सिड्नीको बन्डी बिचमा गोलीकाण्ड : १० जनाको मृत्यु, दुई पक्राउ
काठमाडाैँ। अस्ट्रेलियाको प्रहरीले आइतबार सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको र थुप्रै मानिस घाइते भएको जनाएको छ।
मिडियामा प्रसारित फुटेजमा यहुदी पर्व हनुकाह मनाउन भेला भएका सयौँ मानिसमध्ये केही समुद्र तटमा भुइँमा लडिरहेको देखिएको छ। प्रहरीले गोलीकाण्डपछि दुई जनालाई पक्राउ गरेको जनाएको छ।
न्यु साउथ वेल्स प्रहरीले एक्समा एक पोस्ट गर्दै भनेको छ, ‘प्रहरीको कारबाही जारी छ र हामी मानिसहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गर्छौँ।’
द सिड्नी मर्निङ हेराल्डले धेरै मानिस घाइते भएको बताएको छ, भने टेलिभिजन नेटवर्क स्काई र एबीसीले मानिसहरू भुइँमा लडिरहेको फुटेज प्रसारण गरेका छन्। गोलीकाण्डका प्रत्यक्षदर्शी ३० वर्षीय ह्यारी विल्सनले हेराल्डसँग भने, ‘मैले कम्तीमा १० जनालाई भुइँमा लडेको र जताततै रगत देखेँ।’
अस्ट्रेलियन यहुदी कार्यकारी परिषद्का सह(प्रमुख कार्यकारी एलेक्स राइभचिनले स्काई न्यूजसँगको एक अन्तर्वार्तामा उक्त गोलीकाण्ड सूर्यास्तमा सुरु भएको यहुदी पर्व हनुकाह मनाउने क्रममा भएको बताए।
उनले भने, ‘यदि हामीलाई जानाजान यसरी निशाना बनाइएको हो भने, यो यस्तो स्तरको घटना हो जसको कल्पना कसैले पनि गर्न सक्दैनथ्यो। यो भयानक कुरा हो।’
एक्समा प्रसारित भिडियोहरूमा धेरै गोली चलेको आवाज र प्रहरी साइरन सुन्न सकिन्थ्यो, जसका कारण बन्डी बिचमा मानिसहरू भागिरहेको देखिन्थ्यो।
यो हमला सिड्नीको लिन्ड्ट क्याफेमा एक बन्दुकधारीले १८ जनालाई बन्धक बनाएको लगभग ११ वर्षपछि भएको हो। १६ घण्टाको गतिरोधपछि दुई बन्धक र बन्दुकधारी मारिएका थिए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डको दृश्यलाई ‘स्तब्ध पार्ने र कष्टप्रद’ भन्दै टिप्पणी गरेका छन्। उनले अस्ट्रेलियन फेडरल प्रहरी आयुक्त र न्यु साउथ वेल्सका प्रिमियरसँग कुराकानी गरेको जानकारी दिएका छन्।
