घोडा, भैसी र एनआरएनएको कथा

यो त्यो समयको कथा हो, जतिबेला घोडा र भैसी स्वतन्त्र थिए । एकदिन घोडाको मनमा पाप पलायो । उसले सोच्यो, भैसीलाई तह लगाउन पाए, चरन क्षेत्रमा मेरो एकाधिकार हुन्थ्यो ।
तर तह कसरी लगाउने ? घोडाले एउटा जुक्ति निकाल्यो । उसले मान्छेलाई भेट्यो । र, भन्यो, तपाईका लागि एक बहु उपयोगी जनावर छ । उसको दुधले तपाई र तपाईका सन्तानलाई तन्दुरुस्त बनाउनेछ । उसको गोवरको प्रयोगले तपाईको खेतमा मनग्गे उब्जनी हुनेछ ।
मान्छेले घोडालाई बिलम्ब नगरी सोध्यो, त्यो जनावर कहाँ छ ? घोडाले भन्यो, तपाईलाई त्यसकहाँ म लिएर जान्छु, मेरो पछि पछि आउनुहोस ।
घोडाले भने झै मान्छे पछि पछि हिड्यो । घोडा अघि । मान्छे पछि । हिडेर जाने हो भने भैसी भएको ठाँउ पुग्न दुई दिन लाग्ने । घोडाले मनमनै सोच्यो, त्यसलाई जति सक्दो चाँडो मान्छेको जिम्मा लगाउन पाए, त्यो चरन क्षेत्र आजैदेखि मेरो हुन्थ्यो ।
घोडाले थप एक दिन धैर्य गर्न सकेन । मान्छेलाई भन्यो, मेरो पिठ्युमा चढ्नुहोस । म तपाईलाई जति सक्दो चाँडो भैसी भएको ठाउँ पु¥याउछु ।
मान्छेलाई घोडचढीको अनुभव थिएन । पहिलो पटक मान्छे घोडामाथि चढ्यो । घोडा जसै कुद्न थाल्यो, मान्छेलाई घोडचढी रोमाञ्चकारी लाग्यो, उ निकै प्रफुल्लित भयो । ओहो ! कस्तो आनन्द ?
घोडा कु्द्दै गयो । मान्छेले मनमनै सोच्यो, यसले भेटाउन खोजेको जनावर कस्तो होला ? त्यो त थाह छैन । तर यो चाही त्योभन्दा पक्कै उपयोगी छ । अव यसलाई त झन छोड्ने कुरै भएन ।
पैदल दुई दिन लाग्ने यात्रा घोडाले कुदेर आधा दिनमा पार गरायो । र, भैसीको नजिकै पुगेर भन्यो, मैले भनेको जनावर यही हो, अव यसलाई आफ्नो नियन्त्रणमा लिई घर लैजानुहोस ।
मान्छेले घोडालाई भन्यो, यसलाई त लैजान्छु । अव तिमीलाई पनि छोड्दैन ।
त्यसैदिन देखि मान्छेले भैसीलाई गोठ र घोडालाई तबेलामा बाँध्न थाल्यो । भैसीको चरन क्षेत्रमा आँखा लगाउदा आफू पनि तवेलामा बाधिनु प¥यो । लोभ, ईष्र्या र अरुको अस्तित्व स्वीकार नगर्दा घोडाले भैसीसंगै त्यसैदिनदेखि स्वतन्त्रता गुमायो । अर्कोलाई तह लगाउन खोज्दा कुनै अमुक शक्तिलाई आमन्त्रण गर्नु आफ्नै लागि कति घातक हुन्छ ? भैसी र घोडाको कथाको सार यही हो ।
गैर आवासीय नेपाली संघको बिघट्नको अवस्था, घोडा र भैसीको यो कथासंग मेल खान्छ । स्वतन्त्र रुपमा प्रवासमा आफ्नो पेशा र व्यवसाय गरिरहेकाहरुले संगठित भएर जन्मभूमि र स्वयम प्रवासमा रहेका नेपालीहरुको हकहीतका लागि काम गर्न एउटा संस्थाको आवश्यकता महशुस गरे, र, गैर आवासीय नेपाली संघको जन्म भयो ।
तर त्यही संस्थामाथि एकाधिकार कायम गर्ने जुन पाप त्यसका संस्थापक र ती संस्थापकहरुका अनुनायीहरुमा पलायो, त्यही दिन यसको पतनको शुरुवात भयो । अहिले गैर आवासीय नेपाली संघले जुन अवस्था भोगिरहेको छ, यो त्यही पापी सोचको परिणाम हो ।
स्वतन्त्र संस्थालाई सधै भरी आफ्नो कब्जामा राखिरहन अनेक हतकण्डाहरु गरिए । पहिले उनीहरुले राजनैतिक दलहरुलाई आमन्त्रण गरे । त्यसपछि आफू अनुकुल संघ नहुदा सरकारलाई हस्तक्षेप गर्न उक्साईरहे । जसले जन्माए, उसैलाई त्यो संस्थाप्रति माया नभएपछि अरुलाई हुने त कुरै भएन । राजनैतिक दल र सरकारलाई संघको प्रसव पीडा महशुस भए पो ?
नेपालका राजनैतिक दलहरु र सरकारलाई संघमा बारम्बार हस्तक्षेप गर्न लगाउने त्यही ‘घोडा प्रबृति’ थियो, जसले भैसीलाई तह लगाउन आफूलाई समेत नामेट गरिदियो ।
युवा नेतृ रामकुमारी झाक्रीले एनआरएनको कार्यक्रममा उसकै हुर्मत लिएको नविर्सिएको भए अगुवाहरु अलिकति भएपनि सच्चिन्थे की ? मूली नसच्चिदा घर सक्किएको निर्मम ईतिहास छ । एनआरएनएले त्यही नियति भोग्यो । अनुहारमा भएको दाग ऐना सफा गरेर जाने कुरै भएन । झाक्रीले देखाएको ऐनामा आफ्नो अनुहार एकपटक हेरिदिएको भए ? कालीदासहरुले अनुहार सफा गरेनन, ऐना नै फुटाई दिए । कसले हेरोस अनुहार ?
अगुवाले निर्माण गरेको गुटमा सदस्यहरु बिभाजित भएपछि एकताको महाधिवेशन नाम दिदैमा नहुदो रहेछ, एनआरएन जोड्ने सुपरग्लु बन्ने विश्वास गरिएको एकताको महाधिबेशनले नै एनआरएनएलाई कहिल्यै नजोडिने अवस्थामा पुर्याईदिएको छ । ढुंगाको डीएनए त्यसलाई फोरेर कणमा खोज्ने मूर्ख कालिदास झै हुन् । घर बालेर आगो ताप्नेहरुबाट अपेक्षा गर्नु र अदालत र परराष्ट्र मन्त्रालयलाई आफ्नो डीएनए परीक्षणका लागि बुझाउनेहरु उस्तै हुन् । तिनै मूर्ख कालिदासहरुका कारण एनआरएनको साख सकिएको हो । अव सकिन बाँकी केही छैन् ।
हरेक कुराका लागि अदालत धाउने र अदालतका फरक फरक फैसलालाई आफू अनुकूल व्याख्या गरेर त्यसैका रमाउने अनौठो रोग लागेको छ, अगुवाहरुमा । जुन रोगको शल्यक्रिया वा समाधान छैन् ।
जसले नेपथ्यमा बसेर सधै संघभित्र खेलिरहे, जसले कहिल्यै मिल्न दिएनन, मिल्नुपर्छ भन्ने सुझाव दिनेहरु तिनैछन् । अनि कसरी संभव हुन्छ एकता ?
अव मिल्ने कि, सकिने ? बिगतका कमिकमजोरीको आत्मालोचना गर्ने कि ? फेरि पनि भारुण्ड चरा जस्तै विष पान गरेर, अरुलाई नामेट गर्न आफू पनि मेटिने ?
एउटा छोटो मर्मस्पर्शी प्रसंग छ ।
एउटा गाउँमा बुवाआमाको मृत्युपछि दुई भाईबीच अंश विवाद भयो । एकले अर्कोलाई अलिकति पनि अंश छोड्न मानेन । जग्गाको टुक्रा टुक्रा बाड्नु पर्ने दुबै दाजुभाईको अडान अन्तिम समयसम्म कायम रह्यो ।
अन्तिममा घरको विवाद लिएर एउटा भाई वकिल कहाँ गयो । वकिलले उसका तर्फबाट मुद्दा लड्ने निधो ग¥यो । र, त्यसका लागि शुल्क अग्रिम लियो । भोलिपल्ट दाई पनि त्यही वकिललाई मुद्दा लडिदिन आग्रह गर्न पुग्यो । भाईको मुद्दा त्यही वकिलले लडिरहेको छ भन्ने उसलाई थाह थिएन ।
भाईको मुद्दा लड्न शुल्क लिईसकेको वकिलले दाईलाई चिनिहाल्यो । उसले आफूले भाईको मुद्दा लडिरहेको त बताएन, तर आफू व्यस्त रहेकोले अर्को राम्रो वकिललाई मुद्दा लड्न आफूले आग्रह गरेर पत्र पठाईदिने बतायो । वकिलले पत्र लेखे । र, पत्र लिएर दाई अर्को वकिललाई भेट्न हिड्यो ।
बाटोमा उसलाई कौतुहलता भयो, पत्रमा के लेखेको छ ? उसको मनले नहेरी मानेन । र, उसले खाम भित्र रहेको पत्र निकाल्यो । र, पढ्न थाल्यो ।
पत्रमा लेखिएको थियो, हड्डीका लागि लडिरहेका दुई कुकुरमध्ये एक कुकुरलाई मैले राखेको छु । अर्को तपाईलाई पठाईदिएको छु । यसलाई तपाई आफ्नो अनुकुल प्रयोग गर्नुहोला ।
पत्र पढेपछि उ वकिल कहाँ गएन । सोझै घर गयो । भाईलाई भेटेर भन्यो, मलाई केही चाहिएन, तलाई जति अंश चाहिन्छ लैजानु ।
दाईको कुरा सुनेर भाई अवाक भयो । हिजोसम्म एक ईञ्च जमीन नदिने अडानमा रहेको दाईलाई अचानक भयो के ? भाई चकित प¥यो ।
दाईको कुरा सुनेर भाईको पनि मन पग्लियो, उसले भन्यो, दाई मलाई केही चाहिएन, तपाईको माया भए पुग्यो । तपाईको आशिर्वाद र साथ भए यस्तो सम्पत्ती त बाँचे फेरि जोडि हाल्छु ।
भाईको कुरा सुनेर दाईले आफूलाई सम्हाल्न सकेन । भाईलाई अंगालो हालेर बेस्सरी रोयो । ओहो, म त यस्तो भाईको बिरुद्ध मुद्दा हाल्न गएछु ।
दुबैले आफ्ना हठप्रति पश्चाताप गरे । त्यो दिनदेखि मिलेर बसे । दुबैले मिलेर दिन दुगुना रात चौगुना प्रगती गरे ।
अव गैर आवासीय नेपाली संघका भाईहरु पनि लडेर जग हसाउछन कि ? मिलेर अघि बढ्छन, त्यो हेर्न बाँकी छ ?
आफ्नै भाईलाई कठघरामा उभ्याउछु भन्ने हठ त्यागेर वकिलको त्यो पत्रमा लेखिएको ‘हड्डीका लागि लड्ने दुई कुकुर’ वाक्यांशबाट पाठ सिक्छन, कि सिक्दैनन, सोचनीय छ ।
अन्तिममा एउटा कविता,
जर्मन कवि मार्टिन निम:ल(अ)रको कालजीय कविता यो तत्कालिन समय र मनोदशालाई लिएर लेखिएपनि यो हरेक प्रसंगमा जहिले सान्दर्भिक हुने गर्छ । उनी लेख्छन्,
सर्वप्रथम, नाजीहरु कम्युनिष्ट सिध्याउन आए
म मौन बसें, किनभने म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लाए
मैले केही बोलिन, किनभने म यहुदी पनि थिइन ।
पछि उनीहरु प्रोटेष्टेण्टहरुलाई सखाप पार्न आए
म क्याथोलिक थिएँ, त्यसैले केही बोलिन ।
अन्ततः ती मलाई लिन आए तर
त्यतिञ्जेल मेरा लागि बोलि दिने कोही बचेकै थिएन ।
आफ्ना जति सबैलाई गुमाएपछि बोली दिनेसम्म नहुदाको पीडा कस्तो हुन्छ, यो कविताले त्यही पीडा बयान गर्छ । एनआरएनका अगुवाहरुबीच व्यक्तिगत ईगो, लहड र प्रतिशोध साध्न जुन सुकै तहमा उत्रिने प्रवृति जति घातक छ, एनआरएनमाथि भईरहेको हस्तक्षेपमा देखिएको उनीहरुको मौन समर्थन उत्तिकै घातक छ । संस्था सकिएपछि त्यसको सदस्यताको खोष्टोको के अर्थ ?
अगुवाहरुमा आफैले जन्माएको एनआरएनएको अलिकति पनि माया बाँकी छ भने अदालतमा गैर आवासीय नेपाली संघको डिएनए परीक्षण गराउने कार्य बन्द गराउनुपर्छ । कतिपटक गराउछौ आफ्नै डिएनए परीक्षण ?
एनआरएनए अगुवाहरु सत्ताको मतियार भए । सत्तालाई हतियार बनाएर आफूलाई बैध बनाउने दाउमा उनीहरुले एनआरएनलाई भने अबैध बनाए ।
परराष्ट्र मन्त्री डा. आरजु राणालाई बोलाएर एक पक्ष उत्साही भएको दुई हप्ता नबित्दै अर्को पक्ष के कम उसले कन्क्लेभमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर हर्ष बढायो ।
मिलेर आउ अनि मात्र कार्यक्रममा आउछु भन्नु पर्ने प्रधानमन्त्री र मन्त्री पालैपालो विवादित संस्थाका कार्यक्रममा जानु दुर्भाग्य हो । विवादरहित र साझा हुन नसकेका संस्थाका कार्यक्रममा जान हतार गर्ने प्रधानमन्त्री र मन्त्रीहरुको आशिर्वाद र आडमा एनआरएनको यो हालत भएको हो । कम्तिमा एउटै सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीका बीचमा एनआरएनका विषयमा साझा बुझाई र धारणा हुनुपथ्र्यो ।
आस्था र निकटताका आधारमा शासकहरुलाई आमन्त्रण गरेर ‘हामीले देखाई दियौ’ भन्ने भ्रममा बाँच्ने अगुवाहरुबाट एनआरएन पार लाग्दैन ।
एउटा पक्षले एकताको महाधिवेशन गरेको दुई साता नबिन्दै अर्को पक्षले एनआरएनए कन्क्लेभ आयोजना गरेर आफ्नो शक्ति प्रदर्शन ग¥यो । न एकताका महाधिबेशनमा त्यो एकता देखियो, जहाँ अग्रज र संस्थापकहरुको सहभागिता देखियो । कन्कलेभका बारेमा भनिरहन परेन ।
सबै भ्रम, दम्भ र ईगोबाट मुक्त भएर जवसम्म अगुवाहरु एक ठाउँमा उभिदैनन्, एनआरएनलाई अदालतले बलियो बनाउछ, न परराष्ट्र मन्त्रालयले । न त सरकारले ।
भैसीलाई तह लगाउन मान्छेलाई आमन्त्रण गरेर घोडाले जसरी स्वतन्त्रता गुमायो । त्यही मूर्खता बिगतमा एनआरएनका अगुवाहरुले परराष्ट्र मन्त्रालय र राजनैतिक दललाई आमन्त्रण गरेर गरे । त्यही कारण एनआरएनएले आफ्नो स्वतन्त्र हैसियत गुमायो ।
यतिकुरा अगुवाहरुले बुझिदिए पुग्छ ।