कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

द एभरेष्ट पोष्ट
६ पुष २०८२ १३:५१
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

कञ्चनपुर- दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ ।

गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने ६ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

‘आज पनि कारागारको अनुगमनमा जाँदैछौं’, उनले भने, ‘घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत् पेस गर्ला ।’

नाइकेहरूले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरूले आफूले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस