कम भएको गुनासो गरेका छन् । चैते धानको प्रतिक्विन्टल ३४ सयदेखि ३६ सय रुपैयाँसम्म बजार मूल्य पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस