साहित्य परिषद् भुटानको ११ औँ सम्मेलनमा स्रष्टाहरु सम्मानित
पेन्सलभेनिया,
साहित्य परिषद् भुटानको ११ औँ सम्मेलनमा साहित्यिक स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
अमेरिकाको हेरिस्बर्ग पेन्सलभेनिया सम्पन्न कार्यक्रममा सन्चमान ज्यो ज्योका लेखक कृष्ण सुब्बा मुना स्मृति पुरस्कारबाट पुरस्कृत भए ।
सुब्बालाई भक्त घिमिरेको सौजन्यमा एक हजार पाँच सय एक डलर र प्रमाणपत्र प्रदान गरियो ।
त्यस्तै सुकरा साङ्गीतिक पुरस्कारबाट गोविन्द हुमगाइँ, अम्मर तुम्बापो र छवि न्यौपाने पुरस्कृत भए । तिनै स्रष्टालाई पाँच सय एक डलरका दरले पुरस्कार र प्रमाण पत्र प्रदान गरियो।
सम्मेलनमा क्यानडा च्याप्टरका निर्देशक खगेन्द्र गौतम र कृष अधिकारीले संयुक्त रूपमा पुनर्वासपछिको नेपाली साहित्यका विषयमा एउटा डिजिटल कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आइतसिंह राई, विश्वनाथ क्षेत्री, पदम विश्वकर्मा, रत्न गुरुङ, अमल थुलुङ, रमेश दियालीलाई परिषदको उन्नयनमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो ।
भर्जिनिया निवासी ब्रेनका अध्यक्ष आर बी सुब्बाले सेरापी कलेजका दिन सम्झना गरे । कार्यक्रममा कुबेर कुइँकेल भुवनटारेको अन्त्यको सुरु छन्द कविता पनि विमोचन गरियो ।
भुट्निज लिट्रेचरका प्रधान सम्पादक शिवलाल दाहालले नेपाली भाषा विरासत दिवस एक अवधारणा शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सेप्टेम्बरको कुनै मिति तोकेर नेपाली भाषा विरासतको दिन मनाउन सम्मेलनमा प्रस्ताव गरे ।
सम्मेलनमा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पद्म विश्वकर्माले सम्मेलनको सफलताको शुभकामना कामना गरे ।
गैरनाफामूलक संस्था साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गा लामिटारेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी पुत्रले उनकै विषयमा पोट्रेट कविता सुनाएका थिए ।
