दिल्लीको लालकिल्ला नजिक बम विस्फोट, १० जनाको मृत्यु
नयाँ दिल्ली, १० नोभेम्बर ।
भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला नजिक आज साँझ बम विस्फोट हुदा कम्तिमा १० जनाको मृत्यु भएको छ। प्रारम्भिक विवरण अनुसार, विस्फोटमा २५ जनाभन्दा बढि घाईते भएका छन् ।
विस्फोट लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिक पार्क गरिएको एउटा कारमा भएको बताइएको छ। विस्फोटपछि वरिपरिका अन्य सवारीसाधन र पसलहरूमा पनि आगो लागेको थियो।
दिल्ली प्रहरीले विस्फोटको वास्तविक कारण अझै पत्ता नलागेको जनाएको छ । फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गरिरहेको छ।
घटनापछि राजधानीभर उच्च सतर्कता जारी गरिएको छ। दिल्ली, मुम्बई लगायत ठूला सहरहरूमा सुरक्षा बललाई सतर्क रहन निर्देशन दिइएको छ।
प्रत्यक्षदर्शीहरुका अनुसार बम विस्फोटले लालकिल्ला आसपासका भवन र सडकमा ठूलो हल्ला मच्चिएको थियो। बम बिष्फोटबाट लागेको आगोले केही मिनेटमै कार र वरिपरिका पसलहरू पोलिएका थिए।
घटनास्थलमा अहिले पनि उद्धार टोली, दमकल र प्रहरी सक्रिय छन्। घाइतेहरूलाई नजिकको अस्पतालहरूमा उपचारका लागि लगिएको छ।
भारतका गृहमन्त्रीले घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।
एजेन्सी
तस्वीर : एनडीटीभी
