नेपाली समाज टेक्ससमा भण्डारी र भुसाल आमने सामने
ड्यालस (अमेरिका) ।
नेपाली समाज टेक्ससको अध्यक्ष पदमा जनक भण्डारी र बिजय भुसालले मनोनयन दर्ता गरेका छन् ।
नेपाली समाज टेक्ससको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले जारी गरेको निर्वाचन प्रकृयामा वर्तमान वरिष्ठ उपाध्यक्ष भण्डारी र महासचिव भुसालले अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गरेका हुन् ।
मौजुदा कार्यसमितिमा फरक फरक पदमा रहेर काम गरेका भण्डारी र भुसाल आगामि कार्यकालको नेतृत्व हत्याउन भने आमने सामने भएका हुन् ।भण्डारी र भुसाल प्यानल सहित चुनावमा होमिएका छन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा जीवलाल भुसाल र चण्डी भण्डारी, महिला उपाध्यक्षमा शान्ता गिरी र राधिका खराल, खुल्ला उपाध्यक्षमा दिलीप राई र गुञ्जन भण्डारी, महासचिवमा प्रविश श्रेष्ठ र रामकृष्ण यादव, सचिवमा सुशील बर्तौला र नारायण केसी, कोषाध्यक्षमा भोला मैनाली (विपी) र प्रेम थापा (आदित्य), सहकोषाध्यक्षमा रिन्जिन लामा र कान्ति नेपाल लगायतको उमेदवारी परेको छ ।
त्यस्तै पाँच सदस्यका लागि हुन गईरहेको निर्वाचनमा ११ जनाको उमेदवारी परेको छ ।
टेक्ससमा नेपाली समुदायको छाता संगठनका रुपमा रहेको नेपाली समाज टेक्ससमा छ हजार एक सय मतदाता रहेका छन् । निर्वाचन समितिले प्रकाशित गरेको तालिका अनुसार समाजको दुई वर्षे कार्यकालका लागि डिसेम्बर १३ तारेखमा मतदान हुनेछ ।
