रास्वपाको प्रदर्शनलक्षित प्रधानमन्त्रीको टिप्पणी- अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन
 
                                 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले जारी राखेको प्रदर्शनलाई लक्षित गरेर अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताएका छन्।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरू एकता र एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए।
लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने बताए।
उनले भने, ‘हामी लोकतन्त्रका लागि लडेका हौँ। हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ। अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन। जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन लागि आजीवन लागेका छौँ। हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन। यसमा हामी स्पष्ट छौँ।’
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए।

 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     