दसैँतिहार सकिएसँगै सुदूर पहाडमा जात्राको रौनक
कैलाली- नेपालीका दुई ठूला पर्व दसैँ र तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । कात्तिक शुक्लपक्षको सुरुवातसँगै विभिन्न शक्तिपीठमा जात्राको रौनक सुरु भएको हो ।
बैतडीको प्रसिद्ध शिवनाथ धाममा आजदेखि जात्रा सुरु भएको छ । आज साँझको समयमा शिवनाथ गाउँपालिकाका विभिन्न स्थानबाट देउरो आइसकेपछि राति शिवनाथ मन्दिरमा पूजा लाग्ने गर्छ । शिवनाथको जात्रामा छालाको गिर (भकुण्डो) खेल्ने प्रचलन रही आएको छ । शिवनाथ गाउँपालिकाको कफाडीस्थित उदयदेव मन्दिरमा दसैँको समयमा बलि गरिएको राँगाको छालाबाट उक्त गीर बनाउने गरिन्छ । शिवनाथ जात्राको अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय बिदा पनि दिएको छ ।
बैतडीकै प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने ‘देहिजात’ १८ र १९ कात्तिकमा हुने भएको छ । जात्रामा राँगाको बलि दिने गरिन्छ । ‘देहिजात’मा मेलौली भगवतीको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरूसमेत आउने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने देहिजात अर्थात् उग्रतारा मेला १९ कात्तिकमा लाग्ने भएको छ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्दै आएको छ । यस वर्ष कात्तिक १८ कात्तिकमा रतेडी र १९ कात्तिकका दिन दिउसेडी लाग्ने क्षेत्र विकास समितिले जनाएको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका– ८ को सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पुग्ने गरेका छन् ।
चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत भने १५ कात्तिकमा हुने भएको छ । १४ कात्तिकको राति रतेडी र १५ कात्तिकमा दिउसेडी मेला लाग्ने वडाध्यक्ष मनोज देउवाले बताए । लाटागन्याप देवताको भक्ति स्वरुप मनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले उक्त मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ । सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाइने मेलाका रूपमा समेत बडाल जाँता प्रसिद्ध छ ।
यस वर्षको जगन्नाथ मेला (खोले जाँत) २२ कात्तिकमा लाग्ने भएको छ । अजयमेरु गाउँपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने प्रसिद्ध जगन्नाथ धाममा २१ कात्तिकमा रतेडी र २२ कात्तिकमा दिउसेडी परेको हो । मेलामा गुनपाल, चौडी, चिपुर र मड गाउँका भक्तजनहरूले देउरो बोकेर जगन्नाथ मन्दिरमा पुग्ने परम्परा छ । यस्तै, डडेल्धुरामा प्रसिद्ध भागेश्वर (धुरा) जाँत १८ गते लाग्ने भएको छ ।
उता सुदूरपश्चिम प्रदेशको प्रख्यात धार्मिक एवं पर्यटकीयस्थल बडीकेदार धाममा १७ कात्तिकमा मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका र बोगटान फुडसिल गाउँपालिकाको संगमको रूपमा रहेको बडिकेदारधाममा १६ कात्तिकदेखि तीन दिनसम्म धार्मिक मेला लाग्ने बडिकेदार धामका मूल पुजारी सिद्धराज बिनाडीले जानकारी दिए । बडिकेदार धाममा १६ र १७ कात्तिकमा मेला तथा १८ कात्तिकमा केदार पुजनको कार्यक्रम रहेको उनले बताए ।
डोटीको बोगटान फुडसिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिकस्थल बडिकेदारधाममा वैकुण्ठ चतुर्दशीमा पुजन गर्ने चलन छ । बडिकेदार दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । बडिकेदारधाममा जान कैलालीको सहजपुरबाट डोटीको विपिनगर, खँड्यौली बजारहुँदै अत्तरकाडासम्म सडकको सुविधा छ । त्यहाँबाट सवा एक घण्टाको पैदल यात्रामा बडिकेदारधाममा पुग्न सकिन्छ ।
